प्रविधिको विकासलाई भरपूर सदुपयोग गर्दै गर्दा तिम्रा दिव्य अक्षरहरूसँग नजिकिएकी हुँ । थाहा छैन म कहिलेदेखि फेसबूकमा एड भएँ तिमीसँग, तिम्रो पहिलो रचना कुन थियो मैले पढेको—आदि इत्यादि । र अझै थाहै छैन व्यक्तिगत परिचय; थाहा हुन जरूरी पनि त लागेन कहिल्यै ।
)000000
रातको दश बजेर छयालिस मिनेट भइसकेको छ । चितवनको उखरमौलो गर्मीमा पानी परेपछि छतमा बसेर बर्सातसँग प्रेमालाप गरिरहेको छु । केही क्षण पहिलेसम्म भएको गर्मीको उकुसमुकुस आइस पग्लेर विलीन भएजस्तै लुप्त भइसकेको छ । छतमा पछारिएर बग्ने पानीको धाराको लय कत्ति पनि विचलित देख्दिनँ, वर्षा नरोकिएसम्म यसरी नै दृढ बग्ने संकल्प बोके जस्तो लाग्छ ।
प्रेमिल यिनै दृश्यहरूको कल्पना गर्दै अद्भुत रसले आह्लादित म, जीवनका लय कहाँ–कहाँ छुटे, कहाँ–कहाँ भेटिए सम्झिन खोज्छु । यस्तो अवस्थामा अव्यक्त प्रेमहरू सलबलाउँछन् जेहनमा । जसको अन्त्य छैन शुरूआत पनि हुँदैन शायद, त्यसैले सादृश्य पानीका बुँदहरूसँग प्रेमको राग अलाप्दै म पनि प्रण गर्दछु—जीवन रहेसम्म प्रेमको लय नछुटोस् । र त लाग्छ विभिन्न हिस्सामा विभाजित प्रेम लेखूँ, सुनाऊँ, सुनिदिओस् कोही ! हुन त प्रेमलाई पूर्ण न्याय हुने वजनदार शब्द नै भेटाउँदिनँ किनकि प्रेमलाई सम्बोधन गर्ने शब्द ‘प्रेम’ नै अपुग छ जस्तो लाग्छ । र म आफू पनि प्रेममा डुबुल्की मार्न कहिले पो सकेको छु र जति विचारमा डुबेको हुन्छु ।
प्रेमको प्रसङ्गमा विद्वान तथा साहित्यजीवीहरूले तर्क पेश गर्ने तरिका वा व्याख्या आ–आफ्नै होलान्, तर्कले प्रेम अघाउँदैन । यसको अनुभूति, गहिराइ, वेग जस्ता कुराहरूले गर्ने करामत के कसैले शब्दमा उतार्न सकेको छ र ? छ भने त्यस व्यक्तिले अहिलेसम्म प्रेम गरेकै छैन । प्रेमजस्तो अनुभूति शब्दमा अट्ने कुरै होइन ।
महान लेखिका ‘अमृता प्रीतम’ले आजीवन प्रेम लेखिन्, बोलिन्, गरिन् पनि । के हामीले उनका शब्दमा प्रेमको गहिराइ अनुभूत गर्न सक्यौँ त ! शायद उनी स्वयंले जे अनुभव गरिन् त्यो लेख्न सकिनन् । जो लेखिन् त्यो पनि अनुभव गर्न पाइनन् । उनकै अनुसार भन्ने हो भने उनको प्रेम नै त्रिकोणात्मक थियो । आफूले गरेको प्रेम र पाएको प्रेमको समानुभूति भइदिएन भने अधूरो हुन्छ प्रेम ।
तर्कशास्त्रीहरू भन्छन्—
‘प्रेम एकतर्फी पनि हुन्छ, यसमा अपेक्षा राख्नुहुँदैन, निस्वार्थ भावले गरिने प्रेम पो प्रेम हो ।’
तर म भन्छु—बिना स्वार्थ र बिना अपेक्षा प्रेम हुनुहुँदैन । भले भौतिक नहोला, आत्मिक केही त हुनु पर्यो नि । त्यसै कहाँ प्रेम झाङ्गिन सजिलो हुन्छ र ! मान्छे होइनौं र हामी ।
धर्मशास्त्रका अनुसार—
