आज सुदीप सरलाई छिट्टै अफिस जानुपर्ने भएकाले हतारिएर निस्कँदै थिए । तर, हिजो राति आठ बजे मात्रै आइपुगेको गाडी धुनलाई रामेलाई समय नै मिलेन । मालिक त सात बजे नै आइपुगेकाले उहाँको गाडीलाई बेलुकाको खाना तयार पारिसकेर भए पनि धुन भ्यायो । उसले बेलुका साहू र साहुनीको टेबलमा दूध तताएर पुर्याएपछि घरको सबै काम सकेको अनुभूत गर्याे । तर, पनि खानापछि भाँडा माझ्दाओर्दा एघार त बजिहाल्छ । अब राति भयो सुदीप मालिकको गाडी चाहिँ भोलि नै धुन्छु भनेर सोच्दै रामे सुत्यो ।
“ए, रामे ! हैन ए, मेरो गाडी त सफा गरेकै छैनस् त हँ !” सुदीप सर (साहुका छोरा) को आवाज प्रतिध्वनित हुँदै माथिल्लो तलासम्म पुग्यो ।
बिहान चार बजे उठेपछि तामाको गाग्रीमा राखेको पानी साहु साहुनीको टेबलसम्म तामाकै ग्लासमा छोपेर राखिदिनुपर्छ । सुतिरहेकी रश्मिता मिसलाई कागती पानी कोठामा पुर्याइदिनै पर्याे । डेरीबाट दूध ल्याउने अनि आठ बर्से डेबिड (साहुको नाति अर्थात् सुदीप सरको छोरो) लाई दूध र पाउरोटी त कहिले ओड्स, कहिले चाकोज तयार पार्नुपर्छ । सुनैना मेमसाब (सुदीप सरकी श्रीमती) का लागि बाक्लो दूध कफी चाहिन्छ । साहुनीका लागि त के के हो ! पूजाका सामग्री माझेर ठिक्क पारिदिनुपर्छ । कुकुरको बस्ने ठाउँमा नयाँ कपडा ओछ्याउनुपर्ने हुन्छ । रामेका लागि हरेक दिनको कामको सूची निर्देशित र अनिर्देशित गरी लेख्न थाल्ने हो भने त एउटा उपन्यास जत्तिकै लामो होला ।
“हैन ए रामे ! यति बेर भइसक्यो मेरो लागि ग्रिन टि खोइ ? यसलाई कति अह्राउनुपर्ने । साढे सात बजिसक्यो । आफैँ बुझेर गर्ने बुद्धि कहिले आउँछ हँ !”
सिङ्गमरमर जडित सात तले बिल्डिङको सिँढी पुसेर बीचमा पुग्दा नपुग्दै साहुनीको कर्कस आवाजले रामेको ध्यान खिच्छ । चिसै हात छोडेर साहुनीका लागि उसले ग्रिन टि टक्य्रायो ।
मालिकनीको आफ्नै विशेषता छन् । उहाँ बाल कथाकार हुनुहुन्छ । त्रि.वि.की प्रोफेसर पनि । उहाँलाई विभिन्न अन्तर्वार्तामा बोलाइन्छ । उहाँले गरिब विपन्नका कथा लेख्नुहुन्छ । उहाँका थुप्रै कृतिहरू विद्यालय, विश्वविद्यालय तहमा पढाइ पनि हुन्छन् । बालश्रमिक विरुद्धका अभियानमा लागेबापत उहाँलाई ठूला–ठूला सम्मान समेत प्राप्त भएका छन् । तिनलाई कोठाभरी सजाइएका छन् । रामेले कहिलेकाहीँ ती सम्मानपत्र, कदरपत्रलाई पुछ्दै गर्नुपर्ने हुन्छ ।
ठूलो मान्छेको घर । सबैका आफ्नै इज्जत र स्तर छ । रामेलाई गर्व पनि लाग्छ, “म त ठूला मान्छेको घरमा काम गर्ने मान्छे ।” अनि ऊ आफ्नो झुपडीमा बसेका आमाबाबालाई सम्झन्छ । आफ्नो दाजु र भाइलाई, आफ्नी बहिनीहरूलाई केवल सम्झन्छ तर सम्पर्क छैन । कसैको हातमा फोन छैन । रामेसँग पनि छैन । कुरा गर्न चाहेर पनि मिल्दैन ।
