एक समय थियो, मैले आमाको काखमा फोहोर गर्दा पनि उहाँ कति पनि घिनाउनु हुन्नथ्यो, बाबुको टुप्पी तानी झगडा गर्दा पनि झर्को मान्नु हुन्नथ्यो । दिदीको थालमा पानीको भाँडो घोप्ट्याइदिए पनि ‘कति चकचके’ भनी गालामा म्वाइँ खानुहुन्थ्यो । दाजुको किताब घुजा-घुजा पारी च्यातिदिँदा पनि ‘के गरेको बाबू यस्तो ?’ भन्नुहुन्थ्यो । यत्तिकैमा मेरा सबै कसूरहरू क्षम्य हुन्थे । जुम्ल्याहा दाजु बिते, दिदी त अझ अगाडि नै खसिन् | जिस्कने अब कोसँग ?
एक दिन मैले बाको बगलीबाट पाँच पैसा झिकेँ । अहिलेको डबलभन्दा चाक्लो र बाक्लो तामाको सिक्का, खोपी खेल्दा हान्नलाई चौपट्टै मज्जाको । लुकाउने पो कसरी ?
पाँच पैसा दिनभरमा खर्च गर्न सक्ने ह्याउ थिएन । किनेर के खानु ? यताउता छरछिमेकको पसलमा जाँदा फोसा आउने च्यूरा, घ्यू, सख्खर फ्वाँक लगाएपछि पेट भरिइहाल्थ्यो । भोटोको भित्री पातामा टाँसिएको झोलाजत्रो पाकेट भटमास, मकै, बकुल्लाले भरिएको हुन्थ्यो । जति जति साँझ पर्दै आयो, पैसा लुकाउने पीर बढ्दै गयो | सबै केटाकेटीहरू हजुरआमाको कोठामा सुत्ने गर्थे । राति मकैको गेडासँगै तामाको ढ्याक गुडेर बाहिर आइदिए बित्यास पर्छ भन्ने डरले सताएको थियो । हुन त, त्यो एक रात मटानकोठामा सुत्न गए पनि हुने थियो । तर हजुरआमाबाट राक्षसहरूको कथा पूरा सुन्ने लोभले अरू कतै सुत्न जान मन भएन । अर्को कुरो भोलि, पर्सि, निकापर्सि के गर्ने नि ? कहीँ लगी लुकाउँ भने चौरमाथि चकार गर्ला भन्ने पीर । कहीँ सुरक्षित ठाउँ नभेट्टाइएपछि बुइँगलको खोपाको कापामा घुसारँ । त्यो रात जसोतसो बित्यो । भोलिपल्ट बिहान नीँद खुल्नासाथ खापाबाट पैसा झिकी इजारमभित्र हुलेँ । यसरी एक हप्ताभन्दा बढी समय बित्यो, ढ्याकको लुकामारी खेल्ने चलन छुटेन ।
देवालीको बिहान बालाजु ट्यानरीमा बनेको छालाको ग्याँठवाला जुत्ता लगाई, भन्याङको बार समाती विस्तारै तल ओर्लेँ । ग्वाराचा, छ्याक:चा, हारांचा उभिराखेको चौकमा हाजिर हुन पुगेँ । ग्वाराचाले उसको बाबुले कोठाको झ्यालमा निभाइराखेको फूलमार चुरोटको ठुटो चम्पत पारी ल्याएको रहेछ । पालौ- पालो तानिरहका थियौँ । दमाई-ठुटो तान्ने मेरो पालो, हत्केला थापेँ । पछिल्तिरबाट मेरो कान निमोठियो । टाउको मोडी हेर्छु, बाबुको अनुहार देखापर्छ । कामज्वरो चढ्न थाल्यो । दुई-चार थप्पड गालामा जम्यो | घर पुगैपछि आमाले पाँचपैसे ढ्याक बाबुको हातमा थमाइदिनुभयो । त्यो दिन मेरो हुनुहुनामी भयौ । मेरो बाको त्यति डरलाग्दो अनुहार मैले पहिले कहिल्यै देखेको थिइनँ । आमा उस्तै आगोमा घ्यू थप्दै जानुभएको, ‘यसले कुल मास्छ, यो चोर हुन्छ, बाबुबाजेको नाक काट्छ ।’ आमा फलाक्दै थिइन् । उसमाथि बाबुको मुक्का र लात पालैपालो जीउमा बजिरहथो | मेरी हजुरआमा बीचमा छेकबार नभइदिएको भए मेरो गाइजात्रा हुन्थ्यो ।
