१
खासमा उसको नाम डुकबहादुर थियो । सानो छँदा सबैले उसलाई डुकुडुकु भन्थे । कसैले माया प्यारले डुकु
भन्थे । कसैले जिस्काएर डुकु भन्थे । यसै क्रममा कसैले हेपेरै “डुकुलन्ठक” भनिदियो । एउटाले
डुकुलन्ठक भनेपछि, सुन्ने अरुले पनि त्यस्तै भन्न थाले । डुकुलन्ठक कैलेदेखि भनिन थाल्यो, त्यो
ठ्याक्कै यकिन त भएन तर यति चाहिँ पक्का हो, किशोरवयसम्म आइपुग्दा भने “डुकुलन्ठक” नाम
व्याप्त भैसकेको थियो ।
उसको नामको पछाडि लन्ठक जोडिनुको कारण उसैको आचरण र व्यवहारको पनि भूमिका थियो । खासमा
उसलाई “बहादुर” भनेर चिनाएकै हो “डुकबहादुर” । तर भन्नेहरुले “डुकुलन्ठक” भनिदिए । यसरी नामको
खिल्ली उडाउँदा पनि उसले कैले कुनै प्रतिवाद गरेन ।
किशोरवय भन्दा पहिले जब उसको पढ्ने उमेरको भयो, उसको बाउले गाउँको डाँडाको स्कूलमा भर्ना
गरिदियो । डाँडाको स्कूल पुग्न उकालो चढ्नु पर्थ्यो । एक घण्टाको उकालो । हुन त अरुका भुराहरु पनि त्यहीँ
पढ्थे ।
ऊ हिंड्नलाई प्राय: बिस्तारै हिँड्थ्यो । उकालो र ओरालोमा पनि । ऊ आफूलाई “दमको बेथा” छ भनेर
सुनाउँथ्यो र अरुको अगाडि “स्वाँ स्वाँ” पनि गर्थ्यो । उसले ढाँटेको हो भन्ने कुरा उसका बालसखाहरुले
सहयात्राको क्रममा थाहा पाएका थिए । त्यसैले उसका अन्य कथनहरुमा पनि प्राय: सबैले संशय गर्थे ।
उसका सहपाठी दौँतरीहरु प्राय: अगाडि हुन्थे । उसलाई “कस्तो लोते ! ल छिटो अगाडि हिँड्” भनेर
अगाडि लगाए पनि ऊ हिँड्दा हिँड्दै लुत्केर अन्तत: पछाडि नै पुग्थ्यो । जब अरुका पाइलाहरु परै अगाडि
पुगिसकेका हुन्थे अनि ऊ कराउँथ्यो, “ओई ओई ! पख् त पख्, म एउटा कुरा भन्छु क्या ! सुनओ त ।”
खासमा नौलो कुरा केही हुन्नथ्यो उसले भन्ने कुरा, उसका सहपाठीहरुलाई थाहा थियो । किनकि उसले
सुनाउने भनेको उसकै मामाको घरको कुरा हुन्थ्यो र सधैं एउटै कुराको पुनरावृत्ति गर्थ्यो । उसको ध्येय
हुन्थ्यो, उसको कुरा सुन्दै उसलाई पनि सँगै लैजाऊन् । ऊ हस्याङ्ग र फस्याङ्ग गर्दै दौडन्थ्यो साथीहरुलाई भेट्नलाई ।
“उसकाे सारमा के लाग्नु !” भनी उसका साथीहरु जब छिटोछिटो हिँडिदिन्थे, ऊ छोडिन्थ्यो र स्कूल पुग्दा
प्राय: घण्टी लागिसकेको हुन्थ्यो । उसको मन्द गतिको हिँडाइजस्तै स्कूलको कक्षाहरु पनि धिमा गतिकै
थियो । उसले नदोहोर्याएको कक्षा कुनै भएन । हुँदाहुँदा उसको पढाइले कक्षा ६ भन्दा माथि उक्लने आँट
गर्नै सकेन । जब ऊ ६ कक्षामा फेल भएथ्यो ।
“अरुले एस. एल. सि. दिई सक्यो तँ लन्ठक भने ६ मै अड्की रह् ला त,” उसको बाउले एक लात कसेर दियो । फेलै भएपछि त्यो भन्दा बढी पुरस्कार के पाओस् ? उसको पढाइमा प्रगति नदेखेर नै स्कूल जान रोक लगायो बाउले । र गोठाला हुन अह्रायो । यसरी स्कूल जाने रहर मारेर ऊ गोठालो हुन थाल्यो ।
२
उसको घरभन्दा तल जङ्गल थियो । जङ्गलभन्दा तल बिरौटा । बिरौटाको दायाँ र बायाँमा उस्तै जङ्गल
