झ्यालको फ्रेमभित्र समावेश भएको विराट आकाशमा बादलका छरपष्ट ससाना टुक्राहरू सुस्त सुस्त बग्दै गरेको देख्न सकिन्छ । आक्कलझुक्कल चराहरूको बिन्दु जस्तो कालो आकार फ्रेमको एउटा कुनाबाट फुत्त प्रकट हुन्छन् त केही बेरमा गायब । नाटकको अन्त्यपछि रङ्गमञ्चमा पर्दा झरेझैँ म मेरा आँखा बन्द गर्छु । ठीक त्यही समय एउटा हरियो फट्याङ्ग्रो झ्यालको डीलमा आएर बस्छ मानौं ऊ मेरा आँखाले कत्ति बेला यो गर्ला भन्ने प्रतीक्षामा थियो । बादलका मूल गुच्छाहरू झ्यालको फ्रेमबाट निस्किसके पनि ती बादल हिँडेका मधुरा पाइलाहरू अस्पष्टै सही ठम्याउन सकिन्छ । के मभित्र अझै रियाले छरिदिएका प्रेमका पाइलाहरू ती बादलका अस्पष्ट निसान झैँ बाँकी छन् ? त्यही दिन त्यही घटना बारबार कुनै रोटेपिङ झैं मस्तिष्कमा तेज गतिमा घुमिरहेको छ ।

हाम्रो छुट्‍टै संसार हो यो बुझ्यौ जिके ?” रियाको बोली कानसम्म पुगे पनि म प्रतिक्रिया भने दिन्न । मन विराट आकाशको नीलो रङमा पौडिरहेको छ भने तन यता रियाको काखलाई सिरानी बनाएर आनन्द पल्टिरहेको छ । रियाको स्यानो चुच्चे नाक स्याप्प सुकेका गाला अनि ठूलाठूला आँखाले सजिएको मुहार मेरो यो दृश्यमा छेक्न आइपुग्छ । (शृङ्गारको नाममा रिया सिर्फ गाजल लगाउँछे अनि एउटा मसिनो कालो टीका)

आकाश हेर्न आको यहाँ ?

अरे फटाहा केटी । आकाश त आकाश हो सधैँ छँदै छ । तर यो आकाश त्यो पनि यत्ति बेजोडले खुलेको त्यसमाथि तिमी अनि यो आकाश तिम्रो न्यानो काख मेरो भाग्यमा बिरलै पाउँछु क्या मैले । बस अब पाँच मिनेट यतिकै बस्न देऊ न । प्लिज ।”

मान्छेको तिघ्रा निदाइसक्यो । उठ तिमी पहिला । गुलिया कुरा गर्न त कस्ले जानेको होला र तिम्रो जति ।”(छिटो बोल्छे ऊ अनि तिखो छ उस्को आवाज)

म जुरुक्क उठ्छु । रिया मेरो काँधमा टाउको टेकाउँछे । पर क्षितिजमा घाम अस्ताउने तयारी गर्दै छ । गुलाल रङ क्षितिजबाट आकाशतिर फैलिँदै गरेको दृश्य मनमोहक देखिन्छ । तल फेदमा भक्तपुरका गुजुमुजुक्क घरहरू बिस्कुन सुकाए झैँ फिँजिएका छन् । बीचमा सिउँदो छुट्याए जस्तो रोड, कमिलाको ताँती झैं एकोहोरो मोटर गाडीहरू गुडिरहेका छन् । साँझको सन्देश बोकेर आएको बतासले हल्लाइरहेको रियाको कपाल मेरो अनुहारमा स्पर्श गर्दै छ जस्ले एउटा भिन्नै प्रेमिल काउकुती मेरो शरीरको हरेक अङ्गमा बाँडिरहेको छ । कस्तो मीठो वासना उस्को कपालको । कस्तो मीठो यो अनुभव । कुनै पनि पुरुषले कल्पना गरेको सुखको शिखरको बिम्ब हो यो क्षण ।

जिके एउटा कुरा सोधूँ ?

सोध न ।”

तिम्लाई निसास्सिएको जस्तो फिल हुँदैन, हामी स्वतन्त्र छौँ जस्तो लाग्छ ?

यसमा लाग्नु पर्ने के छ र हामी सबै स्वतन्त्र छैनौं र ?

कसरी स्वतन्त्र छौ तिमी ? जो मान्छे प्रेमको गुलाम भइसक्यो स्वतन्त्र छु अरे ! थाहा छ तिमी हामी सब जना स्लेभ हौँ ।”

कसरी ? कस्को स्लेभ ?

