१.
पुसको अन्त्यतिरको समय छ । स्यहार केन्द्रको पछाडिपट्टिको सेल्टरमा पारिलो घाम लागिरहेको छ । मैचा परालमाथि आमासँग ढेस्सिएर बसेकी छे । पेप्सीको बोत्तलबाट भर्खरै दुध चुसेकी ऊ मस्त उग्राएकी छे । उसका काला टुल्के आँखाहरू हेरिरहुँ जस्ता देखिएका छन् ।
सुसारे दिदीको काखमा मुन्टो अड्याएकी मनमायाले आज आँखा खोल्नै सकेकी छैन । शरीर भत्भती पोलेको छ । कल्चौँडो आरनको फलाम जस्तो रन्किएको छ । कता कता हृदयका घाउ दुखेका छन् । एक प्रकारको अनौठो ऐँठनले बिहानैबाट गाँजेको छ ।
“के भो मनमाया?” भकारो लत्पतिएको कुर्तामा चिउँडो टाँसेर सुसारे दिदी सोधिरहेकी छिन् ।
मनमायाको गर्धन उनी आफ्नै सन्तानलाई जसरी सुम्सुम्याउँदै छिन् । गर्धनमा लर्किएको छालामा परेको चाया फुसफुस झरिरहेको छ भुइँमा ।
अलि परको बट्टा तानेर फुक्लेको सिङको वरिपरि मेथी झानेको तेल लत्पत्याइदिँदै सुसारे दिदीले भनिन् “कति दु:ख पाइस् है तैँले !”
मनमायाको आँखाबाट अनवरत रसाएको आँसुले सायद सुसारे दिदीको प्रश्नको जवाफ दिइरहेछ । नुनिलो आँसुमा पीडाको अमिलो गन्ध मिसिएको छ ।
एक प्रजातीको जीव सोधिरहेको छ र अर्कै प्रजातीको जीव बोलिरहेको छ । प्रकृतीको साझा भाषा गुन्जिरहेको छ दुवैले बुझ्ने गरी ।
२.
मनमाया सम्झन्छे त्यो पहेँलै फुलेको तोरीबारी । बारीको डिलमा रहेका हरिया फोस्राका बुटाहरू । ऊ सम्झन्छे पहिलो पटक आमा बन्दाको सुख । उसको मालिकको अनौठो स्पर्श । उसलाई झल्झली याद छ सुत्केरी हुनु केही दिन अघिदेखि मालिकले तेल लगाएर थुनहरू समाइदिँदा काउकुतीले बुर्लुक्क उफ्रिएको ।
पहिलो बेतमा उसले पाडो पाएकी थिई । चुलबुले पाडोलाई उसले पहिलो पटक चाटिचाटि उठाएकी थिई । आँगनमा बुर्कुसी मार्न सक्ने बनाएकी थिई । आफैँसँग निहुँ खोजेर मिठो मिठो खान सक्ने बनाएकी थिई ।
सुत्केरी भएको शुरुका दिनमा उसको सबै दुध पाडोले नै खान पाएको थियो । मालिक बाल्टी लिएर मनमायालाई दुहुन आउँथे तर पाडोले चुसेको थुनमा आधा माना जति मात्रै दुध बाँकी हुन्थ्यो । “हैन लाहुरी भैँसीको थोरे भनेर पालेको कस्तो खच्चर परेछ दुधै झार्दैन ।” मालिक दुखेसो पनि गर्थे ।
एक दिन गोठमा डाक्टर आएको थियो । मनमायालाई उसले कुन्नी के के जाँचेर गयो । त्यसपछि मालिकले मनमायालाई कुँडोमा तोरीको पिना मिसाएर दिन लागेका थिए । कहिलेकाहीँ त नरिवल पनि काटेर मिसाउँथे । शुरु शुरुमा मनमायालाई त्यो नयाँ स्वाद त्यति मन परेन तर पछि बानी पर्दै गयो ।
त्यसरी खानपान परिवर्तन गरेपछि मनमायाको कल्चौँडा भरिन थाल्यो । कहिलेकाहीँ त मालिक दुहुन आउने बेलासम्ममा कल्चौँडा रनक्क रन्कीसक्थ्यो । उसले पाडोलाई धीत मरुन्जेल दुध चुसाउन पाएकी थिई । मालिकलाई बाल्टी भरी दुध दिन सकेकी थिई । मालिक खुसी देखिन्थे । पाडो पुष्ट देखिन्थ्यो ।
बिस्तारै बिस्तारै मनमायाको पाडो हुर्कंदै थियो । केही दिनपछि मालिकले पाडोलाई गोठमा छुट्टै राख्न थाले । दुहुने बेलामा मात्रै पाडो लिएर आउँथे । पाडोले झम्टने बित्तिकै मनमाया पग्रिन्थी । उसका थुन दुधले भरिन्थे । मालिक्नी दुधले भरिएका थुनबाट जबर्जस्ती पाडोलाई थुतेर लग्थी । च्वापच्वाप पार्दै थुन चुसिरहेको पाडोको मुखबाट दुध मिसिएको र्याल भुईमा खस्थ्यो । मालिक बाल्टी भरी दुध दुएर खुसी हुँदै घरभित्र छिर्थे । पाडो आधा पेटमा छटपटिँदै मनमायाको कल्चौँडो चुस्न आइरहन्थ्यो । दुध निथ्रिएको कल्चौँडोमा पाडोले झुत्ती मार्दा मनमाया हैरान हुन्थी ।
केही दिन त मनमायाले सबै दुध दुहुन दिइन । सके जति विद्रोह गरी । खुट्टा हानी । बुर्लुक्क उफ्रिएर गई तर उसको विद्रोहले धेरै दिन काम गरेन । मालिकले उसका खुट्टा खाँबोमा बाँधेर दुहुन थाले ।
उसको दुध बढ्यो तर खुसी बढेन । मालिकको बाल्टी भरियो तर आफ्नै सन्तानको पेट भरिएन । ऊ मालिकको लागि लैनो तर आफ्नै पाडोको लागि थारो जस्तो भई ।
बिस्तारै बिस्तारै मालिकले दुहुने बेलामा पाडो ल्याउनै बन्द गरेका थिए । कति भोकायो होला, कति छट्पटियो होला, मनमायालाई सम्झिएर अतेस लाग्थ्यो । केहि दिन पछि उसले आफ्नो पाडोलाई मालिकले घिसार्दै घिसार्दै बारीको डिलसम्म पुर्याएर अर्कैलाई दिएर पठाएको देखी । यसरी उसको पहिलो बेतको कथा सकिएको थियो ।
३.
