भोलि लक्ष्मीपूजा, आज साँझमा तीन जना ठिटाहरूको आपसमा खूब दिल खोलीकन भोलि आउने आनन्दको बारेमा चर्चा भइरहेका थियो । दुई जनाको लुगा मैलो, टालिराखेको थियो । एक जनाको अलि सफा र राम्रो थियो, जसले सूचित गर्दथ्यो ऊ ती दुईभन्दा कुनै घरमा पुग्नेको छोरा हो । तर तीनै जनाको मुखमा त्यस्तै उत्सुकता र उल्लासको भाव देखिन्थ्यो ।
काले दमाईको छोरा मानले भन्यो, “आज बाले उखु, केरा, पूजासामान किनेर न्याउनुभयो । बाको मन स्यानो छैन, दुई रुपियाँको त किनेर ल्याउनुभयो ।”
तमाखु पसले साहिंलाको छोरा प्रेमचालाई बेमज्जा लाग्यो किनकि उसले घरमा के ल्यायो के ल्याएन केही विचार गरेको थिएन तर भन्यो, “दुई-दुई रुपियाँको पूजासामान र मिठाई ?”
मानचालाई लाज लाग्यो, झटपट भनिहाल्यो, “बाले त भन्नुभएकै थियो पाँच रुपियाँको – नभई हुँदैन, आमाले गरेर पो त ।”
जम्मै दोष आमामाथि पोखेर नाक राख्यो ।
लालबहादुरलाई भने काले दमाईको छोराको रवाफ जमेको देखेर ईर्ष्या लाग्यो । मुखलाई बिच्काएर भन्यो- “दुई रुपियाँको पूजासामान, मिठाई भनेपछि मिठाई कति कम त !”
मानचाले दङ्ग हुँदै लालको नासमझमा हाँस्तै भन्यो, “मिठाई धेरै भोलि ल्याउनुहुन्छ रे भाइपूजालाई, भोलिलाई एकैचोटि । भाइपूजामा पो मज्जा हुन्छ, बहिनी पूजा गर्छ । बहिनीलाई – दे भनेर एक मोहर दिनुहुन्छ । हामी त मिठाई खाने मात्रै ।”
मिठाई शब्दले तीनै जनाको मुखमा थुक जम्यो । लालले थुकलाई घुटुक्क निल्दै – विचार गर्यो- आमा खाटमा पल्टिरहेकी छन् । खोइ, अझसम्म मिठाईको नामै सुनिया छैन । – बिर्सिहोलिन् ।
मानले बढाई-चढाई कुरा गरेको र आफू स्यानो भएको देख्दा लाललाई आफै भुइँमा गडेजस्तो लाग्यो । तमाखु पसलेको छोराको कुरै के ? ऊसँग सेखी गर्न सकिँदैन भनेर – उनीहरूले थाहा पाइसकेका थिए । लाललाई पनि एउटा युक्ति सुझ्यो । मुखमा आनन्दको – आभा छिट्क्यो । उसले हात हल्लाउँदै भन्यो, “हामीलाई त हाम्रो माहिला बाले ल्याउनुहुन्छ । माहिला बाको जागीर कहाँ छ थाहा छ ? अड्डामा जागीर । धनी धनी – साहूमहाजनहरूले पनि कति मान गर्दछन् ।”
कुराको जवाफ जम्याजस्तो भयो । अरू दुवै जना चूप भए । रवाफ त जम्यो तैपनि उसको हृदय भारी भयो ।
मान्छेहरू बाटामा ओहरदोहर गरिरहेका थिए । कोही खाल राख्ने टन्टामा । कौडीको छनछन र माराको कोलाहल खूब रमाइलो हुन्छ ।
काले दमाईंको छोरो गफी र वाक्पटु थियो । भन्यो, “ए लाल, पोहोर के, हाम्रो मालिकले रुपियाँ कति जित्या ! ‘हजूर जितौरी’ मैले मागें । ‘ला’ भनेर एक रुपियाँ फालिदियो । खूब मजा पो हुन्छ खालमा बसेर जितौरी माग्न ।”
“जसले पनि दिइहाल्छ नि,” लालले बीचैमा टोक्यो ।
“कसले दिन्छ ? त्यसै दिन्छ र ?” मानले जोसमा आएर भन्यो ।
“कसो त पोहर मलाई इन्द्रचोकको साहुले चार पैसा दियो ।”
“चार पैसा ? राम राम !”
लाल चूप भयो ।
अब बोल्ने के ?
