तेह्र दिनको युद्धपछि हाम्रो सोच, हाम्रो संस्कृति हाम्रो इतिहास सबै बद्लियो । सही र गलतको यस लडाइँ तेह्र दिनको युद्धपछि हाम्रो सोच, हाम्रो संस्कृति हाम्रो इतिहास सबै बद्लियो । सही र गलतको यस लडाइँमा के सत्य के असत्य? को ठिक को बेठिक? कसलाई ज्ञान थियो र । युद्धको समाप्तिसँगै युग पनि समाप्त भयो । लङ्काको त्यो रणक्षेत्र अविजित रह्यो।

अब पालो धर्मक्षेत्रको।

आजको यस न्याय सभामा श्रीराम, सीता, लक्ष्मण, हनुमान्, सुग्रीव, जाम्बवान्, अङ्गद, दशानन रावण, कुम्भकर्ण, मेघनाद, अक्षयकुमार, प्रहस्त, अकम्पना र विभीषण उपस्थित छन्। सबैलाई यस धर्मक्षेत्रको न्याय सभामा एकमुष्ठ स्वागत छ ।

धर्म क्षेत्रको न्यायिक सभामा आज एक अपूर्व सुन्दरी लङ्काधिपति दशानन रावणकी एकमात्र बहिनी शूर्पणखालाई उपस्थित
गराउँदैछौँ । उनि माथि उनकै भाउजू महारानी मन्दोदरीद्वारा कुलद्रोहको आरोप लागेको छ ।
यो सभा शूर्पणखालाई कठघरामा आउन अनुरोध गर्दछ । महारानी मन्दोदरी कृपया हजुर पनि आइदिनु होला ।
सभाध्यक्ष बोल्दछन् ।

सबै सभाले कस्तो मोड लिनेछ भनेर कौतुहलता पूर्वक मन्दोदरी र शूर्पणखा तिर हेर्दैछन् ।
सभाको सुरुवात भयो । महारानी मन्दोदरीको आरोपलाई सुनिसके पछि शूर्पणखा बोल्न थालिन् ।
————————————————————————-
त्यस दिन दरबारमा अनौठो हल्ला भयो । सबै डराएका जस्ता देखिन्थे । अनुहारमा डरको रेखा प्रष्ट देखिन्थ्यो । अचनाक स्थितिमा परिवर्तन किन आयो यो मलाई ज्ञात हुनसकिरहेको थिएन । दरबारमा सैनिक तैनाथ सधैँको भन्दा बाक्लो थियो । सबै सैनिक हातमा ढाल र तरबार लिएर चनाखो भै तैनाथमा थिए । दास-दासी, नोकर-चाकर त्रस्त भएको उनीहरूको मुखमण्डलबाट प्रष्ट देखिन्थ्यो ।

मदन दुलाल

दरबारको पूर्व दिशाबाट कालकेय दानव कुलका महाराज आफ्ना निकटवर्ती मन्त्रीहरूसहित दरबारको सभगृहतिर प्रस्थान गरे । उक्त दलबलमा मेरा पति दानव सेनापती विद्यतु जिह्वा पनि महाराजको ठिक पछि पछि देखिए । दरबारको सभागृह अरू बेला प्रयोग हुँदैन थियो । कुनै आकस्मिक बाह्य र आन्तरिक सुरक्षा चुनौती देखा पर्दा मात्र देशका मन्त्री र महाराज भेला भै आकस्मिक भेला बस्दथे । उक्त सभागृहतिर महाराजसहितको दलबल गएको देख्दा राज्यमा कुनै विकट परिस्थिति उत्पन्न भएको अनुमानसम्म लगाउन सकेँ।
उस समय नारीलाई पुरूष उपस्थित सभामा सहभागिता पूर्ण रूपमा बर्जित थियो । राजकुलका कुनै पनि नारीलाई राज्यको महत्वपूर्ण निर्णयबाट अलग राखिन्थ्यो । स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै म महारानीको कक्षतिर गएँ । महारानी कक्षमा दासीहरूका साथ चिन्तित मुद्रामा हुनुहुन्थ्यो । मलाई देख्ना साथ सहज उठ्नु भयो र भयभीत मुद्रामा देखापरेको स्थितीको बारेमा प्रश्न गर्नु भयो।
म स्वयम् आँत्तिरहेको अवस्था थिएँ । मनमा बेचैनी जस्तो छाइरहेको थियो । महारानीको भयग्रस्त प्रश्नहरूका उत्तर मसँग थिएनन् । कक्षको माहोल सम्हाल्न मैले मेरो बेचैनीलाई भित्रभित्रै दबाएँ । महारानीलाई केही नभएको, स्थिति सबै साम्य रहेको बताई ढाडस दिने काम गरेँ । म कति सफल भए यो त म भन्न सक्दिनँ तर महारानी केही शान्त भने देखिनु भयो ।
———————————————————————-
त्यसताका संसारमा राक्षस कुलमा महान् तपस्वि पुलस्त्यका वंश परम्परामा दशाननको एकक्षत्र साम्राज्य थियो । आफ्ना पिता तपस्वी बिश्रवाबाट प्राप्त ज्ञानको बलमा र राक्षसी माता कैकेसीबाट प्राप्त भएको आसुरी मायाको प्रयोग गरी दशानन मदमत्त गजराजजस्तै मदोन्मत्त थियो ।

