
प्रेरणाको सङ्लो नदी बग्दाबग्दै धुमिल भयो ।
मनको बाँध भत्किन लागेको थियो । तनको आयतन गलित थियो । थकित थियो ।
ऊ निराकार बाँचिरहेको मान्छे ! निराकार जीवन साकार पार्नु हमेशा कठिन ठान्यो ।
उसको सपना अस्ताचलमा डुब्न लागेको श्रीसूर्य झैं धुमिल थियो ।
जीवनमा दुःखको प्रेतात्माले खूबै राज गर्यो । आफ्नै भूमिगत च्याम्बरमा आफै भस्म हुनेगरी परितापमा जलिरह्यो ।
जिन्दगी एक भ्रामक रोलमोडल जस्तै लाग्न थाल्यो उसलाई । यही कारण जीवन सभ्यताको आँचल लगभग डग्मगाइरहेको अवस्था थियो । एक सोमत नभएको जँड्याहा जस्तै हुन्थ्यो कतिबेला । सातो हराए जस्तो । बाटो हराए जस्तो ।
उसका दिनहरू चारदिनको चाँदनी र बाँकी औंसी भए । तिनै अँधेरा दिनहरूमा छामछाम छुमछुम गर्दै दिन बिताउँदै गयो ।
जीवनका ती विष्मयकारी दिनहरूको कुनै यथोचित सङ्ग्रह थिएन । ती अस्तव्यस्त थिए ।
कहिलेकाहीं दुःखमा झरेका तिनै आँसुका मसीद्वारा बिम्बित अक्षरको पन्नालाई मनको सन्झ्यालभित्र पसेको एक चोइटा बतासले पल्टाउन हमेशा कोशिश गरिरहन्थ्यो ।
“प्रत्येक साल नवीकरण गरे पनि किन झन् पुरानो झनझन पुरानो हुन्छ होला है यो जिन्दगी ? साँच्चै दुनियाँका हरचीज जति नै नवीकरण गरे पनि वास्तवमा ती झनझन पुराना हुँदै जाने हुन् । अझ पुराना हुने हुन् । जीवनको एक अलौकिक सत्यता यही हो ।” ऊ मनोभावमा गुनगुन गर्थ्यो ।
अस्तित्वको काखमा कैयौंपटक आफ्नै अस्तित्व खोजिरह्यो । आफ्ना अपूरणीय क्षणहरू सुमसुम्याउनु सिवाय अरू उपाय थिएन । निम्तो बिना आयातित जीवनका तथानाम बेसरम दिनहरू पलपल याद बनेर उसको मथिङ्गलमा झुन्डिरहन्थे ।
कहिले ऊ जीवनको कठघरामा उभिएर विगत दिनहरूमा सयर गर्न राजी हुन्थ्यो । उसले सोच्यो, “विगत जीवन एउटा दस्तावेज हो । जीवन जिउनुको प्रामाणिक स्वरूप नै विगत हो । विगतको आधारशिलाले नै वर्तमान जन्माउने न हो । विगत आफै एक अस्तित्व हो । एउटा जीवनको अस्त भएपछि त्यो फेरि उही भएर आउन सक्दैन । आउने जीवन त नयाँ न हो । नयाँ जीवन विगतको अस्तित्वमा आधारित हुनेरहेछ ।”
जीवनका यी तारन्तार विविध दर्दका बान्कीहरू कालान्तरमा जीवनकै उद्गमस्थल हुँदारहेछन् । जीवनको जेब्राक्रसिङले उसलाई सिकाएको पाठ यही थियो ।
अप्रीतिकर अभावहरूको बिगबिगीमा उसको मन जहिल्यै उद्विग्न थियो । परन्तु यसले एक अलौकिक महत्ताबोध गराउँथ्यो जीवनमा ।
उसको जीवनमा अभाव र ताडनाको जालो यति झेलिएको थियो, उम्किने कुनै बाटो थिएन । खजमजिएको जीवनको वकालत गर्न आफ्नो अभाव काफी थियो ।
जीवनका रहरहरू आरुका फूल झैं पलभरमै फुल्थे उसका । गरीबीको असिनाले फल लाग्न नपाउँदै चुटिन्थे । यही कुराले एकबारको जुनीमा वैराग्यले खूब निचोर्थ्यो उसलाई ।