कहिले मालिकका अफिसका मान्छेलाई त कहिले सुदीप सरका साथीहरूका जन्मदिनका पार्टीदेखि अन्य स–साना पार्टीका कार्यक्रम बन्दाबन्दीले घरमै हुने गरेका छन् । उता रश्मिता मिसका साथीहरू पनि अक्सर आइरहन्छन् । सामान जुटाउने, खाना बनाउने, भाँडाकुँडा सफा गर्ने र कपडा धुनेसम्मका कामदेखि डेबिडलाई पनि समय दिनैपर्ने मान्छे त रामे नै हो । सुनैना मेम साबका लागि भित्री कपडा बाहेक सबै धोइदिनेदेखिका कामका सूचीले रामेको शरीर र दिमाग दुवै लाबरजस्तो तन्कने र हरेक कर्कस आवाजमा शान्त हुने बानी परिसकेको छ । वासिङ मेसिन ल्याउने कुरा चलिरहेको कुरा रामेले सुनेको छ । तर, उसले बुझेको छैन, ‘यो वासिङ मेसिन भनेको के हो ?’ ऊ कसैसँग सोध्न सक्ने हैसियतको पनि त होइन तथापि, घरभरिका सबैका कपडा त धोइदिनै पर्याे ।
उता कुकुरले दिसा गर्छ । सफा गर्नुपर्यो । साहुले बिहान कुकुर डुलाएर ल्याएपछि कुकुरको स्थानमा लगेर बाँध्ने काममा तैनाथ हुनुपर्ने उसका लागि सैनिक नियमभन्दा पनि निकै चर्कै छ । मालिकलाई सुगरको बिराम छ । मालिकनीलाई प्रेसरको रोग छ । रश्मिता मिसलाई भन्टा, बन्दा, भिन्डी अरू थुप्रै मन पर्दैन । उसले सबैको चाहना र व्यवहारमा मानौँ पिएचडी गरिसकेको छ । उसलाई थाहा छ र यो पनि थाहा छ उसले सबैको गालीमध्ये सुनैना मेमको त चट्कन समेत खानुपर्ने हुन सक्छ । तर, ऊ धैर्यवान् छ । शान्त हुने मानिसमध्ये बुद्ध जत्तिकै शान्त छ ।
रामे सत्र वर्षको भयो । उसले झुप्रो बिर्सेर महलका खानदानी शैली सबै बुझेको छ ।
रामेलाई लाग्छ– ‘म त भाग्यमानी हुँ, यस्ता ठूला मान्छेको घरमा काम गर्छु ।’ एकदिन गाउँबाट कोठा लिएर बल्खुतिर पढ्न बसेका एकजना विद्यार्थी आउँदा मालिकनीले गरेको व्यहारलाई रामेले सम्झिन्छ । उनी त कोसेलीपात समेत लिएर भेट्न भन्दै आएका थिए । ‘ठूलीआमा ढोग गरेँ’ भन्दै टाउको निहुराएर आशीर्वाद थाप्दै थिए । तर, कतै कुनै कार्यक्रमबाट आउँदै गर्दा भर्याङमा भेट भएकी मालिकनीले ती आगन्तुकलाई बेवास्ता गरेको, गफ गर्ने आफ्नो फुर्सदै नभएको भनेको इत्यादि कुरालाई सम्झेर रामेलाई ठूलो घरका मान्छेको सङ्गतमा रहेको महसुस हुन्छ । जो कोहीले मालिक मालिकनीसँग भेट्नै गाह्रो हुन्छ । रामेलाई लाग्छ– म त दिनहुँ उहाँहरूको सेवा गरिहेको हुन्छु । उहाँहरू त नेपालका प्रधानमन्त्री, राष्ट्रपति, अरू ठूला–ठूला मान्छेकै मात्र कुरा गरिरहने, उनीहरूकै सङ्गत गरिरहने व्यस्त मान्छे हुनुहुन्छ । जोकोहीले त उहाँहरूको आवाज नै सुन्न गाह्रो हुन्छ, फोनमा समेत पनि ।