थियो । बिरौटाभन्दा तल खोला । खोला सानो थियो तर त्यसको बगर भने ठूलो र फराकिलो थियो । त्यही बिरौटा र
बगर वरिपरि वल्लोपल्लो गाउँका गोठाला गोठाल्नीहरु आउँथे, आ-आफ्नो गाईवस्तु लिएर । ऊ पनि आफ्नो
बाख्राको बगाल लिएर त्यतै बिरौटातिर हानिन्थ्यो । गोठालामा कोहीकोही उसकै उमेरका पनि थिए । र, उसकै
उमेरका गोठाल्नीहरु पनि बिरौटामुनि खोलाको किनार छेउछाउमा गीत गाउँदै गाईबाख्रा चराइरहेका हुन्थे ।
गोठाला गोठाल्नीहरुको सुरिलो भाकाको गीतहरुले वारिपारि , खोला नाला, पाखा पखेरा रन्किन्थ्यो । कसैले
बिरौटा नजिकै वनबाट सुसेल्थे । कोही वारि पाखाबाट, कोही पल्लो वनबाट । एक किसिमको होड नै चल्थ्यो । ती
गीतहरु उसकै निम्ति गाएको हो भन्ने ऊ ठान्थ्यो । भलै त्यो दिन कटाउने मेलो किन नहोस् ।
उसलाई गोठाल्नीहरुको सुरिलो स्वर मन पर्थ्यो । गोठाल्नीहरुमध्ये लक्ष्मीकै स्वर मन पर्थ्यो । कति चोटि त
लक्ष्मीको आँखासँग आँखा मिसिएकै हो । उसले मुस्कान दिँदा लक्ष्मी पनि मुस्कुराएकी थिई । त्यसैले त
होला, जब लक्ष्मीले गीत गाउँथी, ऊ उद्वेलित हुन्थ्यो ।
वैशाख महिनाको कुनै दिन ।
ऊ जङ्गलनजिकै बिरौटामा बाख्रा छेकेर चराउँदै थियो । खोला पारिको पातल वनमा कोइलीले कुहु कुहु
गर्यो । बिरौटामाथि जङ्गलमा ‘काफल पाक्यो’ भन्दै थियो अर्को कोयलले । त्यही बेला लक्ष्मीले सुरिलो
भाखामा गीत गाईः
‘टाढा टाढा न जाऊ है चरी
तिमीलाई जाल्मा पार्दिम्ला क्यै गरी’
लक्ष्मीले गाएको त्यो गीत । त्यो गीतले उसको हृदयको गर्तमा मधुर झङ्कार दियो । उसलाई त्यही खोला
किनारबाट बहेर आउने हावा पनि सुगन्धमय लाग्यो र हावासँगै आएर लक्ष्मीले स्पर्श गरेको मिठो
कल्पना गर्यो ।
आवाज कर्णप्रिय थियो । गीत हृदयस्पर्शी । मन रोमान्चित हुँदै थियो । बाख्रा त्यतै छोडेर ऊ लक्ष्मी
भएतिर अर्थात् खोलाको छेउतिर हानियो । यौवनको उत्ताप मृगतृष्णा हुर्कँदै थियो मनमा । एक मृदुमुस्कान पाउने अभिलाषामा उसका नजरहरु त्यतैतिर तन्किरह्यो तनन । र, अनियन्त्रित गोडाहरु उतै
बढिरह्यो । त्यस दिन जसरी भए पनि लक्ष्मीलाई मनको भावना प्रकट गर्न ऊ संकल्पित थियो ।
‘आज त साइत जुर्ने छ ‘ भन्ने अभिकांक्षामा लक्ष्मीसँग प्रेमालापको दोहोरी गाउँदै थियो मनले । भलै त्यो दिवास्वप्न किन नहोस् तर त्यो आनन्ददायी थियो । त्यही आनन्ददायी स्वप्नामा चुर्लुम्म डुब्दै खोलातिर लम्किरहँदा बाख्राको ‘प्या’ गरेको उच्चाहाटले उसको मिठो कल्पना भताभुङ्ग भयो । किनकि त्यो आवाज सामान्य अरु बेलाको जस्तो थिएन । आवाजले दुर्घटनाको प्रतिविम्बित गर्थ्यो । त्यसैले उसका गोडाहरु अनायास रोकियो र नजर बिरौटानजिकै जङ्गलतर्फ सोझियो । केही सोच्नु भन्दा पहिले आँफैलाई तत्क्षण बेतोडले त्यतै हुत्यायो । मन, भय र आतङ्कले काँप्यो । ऊ अत्यासले चिच्यायो । “हैट हैट” गर्यो । एकै छिनमा गोठालाहरुको उत्क्रोशले वनपाखा खोला बिरौटा कोलाहलयुक्त भयो । गोठालाहरु दौडा दौड गरे ।