‘भक्ति योग’ भनेर प्रेमले समर्पित भावलाई सम्बोधन गरिएको छ ।
मानव भएर भोग्न आएको पो हो त ।
हाम्रा शास्त्रहरूका भगवान, देवी–देवताहरूले त प्रेमको माला जपेका किस्सा पढ्न पाइन्छ । हामी त मानव ! त्यस्तो निस्वार्थ प्रेम गर्न सक्ने भए त फरक प्राणी भइहाल्यो नि । बिना अनुभूति लेखिन्छ र साहित्य ! जब प्रेम आधा–अधुरा हुन्छ तब लेखिन्छ उत्कृष्ट कथा, गीत–गजल, कविता ! पूर्णप्रेम तृप्त हुन्छ; तृप्त व्यक्ति मौन हुन्छ । सम्भवतः मौन लेख्न सकिँदैन । आकार र निराकार शक्तिप्रति आस्था जगाई भक्ति–भावले गरिने प्रेममा ईश्वरीय एहसास समावेश हुन्छ—भ्रम नै सही । त्यो अलग बात हो ।
उक्त विचार प्रेमकै कारण उत्पन्न भएको हो । बेलाबखत म पनि त्यस्तै आधा–अधुरा प्रेममा परिहाल्छु र शब्दाकारमा समेट्न खोज्छु । अरू त के गर्न सक्नु र! मलाई यसैमा अद्भुत आनन्द मिल्छ किनकि मेरो प्रकृतिले मलाई यस्तै कार्य गराइरहन्छ ।
कसैको विचार मन पर्छ, कसैको कलाले तान्छ, कोही स्वभावले प्रेमिल हुन्छन् । कसैको फेरि दया–माया, सेवाभावले छुन्छ । आजभोलि त झन् बौद्धिकताले भुतुक्कै पार्न थालेको छ । सकारात्मक ऊर्जा बोक्नेहरूले झन् डुबानमै पार्न थालेका छन् । मन पर्छ । सजिलो के छ भने—बौद्धिकता र सकारात्मक ऊर्जाको लिङ्ग हुँदैन । त्यसर्थ खुलेआम प्रेमको अभिव्यक्ति गर्छु पनि । सामाजिक संरचनामा बसेर केही नीति–नियमको पालना गर्नुपर्यो । ब्रह्माण्डीय ऊर्जाको शक्ति सबैले सजिलै बुझ्न सक्छन् भन्नु पनि छैन । भौतिक प्रेमको भौतिक अपेक्षा भन्दा बौद्धिक प्रेमको ज्ञानको भोक–प्यासमय प्रेमले अद्भुत आनन्द दिन थालेको छ—जसमा व्यक्तिको शारीरिक श्रम खर्च हुँदैन । यस्तो प्रेमबाट सामाजिक प्रतिष्ठा रुचाउनेहरूलाई आँच आउने डर पनि हुँदैन । सजिलो छ, आध्यात्मिक चेतको यात्रा प्रेममार्फत गर्न पनि पाइने! ज्ञान र ध्यानबाट ओतप्रोत भएर एक–अर्कालाई ऊर्जा प्रदान गर्न पाए पुग्यो । न डेटिङको झन्झट, न त महँगा रेस्टुरेन्टहरूलाई फलिफाप ।
गजब त अझै के छ भने—न छुट्नुपर्यो भन्ने रुवाबासी, न भेट्न पाइएन भन्ने गुनासो, न त शंका–उपशंकामा केरकार गर्नुपर्ने । हुन त यस्तै पारामा सबै हिँड्ने हो भने एक दिन महान लेखिका ‘महादेवी वर्मा’लाई जस्तै वैराग्य उत्पन्न नहोला भन्न सकिन्न ।
मानव स्वभाव हेर्ने हो भने आ–आफ्नै रुचिमुताबिकका सामग्रीहरू एकट्ठा हुँदै जान्छन् । तिमी सँगको यात्रा पनि त बौद्धिक संयोजन पछिको प्रेम हो ! तिमी मान या नमान, हामी ठोकिएको विचारकै गेटमै हो । यति लेख्ने हिम्मत पनि तिमीले गेट पास दिएपछि मात्र आएको हो । मेरो प्रेम तिमीसँग हो या विचारसँग, विचार तिम्रो हो या दिव्यांशु—हौ तिमी !
