‘ए बा ! चिठी ल्याएर गयो बिदुर हुलाकीले । यो कसले पठाएको रहेछ, हेर हेर,’ माइजूले दिउँसो खानाखाएर ढल्किरहेको बेलामा एउटा चिठी ल्याएर खाटमा पल्टिरहेका मामालाई दिइन् ।

हात काँप्दै नीलकण्ठ मामाले पत्र समाते, तर त्यसमा राम्रै कुरा होला भनेर सोचेका थिए । उनी नराम्रो कुरा सोच्नेलाई गाली गर्थे । सधैँ एउटा उदाहरण दिन्थे, उज्यालोको महिमा उजागर गर्ने ।

‘यहाँ अहिले के छ ?’ उनी अँध्यारो कोठालाई देखाएर भन्थे । सबैले ‘अँध्यारो छ’ भनेर उत्तर दिन्थे ।

फेरि सोध्थे, ‘यो अँध्यारालाई के ले हटाउँछ ?’

अनि सबैले ‘उज्यालाले’ भन्ने उत्तर दिन्थे ।

उनले ‘जीवनका अँध्यारा पाटाहरुलाई केवल उज्यालाले मात्र हटाउन सक्छ’ भन्थे । उनले भन्थे, ‘अँध्यारो हटाउन उज्यालो होइन, अँध्याराले नैे हटाउँछ भनेर लाग्ने भीडले हाम्रो समाज भरिएको छ ।’

यो पत्रलाई पनि उनले उज्यालो मनले हेर्न थाले । एकछिन कान्छाले चिठी पठाएछ भनेर पनि सोचे । फेरि भाइले

बाँस्काेटा धनञ्जय

पाँचथरबाट चिठी पठाएछ भनेर सोचे । अर्का कान्छा मामा पाँचथरको अमरपुरमा छन् । को होला त मलाई सम्झिने ? सबै आफन्त, घर र यो धरतीले समेत बिर्सने बेलामा कसले मलाई सम्झिने दुःख गरेछ ?

हात कमाउँदै मामाले माथिको टाउको मनमनै पढे । आँसु बर्रर झारे र बाँकी नपढी पट्याएर माइजूलाई दिए ।

‘हाम्रा आफन्तले पठाएको होइन रहेछ ।’

‘अनि कसले रछ त ?’

‘हाम्रो अब त अदालत पनि आफन्त भएछ । उसैले पठाएको । पूर्जी भन्छन् यसलाई । अब हामीले यो घर छोड्नुपर्छ ।’

‘होइन के भन्छन् यी बा?’ माइजू हतास भइन् ।

‘कसैलाई नभन् है यो कागजको बारेमा । दक्षिणकालीले घरजग्गा खाली गरिपाऊँ भनेर मुद्दा हालिछे …..,’ मामा काम्दै उठे खाटबाट । वरिपरि हेरे । के देखे, थाहा छैन । अँध्यारोमा पनि उज्यालो खोज्ने उनी यहाँ पनि उज्यालै देख्दैछन् ?

घरभित्र पनि नहुलेकी कुनै अनजान आइमाईले अंश मुद्दा हालेको पुर्जी घरमा आउँदा पनि उज्यालै देखे होलान् त नीलकण्ठ मामाले ?
०००
खाटमा बसेर तल हेर्दा खुई आउनबाहेक केही पनि भएको थिएन नीलकण्ठ मामालाई । साठीमै नब्बे वर्षका देखिन्थे । जीवन खाएर जीवन बाँच्नेहरुको माझबाट मामा कसरी उम्किन पाउँथे ?

‘तिम्री माइजूलाई सन्चो छैन,’ सुकेर बाँसजस्ती भएकी श्रीमतीलाई देखाउँदै मामा एकोहोरो बोलिरहन्थे ।

क्यान्सरले भेटेर उपचार गरेपछि कुखुरो भुत्ल्याएजस्ती भएकी थिइन् माइजू । भुँडी सुन्निएको थियो । टाउको भाग्यमानी पुरुषको जस्तो खल्वाट भएको थियो । मामाको कान्छो छोरो अर्थात् मेरो मावलीभाइ त्यो घरको ‘टुरिष्ट’ थियो । किनकि ऊ आकलझुकल मात्रै घरमा आउँथ्यो र तुरुन्तै हिँड्थ्यो ।