उसको मन भित्रभित्रै दुःखित भयो ।
प्रेमले यिनीहरूको कुरालाई उपेक्षा गर्दै गम्भीरतापूर्वक भन्यो- ‘हाम्रो बाले त मलाई अहिले पनि जुवामा पाँच रुपियाँ दिनुहुन्छ ।”
यो कुरा सुनेर मानको मुखमा बुजो लाग्यो । मान गलेको देखेर लाललाई ईर्ष्यामय आनन्द केही भयो ।
लालकी आमा ढिकीजाँतो गरेर कमाउँछे । यता जान्छे दुई गाग्रो पानी ल्याइदिन्छे । उता जान्छे भाँडा माझ्छे । त्यही कमाइबाट ती दुई आमा छोराको पेट भरिन्थ्यो । अहिले साँचो गल्लीको थोत्रो घरमा आमा छोराको बास छ । सिङ्गै घर कहाँ हो र ? तल्लो चीसो छिँडी जहाँ उज्यालो अन्कनाउँदै छिर्छ । आमा पन्ध्र दिनदेखि खाटमा सुत्या सुत्यै छ, खोइ उठ्ने नाम पनि नलिने । कहाँ पञ्चक, कहाँ तिहार । आफू नगै महिनाबारी नआउने, आफ्नो भने यो गति । अलिकति भएको रुपियाँपैसा ओखतीको धूलो, गनाउने गोलीमै खर्च भइसक्यो ।
आमा खाटमा सुस्त सुस्केरा हाल्दै पल्टिरहेकी थिई । लाल आएर खाटमा थचक्क बस्यो, किरिरी आवाज आयो ।
लालले बोलायो- “आमा !”
आमाले कँपकँपी आवाजमा भनी, “नकरा, जा बा !”
लालले कोट्याउँदै भन्यो, “आमा, हामीकहाँ मिठाई, पूजासमान किनेर ल्याउनुपर्दैन ?”
आमा झस्की । लालले सोध्यो, “हँ ?”
आमाले सङ्कुचित हुँदै भनी “पर्छ ।”
“खोइ त ? काले दमाईकहाँ त आजै सबै थोक ल्याइसक्यो ।”
“हाम्रो भोलि ।”
लालको मुख उत्फुल्ल भयो । तर एकै छिनमा आमापट्टि हेरेर निराश भयो । भन्यो, “आमा भने बिरामी, कसले ल्याउँछ ?”
आमा फेरि झस्केर छोराको मुख एकटकसित प्यारले निहालिरही । आमाको यो छाँट देखेर लाल शङ्कित भयो र भन्यो, “भन्नुस् न । मै किनेर ल्याउँला, हुन्न ?”
“हुन्छ, ऊ त्यहाँको सिपाही दाइले ल्याउँछु भन्या’ छ ।”
रात पर्यो । त्यस कालकोठरीमा पिलपिल गर्दै टुकी बल्यो । लाल आशा र निराशाको संघर्षमा थिचिँदै मिचिँदै टुलटुल बत्तीलाई ताकिरहेको थियो ।
आमाले ख्याल-ठट्टाको भावको विषादपूर्ण हाँसो हाँसेर भनी, “लाल म मरें भने के गर्छस् ?”
लाल पनि त्यसै हाँसेर पक्क परेर आमाको मुख हेरिरह्यो । आमाले लालको चिउँडो समातेर भनी, “भन् न ।”
लाललाई थाहा थियो- मरेपछि फेरि भेट हुन्न । आमाले उसलाई घरमा एक्लै छोडेर बाहिर जानेजस्तो । लालले गम्भीर भएर भन्यो- “आमा ! मर्नुहुन्न !”
आमाले भनी, “मरें भने नि, भन् न ।”
“कसरी मर्नुहुन्छ ? म समातिराख्छु ।”
अहिले आमालाई साँच्चै रुन मन लाग्यो, साथसाथै आनन्द पनि भयो ।
आमाले भनी- “जा बा, त्यहाँ ढक्कीमा च्यूरा छ, सिसीमा खुर्सानीको अचार होला, खा । भोक लाग्यो होला ।”
लालले कुनै किसिमको नाइँ निइँ नगरी अचार, च्यूरा च्वापच्वाप् पार्दै खायो । त्यस निराशामय तथा विवश शान्तिमा सन्तोषको आवाज आइरहेको थियो । आमा विचारमा मग्न थिई, कुनै सजीव स्मृतिमा डुबेकी थिई ।
खाई-पिई सिद्धियो, आमाले लालको मुख हेर्दै भनी, “लाल, अहिले तेरो बा भएको भए !”
