प्रेमको कुनै ग्यारेन्टी छैन र पनि प्रेम विमा गर्ने कुनै कम्पनी नै छैन । कहिलेकाही त सोच्छुँ, कांश जीवन विमाजस्तै प्रेमको विमा गर्ने कम्पनी भइदिएको भए सायद तिमीसंगको मेरो प्रेम पनि सुरक्षित रहने थियो कि ?

सम्बोधन के गरु म तिमीलाई ! कुनै नाता र शब्द भेट्दिन मैले अचेल । प्रिय भनेर सम्वोधन गरु भने तिमी कसैको प्रिय भइसकेका छौ । नामले पुकारौ भने तिमीले नै नाम सम्बोधन गर्ने अधिकारबाट बञ्चित गराई सकेका छौ मलाई । त्यसैले त तिमीलाई सम्बोधन गर्नमा म निःशब्द छु । प्रेम दिवसको अवसरमा तिमीले मलाई प्रेम प्रस्ताव राखेका थियौ । अनि सहर्ष स्वीकार गरिदिएकी थिए मैले तिम्रो उक्त प्रस्तावलाई । तिमीले जव मलाई प्रेम गर्न थालेका थियौं तव मेरो बेरङ्गीन जीवन पनि रङ्गीन लाग्न थालेको थियो । थाहा छैन मलाई के सम्झिएर दियौ तिमीले यो बिश्वासघातरुपी चोट । तिमीले मलाई उपहारस्वरुप दिएको बिश्वासघातरुपी चोटले हरपल पीडा दिइरहन्छ अनि म बाध्य हुन्छु  तड्पिन, शिकारीले धनुषकारले हानेर बनाएको घाइते चरीझैं । अनि अनायसै आँखाबाट बग्न थाल्छन् आँसुका धाराहरू ।

कति रमाईला थिए, हामीले बिताएका ती दिनहरू । र, कति सुन्दर थियो हामीले संगै बिताउने भनेर सजाएको सपनाहरू , तिमीसंग बिताएका रमाईला ती पलहरू  हरदम चलचित्र झंै घुमिरहन्छ यो मानसपटलमा अझैपनि । तिमीसंग घुम्न गएका ती ठाउँ संसारकै सुन्दर ठाउँझै लाग्थ्यो । अनि तिमीले मसंग गरेका कुराहरू सख्खरभन्दा पनि गुलियो लाग्दथ्यो मलाई । तिमीले माया गरेर मेरो अधरमा चुम्बन गर्दा अमृतभन्दा मीठो लाग्थ्यो मलाई । तिम्रो सहारामा बस्न पाउँदा पिपलको छहारीभन्दा शितल लाग्थ्यो । अनि तिम्रो अंगालोमा बेरिन पाउँदा कपासभन्दा पनि नरम अनि न्यानो लाग्दथ्यो मलाई । तिम्रो मोटरसाइकलमा पछाडि बसेर नयाँ ठाउँ घुम्न जाँदा आफूलाई स्वर्गको अप्सराभन्दा सुन्दरी छु जस्तो लाग्थ्यो । आफ्नो दुःख र पीडाहरू भुलेर मोटरसाइकलको वेगझै तिम्रो र मेरो प्रेम सम्बन्धलाइ अगाडी बढाई रहु जस्तो लाग्थ्यो ।

तिमीले काम गर्ने अफिसका स्टाफ र साथीभाई अनि आफन्तसंग मलाई आफ्नो प्रेमिका भनेर परिचय गराउँदा र हामी छिट्टै बैबाहिक सम्बन्धमा बाँधिन लागेका छौ भनेर उनीहरूलाई जानकारी गराउँदा मेरो मन कति प्रफुल्लित हुन्थ्योँ भन्ने कुरा म शब्दमा बयान गर्न सक्दिनँ । मलाई सन्चो नहुँदा तिमीले सञ्चालन गरेको तालिम नै छोडेर मलाई भेटन आइ पुग्थ्यौं । र, राम्रो हस्पिटलमा उपचार गराउन लैजाँदा त्यो समयमा म आफूलाई संसारकै भाग्यमानी नारी सम्झन्थेँ । अनि जुनी जुनीसम्म पनि यस्तै मायाको अपेक्षासहित छिट्टै नै तिम्रो जीवनसंगिनी हुन पाउँ जस्तो लाग्थ्यो । तर अपसोच तिमीले मलाई धोखा दिई अर्कै नारीसंग बिबाह गरी जीवन बिताइरहेका छौ । मलाई तिम्रो यादमा तड्पिन बाध्य गरी तिमी आफ्नो सुन्दर संसारमा रमाइरहेका छौ ।

