प्रिय, क्रिकेट लभर ! तिमी यतिबेला भुइँ खाटमा झुल टाँगेर मीठो निद्राको मध्यान्नमा हाैली । सपनाका फूलहरुसँग आफ्नो सुकोमल गोडाहरु स्पर्श गराउन मस्त । तिमी सुन्दर फूलहरुको बगैैँचाभित्र घरि घरि मलाई पनि खोज्दी हौ, फेला परिहालेँ भने फूलमा आएका भँवराहरू झुक्किउञ्जेल मुस्कुराउँदी होलाऊ । फेला परिनँ भने केहीछिन मन खिन्न हुँदाे हाे । अनि फेरि भुसुक्क निदाउँदी हाेलाऊ । तर म भने यतिखेर तिमीले सपनामा पनि कल्पना नगरेकाे वास्तविकता लेख्दैछु । हाे म तिम्राे निम्ति पत्र लेख्दैछु ।
प्रिय, क्रिकेट लभर ! हुनसक्छ भने मलाई माफ गर । म अब तिमीसँग थप कुरा लुकाउन सक्दिनँ । मेराे धैर्य टुटिसकेको छ । अझै पनि तिमीलाई प्रेमको झूटो आश्वासन दिएर म आफैँभित्र तड्पिन चाहन्न । यदि त्यसाे गरेँ भने म आफैँ टुक्रिने छु । अझ भनौँ, पश्चतापको लठारोमा बेरिएर आफूले आफैँलाई ढाट्न वा छल्न म नसक्ने मनाेदशामा पुगेकाे छु ।
तिमी असल छौ । आम स्त्रीभन्दा भिन्न पनि छौ । तर म तिम्राे सुन्दरतालाई फूलसँग दाँज्दिनँ । फूलका डाँठमा भएका काँडाहरु मलाई मन पर्दैन । तिनीहरु असल खराब नछुट्याइकनै जसलाई पनि घोच्न तत्पर हुन्छन् । तर तिमीमा त्यस्तो कुरा अझसम्म भेट्टाउन सकेको छुइनँ, जुन कुरा मलाई मन नपर्ने होस् या मलाई बिझाओस् या घोचोस् ।
तिमी फूल होइनौ । फूलले जस्तो सबै भँवरालाई आफ्ना रस सेवन गर्न दिँदैनौ । तिमी त फूलभन्दा प्रिय छाै । जसलाई मन लाग्यो उसले चुँड्दै हिँड्न पाउँदैनन् । जोकोहीले मन पर्नसाथ टिपेर आफ्नो कानमा सिउरिन पाउँदैनन् । तिमी ज्ञानी अवश्य हौ तर त्यसो भन्दैमा म तिमीलाई सरस्वतीसँग तुलना गर्दिनँ । तिमी जून होइनौ, जो राति मात्र देखापरोस् । तिमीले त आजसम्म मेरो मनको एक चुस्की अँध्यारो फाल्ने प्रयास गरिरहेकी छौ । तिमीमा मैले खोट भेट्टाउन सकिनँ । सायद छैन पनि । नभको कुरा भेट्टाउन सम्भव पनि त हुँदैन ?
त्यसो त मैले तिमीलाई फेसबुकमा साथी बन्ने अनुरोध पठाउँदा नाम मिलेकै कारणले मात्र पठाको थिएँ– रबिन र रबिना । त्यतिबेला मेरो मनमा तिमीप्रति कुनै प्रेमभावना थिएन । आफ्नै शिरमाथि हात राखेर भन्दैछु – कसम ! यस्तो होला भन्ने कल्पनासम्म पनि गरेको थिइनँ ।
नामको साथसाथै मन पनि मिल्ला र सम्बन्ध यहाँसम्म आइपुग्ला भनेर पहिला नै थाहा भएको भए किन पठाउँदो हुँ र साथी बन्ने अनुरोध ! नाम मिल्नेबित्तिकै मन पनि कहाँ सबैको मिल्छ र ?
मेसेजमा कुरा हुँदा सोधेकी थियौ– हजुरको नाम कस्ले राखिदियो रबिन ?
जवाफमा मैले भनेकाे थिएँ – ममिले । अनि तपाईँको नि ?
मेरो चाहिँ बाबाले ।
ओह ! सल्लाह गरेर राख्नु भएजस्तो छ ।
मे बी !
मेसेजकै कुराकानीको क्रममा तिमीले एकदिन सोधेकी थियौ– आप्को अर कोही पसन्द हे तो बताति जिए जी । मे आप्का पिच्छा अभि छोडुंगी ।
मैले जवाफमा भनेको थिएँ– पसन्द तो बहुत लड्की आति हे जी । पर उत्नाही काफि नंहि होगि, सादि कर्ने के लिए तो प्यार कर्नेवाली लड्की हुनहि पडेंगान जी ।
तिम्रो रिप्लाइ– तो ठिक हे ।
……
मेरो पहिलो प्रेमको निधन भएको कुरा त मैले तिमीलाई पहिले नै सुनाइसकेको छु । त्यतिबेला तिमीले मलाई एउटा प्रश्न गरेकी थियौ – पहिलो प्रेमबाट विश्वास टुटेपछि पनि अब अरूमा विश्वास गर्न सक्नुहुन्छ ?