असह्य कष्टमाथि संवेदनशील जीवनको यथार्थ धरातल बिल्कुल विमुख थियो । समयको कोर्राले करुणाशून्य भएर उसको दर्दमाथि ठट्टा गर्नु ठूलो पराक्रम र आनन्द जस्तै भयो शायद ।
तारन्तार दुई वटा प्रेम प्रस्ताव लज्जास्पद इन्कारीमा परेपश्चात् मनको द्वार जोडले घचेटेर निस्के खुशीहरू र आफ्नै बाटो लागे । खुशीमन भने चूपचाप आफ्नो यथास्थानमा अँध्यारिएर बस्यो ।
इन्कारीको एउटै जवाफ जवानीको विनिमयदर घट्नुमा थियो । यौवनको दरभाउ ह्वात्तै घटेकोमा खुशीमन नराम्रोसँग झस्क्यो । मुटु अकस्मात् हल्लियो । वशमा रहेन मन । कसैगरी पनि मन काबुमा राख्न सकेन । तर उसलाई पट्यार लागिरहेको थिएन यस कुरामा कि जवानीको व्योम कति चाँडै ढल्किसकेछ ।
सोंच्यो – प्रीतिको बजारमा चल्तीमा रहेको आफ्नो प्रिय अनुहार अब गैरनाफामूलक थोपडा हुने भो । यति चाँडै कुरूप किन र कसरी भयो होला ?
सपनाहरू ओइलिएकोमा क्षीणहीण भएर उभियो । सपनाहरू मरेको देख्यो उसले । मानौं सपना सिगरेट हो । उसले चुरोटलाई दागबत्ती दियो । चुरोटको लासबाट धुवाँ रङमङिएर आफ्नै अनुहारमा गोलचक्कर लाउँदै अलप भयो । मानौं चुरोटको प्रेतात्मा परमात्मामा लीन भयो ।
मन आन्दोलित भयो । आन्दोलित मन थेग्न नसकी ऊ भुइँमा पछारिएर बस्यो । थचारिएर बस्यो । कुनै एक गतिलो जीवनसाथी नपाउने सम्भावित डरले ऊ भित्री मनदेखि कराएर बस्यो । भित्रभित्रै डराएर बस्यो ।
उखरमाउलो बैंसले माया मारेपछि सौन्दर्यले दुई लाइनको सङ्घर्ष छेडेको पक्का हो जीवनमा । त्यसमाथि “तिमी जस्तो अधबैंसे” शब्दावली इन्कारीको प्रमुख हतियारले उसको मन धुजाधुजा भएको थियो ।
यस बीचमा उसले नानाथरी कस्मेटिकले जवानी पेन्टिङ गर्ने असफल प्रयास नगरेको होइन । तर जवानीको भित्तै उप्किसकेको देख्यो । र त, जिन्दगी खजमजिएको महसूस गर्यो । सिगरेटको धुवाँभित्र कुरूपपनाको ढाकछोप गर्ने लघु प्रयास जारी रह्यो । अकस्मात सिगरेटको धुवाँसँगै खुशीमनलाई खोकी लाग्यो । धुवाँले घाँटी सर्कियो, सर्किएको खोकीसँगै भित्तामा झुन्डिएको बाको तस्वीरले उनको मन खिच्यो । हठात् हिजोका उच्छृङ्खल दिनहरू यादगार भएर चारैतिर ठडिए ।
सम्झनामा बा बौरिए —
“आज माथ्लो भैंसी तल्लो राँगो तिर हेर्दै खूब करायो ।” भदौरे झरीमा रुझेको कपाल टावेलले पुछ्दै खुशीमन हाँस्दै बोल्यो ।
“भैरबको भैंसी लाग्ने बेला त भाछैन त ! क्यान करायो होला ?” अगेनोमा सिस्नु घोट्दै गरेको बा छोरातिर हेर्दै बोले ।
“भखर ब्याको भैंसी अहिले कहाँ लाग्नु !” खुशीमन फिस्सियो ।
“उसो भा भोकायो होला बरा ।” अगुल्टो झोस्दै बाले भने ।
“ह्या ! बा पनि । ब्याएको भैंसीको कुरा गरेको होइन ।”
“कुरा गर्थिस् त !”