सुसारे दिदीले मनमायालाई मनतातो पानीले नुहाइदिइन् । घाम अझै पारिलो छ । अगाडीको सेल्टरमा बाटोबाट उठाएर ल्याएका कुकुरका साना छाउराहरू क्याउँ क्याउँ गर्दै छन् । तिनिहरूलाई पनि कुखुराका खुट्टाहरू मिसाएर बनाएको खोले खुवाउनु छ । सुसारे दिदी मनमायाको चिउँडो उठाएर मुनिपट्टि भुसको बोरा राखिदिएर गइन् ।
आज आँखा खोल्न सकिँदैन जस्तो छ । पेट भुक्क फुलेको छ । बिहानैबाट केही खान सकेको छैन । आँखाबाट निरन्तर बगेको आँसुमा बेला बेला झिँगा आई बसेका छन् । सुसारे दिदी गएपछि मैचा पनि उठेर गई । कता गई मनमायाले हेर्न सकेकी छैन ।
बन्द आँखामा विगतका स्मृतीहरू छचल्किएका छन् । उसले आफू दोस्रो पटक आमा भएको सम्झिई । पाडी पाउनु केही दिन अघिबाट उसलाई पहिलो बेतमा जस्तै अतिरिक्त स्यहार मिलेको थियो । पाडी पाएकाले मालिकहरू असाध्यै खुसी देखिन्थे ।
केही दिन पछिको कुरा हो मनमायालाई आफ्ना थुन दुखेको जस्तो महसुस हुन थालेको थियो । दुहुने बेला मालिकले छुने बित्तिकै पोल्न थालेको थियो । उसका थुनहरू राता र पोटिला भएका थिए तर मालिकले त्यो कुरा ख्याल नै गरेका थिएनन् ।
एक दुई दिनपछि त कल्चौँडो अरिङ्गालको गोलो जस्तो भएको थियो । भत्भती पोल्न थालेको थियो । एक दिन दुध पनि तम्तमिलो चौलानी जस्तो आएपछि बल्ल मालिकको ध्यान पुग्यो । अर्को दिन डाक्टर आएर हेरे । त्यो दिन दुहुँदा दुधमा रगत मिसिएर आयो । त्यस पछि त हो मनमायाको जीवनको अत्यास लाग्दो अध्याय शुरु भएको ।
मनमायालाई स्थानीय डाक्टरले दिएको औषधि निरन्तर केही हप्ता खुवाइयो । औषधिले काम नगरेपछि मालिकले मनमायालाई जाँच्न अर्को डाक्टर लिएर आए । त्यो डाक्टरले मनमायाको थुन छुने बित्तिकै थुनेलो भएको र दुईओटा थुन बिग्रिसकेको निष्कर्ष सुनायो । मालिकले अँध्यारो मुन्टो बनाए ।
केही समयसम्म औषधि खाएपछि ऊ निको भई तर दुईओटा धुनबाट दुध आएन । बाँकीबाट समेत बिस्तारै दुध घट्दै गयो । एक त रोगले गलेको अर्को तर्फ पोसिलो खोले लगायत खानेकुरा समेत कम कम हुँदै गएकोले उसका थुनेलो नभएका थुनहरूबाट समेत दुध आउन छाड्यो । मनमाया सुत्केरी भएको ५ महिना नपुग्दै थारो भई ।
एकदिन भकारो फाल्न आएका मालिक्नीसँग मालिक भन्दै थिए । “गाउँमा थारो भैँसी किन्नेहरू आएका छन्, मासुको मोलमा लग्छन् भैँसी बेच्नु पर्यो ।”
“ म के भनौँ खै । तैपनि यो वर्ष राँगो लाउने पो हो की ? कान्छी छोरी यसैको दुध खाएर हुर्की । मासुको लागि त कसरी बेच्नु हो र ।” मालिक्नीले खुइय सुस्केरा हाली ।
“ लाएर के गर्छेस् ? यसका दुईओटा थुनबाट अब थोपो झर्दैन । अर्को बेतमा बाँकी दुईमा नि नसर्ला भन्न सकिन्न । सिर्को दुध हेर्न नपाएपछि डाम्नालाई कति हसुराएर राख्ने हो र ।” मालिकले ठसक्क चोसो पसारे ।
“बरु थोरै मोल हालेर पाल्नै लाने पनि भेटिन्छन् की ?” मालिक्नीले प्रस्ताव गरिन् ।
“भो भो बढी जाति नबन् । मासुको मोल दिन्छु भन्या छन् । राम्रै पैसा आउँछ । आएको मोल घटाएर अर्को ग्राहक खोज्दिन म ।” बुढाको कुराले मालिक्नीको मन खिस्रिक्क भएर होला ऊ केही जवाफ दिइन ।
मालिक मालिक्नीको वार्तालाप भएको केही दिनपछि मनमाया बेचिई । ऊ बेचिनुपर्थ्यो दुधको लागि तर मासुको लागि बेचिई । ऊ बेचिनुपर्थ्यो कल्चौँडो हेरेर तर ऊ अन्दाजी केजी हेरेर बेचिई ।
उसका लाउरी परेका सिङ र पुष्ट फाँचो हेरेर किनिएकी थिई । मालिक्नीको छोरीलाई उसकै कल्चौँडा भरीको दुधले हुर्काएकी थिई तर ऊ थारो भनिएर बेचिई ।
