एउटा सुन्दर घर थियो । त्यहीँ घरको भित्तामा एउटा सानो मौरीको घार थियो । जहाँ हजारौंको सङ्ख्यामा मौरीहरु बस्दथे । घार सानो तर मौरीको सङ्ख्या धेरै, उनीहरू घारमा अटेसमटेस गरेर भए पनि आपसमा मिलेर बस्दथे । मौरीहरू खुबै शान्त स्वभावका अनुशासित, मेहनती, खुसी, सुखी र समृद्ध थिए ।
घारमा रानू मौरी, भाले वा ढोर मौरी र कर्मी मौरी सबै आपसमा सधैं मिलेर खुसीसाथ बस्दथे ।
मौरीहरुको दिनचर्या संघर्षमय थियो तर खुबै रमाइलोसँग बित्दथ्यो । रानू मौरीले जहिल्यै दुईथरी फुल पार्दथिन् । निषेचित र अनिषेचित । अनिषेचित फुलबाट भाले र निषेचित फुलबाट रानू वा कर्मी बन्दथे । रानू मौरीले आफ्नो यौवन,सौन्दर्य र मीठो सुगन्धले कर्मीरानू मौरीको मुख्य काम फुल पार्नु थियो भने अर्को काम गोलाका सम्पूर्ण मौरीहरूलाई आवश्यकता अनुसार संचालन गर्नु थियो । रानूले आफ्नो शरीरबाट विशेष किसिमको गन्ध निकाल्थी र त्यो गन्धले मौरीहरूलाई आकर्षित र पुलकित पारेर सबैलाई एकताबद्ध पार्नदेखि लिएर घारको सौन्दर्य बढाउथिन् । रानी मौरीको उक्त मीठो सुगन्धले मह ल्याउन बाहिर गएका मौरीहरूले घारमा फर्किदा मेरो घार कुन हो भनेर सजिलैसँग चिन्दथे । कर्मी मौरीहरू गोलामा मह, कुट संकलन गर्ने, छाउरा हुर्काउने, चाका निर्माण गर्ने, रानी र भालेलाई खुवाउने, घार सफा गर्ने, गोलाको सुरक्षा गर्ने आदि सबै काम गर्दथे । यिनीहरू आदि उमेरसम्म घारभित्रको र २०- २२ दिन उमेर बितेपछि घार बाहिरको काम गर्दथे। घारको सरसफाई , चाका लगाउने, मह जम्मा पार्ने, रानीको सुरक्षा, खानापानीको व्यवस्थादेखि घारको सुरक्षासमेत बहुत मेहनतका साथ आआफ्नो जिम्मेवारी पूरा गर्दथे ।
मौरीहरू आफ्नो काम आफैँ गर्दथे । आफ्नो काम सकभर अरु कसैलाई अह्राउँदैनथे । उस्तै गाह्रो साह्रो परेकाबेला अरुसँग सहयोग पनि लिन्थे र सजिलै काम सम्पन्न गर्दथे ।
मौरीहरू विहानको सुनौलो सूर्योदयसँगै आफ्नो दैनिकी सुरु गर्दथे । मौरीहरूका लागि सूर्य नै समय बताउने ठूलो चम्किलो घडी थियो । सूर्य हेरेर दिशा र समय थाहा पाउने गर्दथे । सूर्य उदाएसँगै सुरू गरेको दैनिकी सूर्यास्त हुनुपूर्व नै घारमा फर्किसक्थे। टाढा टाढा महको खोजीमा गएकाहरू वनमै बास बस्दथे र वनमा बास बस्दा कतिपय दुश्मनको सिकार हुन्थे भने कतिपय तीन दिनपश्चात् पनि घारमा फर्किन्थे ।
कर्मी मौरीभन्दा अलि ठूलो, कालो र झुसिलो खालको भाले वा ढोर मौरी बस्दथे । भाले मौरीले केही पनि काम गर्दैनथे । भाले मौरीहरु साह्रै नै अल्छी थिए । खाना पनि कर्मी मौरीहरुले नै खुवाउथे । भाले मौरीको एक मात्र काम कुमारी रानीसँग सहवास गरी गर्भाधान गराउने थियो । यिनहरुको संख्या बसन्त र शरद ऋतुमा बढी हुन्थ्यो । कुमारी रानूसँग सहवास गरेपछि कतिपय भाले मौरी बिरामी परेर मर्दथे र कतिपय भालेहरू आफू कुनै पनि काम गर्न अल्छी गर्ने भएर खाना नपाएर मर्दथे । विभिन्न दु:ख ,सुख गरेर मौरीहरुको दिनचर्या बितिरहेको थियो ।
