रतुवामाईको आकाशमा न नीलो थियो, न त उत्सवको चमक । वरिपरि गुम्सिएका बादलले गाउँलाई अझ अँध्यारो बनाइदिएको थियो । धानबाली हरियो भएर हल्लिँदै थिए, तर त्यो हल्लाइमा उमङ्ग थिएन, बरु मौनता मात्र थियो । रतुवा र बक्राहा नदी पनि अस्वाभाविक रूपमा शान्त थिए—जस्तो उनीहरूले गाउँको पीडा महसूस गरिरहेका हुन् ।

दशैंको पूर्वसन्ध्यामा इटहरी बजार रंगीन थियो । व्यापारीहरूको चर्को स्वर, बालबालिकाको हल्ला, बोका बाँधिएका टोल, अनि नयाँ कपडामा रमाएका युवती–युवक । तर हरिमायाका लागि त्यो बजार सीसाको पर्खाल जस्तो थियो—हेर्न सकिने तर छुन नसकिने ।

उनले च्यातेको पुरानो थैलो समाइरहेकी थिइन्, जसमा थोरै चिल्ला नोट र सिक्का मात्र थिए ।

“किरण, सीता, यस पालि नयाँ लुगा लिन सक्दैनौं,” उनले सुस्त स्वरमा भनिन् ।

सीताले निराश आँखाले सोधी, “आमा, सबै साथीले नयाँ फ्रक ल्याउने भनेका छन्। शिक्षकले पनि दशैंमा नयाँ लुगा लगाउने दिन भनेकी थिइन् ।”

किरणले दाँत किच्दै भन्यो, “हरेक दशैंमा हामी यसै गरी बस्छौं । अरूको घरमा मासु पाक्छ, पतङ्ग उड्छ, मिठाई बन्छ । हाम्रो घरमा खाली भोक । आमा, हामी किन मनाउँछौं दशैं ?”

त्यो प्रश्नले हरिमायाको मन चिरियो । टाढा देखिने भिमलाल साहु सुनको औंठी चम्काउँदै हाँसिरहेका थिए । हरिमायाले आँखा झुकाइन्—उनका मृत पतिको ऋण अझै भीमलालको खातामा बाँकी थियो ।

विधवा हरिमायाका लागि दशैं वर्षैपिच्छे पीडामय हुन्थ्यो । १४ वर्षे छोरा किरण गरीबीप्रति आक्रोशित, १० वर्षीया छोरी सीता भने सानो खुशीमै रमाउने । इटहरीको बजारसम्मको बाटो उनीहरूले हिँड्ने साहस गरेनन् । उनीहरूका लागि परदेशजस्तै थियो—चम्किलो, आकर्षक, तर टाढाको । हरिमायाको चूह्लो चिसो नै रह्यो ।

छिमेकी दम्बरले ऋणमा बोका ल्याए, साहु भीमलालको सुनको औंठी त्यसरी नै चम्किरह्यो ।

दशैंको दशौं दिन—विजया दशमी । गाउँभरि हर्ष, आँगनमा हाँसो, मासु, मिठाई ।

तर हरिमायाको झुपडीभित्र चुपचाप भातको सानो भाँडो मात्र उम्लिरहेको थियो । मासु थिएन, मिठाई थिएन ।

आमाले काँप्दै छोरा–छोरीको निधारमा टीका र जमरा राखिन् ।
“तिमीहरू बलिया बन, हाम्रो पीडा नदोहोरियोस्, अहिले हाम्रो दशैं संघर्षमै छ, तर एक दिन उज्यालो हुनेछ ।” उनले आँसुभित्र बुदबुदाइन् ।

किरण भने प्रश्नहरूको लाममा उभिरह्यो ।

सीताले दाइलाई सम्झाउँदै भनिन्, “ठिकै छ, दाइ। हामीसँग आमा छन्, जमरा छ, यही हाम्रो दशैं हो ।”

सीता आकाशतिर हेर्दै मुस्कुराइन्, मानौँ बादलमुनि कतै लुकेको इन्द्रधनुष खोजिरहेझैँ ।

छिमेकी दम्बरको घरबाट मासुको गन्ध, डमरुको ताल, पाहुनाको हल्ला आउँथ्यो । त्यो दृश्यले हरिमायाको मनभित्र नून थप्थ्यो ।

त्यो रात मुसलधारे वर्षा भयो । जीर्ण छानाबाट पानी चुहिँदै घरभित्र पोखिन्थ्यो । मौन नदीको गर्जन—गरीबीको पीडा झन् गहिरो । गरीबीको आवाज झन् भन्दा झन् चर्किरह्यो । बालबालिका आमासँग अडेस लागेर सुतिरहेका थिए ।

हरिमायाले मुरमुराइन्,
“यस मुलुकमा दशैं बराबर छैन । कसैको हातमा सुनका बाला, कसैको भोकै पेट । कसैले आशीर्वाद माग्छ, कसैले त केवल बाँच्छु कि मर्छु भन्ने प्रार्थना गर्छ ।”

बाहिरका नदीहरू फेरि बढ्दै थिए, मौन तर भयावह ।

रतुवामाईको आकाश अझै बाक्लो बादलले ढाकेको थियो । धानबालीले हावा पाएर हल्लिए पनि त्यसमा पर्वको उमङ्ग झल्किएको थिएन । रतुवा र बक्राहा नदी अस्वाभाविक मौनतामा थुनिएका थिए—मानौँ गरीबी र पीडाको कथामा सहभागी भएका साक्षीझैँ ।

हरिमायाको आँखामा थकान थियो । छोरा किरण अचानक ब्यूँझिन्छ र दिउँसोको प्रश्न फेरि दोहोर्‍याउँछ, “आमा, हाम्रो दशैं कहिले रमाइलो हुन्छ ?” उसको स्वरमा आक्रोश थियो, तर भोकले कमजोर बनाएको शरीर काँपिरहेको ।

बाहिर अचानक बिजुली चम्कियो । नदी जोडजोडले थरथराउन थाल्यो, मानौँ कुनै अनिष्टको संकेत । हरिमायाको मन चिसो भयो ।
उनीहरूलाई थाहा थिएन—यो दशैंको अँध्यारोमा अर्को पीडाको कथा जन्मिनै लागिरहेको छ…!