उसलाई किन्ने हटेरोले उसको मासु किनेको थियो । व्यापारीको लागि मनमाया मासुको थुप्रो मात्र थिई । छोइला, कचेला, म:म, भुटन आदि इत्यादि थिई ऊ ।
उसको जीवन बेकार थियो । स्वास बेकारमा फेरिरहेकी थिई । मालिकले बेचेको एक महिनासम्म विभिन्न ठाउँ हुँदै ऊ एउटा ठूलो खुला चौरमा आएर बसेकी थिई । हरेक दिन ऊ जस्ता थारा भैँसीहरू थपिइरहेका थिए । प्राय बैँस घर्किएका सिङ, फुक्लिएका छाला, चाउरिएका थिए । सायद ऊ अभागी मात्रै बैँस छँदै मासुको मोलमा हुत्याइएकी थिई ।
व्यापारीहरू भैँसी बटुल्दै थिए । चौरमा हरेक दिन जस्तो भैँसीको संख्या थपिँदै गएको थियो । यसैगरी करिब ५ महिना बित्यो । एकदिन बिहान सबेरै व्यापारीहरूले सबै भैँसी धपाउँदै सहरतिर लिएर आए । कुनै दिन खाली पेट र बिना पानी बिहानदेखि साँझसम्म हिँडाउँथे । बाटोमा हिँड्न नसक्दा व्यापारीहरू सिर्कनाले कुट्थे । कुटाइका डामहरू छालाभरी पारेर करिब १ महिनापछि मनमाया काठमाडौँको कुनै वधशालाको प्रतीक्षालयमा आइपुगी ।
४.
व्यापारीहरूले राखेको खुला चौरमा कसैलाई पनि बाँधिएको थिएन । कम्तीमा एक प्रकारको स्वतन्त्रता थियो त्यहाँ, तर वधशालाको प्रतीक्षालयमा हरेक भैँसीलाई बाँधेर राखिएको थियो ।
वधशालाका कसाइहरू हेर्दै बलवान थिए । एउटा पाखुरामा बुद्धको ट्याटु खोपेको हेर्दै डरलाग्दो कसाइ हरेक दिन बिहान वधशालाको अगाडी गाडिएका ढुङ्गाहरू पखाल्थ्यो । खुँडामा लत्पतिएको रगत सफा गरेर ढुङ्गाको अगाडि लहरै राख्थ्यो र पूजा गर्थ्यो । पूजा गरेर हात जोडिरहेका कसाइका पाखुराका बुद्धले मनमायालाई हेर्थे वा हेर्दैनथे तर मनमायाको आँखा त्यतै जान्थ्यो ।
रगत कट्कटिएको डोरीमा बाँधिएकी मनमायाले हरेक दिन आफूजस्तै अन्य भैँसीलाई वधशालाभित्र लगेको हेरिरही । कालको मुखैमा बसेर आफ्नै काल कुरिरही ।
वधशालामा सबैको एकै प्रकारले वध हुँदैनथ्यो । कसैको घाँटी छप्काइन्थ्यो । कसैको टाउकोमा घनले हानेर मारिन्थ्यो । कतिपयलाई परैबाट सुई घोपेर सिकारु कसाइहरू डराइ डराइ खुँडाले मार हान्थे ।
राँगाभैँसीको शिर तल भुँइमा खस्दा उनीहरूको अनुहारमा मुस्कान देखिन्थ्यो । वीरताले छाती चौडा गर्दै कसाइहरू निधारको पसिना पाखुरामा पुछ्थे । यता राँगा र भैँसीहरू भित्र कतैबाट दबेको आवाज निकालेर कराउँथे । मर्ने बेलाको त्यो भित्र दबेको अत्यास लाग्दो आवाज कम्ती दर्दनाक सुनिँदैनथ्यो ।
जब शरीर र टाउका छुट्टिन्थे मरेको लासलाई कसाइहरू खुँडा तिखार्दै छप्काउँदै गर्थे । खुट्टा टुक्रिन्थे । भुँडी निकालिन्थ्यो । छाला तर्दै फल मासु छुट्याउने कृत्य मनमायाका आँखै अगाडी भइरहन्थे । एकैछिन अगाडी परालको बुझो हालिरहेका राँगा र भैँसीहरू एकैछिन पछि मासुका थुप्रा बन्थे ।
वधशालामा आएको तेस्रो दिन मनमायाको पालो आयो । एउटा कसाइले मनमायाको पुच्छरमुनिबाट कल्चौँडासम्म मुसार्यो तर त्यो स्पर्श उसलाई पहिलो बेतमा उसको मालिकले छोएको जस्तो कोमल लागेन । अर्कोले पेटमा थिच्यो अनि शरीर भरि हेर्यो ।
उनीहरू के हेर्दै थिए मनमायाले केही पत्तो पाइन । के छाम्दै थिए उसले अन्दाज गर्न सकिन । सायद उनीहरू मनमायालाई काट्नु अघि नै जोख्दै थिए । मासुको हिसाब निकाल्दै थिए ।