सायद तिमीले त भुल्न थालिसकेका हौला मलाई । अनि, हामीले बिताएका ती अतितका क्षणहरू र संगै जिउने संगै मर्ने भनेर एकअर्कासंग गरेका ती बाचाहरू । तर म अझैपनि भुल्न सकिरहेकी छैन, तिमी र तिमीसंग बिताएका ती पलहरू र तिमीले मसंग गरेका वाचाहरू । तिमीसंग गुनासो पोख्ने अधिकार त छैन मलाई तर एउटा जिज्ञासा ! “म तिमीसंग जीवन बिताउन चाहन्छु, जे जस्तो अवस्था आईपरे पनि मैले कदापी धोखा दिने छैन ।” भनी तिमीले मसंग ब्यक्त गरेका तिम्रा ती बाचाहरू झुठ्ठा थिए ? या मेरो तन र मन संग खेल्न प्रयोग गरेका थियौं तिमीले ती शब्दरुपी अस्त्रहरू ?
म त एउटी अवला नारी थिए । तिमीले नै मलाई माया अनि प्रेमको सागरमा पौडिन सिकायौ । अनि किनारा नपुर्याउदै बिच घाटमै अलपत्र छाडिदियौं । तिमीले मलाई अंगालोमा बेर्दै “हाम्रो एउटा सुन्दर घर र सुखी परिवार हुनेछ, जसमा तिमी र हाम्रा छोराछोरी हुनेछन् । हाम्रो सुन्दर परिवारमा हामीबाहेक अरु तेस्रो ब्यक्तिको उपस्थिती हुनेछैन” भनेर सुन्दर सपना देखाउथ्यौ । तिमीले देखाएको सुन्दर सपनारुपी सागरमा पौडिदै म आफूलाई हराउदै जान्थे । अनि, आफ्नो तन, मन दुवै सुम्पिदिन्थेँ । तिमीले जे जे भन्थ्यौ, आज्ञाकारी बालकझै मानी दिन्थेँ । तिम्रा हरेक गतिविधिलाई स्विकार गर्दै आफूलाई तिम्रो सामु समर्पण गरि दिन्थेँ । तिम्रो खुसी नै आफ्नो खुसी सम्झन्थेँ । तर तिमीले मलाई देखाएका ती सुन्दर सपना र संगै जिउने मर्ने गरेका वाचाहरू आफै तोडिदियौ किन ? अनि अर्कै नारीसंग बिबाह गरि छुट्टै संसार बसाल्यौ किन ?

हाम्रो एक दशकको प्रेम सम्बन्धलाइ लत्याएर अर्कै नारीसंग बिबाह गर्दा तिमीलाई आत्मग्लानी भएन है ? एकपटक पनि मेरो सम्झना आएन है ? तर म तिम्रो ठाउँमा भएको भए यस्तो कठोर निर्णय गर्दा हजार पल्ट सोच्थेँ होलाँ । यदि मेरा वानी र ब्यबहारमा केही कमी कमजोरी थिए भने तिमीले मेरा कमी कमजोरी औल्याई दिएको भए मैले सुधार्ने थिएँ होला । तन र मन नै मैले तिमीलाई सुम्पी दिएकी थिएँ भने मेरा बानी र ब्यहारलाई परिवर्तन गर्ने थिएन होला र ? तिमी त एउटा पुरुष न हौ । के थाहा एउटी नारीले किन र कसरी आफूले मन पराएको प्रेमीेलाई आफ्नो सर्वस्व सुम्पिन्छे भनेर । हुन त म तिम्रो प्रेमिका हुदाँहुदैँ पनि तिमी अरु नारीहरूको तन र मनसंग पनि खेल्ने गर्दथ्यौं । म बाहेक अर्को नारीसंग सम्बन्ध नराखोस् भनि हरदम माया गर्ने प्रयास गर्थे तर मेरा ती प्रयासहरू तिमीले कति सजिलैसंग विफल बनाई दिन्थ्यौ है ? तिमीले सम्बन्ध राख्ने ती नारीहरू “मेरा अफिसमा काम गर्ने स्टाफ हुन्, तिनीहरूसंग मेरो साथीको मात्र सम्बन्ध हो, प्रेमिका होइनन्” भनेर सफाई दिने गर्दथ्यौं । मैले त तिमीलाई आफ्नो मनमा सजाई सकेकी थिएँ । अनि कसरी म तिमीसंग छुट्टिन सक्थेँ र । त्यसैले त तिमीले मलाई बिश्वासघात गर्दा पनि माफ गर्दै आएकी थिएँ । तर तिमी त नारीको तन र मनसंग खेल्न सिपालु कालिगर पो रहेछौ ।