राति हजुरआमासँग टाँसिएर बिलाइती गलैँचामा पल्टिरहेको थिएँ । नीँद आएको थिएन । उहाँको मुजा-मुजा परेको गालाबाट चिप्छदै ओह्रालो लागेका आँसुका थोपाहरू देखेँ । उहाँको ओठ बिस्तारै चलमलायो, सुस्केराको साथमा गहकिलो स्वरमा उहाँले भन्नुभयो- ‘तिमी सुब्बा ज्योतिमानको पनाति ! तिम्रा बाजेहरूको कत्रो नाउँ । जङ्गबहादुर बेलाइत जाँदा मुख्य भारदार भई जान लाग्नु हुँदा हामी भरखर मात्र यो घरमा दुलही भई भित्रिएका थियौँ । उहाँको बिदाइ-बेला बिदा दिन जाँदा बायाँ हत्केलाले जुँगा मुसार्नु हुँदै हामीहरूलाई भन्नुभएको थियो, ‘हाम्रा कुलका सन्तानलाई सुहाउने आचरण र अदब राखेस् ! तिमीहरूको कल्याण हुनेछ ।’ हामी बुहारीहरूको पोल्टामा ५१/५१ रुपैयौँ हाली उहाँ बग्गीमा बस्नु भयो । हाम्रो घरमा सधैं आइरहने रैतीहरूलाई अराउनुपर्ने सबै अराइपराई उहाँको बग्गी थापाथली दरबारतिर लागेको अझै यी बूढी आँखाअगाडि नाचिरहेकै छ । …
….. तिम्रो बाबु दश वर्ष र कान्छाबाबु पाँच वर्षको उमेरमा तिम्रो बाजे बित्नुभयो । उहाँलाई घरको केही फिक्री थिएन । बिहान-साँझ परेवा उडाउने, दिउँसो चाखुरा-बटाई मुसार्ने उहाँको शौख थियो । उहाँको सोझोपनको फाइदा उठाई दाजु र भाइहरूले घरका सुनको सांफरा, चाँदी जवाहरातहरू हात पारिसकेका थिए । घरको कुरामा हामी आइमाईहरूको केही लाग्दैनथ्यो । त्यत्रो जहानलाई भात पकाई खुवाउन, धान कुट्न, लुगा धुन, पिठो पिन्नु, अचार पार्नु, उध्रेको लुगाफाटो सिउनु आदि घरको कामले करौलाई फुर्सद हुँदैनथ्यो । राति बाह्र बजे बूढी सासूलाई सुताइसकेर बल्ल आफ्नो कोठाभित्र पसेर बिहान कुखुरा बासेको सुरमा उठी घरभित्र कुचो लगाउन ढिलो भएमा सासूले हाम्रो पेटको कीरा मार्नुहुन्थ्यो । सासू-ससुराको सेवा-टहलमा आफ्नो उमेर खिइँदै गइरहेको पत्तै भएन | उहाँ परलोक भएपछि म ज्यादै बूढी भइसकेकी जस्तो लाग्यो । ज्योतिमान सुब्बाको घरानको माहिली बुहारी भएकी नाताले जस्तै दुःख परे पनि सबै आफ्नो पेटभित्र अटाई-नअटाई राखी नै छोड्नुपर्ने । लोग्ने मरेको दुःखभन्दा दुई छोरा र एक छोरीलाई कसरी हुर्काउने भन्ने नै ठूलो पीर थियो | जस्तै दुःखमा पनि अर्काको अगाडि मुखमा हाँसो पोत्न सक्नुपर्ने, घर आउनेलाई आफ्नै छोराछोरीको पेट काटेर पनि छाक टारिदिनै पर्ने ज्योतिमान सुब्बाको खानदानी रवाफले हाम्रो घरको अवस्था दिन-परदिन बिग्रँदै गइरहेको थियो | तिम्रा बाजेहरूबीच अंशवण्डाको झगडा चौबीस वर्षपछि टुङ्गो