नाउँअनुसार सारा शहर र टोल अँध्यारामै बाँच्थ्यो र अँध्यारामै सबै काम गर्थ्यो । अँध्याराको बानीले गर्दा उज्यालो सबैका आँखामा काँडाझैँ बिझ्थ्यो । टोल त के पूरै शहरमा पनि उज्यालो मन पराउने एउटा पनि मानिस थिएन ।
0000
अहिले हो कि उहिले हो, एउटा थियो केटो । केटाको नाउँ बिजुलीबहादुर । बिजुलीबहादुर अँध्यारो शहरको कालो टोलमा बस्ने वर्ष बाइसको तन्नेरी केटो थियो । उसको आफ्नो नाउँ त अरू नै केही थियो, तर टोल-शहरका सबैले उसलाई बिजुलीबहादुर भन्ने गर्थे । बिजुलीबहादुर भनेपछि उसलाई नचिन्ने कोही थिएन ।
कालो टोलको बिजुलीबहादुर अँध्यारो शहरभरि त्यसै बिजुलीबहादुर कहलाएको थिएन । उसका दुवै हातमा प्राकृतिक बिजुली थियो र सो बिजुलीले गर्दा नै उसको नाउँ बिजुलीबहादुर रहन गएको थियो । हातको जुन बिजुलीले उसको नाउँ बिजुलीबहादुर रहन गएको थियो त्यो बिजुली उसको आफ्नै खुबी थियो, गर्भेदेखि लिएर आएको खुबी । यस खुबीले गर्दा उसका दुवै हातमा आफै बिजुली पैदा हुन्थ्यो र हातपाखुराको रगतमासुमा जम्मा भइरहन्थ्यो । कहिल्यै नसुक्ने मुहान जस्ता हातमा लगातार पैदा भइरहने बिजुलीको प्रयोग ऊ आफ्नो मुठीद्वारा गर्थ्यो ।
बिजुलीबहादुरले मुठी खोल्दा उसका हातभित्र जम्मा भएको बिजुलीको धारा फुक्थ्यो र उसका हत्केलाबाट तीखो उज्यालाको तेजिलो खहरे उर्लिन्थ्यो । उसले मुठी खोलेपछि कालो टोलबाट फिजिंदैफिजिंदै गएको उज्यालाले पूरै अँध्यारो शहरलाई नुहाएर झकमक्क पार्थ्यो । अनि उसले मुठी बन्द गर्दा शहरलाई उज्यालो पार्ने बिजुली फेरि उसकै हातभित्र थुनिन्थ्यो र चारैतिर बाक्लो अँध्यारो थुप्रिन्थ्यो । हातमा बिजुली भएकाले ऊ उज्यालालाई खेलाउन सक्थ्यो र अँध्यारालाई खेद्न सक्थ्यो । उज्यालाको सेतो कुकुर पछि लगाएर अँध्याराको कालो बिरालालाई लगार्ने सीपमा ऊ पोख्त थियो ।
सीपका नाउँमा ऊ त्यति मात्र जान्दथ्यो । मुठी फुकाएर हातको बिजुलीद्वारा सारा सेराफेरालाई झकिझकाउ पार्नुबाहेक ऊ अरू केही जान्दैनथ्यो, तर उज्यालो वा बिजुलीको खाँचो न अँध्यारो शहरलाई थियो न सो शहरको कालो टोललाई नै थियो । नाउँअनुसार सारा शहर र टोल अँध्यारामै बाँच्थ्यो र अँध्यारामै सबै काम गर्थ्यो । अँध्याराको बानीले गर्दा उज्यालो सबैका आँखामा काँडाझैँ बिझ्थ्यो । टोल त के पूरै शहरमा पनि उज्यालो मन पराउने एउटा पनि मानिस थिएन ।
कसैले पनि उज्यालाको चाहना नगर्ने हुँदा र आफूले उज्यालो गर्नुबाहेक अरू कुनै सीप नजानेको हुँदा बिजुलीबहादुर ढाक्रे जीवन बिताउँथ्यो । टोलको र शहरको पनि एक मात्र बेकार ऊ नै थियो । बेकारहरूका लागि राखिएको हन्डीबाट ऊ बिहान-बेलुका खान पाउँथ्यो । छाकैपिच्छे हन्डीबाट भोजन लिनुबाहेक उसको अरू कुनै काम थिएन । अँ, अँध्यारो शहरले वर्षमा तीन पटक मनाउने उत्सवका मौकामा चाहिं उसले काम पाउँथ्यो र ज्यादै रमाएर आफ्ना हातको खुबी देखाउँथ्यो । शहरको विशाल उत्सवभवनमा जोसका साथ मनाइने तीन उत्सवहरू क्रमशः ‘गरीबी लुकाऊ उत्सव’, ‘अमिरी देखाऊ उत्सव’ र ‘महाभोजको उत्सव’ थिए । यी तीनै उत्सवहरूमा उज्यालो गर्ने अघिदेखिकै चलन थियो र सो चलन अझै पनि कायम नै थियो ।
