मनोज बाबु पनेरू

आज पनि ऊ बेतमासले हाँसी रहेकी छे । मेरो अफिसबाट डेरा आउने चोकैमा हुन्छे ऊ । प्रत्येक दिन अफिस जाँदा र फर्कंदा उसको हाँसो सुन्नु पर्ने मेरो लागि असजिलो अनिवार्यता बनेको छ । धेरै भो मैले उसका बारेमा कथा लेख्ने प्रयास गरेको । कम्प्यूटरका अगाडि बसेर जब-जब कीबोर्डमा हात चलाउन खोज्छु, उसको त्यो बेसुरको हाँसोले मेरो मस्तिष्कलाई नै हल्लाई दिन्छ । म अगाडि बढ्नै सक्दिनँ ।

हाँस्दाहाँस्दै ऊ टक्क रोकिन्छे र धारे हात पारेर चिच्याउन थाल्छे, “ओई आइज चढ् । चिथोर मलाई । किन टुलुटुलु हेर्छस् । आइज टोक् मलाई ।”

बोल्दाबोल्दै ऊ ढुंगा टिप्छे र हान्न खोज्छे थप केही………. , सभ्य समाजमा अश्लील ठहरिएका शब्दहरुसहित । ढुंगा एकातिर फ्याँकेर फेरि उही हाँसो…।

म अनि मजस्ता धेरै (सबै) उसको धारे हात आफूतिर सोझिएला भनेर तर्किन्छन् । उसलाई यसको पर्वाह छैन, ऊ त आफैँमा मात्र सीमित छे र सबै तर्किए पनि (सारा समाजलाई) धारे हात पारेर सराप्छे ।

उसको हाँसोसँगै चोकमा अर्को हाँसो पनि सुरु हुन्छ, चोकमा उसरठ्ठै बसिरहेका ठेट्ना केटा र धुलोमा खेलिरहेका भुराहरु को (प्रहसनका दर्शकझैं) । चोकैमा त्यस बखत उपस्थित भलाद्मीहरुले ओठलाई देब्रे कुनातिर तन्काउदा देखिने कुटिल हाँसो । तर म न केटा वा भुराहरु झैँ सुनिने हाँस्न सक्छु, न भनिएका भलाद्मीझैँ कुटिल । उसको हाँसोको गुञ्जनले (चित्कारले) मेरो मन भारी बनाउँछ, प्रत्येक पटक अनि म मन हलुका होस् भनेर उसको बारेमा लेख्न बस्छु अनि प्रत्येक पटक अपूरा वाक्यहरु लेखेर कम्प्यूटर अफ गर्छु ।

हुन त हाँसो खुशीको ध्वनिक अभिव्यक्ति हो । ऊ भने हाँसोसँगै आफ्ना व्यथाहरु हावामा तरंगित गरिरहन्छे । अनि ती तरंगहरु जब मेरो दिमागमा ठोक्किन पुग्छन्, उसको विगत मेरा आँखाअगाडि चलचित्रका रिलझैँ दगुर्छन् । हेर्दाहेर्दै ऊ मलाई हेरेर हाँसी दिन्छे । तपाईंलाई हेरेर हाँसी दिन्छे । हामी सबैलाई हेरेर हाँसी दिन्छे । लाग्छ, ऊ हामी सबैलाई गिज्याएर हाँसेकी हो । उपहासको हाँसो ? हाम्रो पाखण्डीपनको हाँसो ? कल्पना गर्दा गर्दै झसंग हुन्छु मैले उसका बारेमा लेख्न खोजेको एक वाक्य पनि पूरा भएको हुँदैन । म मेरो संस्थागत शब्दकोषका सबै शब्दहरु जो मेरो अपूरो वाक्यलाई पूरा गर्न उपयुक्त हुन्, नभेटेर लेख्न छाडिदिन्छु । मभित्र यत्रो दुविधा हुँदा पनि म पृथक् बनेर उसको हाँसोलाई मनोरञ्जनको हिस्सा ठानेर चोकझैँ अभ्यस्त बनिरहेको छु ।