“भैरबको कुरा गरेको नि !”
“अघि तँ आफै भैंसीको कुरा गर्थिस् त !”
“भैरब सिर्पालीको छोटो नाम भैंसी हो के बा ! भैंसी माने भैरब सिर्पाली ।” यति भन्दै खुशीमन खित्खितायो ।
“आच्या, उसो भा, भैरब कसको राँगोलाई हेर्दै कराको नि ?” निधार खुम्चाएर बुढा बा उत्सुकता पूर्वक बोले ।
“राँगो हैन के बा ! रागो ! तल्लो घरे राम गोदार ! राम गोदारको छोटो नाम रागो राख्याछन् केटाहर्ले । शायद केही झगडा भयो होला ।”
“ए हेहेहे !” एक्कासि हाँस्दा चुरोटको धुवाँ निलेर बुढा बा खोक्न लागे । “छिल्लिएका नकचरोहरू !” हाँसो नथामिएर उनको घाँटी सर्कियो ।
सम्झनामा बाको घाँटी सर्किएको खोकीमा खोकी मिसाएर खुशीमन धेरै बेर वर्तमानमा खोक्दै बस्यो । यद्यपि, बाको घाँटी सर्किनुमा र खुशीमनको घाँटी सर्किनुमा अन्तर थियो ।
दोषी देखिएको ऐनालाई निष्कासन गर्ने अठोट लियो भित्ताबाट । बजारबाट अर्को ऐना आयो र सजियो । केही राहतको सास फेर्यो उसले अनायास ।
विभिन्न कोणबाट उसले सौन्दर्यको खाका कोर्यो परन्तु उसलाई सौन्दर्यबोध हुनुको सट्टा कुरूपपनाले घेर्यो । उसको कन्पारो तातेर आयो । शान्त मनमा अशान्तिको कालो बादल मदारियो । रुँलारुँलाझैं गरेर ऐनामा आफ्नो दयनीयपनालाई नियाल्यो । झन् दुरूह देख्यो आफैलाई ।
भित्ताको ऐना भित्तैमा पछारियो । ऐना टुक्रिएर भुइँमा छरपष्ट भयो । उसको अनुहारमा मडारिएको कालो बादल एकैछिनमा आँखाबाट बर्सियो ।
हीनताबोधले आक्रान्त भई टुक्रिएर छरपष्ट भएका ऐनाका टुक्रामा आफ्नै टुक्रे अनुहार हेर्यो । जीवनमा सबैभन्दा प्रताडित भएको यो शायदै पहिलो पल हो ।
जलेको सिगरेट जस्तै आफ्नो अनुहार झनझन कुरूप देख्यो टुक्रे ऐनामा । आफूलाई ठुटा सिगरेटमा अनुवाद गर्यो र ठुटा सिगरेट जस्तै पुताइरह्यो कोठाभरि ।
जवानी डेथस्पायर भएर बुढ्यौली संक्रमित भएको हो जीवनमा । मानौं बुढ्यौली भनेको कुनै जीवाणु हो । यही जीवाणुले कति खेर उसलाई संक्रमण गर्यो पत्तै भएन । त्यसैले यो प्राकृतिक भइपरी कुराले सोचमा झट्का दियो । ब्ल्याकहोलरूपी बुढ्यौलीले जवानीलाई खर्लप्पै निलेर जीवन बुढ्यौलीमा अनुवाद भैसकेको थियो ।
बेचैनीको तथानाम लम्बेतान कष्टकर क्षण पश्चात् रात पर्यो । ऊ एक भट्टी पसलमा पस्यो । तीनपानेको रस मगायो र घ्याम्पे पारामा पियो ।
सोच्यो, समयको कुरूपतामा जवानी घोलिएछ । समय एउटा पेन्टिङ हो । परन्तु जवानीको कलर खुइलिंदै गएछ । उसले आफ्नो दम्भको पेन्टिङ खुइलिएको महसूस गर्यो । अनि आफ्नो फेसबूक वालमा उग्र कुटुहल यसरी पोत्यो—
यही धूलोमा खेल्दाखेल्दै
बैंस पनि उर्लियो
उर्लिएर बैंस
जवानीको शिखरमा एकपल्ट कुर्लियो
कहाँ टिक्न सकिंदोरहेछ र शिखरमा बैंस लिएर
जवानी विस्तारै बुढ्यौलीतिर ओर्लियो
अब फेरि शरणमा पर्नु परेको छ
उहीँ धूलाको !