‘लकडीको व्यापार छ, छोड्न मिल्दैन,’ उसको सधैँ दोहोरिने लवज यही थियो ।

तर ऊ के गर्थ्यो बाआमालाई थाहा थिएन । ऊ पन्ध्र दिनमा एक पटक घरमा आउँथ्यो । बाआमालाई खर्चको आवश्यकता थियो तर उसले कहिल्यै सोधेन । न त योगदान थियो घरमा । तर मामाले आफैँ जोहो गरेका थिए आफ्ना लागि । नेपाल बैङ्क लिमिटेड बिर्तामोडमा मामाको खाता थियो । कहिलेकाहीँ मामा अधिकारी चोकबाट बस चढेर बिर्तामोड जान्थे र आउँदा पोकापोकी निकै लिएर आउँथे ।

‘बैँकबाट पैसा निकाले क्यार बूढाले आज…,’ अधिकारी चोकमा खासखुस चल्थ्यो ।

०००
मामाले उनन्तीस सालमा झापा झर्दा झापाको जलथलमा पाँच बिघा जग्गा किनेका थिए । काठ प्रशस्त भएकाले काठको त्यो भीमकाय काठले नै बेरा गरेर बनाइएको घर अहिले पनि आधुनिक देखिन्छ । माइजूलाई भरतपुर लग्दालग्दा दुई बिगाहा जग्गा सकियो । बाँकी तीन बिघाको पनि अंश गरिदिए मामाले ।

‘कुरा सुन छोरा हो, जेठा छोरालाई घर भएको कित्तासहित दश कठ्ठा, कान्छालाई एक बिघा दश कठ्ठा र जिउनी एक बिघाको बण्डापत्र गरम्,’ मामाको फैसलामा कसैले बिमति राखेनन् ।

जेठो रजतले बाबुआमालाई हेरचाह गर्छ भन्ने थियो उनलाई । त्यही भएर जेठाको नाममा घर पनि अंश गरिदिए मामाले । उनी बढी भावुक भए । घर जेठा छोराको नाममा भयो भनेर कान्छो छोराले मन दुखाउला भन्ने मामाले सोचेनन् ।

‘कान्छाको कुरा नगर यहाँ । त्यो अधर्मीको नाम लियौ भने…..,’ ठूलो स्वरले मामाले सबैको ध्यान ताने ।

‘आमा भएर हेर्नु नि, अनि थाहा हुन्छ छोराछोरीको माया कति हुन्छ,’ माइजूले प्रतिवाद गरिन् मामाको भनाइलाई ।

अर्कै थियो । कान्छो छोरा कुलतमा लागेको थियो । छ महिनामा एक पटक घर आउँथ्यो । बाझेर पैसा लान्थ्यो, अनि छ महिना हराउँथ्यो । यसचोटि ऊ घर नआएको दुई वर्ष भयो । लास पनि छैन, सास पनि छैन ।

उसलाई देख्ने जान्ने कोहीभएनन् ।

‘रमितलाई देख्ने कोही छैनन्,’ माइजूले मामाको छेउमा बसेर खुई काढ्थिन् ।

रमित निराकार भयो । उसलाई खोज्न मामाले नेपाल र भारतका धेरै ठाउँमा मान्छे लगाए । आफैँ पनि गए कैयौँ ठाउँमा । आफन्तलाई गुहारे तर पत्ता लागेन ।
०००
रजत प्रायः धरानमा बस्थ्यो । बाबुआमाले भन्दा कहिल्यै बिहे गर्न मानेन तर लामो समय धरानमै बस्यो । किन बस्थ्यो भन्ने कुरा कसैलाई थाहा थिएन । ‘व्यापारको सिलसिला छ,’ भन्थ्यो । कहिलेकहीँ गाउँका मान्छे घोपा अस्पताल जाँदा भानुचोकमा एउटी केटीसँग बसेर चटपटे खाइरहेको देखेका थिए । खबर ल्याउँदा नीलकण्ठ मामा शान्त रहन्थे । त्यो शान्तपनमा विद्रोहको ज्वालामुखी हुन्थ्यो ।