फेरि त्यही कथा शुरू भयो जुन लाल चाख मानेर सुनिरहन्थ्यो । कसरी बा काम गर्न जाँदा छानाबाट खसेर मर्नुभयो, त्यस बेला लाल दुई वर्षको थियो । एक दिन लालले हगेर गुहु खेलाएर बाको मुखभरि दलिदिएको थियो । बा झुत्रो सुकुल टालिरहेका थिए ।
लालले सोध्यो- “उ बाले धेरै रुपियाँ जितेर ल्याउनुहुन्थ्यो ?”
आमाले भनी, “कसरी बाले एकैचोटि भएभरको रुपियाँ हार्नुभएको थियो। कसरी आमासँग झगडा गरेर, कराएर, पिटेर कानको सुनसमेत झिकेर लैजानुभयो ।
लालको सारा शरीर सिरिङ्ग जिरिङ्ग भइरहेको थियो ।
आमा भन्दै गई कसरी त्यो पनि हार्नुभयो । घरमा रुन्चे मुख लाएर आउनुभयो । आमाले सम्झाई अब मुख अँध्यारो पारेर, रोएर के गर्नु ? हार्ने हारिसक्यो । आमाले लक्ष्मीपूजालाई सरजाम किन्न भनेर लुकाइ राखेको दुई रुपियाँ बालाई दिई पूजासरजाम किनेर ल्याउनू भनेर । त्यो रुपियाँ लिएर कसरी लाललाई कुममा राखेर लैजानुभयो । पूजासरजाम नकिनी जुवा खेल्नुभएर फेरि सुन ल्याउनुभयो । पचास रुपियाँ जित्नुभयो । कसरी बाले दङ्ग हुँदै खुशीले उफ्रँदै भन्नुभएको थियो- “यो लाल सारै छुकी रहेछ । यो पछि धनी हुन्छ ।”
लालको हृदय खुशीले नाच्न लाग्यो र अहिले नै साथीलाई छुकी भनेर प्रमाणित गर्न उकुसमुकुस लाग्यो । आमाले लामो सास फेरेर आँखा चिम्ली । लाल बाहिर हिंड्यो ।
००००
भोलि भयो । जुवा फुक्यो । चारैतिर लालसाको साम्राज्य छाएको थियो । खूब मज्जा थियो । चारैतिर ताजगी थियो, रमाइलो थियो । हल्लाखल्ला, सोरगुल क्या मज्जाको ! बजारमा ठेल्लमठेल्ला मान्छेहरू थिए । पसलेलाई बेच्ने फुर्सद छैन । कुनै पसलेको पनि हात खाली छैन । हिंड्ने मान्छेहरू खाली कहाँ थिए र ! कसैको हातमा खानेकुराको पोका, कसैको हातमा फलफूल, कसैको हातमा रुपियाँपैसाको लक्कू, कोही मोलतोल गर्नमा असीम आनन्द लिइरहेका थिए ।
लाल बिहानदेखि नै बजार घुमिरहेको थियो । कहिले जुवा हेर्दथ्यो । एक त जितौरी पाउने आशा, अर्को कौडी र रुपियाँपैसाको हल्लागुल्ला छेडेर निस्केको सङ्गीतमा आनन्द लुटिरहेको थियो । अहो, कति कति रुपियाँ, फेरि हलवाइपसल पनि कति ! फेरि कति मिठाईको थुप्रो, कति किसिमको नामै लिन गाह्रो, पसलका बाहिरसम्म रासका रास थुपारिराख्या देखेर लालले विचार गर्यो- कसले मात्र खाने होला ! यतिका जम्मै सिद्धिएला ?
सबै घरमा मिठाईको बास आउने, यसरी आउने कि सास लिन गाहो । फलफूलका पसलमा अर्कै किसमको झकिझकाउ । केराका काँगियोका रास, ठूलोठूलो डल्लो भोगटे, हरियो चाक्सी, बिमिरा इत्यादिले रङ्गाएको थियो ।
लाल घुम्दाघुम्दै आफ्नो टोलमा आइपुग्यो । आफ्नो डेराको घरतिर हेर्छ त एक जना दुई हातमा दुई पोका लिएर घरभित्र घुस्यो । उसको मन एकदम माथि आयो । दङ्गदास भएर डेरातिर दौडयो । आमा सुतेकी त्यही छिंडीमा हेर्यो । केही छैन । कोही छैन । त्यही निराशामय विवश शान्ति । ऊ निस्तब्ध भयो । आमा मुखसुख छोपेर पल्टिरहेकी थिई । आमालाई सोध्ने साहस भएन । त्यसै बखत माथिबाट तल ओर्लिरहेको भऱ्याङको आवाज आयो । फेरि घरपट्टिनी कराएर भनिहेकी थिई “खोइ सिन्दूर त छँदै छैन लौ । टीकाको बट्टा खोइ ? आफू कहाँ जुवा खेलेर अन्मरिरहेछ ! तपाईंलाई बिनसित्ति दुःख दिएर ।”
लाललाई अहिले लाज लाग्यो र आमाले थाहा नपाउने गरी सुटुक्क बाहिर निस्किन खोज्यो तेसै बेला आमाले बोलाई, “लाल !”