वधशालामा आएदेखि नै खाना नपचेकोले हो वा अरू केही काराणले उसलाई आफ्नो शरीर दिनदिनै भारी लाग्दै गएको थियो । हरेक दिन आँखा अगाडी मृत्यु देखेर ऊ कहिले तर्सन्थी कहिले छिटो पालो आवस् भन्ने चाहन्थी तर जब पालो आयो ऊ अकस्मात् झस्किई । उसले घुरेर कसाइहरूलाई हेरी । कसाइहरू नेवारीमा कुन्नी के “मखु मखु” गर्दै भित्र छिरिसकेका थिए ।
त्यसको केही घण्टापछि दुईजना कसाइहरू उसलाई लिन आए । रगत लत्पतिएको हात, कट्कटिएको कपडा, आलो रगतका छिटाहरू परेका काला प्लास्टिकका बुट जुत्ता देखेर मनमायालाई आफ्नै स्वास भारी भयो । किलाबाट दाम्लो निकाल्दै गर्दा उसले लामो स्वास फेर्दै नाक बजाई । त्यसपछि ऊ फनक्क घुमी । ऊ घुम्दा उसका सिङहरूले पछाडी रहेको कसाइलाई घोच्यो । त्यो रिसले चुर भएको कसाइले हतार हतार मनमायालाई भित्रको किलामा लगेर बाँध्यो । उसका दुवै सिङमा डोरीले बाँधेर गर्धन सिधा हुने गरी अगाडीको रडमा डोरी कस्यो । मनमायाले आफ्नै अगाडीको भुइँ मात्रै देख्ने भई।
मनमाया तर्सिई । उसको सुतबाट तुरुक्क पिसाब बग्यो । उसले जोडले झड्काल्दा सिङहरूमा कसेको डोरी फुत्कियो । उसले फेरि जोड गरेर बाँधेको किलामा सिङौरी खेल्न थालेपछि खुँडा बोकेर आएको कसाइले खुँडा भुँइमा फालेर रड टिप्यो ।
अर्को कसाइ हातमा करिब ५ केजीको घन बोकेर झम्टिँदै आयो । मनमायाको टाउकोमा घन हान्न ठिक्क परेको बेला मनमायाले अझै जोड लगाएर आफूलाई बाँधेको डोरी खुस्काउन मुन्टो झड्काली । डोरी चुँडियो । कसाइले बजारेको घनले लागेर मनमायाको दायाँ पट्टिको सिङ भाँचियो । नाथ्री चुँडिएर ऊ रक्ताम्य भई ।
उता अर्को कसाइले पछाडिबाट रडले मनमायाको खुट्टामा हिर्कायो । एक दुई रड खाएर मनमाया जसोतसो फुत्किएर बुरुक्क उफ्रिएर जोगिई ।
त्यसपछि फेरि घन प्रहार गर्न दौडिएको कसाइलाई उसले भाँचिएको सिङले हानेर हिलोमा पछारी । रड लिएको कसाइले ठुल्ठुलो स्वरले अरूलाई बोलायो । त्यही बेला क्रोधले राता राता आँखा पारेर हिर्काउन आएको अर्को कसाइलाई गेटैमा लडाएर मनमाया वधशालाबाट भाग्न सफल भई ।
५.
मनमाया घरी पसलभित्र छिरी घरी बाटै बाटो दगुरी । खोलामा गएर थचक्क बसेकी मनमायालाई परैबाट कसाइहरू ठूला ढुङ्गाले हान्न थाले । त्यसपछि त्यहाँबाट उठेर ऊ बाटोमा भेटिएजति सबैलाई पछार्दै अलि पर एउटा स्कुलभित्र छिरी । स्कुलका दुई भवन जोडिएको कुनामा ठोकिएर लडी र बेहोस जस्ती भई । लामो लामो स्वास तान्दै ऊ मुखबाट फिँज बगाउन लागी ।
ऊ छिरेपछि स्कुलमा हल्ला खल्ला भयो । स्कुलका बरण्डामा उसलाई हेर्ने बच्चाहरूको भिड भयो । त्यतिकैमा ती कसाइहरू पनि स्कुल भित्र छिर्न खोजे । कसैका हातमा घन कसैका हातमा खुँडा कसैका हातमा तरबार थिए । उनीहरूलाई स्कुलको पालेले गेटमा रोक्न खोज्यो । स्कुलभित्र यसरी हतियार सहित नछिर्न बिन्ती गर्यो, नमानेर “हाम्रो भैँसी छिरेको छ लिएर जान्छौ” भन्दै अघि बढेपछि स्कुलका प्रिन्सिपल भैँसी रहेको स्थान नजिक पुगे र भने “हेर्नुहोस् यो स्कुल हो । यहाँ बरण्डाभरि बच्चा छन् । कक्षा चलिरहेको छ । स्कुलमा तपाईंहरू हतियारसहित छिर्दा उनीहरू आत्तिएका छन् । कृपया हतियार लिएर बाहिर जानुहोस् ।”
प्रिन्सिपलका कुरा धन्न कसाइहरूले माने । त्यतिकैमा मानिसहरूको हुल र होहल्ला देखेर प्रहरीको भ्यान स्कुल अगाडी आइपुग्यो ।
मनमायालाई बिस्तारै होस आयो । उसले मानिसको गाइँगुइँ सुन्न थाली । आँखा खोल्न खोज्थी तर सक्दिनथी । आँखाभरि अँध्यारो छाएको थियो । प्रहरी भनिरहेका थिए “स्कुल हातामा अनावश्यक होहल्ला गरेर विद्यार्थीलाई आतङ्कित नपार्नुहोस् । भैँसी उठेर भाग्न सक्ने स्थितिमा छैन । स्कुल छुट्टि भएपछि आएर लिएर जानुहोस् ।”