उनी पहिलापहिला निर्धक्क भन्थे, ‘हाम्रो भरोसा भनेको उही मात्र हो । मेरो र बूढीको भरोसा । अनि त्यो घर न घाट कि भएकी बहिनीको भरोसा ।’

आज मामा शान्त भए । अशुभको सङ्केत ।

मामाकी एउटी मात्र छोरी छ, मनिषा । राम्रो घराना हेरेर बिहे गरिदिएको थियो । बिहे गरेर विदेश गयो ज्वाइँ । सुरुमा मनिषाको खुब रेखदेख गर्यो । पैसा पनि पठायो । मामालाई लाग्यो, अब छोरीको घर राम्रो भयो । छोरीले घर खाई । तर छोरीले घर कहिल्यै पनि खाइसक्दा रहेनछन् । सुनेको त्यो उखान जस्तै भयो ।

पछि फेसबुकबाट चिनजान भएकी अर्की केटी बिहे गर्यो त्यो ज्वाइँले । छोराछोरी जन्मिन पाएनन् । ऊ पनि निराकार भई समाजको नजरमा । ऊ बेसहारा भएर माइतमा रोगी आमालाई हेरचाह गर्न बसेको छ वर्ष भयो ।

घरमा बाआमालाई हेरचाह गर्ने उही जेठो छोरो रजत थियो । उसैमा सबै भरोसाहरु थन्किएका थिए । अटेका थिए । बाँचेका थिए ।
०००
रजतको मोटरसाइकल दुर्घटनामा परेर इटहरीमा ज्यान गएको थियो । धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउनै पाएनन् । बाटैमा दिवङ्गत भयो । लासलाई यहीँ ल्याएर बिरिङ्गको बगरमा अन्त्येष्टि गरियो । मान्छेमा शोक थियो, संशय थियो सर्वत्र; अब नीलकण्ठ मामालाई कसले पाल्छ ?

अन्त्येष्टि त सम्पन्न भयो तर उसको क्रियापुत्री भएर बस्ने मान्छे कोही भएन । बल्लतल्ल कान्छा मामाको छोरो शालिकराम पाँचथरबाट आएको थियो, उही रनजी भयो । कपाल काटेर बस्यो । काम सुचारु भयो । मामाका आफन्तहरु आउने काम जारी रह्यो ।

दोस्रो दिन इटहरीबाट रजतकी सानीमा आइन् । उनले आउनासाथ आश्चार्य प्रकट गरिन् ।

‘भिनाजु, रजतकी केटी खै ?उसलाई बोलाउनु पर्दैन ?’

नीलकण्ठ मामा छाँगाबाट झरेजस्तै भए ।

‘को केटी ? के भन्छौ नानी? रजतले त बिहे गरेको ? हे भगवान्,’ नीलकण्ठ मामा खाटमा पल्टिए । बर्रर आँसु झारे । सन्नाटा छायो । माइजू पनि भित्र पसेर रुन थालिन् । दौराको फेर र गुन्यूको फेर आज तिनका आँसु पुछिदिने छोरा थिए । मनिषा पनि रुन थाली । थलामा आउने मान्छेहरु चकित भए ।

एक जनाले सन्नाटा चिर्दै बोले, ‘त्यसरी रजतले बिहे गरेको छ भने उसकी श्रीमतीलाई तुरुन्तै बोलाउनु पर्छ । भोलिपर्सि मेरो श्रीमान् पाउँ भनेर उजुर हाली भने हामी फस्छौँ । खोजी गरेर आजै ल्याउनु पर्छ, बुहारी हो भने ।’

सबैले स्वीकृतिजनाए यो कुरालाई ।

तीन जना मान्छे धरान लागे रजतकी श्रीमतीलाई ल्याउन । अज्ञात मान्छेलाई खोज्न हिँडेका तीे उत्तरआधुनिक मान्छे थिए । निराकारमा मान्छे भेट्ने धृष्टता राख्ने ।

तिनले धरानमा रजतको साथी देउमानलाई भेटे । देउमानले रजतकी श्रीमती कालिका बस्ने कोठामा पुर्याइदियो । कालिका घरबाट बोलाउन आए भने मात्र जाने भनेर बसेकी रहिछे । तिनले अनुरोध गरे कालिकालाई । घर छाडेर घर खोज्दै बस्ने बिसङ्गत मान्छेहरुको भीडमा कालिका पनि थिई । तिनीहरु रजतकी श्रीमतीलाई समेत लिएर बेलुका घर आइपुगे ।