अँध्यारो शहरमा त्यस दिन ‘गरीबी लुकाऊ उत्सव’ थियो, वर्षको पहिलो चौमासको अन्त्यमा धूमधामसँग मनाइने उत्सव । बिजुलीबहादुर अँध्यारो शहरको भव्य र विशाल उत्सवभवनको एउटा कुनामा एक्लै धुमधुमती बसेको थियो । चर्को हल्लखल्ल र अँध्याराले गर्दा उत्सवभवन तर्साउने घर बनेको थियो, तर ऊ उत्सवभवनलाई झकमक्क उज्यालामा डुबाउने आदेश कतिखेर पाइन्छ भनेर ठूलो सास फेर्दै पर्खिरहेको थियो । आदेश नपाउन्जेल उज्यालो नगर्ने उसलाई कडा चेतावनी थियो ।
उज्यालो पार्ने आदेश पर्खिंदापर्खिंदै धेरै समय बित्यो, तर बिजुलीबहादुरले उज्यालो छर्ने आदेश पाएन । लामो पर्खाइले गर्दा उसलाई पट्टचार लाग्न थालेको थियो । बेलाबेला उसलाई मुठी खोलेर अँध्यारो उत्सवभवनमा झकमक्क बिजुली बाल्ने झोंक नचलेको पनि होइन । आदेश ज्यादै कडा भएकाले मात्र ऊ मुठी खोल्न सकिरहेको थिएन ।
पर्खाइ र पट्टचारले गर्दा बिजुलीबहादुरलाई अनौठो उकुसमुकुस भएर बिसन्चोजस्तो हुन लागेको थियो । बसेका ठाउँमा ऊ छटपट-छटपट गर्न थाल्यो र यसै छुटछटमा उसका मुठी आफैँ उघ्रे । यसका साथै तीखो उज्यालाले उत्सव-भवनलाई दिनजस्तै टड्कारो तुल्यायो ।
बिजुलीबहादुरले उज्यालो पार्नासाथ उत्सवभवनको विशाल सेराफेरामा नाङ्गैनाङ्गाको बाक्लो घचारो देखियो । नाङ्गा मान्छेको हूल, नाङ्गा आइमाईको हूल, नाङ्गा तन्नेरीको हूल, नाङ्गा बूढाबूढीको हूल र नाङ्गा बालखहरूको हूल उत्सवभवनभरि फिंजिएर छालछालमा तरङ्गिदै थियो । अस्तव्यस्त भएर छरिएका नाङ्गाहरूलाई अँध्यारो शहरका वर्दीधारी स्वयंसेवकहरू छानो छाउने टिनको पातो दिँदै थिए, जनही एउटाका दरले । पातो पाउनेहरू घाँटीसम्मको आफ्नो जीउ टिनले मोरेर गरीबीको चिनो नाङ्गोपन लुकाउँदै थिए र टिनमाथिबाट टाउको मात्र देखाएर पंक्तिबद्ध भई उत्सवभवनको माझमा उभिदै थिए । साथै पातो नपाउनेहरू गरीबीलाई बेरेर लुकाउने टिन पाउन भरमग्दुर गर्दै थिए ।
उज्यालो हुनासाथ वर्दीधारी स्वयंसेवकहरू रिसाउँदै बिजुलीबहादुरका छेउमा आए । रीसको झोंकमा बेसरी लछारपछार गर्दै तिनीहरू उसलाई हपार्न थाले ।
– ए बिजुली । तँ बढी जान्ने किन भएको ? हामीले नभनी किन तैँले उज्यालो पारिस् ?
– सत्ते, मैले जानाजान उज्यालो गरेको होइन । मेरा मुठीहरू मैले चाल नपाउने गरी उघ्रे ।
– जसरी उघ्रे पनि तैले हाम्रो सारै ठूलो बेइज्जती गरिस् । अब तैँले सजाय पाउँछस् ।
– उज्यालो गर्नु पनि कसैको बेइज्जती गर्नु हुन्छ र ?
– किन हुन्न ? हेर्, हामी यस शहरमा नाङ्गाहरूको आङ टिनका पाताले मोरेर गरीबी लुकाउँदै थियौं, तर तैले बीचैमा बत्ती बालिदिनाले यो उत्सव ‘गरीबी लुकाऊ’ नभएर ‘गरीबी देखाऊ’ हुन गयो ।
– त्यो त हो, तर बेइज्जती चाहिं कसरी भयो नि ?