प्रहरीको कुरा कसाइहरूले माने । कसाइहरू गएपछि प्रहरी पनि त्यहाँबाट निस्किए ।
मनमायालाई घरी होस आएजस्तो हुन्थ्यो घरी मरेतुल्य हुन्थी । शरीर धरर्र कामिरहेको थियो । घरी घरी कक्षा कोठामा बच्चाहरू चिच्याएर पढेको आवाज सुन्थी । आँखा खोल्न खोज्थी तर सक्दिनथी ।
केही घण्टापछि स्कुल छुट्टी भयो । साना कक्षाका विद्यार्थी आउने बाटो त्यही थियो जहाँ मनमाया खुट्टा तन्काएर लडेकी थिई । साना केटाकेटीले भैँसीलाई देखे । स्कुलका सर म्याडमहरू त्यता नजान भनिरहेका थिए तर बच्चाहरूले मनमाया घेरिइसकेकी थिई । सबै आ-आफ्ना टोलीमा गुनगुनाएको आवाजले मनमायाको फेरि होस आयो । आँखा खोल्ने प्रयास गरी आँखा पुरै खुलेन तर आँखामा पहिला भन्दा केही उज्यालो थियो ।
उसको आँखा अगाडि आकाशे निलो सर्ट र खैरो पाइन्ट लगाएकी सानी केटी उभिएकी थिई । ऊ मनमायाको मुखैनिर सानो निलो जगले पानी खन्याउदै भनिरहेकी थिई, “भैँसी पानी खाऊ न । पानी खायो भने आँखा देखिन्छ ।”
त्यो सानी केटीले मनमायाको आँखाको परेला समातेर आँखा खोल्न खोज्दै भनी, “भैँसी हेर न ।”
त्यति गर्दा पनि मनमायाले आँखा नखोलेपछि त्यो सानी केटी डाँको छाडेर रोई । उसलाई मिसहरूले समाते अनि भ्यानतर्फ लिएर गए ।
घरी अचेत जस्तो घरी होस आए जस्तो । थर्थराइरहेको शरीर आफैँलाई भारी जस्तो । शक्तिशाली सिङहरू शक्तिविहीन मानौँ आफ्नै शरीरका अङ्ग नै हैनन् जस्ता । खुट्टा तन्काए पनि दुखिरहेको, खुम्च्याए पनि दुखिरहेको । नाकका पोराहरूबाट अनवरत स्वासको प्रवाहसँगै आइरहेको फ्वाँ फ्वाँ आवाज । रडका सुन्निएका डामहरू । रगत लत्पतिएको शरीर ।
स्कुले बच्चाहरू सबै गएपछि फेरी कसाइहरू एउटा टाटाको ट्रक लिएर आए । उनीहरूले मनमायालाई घिसार्दै केही अगाडि पुर्याए । वधशालाबाट भाग्दा बरू उसलाई त्यति पीडा बोध भएको थिएन तर कसाइहरूले घिसार्दा शरीर असह्य दुख्यो । रगत बग्न बन्द भएका घाउहरूमा फेरी रगत बग्यो । आँखाहरूले सकिनसकी आँसु खसाए । शरीर भुङ्ग्रो जसरी तात्यो । मनमा बाँच्ने चाहना उर्लिएर आयो ।
उसलाई बेच्ने मालिकको छोरी जन्मँदा मालिक्नीको दुध आएन । जति गर्दा पनि दुध नआएपछि मनमायाकै दुध पिएर ऊ हुर्किएकी थिई । उसकै अगाडि ऊ ठुली भएकी थिई । उसलाई माया गरेर स्याउला खुवाउने भएकी थिई । छोरीको आँखामा छचल्किएको अबोध प्रेम मात्रै देखेको भए पनि मालिकले मनमायालाई बेच्ने थिएन होला ।
उसले दिएको दुध पिएर धेरै मान्छेका केटाकेटी बाँचे । जब दुध नै रहेन ऊ पनि मासुको मोलमा बेचिई । उसको लेखान्त मासुका टुक्रा भएर बेचिनुरहेछ । लिटरमा हैन केजीमा रहेछ उसको असली मूल्य । उसको गुन मात्रै देखेको भए यसरी बेचिने थिइन होला ।
स्कुलको ग्राउन्डमा घिस्रँदा उसका छाला दर्फरिए । त्यहाँ ओछ्याइएका ब्लकहरूमा रगत पोतियो । मृत्युको मार्ग स्पष्ट देखियो ।
६.
“अङ्कल न लग्नु न भैँसी बिरामी छ ।”
यत्तिकैमा यो आवाज पर कतैबाट आइरहेको उसले सुनी । उसले आवाज स्पष्ट चिनी । त्यो आवाज अरू कसैको नभएर एकछिन अघि जगमा पानी खुवाउन आउने सानी केटीको थियो ।
“नतान्नुस न ।”
“नलग्नुस न ।”
अमिलिएको आत्माले कति मधुर शब्द सुने । विश्वास नै नलाग्नेगरी । बिस्तारै आवाजको सघनता बढेर गयो । अनुनयको त्यो आवाजको आयातन यति फराकिलो थियो कि तिनले ठेलेर मनमायाका आँखा भारी भए ।
“भाइहरू एकछिन पर्खनुहोस् है !”