मेरो जवाफ थियो – सबै कुरा विगत सम्झेर चल्ने भए वर्तमानमा सास फेर्नुको अर्थ नै के र ? विगत विगत नै हो नि, हाेइन र ?
तिमीले समर्थन गर्दै भनेकी थियौ – उम्म, त्यो त हो नि । त्यही पनि दुःख त लाग्छ होला नि ?
मेरो जवाफ थियो – मान्छेको जीवनमा दुःखको मृत्यु त कहिले पो हुन्छ र ?
तिम्रो जवाफ – यो पनि सत्य हो । हजुरलाई यस्ता गहकिला तर्क कहाँबाट फुर्छन हौ ?
गहकिला भएर ?
उम नि । मलाई त कति मन पर्छ नि हजुरका कुरा ।
ए, हस !
………..
प्रिय क्रिकेट लभर ! मान्छे किन यति धेरै स्वार्थी हुन्छ ? किन आफूले प्रेम गरेको मान्छे आफैँसँग रहोस् भन्ने प्रण गर्छ ? आफूलाई प्रेम गर्ने मान्छे किन अरुसँग नजिक नभैदिए हुन्थ्यो भन्ने चाहन्छ ? यसकाे जवाफ छ भने मलाई बताइदिनू । चित्तबुझ्दो जवाफ पाएछु भने अवश्य पनि ममा केही परिवर्तन पक्कै आउनेछ । अनि त्यो परिवर्तनको जस तिमीलाई जानेछ । अर्काे कुरा, के कुनै पुरुषले एकभन्दा बढी स्त्रीलाई प्रेम गर्न सक्छ ? यदि उसले हृदयदेखि नै त्यस्ताेखालको प्रेम गरेको छ भने, के त्यो गल्ती हो ? कि एउटा मान्छेलाई प्रेम गरेपछि अर्को मान्छेलाई प्रेम गर्नु नै पाप हो ? के अनैतिक हो ?
तिमीलाई मेरो वास्तविकता सुनाउन मैले काठमाडाैँबाट तिम्रो कलेजसम्मको यात्रा तय नगरेको पनि होइन, तर मुस्किलले एउटा भेट मात्र जुर्यो । त्यो पनि एउटा गोधुली साँझमा जम्माजम्मी १५ मिनेटकाे । महिनौँदेखिको भेट्ने आशमा बाँचेकी तिमीलाई त्यो कम खुसीको पल थिएन । तिम्राे निम्ति त्यतिबेला साक्षात् परमेश्वर प्राप्त भए झैँ थिएँ म ! म तिमीलाई जुन कुरा सुनाउनको निम्ति गएको थिएँ, तिम्रो उत्साह र उमङ्ग देखेर सुनाउन सकिनँ ।
तिमीलाई याद हुनुपर्छ– छ महिना अगाडि मैले भनेको थिएँ, ‘रबिनाजी, मलाई एउटा केटीले केही दिनदेखि पछि लागेर हैरान पारेकी छे । म के भनूँ उसलाई ? अर्कै गर्लफ्रेण्ड छ भनेर टार्ने विचार गर्दैछु ।’
तिमीले भनेकी थियौ, ‘तेसो किन भन्नु ? उस्को मन दुख्छ । के था, उस्ले हजुरलाई साँच्चै माया गर्छे कि ? आफूलाई माया गर्ने मान्छेको मन त दुखाउनु हुन्न है रबिनजी ।’
तिमीले त्यति भनेपछि मेरो मनमा त्यही कुरा मात्र बज्न थाल्यो । आफूलाई माया गर्नेको मन दखाउनु हुन्न… आफूलाई माया गर्ने मान्छको मन दुखाउनु हुन्न …… ।
त्यसपछि म चुपचाप तिमीसँग कुरा गर्न थालेँ । हाम्रो प्रेमिल दुनियाँ झन् छिपिँदै गयो ।
………..
