अहिलेसम्म विवाहलाई तिमीले भनेजस्तै बन्धनको रूपमा परिभाषित गरिएको भए तापनि यसलाई बदल्न पनि सकिन्छ र एउटा उन्नत, स्वतन्त्र र प्रगतिशील परिवार निर्माणको आधार बनाउन पनि त सकिन्छ । हामी दुवै रूढिवादी पाखण्डबाट मुक्त छौँ भने, हामी उदाहरणीय बन्न किन नसक्ने !

==

उसले “घरमा गएर हेर्नू” भनेर एउटा कागजको पन्ना दिएको थियो; घरमा आएर हेरेँ । लेखेको रहेछ– “भोलि बिहान सातबजे कागेचौरको चिलाउनेको बोटनेर आऊ । तिमीसँग एक्लै भेटेर केही महत्त्वपूर्ण कुराकानी गर्नुछ ।”

“मोराले किन बोलाको हो, विवाहको प्रस्ताव राख्ने पो हो कि भन्ने शङ्का पनि लाग्यो । किनकि विगत केही दिनदेखि उसको हेराइ र बोलीचालीमा फरक आएको मैले अनुभव गर्दै आएकी थिएँ ।

ऊ र म बालसखा, केटाकेटी उमेरदेखि नै सँग सँगै खेल्ने, बोल्ने र ख्यालठट्टा गर्दै हुर्केका । हामी स्कुलदेखि कलेजसम्म  नै एउटै कक्षामा छौँ ।

ऊ सामन्त त भन्न मिल्दैन; तर मध्यमवर्गीय किसान परिवारको एक्लो छोरो । उसको बाउको आर्थिक हैसियतभन्दा सामाजिक हैसियत बढी थियो । उसको बाउको रायसल्लाह बेगर हाम्रो समाजमा कुनै पनि सामाजिक काम हुन गाह्रै हुन्थ्यो ।

अर्कातिर म चैँ सैलुङ्गे कामीकी छोरी । मेरो बाउ रामेछापको सैलुङ्गबाट बसाइँ सरेर यहाँ आएका रहेछन् । त्यसैले मेरा बाउको नाउँ सैलुङ्गे कामी रहन गएछ । मेरो बाउको खुकुरी बनाउने सीप राम्रो थियो । यही सीपका आधारमा उनको प्रसिद्धी छिमेकी जिल्लासम्म फैलिएको थियो । यस सीपबाट राम्रै आम्दानी त के भन्नु; आफ्नो घरपरिवार चलाउन र हामी दिदीबहिनीको स्कुल कलेज खर्च जसोतसो चल्थ्यो । हाम्रो दाइ विदेशमा थियो । उसले पनि केही खर्च पठाउँथ्यो । हाम्रो परिवारले कसैसँग पैँचो लिएर वा बनीबुतो गरेर घर व्यवहार चलाउनु पर्ने अवस्था चैँ थिएन ।

तर पनि उसको बाउको आर्थिक र सामाजिक हैसियत र मेरो बाउको आर्थिक र सामाजिक हैसियतका बीचमा आकाश र जमिनको फरक थियो । उसको बाउले मलाई बुहारीको रूपमा स्वीकार्ने कुरा असम्भव नै थियो ।

उसले बिहेकै प्रस्ताव लिएर आउला भनेर मैले चै किन सोचेकी त ! उसले अरूनै विषयमा पनि त कुरा गर्न सक्थ्यो । म पनि उसप्रति आकर्षित भएर त यस्तो सोच्न पुगेकी होइन ! त्यस रात मेरो मनमा अनेक तर्कना उठे र सेलाए । यस्ता तर्कनाले मलाई अबेरसम्म निन्द्रा भने परेन ।

भोलिपल्ट बिहानै उसले भनेको समय र स्थानमा म पुगें । ऊ अगाडि नै त्यहाँ पुगिसकेको रहेछ । मैले पुग्नेबित्तिकै भनेँ— “तिमीले मसँग के त्यस्तो विशेष कुरा गर्न पर्यो र यहाँ बोलाएको ?”