ऊ याने बौहुलाई, बौहुलाई हरिमाया । धेरै पहिला ऊ उक्त्त विशेषण बिनाकी हरिमाया थिई । चोकैमा उसको पान पसल थियो । मैले भर्खर मात्र अफिसमा थालेको थिएँ, त्यसबेला । हाम्रो अफिसमा पनि अधिकांश उसको पानका अम्मली थिए । बहुतै बिक्थ्यो उसको पान । ऊ सबै ग्राहकहरुसँग मुस्कुराउँथी । मुस्कुराउँदा गाजल लगाएका उसका गोला आँखा चम्किला देखिन्थे । हिस्स परेकी राम्री थिई । मलाई पनि उसको मुस्कानको लोभले बिस्तारै पानको अम्मली बनायो । उसको पान हो वा मुस्कानको तल्तलले सधैँ बेलुकी खानापछि तानेर उसको पसलमा पुर्याउँथ्यो । स्थानीय ठिटाहरु उसको मुस्कानको जगमा उभिएर ऊसँग छिल्लिन खोज्थे । सबैका लागि ऊ पानसँगै एकनास मिठो मुस्कान बाँढ्थी ।

उसको बारेमा मलाई यत्ति थाहा थियो, अफिसमा कसैबाट सुनेको । चोक अगाडिको सडक बनाउँदा ठेकेदारले सस्तोमा पहाडबाट ल्याएका मजदुर सँगै आएकी रे ऊ ! सडकको काम सकिएपछि सडकै छेऊमा पान पसल खोलेर आफ्नो हैसियत बढाई रे, हरिमायाले- पसल साहुनीको रुपमा ।

उसको पसल अगाडि सधैँ स–सानो भिड हुन्थ्यो पान अथवा उसको मुस्कान खानेको । बहुत चल्थ्यो उसको पसल । उसको पसलअगाडि बसेरै दिन काट्नेहरुको नियमित भिड हुन्थ्यो । उसको पसल अगाडि म जब पुग्थेँ, नियमित भिडबाट एउटा जिज्ञाशा आउँथ्यो, “ओहो, सर पनि हरिमायाको पान खाने ?” (उनीहरु जानीजानी “मा” छुटाएर वाक्यलाई द्वैअर्थी बनाउँथे) थप प्रश्नकर्ताको असहज प्रस्तुतीकरणले मलाई गाह्रो पार्थ्यो । हरिमाया बाटो छेकेर बोल्थी, “के भो र सरले पान खानु नहुने हो र ! म सबैलाई भन्दा मीठो पान सरलाई दिन्छु ! ल खानुहोस् ।” उफ्, फेरि त्यही मुस्कान ! लाग्थ्यो मेरो मुखमा पान होइन अगुल्टो छ ।

“यो हरिमाया पनि सरलाई मात्र हेर्छे, हाम्रो चाहिँ मनै हैन कि के हो !”

म हतारहतार पानको बुझो लगाएर भागेझैँ त्यहाँबाट पन्छिन्थे ।

यो घटनापछि मलाई उसको पसल जान असजिलो लाग्न थाल्यो । बेलाबेला म घटनालाई अनावश्यक रुपमा सोच्छु जस्तो लाग्थ्यो । म किन अर्थ नलाग्ने अर्थ खोज्न खोज्छु जस्तो । मेरो र हरिमायाको सम्बन्ध अरुको जस्तै त हो नि ! उसले मलाई मात्र मीठो पान दिन्छु भन्नु त एउटा सामान्य व्यवहारिक औपचारिकता न हो ! मेरो रिस उसको पसलअगाडि हुनेहरुको भिडप्रति हुन्थ्यो । किन त्यसै बस्छन् मोराहरु हरिमायाका पसल अगाडि थपक्कन पान खाएर जानु नि ! तर यो त मसँग सरोकार राख्ने कुरा नै थिएन । उसको पसल अगाडि जोसुकै उभिऊन् !

मेरो हरिमायाकोमा नजाने व्रत धेरै दिन टिकेन । म अब अलि ढिलो गरेर जान थालेँ ताकि उसले पसल बन्द गर्न आँटेकी होस् र उसका पसल अगाडि कोही नहुन् ! मौका हेर्न म भात खाएर घन्टौं चोकमा हुन्थेँ । म धेरै दिन पछाडि जाँदा हरिमायाले भनेकी थिई, “सरले त हामीलाई माया नै मार्नु भयो नि !”

मैले औपचारिकता पूरा गरेको थिएँ, “होइन म अलि बिजी थिएँ ! ”

“के गर्नु सर ! पसल चलाउनै पर्यो । कसैलाई त्यसै मेरो पसलअगाडि बसिनराख् भन्न मिलेन । दिनभरि बस्छन् पान खाएर र त्यसै केके कुरा गर्छन् । एक्ली आइमाई मान्छे भनेर हेपेका ! सर पनि त्यही भएर नआउनु भाको त होइन !”

म छक्क परेँ, उसले मेरो मनको अप्ठ्यारो भनेर मलाई झन् अप्ठ्यारोमा पारिदिई ।

“म पनि त्यसै सरसँग किन थाङ्ने कुरा गरी हुँला !”