फेसबूक फ्रेन्ड रहिछन् होटलवाली । उनले हाँसो रियाक्ट गरिन् । कमेन्टमा यस्तो लेखिन् — “बुढ्यौली अहिले शायद सोमरस आहालमा डुब्दैछ ।”
खुशीमन अर्धनयनले होटलवालीलाई हेर्यो । होटलवाली खुच्चिङ पारामा हाँसिन् ।
होटलमा बस्नु नबस्नुको दोसाँधमा उसका पाइला लर्खरिंदै बाहिरिए ।
समयको कोर्राले कुटिंदै पिटिंदै गरेको पायो आफैलाई । लतारिंदै लतारिंदै बेहोसीपनाको वैशाखी टेक्दै ऊ अव्यवस्थित बेडमा अव्यवस्थित भएर समाधिस्थ भयो आजलाई ।
* * *
अचम्मको सपना देख्यो ।
खुशीमनले नायिकाको मुखमा मुख जुधाएर सोध्यो—
तपाईं यही क्षेत्रमा किन प्रवेश गर्नु भयो ?
नायिका—आफूसँग भएको जादूमयकलाले सबैको ध्यान खिचोस् भन्ने मनसायले म यो क्षेत्र रोजें ।
खुशीमन—जादूमय भन्नुभयो । एउटा जादू देखाउनुस् न त !
खुशीमन—कला देखाउनुस् भनेको ।
नायिका—तपाईं अन्तरवार्ता लिन आएको हो कि कला हेर्न आएको ? कला हेर्ने हो भने फिल्म हल जानुस् ।
नायिका जङ्गिएर हिंड्न खोजी ।
खुशीमन—”न.. न नरिसाउनु न नायिकाजी !” खुशीमनले रोक्न खोज्दै भन्यो ।
नायिका—उसो भए राम्रो प्रश्न सोध्नू न !
खुशीमन—राम्रोसँग सोध्छु । बस्नुस् ।
नायिका पुनः बसी । खुशीमनले फेरि कुराको शुरूआत गर्न लाग्यो—तपाईंलाई बजारमा चक्लेटी नायिका भन्छन् नि ।
यो प्रश्नले नायिकाको मुहार ढकमक्क फुल्यो र भनी — जरूर मलाई चक्लेटी नायिका भन्छन् । शायद सबैको माया पएर पनि हुन सक्छ । मलाई यो उपमाप्रति गौरव छ ।
खुसिमन—अँ साँच्चै ! चक्लेटी नायिका हुनकुन ब्रान्डको कुन चकलेट खानु पर्दोरहेछ ? दर्शकलाई केही बताइदिनुहुन्छ कि !