उसको बराबर अरू कोही थिएन । ज्ञानमा ज्ञानवान् र शक्तिमा शक्तिशाली थियो । सबै विषयको ज्ञान राख्दथ्यो । वेदज्ञ थियो, सङ्गीतको मर्मज्ञ थियो, वाक्चातुर र कुटनितिज्ञ थियो, तिलस्मी थियो, माया र छलकपटमा माहिर, हरप्रहर मदिरामा लठ्ठ प्रायः रहने दशानन यौनको मामलामा भने कमजोर देखिन्थ्यो ।
महत्वाकाङ्क्षी हुनु एकहदसम्म सही ठहर्ला श्रीमान् । यसमा मेरो केही भन्नु छैन । तर उग्र महत्वाकाङ्क्षाले आफैँलाई अन्धकारमा हेली नै रहन्छ । यो मन्दगतिको अति शक्तिशाली विष हो । यसमा काबु पाइएमा जीवन प्रकाशमय हुने मेरो ठम्याइ हो । तर महत्वकाङ्क्षाले स्वयंलाई वशमा गर्‍यो भने व्यक्तिको सुझबुझ क्रमश: ओरालो लाग्दछ । अति महत्वाकाङ्क्षी सम्राट् दशाननलाई स्वर्गमाथिको विजय पश्चात् कसैको सुन्ने फुर्सद नै थिएन । एक पछि अर्को सहज विजय प्राप्त भैरह्यो । आफ्नो विजयोन्मादको दन्किदो लाप्काले कति निर्दोष जलेर भस्म भए, कति पलायन भए यो कुरामा दशाननले सोच्दै सोचेनन् ।
व्यक्तिगत पटाक्षेप र गाली गलौजमा उत्रिन यस गरिमामय न्याय सभामा कसैलाई अनुमति छैन। न मलाई छ न तपाईँलाई । शूर्पणखा आफ्नो मर्यादाको उलङ्घन नगर्न र मर्यादा कायम राख्न म तपाईँलाई चेतवानी दिन्छु । जे सोधिएको हो त्यसको सोझो जवाफको अपेक्षा छ , न्यायसभाका सभाध्यक्षले केही नरम तर आदेशात्मक अनुरोध गरे ।

श्रीमान् मैले न उस्बेला मर्यादा तोडे न यसबेला यहाँ न्याय सभामै तोडेकी छु । ममाथिको आरोप प्रत्यारोप सावित हुँदै रहला । कृपया मलाई बोल्न दिनोस् । म मेरो बचाउका लागी तर्क पेश गरिरहेकी छैन श्रीमान् । मेरो नाममा परेको उजुरीको सेरोफेरोमा रहेर पूर्वसमयमा घटित घटनाको नालीबेली लाउने अनुमती माग्दछु । त्यसपछि हजुरको न्याय निसाफ जे रहन्छ सो म सहस्र स्वीकार्छु श्रीमान् ।
बोल्ने अनुमति छ । कृपया विस्तारमा बताउनुस् । तर कसैमाथिको भद्दा टिप्पणी असह्य ठहर्नेछ । ख्याल होस् । धर्माध्याक्षको आवाज आउॅंछ ।
धन्यवाद श्रीमान् ।
त्यसको केही समय पश्चात् भ्राता दशानन रावणको प्रचण्ड प्रकोप केही समय शान्त रह्यो । किन ? के कारण ? यो मलाई थाहा छैन, तर भ्राता दशानन रावण केही समय लङ्कामा नै रहनु भयो । म भ्राता दशानन रावणकी प्यारी बहिन शूर्पणखा उस समय लङ्कामै बस्दथेँ । सधैँ भ्राताको संरक्षण र लाहाड प्यार र कुलीन राजघरानमा राजसी ठाँटमा हुर्किएकी म वयस्क भएको होस सुद्ध रहेन । साना साना कुरामा निउ खोज्ने मेरो स्वभाव थियो । चाहेको वस्तु प्राप्त एवंरितले गरी छाड्थेँ । चाहेका वस्तु प्राप्त गर्न श्रीमान् मैले यिनै मेरा नङलाई हतियारको रूपमा प्रयोग गरेको पनि बग्रेल्ती उदाहरणहरू छन् । यही कारण मेरो नाम मिनाक्षीबाट शूर्पणखा रहन गयो श्रीमान् । शूर्पणखा मतलव तीखा र धारिला नङ हुने वाला/वली । म क्रूर थिएँ तर बिछ्ट्टै सुन्दरी पनि थिएँ । मेरो सुन्दरताको अघि स्वर्गका अप्सरहरू पनि फिका पर्दथे । तर वाल्मीकिले रामायण लेख्दा ताका मलाई अत्यन्त कुरूप, घिनलाग्दी, जर्जर भनी व्याख्या गरेका छन् । यसमा मेरो घोर आपत्ति छ । यसलाई सच्याउन मैले महामुनि वाल्मीकिलाई यहीँबाट अनुरोध गर्दछु ।
श्रीमान् ! म भन्दै थिएँ म क्रूर थिएँ । मलाई अलिअलि कालो जादूको ज्ञान पनि थियो । माया भन्छन् नि माया, हो त्यही । भलै मेरा पिता ब्रह्मज्ञानी भएता पनि जन्मजात ममा आसुरी स्वभाव थियो । माता कैकेसी र दाजुहरूको सङ्गतको असर पनि थियो । सङ्गतले पनि व्यक्तिगत जीवनमा धेरै ठुलो असर गर्दो रहेछ भनेर अहिले म बुझ्दैछु । दाजु विभीषण मात्र लङ्कामा फरक विचार धाराका थिए । दाजु विभीषणको सङ्गत भएको भए सायदै म यस कठघरामा अपराधीको रूपमा उभ्भिनु पर्ने थियो । खैर जे हुनुथ्यो भयो ।”न्याउरी मारी पछुतो”- गर्नुको फाइदा छैन ।