– कसरी भयो भने पहिलो चौमासमा शहरमा कतै पनि गरीबी नदेखाउने हाम्रो अन्तर्राष्ट्रिय बाचा थियो, तर तैँले आफूखुशी मुठी खोलेर हामीले सो बाचा पूरा नगरेको देखिएको हुँदा हाम्रो अन्तर्राष्ट्रिय बेइज्जती भयो ।
– भूल भयो, बिराएँ । एक पटक माफ पाऊँ, अब यस्तो गर्ने छैन ।
बिजुलीबहादुरले माफी मागेपछि वर्दीधारी स्वयंसेवकहरूले लछारपछार गर्न छाडे र उसका दुवै मुठीमा पन्जा हुलेर लाहाछाप गरिदिए । लाहाछाप गरेपछि तिनीहरू फर्के र युद्धस्तरमा गरीबी लुकाउन बाँकी नाङ्गाहरूलाई टिनका पाता बाँड्न थाले ।
यो घटना भएको चार महिनाभित्रै बिजुलीबहादुरको उमेर निकै छिप्पियो र ऊ बाइस वर्षे तरुनोबाट बयालीस वर्षे अधबैंसे भयो । त्यस दिन दोस्रो चौमासमा धूमधामसँग मनाइने वर्षको दोस्रो उत्सव ‘अमिरी देखाऊ उत्सव’ थियो । अधबैँसे बिजुलीबहादुर पन्जा उनिएको हात हल्लाउँदै उत्सवभवनमा पुगिसकेको थियो । यस पटक पनि ऊ एक्लै बसेको थियो । उत्सवभवन साबिककै हल्लखल्ल र साबिककै अँध्याराले गर्दा साबिककै तर्साउने घर बनेको थियो । धकाएझैँ सास फेर्दै ऊ उज्यालो पार्ने आदेश कुरिरहेको थियो । यस पटक आदेशबिना मुठी नउघार्न उसले कम्मर कसेको थियो, तर लामो पर्खाइ र पट्टयारले गर्दा पन्जाभित्रका उसका मुठी उघ्रिन गए । मुठी उघ्रिनासाथ पन्जा डढेर खरानी भयो, लाहाछाप पग्लेर बिलायो र उत्सवभवनभरि चर्को उज्यालो छचल्कियो ।
बिजुलीबहादुरको मुठीबाट उज्यालाको खोलो उर्लेपछि उत्सवभवनको विशाल सेराफेरामा तिनै नाङ्गैनाङ्गाको ठूलो घचारो फेरि देखियो । वर्दीधारी स्वयंसेवकहरू तिनका छातीमा भव्यभव्य घरका राम्राराम्रा नक्साहरू कीला ठोकेर अड्याउँदै बथिए । घरको नक्सा कोरिएको लम्बेचौडे कागतले धेरै नाङ्गाहरूको छातीदेखि खुट्टासम्मको सारा नाङ्गोपनलाई छोपेको थियो । भव्य भवनको नक्साले छोपिएका नाङ्गाहरू सोमार्फत अमिरी र सम्पन्नताको प्रदर्शन गर्दै थिए, तर अझै थुप्रै नाङ्गाहरूका छातीमा कीला ठोकेर सम्पन्नताको नक्सा झुन्डयाउन बाँकी नै थियो । एक्कासि उज्यालो भएकाले अमिरी देखाउने सारा रहस्य नाङ्गिएको थियो र रहस्य नाङ्गिएको कारणबाट वर्दीधारी स्वयंसेवकहरू रीसले चूर भएका थिए । तिनीहरू डढेलाझैँ धपक्क बलेर बिजुलीबहादुरमाथि खनिए ।
खनिएका स्वयंसेवकहरूले यस पटक बिजुलीबहादुरलाई लछारपछार गरेनन् । उससँग कुनैले कुरो पनि गरेनन् । तिनले त उसलाई कुटे, निर्घातसँग कुटे । बचोटका निम्ति ऊ केके भन्दै थियो, तर कुट्न सन्केका स्वयंसेवकहरूले उसको कुरै सुनेनन् । कुटाइ खाँदाखाँदा ऊ रगतपच्छे भयो, ऊ अधमरो भयो र ऊ ढल्यो । ढलेर बिचेत भएको बिजुलीबहादुरका दुवै हातमा स्वयंसेवकहरूले फलामका खोल हालेर ताल्चा पनि ठोके । यति गरेपछि स्वयंसेवकहरू फेरि अमिरी देखाउने काममा युद्धस्तरमा लागे र बाँकी नाङ्गाहरूका छातीमा कीला ठोकेर भव्यभव्य घरका नक्सा झुन्डयाउन थाले ।