लालले झर्केर भन्यो, “किन !”
आमाले सरक्क घुम्टो झिकेर भनी “तँ अघिदेखि कहाँ ?”
लालले त्यस्तै स्वरले जवाफ दियो, “कहाँ कहाँ ?”
“आमा बिरामी भएकी, तँलाई वास्ता छैन । पानी अलिकति दिने मान्छेसम्म कोही छैन ।”
“के त ?” लालले जोसिलो भएर भन्यो, “हामीलाई बजार हेर्नपर्दैन ?”
“अँ ।”
“मिठाईको थुप्रो हेर्न मन लाग्दैन ?”
“अँ ।”
“जुवा हेर्न मन लाग्दैन ?”
“अँ ।”
अनि बादलको पर्दा उघारेर चन्द्रमा मुस्कुराएझै गरी मन्द मुस्कुराहट मुस्काएर भनी, “त्यहाँ गएर तँ के पाउँछस् ? फुस्सा । खाइस् ? लौ भन् ।”
लाल स्तम्भित भयो । आमाले फेरि भनी, “तँलाई भोक लाग्या छैन ?”
लाललाई बल्ल भोक लाग्यो ।
केही बेरपछि लाल फेरि कोठाभित्र पस्यो र आउनासाथ सोध्यो, “खोइ सिपाही दाइ अझ आउनुभएको छैन ?”
आमा कोल्टे परेर भित्तातिर फर्किरहेकी थिई, भित्तैतिर फर्केर सुस्तरी भनी, “आउँछ । अहिले बेला भएको छैन, केको हतारो ।”
लाल केही बेरसम्म यसो उसो गरिरह्यो अनि बाहिर निस्क्यो ।
घण्टाभरपछि लाल फेरि आमाको खटियामा बस्यो र पश्चातापपूर्ण स्वरले भन्यो, “आमा, अलिकति पछि परे ।”
आमाले केही पनि बोलिन । लालले फेरि भन्यो, “एक छिनपछि परे । मानले पायो, मैले पाइनँ, हत्तेरी ! कत्ति दिया थाहा छ, आमा एक सुकी ।”
आमाले व्यङ्ग्यभावले भनी, “बेस भयो त, तैँले पाइनस् ।”
“होइन भन्या आमा, एकै छिन मात्रै पछि परे नत्र पाइहाल्ने ।”
आमाले छोराको निर्दोषपूर्ण अनुहार एकटकसित ताकिरही । छोरो आमा रिसाई भन्ने डरले जुरुक्क उठ्यो र “अब त म पनि ल्याउँछु, आमा !” भन्दै बाहिर निस्क्यो ।
गएको मात्रै थियो, कालो-नीलो अनुहार लिएर लाल डेराभित्र पस्यो । पस्नासाथ चिच्याउँदै भन्यो, “आमा, आमा !”
आमाले कुनै कुराको आशङ्काले मुख छोपिसकेकी थिई । लालले हडबडाउँदै भन्दै गयो, “आमा, सिपाही दाइ त पालोमा गयो ।”
आमा निस्तब्ध भई र भित्रभित्रै सास बन्द हुँदै गयो । आमाले बिस्तारै अन्कनाउँदै भनी, “अब के भयो त ?”
“सिपाही दाइ पालोमा गयो । अब कसले ल्याउँछ ?”
आमा “हुँ” गरेर चूप लागी । लाल आमाको त्यो छाँट देखेर निराश भइसकेको थियो । तैपनि आमाले छोपिराखेको घुम्टो तान्दै सोध्यो, “ल्याउँदैन त ? ल्याउँछ !”
“नकरा जा, निद्रा आयो, म सुत्छु ।”
“भन्नुस् न, ल्याउँछ ?”
आमाले हृदय कडा पारेर भनी, “ल्याउँदैन ।”
त्यस बेलासम्म लालको आँखा रातो भइसकेको थियो । रुन्चे स्वरले भन्यो “अब कसले ल्याउँछ ?” भन्दाभन्दै आँसु खसालेर रुन लाग्यो ।
“कसैले पनि ल्याउँदैन ।”
“हिजो किन भनेको त उसले ल्याउँछ ! किन छकाएको त ?”