दरबारको सुख सयलमा हुर्किने क्रममा मैले तमाम उतारचढाव देखेकी छु । लङ्कामा आएका उतारचढाव मैले प्रत्यक्ष भोगेकी छु । कैयौँ शीतोष्ण लङ्कासँगै मैले पनि भोग्ने सौभाग्य पाएँ । लङ्का भ्राता रावणको नेतृत्वमा समुन्नत र समृद्धिको मार्गमा अग्रसर थियो । अरूका लागि भ्राता रावण क्रूर थिए । तर मेरालागि करुणाले ओतप्रोत । कैयौँ पटक भ्रातासँगै मैले पुष्पक विमानमा सयर गरेकी छु । समय सुन्दर थियो भनौँ ।
समय आफ्नै गतिले चलिरह्यो । बिना रोकटोक एकनास नित्य निरन्तर समयसँगै प्रकृति पनि फेरिई रह्यो । प्रकृतिको नियम हर जीवमा लागु हुने नै भयो । यो धरामा जन्म लिए पछि हर कोहीले परिवर्तन नचाहेर पनि स्वीकार्नै पर्ने अनिवार्यता रहेछ । यथास्थितिमा रहिरहनु जडता रहेछ । समयसँगै बग्न सक्नु नै जीवको नसैर्गिक धर्म रहेछ । समयको बहावले पनि ममा परिवर्तन ल्याई छाड्यो । चोली उठिसकेको थियो । शरीरमा एक प्रकारको नौलो अनुभूति हुन लाग्यो । कताकता शरीरमा अनौठौ झट्का महसुस हुन्थ्यो । ऋतु दर्शन भएको केही दिन पछि रोमरोम रोमाञ्चित हुने गर्थ्यो । विपरीत लिङ्गीप्रति एकप्रकारको अनौठो आकर्षण सुरु भएको थियो भनौँ । पुरुषको बलिष्ठ बाहुमा आफैँलाई समाहित गरेको कल्पिन्थेँ । र घन्टौँ उही कल्पनामा डुबिरहन्थेँ । अनन्त आनन्दको महासागरमा डुबिरहन्थेँ ।
भ्राता दशाननको डरले कोही पुरुष मेरा सामु पर्दैन थिए । न मैले नै भ्राताको सामु यो कुरा गरेँ । समय बित्दै गयो । पुरुषसँगको आकर्षण बढ्दै गयो । एउटा निश्चित दूरीको यात्रा तय गरेपछि गन्तब्य आउनु पर्ने हो । तर मेरो हकमा गन्तब्य भेटिएको थिएन ।
यस पटक पाशा मेरो पक्षमा फ्याँकिदियो समयले । लामो समय पछि नै सही फ्याँकिदियो । अन्तत: एकदिन दानव कुलको विद्यतु जिह्वा मेरो नजिक हुन पुग्यो । म राक्षस कुलमा जन्मिएकी राक्षसी थिएँ । ऊ दानव कुलमा जन्मिएको दानव थियो । दानव र राक्षस कुलकाबिच चिरकालीन कटुता थियो । बैमनश्यता थियो । कहिल्यै नटुङ्गिने शीतयुद्ध थियो । यस प्रकारको चिरकालीन युद्ध के कारण थियो ।
मलाई ज्ञान थिएन र छैन पनि । यसकारण विद्यतु जिह्वा र मेरो प्रेमबिच एक प्रकारको दरार पहिलेदेखि नै थियो । यही असहज परिस्थितीले हाम्रो बिरलै भेट हुन्थ्यो ।
दैव भन्छ रे तँ चिता म पुर्‍याउॅंछु । मैले चिताएँ । मेरो त स्वभाव पनि थियो मन परेको र चिताएको वस्तु प्राप्त गरी छाड्ने । पारिवारिक लफडाको अघि मैले मेरो पुष्पित हुँदै गरेको प्रेमको बलिदान नगर्ने निर्णय गरेँ ।
अप्ठेरोको बिचोबिच अँकुराएको प्रेम दिन दुईगुना रात चौगुनाको दरले झाङ्गिएर गयो । केही काल पश्चात हामीले गन्धर्व विवाह गर्‍यौँ । यो कुरा भ्राता रावणलाई पचेको थिएन त्यसैले मेरो माइतीघरसँगको सम्बन्ध सदा सदाको लागि टुट्यो ।

—————————————————————-
महारानीलाई सान्त्वना दिएर म मेरो कक्षतिर जाँदै गर्दा विकराल शङ्खनाद सुनेँ । यस शङ्खनादले खतराको सङ्केत गर्दै थियो । छिटोछिटो बार्दलीमा गएर हेरेँ । लङ्कापति दशानन रावणको पतका फहराइरहेको थियो । थाहा पाएँ कि भ्राता रावण लामो समय पछिको विश्राम पछि पातललोकतिरको दिग्विजय यात्रामा रहेछन् । दानवलोक सम्मको यात्रामा आउने भुरे टाकुरे राज्यहरूलाई बलपूर्वक खोसिसकेका रहेछन् ।
