“हैन यो त हुँदै भएन । हामीले मात्र अन्याय सहने ? जाऊँ सबै माता पार्वतीलाई प्रार्थना गरौं ।” नेतृ सुविनाले महिलागणलाई आह्वान गरिन् ।
महिलागण कैलाश पर्वततर्फ प्रस्थान गरे ।
कैलाश पर्वतमा ध्यानस्थ शिवजीको ध्यान भङ्ग भयो ।
“नौ नौ महिनासम्म पेट बोक्ने पनि हामी । कष्टपूर्ण प्रसूतिव्यथा सहने पनि हामी । पुरुषलाई चाहिं सधैं हाइसन्चो । अझ बच्चा जन्मेपछि अबीर, पगडी उनैलाई । उनैको नाक ठूलो ! यो त अति भयो । हामीमाथि साह्रै अन्याय भयो, माताजी ! हाम्रो कल्याण गर्नुहोस् ।” माता पार्वतीसामु उनीहरूले प्रार्थना सहित बिन्ती बिसाए ।
“भन के चाहन्छौ तिमीहरू ?” माता पार्वतीले प्रसन्न चित्तले सोध्नुभयो ।
“ठीक छ, हामी गर्भधारण गर्न तयार छौं । नौ महिना पेट बोक्न पनि तयार छौं । प्रसूतिव्यथा पनि सहन्छौं । तर एकदिन भए पनि हामीलाई प्रसूति व्यथा लाग्दा पुरुषलाई पनि व्यथा लाग्ने व्यवस्था होस् माता ! उनीहरूले पनि महसूस गर्न सकुन् हाम्रो पीडा ।” महिलागणले एकै स्वरमा आफ्नो धारणा व्यक्त गरे ।
माता पार्वतीले मुसुक्क हाँस्दै शिवजीतर्फ दृष्टि लगाउनुभयो ।
“प्रकृतिको व्यवस्था विरुद्धको यस्तो वरदान दिनु उचित छैन प्रिये !” शिवजीले संकेत गर्नुभयो ।
“पुरुषहरूलाई महिलाको पीडा व्यथा महसूस गराउने यो एउटा उत्तम उपाय हो । त्यसैले यो माग जायज छ । तिमीहरूको माग पूरा भयो । तथास्तु !” भन्दै माता पार्वतीले वरदान दिनुभयो ।
माग पूरा भएकोले माता पार्वतीको जयजयकार गर्दै महिलागण फर्कियो ।
माता पार्वतीको वरदान मिथ्या हुने सम्भावना भएन । त्यस दिनदेखि महिलाहरूलाई प्रसूति व्यथा लाग्दा उनीहरूको लोग्नेलाई पनि प्रसूति व्यथा लाग्ने व्यवस्था भयो । सबैले यो व्यवस्था स्वीकार्नुको विकल्प थिएन । सबै महिला पुरुषले यो व्यवस्था सहज रूपमा लिए । व्यवस्था निरन्तर चल्दै गयो ।
* * * *
एकदिनको कुरा हो । एक जना निकै प्रतिष्ठित व्यवसायी जो हरदम आफ्नो व्यवसायमा व्यस्त रहन्थे । त्यही व्यस्तता र लगनशीलताका कारण उनले ठूलो ख्याति प्राप्त गरेका थिए । उनकी पत्नी गर्भवती बनिन् ।
प्रतिष्ठित व्यक्तिकी पत्नी गर्भवती भएपछि जताततै थाहा हुनु स्वाभाविक थियो । पिता बन्ने सुअवसर प्राप्तिले उनी पनि गदगद थिए, प्रसन्न थिए । खुशियालीमा सबै इष्टमित्र, टोलछिमेकमा मिठाई बाँडे । सबैले उनलाई बधाई दिए, शुभकामना प्रकट गरे ।
समय निरन्त चल्यो । हेर्दाहेर्दै नौ महिना कति छिट्टै बित्यो, पत्तै भएन ।
डाक्टरले प्रक्षेपण गरेको प्रसुतीको मिति पनि आइहाल्यो । त्यसैले ती व्यक्ति उक्त दिन प्रसूति पीडा हुने भयले कार्यस्थल गएनन् । घरमै बसे ।
पत्नीको कोठामा आफन्त महिला तथा सुँडेनीहरूको चहलपहल थियो । उनी आफ्नो कोठामा व्यथा लाग्ने प्रतीक्षा गर्दै बिस्तरामा पल्टिएका थिए ।
धेरै समय घर्कियो तर उनलाई व्यथा लागेन । उता पत्नी भने व्यथाले छटपटाउन थालिन् ।
हैन के भयो यस्तो, पतिलाई त व्यथा नै लाग्दैन त ? उपस्थित इष्टमित्रहरूले आश्चर्य प्रकट गरे ।
पत्नीलाई भने असह्य पीडा भयो । उनी चिच्याउन थालिन् ।
उनको पीडा सही नसक्नु भएकोले पतिले पत्नीलाई अस्पताल लैजाने व्यवस्था मिलाउन आदेश गरे ।
ग्यारेजमा आफ्नो गाडी छँदै थियो । चालकलाई खबर गर्न पठाए ।
चालकलाई खबर गर्न गएको नोकरले चालक बिरामी भई छटपटिएको जानकारी गरायो ।
सबै चासोका साथ चालकको कोठामा गए । चालक साँच्चिकै पीडाले छटपटाउँदै थियो ।
सबैले मुखामुख गरे । एकापसमा खासखुस चल्यो ।
* * * *
अर्को दिन महिलागणको बैठक बस्यो र पुनः माता पार्वतीकोमा जाने निर्णय भयो ।
“हे ! माता पार्वती, हामीलाई क्षमा गर्नुहोस् । जस्तोसुकै पीडा भए पनि हामी नै सहन्छौं । हामीले नै गर्भधारण गर्छौं । सम्पूर्ण प्रसूति व्यथा हामी नै भोग्न तयार छौं । हाम्रो घोर बेइज्जत हुने भयो । पुरुषले प्रसूति व्यथा सहन नपरोस् । पुरानै व्यवस्था फर्काइयोस् । हामी मन्जुर छौं ।” विनम्रतापूर्वक सबैले प्रार्थना गरे ।
“ठीक छ । तिमीहरूको यसमै कल्याण छ भने, यही सही । तिमीहरूको माग पूरा भयो । अबदेखि पुरानै व्यवस्था सदर हुनेछ । तथास्तु !” भन्दै माता पार्वतीले शिव चरण स्पर्श गर्नुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 