यो प्रश्न सुनेर नायिका गोमन सर्प झैं फुल्लिई । “यस्तो पनि कुनै प्रश्न हुन्छ ? तपाईं पत्रकार होइन पत्रुकार हो ।” यति भनेर खुशीमनलाई एक चड्कन दिई ।
खुशीमन ‘ऐया !’ भन्दै करायो । ब्यूँझिंदा ऊ बेडबाट भुइँमा खसेको थियो ।
“हैट् ! सपना पनि गतिलो देख्न छोडियो ।”
निकै बेरको प्रयास बापत ऊ अर्ध बेहोसीमा खाटमा उक्लियो ।
सन्ध्याकालीन नीरव चकमन्नता छाएको छ बाहिर । नीरव चकमन्नताको सघनताभित्र घरमा बत्तीको मधुरता प्रविष्ट छ ।
मन पराइएकाले इन्कार गरेको करीब करीब पाँच वर्ष यसै बित्यो । यति बेला खुशीमनले जीवनको महक बिर्सिसकेको थियो । चहक बिर्सिसकेको थियो । साथमा थियो त केवल अभाव थियो । अलिकति वैराग थियो ।
जीवनको यो कालखण्डमा बिचारहरूको अनियन्त्रित जुलूसले खुशीमनको मनको सिंहासन डगमगाइरह्यो । खुशीमन आफ्नै तथानाम विचारको भूकम्पले रन्थनिएको अवस्था थियो । विस्मित मन घायल थियो । बेचैनीको यस आक्रान्त नगरीमा तन गह्रौं, थकित र प्रताडित थियो ।
थकित मनको थकित समय चिप्लेकिरा हिंडाइमा बेगिंदो छ । भौगोलिक विकटताको अभिशापले तिरमिराएको खुशीमनको जीवनको आख्यान यत्रतत्र छताछुल्ल पोखिएको छ । यस संकटकालीन जीवनको दुर्दिनमा आफ्नै त्रसित आत्मा सल्बलाइरहेको छ । झिज्याटलाग्दो समयको आकाशमुनि अतिशय दुःखले उधिनेका घायल र बेवारिसे विचारहरू बिना अनुमति मनमा प्रवेश गरिरहन्थे र खुशीमनको मनको सिंहासन झनै डग्मगिने गरी हल्ला गर्दथे । भित्री मनको आँगनमा डेरा जमाएर अनशन बस्थे ।
अभावको क्रीडाभूमिमा दैहिक जीवनको आशामाथि दैनिक प्रकोप परिरह्यो । अभावले खुशीमनको जीवनमा दशकौं राज्यारोहण गर्यो । वैराग्यको फेदीमा चारपाउ टेकेर जीवनले उन्मुक्तिको साँघुरो क्षितिज पछ्याउने हमेशा इरादा लियो । अभावको कहरसँग वैराग्यको पाउमा जीवनको भिक्षा माग्नु कदाचित श्रेयष्कर हुँदैन थियो । उसको मनको एक कुनामा जीवित रहेको जागृत मनुवा यसै भनी बौरिन्थ्यो ।
समयको चक्र हरबार घुम्दो छ ।
हिजोको देह आज छैन । हिजोको मानसिकता आज छैन । एउटा असोचनीय तर वास्तविक कायाकल्प यही भएको छ ।
कायिक देह सदा उही अवस्थामा रहन सक्दैन रहेछ ।
खुशीमनको अधमरा जिन्दगीले वर्षौं आफ्नो लय बिर्स्यो । आफ्नै ताल बिर्स्यो । जीवनको तार चुँडिएपछि जीवनको सुर साँच्चिकै बिग्रिंदोरहेछ ।
दिन, महीना र वर्ष बित्यो । सबै कुरा याद नभए पनि कतिपय यादहरू जीवनका सहधर्मी बन्न हरबार लालायित बने । जीवनको अतीत नियाल्दा उसलाई यस्तै बोध भयो ।
दुखित मनलाई बुझाउनु हमेशा कठिन कार्य हो ।