उसले कुनै भूमिका नबाँधी भन्यो— “म तिमीलाई जीवन साथी बनाउन चाहन्छु; सरिता !”

मैले पनि उसैगरी भनेँ — “विवाह जस्तो कुरा तिमीले मात्रै चाहेर हुन्छ त ?”

उसले हत्तपत्त भन्यो— “तिमी मसँग विवाह गर्न राजी हुन्छ्यौ भन्नेमा म सतप्रतिशत विश्वस्त छु, सरिता !”

“ धत् लाटो मान्छे ! यति चाँडो कसैले बिहेको निर्णय गर्नसक्छ ? के हो बिहे भनेको था’छ ?’ प्रतिवादमा मैले भनेँ ।

“त्यसो नभन न सरिता ! म तिमीलाई साँच्चै प्रेम गर्छु ।” उसले भन्यो ।

“ प्रेम त मैले पनि त गरेकै छु नि तिमीलाई,

तर प्रेम र विवाह फरक विषय हुन् ।” मैले भनेँ ।

प्रतिवादमा उसले भन्यो– “प्रेमको विकसित रूप विवाह हो ।”

“होइन ।” मैले भनेँ – “ प्रेम पूर्णतः भावनामा आधारित हुन्छ— यो आकर्षण, माया, भरोसा, नजिकपन र स्वतन्त्र हुन्छ तर विवाह सामाजिक र कानुनी संस्थागत सम्बन्ध हो अनि परिवार, समाज र कानुनी बन्धन पनि ।”

केही रोकिएर मैले आफ्नो भनाइ पूरा गरेँ, “त्यसैले तत्कालै विवाह गरेर म अहिले नै परिवार, समाज र कानुनको बन्धनमा बस्न सक्छु जस्तो लाग्दैन ।”

ऊ सोचमग्न देखियो । केही समयपछि उसले भन्यो, “ अहिलेसम्म विवाहलाई तिमीले भनेजस्तै बन्धनको रूपमा परिभाषित गरिएको भए तापनि यसलाई बदल्न पनि सकिन्छ र एउटा उन्नत, स्वतन्त्र र प्रगतिशील परिवार निर्माणको आधार बनाउन पनि त सकिन्छ । हामी दुवै रूढिवादी पाखण्डबाट मुक्त छौँ भने, हामी उदाहरणीय बन्न किन नसक्ने !”

“तिम्रा भनाइ सैद्धान्तिक मात्र हुन्, सरिता !”

मैले भनेँ, “तिमीलाई थाहा नै छ— सिद्धान्त र व्यावहार फरक हुन् भन्ने कुरा ।”

जवाफमा उसले भन्यो– “सिद्धान्तले व्यवहारलाई निर्देशन गर्ने हो ।”

“होइन”, मैले उसको कुरा काट्दै  भनेँ — “ व्यवहार अनुसारको सिद्धान्त बन्ने हो ।” मैले आफ्नो कुरालाई स्पष्ट गर्न भनेँ— “मानौँ, तिमीले अहिले जे भने पनि सदियौँदेखि तिम्रो परिवारमा रहेको ब्राह्मणवादी सोचाइ, अर्थात् हामी सर्वश्रेष्ठ जात हौँ, हामीबाहेक अन्य जातिहरू हाम्रा सेवक हुन्, अझ शुद्र त पैतालाबाट जन्मिएकोले त्यसलाई सधैँ ताडना दिएर राख्नुपर्छ भन्ने मान्यताबाट तिमी मुक्त हुनसक्छौ होला तर तिम्रो परिवार, तिम्रा नातागोता त हुन सक्दैनन् नि ! यस्तो परिस्थितिमा तिमीले सबैको सामना गर्न सक्छौ जस्तो मलाई लाग्दैन तसर्थ तिमीले आफू मिल्दो जात, धर्म संस्कार र परम्परा मिल्ने केटीसँग वैवाहिक सम्बन्ध जोड्दा मात्र तिम्रो दीर्घकालसम्म भलो होला र, मैले पनि आफ्नो जात, धर्म र संस्कृति मिल्ने मान्छेसँगै सम्बन्ध बनाउँदा नै राम्रो होला जस्तो लाग्छ ।”

उसले नियाउरो मुख लाएर भन्यो– “ दुर्भाग्य ! तिमी अझै जातिवादको भडखालोबाट निस्कन सकेकी रहिनछ्यौ, सरिता !”