नीलकण्ठ मामा त्यो दुलहीलाई देख्दा अर्धमूर्छित परे । माइजू भने त्यो बुहारीको रंग र रुप देखेर बर्रर आँसु झार्न थालिन् ।

‘किन रुनुभयो माइजू ? बुहारी आउँदा त छोराको तिर्सना मेटिने होइन र?’ मैले माइजूलाई प्याच्च भनेँ ।

‘…………………,’ मामामाइजूको गलो अवरुद्ध भयो ।

‘अहिले यस्ता कुरा गर्ने बेलाहोइन । सबै ठिक हुन्छ । चुपलागेर बस्नुस् ।’

त्यो बुहारीको रङ्ग र जात केही पनि मिल्दैनथ्यो । तैपनि मामामाइजूले छोराको अनुहार त्यही बुहारीमा देख्ने प्रयास गरे ।

छोराको वियोगको घाउमा त्यही बुहारीले भए पनि पुर्ताल गर्यो भन्ने लाग्यो तिनलाई । बुहारीलाई भित्र पसाए मामा माइजूले ।
एकै छिनमा सेतो वस्त्रमा कालिका पनि आफ्नो पतिको वियोग आशौच बसी । गाउँका मान्छेले मनमनै रजतलाई थुके तर कसैले मुख खोलेनन् । खासखुस मात्रथियो सबैमा — ‘विचरा नीलकण्ठ दाइले मर्ने बेलामा माड खुवाइदिने मान्छे पाएनन् ।’ रजतको वियोगको पिर भन्दा उसकी स्वास्नी एकैचोटि यत्रो पेट लिएर घरभित्र पसेको रहस्यमय कथामा लीन् थिए । कथा पनि कति निर्दयी कसै कसैका लागि त !

बाह्रौँ दिनको काम सकेपछि अपराह्न दुई बजे कालिकाले बिदा मागी, ‘मेरो काम विशेषले मैले आजै धरान जानु पर्छ तर यहाँको काम विशेषले भोलि अपराह्न मात्र जान पाउने भएँ ।’

‘के काम थियो?’ नीलकण्ठ मामाले निरासै मुद्रामा प्रश्न गरे ।

‘मलाई जुन कुराको डर थियो, त्यो डराउनु पर्ने विषय होइन रहेछ भन्ने लाग्यो आज । यहाँहरुले मलाई रजतको श्रीमती स्विकार्नु भयो र मेरो मात्र नभएर नारी अस्मिताको इज्जत गर्नुभयो जस्तो लाग्यो …………। हाम्रो बिहे दर्ता कोर्टमा भइसकेको छ । गाउँपालिकामा दर्ता गर्न बाँकी थियो, कागज लिएरै आएकी छु । बुबाको सहमति चाहिन्छ । त्यो काम गर्न धेरै बेर लाग्दैन । रजतको मृत्यु दर्ताको काम गर्नुपर्ने हुन्छ……….। यी दुई वटा काम बाँकी छन् । भोलि गाउँपालिकाको वडा कार्यालय जान बुबालाई पनि अनुरोध गरेँ । बुहारी स्वीकारेपछि यति त गरिदिनु होला भनेरै यो समाजमा मैले आफ्नो कुरा राखेकी हुँ…. ।’

‘…………..,’ सबै मौन रहे ।

उसले फेरि थपी, ‘म एउटी अबोध र असहाय नारीको खिलापमा त यहाँहरु जस्तो सभ्य समाजका व्यक्तित्वहरु पक्कै नजानुहोला,’ यो विषयले त्यहाँ खैलाबैला मच्चायो ।

‘अहिले नै हतार किन गर्नु ? यो मुटु फुटाएको घाउ निको होस् न, अनि सबै थोक गरौँला ………….’ नीलकण्ठ मामा आग्रह गर्दै थिए ।