ग्रीष्मरोगण पोतिएर सारा वन हरियो भयो । नयाँ पालुवा प्रभातमा वटवृक्ष पलाउन थाले । जसले खुशीमनको मनमा रसिला तारुण्यका आशा टुसाए । आशाको सूक्ष्म उडानमा प्रस्तार भै फैलिएका उसका असंख्य स्वप्नहरू सौगन्धमा छिरलिए । शैशवकालदेखि स्वर्गिक जीवनको खोजी गर्दैरहेको यो जीवात्माको लागि अभाव र वैराग्य कहिल्यै हटेन । सानैदेखिको दुःख कहिले पनि पार लागेन । परन्तु हरेक साल एक मौका भएर आउँथ्यो उसका लागि । त्यो मौकामा जीवनको अभीप्सा फक्रिएर आए पनि टिकाउ हुँदैन थियो ।
हप्ता दिनको तारन्तारको वर्षाले आहत मन बहलाउन ऊ एक दिन बाहिर निस्क्यो । छतको एक छेउमा गएर ऊ अर्धपद्माशनमा बस्यो ।
निलाम्बर मुन्तिर खुशीमनको छेउ हुँदै भँगेराहरू उडी गए । उसका जोर आँखा नजिकै गुटुरमुटुर गरिरहेका सेता परेवामाथि गोचर भए । परेवीको अघि फन्कामारी नाचिरहेको परेवा शायद मधुर स्वरलहरीमा प्रेमिल बात मार्दो हो र भन्दो हो — प्रियतमा ! यो स्वर्णिम मधुमय निलाम्बर मुन्तिर आऊ ! एकपल्ट स्वप्निल जीवनको तरन्नम गाऊँ ! तारन्तारको वर्षाले निस्कन नपाएर कुँजिएका पङ्ख फिंजाएर जीवनको साल्सा नाचौं । एकपल्ट तामाजुली खेलौं । एकपल्ट जीवनको यानीमाया गाऊँ ! एकपल्ट ….. कृपया एकपल्ट !
खुशीमन सेता परेवा जोडीको एकान्तिक मधुर भावभङ्गीमा हराइरह्यो । ऊ अतीतको सागरमा डुब्दै गयो । करीब करीब अठार वर्ष अघि खुशीमनको मन यसरी नै फन्कामारी नाच्यो—
याहू म्यासेन्जर मार्फत कुनै अज्ञात लोककी अज्ञात नामधारी अज्ञात युवतीसँग च्याट गर्यो । त्यो दिन उसको लागि विशेष रह्यो । वेभक्यामको सहारामा हेराहेर गरे । युवती अलौकिक सुन्दरी देखिइन् । अलौकिक तरिकाले मन लुटेर लगिन् । खुशीमनको मन अब आफ्नो रहेन ।
समयको नैरन्तर्य गति चलिरह्यो । ऋतु फेरिए । युवती र उसको तादात्म्य बाक्लिन थाल्यो ।
“यतिका दिन भयो हाम्रो चिनजान भएको । हामी नभेट्ने हो त खुशीमन ?” उताबाट टेक्स्ट आयो ।
“अब भेटौंला नि मनकु !” यताबाट जवाफ फर्काउँथ्यो । आइडी नाम एमके थियो अर्थात मनकुमारीलाई ऊ मन्कु पनि भन्थ्यो । खुशीमनले केएम लेख्थ्यो । अर्थात खुशीमन । केएम र एमके ठीक उल्टो अक्षरसंरचना थियो ।
च्याट बाहेक निजी फोन थिएन । उनी दुई घण्टौं च्याटमा रमाउँथे ।
करीब एक हप्ता मन कुमारी अनलाइन दुनियाँबाट हराइन् । मनको उलटपुलट रोक्न नसकी अफलाइन म्यासेज टेक्स्ट गर्यो खुशीमनले ।
प्रिय मनकु उर्फ एमके !
यतिका दिन मेरो मन लुटेर तिमी कता फरार भएकी ? तिमीले डढेलो सल्काएर गएको मेरो मनको आगो अझै निभेन । तथानाम आगलागी भएको छ मनको यस वृन्दावनमा ।
रातमा निद्रा हरायो यार । दिनमा भोक छैन । भगवान्ले किन बनायो होला है, यो आतङ्ककारी याद भन्ने चीजलाई । थाहा छैन, कुन दिनको रिस पोख्दैछौ ! त्यति साह्रो तिम्रो मन दुखाउने काम गरेको त याद छैन ।
प्रिय एमके !