एक दिन अरिङ्गाल आफ्नो सिकारमा निस्किएको थियो । सिकारको खोजीमा हिँडिरहेको बेला एक्कासि बाटोमा घारतिर फर्किरहेको मौरीमा नजर पर्यो र त्यसको सिकार गर्न भनेर त्यसको पछि लाग्यो । मौरीले चाल नपाउनेगरी नजिकै पुगेर झम्टिन खोज्दा मौरीले चाल पायो र बडो चलाखीपूर्ण तरिकाबाट ज्यान जोगाएर जति सक्यो त्यति छिटो छिटो घारतिर दगुर्यो । अगाडि अगाडि मौरी पछाडि पछाडि अरिङ्गाल । निकै संघर्ष गरेर दौडिदै घारमा पुग्यो र स्वाट्टै घारभित्र छिर्यो । घारमा मौरीहरु आआफ्नो काममा खुबै व्यस्त थिए । एक्कासि मौरी आत्तिदै वनबाट निकै डराएर सास स्याँस्याँ र फ्याँफ्याँ गरेर हतारहतार फर्केको देखेर अरु मौरीहरुले पनि चाल पाए कि पक्कै पनि दुश्मनले सिकार गर्न खोजेर लखेटेको हुनुपर्छ । दुश्मनले लखेटेको भनी घारभरि सबैले थाहा पाए र अरु मौरीको सुरक्षा र घारको सुरक्षाका लागि सबै तैनाथ भए । बाहिर अरिङ्गाल भने घारमा निकै चिल्ला, सुन्दर, हृष्टपुष्ट मौरीहरुको निकै चहलपहल देख्दा लोभिएर मनग्गे सिकार गर्न पाइने सपना बुन्दै सिकार गर्न दाउ हेर्न थाल्यो ।
घारमा सबैलाई थाहा भैसकेको थियो कि दुश्मनले सिकारका लागि दाउ हेरिबसेको छ । त्यसैले सबै सजग भएर बसेका थिए । अरिङ्गाल मौरीभन्दा कयौं गुणा ठूलो टाटेपाटे परेको एकदम क्रूर रिसाहा प्रवृत्तिको थियो । केही समयसम्म कुनै पनि मौरी घारबाट बाहिर ननिस्कने सल्लाह गरे तर वनबाट घार भित्रिरहेका मौरीहरुलाई खाइदिन्छ कि भन्ने डर थियो । घारभित्रै पस्ला झैँ गरी अरिङ्गाल आफ्नो आक्रामक प्रवृत्ति देखाउन थालेपछि मौरीहरुले तत्काल आकस्मिक बैठक बसेर अरिङ्गाललाइ कसरी तह लगाउने भनी उपाय सोच्न थाले । घार र वनबाट घार फर्किरहेकाको पनि सुरक्षा कसरी गर्ने भन्ने विषयमा छलफल गरी मौरीहरुले रानू मौरीसमक्ष सुझाव पेश गरे । अरिङ्गाललाई कुनै एकले मात्रै धपाउन सम्भव नदेखेपछि सामूहिक रुपमा त्यसको प्रतिकार गर्ने सुझाव रानू मौरीबाट पास भयो । त्यसपछि आवश्यक समूह-समूह बनाई पालैपालो घारको ढोकामा ठूलो समूहमा बसेर प्रतिकार गर्न थाले । समय समयमा थाकेपश्चात् अर्को अर्को समूह गरी घारको सुरक्षा र वनबाट घार फर्किरहेका मौरीहरुको पनि सुरक्षा गर्दै बसे । निकै लामो यस्तो सिलसिला चलिरह्यो । अरिङ्गाल कुनै पनि तरिकाबाट सफल हुन् नसकेपछि खुबै रिसायो र झन् आक्रामक बनेर आक्रमण गर्न थाल्यो । तर अरिङ्गाल कुनै पनि तरिकाबाट सफल नभएपछि थाकेर निराश हुँदै आफ्नो बाटो लाग्यो ।
घमण्डी, रिसाहा दुश्मन अरिङ्गालले हार मानेर फर्केको देखेपछि मौरीहरु आफ्नो जीत भएको महसुस गर्दै खुसीले रमाए । एकआपसमा एकता भएर अघि बढ्यो भने कुनै पनि असम्भव भन्ने रहेनछ भन्दै गफ गर्दै आआफ्नो कामतिर लागे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।