त्यतिन्जेलसम्म बाघले बाख्रालाई जङ्गलमा पुर्याइसकेको थियो । बाघ पनि कस्तो अटेरी ! एउटा बाख्रा
लिएर जङ्गलभित्र बेपत्तै भयो ।
ऊ घर पुग्नुभन्दा पहिले ‘बाघले बाख्रा खायो’ भन्ने तातो तातो खबर घरभित्र पुगिसकेको थियो । जब ऊ
घर पुग्यो, स्वाभाविक रुपमा उसको बाउले उसको गालामा दुई चड्कन लगायो । “तँ डुकुलन्ठक एउटा
काम पनि गतिलो गार्दैनस् । कस्तो कुलङ्गार जन्मिएछ नि !” त्यसो भन्दै उसको बाउले आफ्नो
टाउकोमा धारे हात लगाएको थियो । त्यो अवशादपूर्ण क्षणमा ऊ निशब्द भएर सालिकजस्तो बनी बाउको
सन्मुख खडा थियो । उसको मनभित्र भने हीनताको आँधीबेहरीले बबन्डर मच्चाइरहेको थियो । आश्चर्यको कुरा त त्यहीबेला पनि लक्ष्मीले सन्मुख आएर गिज्याइरहेको भान भइरहेको थियो ।
त्यसको भोलिपल्ट डुकु घरमा कतै भेटिएन । डुकु बेपत्ता भयो । लापता यसरी भयो कि वारि, पारि, गाउँका, बजारका,
स्कूलका, चारैतिर कहीँ कसैले पनि डुकुलाई देखेन । ऊ बेपत्ता भए पनि खासै कसैलाई वास्ता भने थिएन । कसैले
‘डुकु हरायो रे त’ भन्दा प्रतिउत्तरमा ‘ए हो र ?’ त्यति मात्र भन्थ्यो । कसैले डुकुप्रति सहानुभूति प्रकट
गर्नु भनेको मूल्यहीन वस्तुको चर्चा गर्नुजस्तो सम्झन्थ्यो । या त उसको कुरा नगर्नु नै बडप्पन हुन्थ्यो ।
“हा ! त्यस्तोको पनि के कुरा गर्नु !” कथंकदाचित कुरा निस्केमा उसको बारेमा त्यसो भन्थे मान्छेहरु । उसको आमा भने तीन दिनसम्म भात न पानी भएर बसेकी थिई डुकुको यादले ।
“मेरो डुकु कहाँ गयो होला नि ! लौ भगवान् मेरो छोराको रक्षा गर । छिट्टै घर फर्काइदेऊ ।”
यसरी डुकुकी आमाले तीन चार दिनसम्म कोकोहोलो मच्चाएकी थिई । घरमा आएर अरु कसैले डुकुको बारेमा
सोध्दा त्यसरी नै छोरोको रक्षाको पुकार गरेर सुनाउँथी ।
डुकुले त्यो पिटाई खाएको रात एउटा सानो झोला बोकेर बाटो ततायो । बिना उद्देश्य, बिना योजनाको, गन्तव्यहीन
यात्रामा निस्कियो ऊ । बिहान हुनुभन्दा पहिल्यै राम्चेको डाँडा छिचोल्यो र राम्चे कटेपछि उसलाई देखे पनि
चिन्नेवाला कोही थिएन ।
ऊ ट्रक चढेर राजधानी पुग्यो । राजधानीको शहर देखेर ऊ निकै रोमान्चित भयो । कैले नदेखेको गाडी, मोटर,
जहाज सबैसबै देख्यो । मान्छेहरुको भीड देखेर ऊ अचम्मित भयो । काम पनि गर्यो । यसरी ऊ ६
महिना शहरमा रल्लियो । ६ महिनापछि ऊ फेरि गाउँमा फर्कियो । गाउँ फर्कंदा आफ्नो आमाबाउलाई
केही लुगा फाटो र केही खिर्ची मिर्ची लिएर गयो ।
डुकु फर्केर आएको दिन, घरमा असाध्यै रौनक छायो । छरछिमेकका भुराहरु पनि आए डुकुलाई हेर्न ।
भुराहरुले सुन्तला मिठाई खान पाए । भुराहरु डुकुलाई अनौठो मानेर हेर्थे र सबैभन्दा खुशी उसकी आमा
भएकी थिई ।
