ब्रह्मा, विष्णु र महेश्वर त्रिदेव भेट भएर ईन्द्रको कफी कर्नरमा कफीको चुस्की लिँदै भलाकुसारी गर्न थाले ।

विष्णुले भने, ‘हामी त्रिदेव मिलेर स्वर्ग, मर्त्य र पाताल तीनै लोक मज्जासँग चलाइराखेका छौँ । हामीजस्तै तीनवटा शक्ति मिलेर लोक हाँक्ने कोही होलान् कि नहोलान ? मलाई लोकमा गएर हेर्न मन लागेको छ ।’

डा. कुसुमाकर शर्मा

चार हातमध्ये दुई हातले जुँगा मुसार्दै ब्रह्माजी बोले, ‘अहिले स्वर्ग लोकमा र पाताल लोकमा त्यस्तो विघ्न उपद्रो भएको छैन। त्यसैले मर्त्यलोकमा मात्रै गए के होला ?’

‘कुराे एकदम ठीक हो । म पशुपति भएको देश नेपाल जान्छु ।’, गाँजाको धुवाँ फाल्दै लठ्ठिएको आवाजमा महादेवले भने ।

‘ए, त्यसो हो भने म पनि तिरुपति भएको देश भारत जान्छु ।’, विष्णुले आफ्नाे लागि देश छाने।

‘ब्रह्माका मन्दिर बनाउने र ब्रह्मालाई पुज्ने देश थाइल्यान्ड मात्रै हो । म त त्यहीँ जान्छु।’ हाँस्दै बोले ब्रह्माजी ।

‘जाने त जाने, हेर्नेचाहिँ के ?’ राता आँखा पल्टाउँदै गर्जिए महादेव ।

विष्णुले मुस्कुराउँदै बोले, ‘मर्त्य लोकमा अहिले डेमोक्रेसी भन्ने चिज हावी छ । देश सञ्चालनमा एउटा पक्ष र अर्को विपक्ष हुन्छ । अचम्मको कुरो त त्यहाँ पार्टी भन्ने जन्तु बग्रेल्ती हुन्छन् । यी पार्टीमा पनि हामीजस्ता तीनवटा मुखियाहरु भए कसरी पार्टी चलाउदा रहेछन् त ? भनेर हेर्ने ।’

‘ल त्यही गरौँ र आफ्नो काम सकिएपछि सगरमाथाको टुप्पोमा भेट्ने’, भनेर वाचा गर्दै त्रिदेव आ-आफ्नो गतव्यतिर लागे ।

ब्रह्माजी थाइल्यान्ड गई त्यहाँको सरकार र पार्टी सञ्चालन सुचारुरूपले चलेको थाहा पाएर आफ्नो काम सिध्याइ सगरमाथाको टुप्पोमा आई बसे । एक हप्तापछि विष्णु ब्रह्माजीको छेउमा आइपुगे र बोले ‘ओहो ! भारत त कति जटिल देश रहेछ । जताततै माकुराको जालोजस्तो जेलिएको । तैपनि सरकार र पार्टी सञ्चालन राम्रै रहेछ । पार्टीको मुखिया एउटै हुने रहेछ ।’

ज्ञात रहोस्, देउताको एक दिन भनेको मर्त्यलोकको एक वर्ष हुन्छ ।

दुई हप्तासम्म पनि महादेव नआएपछि ब्रह्माजी र विष्णु महादेवलाई खोज्दै पशुपतिको मन्दिरमाथिको श्लेषमान्तक जङ्गलमा पु गे। यसो हेरेको त महादेव श्लेषमान्तक जङ्गलको सबैभन्दा अग्लो ढिस्कोमा बसेर नेपालका पार्टीका मुखियाहरूको चर्तिकला हेर्दै रहेछन् ।