‘यसले यो घरकी बुहारी हुँ भन्ने सम्झेको भए यत्तिका दिनसम्म हाम्रो अनुहार हेर्नसम्म किन आइन? छोराले बिहे गरेको छुसम्म भन्न पनि पाएन । अहिले छोरो मरेपछि हक चाहियो ?’ नीलकण्ठ मामा बम्किए ।

तर माइजूले मानिनन् । उनले भनिन् ‘हुन्देओ, रुख त ढलिसक्यो… अब जराको के भाउ काट्छौ ? मेरा बा भन्नुहुन्थ्यो ।’

कालिका शान्त भएर बसिरही । कसैलाई जवाफ फर्काइन किनभने गाउँलेहरु उसको पक्षमा उभिन थालिसकेका थिए ।

गाउँलेहरुले पनि निष्कर्ष निकाले । वडा कार्यालयमा गएर ती कागजहरु बनाइदिनै पर्छ । त्यो उनको अधिकार हो र रजतको वंश पनि रहेकोले यसमा तर्क गर्नु उचित हुँदैन ।

अर्थात् कालिकाले वडाबाट दुई वटै कागज पाई भोलिपल्टै र ऊ उसैदिन धरान लागी ।

०००
एक महिना र आधा बित्यो । रजतको पैँतालिसको मासेमै सबै काम सम्पन्न भयो ।

त्यही कामको तयारी हुँदै गर्दा घरै छोड्नु पर्ने भयो मामा माइजूले । उनन्तीस सालमाआफ्ना पसिनाले उभ्याएको त्यो घर आज उनको रहेन । छोरो उनको रहेन । आफ्नी बुहारी उनकी रहिन । यो धरती उनको रहेन ।

सबै थोक गुमाइरहेका नीलकण्ठ मामा रित्तो हुँदै थिए । झरिलो रुख सुकेर खङरङ्ग सिक्रो बन्दै थियो मामाको जीवन । सुकेको रूखको पनि बास खोसिँदै थियो । जरा सुकेको रूखको जरा किन काट्नु पर्थ्यो ?

ती रोगी बूढाबूढी कहाँ जाने, थाहा थिएन । त्यो घर न घाटकी मनिषाको अनुहार फुस्रो भएको थियो । ती इब्सेनको नाटकका नोरा थिए जो घरबाट निस्किन्छन् तर गन्तव्य थाहा हुँदैन जाने । यो सबैको जीवनमा आउने कथा रहेछ । यस्तै भयो ।

आजसम्म कहिल्यै नगरेको अनुभूति भयो मामालाई ।

मर्ने बेलामा पनि जीवनका जिजीविषाहरु नयाँ नै भएर भोग्नुपर्ने रहेछ ।

पैँतिस दिनमा खाली गरिदिनु भनेर सूचना आएको थियो । प्रतिवादी हाल्न त मिल्थ्यो तर मनले सन्तानसँग कसरी मुद्दा गर्नु ? मामाले यो बाटो अँगाल्न चाहेनन् ।

जीवनमा भोगाइहरु नयाँनयाँ जन्मिएर आउँदा रहेछन् । आज यस्तै भयो मामालाई । महिला अधिकारका ठूला स्वरमा कुरा सुन्दा ताली बजाउने र भोटै हाल्ने नीलकण्ठ मामाका हातहरु अहिले के भन्दैछन् ?

म उनको अनुहार पढिरहेको छु । मामाले मान्छेका हरेक असमानतालाई धारे हात लगाए । नारी स्वतन्त्रता र अस्मिताको कुरा उनको प्राथमिकतामा हुन्थ्यो । मामाले फेरि ताली बजाउलान् नारी मुक्तिको लागि?

आँगनको छेउमा फुलिरहेको सिउँडीको फूललाई मामाले हेरिरहे । त्यो सुन्दर फूलको अनुहारमा उनले कालिकाको कुरुप अनुहार देख्न थाले ।

‘मनिषे, त्यो सिउँडीको बोट उखेलेर मैले नदेख्ने गरी पर नहरमा फ्याँकी दे,’ मामा बर्बराउँदै थिए ।

कसैले पनि ‘किन?’ भनेर कारण सोध्न सकेनन् ।

(बाँस्कोटा धनञ्जयको भर्खरै प्रकाशित कथा सङ्ग्रह ‘चित्रगुप्तको ल्यापटप’ बाट)