आखिर जे हो उही ईश्वरको एकांश हौँ हामी सबै । वैचारिक प्रेम हो हाम्रो । आहा—तिमीद्वारा रचित कविताका हरफ, कथा–कहानीमा झल्किने दिव्यता ! शब्द–चयन त्यत्तिकै ठीक थियो ।
किन मन पर्छ हामीलाई उस्तै–उस्तै राइटर, उस्तै–उस्तै सिनेमा, उस्तै–उस्तै पुस्तकहरू, किन घुम्छन् घटनाहरू, उस्तै–उस्तै गीत, गजल, कविता, कथा, व्यक्ति, कला, ठाउँ, विषय, परिवेश… सबै… सबै ! वैराग्य उत्पन्न हुनु अगावै यति जिज्ञासा मेटाउनै पर्यो । त्यसै उसपार पुग्न कहाँ सकिन्छ र ! सजिलो छैन—हिँडिरहेको यात्रा छोडेर नयाँ बाटो खोज्न ।
प्रविधिको विकासलाई भरपूर सदुपयोग गर्दै गर्दा तिम्रा दिव्य अक्षरहरूसँग नजिकिएकी हुँ । थाहा छैन म कहिलेदेखि फेसबुकमा एड भएँ तिमीसँग, तिम्रो पहिलो रचना कुन थियो मैले पढेको—आदि इत्यादि । र अझै थाहै छैन व्यक्तिगत परिचय; थाहा हुन जरूरी पनि त लागेन कहिल्यै । किनकि म प्रेम गर्छु तिमीभित्रको शक्तिलाई, जसले उस्तै–उस्तैको तालमेल मिलाइरहेछ, शब्दजाल बुन्ने शैलीले पछ्याइरहेछ । अक्सर विचारले चिटिक्क पोतिएकाहरू व्यवहारले छरपष्ट पनि भेटिन्छन्, मलाई मन पर्दैन बौद्धिक मान्छे छिरलिएको ।
जोडिएन त प्रेममा स्वार्थ ! जुन दिन म निस्वार्थ प्रेम गर्न सक्ने छु, त्यही दिन मेरो कलम बन्द हुनेछ, प्रिय दिव्यांशु !
मलाई थाहा छैन तिम्रो नाम; तिमी ईश्वरीय अंश हौ, भनिदिएँ—दिव्य–अंश, अर्थात् प्रेमले दिव्यांशु ।
एकदिन बिना सम्बोधन, बिना अभिवादन पढ्नै पर्ने पुस्तक र हेर्नै पर्ने मूभिको नाम सोधेँ । तिमीले पनि उस्तै शैलीमा जवाफ दियौ—
– आ–आफ्नै च्वाइसमा भर पर्छ ।
– प्रायः दर्शन, अध्यात्म, बायोग्राफीहरू मन पर्छ ।
त्यसै त हजुरको भाइब्सबाट थाहा पाएँ ।
पहाड जत्रो भूमिका किन बाँध्नु पर्यो र प्रिय आत्मनहरूसँग गफिन अथवा आवश्यक संवाद गर्न । अनि हामीले बुककै चर्चा गर्यौं—सन्तहरूकै बायोग्राफीहरू तथा पश्चिमी साहित्य । तिमीले नाम लिएका सबैजसो बुकहरू पढिसकेको रहेछु । मैले फेरि अमृता प्रीतमको नाम लिएँ—मेरी प्रिय लेखक हुन् उनी; जुनसुकै सन्तका बुक किन नपढौँ हामी, उनको जस्तो दर्शन, साहित्य, समाज र प्रेम कहाँ छ जस्तो लाग्दैन । उसो त ठूला–ठूला दर्शनका ठेली पढेर पो के गर्नु, मानवजीवन भोग्न आएको हो हामी; एक झिल्को चेतना जागृत भयो भने दैनिकी सहज र सरल बनाउन सकिन्छ । जुन कुरा अमृताको लेखनीमा ऐनाजस्तै छर्लङ्ग देखिन्छ ।
मैले यति भनिसकेपछि हाम्रो संवाद शुरू भएको थियो—
“राम्रो संगत गर्नुभएको रहेछ ।”
“हजुरसँगको परिचय पनि हजुरकै लेखनीबाट भएको हो । म पनि शब्द–प्रेमी हुँ; मलाई असाध्यै मोह छ साहित्य–अध्यात्म जगतसँग ।”
“यो प्रेम बुझ्ने व्यक्ति कम भेटिन्छन् । आहा, कस्तो मीठो परिचय मेरो ! लेखनमा हृदय बोल्छ, त्यही अनुभूति गर्ने कोशिश गर्छु ।”
“हो, लेखन मीठो भयो भने हृदय हाँस्छ, आत्मा मुस्काउँछ ।”
“सचेत मान्छेले बोल्ने संवाद यही हो तर हजुरको वाणीमा दिव्यता छल्किन्छ । लेखन पनि कोमल कपासजस्तो, बोधगम्य; अलिकति जागृत भएका मान्छे यस्तै हुनुपर्छ ।”
“जागृत त के हुनु र—जाग्नु पर्छ; चेत मात्रै हो कि ।”
“यो हुनु मात्र पनि ठूलो कुरा हो नि आजको समयमा । यस्तो डिजिटल युगमा प्रतिस्पर्धा र भौतिक सुखमा मोहित भइरहेका छन् मान्छे ।”
“हो नि, कस्तो मनकै कुरा गर्नु भो ।”
“यो समयमा कला, साहित्य, अध्यात्मलाई अनुसरण गर्ने सोल कमै छन् । कहिलेकाहीँ छटपटी हुन्छ—यी सब विषयमा कोसँग बसेर सुन्ने–सुनाउने, छलफल गर्ने । कस्तो कम मान्छेले छान्ने—रुचिसँग प्रेम भएछ भन्ने पनि लाग्छ ।”
“आनन्द यतै लाग्छ—बानी परेर पनि होला । मीठो बेचैनी हुन्छ । आ–आफ्नै प्रयोजन होला नि—यत्तिकै त किन यस्तो हुन्थ्यो र ।”
“हो, सबै मान्छेको खोज आनन्द नै हो, जसले जेमा भेट्छ त्यसैमा बस्छ । ईश्वरीय प्रेमको दिव्य ऊर्जा—रूमी याद दिलाउँछ तपाईँका कविताले । कति शुद्ध के !”