‘मेरो मुटुको टुक्रा आइपुग्यो । कस्तो छ बाबु?’ त्यसो भन्दै उस्को आमाले उसलाई धेरै बेरसम्म अङ्गालेकी थिई । कसैले हेरी दियो भने त झन् बढी नै चेपारे पार्दथिई ।
”तेरो यही पुल पुल्याइले हो, डुकु लन्ठक भएको । धेरै स्वाङ्ग नपार्, कति नै राम्रो छोरा जस्तो,” उसको बाउले उसलाई खाउँला झै हेर्दै गर्जियो ।
उसले एक महिना जति केही काम गरेन । शहरको बयान गरेर नै उसले दिन कटायो ।
डुकु मेलापात गए पनि खासै दिल लगाएर काम गर्दैनथ्यो । भन्ने नै हो भने अरुले उसलाई काममा पनि बोलाउन चाहँदैनथ्यो । काम लगाउन पनि फकाइफुल्याई लगाउनु पर्ने । खेतबारीमा काम गर्दागर्दै एकातिर हिँडिदिने । काम गरेको बेलामा कसैले बोलायो भने उतै गइदिने । सबैजना उसको व्यवहारबाट आजित हुँदै थिए ।
मान्छेहरुलाई डुकुको उपस्थितिले बिझाउन थाल्यो । त्यो देखेर डुकु फेरि घरबाट गायब भयो, उस्तै तरिकाले । अब उसको दिनचर्या घरबाट शहर र शहरबाट घर हुँदै थियो । उसको बाउ भने छोराले जिन्दगीमा कसरी प्रगति गर्ला भनेर सधैं चिन्तित भइरहन्थ्यो । त्यसैबीच डुकु सेनामा भर्ती भयो । त्यो खबर शहर हुँदै गाउँसम्म, गाउँ हुँदै घरसम्म र घरघरको पिँढी
र अँगेनासम्म पुग्यो । उसको बाउले ‘बल्ल ढुक्क भएँ’ भन्दै थियो तर पनि अन्तर्यमा भने संशय गर्थ्यो ‘न बीचैमा जागिर छोड्ने पो हो कि’ भनेर । किनकि डुकुले कुनै पनि काम त्यो मितिसम्म पूर्ण गरेकै थिएन ।
डुकुले सेनाको नोकरी राम्रैसँग गरिरह्यो । उसले बिहे पनि गर्यो तर लक्ष्मीसँग भने होइन । अब उसलाई फेरि मान्छेहरुले “डुकबहादुर’ भन्न शुरु गरेका थिए ।
डुकबहादुरले जागिर खाएको दशै वर्षमा शान्ति सेना भएर विदेश जाने मौका पायो । उसको गाउँमा झन् चर्चा हुन थाल्यो । ‘अहो! कस्तो राम्रो भाग्य’ सबैले डुकबहादुरको तारिफ गर्न थाले ।
डुकबहादुर बिदेशबाट फर्केर आयो । गाउँ आउँदा ऊ एक्लै थिएन । साथमा एउटी केटी पनि थिई । उसले केटी ल्याएको दिन घरमा रडाको मच्चियो । गाउँका मान्छेहरु भेला भए । ‘गाउँको कुरा गाउँ मै मिलाउनु पर्छ,’ टाठा बाठाहरु बोले ।
‘जेठी र कान्छी मिलेर बस,’ कसैले आदेश दियो । कसैले सम्झाइबुझाई गरे । जे होस्, जेठीले कुनै नालिस उजूर केही गरिन ।
डुकु र उसकी कान्छी स्वास्नी धन्सारमा बस्न थाले । मूल घरमा जेठी बस्ने भई । खेतबारीमा मिलेर
काम गर्ने सहमति भयो । डुकुले नोकरी पनि छोडिदियो ।
जब मान्छेहरु खेत बारीमा काम गर्न ब्यस्त भइरहेका हुन्थे, किसानहरुलाई भ्याइ नभ्याइ हुन्थ्यो । त्यतिबेला ऊ भने कान्छी स्वास्नीलाई लिएर बजार जान्थ्यो । “ऊ र उसको कान्छी स्वास्नी दैनिक बजार किन जान्थ्यो ?” गाउँलेहरु कौतुक मानेर आपसमा कुरा गर्थे । ऊ बाटोमा आउँदा जाँदा स्वास्नीसँग छिल्लिदै हिँड्थ्यो । कहिले अङ्गालो हाल्थ्यो । कैले हात समाउँथ्यो । कैले गालामा म्याई खान्थ्यो । खेतबारीमा काम गर्ने गाउँलेहरु भन्थे “लौ हेर हेर डुकुलन्ठकको चर्तिकला । थुइक्क बेइज्जती !”