सब चीजको । यो हाम्रो प्रेमको, हाम्रो स्वयम् घर परिवारको,अनगिन्ती समान बेच्ने बजारको, समाजको, नियम कानूनको ।”

यसरी सोच्यो भने त सब चीज हाम्रो मास्टर अनि हामी स्लेभ स्वाभाविक रूपमा हुने भइहाल्यौँ नि ।”

एउटा अनौठो कुरा सुनाऊँ ।”

सुनाऊ न ।”

“‘जोम्बी एन्ट फंगस’को बारेमा केही थाहा छ ?

रिया मेरो काँधबाट टाउको उठाउँछे अनि म मेरो टाउको उस्को काँधमा बिसाउँछु ।(कुनै विषयमा गफिंदै गर्दा हामी आलो पालो गरिरहन्छौँ एकअर्को काँध दिएर !)

नाइँ, सुनेको छैन ।” 

थाहा छ तिम्लाई यो फंगस हावाको माध्यमबाट कमिलाको शरीरभित्र पसेर उस्को मस्तिष्कसम्म पुग्छ अनि त्यस कमिलाको दिमाग हाइज्याक गरेर त्यसको भिहेवियर म्यानिपुलेट गर्न थाल्छ ।”

म जिस्किँदै उस्को हात मेरो छातीमा च्यापेर भन्छु हेर न तिम्रो प्रेम पनि मेरो मुटु हाइज्यक गर्न खोज्दै छ ।”

रिया मेरो तिघ्रामा मुड्की हान्दै भन्छे ।(उस्लाई गहिरो विषयमा कुराकानी भइरहँदा जिस्किन पटक्कै मन पर्दैन ।)

अनि थाहा छ  त्यस कमिलोलाई एउटा अग्लो ठाउँमा लगेर एउटा डाँठमा भएभरको बल लगाएर टोक्न लगाउँछ । के हुन्छ थाहा छ त्यस पछि ?

के ?

त्यो फंगस, कमिलाको टाउको बाट पलाएर छिप्पिन्छ अनि आफ्नो बीउ छरेर फेरि त्यही साइकल रिपिट शुरू हुन्छ । हामी पनि त्यो कमिलो जस्तै कसैको माध्यम हौँ । उनीहरूको बीउ  छर्ने, खुड्किला उक्लिने सहारा । हामी एउटा बच्चाको खैलौना गाडी भइसक्यौँ । जस्को रिमोट अरूको हातमा छ ।  तिम्लाई लाग्दैन हामी पनि यो कमिलो जस्तै हरेक चीजहरूबाट म्यानिपुलेट भइरहेका छौँ ?

कमसेकम हाम्रो दिमागसम्म चाहिं कोही पुगेको छैन भन्ने मान्छु म । हो, समस्या छ, तर जोगिने उपाय पनि त होला ।”

हेर न हाम्रो जीवन कति धैरै चीजहरूको भरमा थेगिएको छ । यस्तो भर जस्को जग नै धमिराले खाइसक्यो । हाम्रो मौलिक अस्तित्व बिस्तारै हामीबाट टाढा भाग्दै छ, बुझ्यौ ?

के गर्नु पर्छ जस्तो लाग्छ तिम्लाई ?

खोइ । कतै टाढा जान मन छ मलाई त ।”

यथार्थबाट पनि भाग्न मिल्छ र फटाहा मान्छे ? यसको उपचार त हामी अहिले लगाइरहेका छैनौं र हाम्रो यो छुट्टै संसार बनाएर ? हेर न कति बेग्लै बसेका छौँ हामी । शहर, भीडभाड विज्ञापनका बोर्डहरू हतारमा एक अर्कालाई ठेल्दै हिँड्ने मान्छेहरू ती सब चीजबाट टाढा ।”

जसरी त्यस कमिलोलाई जोम्बी एन्ट फंगसले हाइज्याक गरेको भनक सम्म हुन्न । मलाई म पनि यो भीडभाड र हातोरोको शिकार भइसकेँ जस्तो लाग्छ । जिके मलाई यो समय र यस्को बेरंगी यथार्थबाट टाढा कतै जानु छ ।”

मतलब !”

म कतै जाँदै छु जिके !”

रियाको यो एकाएक म जाँदै छुभन्ने कुराले मलाई रनभुल्ल पारिदियो । कतै जाँदै छु ?’ यो छेउ न टुप्पो भएको कुराको कसरी अर्थ लगाऊँ म ? म रिया तिमी ठीक छौ भन्न खोज्दै थिएँ उता रिया जुरुक्क उठी, बुरुक्क उफ्री बीच हावामा एउटा फट्याङ्ग्रो भई र कतै झाडीमा हराई । के भयो भर्खर एउटा सिङ्गो मान्छे कसरी एउटा राज्माको गेडा जत्रो फट्याङ्ग्रो हुन सक्छ ? रिया भनेर बोलाउने प्रयास सिर्फ प्रयासमा मात्र सीमित हुन पुग्छ । रियाको त्यस घटनापछि शुरू भएको अनुकूल घटनाहरूको मुहान सुक्ने त परको कुरा बर्खाको भेल बनेर मलाई बगाउन प्रयत्नरत छ ।