“सर पान !” उसले मेरो आँखामा हेरेर पान दिँदै मुस्कुराई । म चोरी पक्डिएझैँ भएँ ।

एक दिन बिहानै चोकभरि हल्ला चल्यो, हरिमाया त बहुलाई रे ! त्यस रात हरिमाया पसल बन्द गर्न लागेकी थिई । चोकका बाँकी सबै पसल बन्द भइसकेका थिए । चोक सुनसान भइसकेको थियो । कसैले आएर पान माग्यो । जाडो भएकाले पान माग्नेले टोपी लगाएको थियो र मफलरले मुख छोपेको थियो । हरिमाया गन्गनाउदै भित्र पसेर पान बनाउन थाली । एक्कासि त्यो मान्छे भित्र पसेर हरिमायामाथि झम्ट्यो । उसको मुखबाट रक्सी गनाइरहेको थियो । हरिमाया गुहार भनेर चिच्याउन खोजी । उसको मुख थुनियो । उसका हातहरु बाँधिए । लाचार बानाइएकी हरिमाया लुटिई याने हरिमाया बलात्कृत भई ।

बिहान हरिमाया पसलमा नै विभत्स अवस्थामा भेटिई । उसका लुगा च्यात्तिएका थिए । उसको कपाल जिङरिङ्ग थिए र आँखाहरु राताराता थिए । हरिमाया केही बोलिरहेकी थिइन । सबैलाई टुलुटुलु हेरिरहेकी थिई । बिस्तारै हरिमायालाई ठूलै भिडले घेर्यो तर कोही पनि हरिमायालाई उठाउन गएन । हरिमाया चुपचाप घोप्टिएर बसिरही । कसैले पनि उसको देखिएको लाज छोप्न हात बढाएन ।

“बाइफाले मोरी । चोक भरिका ठिटाहरुसँग छिल्लिएर बस्थी । यसले अब कसलाई दोष्ने हो । यस्ती आइमाईले चोककै गाल पार्छन् । यसलाई यस चोकबाट खेदाओ ।”

धेरैले बोले तर कसैले पनि हरिमायाको पक्षमा बोलेन । उसलाई यो अवस्थामा कसले ल्यायो त्यसतर्फ कसैले हेरेन । सबैले हरिमायालाई नै दोषी ठहर्याए । निर्णय गर्दा हरिमायालाई कसैले केही भन्नु छ कि भनेर पनि सोधेन । सबैले निर्णय गरे— हरिमायाको त्यो अवस्था हुनुको सम्पूर्णरुपमा जिम्मेवार ऊ स्वयम् नै हो । उसले आफैँले आफैँलाई बलात्कार गरी ।

समाजले उसलाई त्यहाँबाट हटाउने निर्णय गर्यो । त्यतिन्जेलसम्म चुप लागेर बसेकी हरिमाया जुरुक्क उठी । ऊ बोल्न खोजी । सायद शब्दहरु भेटिन । हाँसी । सबैलाई देखाएर अनि सबैलाई हेरेर हाँसी । अनि एक्कासि, “ओई, आइज । किन हेरेको । आइज चढ्, मेरो मासु खा ।….। ”

सायद भन्दै थिई, मलाई हिजो राति आउनेले मात्र बलत्कार गरेन । बिहान पनि सबै मिलेर मध्यचोकमा बलात्कार गरे । म भिडभित्र बसेर चुपचाप भिडबाहिर सोचिरहेँ । मात्र सोचिरहेँ, भिडसँग छुट्टिन नसकेर । म पनि हरिमायालाई बलात्कार गर्ने त्यही भिडमा मिसिन पुगेँ ।

त्यसपछि सबैले हरिमाया बहुलाई भन्ने निष्कर्ष निकाले । भिडले समस्या मिलाएको भावमा बिस्तारै चोक छाड्यो । चोक बिस्तारै सामान्य बन्दै गयो, हरिमायाको हाँसोमा अभ्यस्त बनेर । नयाँरुपको नयाँ हिस्सा बनेर चोकमा आफ्नो अस्तित्व कायम राख्दै हरिमायाले चोक छाडिन ।

तर उसको निरर्थक हाँसोले सधैँ अर्थपूर्ण लखेटिरहन्छ अनि त्यो रात उसलाई बलत्कार गर्ने र आफूबीचको समानता र अन्तर छुट्टयाउन नसकेर अझसम्म मैले उसको कथा पूरा गर्न सकेको छैन ।