कोही भने उनीहरुलाई नहेरी मुन्टो अन्तै बटार्थे । जे होस्, गाउँघरमा त्यो अपच्य थियो र त्यस्तो रमिता पहिला कसैले कैले देखाएको थिएन । एक वर्ष पनि नबित्दै डुकबहादुरको भएभरको धन सुनचाँदी गुटमुट्याएर कान्छी स्वास्नी लापता भई ।
र, आफ्नै घरमा ऊ भिखारीजस्तो देखिएको थियो जेठीका अगाडि ।
३
डुकुको दोभानको जग्गा अब्बल थियो । जहाँ उसले तीन खेती लगाउँथ्यो । हरमौसममा त्यहाँ खेती हुन्थ्यो । सिँचाइको अभाव थिएन । माटो उर्बर थियो । खेतले चौबाटो छुन्थ्यो । सबैले दोभानको खेत भन्थ्यो तर दोभान भने अलिकत तलै पर्थ्यो ।
एक दिन गाईबाख्रा लिएर ऊ र उसकी स्वास्नी त्यही दोभानको खेततिर लागे । त्यस दिन ब्याडमा धानको बिउ राख्नु थियो । खेतमा पुगेपछि, डुकुको दिमागमा अचम्मको विचार आयो । नवीन विचार । त्यो नवीन विचारले नवीन योजना बनायो । नवीन योजनाले नवीन जोश र जाँगर ल्यायो शरीरमा । चौबाटोको छेऊमा उभियो र ऊ गौर गरेर खेत पुरै हेरिरह्यो । भर्खरै मनमा उब्जिएको कुरालाई मनमा खेलायो । धेरैबेरसम्म मनन गरिरह्यो । ऊ लामै समय चौबाटोमा तङ्चिएको देखेर खेत नजिकै गाई चराउदै गरेकी उसको स्वास्नी च्याँठ्ठिदै भनेकी थिई “अब के चाहिँ अनर्थ सोच्न थाल्यौ ?” उसको स्वास्नीलाई लाग्थ्यो कि डुकुले राम्रो सोच्दैन भन्ने कुरा ।
डुकुले भन्यो, “केको अनर्थ नि ? अर्थको कुरा सोच्दै छु । अर्थ । अर्थ । अर्थ आर्जन । अब म यही चौबाटोको छेऊ खेतमा पसल खोल्छु । बुझिस् ? पसल ।”
ऊ बडा महाजन भइसकेको कल्पना गर्दै थियो र खुशीले उसलाई एक बित्ता माथि उफ्रुँ उफ्रुँजस्तो लाग्यो । मान्छेलाई कहिलेकाहीँ उसका योजनाले मात्र पनि खुशी दिन्छ, भलै त्यो पूरा होस् या नहोस् ।
नभन्दै महिना दिनपछि उसले पसल खोल्यो, अलिकति ऋण र अलिकति धन जोडजाम गरेर ।
कसले रोकोस् उसलाई ! ऊ स्वास्नीलाई टेर्दैनथ्यो । बाउआमा बुढाबुढी भइसकेका थिए । पहिले जसरी
उसलाई कराउन पनि सक्दैनथे ।
कसैले भन्थे, “दोभानको खेतमा धान रोप्न छाडेर पसल थाप्यो । मति बिग्रेको ।”
कसैले भन्थे, “बाउबाजेले पनि नगरेको सीप देखाउन थाल्यो ।”
कसैले भन्थे, “त्यसको पसल चलेछ भने त कान च्याट्टै काट्छु ।”
कसैले भन्थे, “बगरमै थापेको भए पनि हुने नि, त्यसको बुद्धि ।”
सबैले केही न केही टिप्पणी गरे । कोही जान्ने बुझ्ने देखिन, कोही मनको तुष पोख्न, कोही ईर्ष्याले, कोही रिसले टिप्पणी गरे । सामान्यत: मान्छेहरु काम गर्नुभन्दा अरुको टीकाटिप्पणी गर्न खुब रुचाउँछन् । कसैले अलग केही काम गर्न थालेमा नकारात्मक चर्चा परिचर्चा आवश्यकताभन्दा बढी नै गर्छन् ।
