मैले भनेकै थिएँ– मलाई १०३ नं को कोठा हुँदैन भनेर । यो कोठाले मलाई सताउनु सताएको छ । मैले कोठाको झ्यालबाट फाल पनि हालेको थिएँ । सुतिरहेको कुकुरमाथि बजारिएँ । हो, हो, सपनामै हो । झसङ्ग बिउँझिएर उठेर हेर्दा बाहिर गल्लीको कुकुर अगाडिको दायाँ खुट्टा खोच्याएर चुइकिँदै भागिरहेको थियो । केटाहरूले ब्याउने कुकुरलाई ढुङ्गा हिर्काएछन् । मरेस् !
सुतेर के पो कथा लेखिन्थ्यो ! तर लेख्दै गरेका कथा पनि त आधामै मरिजान्थे । कथाको प्राण फुस्किएपछि मैले सबै पात्र भेला गराएर पुलबाट हाम्फाल्न लगाइदिन्थें र कागज टोकरीमा मिल्काइदिन्थें । मैले लेख्दालेख्दै आफ्नै बुद्धि पलाएर मलाई घिच्याई घिच्याई कथा लेखाइरहने पात्रहरूलाई कसरी जिउँदो छाडूँ ? भन्नुस् त ! ती त जिउँदा भूत हुन् । लेखककै ज्यान ताक्ने, उसकै कल्पनामा जन्मने अनि उसैलाई उल्याउने ! बेकुपहरू !
म कथा लेख्थें तर तावाको रोटी खान लज छोडेर बाहिर जानुपर्थ्यो । त्यतिन्जेल कथाका पात्रहरू बहुलाइजान्थे हेर्नुस् । म सोफ र मिश्रीका दाना कुचुकुचु चपाएर फर्कंदासम्म पात्रहरू हुलिया बदल्थे, घुम्न हिंडिदिन्थे, आफैआफै सल्लाह गरेर मलाई एक्लो छाडिजान्थे । अनि लजमा जेनेरेटर पनि थिएन । टर्चले खोज्दा पात्रहरू किचक्क जस्तो हाँस्दै कताकता लुकिजान्थे । बेइमानहरू ! अनि एकएकको नाम काढेर मैले लेख्नुपर्थ्यो–
बबिता, रहमान, तेजु, धवीलाल, फनबहादुर र सेराज एकाबिहानै जो जो जहाँ जहाँ पुगेका थिए, सबै ड्यामसाइडमा जम्मा भए । कसैले दाँत पनि माझ्न भ्याएका थिएनन् । पानी पनि पिउन पाएका थिएनन् । सबै भोका थिए । निद्राले चुर भएर बाटोमा पछारिंदै उठ्दै गरिरहेका थिए । उनीहरूले आफू को हुँ भन्ने सम्म पनि बिर्सिसकेका थिए । त्यति नै बेला नदीको भित्र गहिरोबाट उनीहरू सबैलाई कसैले बोलाइरहे जस्तो लाग्यो । पानीबाट आएको वाणी जस्तो । अनि त सबै त्यसैको सम्मोहनमा परे । अनि एकएक गर्दै उनीहरू नदीमा झ्वामझ्वाम हाम्फालेको देख्ने कोही थिएन । उनीहरू त्यसपछि कहिल्यै घर फर्किएनन् । मर्नेबेला उनीहरूको घर थिएन ।
पात्रहरू नदीमा । कथा रद्दीको टोकरीमा !