आमाले घुम्टो झिकी र त्यसको छेउको आँखा पुछी, अनि नाकबाट चुहिन लागेको पातलो सिंगान भित्तामा पुछी ।
उसले सहानुभूतिको स्वरमा भनी, “हाम्रो भाग्य कीरा परेको छ ।”
केही बेरसम्म लालको सँकसुँकी त्यस कालकोठरीमा रोकिँदै फेरि चल्दै, रोकिँदै चल्दै, रोकिँदै बहन लाग्यो ।
००००
गल्ली तथा मूल सडक सब चकमन्न उज्यालो थियो । घरघरबाट घण्टीको आवाज आउन थाल्यो र पूजा शुरू भयो । केटाकेटीहरू आफ्ना आफ्ना मूलढोकामा लट्ठी लिएर पालामा बलिरहेको दीपको रक्षा गरिरहेका थिए ।
लाल भाग्दै डेराभित्रै पस्यो । घडाङ्ग-घुडुङ्ग गर्दै डेराको ढोका बन्द गरेर आग्लो लायो । आमा झस्केर जुरुक्क उठी । बाहिर केटाकेटी एक गोल भएर कराइरहेका थिए- “लौ त त्यो बाहिर मात्रै निस्कोस्, यो लट्ठीले टाउको नफोडी छाड्दिनँ । त्यसको बाजेको सम्पत्ति चोरेर लगेको होला । तैँले के हेरिरहेको त, होइन यसो गरेसम्म …?” इत्यादि बाहिरको सोरगुल मिहीन आवाजमा डेराभित्र पसिरहेको थियो ।
लालले केही नबोलीकन रातो सलाई बालेर चोरेर त्याएको एउटा पाला बाल्यो ।
आमाले देखी- दुईवटा पाला चोरेर ल्याएको रहेछ । उसले जङ्गिएर भनी, “लाल, तेरो गाला, फोडूँ ?” लाल ङिच्च हाँसिरहेको थियो ।
दिक्क हुँदै फेरि भनी, “त्यसो नगर्न, अर्काको चोरेर ।”
अझ पनि लाल केही नबोली इस्टकोटको खल्तीबाट दुई-तीन किसिमका पोकाहरू झिक्न लागिरहेको थियो । आमा टोलाएर हेरिरही ।
अनि लाज मान्दै, अलि सशङ्क हुँदै, अलि डराउँदै लालले आमाको मुख पुलुक्क हेर्यो । आमा अझ पनि चूप भएर लालतिरै हेरिरहेकी थिई ।
“आमा, लक्ष्मीपूजा !” लालले कराएर भन्यो ।
आमाले भनी, “अँ ।”
लाल एकछिन रोकियो । नमालुम, फेरि किन मुन्टो फर्कायो । कुनामा राखिछाडेको मैलो थोत्रो काठको बाकसतिर गयो र फुकायो । एउटा पोकामा दुइटा पेडा र एउटा लड्डु थियो, एउटा स्यानो पोकामा अलिकति अबीर । भित्तामा अडाइराखेको थाल झिक्तै राख्यो । खल्तीबाट किचिमिची भएको ओइलाएको फूल झिक्यो र अर्को भित्री खल्तीबाट पचन्नी र पाँच पैसा झिक्यो ।
पहिले पचन्नी र पाँच पैसालाई अबीरले रंगायो र बाकसमाथि राख्यो । फूल चढायो ।
आमा पुलुपुलु हेरिरहेकी थिई । एकछिन विचार गर्यो । अघिल्तिर भएको पितलको कचौरामा पन्यूले ठोक्यो । ट्याङ-ट्याङ-ट्याङ। प्रार्थना गरेको व्यथित आवाज कोठामा अटेसमटेस गर्दै फैलन लाग्यो तैपनि आमा पुलुपुलु हेरिरहेकी थिई ।
लालले लाज मान्दै आमातिर नहेरीकन भन्यो, “आमा ! यसै होइन पूजा गर्ने ?”
लालले बलिरहेको दीपमा अर्को पाला ल्याएर जोड्यो । त्यो पनि बल्यो र कोठा झन् उज्यालो भयो । आमाको मुख पनि क्षणैमा झन् प्रदीप्त भयो र आमाका आँखाबाट दुई मोतीजस्ता दानाहरू गुड्केर गालाका ख्याप परेका खाल्डामा खसे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