दशाननको अघि दानवलोकको केही चलेन । देख्दा देख्दै सुन्दर दानवलोक श्मसानमा परिणत भयो । हाहाकार र चित्कारसिवाय अरू सुनिन्नथ्यो । अकास्मात् आतङ्कको दुन्दुभि चारैतिर फैलियो मेरो आँखैअगाडि भ्राता रावणले चन्द्रहास नामक तरबार प्रयोग गरी मेरो प्रेम सदासदाको लागि छिनाइदिए । दानव सेनापती विद्यतु जिह्वा चिरनिद्रामा लीन भए श्रीमान्, मेरो सम्पूर्ण जीवन अन्धकारसमान प्रतित भयो । रोएँ कराएँ तर भ्राता रावणको पाषाणवत् हृदयसम्म उक्त चित्त पुग्न सकेन ।
दिग्विजयको नाममा दानवलोक सम्मको यात्रा तय गरी रावणले मेरा सम्पूर्ण संसार उजाडिदिएको उही दिन उही क्षण मैले मनमनै भीषण प्रतिज्ञा लिएँ श्रीमान् भीषण प्रतिज्ञा । मैले भ्राता रावणको सपरिवार समूल नष्ट गराई छाड्ने प्रतिज्ञा लिएँ । भाउजू मन्दोदरीलाई यो कुरा कसरी थाहा भयो म जान्दिनँ तर यो कुरा सत्य हो । म स्वीकार्छु ।
——————————————————————-
सभामा मुर्दा शान्ति उत्पन्न भयो । बोल्दा बोल्दै शूर्पणखा क्रोधले र पतिको सम्झनाले व्याकुल भई । सभामा उपस्थित सम्पूर्ण स्तब्ध थिए । स्थितिलाई सम्हाल्न सभाका अध्यक्षले शूर्पणखालाई सम्बोधन गर्दै अघिको घटना क्रम विस्तारमा कहन सूचित गरे ।
अवस्य श्रीमान् ।

शूर्पणखाले थकित स्वरमा बोल्दै सभामा उपस्थित सबैलाई एक-एक गर्दै हेर्न थाली । सभामा उपस्थित सबैको आँखामा अघिको घटनाक्रम सुन्न र जान्न उत्सुकता थियो । शूर्पणखाको नजर लक्षमणसँग ठोकिएर स्थीर भयो । शूर्पणखाले
सभाध्यक्षलाई सम्बोधन गर्दै लक्ष्मणलाई कठघाराम ल्याउन मिल्छ कि भनेर प्रश्न गरी शूर्पणखाको यो प्रस्तावले सभाहलमा गुनगुन सुरु भयो । स्थितिलाई साम्य पार्दै सभाध्यक्षले लक्ष्मणलाई न्याय सभाको कामकारवाहीलाई सहज बनाइदिन आग्रह गरे ।
शूर्पणखाको ठिक अघिको कठघरामा लक्ष्मण उभ्भिएका छन् । स्वाभावले नै सन्कहा, रिसहा र छुच्चा लक्ष्मणको शारीरिक हाउभाउ हेर्न लायक छ । लक्ष्मणलाई अगाडि उभ्भिएको देखे पछि मेघनादको श्वासको गति बढेको हरकोहीले सहजै अनुमान लगाउन सक्थे ।
श्रीमान् इजाजत भए के म लक्ष्मणलाई केही प्रश्न गर्न सक्छु ? अबको घटनाक्रममा लक्ष्मणको उपस्थिति अनिवार्य छ । केही प्रश्न छ । प्रश्नको उत्तर पछि लक्ष्मण जान सक्छन् ।
इजाजत छ, सभाध्यक्ष बोले ।
शूर्पणखा:- पञ्चवटीमा त्यस समय किन र के कारण बस्नु भएको थियो?
लक्ष्मण:- धन्यवाद ! श्रीमान् हामी किन र के कारण पञ्चवटीमा रोकिएका थियौँ यो सारा जगलाई विदितै छ । यसमा मैले केही भन्न पर्छ भन्ने अनिवार्य सम्झिन्नँ।
सभाध्यक्षले लक्ष्मणलाई रोक्दै रोषपूर्ण आदेश दिए।
लक्ष्मण यो कुनै अयोध्याको राजसभा होइन मन लागे बोल्न नत्र नबोल्न । याद रहोस् यस समय हजुर न्यायिक कठघारामा हुनुहुन्छ जे सोधिएको हो त्यसको जवाफ दिनोस् ।
लक्ष्मण:- क्षमा श्रीमान् ! मेरो मतलब त्यो थिएन । शूर्पणखा! म, दाजु राम र भाउजू सीता उस समय पञ्चवटीमा १४ वर्षको वनवासी जीवन गुजार्दै थियौँ । स्वर्गीय पिता महाराजको आदेशानुसार,
शूर्पणखा:- उक्त क्षेत्र लङ्काको अधीनस्थ क्षेत्र थियो । कसको अनुमति लिएर हजुरहरू त्यस क्षेत्रमा प्रवेश गर्नु भयो ? राजपरिवारका सदस्यहरूलाई भूराजनीतिको ज्ञान त थियो होला ।
लक्ष्मण:- शूर्पणखा हामी उस समय कुनै देशका राजकुमार थिएनौँ । यो कुरा सबैले थाहा पाउनु पर्छ । हामी निर्वासनमा थियौँ। शरणार्थी सरह जीवन थियो हाम्रो । शरणार्थीले जुन कुनै भूगोलमा शरण लिने गर्दछन् । हामीले त्यही गर्‍यौँ ।
शूर्पणखाले लक्ष्मणको यस उत्तरको खण्डन गरिन तर शारीरिक हाउभाउले विमति प्रष्ट देखिएको थियो र पुन: प्रश्न गर्न सुरु
गरिन् ।
शूर्पणखा:- ठिक छ, ठिक छ । त्यस दिन के भएको थियो सङ्क्षेपमा कृपया बताइदिनुहुन्थ्यो कि?