यो घटना भएको चार महिनाभित्रै बिजुलीबहादुरको उमेर निकै ढल्कियो र ऊ बयालीस वर्षे अधबैँसेबाट बैसट्ठी वर्षे बूढो भयो । त्यस दिन तेस्रो चौमासमा धूमधामसँग मनाइने वर्षको तेस्रो र अन्तिम उत्सव ‘महाभोजको उत्सव’ थियो । बूढो बिजुलीबहादुर फलामका खोलमा जक्खिएका हात झुन्ड्याउँदै उत्सवभवनमा पुगिसकेको थियो । उही हल्लखल्ल र उही अँध्यारोले तर्साउने घर बनेको उत्सवभवनको एक कुनामा ऊ एक्लै झोक्रिएर बसेको थियो । उसको दम बेसरी फुल्दै थियो र ऊ गहिरोगहिरो सास फेरेर उज्यालो पार्ने आदेश कुर्दै थियो ।
उत्सवभवनको एउटा कुनामा एक्लै बसेर बिजुलीबहादुरले उज्यालो पार्ने आदेश कुरेको निकै समय भइसकेको थियो । फलामे खोलभित्र थुनिएका उसका मुठीहरू बेलाबेला उघ्रिन खोज्थे, तर यस पटक ऊ निकै चनाखो भएर बसेको थियो । आदेशविना मुठी नउघार्ने अठोट उसले मनमनै गरेको थियो । जतिसुकै अठोट गरे तापनि पर्खाइ र पट्टचारको सकसकले गर्दा उसका मुठी फलामे खोलभित्रै उघ्रिन गए । मुठी खुल्नासाथ फलामे खोल र ताल्चा दुवै पग्लेर तपतपी चुहिए । अँध्यारामा लुकेको पूरै उत्सवभवन चर्को खालको उज्यालामा नुहाएर दन्न दन्कियो ।
बिजुलीबहादुरका मुठीबाट उज्यालाको अजस्र वर्षा हुन थालेपछि उत्सवभवनको विशाल सेराफेरामा तिनै नाङ्गैनाङ्गाहरूको ठूलो घचारो फेरि देखियो । तिनले हातहातमा एउटाएउटा थाल बोकेका थिए । थालहरूमा माटो, इँटा र ढुङ्गा झुसी पारेर भरिएको थियो । वर्दीधारी स्वयंसेवकहरू नाङ्गा हातहरूले उचालेको थालथालमा अत्तर छर्किँदै थिए । साथै तिनीहरू थालथालमा चुल्लिएका माटो, इँटा र ढुङ्गाका थुप्राहरूमा चाँदीकै झलल्ल झल्किने तपक पनि टाँस्दै थिए । तपक टाँसिएका थुप्राहरू सारै स्वादिष्ट परिकारकै देखिँदै थिए, तर अझै थुप्रै थालका थुप्रालाई तपक टाँसेर महाभोजको भोजनजस्तो तुल्याउन बाँकी नै थियो । एक्कासि फिजिँएको उज्यालाले महाभोजको गोप्यलाई उदाङ्ग पारेको हुँदा वर्दीधारी स्वयंसेवकहरू रीसको वन खाने आगामा सल्किँदै बिजुलीबहादुरको छेउमा पुगे ।
यस पटक तिनले बिजुलीबहादुरलाई कुटेनन् । तिनले उसका दुवै पाखुरा बेसरी अँठ्याए, अनि निठुरी पाराले बङ्ग्याउन र मर्काउन थाले ।
– के गरेको ? सारै दुख्यो भन्या ।
– चुप लाग्, हामी तेरा अर्धेला हात भाँच्न लागेका ।
– किन भाँच्ने मेरा हात ? छाड, दुख्यो भन्या ।
– हामी तेरा छाडा हात भाँचेर आफैसँग राख्छौ र ठीकठीक बेलामा मुठी खोलिदिएर उज्यालो पार्छौँ, बुझिस् ?
– ऐय्या, त्यसो नगर ! बिन्ती छ, ऐय्या ।
– हामीले तँलाई दुई पटक मौका दियौं, तर अब तेरा छाडा हातले भाँचिनैपर्छ ।
-ऐ… या… ।
बिजुलीबहादुरले जतिसुकै ‘ऐय्या…ऐय्या’ गरे पनि वर्दीधारी स्वयंसेवकहरूले उसका दुवै हात भाँचेर बलजफ्ती उखेले । ऊ हातबिनाको ठुटो भयो ।
दुवै हात नभएको बिजुलीबहादुर आज पनि जहींतहीं देखिन्छ । अचेल ऊ आफ्ना मुखमा खरीको टुक्रो च्याप्छ र सानासाना नानीहरूका कालापाटीमा सेता र उज्याला धर्काहरू कोर्दै हिंड्छ ।
(मोहनराज शर्माको कथासंग्रह ‘वैखरी’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