“खै, कहिलेकाहीँ रङ्ग लाग्छ । तारिफकै लागि तारिफ गर्ने व्यक्ति तपाईं होइन तर यति शब्दमा पुलकित भएँ म ।”
“खै ! म अथाह जिज्ञासा र जवाफ पनि छ । त्यो वर्णनीय रङ्गमा घोलिरहनु होला ।
“यो प्रेम र सद्भाव बचाइराख्न पाऊँ ।”
“तेल थपिरहे दियो बलिरहन्छ । अलिकति हावाको बहावलाई सही दिशामा बहाउन सक्नुपर्छ ।”
“आहा—शब्द विस्फोट !”
“विस्फोटले विकास पनि गर्न सक्छ, विनाश मात्र होइन नि है ?”
“त्यसैले त प्रिय लाग्यो !”
“तपाईंले ‘प्रिय’ शब्द लेख्दा कस्तो फिलिङ सहितको प्रिय लागेको—आत्मिक प्रिय ।”
“भाव र शब्दको संयोजन भयो लौ यहाँ पनि! कहिलेकाहीँ यत्तिकै वजन बोक्छन् शब्दहरूले; र भावमा भक्ति हुन्छ, भक्तिमा प्रेम, प्रेममा मोक्ष..! त्यो महसूस गर्नु भएकोमा धन्यवाद !!”
“शब्दलाई प्रेमको सुमार्गमा हिँडाउन सक्ने आत्मालाई मोक्षको दृष्टि गराउन सक्ने तपाईँको यो क्षमतालाई साधुवाद ! कसमिक कनेक्सन भएजस्तो छ है । कसमिक त हरेक कुरा मिठा हुन्छन् ।”
“निःशब्द !”
“शब्दमै जाओस्—मीठो पञ्चामृतमा ढुङ्गा लागेको जस्तो हुन्छ मौनता !”
“दिव्य रसानुभूत गर्न सक्ने दिव्यात्मालाई पञ्चामृतको पो के स्वाद छ र, सखा ! यसै पनि निःशब्दमा त समर्पण हुन्छ नि होइन र ?”
…………………..
भौतिक र आध्यात्मिक मध्य–बिन्दुमा अल्झिएको ठाउँबाट मेरो प्रिय मान्छेलाई विचारमा यसरी समेटिरहँदा वेब पुग्यो कि पुगेन होला उसम्म ! पुगेको भए के खबर लग्यो होला तरङ्गले, नपुगेको भए म अझै कोशिश गर्नेछु र ठोकिएर फर्किने ध्वनिलाई पुनः समावेश गर्नेछु मेरो मन–मस्तिष्कमा ।
संवाद यतै कतै हराउँछ । सम्झिनुपर्ने सबै सम्झिसकेपछि बाँकी के नै रहन्छ र ?
लगातार बारिसको चिसो सिरेटोले सुम्सुम्याउँदा म झसङ्ग हुन्छु । फेरि कुनै कुराको चासो रहन्न; प्रसङ्गवश जोडिने हो कम्युनिकेशन—जसमा आफन्तपन छ, आनन्द छ । बोल्नै पर्छ, बोलाउनै पर्छ भन्ने पटक्कै लाग्दैन त !
दर्शन भन्छ—अधिक कलेक्शन पनि अपरिग्रह अन्तर्गत पर्छ, चाहे त्यो विचारकै किन नहोस् । म छु त त्यस्तै—के गरूँ प्रेम बिना निरस छ जीवन !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










