हुन त रमेश भैरहवाका बासिन्दा थिए तर ऊ काम विशेषले पोखरा आउने गर्दथ्यो । आज ऊ बसबाट भैरहवा जाँदै थियो । उसको छेउको सीटमा एउटी सुन्दर युवती बसिरहेकी थिइन् । उनलाई पनि भैरहवा जानु थियो ।
ति सुन्दरी लगभग २५ वर्षको हुनुपर्छ । यी सुन्दरीको गोरो रंग र गोलो आकर्षक अनुहार देख्ने जो कोहीले पनि उनको प्रशंसा नगरी बस्न सक्दैन थियो होला ।
दुवै जना आ-आफ्नो सीटमा बसेर मैगजीन पढिरहेका थिए । जब बस काठमाडौं शहरबाट निस्केर नागढुङ्गा पुग्यो, यात्रुहरूलाई बसले एक एक बोत्तल पानी दियो । दुवैले आ-आफ्ना पानीको बोत्तल समात्दै एकअर्कालाई हेरेर मुस्कुराए ।
“हाइ, म रमेश !” रमेशले वार्तालाप शुरुवात गर्दै भन्यो ।
“म शोभा !” जवाफमा युवतीले भनिन् ।
साथमा ल्याएको खाने कुरा खाँदै दुवै जना कुरा गर्न थाले ।
केही समयपछि जब बस नौबिसे पुग्यो, दश मिनेटको लागि रोकियो । रमेश तल ओर्लेर चिया पियो र शोभाको लागि पनि एक कप चिया लिएर बस चढ्यो ।
केही समय पछि, बस कुरीनटार पुग्नै लागेको थियो, अचानक रोकियो । केही यात्रुहरू सुतिरहेका थिए भने केही जागा थिए । बस अचानक रोकिने बित्तिकै, सुतेका यात्रुहरू पनि ब्यूँझिए । शुरूमा यात्रुहरूले बस रोकिनुको कारण एकअर्कासँग जान्न खोजे, तर वास्तविक कारण कसैलाई थाहा थिएन ।
कन्डक्टरले भन्यो, “अगाडि कुनै दुर्घटनाका कारण बाटो जाम भएको छ र जाम हट्न समय लाग्न सक्छ ।”
केही समयपछि बसको एसी पनि बन्द भयो । गर्मीको दिन थियो । धेरैजसो यात्रीहरू बसबाट ओर्लिए ।
रमेश पनि तल ओर्ल्यो । तर शोभा बसमै बसिरहिन् । उनले झ्याल खुलै राखेकी थिइन् । रमेशले शोभालाई हेर्यो, ऊ चिन्तित छ भन्ने महसूस रमेशले गर्यो र भन्यो, “बाहिर शीतल छ, तल आऊ ।”
शोभा बसबाट ओर्लिन् तर धेरै चिन्तित देखिइन् । रमेशले उनको चिन्ताको कारण जान्न खोज्दा उनले भनिन्, “भैरहवाको बस स्ट्यान्डमा मलाई लिन आफन्त आउँदै हुनुहुन्छ । अब थाहा छैन बस कहिले पुग्छ । उनीहरू रातभर बस स्ट्यान्डमा पर्खन सक्दैनन् । आज रातिसम्म मलाई भैरहवा नपुगी भाछैन, धेरै जरूरी छ ।”
“यस्तो समस्या आउला भनेर कसैले सोचेको थिएन । चिन्ता नगर्नुहोस्, आफन्तहरूलाई फोन गरेर उनीहरूलाई सबैकुरा भनेर नपर्खन भन्नुहोस् । कतिबेला जाम खुल्ने निश्चित छैन । जाम खुलेपछि मात्र कुनै विकल्प सोच्न सकिन्छ ।”
शोभाले आफन्तलाई फोन गरिन् । उनको आँखा आँसुले भरिएको थियो । रमेशले सजिलै देख्न सक्थ्यो ।
रमेशले सोध्यो “सबै यात्रुहरू अलपत्र परेका छन् । सबैलाई भैरहवा जानु छ … बाध्यता छ … कुनै समस्या छ र भन्न चाहनुहुन्छ भने भन्न सक्नुहुन्छ । शायद केही मद्दत गर्न सक्छु कि ?”