उसले पसलमा सामानहरु क्रमबद्ध तवरले मिलाएर राख्यो । आवश्यकता अनुसारको सामानहरु जस्तो कि नून, तेल, मसला, जुत्ता, चप्पल, लत्ता कपडाहरु आदि इत्यादि ।
डुकुको पसल क्रमिक रुपले वृद्धि हुँदै जान थाल्यो । आकारले पनि वृद्धि हुँदै गयो । व्यापार आशातीत भयो । सबैले भन्दै थिए, “डुकुले राम्रै गर्यो ।” अब ऊ डुकुलन्ठक होइन “साहुजी” भनिदैथियो ।
पहिले पहिले खिस्सि गर्नेहरुले ईर्ष्या गर्दै थिए । पहिले पहिले डुकुको मति बिग्रियो भन्नेले उसकै पसलबाट उधारोमा सामान लैजान थाले र पहिले पहिले तिरस्कार गर्नेहरुले नै उसलाई सत्कार गर्न थाले ।
उसको गाउँको एक जना लुरे लुरे परेको व्यक्ति जसको नाम थियो, “दाताराम” सधैं पसलमा आउँथ्यो । दिनभर बस्थ्यो अनि बेलुकी घर फर्कन्थ्यो । कोही ग्राहक नआएको बेलामा कुरा गरेर समय व्यतित गर्ने साथ पनि पाएको थियो, डुकुले । डुकुलाई कहिलेकाहीँ सहयोग पनि गर्थ्यो । त्यसको बापत डुकुले दातारामलाई केही रकम त कैले केही बिस्कुट चाउचाउ या उसलाई जे चाहिएको छ, त्यही दिन्थ्यो ।
डुकुको कामको चाप बढ्दै गइरहेको दातारामले देखिरहेको थियो । डुकुलाई भ्याइनभ्याइ हुन थाल्यो । उसलाई एक जना सहयोगी अपरिहार्य हुन लाग्यो । जस्तो कि उधारोको लिखत राख्न सामान ल्याउन लैजान आदि आदि । एक दिन दातारामलाई नै डुकुले एक जना विश्वासिलो काम गर्ने मान्छे चाहियो भनेर कुरा राख्यो । उसले कुनै विलम्ब नगरी ऊ आँफै काम गर्न सक्ने घोषणा गर्यो । दातारामले ‘म कैले पनि धोखा दिने छैन’ भनी दश चोटि कसम पनि खायो । डुकुले कसरी अविश्वास गरोस् दातालाई ! उनीहरु आखिर एउटै गाउँका थिए ।
दातारामले केही वर्ष इमान्दारितापूर्वक काम गर्यो । कुनै खोट थिएन काममा । लिखत पुरापुरा दुरुस्तै राख्थ्यो । सामान ल्याउने ठाउँमा पनि डुकुले दातालाई चिनायो । दुबैजना आलो पालो गरेर सामान लिन जान्थ्यो । दाताले भने भित्रभित्रै डुकुको नाडी हरतरहले छामिसकेको थियो । र, उसलाई जिल्याउन कुनै आइतबार कुर्नु नपर्ने ठहर गर्यो । वर्षा शुरु हुनुभन्दा पहिले पसलको लागि सामान ल्याइसक्नु पर्ने थियो । वर्षामा सबै मान्छेहरु खेतबारीमा व्यस्त हुन्थे । अर्को कुरा, वर्षायाममा खोलानाला बढेर सामान ल्याउन पनि त्यत्तिकै मुस्किल हुन्थ्यो । उधारो उठेको पैसा र वर्षाको लागि भनेर राखेको पैसाको एकमुष्ट रकम दातालाई दिएर पठायो र दाता पनि केही नाइँनास्ती नगरी सामान लिन गयो । ु
दुई दिनपछि दाताराम रित्तै फर्केर आयो ।
