कलिलो उमेर थियो, जब म आफ्नो घर छोडेर यहाँ आएकी थिएँ। सायदै कुनै दिन थियो होला, म मेरो जन्मथलो अनि आमा-बुबालाई नसम्झेको हुँदी हो । भाँडाकुटी खेल्दा गरेको विवाह जस्तो सोचेर, एकैछिनमा फेरि म आफ्नो घरमा आउनेछु भन्दै खुसी हुँदै आएकी थिएँ म यहाँ। खैर, बिहानको मिरिमिरे र झिस्मिसे साँझ गर्दागर्दै, समयको बेगसँग बग्दाबग्दै यत्तिका वर्ष बितिसकेछ । चुल्बुले म, घरी खुरूर्र पानी पँधेरो गर्न भ्याउँथेँ, घरी गाईबस्तुलाई घाँस काट्न जान भ्याउँथेँ । आज बल्लतल्ल हिँड्ने अवस्थामा पुगेकी छु। पनाति-पनतिना आज आएर मैले जिइसकेको जीवन जिउँदै छन् । म भने उनीहरुले सानोमा अँगालेको तातेताते पाइला अँगाल्दै छु। घरकी छोरी म, यहाँ आएर बुहारीको जिम्मेवारी बहन गर्न पुगे। सासू बिनाको घर सम्हाल्दै, पन्डितकी बुहारी हुन पुगेँ। जीवनको उत्तरार्द्धमा आइपुग्दा धेरै जिम्मेवारी बहन गर्दा पनि केही बोझजस्तो भएन मलाई । आज आएर हजुरआमा हुँदा झन् धेरै जिम्मेवारीले थिचेजस्तो भएको छ। शरीरमा तागत नहुँदा, यो जीवन निकै बोझिलो हुँदोरहेछ।

साँच्चै अहिले समयले कोल्टो फेरेको छ। छोरीलाई नपढाउने त्यो समाजले, आज आफ्ना नातिनीहरूलाई पढाएको देख्

आदर्श वाग्ले

दा खुसी लाग्छ। कापी-कलम लिनुपर्ने सानो उमेरमा छोराछोरी खेलाउन बाध्य भयौँ हामी। घरधन्दा, साना बालखा भन्दाभन्दै समय बित्यो। घरभित्रको साँघुरो दायरामा हामी सीमित हुन पुग्यौँ। छोराछोरी हुर्काउने, घरधन्दा सम्हाल्ने काममा मात्र सीमित भइयो। यी हातले तब मात्र अलि कम बोझ समाएका थिए, जब छोरो जवान भएर बुहारी ल्याएको थियो। घरमा नयाँ सहयोगी पाउँदा, म पनि कम्ता खुसी भएकी थिइनँ। घरमा नयाँ रौनक थपिएको थियो। आधा जिन्दगी घरधन्दामै बिताएकी म, अब भने तीर्थाटनका लागि, आफन्तकहाँ घुमघामका लागि जाने समय निर्बाध रुपमा निकाल्न पाउने भएकी थिएँ।

सानोमा बूढापाकाले दशैँमा नातिनातिनाले डाँडाकाँडा ढाके भनेर आशीर्वाद दिन्थेँ। अब त हाम्रो परिवार पनि ठूलो भएको थियो। हामी दुई बुढाबुढी, छोराबुहारी अनि सातजना नातिनातिना। खाने मुख बढ्दै थियो, हामी बुढाबुढी अस्ताउँदो सूर्य हुँदै थियौँ। जनतन भएको खेतबाट उत्पादित धान, गहु, मकैले सबैको मुखमा माड लगाउन सकिएको थियो। बस्तुभाउबाट पनि राम्रै सहयोग भैराखेको थियो। जसोतसो जिन्दगी चल्दै थियो। बुढा भएका हामी रोगले थिचिन लागेका थियौँ। ओखती गर्ने पैसा नहुँदा, बुढा टि.बी.का रोगी भए। जसोतसो जडिबुटीले अलि दिन प्राण रक्षा गर्न सकिएको थियो तर पछि बुढाको अकालमा मृत्यु भयो। सानोमै आमाबुबाको साथ छोडेकी म, आफ्नो पतिको साथबाट पनि टाढिएकी थिएँ। आफूले माया गर्ने व्यक्ति आफूबाट टाढा हुँदा कति नराम्रो हुँदोरहेछ भन्ने कुराको आभास गर्दै थिएँ म। अब बचेको जिन्दगी छोरानातिसँग बिताउनु थियो।