केही बेर मौन बसिन्, त्यसपछि भनिन्, “आज राती भैरहवा पुग्नु मेरो लागि धेरै जरूरी छ । भोलि बिहान मेरो अति नै जरूरी काम छ… समयमै पुग्न सकिएन भने बर्बाद हुन्छ ।”
“हुन त मलाई जान्ने कुनै अधिकार छैन, तैपनि यदि तपाईंले मलाई खुलेर केही भन्नुभयो भने पनि समाधान खोज्ने प्रयास गर्नेछु ।”
आफूलाई सम्हाल्दै उनले भनिन्, “मलाई भोलि बिहान अदालतमा हाजिर हुनुपर्छ र यो अन्तिम पेसी हो ।”
“यदि आज रातिसम्म पुग्नु पर्ने छ भने, के म कुनै विकल्प खोजूँ ?”
“म जीवनभर तपाईंको आभारी रहनेछु । यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने, कृपया गर्नुहोस् ।”
रमेशले बस कन्डक्टरसँग ट्राफिक जामको बारेमा सोध्दा उसले अगाडिको पुलमा एउटा ट्रक र बस ठोक्किएको छ भन्यो । त्यो ठाउँमा दुई पाङ्ग्रे सवारी साधन मात्र जान सक्छ… दुवैतिर सवारी साधनको लामो जाम छ । रमेशले उसलाई जसरी भए पनि छिटो जानुपर्ने जरूरी काम छ, केही समाधानको बाटो देखाउन अनुरोध गर्यो । कन्डक्टरले भन्यो, “यदि तपाईसँग धेरै सामान छैन भने, पैदल पुल पार गर्न सक्नुहुन्छ, उतापट्टी गाडीहरू पाउन सकिन्छ र भैरहवा जाने सवारी साधन समात्न सकिन्छ, तर बसको भाडा फिर्ता हुँदैन नि ।”
“पर्दैन, भाडाको चिन्ता छैन,” यति भन्दै उसले शोभा नजिक गएर भन्यो, “आउनुस्, अगाडि बढ्ने उपाय फेला पारेको छु । तपाईंसँग कुनै सामान त छैन ?”
“छैन, यो एउटा झोला मात्र हो ।”
दुवै जना आफ्नो सामान उठाए । पुल पार गरेर, केही परसम्म हिंडेपछि अटोरिक्सा चढेर कुरीनटार केबुलकार बस स्ट्यान्डतिर लागे । बाटो खाल्डाखुल्डी थियो । रिक्सा बारम्बार हल्लिंदै गर्दा शोभाको कुममा ठोक्किनथ्यो । स्पर्श महसूस गर्दैगर्दा, उसले मनिलालाई सम्झियो । रमेशलाई पाँच वर्षअघिको त्यो समय याद आयो जब ऊ आफ्नी श्रीमती मनिलासँग रिक्सा चढ्थ्यो र रिक्सा हल्लिंदै गर्दा यसरी नै कुम ठोक्किने गर्थ्यो । तर अब मनिला उसको जीवनबाट गइसकेकी थिइन् ।
उनीहरू कुरीनटार केबुलकार पुगे । उसले भैरहवा जानको लागि ट्याक्सी रिजर्भ गर्यो । तर उनीहरु भैरहवा पुग्दासम्म रातको २ बजिसकेको थियो ।
उनले भनिन्, “म अदालत नजिकै जाने हो, तर मैले उनीहरूको घर चिनेको छैन । वास्तवमा, मेरो बुबा एउटा जरूरी कामले विदेश जानुभएको छ । म मेरा आमाबाबुको एक्लो सन्तान हुँ, त्यसैले म एक्लै आउनुपर्यो… काम नै त्यस्तै छ ।”
“यति राती घर फेला पार्न सम्भव छैन । केही घण्टाको कुरा हो, मेरो घर हिंड्नुहोस् । आफन्तलाई यति राती किन डिस्टर्ब गर्नुहुन्छ ?”
“होइन, ठीकै छ । म बसपार्कमै बिहान होउञ्जेल पर्खिन्छु । उज्यालो भएपछि उनीहरुलाई फोन गरूँला ।”
“हुँदैन, केटी मान्छे एक्लै बस्नु सुरक्षित हुन्न ।” यति भन्दै रमेशले घरमा फोन गरेर भन्यो, “आमा ! म दश मिनेटमा घर आइपुग्दैछु !” उसले शोभालाई भन्यो, “मेरी बुढी आमा अझै मेरो लागि नसुती बस्नुभएको रहेछ । तपाईंलाई कुनै समस्या हुनेछैन । मेरो घर हिड्नुहोस् ।”
केहीबेरमा दुवै जना घर पुगे । शोभालाई देखेर आमाले भनिन्, “के मनिलालाई फकाएर ल्याएको हो ?”