ब्रह्मा र विष्णु छेउमै आउँदा चोर औँलाले स् ! स् ! गर्दै चुप लाग्न सङ्केत गरे । कस्तो अचम्म ! नेपालमा भएका जति प्रत्येक पार्टीमा तीन तीनवटा मुखिया रहेछन् । ठूला ठूला नामधारी राष्ट्रिय, क्षेत्रीय, जातीय पार्टीहरु र अरु चुच्चे बुच्चे पार्टीमा पनि तीन तीन जना मुखिया रहेछन् । यी तीन मुखियाका मुख तीनतिर फर्केका रहेछन् । खालि हातेसाङ्लो मात्रै बनाएका रहेछन्, त्यो पनि कमण्डलु जस्ता खल्ती जोडेर । ती मुखियाहरुले एकअर्कालाई डाम्ने, खुइल्याउने, पार्टी नै चल्न नदिने, नभए पार्टी फोड्ने, आदि इत्यादि मात्र गर्दा रहेछन् । अर्को अचम्मको कुरा ! ती मुखियाहरुका मालिक फरक फरक रहेछन् । चाबी दिने खेलौना जस्तै मालिकले जति दम दिन्छन् त्यति नै चल्दा रहेछन्, खेल्दा रहेछन्। यही देखेर महादेवले एउटा परीक्षण गरिरहेका रहेछन् । त्रिदेव मिलेर त्यो परीक्षण हेर्न लागे ।

साँझ परेपछि एक अमूक पार्टीका तीनवटै मुखिया सोमरस र महादेवको बुटीले धुत्त भएर भट्टी बाहिरको ट्याक्सीमा चढे र ‘पार्टी कार्यालय जाने’ भनी ट्याक्सी डाइभरलाई आदेश दिए । होशै नभएका यी मनुवा देखेर यही मौकामा ट्याक्सी डाइभरलाई पनि पैसा कमाउन मन लाग्यो। नसाले धुत्त भएका मुखियाहरु ट्याक्सीभित्र चढेपछि ‘जाउँ त है नेताजी ?’ भनेर सोध्यो डाइभरले । ‘ल ल जाउँ’ को जवाफमा ट्याक्सी स्टार्ट मात्रै गर्यो र एकैछिनपछि ‘लौ हजुरको पार्टी कार्यालय आयो’ भनेर एक पाइला पनि अगाडि नबढाइ ट्याक्सी बन्द गर्यो । ढूस भएका नेताहरु ट्याक्सबाट ओर्ले र पार्टी कार्यालयतिर लागे । त्रिदेव अन्य सबै अमूक पार्टीका मुखियाहरुको उस्तै अनुकरणीय चाला देख्दै हतप्रभ भइरहेका थिए । विष्णुलाई ‘यस्ता बेहोस् र शुद्धिहीन मुखियाहरुले के पार्टी, के देशको भलो गर्लान् ?’ भन्ने चिन्ताले पो सतायो । ब्रह्माजी ‘मेरो सिर्जनामा त यस्तो फर्मुला नै थिएन, कसरी यस्तो भयो ?’ भनी घोतलिँदै थिए ।

अन्तिम पालो हालको सरकार भएको पार्टीका तीन मुखियाहरूको थियो । ती मुखियाहरू पनि सोमरस र शिवजीको बुटीले धुत्त हुँदै भट्टीबाट निस्के र ट्याक्सीमा चढे । ट्याक्सी डाइभरले ‘कता जाने नेताजी ?’ भनी सोध्यो । ‘पार्टी कार्यालय जाने’ भन्ने जवाफ पाउनासाथ सधैँ झैँ ट्याक्सी स्टार्ट गर्यो अनि एकछिनपछि बन्द गर्यो । एउटै स्थानमा बसी बसी । ‘पार्टी कार्यालय आयो हजुर’ भनेर डाभइरले भनेपछि तीन नम्बरको मुखियाले पैसा तिर्यो र ट्याक्सी बाहिर निस्कियो । दुई नम्बरको मुखियाले ‘धेरै धेरै धन्यवाद है भाइ। रात विरात यहाँसम्म ल्यादिनुभो ।’ भन्यो र ट्याक्सीबाहिर निस्कियो ।

एक नम्बरको मुखिया आफू बसेको सीटबाट अलिकति अगाडितिर सर्यो र डाइभरलाई झ्याम्म चड्कायो ।

‘ए ! बजियाले त थाहा पाएछ कि क्या हो मैले ट्याक्सी स्टार्ट र बन्द गरेको !’ भन्दै डराई डराई डाइभरले सोध्यो, ‘किन पिटेको हजुर ?’

एउटा खुट्टा ट्याक्सीको ढोकाबाहिर राख्दै नम्बरी मुखियाले भन्यो, ‘कति धेरै स्पीडमा ट्याक्सी कुदाको ? झण्डै एक्सिडेन्ट भाथ्यो । अब यस्तरी न कुदाउनू ।’

यो सुन्ने बित्तिकै त्रिदेव श्लेषमान्तक जङ्गलबाट सुइँकुच्चा ठोके स्वर्गतिर ।