आज आएर हेर्दा संसारले निकै फड्को मारिसकेछ। भौतिक सुखसुविधाले भरिपूर्ण भएको छ आजको युग। हाम्रो पालामा गाडी देख्न नै निकै टाढा जानुपर्थ्यो। हुकबाट लेकमा झर्न सधैँ हिँडेर नै जानुपर्थ्यो। कहीँकतै सन्देश पुर्याउन पनि निकै कठिन हुन्थ्यो। अहिलेको जस्तो अस्पतालहरु हुँदैनथे। मनोरञ्जनका साधानहरु त झनै हुने कुरा भएन । पहिलो पटक टि.भी. देख्दा, त्यो बाकसभित्र कति राम्राराम्रा मान्छे हुँदा रहेछन् भनेर मैले आफ्नो नातिलाई सोधेकी थिएँ। खुब हाँसेको थियो ऊ, त्यस दिन । हाम्रो पालामा खासै केही विकास नै भएको थिएन थाहा पाउनलाई पनि।

पति हुनु र नहुनुमा धेरै फरक पर्दोरहेछ नारीको जीवनमा। छोरानातिका स्याहारसुसार गर्दागर्दै, बुढ्यौलीले च्यापेपछि उठ्न नि गार्‍हो हुँदोरहेछ। कसेर र बुढापाका घरका कुनामा नै हुँदारहेछन। सानोमा तेल लाइदिएका, दिसापिसाब सोहोरेका नातिनातिनाले पनि गार्‍हो मान्दारहेछन् । कठै कति नबुझेका तिनीहरुले ! बुढ्यौली मलाई मात्र होइन, भोलिपर्सि तिनीहरुलाई पनि लाग्छ भनेर किन नबुझेका होलान् ! मीठो वचन, सादा खाना मात्रै खोज्ने वृद्धवृद्धालाई त्यति पनि दिन नसक्ने कस्तो भएछन् आजका छोरानाति ! त्यति दुःख गरेर हुर्काएका ती सन्तानले जब आफ्नो पालोको कर्तव्य पूरा गर्नुपर्ने बेलामा आफ्ना आमाबुबालाई वृद्धाश्रममा लगेर छोडिदिएको देख्दा मन खिन्न हुन्छ। हो, अहिलेका पुस्ता आफैँमा सक्षम छन् तर सक्षमताको आडमा आफ्ना नैतिक दायित्वबाट उनीहरु पन्छिन मिल्दैन । तिनले घरका बुढाखाडाको उचित ख्याल गर्नपर्छ। वृद्धवृद्धा घरका बोझ होइनन्, मानमर्यादा हुन् भन्ने बुझ्नुपर्छ।

समयसँगै आफ्ना पौरखहरुको लेखाजोखा गर्ने प्रचलन बढ्दो छ, आज हाम्रो समाजमा। आज आफूले वातावरण मिलाइदिएर ठूला, सभ्य भएका छोरानाति देख्दा आफैँमा गर्व लाग्छ। उनीहरु सधैँ यसरी नै प्रगति गर्दै जाऊन्, आफ्ना कुलघरानको नाम उँचो बनाउँदै जाऊन्। त्यसका सँगसँगै आफ्ना वृद्ध बुबाआमाको उचित ध्यान पुर्याउँदै जाऊन्, घरका वृद्धवृद्धाले कहिले पनि कटु वाक्य सुन्न नपरोस्। रोगब्याधले थलिएका उनीहरु मनमा कुनै पीडा नराखी बैकुन्ठबास हुन पाऊन्।

अब त कति नै दिन होला मसँग पनि! मधुर हावासँग धिपधिपाउँदै गरेको पालाको प्रकाशजस्तो भैसकेकी छु म पनि। आजको दिनसम्म बाँच्दा आफ्ना धेरै प्राणप्रिय मान्छे गुमाइसकेकी छु। यही नै रहेछ प्रकृतिको लीला। जन्मिएपछि, आफ्नो कर्म गर्नुपर्ने र समय आएपछि फेरि यस संसारबाट बिदा लिनुपर्ने ! अहिलेका पुस्तालाई सानो एउटा अनुरोध छ- ऊ बेला टेको चढेर हिँडेका खुड्किलालाई पछि काम लाग्दैन भनेर कहिले पनि नफालिदिनू । पछि आफूलाई नि काम लाग्न सक्छ। हो, बढ्दो सुसम्पन्न जीवनशैलीसँगै अहिलेका पुस्तालाई वृद्धवृद्धा बोझ लाग्न थालेका छन् । यो मेरो मात्र होइन, कयौं वृद्ध हजुरबा-हजुरआमाको पनि हो। आशा छ, सबैमा यस्तो राम्रो विचार पलाओस् र जीवनको अन्तिम श्वाससम्म पनि वृद्धवृद्धाहरुको अनुहारमा खुसीको रङ देख्न पाइयोस् ।

आदर्श वाग्ले
कीर्तिपुर, काठमाडौँ