लक्ष्मण:- शूर्पणखा यो पनि सर्वविदितै छ । मैले भनि रहन परेन तर पनि सभाको यही इच्छा छ भने मैले भन्नेछु, श्रीमान् हामी त्यसदिन सदाझैँ सामान्य अवस्थामा थियौँ । अकास्मत् शूर्पणखा खोई कता बाट हो? किन हो थाहा छैन, हाम्रो कुटीमा देखापरिन् । दाजु रामसँग के लफडा पर्‍यो थाहा भएन, उनको हाउभाउ निको थिएन । लफडै लफडामा मेरो हातबाट यिनको नाक कान काटियो बस् यत्ति हो।
लक्ष्मणबाट धेरै अपेक्षा थिएन । उनले छोटकरीमा घटनाक्रम विस्तार गरेर जिवामा लगाम लगाए ।
हवस् लक्ष्मणजी उत्तरका लागि कोटी कोटी धन्यवाद । कृपया आफूलाई सहज गर्नुहवस् । श्रीमान् मैले लक्ष्मणलाई केही कुरा सोध्नु थियो सोधिसकेँ, अब भने अघिको घटनाक्रम विस्तार गर्दछु ।
————————————————————————
दानवजातिको परम्परा अनुरूप पतिको अन्त्येष्टी क्रार्यक्रम सकिएको थियो । दानवलोक पूर्णरूपमा लङ्काको अधीनस्थ
थियो । महाराज कालकेय नाम मात्रका राजा थिए । सबै दशानन रावणको निगरानीमा राज्य सञ्चालन हुन्थ्यो । दानव प्रजालाई भारी कर बोकाइएको थियो । कर समयमा नबुझाइको दण्ड मृत्यु थियो । दानव कुल शनैः शनैः पतनतर्फ उन्मुख थियो ।
एकदिन कौसीमा बसेर टोलाइरहेको समयमा लङ्किती रावणको सन्देशवाहक आयो र सन्देश पत्र थमाएर गयो । लेखिएको थियो कि मैले यथाशीघ्र दानवलोक परित्याग गरि लङ्का फर्किनु पर्ने ।
पति हत्याको बदला लिन मैले लङ्कामा पुन: बापस जाने निधो गरे । यो सुन्दर अवसर थियो त्यसैले गएँ मनभरि वेदना बोकेर माइत जाँदा हलुङ्ग्गो मन बोकेर जाँदा हुन् अरू तर मैले त्यो अवसर पाइनँ । एकप्रकारको उदासी थियो ।
माइतका अरूसँग मेरो खासै केही बेर थिएन र छैन पनि भ्राता दशाननको प्रति तीब्र घृणा थियो । लामो समय पछि परिवारका सदस्यसँगको भेटमा म भक्कानिएँ । माता र भाउजूले बहुत सम्झाए बुझाए । सानो शिशु जस्तै म रोइरहेँ …रोइरहेँ । लामो यात्रा गरेर आएकी म रुँदा रुँदै फतक्कै गलेछु । बिउँझदा मैले कोठामा पाएँ ।
म लङ्का रम्न आएकी थिइन । मेरो लक्ष्य अरू नै थियो । सुरुवाती दिनबाट नै मैले मेरो योजनालाई मूर्तरूप दिन थालेकी थिएँ ।दाजु दशाननको सामु सबै ठिक चलेको अभिनय गरेँ । यसमा म सफल भएँ । दशाननको अलवा मेरा अरू दुई दाजु थिए कुम्भकर्ण र विभीषण । विभीषणबाट मलाई केही आशा थिएन र न त केही खतरा न त केही आशा थियो दाजु कुम्भकर्णबाट । भेट्न गएँ। सुतिरहेका रहेछन् । उनलाई निद्रा बहुत प्यारो थियो । कसैले निद्रा भङ्ग गर्‍यो भने बज्रसरि बज्रिने गर्दथे निदाई रहेका दाजुलाई हेरेँ र सरासर फर्किएँ आफ्नो कक्षतिर । शत्रुमाथि हावी हुने युद्ध नीतिमा केवल दुई बिकल्प हुने गर्छ । एक शत्रु बलवान् छ भने उस्को कमजोरी के के हो भनेर पत्ता लगाउने र उक्त कमजोरीको फाइदा लिने, दोस्रो सर्प-चुवा नीति प्रयोग गर्ने । मैले सर्प-चुवा नीतिमा खासै ध्यान दिइन केवल भ्राता रावणको कमजोरीको लामो समय लगाएर मिहिन अध्ययन गरेँ । कामवासना र स्त्रीको ममलामा त भ्राता रावण कमजोरै थिए यो त मैले पहिलै पनि भनिसकेँको छु । मैले यही कमजोरीको फाइदा लिने निर्णय गरेँ र त्यही अनुरूप आफुलाई तयारी गराएँ।