“दाइ बिजोगै भयो,” दाताले अकस्मात टुप्लुक्क आएर पसलको ढोकामा बस्दै भन्यो । त्यतिखेर डुकु र्याकमा सामान मिलाउँदै दशैँसम्मको व्यापारको अनुमान लगाइरहेको थियो । उसले बोल्न नभ्याउँदै दाताले पुन: भन्यो, “सामान किन्ने ठाउँमा भीड थियो । न त्यहीँ कसैले जिप्ट्यायो कि वा कतै खस्यो पत्तै भएन ।” त्योभन्दा दाताको लवजमा न कुनै लज्जा न हीनता थियो । अलिकत पश्चातापको रङ्गले मुख पोतिएको थियो । डुकु भने बोल्नका लागि शब्द खोज्दै थियो र घामले असुराको पात ओइलिएझैँ नीलो भएर थच्च भित्रै कुर्सीमा बस्यो ।
उसले लामो निःश्वास फाल्यो र दातालाई हेर्यो । पैसा गुम्यो भन्ने कुरा उसलाई पटक्कै विश्वासै लागिरहेको थिएन । मानौँ त्यो स्वप्न हो । दाता भने त्रासरहित र निर्भय देखिन्थ्यो ।
“अब के गर्ने ?” भन्ने प्रश्नवाचक दृष्टि तेर्स्यायो दातामाथि । दाताले बुझेझैँ “उजूर गरौ भने पनि पसल दर्ता छैन । राजश्व छलीको कानून पनि जटिल छ भन्ने सुन्या छु । तिमी नै विचार गर दाइ के गर्ने ।” दाताले करको डर देखाइदियो ।
अब सामन कसरी ल्याउने भन्ने अत्यास र पैसा गुमेको चोट दुवैको पीडाले एकैचोटि मर्ममा प्रहार गर्दै थियो र अर्को मनको कुनामा दातालाई किन पठाएछु भनेर पश्चतापको सियोले निर्ममतापूर्वक घोचिरहेको थियो । उसको बोली धेरैबेरसम्म फुट्नै सकेन । मानौँ ऊ घोर ध्यानमा थियो ।
त्यसपछिका दिनहरुमा पसलको व्यापारले लय समाउन सकेन । पसलमा ल्याएको सामान छिटो छिटो खपत हुन्थ्यो भने पैसाको अभाव त्यही अनुपातमा बढ्दै गैरहेको थियो । सामान खरिद गर्नका लागि पैसाको बारेमा सोध्दा दातारामले “उधारो उठेको छैन” भन्दै झर्कन्थ्यो । अब डुकुलाई हेक्का हुनै छोड्यो कि कति उठ्यो र कति बाँकी छ उधारो भन्ने कुरा ।
यता पसलमा सामान नहुने उता उधारो नउठ्ने । विगतको व्यापार सम्झँदै ऋण थप्न पनि शुरु गर्यो । ऊ ऋणको दलदलमा बिस्तारै फस्दै थियो । कसरी दाताले उसलाई जिल्याउँथ्यो उसले कहिल्यै भेउ पाउन सकेन ।
अब डुकुलाई सामान ल्याएको ठाउँबाट साहुहरूले ताकेता दिन थालेका थिए । अनि बेलाबेलामा दातारामले उसको कान फुकेर सातो लिन्थ्यो । भन्थ्यो कि “भाखामा पैसा नतिरे चौकीमा थुन्छु भनेको छ रे साहुहरूले ।” त्यति बेला डुकु भयभित बन्थ्यो । र, अहिल्यै तलको खोलाभित्र लुक्न जाऔँ जस्तो हुन्थ्यो ।
डुकुले अब पसलबाट पार पाउन नसक्ने देखेर दातालाई भन्यो, “दाताराम अब पसल बिक्री गर्नु पर्यो ग्राहक खोज ।”