“ ल, ठिकै छ; फेरि कुरा गरौँला, अहिले छुटौँ ” भन्दै म उठेँ ।

त्यसपछि हामी नियमित रूपले एकान्तमा भेट गर्न थाल्यौँ ।

भेटमा, एकातिर हाम्रो वैवाहिक सम्बन्ध कायम भएमा त्यसबाट पर्न सक्ने संभावित चुनौतीलाई कसरी सामना गर्ने भन्ने बारे बहस हुन्थ्यो भने अर्कोतिर हामी एकअर्कालाई बुझ्न कति सक्षम हुनसक्छौँ भन्नेमा पनि बहस केन्द्रित हुन्थ्यो ।

अन्ततः हामी दुवै विवाह गर्ने निर्णयमा पुग्यौँ । हाम्रो विवाहमा बाजा बज्दैन; जन्ती आउँदैनन्; भोजभतेर हुँदैन भन्नेमा हामी स्पष्ट थियौँ । त्यसैले हामी जिल्ला अदालत गयौँ र ‘कोर्टम्यारिज’को संयुक्त निवेदन दियौँ । त्यसै दिनदेखि हामी सदरमुकाममा नै डेरा खोजेर बस्न थाल्यौँ ।

हामीले ‘कोर्टम्यारिज’ गरेको कुरा हावाजस्तै फैलिएर गाउँसम्म पुग्नु स्वाभाविक थियो । हामी दुवैलाई हाम्रो बारेमा गाउँमा राम्रा नराम्रा चर्चाहरू चलेका छन् भन्ने पनि लागेको थियो । हाम्रो सम्बन्धलाई लिएर उसको परिवारको के कस्तो प्रतिक्रिया रहन्छ भन्ने बारेमा हामी दुवैको गहिरो चासो थियो ।

ऊ बाबुआमाको एक्लो छोरो ! हामी सदरमुकाममा डेरा गरेर बस्न थालेपछि उसको परिवारमा जुन शून्यता देखा पर्यो; उसका बाबुआमाका लागि त्यो सहन गर्न सकिने स्तरको थिएन ।

हामी सदरमुकाममा बस्न थालेको पन्ध्रौँ दिनमा उसका बाउले मेसेन्जरमा यस्तो लेखेर पठाएछन्— 

“प्यारो छोरा !

तैँले यसरी सरितासँग बिहे गरेर राम्रो गरिनस् तर अब गरिहालिस् भने हामी बुढा बाबुआमाले के गर्न सक्छौं र ! बरु यसरी भागेर नबस्; एकदिन न एकदिन यो जातपात र छुवाछुतको पर्खाल भत्किन्छ भन्नेमा मलाई पनि विश्वास छ; म तेरी आमालाई पनि सम्झाउँछु । जातपात र छुवाछुतको यो सामाजिक पर्खाल भत्काउन तत्काल सम्भव हुँदैन; समाजको चेतनाको स्तर हेरेर यसलाई हान्न सक्नुपर्छ  तर तैँले अहिले नै हानिस् । त्यसकारण मैले अहिले धेरै ठूलो सामाजिक दबाबको सामना गर्नु परेको छ । समाजमा सानो संख्यामा “जे भयो; ठिक भयो” भन्ने मानिसहरू पनि छन् । अब तिनै मान्छेहरू हाम्रा सहारा पनि हुन् । जेजे भए पनि म तेरो बाउ हुँ । तिमीहरू बाहिर बस्न थालेपछि तेरी आमा धेरै रोएकी छे । तिमीहरू आएर कागेचौरमै रहेको हाम्रो धन्सारमा बस । दुबै पढेलेखेका र समाजलाई बुझेका मान्छे हौ । आफ्नो आजीविकाको बारेमा पनि गम्भीर नै छौ भन्ने आशा गर्दछु । तिमीहरू भोलि नै गाउँ फर्कनू ।”