यो मन भन्ने जिनिस कस्तो छ है । ज्यान यहाँ हाजिर छ । मन कता टाप कस्छ यार ।
नढाँटीकन भन्नुपर्दा तिमी विनाको मन उफ् ! बेकम्मा लाग्छ ।
मनको छटपटाहट यस्तै छ । तिमी अनलाइनमा आऊ । मेरो मनको तलतल मेटाऊ । तिमी आऊ, माया बचाऊ !!
तिम्रो यादमा जाग्राम रहेको केएम ।”
खुशीमन साइबरबाट निस्क्यो । ऊ सिधा फेवातालतिर टहलिन गयो ।
मनकुमारी काठमाडौं । खुशीमन पोखरा । अर्को दिन खुशीमन साइबर पस्यो । अफलाइन म्यासेज आएको रहेछ ।
“प्रिय केएम उर्फ खुशीमन !
तिम्रो अफलाइन म्यासेजले खुशी भएँ । मेरो यादले तिम्रो मनमा डढेलो लागेछ । डढेलो उता मात्र लागेको छैन खुशीमन ! मेरो मनमा पनि डढेलो सल्केको छ । तिम्रो ‘यार’ शब्द पनि बडो प्यारो लाग्यो मलाई ।
विविध कारणले म अनलाइन आउन सकेन माफ पाऊँ । हामी छिट्टै अनलाइनमा भेटौंला प्रत्यक्ष भेट्ने आँट त छैन क्यारे ! अनलाइनमा मनको तलतल मेट्दै गर ।”
मनकुमारीको व्यंग्यले खुशीमनको मन खिस्रिक्क भयो ।
महीना दिन भयो । दुई चार दिन मात्र हल्का च्याटमा व्यस्त भएका थिए । फेरि मन कुमारीलाई अफलाइन म्यासेज गर्यो ।
“प्रिय मनकु उर्फ एमके !
तिमी विनाको जिन्दगी निराकार लाग्छ । घरीघरी म आफू होइन जस्तो लाग्छ । आज मनको कुरा लेख्नैपर्ने भयो । प्रिय, युग बित्ला तिम्रो याद ताजा रहनेछ मनमा । तिमी किन अनलाइन आउन नसकेकी ? विस्मित लाग्छ मलाई । र पनि तिमीलाई एउटा कुरा भन्नै मन लाग्यो ।
प्रिय, पूर्वी कित्ता दायाँ करङ, पश्चिम कित्ता बायाँ करङ, उत्तर कित्ता माथिल्लो करङ र दक्षिण कित्ता तल्लो करङ यति चार किल्ला भित्रको ढुकढुक तिम्रै लागि धड्किरहे जस्तो लाग्छ । यो चार किल्ला भित्रको ढुकढुकी आजदेखि तिम्रै भयो । धरोधर्म तिम्रै भयो । खसोखास तिम्रै भयो ।”
अर्को दिन म्यासेजको जवाफ यसरी आएको देख्यो —
“केएम उर्फ खुशीमन !
म्यासेज गरेछौ । मजा लाग्यो । तिम्रो हरेक जिस्काइमा पनि मैले आफ्नै जीवनको दर्शन पाउँछु । तिम्रो आफ्नो देहको चार किल्ला भित्रको ढुकढुक मेरो भएको कुराले आनन्द लाग्यो । परन्तु मलाई तिम्रो भर लागेन है । तिमीले आफ्नो जिन्दगीको भरपाइमा फडके किनारामा साक्षी पनि राखेनछौ । शिर पुछारमा दायाँबायाँ सहीछाप गरेर आफ्नो मुटु राजीनामा पनि दिएनछौ । तिमी कस्तो बेइमानी र चलाख दुवै रहेछौ । मलाई उधारो भर्पाई गरेर फसाउन खोज्ने !
हे हे जेहोस् तिम्रो शाब्दिक चमत्कारले मलाई तिमीतिर खिच्यो खुशीमन । सदा यसरी खुशी राख ल मलाई !”