आज दोस्रो हप्ता । यस बीच मैले मेरो शरीरमा क्रमिक परिवर्तन पाइरहेको छु । त्यस मध्य सबैभन्दा मूल परिवर्तन मैले मेरो भाषाको अभ्यास बिर्सिएँ । यसलाई बिर्सेको पनि कसरी भनौं जिब्रो ठीक छ (यो समयसम्म) मस्तिष्कमा विचारहरू भाषाकै स्वरूपमा चलबलाउँछन् । तर मुखबाट शब्द निस्किँदैनन् । मेरो बोल्ने प्रयास सिर्फ अस्पष्ट हा हु (जुन पहिलो पहिलो दिन हुन्थ्यो) आज भने ट्वार्रट्वार्र बर्खामा टाढा कतै भ्यागुतो कराए जस्तो आवाजमा गएर टुङ्गिन्छ ।

सम्भावित अन्तिम दिन ! झ्यालबाट बिहानीको काँचो घामको किरणहरू कोठाको बीच भागमा झ्यालकै सीसा आकारमा फिँजिएका छन् । ठीक त्यस ठाउँमा एउटा कमिलो चारै दिशातिर अजीव हाउभाउ देखाउँदै हिँडिरहेको छ । कमिलो घामको किरण भएको घेरासम्म पुग्छ र अनि तुरुन्त दिशा परिवर्तन गरिहाल्छ । एउटा हरियो फट्याङ्ग्रो झ्यालको डीलमा फुत्त आएर बस्छ । म खाटमा लम्पसार सुतिरहेको छु । शून्य छ मेरो मस्तिष्क । त्यस घटनापछि शरीर परिवर्तन हुँदै आएर आज पूर्ण रूपमा आफूलाई पाइसकेको महसूस भइरहेको छ । तर के भएँ म ? आफ्नो परिवर्तित स्वरूप हेर्न  टाउको हल्लाउन खोज्छु तर यस्तो लाग्दै छ कसैले मेरो घाँटी अँठ्याइरहेको छ । सकी नसकी म खाटको छेउमा पुग्छु र पर दराजमा टाँसिएको ऐनामा देख्छु एउटा भद्दा भ्यागुतो मलाई हेरिरहेको छ ।

एउटा भद्दा भ्यागुतो भएछु म ! भयानक डरलाग्दो भ्यागुतो ! यो नमीठो यथार्थले मेरो होस हवास एक झट्कामै उडाइदियो । पर झ्यालको डीलमा उभिएको फट्याङ्ग्रोतिर एक नजर लागउँछु र एउटा प्रश्न आफैलाई सोध्छु किन चाल पाइनस कि तँ यो समाजको भ्रष्ट फंगसको पञ्जामा फसिस् भनेर । के हरेक मान्छेले यसको उत्तर अन्तिम समयमा मात्र पाउँछ ?

हैन, अझै समय छ । मलाई पनि त्यो सीसा पारि जानु छ । एउटा बेजोड आवाज मलाई झ्याल पारि उभिएको फट्याङ्ग्रोतिर पुकारिरहेको छ । मलाई पनि तिमीसँगै लैजाऊ रिया ! जोडजोडले छटपटाउँदै म खाटबाट तल झर्ने प्रयास गर्छु र केही बेरको सकसमकस पछि म खाबाट तल फ्यात्त पछारिन्छु ।

“रिया… … … … ?”

मनको गहिराइबाट एउटा अन्तिम पुकार निस्कन्छ । फट्याङ्ग्रो विपरीत दिशातिर फर्कन्छ अनि फुत्त कतै बिलाउँछ ।

बिस्तारै मेरो ढोकाको फेदबाट कमिलाको ताँती प्रवेश गर्न थाल्छ । म छटपटाउँदै झ्यालतिर घिस्रिन खोज्छु । कमिलाको पहिलो ताँती मेरो शरीरमाथि हाबी हुन्छ । मेरो झ्याल पारि सम्मको यात्रा क्षणभरमै विफल हुन्छ । एक पछि अर्को कमिलाको झुन्ड मेरो शरीरमाथि चढ्दै जान्छन् अनि मेरो छालामा दाँत गाड्न थाल्छन् । अन्तमा म कमिलाहरूको कालो नकाबभित्र पुरिन्छु जहाँ मलाई जिउँदै खाइँदै छ । क्रमशः मेरो चित्कारको ध्वनि यो अबसर्ड घटनाको विशाल खालीपनमा सुस्त सुस्त हुँदै शून्यमा गएर विलीन हुन्छ ।