मेरो आफ्नो शहरमा स्कूल आउँदाजाँदा त्यो लजमा हामी इन्डिया जाने नेपालीहरूको भीड देख्थ्यौं । अर्को दिन रेल समात्नुपर्नेहरू । त्यो दिन बास बस्नुपर्नेहरू । देउराली होटेल एण्ड लजको साहूसाहूनीलाई ती नेपालीहरूले टीनको बट्टामा पहाडको जमेको घिउ र मह ल्याएर दिन्थे । प्लास्टिकमा पोका पारेका बेसार, अदुवा, मेथी, टिमुर कोसेली छाडिजान्थे । अनि त साहूसाहूनीको अनुहार रातोपिरो हुन्थ्यो ।
त्यो लजमा एकरात बम्बईको कलाकार पनि बसेको थियो रे । ढोकापछाडि किलामा लेदरको ज्याकेट छोडेर गएको थियो रे । त्यही कोठा नं १०३ मा ।
उसको हुलिया साहूसाहूनीले ब्लाक एण्ड वाइट टिभीमा आउने धारावाहिकमा खोजेका थिए । भेटिए पो ! कोहीकोहीले ऊ त अन्डरवल्र्डको डन हो पनि भन्थे । बम्बईलाई थाहा होला ! अनि एकाबिहान खबर आयो– लजमा केटी झुन्डेर मरीदिई । पेटमा बच्चा भएको । कोठा नं १०३ ।
त्यो दिनबाट त्यो लजको दुःखको दिन शुरू भयो । पहाडको महक ल्याउने मान्छेहरू आउन छोडे । साहूलाई रोगले च्याप्यो । एकपल्ट बम्बई पनि गएका थिए रे जाँच गराउन, घिउँमह दिने नेपालीहरूकोमा । एकहप्ता बसेर बिरामी ज्यानको दुईकिलो मासु र झोलीको पैसा सकेर पो आएका थिए रे । कोठा नं १०३ र अरू सबै ह्वाङह्वाङ भए । कमाइ सुक्यो । अनुहारको तेज घट्यो । झ्यालहरूमा परेवा र भँगेराले गुँड लगाउन थाले । अँध्यारो अनुहार लिएर बिरामीको स्याहार गरिबसेकी साहूनीलाई मान्छेहरूले वेश्या पो भन्न थाले । उनीहरू होटेल बेचेर जानेबेला रुँदैरुँदै गएका थिए । बसको झ्यालमा रुँदै टाटा गरेको त मैले पनि देखेको हो । आजभोलि त्यो होटेल एण्ड लजको नाम अर्कै छ । तर होटेल बास दिने होइन सहवास गर्ने घण्टे होटेल भएको छ । बुझ्नु हुन्छ नि ? त्यो होटेलमा कथा लेख्न बस्दा, म पुराना कुराहरू पो सम्झना भइजान्छ भन्ने लोभले डराईडराई बसेको थिएँ– रुम नं १०३ मा । झिसमिसैमा घरबाट पूर्व घुम्न जान्छु भनेर पाँचसय मिटर परको लजमा गएर म एक हप्ता बसेको थिएँ– गुपचुप गुप्तबासमा । त्यहीँबाट हो यो सब शुरू भएको ।
साला यो विरानो शहरको लजमा कुनाकुनाबाट ढुसी गन्हाएको छ । कथा यहाँ पनि लेखिन्न । घोप्टो परेर सुत्यो डसना गन्हाएको छ । उत्तानो परेर निदायो ब्ल्यान्केट गन्हाएको छ । यो गन्ध तपाईंलाई बुझाउन मैले हप्तादिन लगाएको मोजा, सडेको अन्डा, कुहिएको प्याज, मरेको मुसा, ननुहाएको अघोरीको काखी, सलफरिक एसिडको वाफ जस्तो के के मिसिएको जस्तो भनूँला, तर यहाँ आएर नाक नजोतेसम्म यो यस्तो हो भनेर थाहा हुन्न । तपाईंलाई कसरी बताऊँ ! यहीँ आउनुस् । घरबाट निस्किएर साँझ बस चढ्नुभयो भने, एकाबिहानै ५:५० बजे बसले तपाईंलाई राजमार्गमा अलपत्र छोडेपछि तपाईं सस्तो लज चहार्दै जहाँ आइपुग्नुहुन्छ, यो त्यहीँ लज हो । कोठा नं १०३ ।
“बाहिर ढोका ढक्ढक्याउने तपाईं हो ?” होटेलको भाइ रहेछ ।
“कति दिन बस्छौ ?”
“अलि दिन । एउटा कथा सकेर जान्छु घर । मलाई कथाले अभर गर्यो । कि यो कोठाले हो ?”
निद्रामा हराएको दिन म अबेरसम्म सुतेछु । असामान्य भएपछि मान्छेहरू मान्छेहरूलाई शङ्का गर्छन् । दुईदिन कोठाबाट ननिस्किएपछि साहूजीले केटाहरूलाई ढोका ढक्ढकाउन लगाए । बत्ती बालेको थिइनँ ।
“पानी चाहिन्छ सर ?”
“छ ।”
“कोठा साफ गर्दिऊँ ?”
“हुन्छ ।”
साहूजी टुथपिकले दाँत कोट्याउँदै सबै हेरिरहेका थिए, टाढाबाट । कोठा साफ भयो । साहूजी ढोकानिर आए ।
“तपाईं के गरिबसेको ? भोक लागेको छैन ?”
“म, म… म ध्यान गर्दैथिएँ । भोक त लागेको छ ।” “ल आउनुस् न त । कोठामा ताला पर्दैन, आउनुस् । अनि ध्यान गर्नेलाई भोक लाग्दैन ?”
“म कथाको ध्यान गरिराथेँ ।”
“हँ ? कथा ? कस्तो कथा ? दन्त्यकथा ? हैन । ल जस्तो कथा भए पनि, खाना चाहिँ खानू । मेरो लजमा भोकभोकै मर्नुभयो भने, मेरो पो कथा छापिन्छ ।”
“कहाँ ?”
“पत्रिकामा ।”
त्यो होटेलको कोठा नं १०३ मा मैले कथा लेखेर सुत्ने कोशिश गरेँ । कथा सपनामा देख्ने, उठेर बिर्सनुअघि सिरानछेउको कागजमा लेखिहाल्ने । जागेर नलेखेको कथा, सुतेर आउँछ भन्नेमा म पक्का थिएँ । निदाएँ । उठें । भात खाएँ । निदाएँ । उठें । निदाएँ । उठें । मरिगए सपना देखिँदैन । के हो गर्ने ! होटेलका केटाहरूले कागजको चिर्कटमा फोन नम्बर ल्याएर झ्यालभित्र हुलिदिए ।
“अप्सरा – ९८..००१ ।”
“आवाराहरू !”
“परी – ९८…००२ ।”
“म त्यस्तो मान्छे होइन ।”
“कोमलिका – ९८…००३ ।”
म कथा लेख्न आएको हुँ । उनीहरूको कमिशन होला । डाकाहरू ! यिनीहरू खानामा भात, रहरमा मान्छे खान्छन् । सपनामा कथा आउँदैन । अप्सरा, परी, कोमलिकाको हाँसोले निद्रामा मेरा पात्रहरू नाङ्गो पाउ दगुरेर भाग्छन् । छेउ पर्दैनन् । उताको कोठामा भुइँचालोले खाट हल्लाएको छ । रातको ओढारमा मान्छेहरू स्याँफ्याँ गरिरहेका छन् । उताको कोठामा ठिस छ । जाने हो ? निद्रामा धोका भयो । छायाजस्तो सलबल सलबल गरेर पात्रहरू बिलिन भइगए ।
ढोका ढकढक गर्छ ।
“भात खाने हैन दाइ ?” मान्छे त मर्यो क्या हो । “जाँठाहरू !”
यहाँको टोइलेटमा छेस्किनी छैन । ढोका पसाङ्ग्रिएर खोल्दा–उघार्दा घर्याक्क गर्छ । माथि कुनामा भएको जालोमा माखा मरेर सुकेका छन् । एउटा लामखुट्टे सुकेर खिक्रिक्क परेको छ । सँगै जालो लगाउने माकुरा पनि समाधिस्त भई बसेको छ । टोइलेट माथिको सानो झ्यालबाट हावाको झोक्का आउँदा जालो हल्लिन्छ । मरेकाहरू सबै जालोमा हल्लिन्छन् । यिनीहरूको कसलाई चासो छ ?
टोइलेटमा कसैले साबुनको टुक्रा र सानो पोकाको आधा स्याम्पु छोडेर गएको छ । त्यस्ता मान्छे भलाद्मी हुन्छन् जो अन्जान होटेलमा अरुका लागि साबुनको टुक्रा र स्याम्पु छोडेर जान्छन् । भित्तामा ¥याल, सिगान, खकार, वीर्य, गुहु, मूत के पुसेका हुन् थाहा छैन । तर कोठा नं १०३ को भित्ता हेरिनसक्नु छ । यो कोठामा आएर बसेकाहरूको कथा लेख्ने कोशिश पो गर्न सकिन्छ कि ? अथवा म केही दिनमा यहाँबाट गएपछि आएर बस्नेहरूको कथा । म उनीहरूको लागि साबुनको टुक्रा र स्याम्पू छाडेर जानेछु ।
झ्यालबाट फाल हालेको दिनपछि मैले फेरि अर्को सपना देखें । पङ्खामा तुर्लुङ्ग झुन्डिएको । तर कोही झुन्डिएको थिएन । पङ्खामा फनफन सारी घुमिरहेको थियो । गज्जबको नीलो सारी । सपनामा देखेका रङहरू गज्जब हुन्छन् नि । अचानक ब्याउने कुकुर सारीमा लट्पटिएको थियो । अर्को क्षण कुकुर सारी लगाएर बगैंचामा छाउराछाउरीहरू लिएर डुलिरहेको थियो । बगैंचाको बीचमा मान्छे उभिएको थियो । मेरै अनुहारको । कुकुरले गएर मान्छेको खुट्टा चाट्न थाल्यो । छाउराछाउरीले पनि खुट्टा चाट्न थाले । चाट्दाचाट्दै कुकुरहरूले मान्छेलाई कोपर्न पो थाले । मान्छे चिच्याउन थाल्यो । म उठें । मबाट अचम्म भएको थियो, त्यो लजमा । मैले तीस वर्षपछि कट्टुमा पिसाब फेरेको थिएँ । मैलै कोठा नं १०३ छाडें । र, त्यही साँझ टाढा जाने बस समातेँ ।
घण्टे भएपछि हाम्रो शहरको त्यो होटेल एण्ड लज बदनाम भयो । हुल्लडहरूको अड्डा भयो । बियर खाएर रातभर वाक्नेहरूको ठेगाना भयो । उमेरले शरीर ताक्दै आएपछि केटाकेटीहरूलाई एकअर्काको अगाँलोमा निर्धक्क नटाँसिई भएन । अनि त्यहाँ एकान्त किन्न पाइने भयो । उज्यालो नपस्ने पर्दाहरूको छेलमा कतिको कुमारत्व, कुमारीत्व भङ्ग भयो । कतिको गर्भ बस्यो । शहर छोडेर भाग्न पर्यो । एड्स सर्यो । ब्लुफिलिम डेकबाट हेर्न चासो राख्नेलाई साइत जुर्यो । विदेशी केटीहरूसँग केटाहरूको हुरुक्क प्रेम बस्यो । कोठाहरूमा सुई हान्नेहरू मदहोस भएर सुते । पारीबाट ल्याएर गोटी खाने भित्तीहरू अँध्यारो कोठाको भित्रभित्र, अझ अँध्यारो, अझ अँध्यारोमा पसे । उनीहरू होटेलको खुड्किलाहरूमा चङ्गामा बसेर उक्लिए, बमबम गर्दै फेवातालको डुङ्गामा बसरे तल ओर्लिए । होटेलमा पुलिस पस्न थाले । मामाघरको चिस्यानमा ढाक सेकाउन गएका केटाहरू अर्को दिन घरको भात खान छुटेर गइजान्थे । तिनले पाइखाना बस्दा जिन्दगीलाई चूरोटको ठुटोमा उडाइदिन्थे । ठास्ने ! जाने हो । खाने हो । अनि त ल्वाङ सुक्मेल सुपारी मिश्री बस्ने होटेलको काउन्टर खाली हुन थाल्यो । लजमा चूरोट पाइन थाल्यो । फ्रीजमा वियरहरू भरिन थाले । काम गर्ने केटाहरूले कन्डम किनेर ल्याइदिन थाले । मोबाइल नहुनेहरूलाई बहालमा गएर बोलाइदिन पो थाले – कोठा नं १०३ मा ग्राहक आएको छ है । छिटो आउनू ।
त्यही लजको कोठा नं १०३ मा म कथा लेख्न बसेको थिएँ । चिनेका मान्छेहरू लजमा आकलझुकल देखिन थाले । झ्यालको पर्दाबाट लुकेर हेर्दा नदेखिनुपर्ने चीजहरू देखिंदा रैछन् । तपाईं नहुनुपर्ने ठाउँमा आएपछि नदेखिनुपर्ने कुराहरू देखिन्छन् । गलत ठाउँमा गलत समयमा तपाईं लुकेर बस्नुभयो भने जिन्दगीका भयानक कुराहरू देखिंदा रैछन् त । त्यो लजमा कुनै कथासथा लखिएन । मान्छेहरू कथामाभन्दा पनि डरलाग्दा हुन्छन्, मान्नुस् यो कुरा । केटी झुन्डेर मरेको त्यही कोठा नं १०३ को अँध्यारोबाट मान्छेहरूलाई मैले लुकेर हेरें । धन्न म त्यो अँध्यारोले बिरामी भइनँ । कि भएँ ?
होटेलको साहूजीले फेरि केटाहरू पठाए । “तपाईंको कथामा मलाई पनि राख्नुस् न । हुँदैन ?”
“किन ? मेरा कथाहरूमा पात्रहरूको ज्यान जोखिममा हुन्छ ।”
“मलाई अमर हुने खालको केही बनाइदिनु न । मलाई काल र अस्पतालसँग खूब डर लाग्छ लेखकज्यू ! कस्तो हगि– मर्ने रे, बाँच्ने रे ?”
खाना खाएर हिजो कोठामा फर्किएपछि एउटा कथा फुर्योः
बबिता, रहमान, तेजु, धवीलाल, फनबहादुर र सेराज पानीबाट पौडिएर निस्किए । उनीहरू निर्जन टापुको किनारमा आइपुगेका थिए । टाढा आकाशमा चराहरू उडिरहेका । टापुको जङ्गलमा बाँदरहरू कराइरहेका, मच्चिएर रूखरूखमा फाल हालिरहेका थिए । बबिताले यस्तै टापुमा मान्छे हराएर कतिवर्षसम्म एक्लै बस्नुपरेको एउटा फिलिम हेरेकी थिई । उसले कथा पूरै सम्झिन खोज्दै थिई । रहमानले सानोमा ढुङ्गा ढुङ्गा जुधाएर झिल्को निकालेको थियो । मिर्लिक्क गरेर पिर्लिक्क हराएको । उसलाई त्यस्तै यादको झिल्को आयो । सबको शरीरमा काँप छुटिरहेको थियो । तेजुले धेरै वर्ष पहिले मामाघर जाँदा रूख चढेर दाउरा झारेको थियो । उसलाई जङ्गल देख्दा त्यै याद आयो । धवीलालले तीनदिनसम्म भोकै बसेर घरमा घुर्की लगाएको थियो । उसलाई तीनदिनसम्म बाँच्छु भन्ने भयो । सेराजले नालामा माछा मारेको थियो, टर्च बालेर । फनबहादुरले बाँकीको मुख हेरिरहेको थियो ।
कथा लेख्दै गएपछि राती एउटा यस्तो बेला आयो जब मलाई मेरा पात्रहरू जङ्गलमा लुक्न थाल्दैछन् जस्तो लाग्यो । उनीहरूलाई मैले फल खान दिएको थिएँ । जिउँदै राखेको थिएँ । उद्धार गर्ने पानीजहाज पठाउँला भनेको थिएँ । रहमानले आगो बालेको थियो । तेजुले दाउरा जम्मा गरेको थियो । धवीलाल र सेराज भएर माछा मारेका थिए । फनबहादुर बगरमा बसेर क्षितिजतिर हेरिरहेको थियो– कुनै पानीजहाज पो आइहाल्छ कि भनेर । साँझ जब आगो वरपर उनीहरूलाई मैले जम्मा गरेको थिए, थाहा छैन बबिताले सबैको कानमा खै के के पो भनिदिई । भनिदिई कि– यो कथामा रोमाञ्च छैन ।
यो लेखकलाई केही आउँदैन । समय बर्बाद गरिरहेछ । हामीलाई हुर्काउन आउँदैन भने हामीलाई किन जन्माउनु ! बत्ती गयो । त्यतिखेरै पात्रहरू जङ्गलमा भागे होलान् ।
बत्ती आउँदा म एक्लो भएँ । म धरधरी रोएँ । पात्रहरूहरूले छोडी गएपछि लेखक एक्लो हुँदो रैछ । फनबहादुर किनारतिर भेटिन्छ कि भनेर हेरें । मैले उसलाई आफ्नो खास पात्र मानेको थिएँ । अरू मरे पनि उसलाई बँचाइराख्छु भनेको थिएँ । सोझो मान्छेको रिस कडा हुन्छ । मलाई घनघोर रिस उठ्यो । रातको अन्त्य गर्नु थियो । दिनहरूलाई अघि तान्नु थियो । मैले काँप्दै फेरि लेख्नुपर्योः
बबिता, रहमान, तेजु, धवीलाल, फनबहादुर र सेराज एकाबिहानै जो जो जहाँ जहाँ पुगेका थिए, सबै चार खुट्टा टेकेर फिंज काढ्दै बगरको ठूलो ढुङ्गा छेउमा आइपुगे । टापुको फलमा बिख थियो । उनीहरूले गुलियो भनेर खाएको फलमा भ्यागुताले बिखालु पिसाब फेरेको थियो । पानीजहाज सयसय माइलसम्म पनि थिएन । सबको गला सुकेको थियो, समुद्रको पानीले नभिज्नेगरी । आँत थरथर काँपेको थियो । बगरमा सबै लत्रिगएका थिए । बिख शरीरको अङ्गअङ्गमा सल्किसकेको थियो । बबिताले सबैभन्दा बढी फल खाएकी थिई । उसको पहिले प्राण गयो । सबैको एक एक गर्दै सास गयो । फनबहादुरको खुला आँखाले क्षितिजतिर हेरिरहेको थियो । क्षितिजमा उसको घर थिएन ।
सबै पात्र मरिगएपछि म रातीको दुईबजेसम्म रोइबसेको थिएँ । पल्लो कोठामा अप्सरा, परी र कोमलिकाहरू हाँसिरहेका थिए । छेउमा बस्ने केटा एकोहोरो एफएम सुन्छ । मुखमा चूरोट च्यापिरहेको हुन्छ । होटेलका केटाहरूसँग उसको दोस्ती भएको छ । दिउँसो हलमा बसेर पहेंलो भइसकेको उपन्यास पढ्छ– क्राइम एण्ड पनिस्मेन्ट । साँझ मःमचा खान जान्छ । रातभर अगाँलोमा हाँस्छ । हा हा हा । त्यहीबेला हावाको झोक्काले मेरो कोठाको ढोका ढ्वाङ्ग उघारिदिएको थियो । जाऊ जाऊ । हाँसेर बाएका मुखहरूमा मेरो तातोतातो आँसु पो खस्यो कि कुन्नि ।
यो कोठामा प्राण छैन । बत्ती निन्याउरो बल्छ । पङ्खा भोल्टेज कम भएजस्तो क्वाइ क्वाइ बटारिइरहन्छ । झुलमा प्वाल छ, सात ठाउँमा । सिलिङको कुनामा गई बसेका लामखुट्टेहरूको जाँगर छैन । पलङको गोडा चुइँकन्छ । धारामा आँसु जत्तिकै पानी आउँछ– पातलो । चर्पी बस्दा भन्दा धुँदा धेरै समय लाग्छ । यो कोठा नं १०३ म जस्तै वास बस्ने मान्छेहरूलाई कुर्दाकुर्दा वृद्ध भएको छ । क्लान्त भएको छ । रोगी भएको छ । भएर पनि रित्तो जस्तो छ । भित्ताको रङ खुइलिएको छ । प्लास्टर ओसले पटपट फुट्न थालेका छन् । यस्तो जीर्ण कोठामा कसरी कथा लेखिन्छ ? भन्नुस् त । ट्वाल्ल आश गरेर बसेको कोठा । तर यहाँ आएका मान्छेहरूको झोलामा कोसेली के पो होला र कोठालाई दिन ? काइँयो होला, तेल के होला ! दशपाँचका नोट होलान्, हजारको के होला ! यो कोठा नं १०३ साह्रै दुःखी छ जस्तो लाग्छ । बसले छोडेका, घरबाट फिरेका, गाउँ छोडिहिँडेका मान्छेहरूलाई सुतिरहँदा यो कोठाका भित्ताहरूले रातभर दिनभर हेरिबस्छ जस्तो लाग्छ । जस्तो मलाई । सुस्ताउँदा पनि थाकेका मान्छेहरूको थकाइ यो कोठामा कैद भई बसेको छ । त्यै भएर त होला, यो कोठा यस्तरी पसिना पसिना गन्हाएको ।
टाढा जाने बस समाते पनि आफूबाट त कहाँ भागिजाने हो र ? सपनामा एउटा बसमा चढेको थिएँ । ओ कता हो डाँडा भञ्ज्याङतिर गको छ, खोचतिर गको छ, खोला तरेको छ, सम्ममा तुफान कुदेको छ । लास्ट स्टपमा ओर्लिने मै मात्र छु । बसमा कोही डा«इभर छैन । स्टपको नाम छ– कथापुर ।
ह… भन्ने कथा, सासैमा अड्किए, मनैमा अल्झिए
सुन्ने जन तिर्खाले मरिगए, मनको मसी मनमै सुकिगो !
कथापुरको पीरको भारी साह्रै गाह्रो भो ।
ह… देख्ने रहर, आफैलाई शत्रु भए, मायालाई थोत्रा भए
मिल्ने जन घर छोडी उठीगए, मनको दैव धनले पुरियो !
कथापुरको ऋणको भारी साह्रै गाह्रो भो ।
ह… लाग्ने भोक, घरभरि सल्कियो, ज्यान खान पल्कियो
बोल्ने जन अभरले छुटीगए, झुल्के घाममा चिसो बढी भो !
कथापुरको निदको भारी साह्रै गाह्रो भो ।
ओर्लिने बित्तिकै गाइनेले यहीँ गाएर सुनायो । पाँच रुपियाँ दिएँ । उसले त्यसमा एक रुपियाँ थपेर मलाई फिर्ता गरिदियो । म फेरि गाडीमै उक्लिएँ । ड्राइभर नभएको गाडीले मलाई लिएर ओ कता हो कता डाँडा भञ्ज्याङतिर, खोँचतिर, खोलातिर, सम्म बाटो हुँदै राजमार्गमा ल्याएर छोडिदियो, बिहानको ५:५० बजे । निद्राबाट बिउँझिदा घडीमा ५:५१ बजेको थियो । त्यो साँझ लजबाट निस्किएर म फेरि डिलक्स बस चढेको थिएँ– झ्याल खोलेपछि हावा सरर… चल्ने । हिंडेको धेरैबेर भएको छैन, कसैले झ्याल खोलेर बान्ता गर्न थाल्यो । कुदिरहेकै गाडीमा । मेरो मुखभरि छिट्टा आयो । उठेर हेरेको गाडीमा ड्राइभर छैन । गाडी त पूरै खाली छ । सपनामाथि सपना खापिएर आएको थियो । आफै कुदेको गाडीले मलाई राजमार्गमा एकाबिहानै छोडिदियो । म बिउँझिएको कोठा नं १०३ मा म यस्तै त्यस्तै त आइपुगेको थिएँ । कथा लेख्न घरबाट भाग्नुपर्छ भनेर ।
हाम्रो शहरको घण्टे होटलमा म एकहप्ता गुप्तबास बस्दा मलाई कोठामा झुन्डेर मरेकी त्यही केटीको कथा लेखूँलेखूँ पनि लागेको थियो । मैले लेखिनँ । बम्बई हिंडेका नेपालीहरूको कथा । त्यो पनि लेखिनँ । अब किन लेखिन भनूँ । मलाई आएन । पर्दापछाडि लुकेर हेर्दाहेर्दा मलाई अन्धकारको भूतसवार भयो । शान्तिले नलेखिएको कथा, अन्धकारले पो फुर्छ भन्ने भयो । के हुन्थ्यो ! म घर फर्किएपछि एकोहोरो भएको थिएँ । फेरिफेरि फर्किएर त्यही लजको कोठा नं १०३ को खाटमा अनन्तकालसम्म पसारिरहन पाऊँ भन्ने मनमा आउन थाल्यो । अनि मैले आफ्नो कोठाको ढोकामा किल्लाले खोपेर लेखें – कोठा नं १०३ । मैले कोठालाई आफ्नै घरमा ल्याएको थिएँ । नम्बर आयो, कोठा आएन । घरको शान्तिमा कथा नफुरेपछि हो म हिंडेको । कोठा नं १०३ मा कैद भएको कथा कतै भेटिन्छ कि भनेर । त्यसमा कसको कथा होला ? वास बस्नेहरूको ? म आफैं कोठा नं १०३ मा नबसी नआउनेहरूलाई नबस्नेहरूले नभएकाहरूको कथा जस्तो के गरी पो सुनाउनु त ! बस चढ्यो, हिंड्यो । कोठा नं १०३ लजलजमा छन् त । आँ गरेर बसेका ।
बबिता, रहमान, तेजु, धवीलाल, फनबहादुर र सेराज हिजो माफी माग्दै सपनामा आइपुगेका थिए । अबदेखि जे जे भन्छौ, त्यति मात्रै गर्छौं, बरालिदैनौं भनेर बाचाकबोल हाले । म बगरको ठूलो ढुङ्गामा बसेर सबैको कुरा सुनिरहेको थिएँ । टाढा क्षितिजमा पानी जहाज टिलपिल टिलपिल गरिरहेको थियो । यी पात्रहरू मरेर मर्दैनन्, बिर्सिएर बिर्सिंदैनन् । यिनीहरू जन्मेपछि मर्न जान्दैनन् । यिनीहरू पानीको गहिरोबाट पनि माथि आइपुग्छन्, बिखालु फलले मरेर पनि बौरिहाल्छन् । लेखकले खेद्दैमा यिनी हार मान्दैनन् । म यस्तैत्यस्तै सोचिरहेको थिएँ । बबिताले कानमा आएर भनी– “म तपाईंलाई प्रेम गर्छु ।”
जीवनमा प्रेमको अभाव कति रैछ भने, म त रुन थालेछु । सबैले आएर सम्झाएछन्– “तपाईंको हामी छौं नि । हामी सबै तपाईंलाई प्रेम गर्छौं । हामीलाई पानीजहाजमा घर पठाइदिनुस् । घर छैन, घर दिनुस् । परिवार पनि दिनुस् । मान्छेलाई मान्छे चाहिन्छ सर ।” अनि सबै पानीजहाजमा चढेर घर गए ।
० ० ० ०
आज बिहान बल्ल यो कथा लेखिसकियो । लजको साहूजीले बिहान मलाई खुशी भएको देखेर सोधेका थिए– “कथा पूरा भयो सर ? मलाई पात्र बनाउनुभयो ?”
“अँ । तपाईको नाम फनबहादुर है ।”
त्यही दिन साँझ मैले कोठा नं १०३ छाडें । बस चढेर घर फर्कंदा मलाई मीठो निद्रा लाग्यो । आनन्द भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ माघ २०८२, शुक्रबार 