तिमीले मलाई धोखा दिएर अर्को नारीसंग बिबाह गरेको पनि दुई बर्षभन्दा बढी भइसकेको छ । यस बीचमा तिमी छोराको बुबा पनि भइसकेका छौ । कल्पना गर्छु, तिमीले मलाई जीवनसंगिनी बनाएको भए सायद म पनि तिम्रो छोराको आमा बनि सक्थे होला । र, गर्व गर्थे हुला म पनि सन्तानको आमा हुँ भनेर । दिनभरी छोरालाई खेलाउँदै अनि तिम्रो अभावलाई मेट्न अवोध छोरासंग गफिन्थे हुला “बाबुको बाबा आउने वेला भो” भनि घरी घरी घडीको सुई हेर्दै तिमी अफिसबाट फर्किने समयको प्रतिक्षा गर्थे होला । तिमी अफिसबाट घर आउँदा मिठो मुस्कानसहित स्वागत गर्थे होला । र, तिमी फ्रेस भएर कोठामा आउदा म चियाको कप लिएर तिम्रो हातमा थमाई दिन्थे हुला । अनि चियाको चुस्कीसंगै हामी गफिन थाल्थ्यौ होला । यसरी चियाको चुस्की लिदै गफिदा तिम्रो अफिसको दिनभरीको कामको थकान मेटिन्थ्यो होला । अनि, तिम्रो अभावमा छटपटिएको मेरो मन पनि शान्त हुन्थ्यो होला । यस्तै यस्तै कल्पना डुब्दा आनन्द लाग्छ मलाई ।

तर अपसोच कल्पनाभन्दा विपरित भइदिएको छ आज मेरो लागि परिस्थिति । तिमीसंग भौतिक रुपमा छुट्टिएको करिव दुई बर्षभन्दा बढी समय मैले कसरी विताए भनेर, कि त मलाई थाहा छ, कि त दैवलाई नै । यस्तो पल नै छैन जुन पल मैले तिमीलाई नम्झेको होस् । कुनै रात छैन होला, तिमीसंग छुट्टिएको पीडाले आँसु झर्दा सिरानी नभिजेको होस् । थाहा छैन, तिमीलाई पनि आजभोलि मेरो याद आउछ कि आउदैन ? कहिलेकाही झुक्किएर पनि सम्झिने गरेका छौ कि छैनौ तिमीले मसंग बिताएका पलहरू, अनि संगै जिउने संगै मर्ने खाएका ती कसमहरू । हुन त तिमी पुरुष मान्छे । भनिन्छ, “पुरुषहरू नयाँ प्रियसीको आगमनपछि सजिलै बिर्सी दिन्छन् पुराना प्रियसीलाई” । म कर गर्दिन तिमीलाई, मजस्तै तिमी पनि बिगतलाई सम्झिनु पर्छ भनेर । तिमीले मलाई धोखा दिएपनि मैले तिमीलाई र तिम्रो याद अझै पनि आफ्नो मनवाट बाहिर निकाल्न सकिरहेकी छैन । सायद तिम्रो जस्तो झुठो प्रेम मेरो नभएर हो कि ? भन्छन् नि “चोखो माया कहिल्यै मर्दैन” भनेर ।
मान्छेको जीवन माया र प्रेमसंग जोडिएको हुन्छ । मानिस तव मात्र खुसी र सफल हुन्छ, जव उसले कसैलाई माया अनि प्रेम गर्न थाल्छ र आफूलाई माया र प्रेम गर्ने अनि साथ दिने मान्छे फेला पार्छ । तिम्रो सहयोगमा मैले जीवन विमा कम्पनीमा काम गर्न शुरु गरेकी थिए । तिमीले जीवन बिमाको काममा मलाई सदैव साथ दिइरहेका थियौं । त्यसैले जीवन बिमा कम्पनीको काममा म सफल भइरहेकी थिए । तिम्रो साथ हुदा जीवन विमा गराउनको लागि ब्यक्तिहरूलाई उत्प्रेरित गर्ने कार्यमा जोस जागर चल्थ्यो । तर आज तिमी र तिम्रो प्रेम मेरो साथ नहुदा त्यही काम भारी भएको छ आजकल मलाई । जन्मेपछि मृत्यू हुने निश्चित छ र पनि आफ्नो जीवन र भविष्यको सुरक्षाको लागि जीवन विमा गराई रहेका छन् मानिसहरू । तर प्रेमको कुनै ग्यारेन्टी छैन र पनि प्रेम विमा गर्ने कुनै कम्पनी नै छैन । कहिलेकाही त सोच्छु, कांश जीवन विमाजस्तै प्रेमको विमा गर्ने कम्पनी पनि भइदिएको भए सायद तिमीसंगको मेरो प्रेम पनि सुरक्षित रहने थियो कि ?
अन्तमा तिम्रो बैबाहिक सम्वन्धमा कुनै अवरोध नआओस् । तिम्रो र तिम्रो जीवनसंगिनी बिचको माया प्रेम सागरभन्दा पनि गहिरियोस् अनि सगरमाथाझै चुलियोस् । मजस्तै तिमीले प्रेम वियोगमा तड्पिन नपरोस् । यहि नै मेरो प्रेम दिवसको शुभकामना तिमीलाई ।