एकदिन सुलोचनासँग विद्यतु जिह्वासँगको प्रेम प्रशङ्गको अन्तरङ्ग कुरा गर्दै गर्दा खबर आयो पञ्चवटीको उत्तरदिशामा अवस्थित लङ्काअधीनस्त क्षेत्रमा कुनै घुसपैठिया घुसेर मेरी हजुरआमा ताडका र मामा सुबाहको निर्मम हत्या भएको रहेछ । लङ्कामा खैलाबैला मच्चियो । यो खबर लङ्काको गृह मन्त्रालयसम्म पुग्यो । हजुरी ताडका र मामा सुबाहु को थिए भन्नुहोला? पारिवारिक हिसाबले लङ्काधिपतिको मावलीपट्टिकी हजुरआमा थिइन् ताडका र सुबाहु उनकै जेठो छोरो तर लङ्काधीशले उनीहरूलाई उत्तरक्षेत्र प्रमुख बनाएर नियुक्त गरेको थियो ।
लङ्काका लागि अशुभ यो समाचार मेरालागि भने शुभ सङ्केत थियो । भ्राता रावणको अहं पहिलो पल्ट कसैले प्रहार गेरको थियो । यस्तै क्षणको प्रतिक्षामा थिएँ म । लङ्कामा भ्राता रावणको अध्यक्षतामा आकस्मिक बैठक बोलाइयो । उक्त बैठकले पञ्चवटी र आसपासको क्षेत्रका सुरक्षामा कढाइ गर्ने निर्णय गर्‍यो । लङ्कापतिले उन घुसपैठ गर्नेको सुराकीका लागि गुप्तचर संस्था चलायमान राखेको थियो।
केही समयको सक्रिय खोजतलासीमा केही सुराक पत्ता लगाउन नसकेपछि लङ्काले मौन कुटनीतिको अवधारणा अङ्गिकार गर्‍यो र त्यै अनुरूप आफ्नो गृहकार्य तर्जुमा गर्‍यो । लामो समयसम्म पनि केही सुराकी हात नलागेपछि यो मुद्दा बिस्तारै जनमानसको टाउकाबाट हराउँदै गयो । रावणको मौन कुटनीतिले सबै स्थिति साम्य पार्‍यो ।
म भने कुनै न कुनै रूपमा सक्रिय नै थिएँ । मलाई हरहालतमा ती दुई घुसपैठीसम्म पुग्नु पर्ने थियो । मलाई लाग्छ दशानन रावण यसै चुपलागेर बसेको त पक्कै थिएन । राजा होनी । त्यै पनि चक्रवर्ती । एवंरित प्रयोग गर्दा पनि म सफल हुन सकिरहेको थिइन । सुबाहु र ताडकाको हत्या पछि लङ्काको उच्चपदस्थ व्यक्तिहरू उपर कुनै पनि खतरा देखिएन। अचम्मैको घटना थियो । नियोजित थियो भनौँ भने त्यस पश्चात् केही घटना पुन: घटेको थिएन । यसै हुलजुलुसमा मारिएका हुन् भनौँ भने सुबाहु र ताडका निकट योद्धा थिए । के हो के हो? यी दुवै पक्षलाई मैले केलाउनै सकिरहेकी थिइन।
लङ्काका ती योद्धाद्वय मारिएको पनि केही वर्ष भएको थियो । सबै पहिलाजस्तै आफ्नै गतिमा चलमलाइरह्यो । दाजु कुम्भकर्ण यही समयमा केही समयकालागि जागा भए । घटित सबै घटनाक्रम बिस्तारमा बताएँ । दाजु कुम्भकर्ण कुनै एक निर्णयमा पुग्नु अगावै भ्राता रावण उपस्थित भए । आफ्नो वाक्चातुर्यताको प्रयोग गरेर विषयान्तर गरिदिए । दुई भाइमा विकशित घटनाक्रमको विमर्ष भयो । म भने चुपचाप बाहिर निस्किएँ ।
कसै गर्दा पनि समय मेरो पक्षमा नआएको देख्दा यो प्रतिशोधको मनोभाव छाडिदिऊँ जस्तो पनि नलागेको त होइन । प्रतिशोधी
भावनाले मैले मेरो जीवन भने जीवन जसरी जिइरहेकी थिइन । भित्रभित्रै एकप्रकारको नैराश्य जस्तो छाउन थालिसकेको थियो । जीव समयको दास रहेछ । समयले नै सबै थोक गर्दो रहेछ । समयले नै पछार्छ र समयले नै उठाउँदछ । लङ्कामा रहँदा बस्दा मन मात्र निचोरिएर आउँथ्यो । म निरीह र लाचार थिएँ । यसबिचमा भ्राता रावण मेरो सन्चो बिसन्चो सोध्न नआएका पनि होइनन् । मैले सबकुरा ठिक चलिरहेको अभिनय गर्न भने छाडिन।
एकदिन पुन: लङ्काको राजसभामा पञ्चवटीबाट लङ्काको सेना हातहाती भएको खबर आयो । सबै आकस्मिक बैठक बस्नतिर लागे । एक पटक पुन: कसैले रावणको सम्प्रभूतामाथि धावा बोलेको थियो । सायद केही वर्षअघिका ती घुसपैठिया यिनै पो हुन कि? मनमा अनेक तर्कना नआएका पनि हैनन् । मलाई अवसर गुमाउनु थिएन । सरासर पञ्चवटीतिर लागेँ ।