सानी केटीको आवाजसँगै एउटा अर्को आवाज थपियो । त्यो आवाज अरू कसैको नभएर उही सुसारै दिदीको थियो । उनीसँगै थिए ती सानी केटीका बाबा र आमा ।
सानी केटी आएर मनमायाको टाउकोमा घोप्टो परी । उसका साना हत्केलाहरूले मनमायाको कन्चटमा स्पर्श हुँदा मनमायाको दुखाइ निकै कम भयो । उसले मनमायाका आँखाहरू छोई । भाँचिएको सिङ समात्दै भनी, “हेर्नू न ममी यसको त टाउकोबाट रगत बगेको छ ।” उसले आफ्नै बाहुलाले मनमायाको सिङ भाँचिएर बगेको रगत पुछी ।
“म मेरी छोरीको लागि भैँसीको मूल्य कति तिर्नुपर्ने हो तिर्न तयार छु । तपाईंहरू गाडीमा राखेर भैँसीलाई सेल्टरसम्म पुर्याउने काम गर्नुहोला ।”
मनमायाले सानी केटीको बाबु बोलेको सुनी । बाँच्ने आश फेरि फर्कियो । उसले ढुक्कले आँखा चिम्लिई ।
कसाइ र उनीहरूबिच लामो वार्तालाप पछि मनमायालाई आठ दश जना भएर गाडीमा लोड गरे ।
ट्रकले उफार्दै थचार्दै सेल्टरसम्म पुर्यायो । स्कुलबाट रुँदै घर पुगेकी सानी केटीले उसकी आमालाई मनमायाको उद्दारका लागि रुँदै अनुनय नगरेकी थिई भने मनमाया त्यति बेला मासुका टुक्रा टुक्रामा जोखिइरहेकी हुन्थी तर भाग्यवश ऊ गाडी चढेर सेल्टरतर्फ जाँदै थिई ।
७.
मनमाया नाम उसले सेल्टरमा पुगेकै दिन पाएकी थिई । सडकमा अलपत्र जनावरलाई रेखदेख गर्न खोलिएको सेल्टरमा काम गर्ने एक अधबैँसे महिलाको नाम थियो मनमाया । उसको कोभिडको कारण मृत्यु भएको धेरै समय भएको थिएन । मनमायालाई सुसारे दिदीले भुल्नै सकेकी थिइन । आफ्नै साथीको सम्झनामा सुसारे दिदीले दिएको नाम थियो मनमाया । अर्को अर्थमा भन्दा, मनमाया सुसारे दिदीको साथी भएकी थिई ।
सेल्टरमा पुगेको दिन चकमन्न अँध्यारो थियो । मनमायालाई गाडीबाट झारेर पराल बिछ्याएको भुइँमा राखिएको थियो । कति दु:ख पाएछौ नि भन्दै सुसारे दिदीले खुइय सुस्केरा हालेकी थिइन् त्यस दिन । अनि सानो डेक्चीमा एक डेक्ची तातो कुँडो दिएर मनमायाको चिउँडो बिस्तारै अँठ्याएर पिलाएकी थिइन् । मनमायालाई लागिहरेको थियो बाँच्ने रहरले सायद बचाउन त बचायो तर कतिन्जेल यसरी बाँचिएला ।
सेल्टरमा गएको भोलिपल्ट बिहानै डाक्टर आयो । उसले सबैभन्दा पहिला जिउभरि घाउ नपाक्ने दबाइ दलिदियो । सिङको घाउ हेर्दै भन्यो घनले हान्दा सिङको भित्रसम्म चोट छ । यो बाँकी ठुटा सिङ पनि झर्छ । यहाँको घाउ पाकेन भने केही हुँदैन घाउ पाक्यो भने गाह्रो हुन्छ ।
डाक्टरले मनमायाको थुनहरू छाम्यो । खुट्टाका पछाडीका साँप्राहरू र सुतमा छामेर भन्यो सुसारेलाई भन्यो, “दिदी यो भैँसी त ब्याउने पो रहेछ । धन्न तपाईंले उद्दार गर्नुभएछ ।”
“हो र??” सुसारे दिदीले एकैपटक खुसी र आँसु मिसिएको गरुङ्गो आवाज गरिन् । “मुर्दाहरू गर्भवती भैँसी काट्नुभन्दा त आफ्नै घाँटी काट्नु नि” सुसारे दिदीले मनमायालाई सुम्सुम्याउदै ग्वाम्म अङ्गालो हालिन् ।
८.
मनमाया पारिलो घाममा पल्टिरही । उसका आँखामा विगत सल्बलाएर आयो । मालिकले बेचेपछि मनमायाहरूलाई व्यापारीले चौरमा जम्मा गरेको थियो । एक घमाइलो दिन चौरमा कालेको आगमन भयो । हेर्दै हृष्टपुष्ट । हेर्दै रहर लाग्दा काला आँखा । स्वास फेर्दा नाकका प्वालबाट बहने हावाले हुन्डरी पैदा गर्ला जस्तो । नथ्थीमा घुसाइएको रातो नाइलनको डोरी नै चुडाल्छु झैँ तन्कीएर उसले हटेरोलाई झण्डै सिङले उडाएको थिएन । काले साँच्चै असाधारण तरिकाले आएको थियो त्यो दिन ।
जसरी काले असाधारण तरिकाले आएको थियो त्यसै गरी एक दिन असाधारण रूचिका साथ मनमायाको मुत्नेमा आफ्नो थुतुनो जोत्यो । मनमाया झसङ्ग भई । उसलाई शुरुमा त डर लाग्यो । ऊ बुरुक्क बटारिएर अर्कोतर्फ फर्किई । काले त्यतै फर्कियो । ऊ जीवनमा पहिलो पटक भालेको त्यस्तो स्पर्श महसुस गर्दै थिई । जब दोस्रो पटक कालेले त्यसै गर्यो मनमायाको काउकुतीले सीमा नाघ्यो ।
काले हरेक दिन लोभियो । नलोभियोस् पनि कसरी, अरू बुढाखाडाको अगाडी मनमाया दोस्रो बेते तरुनी थिई । चटक्क मिलेका सिङ । प्रकृतीले दिएका गाजलु आँखा । मुलायम छाला । बटुवाले कराइ बसाल्न बनाएको चम्का जस्तो मिलेको पछाड । झिँगा धपाउन बेला बेला मनमायाले पुच्छर हल्लाउँदा कालेका आँखा कता गाडिन्थे कुन्नी ऊ अधीर भएर थुतुनो उचाल्थ्यो ।
मनमाया पनि हरेक दिन कुत्कुतिन थालेकी थिई । एकदिन कालेले उसै गरी थुतुनो जोत्यो र ठाडो घाँटी लगायो । कालेले आफ्ना अगाडिका खुट्टा मनमायाको डडाल्नामा अड्यायो । ऊ थामिई । कालेले पछाडीका खुट्टा तनक्क तन्काएर धक्का लगाएको क्षण मनमायाले अनौठो सुखानुभूति गरी । अघिल्ला बेतहरूको कृतिमता र अहिलेको नैसर्गिक प्राकृतिक संसर्गको अन्तर उसको आल्हादित मनले तुलना नै गर्न सकेन । यसरी ऊ गर्भिणी भएको पनि नौ महिना हुन लागिसकेको थियो ।
९.
सेल्टरमा ऊ बिस्तारै निको हुँदै गई । त्यहाँ पुगेको करिब एक हप्ता त उठ्नै सकेकी थिइन । हरेक दिन डाक्टर आएर हेर्थ्यो । सुसारे दिदीले मनमायालाई एकै क्षण पनि छाडेकी थिइन । मनमाया उठेर स्याउला चपाएको दिन सुसारे दिदी कम्ता खुसी भइन ।
मनमायाको जीवनमा फेरि खुसीका दिन आउन थाले । बिहानको पारिलो घाममा आङ तन्काएर पल्टँदा भित्र पेटमा बच्चा सल्बलाउन थाल्यो । सेल्टरभित्र मनमायाको नयाँ जीवनको सुखमय यात्रा शुरु भएको थियो ।
समय आफ्नै गतिमा बित्दै थियो। एक दिन बिहान मनमायालाई फिटिक्कै उठ्नै मन लागेको थिएन । शरीर गह्रुङ्गो भएको थियो । बिहान सुसारे दिदी आएर डेक्ची भरी राखिदिएको कुँडो मनमायालाई खानै मन भएन ।
दिउँसो सुसारे दिदी आउँदा मनमायालाई व्यथा लागिसकेको थियो । सुतबाट पानी फोका निस्किएको थियो । सुसारे दिदीले खुसी हुँदै भनिन् पीर नगर मनमाया तिम्रो बच्चा आउँदै छ । अब तिम्रा दु:खका दिन गए ।
व्यथा लागेको करिब १ घण्टा बितिसकेको थियो तर मनमायाले बच्चा पाउन सकेकी थिइन । पानी फोको फुटिसकेको थियो । मनमाया ढसढस आवाज निकालेर कनिरहेकी थिई ।
यस अघिका बेतहरूमा उसले कति सजिलै बच्चा पाएकी थिई । यो पटक किन यस्तो भयो उसलाई पनि थाहा थिएन । उसलाई शरीरभरि असह्य पीडा भइरहेको थियो ।
शरीरमा ज्वरो बढ्यो । रौँ ठाडा भए । मनमायालाई गाह्रो भएको देखेर सुसारे दिदीले डाक्टर बोलाई । डाक्टर आएर एउटा औषधि दिए । मनमायाले अझै बच्चा पाउन नसकेपछि डाक्टरले हात हालेर बच्चा निकाल्ने सल्लाह गरे ।
“यत्रो व्यथा लाग्दा त बच्चाले पनि निस्किन बल लगाउँछ । आमाले पनि बल लगाएकी छ । बच्चा मरेको जस्तो छ ।” डाक्टरले यति भनिसक्दा नसक्दै पुरै वातावरण चकमन्न भए जस्तो भो । मनमायाका आँखाबाट तप्तपी आँसु खसे ।
मनमायाको शरीरमा कुनै शक्ति नै नभएको जस्तो भएको थियो । डाक्टरले सुसारे दिदीलाई मनमायाको खुट्टालाई डोरीले बाँध्न भने । सुसारेले डोरीले बाँधिरहँदा पनि मनमायालाई सुम्सुम्याए जस्तो अँगालो हालेजस्तो अनुभव भइरह्यो । सुसारेले खुट्टा बाँधेपछि डाक्टरले हातमा ग्लोभ लाएर बिस्तारै हात छिराए । मनमायाको बच्चालाई बिस्तारै बिस्तारै हालले तानेर बाहिर निकाले । साल र नालमा जेलिएको रगत पोतिएको बच्चा जब डाक्टरले फुत्त ताने मनमायाको शरीर हलुङ्गो भयो ।
“ल बच्चा जिउँदै रहेछ । हेर्नुस् त कान हल्लायो ।” डाक्टरको आवाजले मनमायालाई झस्कायो । उसले पुलुक्क आफ्नो अगाडि हेरी । काले जस्तै छोरी पाएकी थिई उसले । उस्तै टुल्के । उस्तै माया लाग्दो । अघिल्तिर बसेर कान हल्लाइरहेको बच्चालाई मनमायाले सकिनसकी चाटिरही ।
“केही समयपछि खान दिनू ” भनेर डाक्टर हिँडे । सुसारे दिदीले पाडीलाई सफा पारेर कपडामा सुताइन् । कानमा, निधारमा र काँपतिर तेल लगाएर कपडाले ढाकिदिँदै भनिन् “ए छोरी पो रैछ। यसको नाम मैचा ।”
मैचालाई हेर्दै मनमाया निदाउन खोजी तर सकिन । कल्चौँडो भरिएर रन्किन थाल्यो । अघि कन्दा बल परेर होला शरीर कटकट दुखिरहेको थियो । सिङको फेदको घाउ अझै निको भएको थिएन । त्यो दिन बेस्सरी दुखिरहेको थियो ।
उसले केही खान सकिन । मैचालाई सुसारे दिदीले मनमायाको थुन समातेर चुसाउन खोजी । मैचाले चुस्नै जानिन । त्यसपछि सुसारे दिदी सानो बाल्टी लिएर दुध दुहुन आई । मनमायाका थुनहरू सबैलाई तातो पानीले सफा गरी । तेल लगाएर बिस्तारै माडी । दुधको सिर्का निकाल्न थिच्दा मनमायालाई बेस्सरी दुख्यो । उसले खुट्टा चलाई । सुसारे दिदीले फेरि दुहुन खोजी दुई चार सिर्का तम्तमिलो पानी जस्तो, त्यसपछि रगत मिसिएको पिप आयो । सुसारे दिदीले आत्तिँदै बाल्टी भुँइमा राखेर डाक्टरलाई फोन गरी ।
केही घण्टाभित्र आएको डाक्टरले सबै जाँच गरेर भन्यो “थुनेलोले थुनहरू बिग्रिएको छ । दूध सुकाउने औषधि दिएर यसलाई आराम दिनुपर्छ । पोसिलो खाना र आरामले सुधार आउँछ । समयमा उपचार नपाएकोले अब दुध दिन भने ग्राह्रो छ ।”
सुसारे दिदीले भैँसीलाई हेरी । भैँसीले सुसारे दिदीलाई हेर्यो । रसिला आँखा, तातेको शरीर, खाटा बस्न बाँकी कञ्चट र सिङनिरको घाउ । असह्य पीडामा थियो भैँसी जुन उसले स्वास लिँदा आएको ढस डस आवाजले प्रमाणित गर्यो ।
कल्चौँडा भरी दुध छ । त्यसैले टन्टनाएको छ कल्चौँडो । भर्खर जन्मिएको मैचा भोकी छ । ऊ आफ्नी आमालाई टुलुटुलु हेरिरहेकी छ । मनमायाको मातृत्व आँखामा छचल्किएको छ र आँखामै सीमित छ । आफ्नो सन्तानलाई दुध दिएर बचाउन र नजिकै गएर मायाले चाट्न समेत सकेकी छैन ।
डाक्टर मनमायालाई केही औषधि खुवाएर गएपछि सुसारे दिदीले मनतातो कुँडोमा ग्लुकोज मिसाएर मनमायालाई खुवाउन लागी । सायद डाक्टरले दिएको औषधिको असरले होला उसको शरीर लाटो जस्तो भएको थियो । सुसारे दिदीले चिउँडो उघारेर कुँडो पिलाउन खोजी तर मनमायाले निल्न सकिन ।
सुसारे दिदीका आँखा रसिला भए । वरिपरिका पराल र पत्करहरूको ओछ्यान बनाइदिएर सुसारे दिदी मैचालाई बोतलबाट दुध चुसाउन लागि । मैचाले रहर लाग्दो गरी बोतलको दुध च्वापच्वाप पारेर खाई ।
अर्को दिन बिहान सुसारे दिदीले उसै गरी मनमायालाई कुँडो लिएर आई । एक प्याकेट ग्लुकोज मिसाएर खुवाउन खोजी । मनमायाले एक दुई घुट्का भन्दा बढी निल्न सकिन । मनमाया छटपटाइरही । शरीर आगो जस्तै तात्यो । सिङको घाउ पाकेर होला असाध्यै चिलाइरह्यो । उसलाई बेस्मारी सिङौरी खेल्न मन थियो तर टाउको उठाउनै सकेकी थिइन ।
सुसारे दिदी एकोहोरो भएकी छे । उसलाई मनमा मनमाया बाँच्दिन भन्ने परेको छ । त्यै पनि ऊ बचाउने प्रयासमा छे ।
“खा त थोरै भए पनि खा ।” सुसारे मनमायाको मुन्टो उठाएर चिउँडो च्यातेर कुँडो हालिदिँदै छ।
निल्ने प्रयास गर्दा मनमायालाई असह्य पीडा भएको छ । मनमायाका आँसु भरिएका आँखा सुसारेका आँखामा परिरहेका छन् घरी घरी ।अबोध प्रेमको लयमा दुबै झुमिरहेका छन् ।
भनन्न रिँगटा चल्यो मनमायालाई । रिँगटा भित्रै उसले काले देखी, मालिक देखी, व्यापारी देखी । कसाइ देखी, कसाइको हातमा खोपेको बुद्ध देखी । रड, खुँडा र घन पटक पटक देखी । जिउ थरर्र काँपिरह्यो । स्वासको गति बढ्यो । अन्तिम पटक आँखा खोल्दा मनमायाले सुसारेलाई मैचाकी आमा देखी । त्यसपछि उस्का आँखा बन्द भए । बन्द आँखामा केही बेर आँसु बग्यो अनि रोकियो । उसका आँखाले मर्ने बेलामा मान्छेको प्रेम देखी । मान्छेले दिएको पिडाले मर्दै गर्दा आफ्नो अबोध सन्तानको अनिश्चित जीवन देखी । जीवन भन्दा बढी मृत्यु देखी । मर्ने बेलामा एक भारी डर बोकेर मरी ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 