वास्तवमा, उसको आमाको आँखाको दृष्टि धेरै कमजोर थियो र रातको समयमा झनै गाह्रो थियो । त्यसैले उनले राम्रोसँग देख्न सकिनन् ।
रमेशले भन्यो, “आमा, तपाईं किन बुझ्नुहुन्न ? ऊ अब यहाँ किन आउने ? तपाईं गएर सुत्नुहोस् ।”
रमेशलाई सोधिन् “यदि तपाईंलाई आपत्ति छैन भने, के म तपाईंलाई केही सोध्न सक्छु ?”
रमेशले हुन्छ भनेपछि, उनले सोधिन् “के मनिला तपाईको श्रीमती हो ?”
“हो ! तर अहिले छैन । हाम्रो सम्बन्ध विच्छेद भइसकेको छ ।”
“त्यसको लागि माफी चाहन्छु । कस्तो संयोग ! मेरो पनि सम्बन्ध विच्छेदको अन्तिम निर्णय भोलि अदालतमा हुँदैछ । नबिन र मेरो आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्दैछौं ।”
केही समय दुवै चूप लागेर एकअर्कालाई आश्चर्यचकित भएर हेरिरहे । त्यसपछि रमेशले भन्यो, “तपाईं शिक्षित र धेरै सुन्दर पनि हुनुहुन्छ । तपाईंको श्रीमानलाई तपाईं प्रति गर्व हुनुपर्ने हो ।”
“होइन, त्यस्तो केही थिएन । उनीहरू यहीँ भैरहवामा बस्छन्, तर अहिले हाम्रो सम्बन्ध विच्छेद हुँदैछ, त्यसैले म त्यहाँ जान सक्दिनँ । नबिन काठमाडौंमा एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्छन् । मेरो माइतीघर नारायणघाटमा हो । म पनि सफ्टवेयर इन्जिनियर हुँ । मैले मेरो कलेजका तीन जना सिनियर केटाहरूसँग मिलेर एउटा स्टार्टअप कम्पनी खोलेको छु । शुरूमा यो कम्पनी मेरो श्रीमानको ग्यारेजमा सञ्चालन गरेका थियौं । लगभग एक वर्षसम्म सबै ठीकै चलिरहेको थियो । हामी एउटा अमेरिकी कम्पनीको लागि उत्पादन बनाइरहेका छौं । प्रायः हामी चारै जना राति अबेरसम्म ग्यारेजमा काम गर्थ्यौं । कहिलेकाहीँ म चिया र कफी पनि बनाएर लगिदिन्थें । कहिलेकाहीँ हामी चारै जना हुन्थ्यौं । कहिलेकाहीँ म तिनीहरूमध्ये एकसँग एक्लै हुन्थें । कहिलेकाहीँ हामी आफ्नो मुड फ्रेस बनाउन मजाक गर्थ्यौं । मेरो श्रीमानलाई यो सबै मन परेको थिएन । यही कुरालाई लिएर हामी बिच बारम्बार झगडा हुन थाल्यो । यसै बीच, हामीले एउटा अमेरिकी कम्पनीबाट केही रकम पनि पायौं, त्यसैले हामीले हाम्रो घरको छेउमा एउटा सानो फ्ल्याट भाडामा लियौं र कम्पनीलाई त्यहाँ सार्यौं । कहिलेकाहीं राति अबेरसम्म काम हुन्थ्यो । किनभने उत्पादन समयमै डेलिभरी गर्नुपर्थ्यो । यसबाट हामीलाई लाखौं रुपैयाँ नाफा हुन्थ्यो ।”
शोभाले फेरि बोल्न थालिन्, “तर नबिन हाम्रो बाध्यता बुझ्न तयार थिएन । एक दिन सबै सीमा नाघ्यो । जब नबिनले आरोप लगायो कि सँगै काम गर्ने साथीहरूसँग अनैतिक सम्बन्ध पनि छ भन्यो…। मैले उसलाई बुझाउन सक्दो प्रयास गरें तर उसले सुनेन, बरु उल्टै मेरो चरित्रमाथि प्रश्न उठायो । त्यसपछि हामी दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको लागि सहमति जनायौं ।”
कुरै कुरामा बिहानको पाँच बजिसकेको थियो । रमेशले चिया लिएर आयो । दुवै जना त्यहीँ बसेर चिया पिउन थाले । शोभाले आफन्तलाई फोनमा केही समयमै अदालत जाने र त्यहाँ आफ्नो काम सकेर सिधै काठमाडौं फर्कने जानकारी दिइन ।
त्यसपछि शोभाले रमेशलाई भनिन्, “यदि तपाईंलाई भन्न मन लाग्छ भने, तपाईंहरू अलग हुनुभयो जान्न चाहन्छु ?”