दाताराम यही मौकाको त प्रतीक्षामा थियो । उसले भन्यो, “यहाँको आउँछ यस्तो नचलेको पसल किन्नलाई ? पसलै बेच्ने भए खेतसमेत बेच्नु पर्छ ।” दातारामले सल्लाह दियो । दातारामको कुत्सित प्रपञ्च के बुझोस् डुकुले ! एकछिन भुतभुतायो रिसले । खेत बेच्ने कुरा त के कल्पना गर्न पनि सक्दैनथ्यो । तर डुकबहादुर विवश थियो । ऋण तिर्नलाई खेत बेच्नै पर्ने उसले अड्कल काट्यो । उसले वारिपारि गाउँघर सबैतिर चाहर्यो र सोध्यो बुझ्यो तर उसको पसल खरिद गर्ने कोही निस्केन । र,
यता बेलाबेलामा दाताले उस्तै सातो जाने कुरा गर्थ्यो । आखिरमा दातारामले नै भन्यो, “लौ डुकु दाइ मलाई नै देऊ खेत र पसल । म किन्छु । नत्र तिम्रो पसल कसले किन्छ यो दोभानको छेऊमा ? ” उसले ठूलै उपकार गरिदिन लागे जस्तो गरी बोल्यो ।
डुकुले नचाहँदानचाहँदै पसलसँगै खेत बेच्नु पर्यो । खेत बेचेको दिन ऊ दोभानमा गयो । मनभित्रको दावाग्नि निभाउन दहलाई हेरिरह्यो । धेरैबेरसम्म घोरिएर हेर्दा पानीले पनि मनको आगो निभाउन नसक्ने ठहर गर्यो । अनि ऊ डिलबाट फर्किएर सोझै दोभानको खेत जुन केही समय पहिले आफ्नो थियो त्यतैतिर सोझियो । तर त्यहाँ पुग्दा नपुग्दै उसको क्रोध र आवेग मत्थर भैसकेको थियो । ऊ क्लान्त मुहारले निर्निमेष आफ्नो पसललाई हेर्यो र घरतिर लम्कियो ।
उसको स्वास्नीले उसलाई ठाडो धारे हात लगाउँदै भनी, “थुइक्क डुकुलन्ठक जस्तो नाम त्यस्तै काम गरिस्। बाउबाजेको छाला पनि बेचेर सिध्याइस् ।” स्वास्नीले त्यसोभन्दा उसको व्यग्र अनुहार टीठलाग्दो देखिन्थ्यो । एकदम दीनहीन र निरीह ।
मान्छेहरुका बीच डुकुबारेमा पुन: गफ चल्यो । एउटाले भन्यो, “दातारमले डुकुलाई बिचल्ली बनाइदियो ।”
अर्कोले भन्यो “दातारामलाई त चिठ्टै परे जस्तो भयो ।”
अर्कोले भन्यो, “जुन काममा ज्ञान र सीप छैन, त्यो काम गर्नु हुन्न । मैले त पहिल्यै भनेकै हो त्यसले टेरेन ।”
अर्कोले कुरा काट्दै भन्यो, “कसैले पनि आमाको पेटमा सिकेर आएको हुन्न । सीप र ज्ञान भनेको गर्दै जाँदा हुने हो तर त्यसले ढङ्ग नभएर हो उठिबास लागेको ।”
फेरि अर्कोले भन्यो, “खासमा अरुमाथि पूर्ण भरोसा गर्नु हुन्न । डुकुले सम्पूर्ण जिम्मेवारी दातालाई दिएर बिग्रिएको हो ।”
पसल र खेत बेचेपछि डुकु बिरौटाको छेउमा आएर हरेक दिन त्यो आफ्नो खेत र पसल हेर्थ्यो । सदियौँदेखि बाजे बाराजुको रगत पसिनाले सिन्चिएको खेत आज अरुको भएको थियो । पसलमा मान्छेहरुको भीड देख्दा उसको मनमा अथाह वेदनाको मूल फुट्थ्यो ।उसको क्रन्दन, त्यो आर्तनाद, त्यो अरण्य रोदन केवल त्यही बिरौटाले मात्र टुलुटुलु हेरी सुन्थ्यो । उसको क्रन्दनभन्दा बढ्ता उच्चाहट खोलाको सुसाइथियो स्वाँ … ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।