म्यासेन्जरमा उसको बाउको चिट्ठी पढेपछि हाम्रो मन हल्का भयो ।

हामी गाउँ फर्कियौँ र कागेचौरको धन्सारमा बस्न थाल्यौँ । 

यसबिच हामी दुवैले स्नातक पास गर्यौं । उसले लोकसेवा दियो; मैले शिक्षा आयोग दिएँ । मैले शिक्षा आयोग पास पनि गरेँ । ऊ अनुतीर्ण भयो । 

शिक्षा आयोगले मलाई कागेचौरबाट झन्डै एककोस पूर्व धापचौकीस्थित निम्नमाध्यमिक विद्यालयमा खटायो । विद्यालयमा हाजिर भएपछि हाम्रो दैनिक जीवन नियमित हुन थाल्यो ।

म बिहानै आठबजे नै खाना खाईओरी स्कुल जान्थेँ, र बेलुका पाँच बजे घर आइपुग्थेँ । यस बीच घरका काम सबै उसैले भ्याउँथ्यो । लुगा धुने, बिहानको भाँडा माझ्ने ,मेरा लागि खाजा बनाउने, घर बडार्ने, लिपपोत समेतका काम उसले गर्ने गर्थ्यो । यसबाहेक ऊ खेतबारीको सिजनल काम पनि गर्थ्यो ।

हामी दुवै प्रसन्न थियौँ; हाम्रो दुईजनाको परिवार सुखी र सम्पन्न थियो ।

यसै बीचमा म दुई जीउकी भएँ । नौ महिना गन्दागन्दै बित्यो; म अस्पताल भर्ना भएँ । कागेचौरमा हामी दुईजनाको परिवार थियो; अब हामी बीच छोरी पनि आई ।

उसले धेरै राम्ररी सुत्केरीको स्याहार सुसार गर्यो । पौष्टिक चिजबिजको नियमित खानपान र स्याहारसुसारले म चाँडै तङ्ग्रिएँ र स्कुल जान सक्ने भएँ ।

पहिलो एक वर्षसम्म मैले छोरीलाई पिठ्यूँमा पटुकाले बाँधेर स्कुल गएँ । अर्को एक वर्ष उसले घरमा स्याहार गर्यो; तेस्रो वर्ष हामीले छोरीलाई गाउँकै मन्टेश्वरीमा भर्ना गर्ने निधो गर्यौं ।

एकदिन उसले अनायास भन्यो– “ तिमीले छोरो पाउँछ्यौ र हाम्रो पहिलो सन्तान छोरो हुन्छ भन्ने मलाई ठूलो आस थियो तर भएन ।” फेरि भन्यो– “ ठट्टा गरेको नि ! छोरा भए पनि छोरी भए पनि एउटै हो; केही फरक पर्दैन ।”

उसले ठट्टा भने पनि उसको ठट्टाले मेरो मनमा चैँ झस्का पर्यो । मैले मनमनै विचार गरेँ— यो मान्छे अझै रूढिवादको प्रभावमा छ कि के हो ?”

त्यसपछिका हाम्रा पारिवारिक दिन राम्रैसँग चल्दै गए । मेरो त्यागबाट ऊ र उसको त्यागबाट म सन्तुष्ट हुँदै आएका थियौँ । मलाई लाग्थ्यो— ऊ शरीरबाट सन्तुष्ट हुन्थ्यो भने म चैँ हृदयबाट । जब म हृदयमा अवस्थित भवना, प्रेम र समर्पणको शीतल जलमा प्रवाहित हुन्थेँ; तब उसले आफ्ना शरीरमा उत्पन्न थकानरूपि गर्मी निभाउँथ्यो । म कल्पना गर्थें, — पुरुष सूर्य हो जसको प्रचण्ड गर्मीले जगतमा जीवन भर्दछ । त्यसैगरी महिलाले जीवनमा वात्सल्य, माया, प्रेम र सद्भाव पोख्दछिन् र जीवनलाई नियमन गर्दछिन् । त्यसैले महिला र पुरुष एउटा रथको दुई पाङ्ग्रा भनिएको रहेछ । एउटाले व्यवस्था गर्ने, अर्कोले व्यवस्थापन गर्ने ।