लाग्यो । हार्ने त त्यसै हारे उसै हारे, जित्नेले फैसला, तमसुक र तारेख पर्चाको एक सन्दूक भेट्टाए । सबै मिलाएर काठमाडौँको पाँच घर बेचियो । ओसार्न हुनेजति छोरीबेटीहरूले पोल्टामा पोका पारी आआफ्ना ढुकुटी भरे | बेलाइतबाट ल्याउनुभएको एउटा गलैँचाबाहेक हाम्रो भागमा केही आएन । तिमी सुतिरहेको यही गलैँचा हाम्रो पुर्खाको सम्पत्ति अंशबण्डामा हामीले पाएको | ज्योतिमान सुब्बा बस्ने बिलाइती गलैँचामाथि बिछ्याइएको सिङ्गै टाउकोसमेत भएको बाघको छाला पनि आँखाअगाडि नै बिलायो । …
… बिहान मिरमिरे उज्यालोमा पाकेको भात मक्कलमाथि राखी माइती चापागाँच जान्थेँ, बिहान उताको भात पकाउन । दिउँसो खेतालाहरूका लागि खाजा जोरजाम गरी साँझ घरमा भात पकाउन आइपुग्थेँ । ‘मीठोको लागि जूठो पनि खानुपर्छ’ भने झैँ यति नगर्ने हो भने तिम्रो बाबु, काका र फूपूको पेट भर्ने कसरी ? पढुकामा मकै, भटमास, च्यूरा, सिन्की, तामा जे-जति दया मायाले दाजुले पोको पारिदिनु हुन्थ्यो, कम्मरमा बेरी घर आई डालोमा खन्याएपछि चुल्हो बाल्न पुग्थेँ । मेरा लागि रात र दिन, ठण्डी, गर्मी, तुषारो, झरी एकनास थिए | तीन जना केटाकेटीको अनुहार हेरी आफू अस्ताउने बेलामा भए पनि न्यानो घाम ताप्न पाइएला भन्ने आशा पिएर बाँचिरहेकी छु । एउटा दशैँ बितेर अर्को दशैँ नआउञ्जेलसम्म मासु खानु भन्नु पर्दैन । जीउको लुगा फाटेर कामै नलाग्ने भएपछि अर्को लुगा लाउन पाउँथे मेरा केटाकेटीहरूले । तरकारी र तिउन आलोपालो गरी पकाइन्थ्यो । तिम्रो बाबुको महिनाको सात मोहोर जागिरले चार जनाको लागि महिना दिनसम्म तेल, तिउन, तरकारी, मसला, मट्टितेल, साबुन अनि चाडपर्वको खर्च पुन्याउनुपर्थ्यो । कान्छोले काल भैरवनाथ अगाडिको डबलीमा बसी अर्काको दुई-चार ताउ कागज लेखी सुका-मोहोर ल्याएपछि बल्ल अलि सजिलो हुन थाल्यो ।…
…दुवै दाजुभाइको तिम्री फूपूमाथिको माया अनि तीनै छोराछोरीको मप्रतिको स्नेहले हाम्रो घर धपक्कै बलिरहेको थियो | तिम्री फूपूले केटाकेटीहरूका लागि लुगाफाटो र पुतली बनाई जोरेका पैसाले सेलरोटी, कहिले बारा पकाई मेरो मुखभित्र पालैपालो कोचिदिन्थे । छोराछोरीको पेट काटी म आमाको घाँटीबाट कसरी मीठो खानेकुरा छिर्थ्यो ? खाने बेला हाम्रो बीच सधैँ कच्कच् हुन्थ्यो । अलि मीठो खानेकुरा हुँदा सबै जनाको हानथाप हुन्थ्यो । सबैले मेरै भागमा खन्याउथेँ । म रिसाएर ‘खाँदै खान्न जा ।’ भनी थाल सर्काएपछि बल्ल फेरि भागशान्ति बाँडचुड गरी खान्थ्यौँ । हामी गरिब थियौँ, तर दुःखी थिएनौं । घरानियापन गएन ज्योतिमान सुब्बाको आशिषले | आमाबाबुको धर्मले हाम्रो घरानमाथि कसैले औँला उठाउन सकेन, परचक्रीको आँखामा हामी उही ज्योतिमान सुब्बाको रवाफमा छौँ भन्ने थियो |…