म एक स्वार्थी हुँ । ममा तिमीलाई आफ्नै बनाउने स्वार्थ थियो । मेरो साथ तिमीलाई आजका मितिसम्म मात्र थियो । तिमीभन्दा पहिला नै म अर्कै स्त्रीसँग प्रेममा परिसकेको थिएँ । बिहानको ११ बजेदेखि मध्यान्हको १ बजेसम्म मेरो कुनै लोकसेवाको तयारी कक्षा थिएन । त्यो मेरो प्रेमिकालाई दिने समय थियो । तिमीले कल गर्दा व्यस्त नहोस् भन्नका खातिर मैले झेली दिमाख लगाएको थिएँ ।
कहिलेकाहीँ जीवनको यस्ता मान्छेहरुको बीचमा गएर उभिँदो रहेछ– कसलाई अँगाल्नु कसलाई छोडुँ ! न दुबैलाई अपनाउन मिल्छ न त्याग्ने मन नै हुन्छ । आखिर सबैको मन एउटै हो, छुट्दा मन रुन्छ नै, जुट्दा फूल्छ नै । दुबै जनालाई प्रेम गर्ने मन एउटै हो, घटी बेसी कहाँ छ र ?
कहिलेकाहीँ त लाग्छ, यो मन भन्ने चिज नै बनायो कसले ? विद्धानले बनायो कि मूर्खले ? मूर्खले बनायो भनौँ भने दया, करुणा र प्रेम पनि अट्छ । विद्धानले बनायो भनौँ भने पाप, स्वार्थ र घमण्ड पनि यही मनमा छ । सायद मनमा अलिकति पनि स्वार्थ नहुँदो हो त आज यो अवस्थाको सामना पनि गर्नु पर्ने थिएन ।
उफ ! प्रेम पनि कस्तो दोभान हो ? जोडिनु पर्ने ठाउँमा छोडनु पर्दैछ, मिसिनु पर्नै ठाउँमा कोही चिसिनु र कोही रिसिनु पर्दैछ । तिमीलाई के लाग्छ, प्रेम सम्भावना नबोकेको खेल हो ?
भनिन्छ, युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ । के मैले अहिलेसम्म गरेको कार्य पनि जायज थियो ? होइन । पक्कै पनि ठिक थिएन । एउटा स्त्रीसँग प्रेममा छँदाछँदै अर्की स्त्रीप्रति पनि त्यही नजर गाड्नु कसरी उपयुक्त हुन्छ ?
तिमीले प्रस्ताव राख्यौ, मैले नाइँ भन्नै सकिनँ । भनेकी थियौ, ‘आफूलाई प्रेम गर्ने मान्छेको मन दुखाउन हुन्न !’ तिम्रो मन दुखाउन चाहिनँ । तिम्रो व्यवहार र बोलीचालीले मलाई यति तानिसकेको थियो कि मैले अर्की प्रेमिकाकाे बारेमा सम्झिन पनि सकिनँ । तिमीलाई अपनाएर म उसलाई छोड्न पनि त सक्दिनथेँ । ऊ त मेरो पहिलो प्रेमनिधनको प्रत्यक्षदर्शी थिई । उसकै आँट भरोसामा अडेकाे थिएँ म ।
……….
प्रिय, म अन्तिमपटक मात्रै सम्झिन चाहन्छु त्यो दिन, जुन दिन मैले अरु कसैले तिमीसँग च्याट गर्दै गरेको पत्ता नपाओस् भनेर मेसेन्जरमा तिम्रो नाम ‘क्रिकेट लभर’ राखेको थिएँ । किन थाहा छ ? मैले जीवनमा पहिलोपटक तिमी नै त्यस्तो केटीसँग सङ्गत गरेको थिएँ जो विश्व क्रिकेट दुनियाँसँग परिचित थियौ । तिमीले खाना बिर्सिएर क्रिकेट हेर्ने कुरा सुनाउँदा म साँच्चै अचम्मित र राेमाञ्चित बनेकाे थिएँ ।
मलाई माफ गर क्रिकेट लभर ! साथमा मलाई प्राणभन्दा धेरै प्यार गर्ने प्रेमिका हुँदाहुँदै पनि मैले तिम्रा भावनाहरुसँग खेलेँ । प्रेमको नाममा भावनासँग खेल्नुलाई मैले ठूलै अपराध ठानेको छु । यो अपराधीलाई माफ गरिदेउ, म यहाँभन्दा ज्यादा झेली बन्न सक्दिनँ । योभन्दा पर गएँ भने मभित्र पश्चतापको ज्वाला दनदनी दन्किने छ । त्यही ज्वालामा परी म भस्म हुनेछु । खरानी बन्नेछु । एउटा सामान्यभन्दा सामान्य बतासको झोँकाले मलाई उडाएर कतै टाढा लानेछ । मेरो सारा अस्तित्व मेटिनेछ ।
तर म खरानी हुन चाहन्नँ । मलाई त टाढै बसेर भए पनि तिमीलाई हेरिरहने मन छ । प्रिय, तिमीलाई हेरिरहने मन छ… ।
प्रिय क्रिकेट लभर ! एउटा बिन्ती बिसाउँछु ल ! कति चिन्ता नमानी, मेरा माथिका केही प्रश्नहरुको जवाफ लेखेर पठाइदेऊ । प्रिय क्रिकेट लभर ! म तिम्रो जवाफकाे तीव्र प्रतीक्षामा हुने छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।