तर हाम्रो पारिवारिक जीवन लामो समयसम्म सुखद रहन सकेन । पहिलो छोरी जन्मेको चार वर्षपछि म फेरि सुत्केरी भएँ । यसपटक पनि मेरो काखमा छोरी आई ।

सानी छोरीको जन्मपछि ऊ उदास देखिन थाल्यो । यसपटक मैले खासै स्याहारसुसार पनि पाइनँ; मेरो खानपानमा पनि उसले खासै ध्यान दिएको मैले अनुभव गर्न सकिनँ । म सम्झिन्छु; हाम्रो पारिवारिक जीवनका गाडीका पाङ्ग्रा त्यसै  दिनदेखि असन्तुलित हुनथाल्यो जब मैले दोस्रो सन्तानका रूपमा सानी छोरीलाई जन्म दिएँ ।

परिवारलाई कलात्मक रूपले अगाडि बढाउने उसका भाषणहरू निहीत उदेश्य प्राप्तिका लागि मात्र रहेछन् भन्ने कुरा समयक्रममा स्पष्ट हुँदै गयो ।

उसका झिनामसिना तर्कले मेरो हृदय दुखे तापनि म निराश चैँ भएकी थिइनँ । 

समाजमा विद्यमान रूढिवादका विरुद्धमा उभिने सवालमा ऊ त उसको बाबु जति पनि दह्रो देखिएन ।  उसका बाबु समाजमा जातपात र छुवाछुतका विरुद्ध हाँक दिने किसिमले उभिएका थिए । छुवाछुतका विरुद्ध उभिँदा झेल्नु पर्ने सामाजिक लाञ्छनालाई उनले डटेर सामना गरेका थिए । ऊ भने समाजमा विद्यमान पितृसत्ताका सामु हार्यो । वंश धान्नका लागि छोरा नै चाहिन्छ भन्ने सामाजिक रूढिले उसलाई भित्रैदेखि हल्लाईदियो । जातपात र छुवाछुतका विरुद्धमा परिवार र समाजको मुकाबिला गर्न दह्रो किसिमले उभिएको ऊ परिवारमा दुइटी छोरी हुने बित्तिक्कै भित्रैदेखि काम्न थाल्यो ।

त्यसपछि हाम्रा दिनहरू अत्यन्त निरस र तनावयुक्त भएर बित्दै आएका छन् ।

दुइटी छोरीहरूलाई हुर्काउने, पढाउने र सक्षम बनाउने जिम्मेवारी मेरो काँधमा आइपरेको छ ।

यतिखेर एकातिर मेराअगाडि देखापरेको जागिर, छोरीहरूको लालनपालन र पारिवारिक आजीविकाको जटिल परिस्थितिलाई सरल व्यवस्थापन गर्नुपर्ने दायित्व छ भने, अर्कोतर्फ जागिरे स्वास्नीको लोग्नेले सधै दुःख पाउँछ, भन्ने जुन भाष्य समाजमा खडा गरिएको छ त्यसको उदाहरण आफू नबन्न प्रयत्नशील रहनु पनि छ ।

यो दोहोरो भूमिकामा आफूलाई समर्पण गर्नु चुनौतीपूर्ण भए तापनि मैले हरेस खान हुँदैन भन्ने मलाई लागेको छ ।

म स्पष्ट छु: पश्चातापको गोरेटोमा मेरा पाइला टेकिनु हुँदैन; मैले संघर्षको राजमार्गमा हिँड्ने सङ्कल्प गर्नु पर्दछ ।