पञ्चवटीमा ढलेका लङ्काका सेनाको मृत देह यसै बेवारिसे रहेछन् । तिनै मृत देहलाई पछ्याउदैँ म एउटा सानो कुटिमा पुगेँ । नाम मात्रको कुटि थियो । लाग्यो यो कुनै ऋषिमुनिको कुटि हो । गलत ठाउँमा आएछु भनेर फर्कनै के लागेको थिएँ, एक
सुन्दर, सुडौल, बलिष्ठ, तेजस्वी साक्षात् कामदेवको झल्को दिने एक धनुर्धारी युवक कुटिबाट बाहिर आउँदै गरेको देखियो । रुखको छल लागेर निकै बेर घोरिएर हेरेँ । यी सब काण्डपिच्छे पक्कै यही युवकको हात हुनु पर्छ भन्ने लख काटेँ।
श्रीमान् विद्यतु जिह्वाको हत्या पछि कुनै पुरूषसँग मेरो आकर्षण थिएन । ती जटायुक्त पिताम्बरधारी युवक देखेपछि त श्रीमान् म पानी पानी भएँ । ममा उक्त युवकप्रति मोह उत्पन्न भयो । साँच्ची श्रीमान् मैले मेरो मुख्य ध्येय नै भुलेकी थिएँ । मनमनै पतिको रूपमा ग्रहण गरेँ । ममा प्रेमभावना अङ्कुरित भएको थियो । रोक्न सकिनँ र उनी नजिक गएँ । कुटिको अर्कोपट्टि दुरुस्तै अर्का युवक हातमा धारिलो हतियार लिएर केही खिपिरहेका थिए । मेरो उपस्थितिको उनलाई भान थिएन ।
नजिक पुगेर मैले ती आकर्षक युवकलाई आवाज दिएँ ।
उनी कोशल राज्यका राजकुमार राम रहेछन् । पितामहाराजको आदेशानुसार चौध वर्षको निर्वासनमा रहेछन् । नजिकै रहेका अर्का युवक भाइ लक्ष्मण रहेछन् ।परिचय आदनप्रदान भएपछि मैले रामलाई मेरो प्रेमभावना व्यक्त गरेँ । पहिल्यै विवाह भैसकेको र एकपत्नीव्रतमा रहेको भनरे मेरो प्रेम रामले स्वीकार गरेनन् । मैले अनुनय गरेँ । सुनुवाई भएन । म लक्ष्मणका पास गएँ, तिरस्कार मिल्यो । यस्तैमा कुटिबाट एक सुन्दरी नारी निस्की । रामले मेरी पत्नी सीता भनेर परिचय गराए । सीताको रूपको म गुणगान गर्न सक्दिन । अभूतपूर्व अलौकिक सुन्दरी सीताप्रति ममा विद्रोह जाग्यो । र उनीमाथि जाई लागेँ । बिडम्बना मेरो नाक र कान काटियो लक्ष्मणको हातबाट यो कुरा त लक्ष्मणले केही समयपूर्व उद्घोष गरी नै सके ।
श्रीमान् के प्रेम गर्नु पाप थियो? के प्रेम गर्दैमा कसैले कसैको नाक काट्न मिल्छ र? यो प्रश्नको उत्तर राम र लक्ष्मणबाट कुनै दिन
आउला नै अपमानको घाउ निकै दुख्दो रहेछ। अपमान बोकेर केही पर गएँ। पानी पिएँ शरीरक क्रोधावेशमा आएर निकै तातेको पाएँ । केही छिनमा ठन्डा दिमागले सोचेँ । पदच्यूत भएपछि यस्तै अपमान सहनु पर्ने रहेछ भन्ने बोध भयो । जे गर्न भनी हिँडेको हो त्यही गर्न पर्ने रहेछ।
यी दुई भाइ बिनाअनुमती अर्को देशको सीमामा प्रवेश गर्नु, उक्त देशका सेना र प्रहरीको दिनदाहाडै हत्या गर्नु यो चानचुने कुरो थिएन । यी दुई वनवासी युवक वास्तवमै शक्तिशाली रहेछन भन्ने बुझेर यी नै युवकद्वयको प्रयोगबाट रावणको पतन गर्ने दढृ निश्चय गरेँ ।
सुरुमा पञ्चवटीमै रहेको रावणको छाउनीमा गएँ । खर र धूषण जो मेरा सौतेला भाइ थिए उनीहरूलाई मराएर रावणलाई उक्त क्षेत्रमा कमजोर तुल्याँए । तत्पश्चात् म करुण क्रन्दनसहित लङ्का पुगेँ । सभा जारी थियो । लङ्काको उक्त सभामा गरम गरम बहस चल्दै थियो । सबभन्दा बढ्ता क्रूद्ध भ्राता रावण र मेघनाद देखिन्थे । लाग्थ्यो उनीहरूले सबै उजाडिदिने तुफान हुन् । सभामा उपस्थित सबैको अनुहार लाल लाल भएका थिए । सबैले एकै स्वरमा वनवासी युवकद्वयलाई भौतिक कारवाहीको माँग गरिरहेका थिए । समय मेरो पक्षमा थियो । मौकालाई कति पनि उम्किन नदिईकन कारुणिक भावमा मैले सभामा प्रवेश गरेँ । सबैको ध्यान ममा केन्द्रित भयो । भ्राता रावण सहसा उठेर क्रोधित स्वरमा के भएको हो विस्तार पूर्वक भन्न आदेश दिए।