… तिम्री आमा यस घरमा भित्रिएपछि बल्ल एक-दुई रात माइती गई बस्ने विचार गरेकी थिएँ । उनले थाहा नपाउने गरी माइतीबाट ल्याएको च्यूरा, मकै, भटमास डालोमा खन्याउँथेँ । डालाभरि अन्न कहाँबाट आउँथ्यो, उनलाई पत्तो थिएन । ज्योतिमान सुब्बाको घरमा अन्नको के कमी हुनु ? यही कुरा गर्थिन् उनी आफ्ना माइतीका मानिसहरूसँग । पराईघरका आइमाईहरूलाई ढुकुटी देखाउनु हुन्न भन्थे हाम्रा सासूहरू ।…
… कान्छी अलि सानो घरानकी सोमत नभएकीले यो घर फोड्लिन भन्ने डर लाग्छ । एक दिन तिम्री फूपूले कान्छी भाउजूले पकाएको तरकारीमा नून चर्को भनी ठूली भाउजूलाई कुरा लाई’रे भनी तिम्री फुपूदेखि रिसाएर कति दिनसम्म त कोठाबाट बाहिरै आइन । आइमाईको कुरामा कान थापी हिँड्ने तिम्रो कान्छाबाबुको जोइटिङ्ग्रे मिजासले दुई भाइबीच फटानी होला भन्ने सधैँ डर लागिरहन्छ । ज्योतिमान सुब्बाका सन्तानहरूका बीच अंशबण्डाको झगडाको आगोले पोलेको डाम सेलाउन नपाउँदै फेरि अर्को डढेलो लाग्ला भन्ने ठूलो पीर । …
दुई बुहारीले दुई महिना फरक पारी सुत्केरी हुन थाले | सुत्केरीको स्याहारसुसारमा अरू कुरा विचार गर्ने फुर्सद नै पाइनँ । महिनौँ बिते । दुवैले छोरी छोरी पाए । अर्काको नासो, सानोमा मर्ला भन्ने पीर । धेरै छोरी त भगवानले शत्रुलाई पनि नदिउन् ! पूर्वजन्मको पापको फलले आइमाई भई जन्म दिन्छन् भन्थे हाम्रा सासूहरू । लगातार पाँच छोरी पाई भनी कान्छा मोराले सुत्केरी स्वास्नीको कठालो तानी कोठाबाहिर पुन्याएछ, अधर्मी पापी !…
….. तिमी दुई जुम्ल्याहा दाजुभाइको अनुहारमा मैले ज्योतिमान सुब्बाको खानदानको ज्योति बलिरहेको देखेकी थिएँ । जुम्ल्याहा सन्तानलाई काखमा राखी पेटभरि दूध खुवाउन तिम्री आमाको छातीमा दूध थिएन । सुकेको दूध चुसेर तिमीहरू आफैँ निदाएको देख्दा मुटु जल्थ्यो | तिम्रो बाबु दश ठाउँ चहारी बाख्रीको दूध एक सिसी बोकी घर आउँथ्यो । तिम्री आमाले कहित्यै राति सुत्न पाइन । सुत्केरी शरीर, दिन-परदिन परालजस्तै खङ्ग्रेदै गइरहेको देख्दा डाह हुन्थ्यो । अलि दिनपछि लेदो र ढिँडोले तिमीहरूको पेट भर्ने गरियो । तिमी दुई दाजुभाइलाई तिम्रै बाबुले छातीमा टाँसेर रात काट्दथ्यो । तिम्रो दाजुलाई विषमज्वरले लग्यो, दिदी त उहिल्यै बिती । तिमीलाई पनि केही भयो भने सबै तिम्रै पीरले मर्छौँ।’
प्रथम प्रहरको कुखुरा बास्यो । हजुरआमाले मलाई आफूतिर तान्नुभयो । टाउको सुमसुम्याउँदै भन्नुभयो- ‘बाबू ! ज्योतिमान सुब्बाको नाउँ राख्नू है !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।