“म एउटा निर्माण कम्पनिमा, इन्जिनियर काम गर्छु । कामको सिलसिलामा समय-समयमा काठमाडौं जानुपर्छ । हामी मध्यमवर्गीय परिवार हौं । मनिलाको बुबाको आफ्नै राम्रो व्यवसाय भए पनि त्यही निर्माण कम्पनीको लेखामा काम गर्थिन् । हामी दुवै बीच चिनजान भयो । पछि माया बस्यो र विवाह गर्यौं । पहिलो ६ महिना एकदमै राम्रो बितेको थियो । त्यसपछि उसले छुट्टै घर लिएर बस्न जिद्धी गर्न थालिन् । आमालाई वृद्धाश्रममा रख्ने कुरा गरिन् । यस कुरामा म तयार भइनँ । हामी बीच यही कुरामा हरेक दिन झगडा हुन थाल्यो । अन्ततः मैले आमा र मनिला मध्ये एक रोज्नुपर्छ भनिन् । मैले आमालाई एक्लै छोड्न सक्दिनँ भनेपछि, उनले त्यसो भए मलाई छोड्नु भनिन् । मैले यो सम्बन्ध बचाउन धेरै प्रयास गरें, तर उनी मानिनन् र उनले सम्बन्ध विच्छेद नै उत्तम विकल्प हो भन्ने सोचिन् ।”
“आजकल हाम्रो देशमा पनि सम्बन्ध विच्छेद गर्नेहरूको संख्या धेरै बढेको छ । यो दुखद कुरा हो । महिलाहरूले पनि पुरुषहरू सरह शिक्षा प्राप्त गरेर कमाउन थालेका छन्, त्यसैले उनीहरूलाई पनि घरमा त्यति नै सम्मान दिनुपर्छ जति पुरुषहरूले आफ्नो लागि चाहन्छन् । उनीहरूलाई पनि आफ्नो करियर बनाउने अधिकार छ । के म गलत भन्दैछु ?”
“छैन, अनि पुरुषहरूले पनि आफ्ना आमाबाबुको कल्याणको लागि केही गर्न चाहनु गलत होइन नि ।”
****
अन्ततः अदालतले शोभा र नबिनको सम्बन्ध विच्छेदलाई स्वीकृति दियो ।
बिदा माग्न रमेशकहाँ पुगिन् शोभा । शोभाको मलिन अनुहार देखेर रमेशले भन्यो, “यो त्यस्तो निर्णय हो जसमा खुशी व्यक्त गर्न पनि सकिंदैन ।”
आमाले अगामीको योजना सोध्दा उनले भनिन्, “अहिलेसम्म मैले केही पनि सोचेको छैन आमा । केही महिना मैले काम गर्ने कम्पनीको महत्त्वपूर्ण कामहरू गर्नु छ ।”
“चिन्ता नगर, जब एउटा ढोका बन्द हुन्छ, अर्को खुल्छ नानी…।” भन्दै आमाले पनि प्रेरणा दिइन् ।
रमेशले शोभालाई बस स्टेशन पुर्यायो । बसको सिटमा बस्दै गर्दा शोभाले भनिन्, “अर्को पटक काठमाडौं आउँदा मलाई भेट्न नबिर्सनुहोला ।” तिनको भनाइमा एकप्रकारको अनुरोधको भाव झल्कन्थ्यो ।
“अहिले, मेरो कम्पनी पाटनमा छ ।” त्यसपछि उसले आफ्नो कार्ड रमेशलाई दिइन् ।
“अवश्य !” भन्दै रमेशले पनि आफ्नो कार्ड शोभालाई दियो ।
* * * *
शोभा काठमाडौं फर्किइन् । उनीहरू प्रायः फोनमा कुरा गर्थे । रमेशले शोभाको काम र स्वास्थ्यको बारेमा सोध्थ्यो भने शोभाले पनि रमेश र उनकी आमाको बारेमा सोध्ने गर्थिन् । कहिलेकाहीं शोभाले आमासँग कुरा गर्दा, आमाले सधैं सोध्नुहुन्थ्यो कि उनले आफ्नो भविष्यको बारेमा के निर्णय लिएकी छिन् । शोभाले पनि हरेक पटक अहिलेसम्म कुनै निर्णय लिएको छैन भन्ने गर्थिन् ।
एक पटक शोभासँग फोनमा कुरा गर्दा आमाले सोधिन् “तिमीलाई मेरो रमेश कस्तो लाग्छ नानी ?”
शोभा यो प्रश्नको लागि तयार थिइनन्, तैपनि उनले भनिन्, “रमेश एकदमै राम्रो मान्छे हो ।”
“उसले सधैं तिम्रो प्रशंसा गरिरहन्छ । तिमी धेरै मेहनती छौ, धेरै प्रगति गर्नेछिन् भनिरहन्छ ।” आमाले भन्नुभयो ।
“यो उहाँको महानता हो ।”
* * * *
यसैबीच रमेशको आमा अस्वस्थ भएर अस्पतालमा भर्ना गर्नु परेको थियो । यसअघि काठमाडौंमा ती दुईको भेट भयसकेको थियो ।
आमाको अस्वस्थको कुरा सुनेपछि शोभा आत्तिएर भैरहवा आइन् । त्यहाँ ठूलो अस्पताल नभएकोले, शोभाले आमालाई काठमाडौं लैजान भनिन् । उनी आफैंले प्लेनको टिकट बूक गरिन् । आमा र रमेश सँगै पोखरा आइन् उनी पनि ।
शोभाले सक्दो सहयोग गरिन् । माया र स्याहार पाएपछि बिरामी आमा पनि छिटै तंग्रिनुभयो ।
एक हप्ता पछि रमेश आमासँग भैरहवा फर्कँदै थियो । हिंड्नेबेलामा आमाले फेरि शोभालाई भनिन्, “छोरी, तिमीले मलाई आफ्नी छोरीले भन्दा बढी हेरचाह गर्यौ । भगवानले तिम्रा सबै मनोकामनाहरू पुरा गरून्… अनि मैले भनेको कुरामा पनि सोच ।”
“के कुरा, आमा ?” शोभाले नबुझेझै सोधिन् ।
“रमेशको बारेमा ।”
“तपाईंको आशीर्वादले मेरो काम पूरा भएको छ । दुई हप्ता भित्र मेरो काम पुरा हुन्छ । त्यसपछि यसबारेमा म पनि तपाईंसँग कुरा गर्नेछु ।”
रमेश र आमा दुवैले शोभालाई हेर्न थाले । उनको तर्फबाट यो पहिलो सकारात्मक संकेत थियो ।
* * * *
“मैले तपाईलाई भनेको थिएँ नि आमा, रमेश एकदमै राम्रो मान्छे हो ! मलाई पनि ऊ मन पर्छ । यसबाहेक म अरु के भनूँ ?” एकदिन फोन गरेर आमालाई भनिन् शोभाले ।
“त्यसोभए अब हामीले तिमीलाई अरु पर्खन पर्दैन ?”
“अब पर्खनु पर्दैन, आमा ।” अब तपाई जे भन्नुहुन्छ म त्यही गर्नेछु ।” अनि शोभाले हाँस्दै फोन काटिन् ।
यता आमाको आँखाबाट पनि खुशीका आँसु टिलपिल भएका थिए ।
रमेशले लामो स्वास फेर्दै मनमनै सोच्यो … काठमाडौंबाट भैरहवा जाने बसमा ऊसँगै बसेकी युवती नै उसको जीवनसाथी बन्नेछिन् भनेर सपनामा पनि सोचेको थिएन । आमाले भनिरहने कुरा सम्झ्यो र एक्लै एक्लै मुस्कुरायो – “जब एउटा ढोका बन्द हुन्छ, अर्को खुल्छ नानी…।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