मैले उक्त सभामा भएभरको विवरण बताएँ । खुब अभिनय गरेँ । अभिनयको प्रभाव पर्दै गयो । खर र धूषणको मृत्युको खबरले सबैलाई उद्वेलित गरायो । आवेगमा सबैले ती दुई युवकलाई मृत्युदण्डको सजायको जोर-जोरले माग गरे । मैले सभालाई थप उचाल्न आगोमा घ्यू थपिरहेँ । राज्यको राजकुमारीको नाक कान काट्नु स्वतन्त्र राज्यमाथिको हेपाइ हो । लङ्काधिपति रावणको वर्चस्वमाथिको ठाडो चुनौती हो। यस्तालाई समयमै सबक सिकाउन पर्छ भनेर उक्साउन छाडिन । सभा ठोस निर्णयमा पुग्नु पूर्वनै मैले भ्राता रावणको कमजोरी पक्षलाई प्रयोग गरी झन् उद्वेलित गराउन सीताको अलौकिक सौन्दर्यको सकेसम्म वर्णन गरेँ । सीता जङ्गलमा नभई लङ्काको रानी हुनु पर्ने बताँए । स्त्रीको अघि रावण त के महादेवपनि डग्छन्।
सीताको यसप्रकार वर्णन गरेँ कि रावण सभामा जुरुक्क उठी अपमानको बद्ला अपमान भन्दै कड्कियो सभाका अधिकांश मन्त्रीहरू युद्धको पक्षमा थिए। स्वयं भ्राता रावण पनि युद्ध गरेर संसारलाई आफ्नो बलको प्रदर्शन गर्न चाहन्थे । लगभग युद्धको स्थिति बनिसकेको थियो । मैले पुन: एकपटक सभालाई सम्बोधन गरेर शत्रुलाई कमजोर आँक्न नहुने बताएँ । मैले खर धूषणको वध गर्दै गरेको देखेको र वनवासी दुई युवकको बल र सामर्थ्य बारे धेर थोर बडाएर भनेँ । मेरो कुराको प्रभाव पर्‍यो । भ्राता रावणले युद्ध बाहेक अन्य विकल्पको बारेमा छलफल चलाए ।
मैले कति पनि समय खेर जान नदिई अपमानको बदला अपमान नै हुनु पर्ने माग गरेँ । जसरी लङ्काकी राजकुमारीको अपमान भयो ठिक त्यसरी नै वनवासी रामको पनि अपमान गर्नु पर्छ भनेर सभालाई सम्बोधन गरेँ र पुन: एकपटक सीताको अलौकिक सौन्दर्यको वर्णन गरिदिएँ । स्त्रीको मामलामा भ्राता रावण कमजोर थिए। जबजब म सीताको वर्णन गर्थेँ भ्राताको मुखमण्डलमा भिन्नै चमक आउँदथ्यो । मैले सीता अपहरणको सल्लाह दिएँ ।
मामा अकम्पना र मामा मारिचको सहायताले केही दिनपछि सीताको अपहरण भयो।
त्यसपछि काम तमाम । मेरो प्रतिज्ञाले मूर्त रूप लियो।
————————————————————————
भग्न पर्खाल भित्रको सयपत्री हुँ म श्रीमान् । फुलेँ तर फुलेर सुवासित हुन सकिनँ । नारी थिएँ तर नारीत्वको ममत्व सङ्गाल्न
सकिनँ । अभिशप्त जीवन जिएँ । प्रेमको अनुभव कहिल्यै गरिनँ । मैले स्वयंलाई हारेँ । पहिलो पल्ट मैले जितेर हारेँ । न खुशी नै भएँ न दुःखी नै । सारा कुल जलाउनमा मैले अहं भूमिका निभाएँ तर दोष चाहिँ विभीषण दाजुको थाप्लोमा गयो।
श्रीमान् मैले भाउजू मन्दोदरीद्वारा लगाइएको आरोप सहस्र स्विकार्छु । सजाय जे जस्तो भए पनि स्वीकार छ ।
सबै अचम्मित थिए । सभामा मौनता कायम रह्यो । उपस्थित सबैजना एकअर्काको मुखामुख गर्दै थिए । यत्तिकैमा न्यायसभाका अध्यक्षले दशानन रावणको तर्क सुनिसकेपछि मात्र अर्को ईजलासमा शूर्पणखा उपर लागेको आरोपको फैसला सुनाउने निर्णय गरे र सभाको अन्त्य गरे।
अस्तु: