‘यो त पत्ता लाग्यो । अरू पनि केही छ, पत्ता लगाउनुपर्छ ।’ यति भनेर कोठाको दरी पल्टाउनुहुन्छ । चकलाको खोल टकटक्याउनुहुन्छ अनि किताबका पानाहरू एकएक गरेर हेर्न थाल्नुभयो । त्यत्तिकैमा किताबको अन्तरमा गुजुल्टिएको केही चीज पाउनुहुन्छ ।
00000
सुत्दाखेरि अबेर भएको थियो । कोठाको चम्किलो बत्तीले सबै थोक खिचेर खङरङ तुल्याउन मात्र बाँकी थियो । झ्यालको पर्दा सारें । बाहिर लामो अन्धकारले परसम्म सर्दैसर्दै बिस्तारै निल्दै गई नै रह्यो। झ्यालमा ठिङ्ग उभिँदा टाढाटाढासम्म चकमन्न देखेर एक किसिमको डर र कताकता एकोहोरो आवाज सुनेजस्तो हुन थाल्यो ।
हेर्न सकिनँ झ्यालबाट, पानीको प्यास बढेको देखें, मुखै च्याप्प । झ्यालमा उभिएर हेरिरहूँ भन्ने भावना आउँछ, एक मनले खुट्टा हलुको हुन्छ । ओछ्यानमा आएर पल्टन्छु । ओछ्यान नै बिझाएर जीउ नमिलेको हुन्छ । यसो उता पल्ट्यो तैपनि केही नमिलेजस्तो । ठाडो भएर सुत्न खोजें, तर अकस्मात् मनै चिसो हुन थाल्यो । तर्कना खेल्न थाल्यो । डरले हेर्न सकिनँ । मुख छोपें । धेरै बेरसम्म मनमा कुरा खेली नै रह्यो । हेर्दाहेर्दै कोठामा मानिस घुम्न थाल्यो, फनफनी । फुत्त बाहिर गयो, एक झ्यालबाट अर्को झ्यालमा देखा पर्न थाल्यो । एकनाससित जाली प्वालबाट मुख छोपेर हेरिरह्यो । कहिले वारि, कहिले भित्र, कहिले चियाउने यसरी नै त्यो घुमिरह्यो । यसो नियालेर हेर्न खोजें, मान्छेको जस्तो आकार, तर अनुहार स्पष्टसित देखिँदै देखिँदैन । खालि सेतो लुगा (त्यो पनि ह्वार्लाङ परेको) मा दौडिरहन्छ, झ्यालमा गएर चियाएको जस्तो मात्र देखिन्छ । डर लाग्न थाल्यो, कहीँ चोरले छप्काउने त होइन ! चोर त अवश्य होइन । खालि दौडिरहन्छ कोठामा र झ्यालबाहिरबाट चियाउँछ मात्र । एकैछिनमा त्यसले झ्यालबाहिरको प्वालबाट सानो स्वरमा केही भन्यो । फेरि दौडिहाल्यो र अर्को झ्यालबाट चियाउन थाल्यो घ्वाम्ल्याङ मुख छोपेर । त्यो बिस्तारै पलङनिर आयो । डरले मैले हजुरलाई बोलाएँ, बोल्नुभएन । अतासले गर्दा ठूलो स्वरले बोलाएँ तैपनि हजुर उठ्नुभएन । मलाई कसैले आएर थिच्यो । त्यसले हेरिरह्यो । मेरो मुखबाट आवाजै निस्कन सकेन । मैले बल गरेँ । हजुरलाई भेट्टाउन सकिनँ । हजुर भित्तामा जोडिएर सुत्नुभएको रहेछ । पछि यसो हेरें, मेरा धक्काले हो कि हजुर झस्केर बिउँझनुभयो र पलङमा च्यापिएर एकनाससित बोल्दै नबोली मलाई हेरी मात्र रहनुभएको थियो ।
मैले भनें, ‘मलाई के भो के भो, अँठ्याइरहेको छ ।’
हजुरले सुन्नुभएन । हजुरको सबै अनुहार बिस्तारै पग्ली खालि दुइटा आँखा मात्र बाँकी रहे ।
मैले फेरि भनें, ‘मलाई ओछ्यानले सुत्न दिएन । के हो आएर थिचिरहेछ ।’
हजुर बेसरी रिसाउनुभयो । तकियामुनि हात हालेर हजुरले किताब झिक्नुभयो । किताब पल्टाएर कतै पनि नहेरेर पढिरहनुभयो । हजुरको अनुहार कतै म डराएर आत्तिउँला भनेर एकनास किताबमा आँखा गाडेको जस्तो देखिन्थ्यो । पछि त हजुरको आँखासमेत त्यही किताबमा गएर खस्यो । म दौडेर ढोकामा गएर कराएँ, ‘आमा !’
‘के भो हैं ?’ आत्तिंदै आमा र बुबा भित्र पस्नुभयो। तर ढोका बन्दको बन्द नै थियो ।
‘के भो के भो मलाई । मलाई हेरिरहेको छ,’ मैले भनें र बत्ती बालें । कोठा उज्यालो भयो, तर मैले हेर्न सकिनँ । आँखा बेसरी थिचें ।
‘के हो, खै, यहाँ के छ ?’ बुबाले सोध्नुभयो ।
‘बाहिर झ्यालबाट केले हो चियाएर हेरिरहेछ र यहाँ गुजुङगुजुङ तारहरू जस्तो पनि छ, सर्प जस्तो पनि केके छरिएर बसेको छ ।’ हतासिँदै बुबालाई मैले भनें ।
‘छि: के डराएको । केही पनि छैन,’ मसिनो स्वरमा हजुरले भन्नुभयो ।
बुबा कोठातिर र आमा झ्यालको अन्तरकुन्तरतिर केही पाइन्छ कि भनेर खोज्न थाल्नुभयो । आमाले अकस्मात् झ्यालको माथिको डन्डीनिरको झ्यालको तारमा आधा अनुहार भएको एक किसिमको बाघको जस्तो र एक किसिमको बिरालो जस्तो चीज देख्नुभयो । पूरा अनुहारचाहिँ थिएन । खालि तारमा टाँसिएको मात्र थुतुनो । त्यो पनि पूरा होइन आधा मात्र देखेर आमा कराउनुभयो, ‘ए, यही यस्तो चीज रहेछ र पो यिनलाई…’
‘कम बाठो रहेछ यो । देखेर पनि नहेरेको । नहेरेको नै बेस । यसैले पो किताब हेरेर बसिरहेको रहेछ ।’ आमाले त्यस बेला हजुरलाई भन्नुभयो ।
बुबाचाहिँ खाटमुनि टाउको छिराएर हेरिरहनुभएको थियो । त्यस बेला मलाई झन् डर लागिरहेको थियो । खाटमुनि जहिले पनि कोपरा राखेर सुत्थें। कोपरा राखेको बुबाले थाहा पाउनुहुन्छ भनेर म आत्तिन थालें । हिजो त देखिहाल्नुभो । खाटमुनिको कोपरा यसो हुत्त्याएर फेरि के हो खोज्न थाल्नुभयो, पूरा ढाड खाटमुनि छिराएर । पिसाबचाहिँ आधा छचल्किएर पर पुग्यो । बुबाको मुख रिसाएजस्तो देखिन्थ्यो । मचाहिँ डरले काँपिरहेको हुन्छु । बाहिर गएर फाल्न पनि सक्तिनँ डरले, उता बुबाले गाली गर्नुहुन्छ भनेर कोपरालाई हेरिरहन्छु । बुबा यसो अर्को कुनातिर पस्दा दौडेर कोपरा लिएर बाहिर जान्छु । बाथरुमको प्वालमा टम्म पानी जस्तो केके चलिरहेको देख्छु । यसै ढोकानिर फालिदिन्छु ।
ठिङ्ग दुइटी केटीहरू उभिइरहेका हुन्छन् । लामालामा स्तन तल गोडासम्म आइरहेका थिए तिनीहरूका । ती केटीहरू मैले फालेको पिसाब उठाएर भन्छन्, ‘तिमी सधैं कोपरामा पिसाब गर्छौ ?’
एउटी भन्छे, ‘कस्तो टाँसिने मुत रहेछ ।’ तिनीहरूका कुरा सुन्दै नसुनी कोठाभित्र पसरेर ढोका ड्याम्म लगाउँछु । बुबा खाटमुनि नै खोजिरहनुभएको थियो ।
अकस्मात् आमा भन्नुहुन्छ, ‘एक चीज त पाइयो । अर्को चीज पनि छ । खोज्नुपर्छ । अवश्य त्यहाँ हुनुपर्छ ।’
‘के चीज पाइयो हँ ?’ बुबा सोध्नुहुन्छ ।
‘झ्यालतिर हेर्नोस् त,’ आमाले बुबालाई देखाउनुहुन्छ ।
त्यही आधा बिरालो र आधा बाघ टाँसिएको अनुहार देख्नुहुन्छ र भन्नुहुन्छ, ‘नमारी हुन्न ।’
त्यो नै मान्छेको जस्तो आवाज निकालेर हाँस्छ ।
‘यो त पत्ता लाग्यो । अरू पनि केही छ, पत्ता लगाउनुपर्छ ।’ यति भनेर कोठाको दरी पल्टाउनुहुन्छ । चकलाको खोल टकटक्याउनुहुन्छ अनि किताबका पानाहरू एकएक गरेर हेर्न थाल्नुभयो । त्यत्तिकैमा किताबको अन्तरमा गुजुल्टिएको केही चीज पाउनुहुन्छ ।
‘यसैले पो तर्साएको रहेछ यिनलाई । यी दुवै यस्ता रहेछन् र पो कोठामा,’ बुबा भन्दै जानुहुन्छ, ‘यसलाई बेसरी मार्नुपर्छ ।’
लट्ठीले त्यस गुजुल्टोलाई हान्नुहुन्छ । बिस्तारै त्यो गुजुल्टो फैलिँदै जान्छ र लामो सर्प जस्तो भएर खालि दूधको मन्टोको आकार भएर हेरिरहन्छ ।
‘त्यसलाई त त्यसरी हान्नुहुन्छ त्यो माथि झ्यालकोलाई के गर्नुहुन्छ नि ?’ आमा सोध्नुहुन्छ ।
‘त्यसलाई बेसरी हानेर त्यसको खप्पर फोडिदिए भइहाल्छ नि ! अनि मरिहाल्छ ।’ बुबा लामो सास फेरेर भन्नुहुन्छ ।
हामी दुवै जना डराइराखेका थियौं । हजुर त खालि हेरेको हेर्यै मात्र गरिरहनुहुन्थ्यो । म त रुन थाल्छु । यसो हजुरलाई छुन्छु, खालि ट्वाल्ल परेका आँखा । म पनि घट्दैघट्दै सानो भएर हजुरभित्र पनि अटाउन सक्तिनँ । म बल गर्छु, तर खालि बाहिर मात्र । बुबा बेसरी झ्यालमाथिको चीजलाई हान्नुहुन्छ । हान्दा त त्यसबाट मान्छे फुत्त निस्केर झ्यालबाहिर गएर हाँस्न थाल्छ । लट्ठीको सानो टुक्रो म समाउँछु र हजुरलाई दिन्छु । त्यो टाँसिएको चीज जति हाने पनि जस्ताको तस्तै भएर बसिरहन्छ । हजुरको निधार पसिनैपसिनाले भिज्छ । म डरले बेसरी हजुरलाई अँगालो हालेर समाउँछु तर मेरो अँगालोबाट हजुर चिप्लिनुहुन्छ । एकै बाजी म झस्केर उठ्छु । कोठामा कोही हुँदैन । हजुर मस्तसँग सुतिरहनुभएको थियो । यसो हजुरलाई हेरें, खालि श्वास मात्र बाहिर निस्किरहेको । पिसाब फेर्न मन लागेर आयो । बत्ती बालें । भर्खर १२ बजेको रहेछ । हजुरलाई उठाउन सकिनँ । बत्तीको उज्यालोमा हजुर बिउँझनुहुन्छ र सोध्नुहुन्छ, ‘कति बज्यो हैं ?’
‘बार, हजुर पिसाब गर्ने होइन ?’
हजुर पनि उठेर सुत्नुहुन्छ । त्यस बेला म केही भन्न सक्तिनँ । बत्ती निभाएर हजुरलाई च्यापेर सुत्छु, तर निद्रा लाग्दैन, मनमनै केके सोच्छु, केके ।
बिहान ७ बजिसकेको हुन्छ । घाम कोठाभित्र पसेर झलमल्ल हुन्छ ।
‘चिया तयार भयो। उठ्ने बेला भएन ?’ नीना सोध्छे ।
‘हुन्छ,’ आङ तान्दै रमेश उठ्छ । चिया लिएर उभिएकी नीनालाई रमेश एकनाससित हेर्छ ।
‘के हेरेको ?’ नीना हाँस्दै सोध्छे ।
‘किन, तिमीलाई सन्चो भएन ?’
नीना हाँसी मात्र रहन्छे।
‘के भो भन न ।’
‘रातभर सुत्न सकिनँ । डर लागिरहेछ ।’ नीना भन्छे ।
‘धत् केको डर । म हुन्ज्यालसम्म पनि डराउने ?’ नीनालाई अँगालोमा राखेर रमेशले भन्यो, ‘हिजो बेलुका खुब मजा भयो हगि ? अहिले त जीउ नै आलस्य भइरहेछ ।’
नीना सबै कुरा सुनाउँछे । रमेश सुनिरहन्छ र बेसरी नीनालाई अँठ्याएर भन्छ, ‘यो सबै भ्रम हो नीना ।’
(‘प्रज्ञा नेपाली आधुनिक कथा भाग–१’ बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