दश वर्ष भयो । मालिकले दया गरेर रामेलाई काममा राख्नुभएको । तलब नदिए पनि खान र लाउन चाहिँ राम्रैसँग पाएको छ । भनौँ, मीठो नै खान पाउँछ । उसले ढिँडो खानुपर्ने, भोकै सुत्नुपर्ने अवस्था पटक्कै छैन । गाउँमा बुवाआमाले लालनपालन गर्न नसक्ने भनेरै साहुको जिम्मा लाएका हुन् । रामे सत्र वर्षको भयो । उसले झुप्रो बिर्सेर महलका खानदानी शैली सबै बुझेको छ ।
दशैँताका गाउँको झुप्रे घरमा जाने बिदा पाएपछि अन्धी आमा र कुप्रा बुवासँग आपूm भाग्यमानी भएको कुरा गर्छ । उसकी तीन बहिनी क–कसकामा काम गर्दै होलान् पत्तै छैन । पाँच वर्षदेखि पत्ता नलागेकाले अब रामे तिनलाई खोज्न चाहन्छ । उसले जिम्मेवारी बोध गर्छ ।
“आरे चिन्ता नागर्नुस् ना । हाम्रा चेलीहारू पनि ठूलाठूला नेताँकाँ काममा गा’हुन् नि ! ठूला मुन्छेका घराँ त बिदा पाउनै गारो छा नि । तर, आबु त मु पनि तालब पाउने ठाम्मा काम खोज्छु । चिन्ता नागर्नुस् ना ! यो भिरको भेदाँ बस्ना कति दुःख छ । मा बुझ्छ !”
साहिँलो छोरोको कुराले बा–आमाको मनमा झिनो आशा पलाउँछ तर आमाको ममताको डोरो कोमल हुनुपर्ने ठाउँमा भइसक्यो । गरिब आमाको मन त रुखो नै हुनुपर्छ । चाहेर पनि चाडबाडमा सँगै हुने र आफ्ना सन्तानको लाडप्यारमा रम्ने भाग्य तिनमा छैन ।
रामेका दुई दाजुमा जेठोचाहिँलाई निमुनियाले लगिसक्यो । आमाबाबुलाई त भगवान् भरोसा, दैवको खेला भन्ने कुराले मनलाई थम्थम्याउने बाटो छँदै थियो । माइलो दाजुलाई एकजना तत्कालीन क्रान्तिकारी नेताले सत्तामा पुग्ने बित्तिकै घरमा काम गर्ने नभएपछि लगेका थिए । उसको पनि आजसम्म केही खबर छैन । सायद बाँचेकै होला । कोरोना महामारीले सताएको छ, छैन– त्यो पनि थाहा छैन ।
“होइना ए रामे, तो हाम्रो नेपालाँ लोकतान्त्रा आ’छ भन्छान् नि । दुःखी हुनु पार्दैना भान्छन् त । हामी गरिब दुःखीले परिवारमा साँगै बासेर खानु पाउँदैना ! साबै जनासाँगै बस्न नापाउँदै हामी बित्ने भयो । तुँ तो शाहार बासेको मुन्छे । था’होला नि !”
रामेलाई अचम्म लाग्छ । मेरी आमाले पनि यत्तिको विचार बुझ्ने क्षमता राख्नुहुने रहेछ । उसलाई धेरै कुरा थाहा नभए पनि देशमा परिवर्तन भएको छ भन्ने हेक्काचाहिँ अवश्य छ । हो, चन्द्र शमशेरले हटाएको दासप्रथाको बारेमा, आज सिद्धान्तमा कोरिने मानव अधिकार अनि बालअधिकारका बारेमा चाहिँ त्यति धेरै ज्ञान छैन । तर, ज्ञान भएरै पनि उसले के नै गर्न सक्छ र ! उसले मालिकको घरमा बसेर काम नगरे पेटको जोहो कसरी गर्न सक्ला र ! भन्नेले त एक दुई दिन भन्लान् र त्यो दासताबाट मुक्ति देलान् तर बाँकी दिन कसरी जिउने भन्ने आधार समाप्त हुन्छ ! रामेले भाग्यरेखा कोर्न नसकेर टेक्ने न समाउने भएर सडकछाप हुनुपर्छ । अनि, रामेको बाध्यताको मूल्य नै कति हुन्छ र ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।