मनकुमारीको म्यासेजले खुशीमनको खुशीको आयतन बढ्यो ।
ग्रीष्म र वर्षा सकिएर शरद ऋतु आयो ।
दशैं आउने बेला मनकुमारी पहाड घर जान लागेको म्यासेज आयो ।
खासमा दुवैको घर एउटै क्षेत्रतिर रहेको कुरा गफैगफमा थाहा पाए ।
यात्रा शुरू भयो । एकरातको गाडी यात्रा र दुई दिनको पैदलपश्चात् मनकुमारीको घर पुगे ।
सेरामा रहेछ मनकुमारीको घर । उनकै आग्रहमा खुशीमन त्यहीं बस्यो ।
त्यो रात आफूलाई आजै लैजान मनकुमारीले विशेष जोड गरिन् । खुशीमनले पहिला घर जाने र केही दिनमा लिन आउने कुराले मनकुमारीको मन थामियो ।
आँसुको मेहरी बगिरह्यो । दुवै जना अँगालोमा बाँधिए । सेरा पुलमा बिदाइको आँसु झार्दै छुट्टिए ।
मैकोट आएर तुरुन्त फर्किन सकेन खुशीमन । फोन जमाना थिएन । पिसिओबाट फोन गर्न पनि मनकुमारीको गाउँको नम्बर थिएन । यो बीचमा खुशीमनको मन तथानाम बेचैनी भयो ।
खुशीमन मंसिरे मेला मानेर मात्र घरबाट हिंड्यो । सिधै मनकुमारीको घरमा जान पाइला बढे । बाटामा भेटिएका मार्फत मनकुमारीको मंसिर तीन गते एक जना इन्डियन आर्मीसँग विवाह बन्धनमा बाँधिएर हिजै मात्र दाङको घर गएको कुरा सुने । कुरा सुन्ने बित्तिकै खुशीमनका पाइला लुला भए । ओठ मुख सुक्यो । उसको संसार अँध्यारियो ।
* * * *
टिरिङटिरिङ मोबाइलको घण्टी बज्यो । खुशीमन हठात् अतीतको अन्तर्यबाट बौरियो ।
सेता जोडी परेवा आफ्नै गुँडतिर भुर्रर उडे । यता खुशीमन गह्रौं मन लिएर मोबाइलको रिङटोनमा आँखा लगायो ।
खुशीमन वर्षमा एक पल्ट आउने यार्सा सिजनको लागि उकाली लाग्यो । पिठ्यूँमा बुकीमा चाहिने कपडा र टेन्टपालको गुन्टा थियो ।
पुर्बाङमा सयौं पाल टाँगिए । त्यसमा खुशीमनको पाल बीचौ भागमा थियो ।
यार्सा औपचारिक रूपमा फुकुवा भयो ।
बादलको घुम्टो ओढेको पुर्बाङमा जन्ती जान लागेको भान हुने लस्कर ठाडो उकालो लाग्यो । यो लस्कर यार्सागुम्बा खोज्न जाने समुदायको थियो । लस्कर नागबेली आकारमा उकालियो ।
पुर्बाङको उकालो थुम्को पार गर्दै लस्कर तेर्सो लाग्यो । केही मिनेटको तेर्सो बाटोको अन्त्यस्तिपछि माझिला पुग्ने नागबेली उकालो आयो । अघि पुगेकाहरू पछि पर्थे र पछि परेकाहरू अघि जान्थे ।
समुद्री सतहदेखि करीब बयालीस सय मिटरको उचाइमा यात्रारत यो लस्कर हेर्न लायकको थियो । उचाइमा हिंड्नुपर्ने भएकोले अघिको भन्दा अहिले स्याँस्याँ बेसी बढ्यो ।
“हामी बिचौँ भागमा यात्रारत छौं खुशीमन ! हामीलाई अघिकाले जति छोडेका छन् हामीले पछिकालाई त्यति नै छोडेका छौं ।” खुशीमनको स्याँस्याँलाई बुझेका धनेश्वरले एकछिन उभिंदै सान्त्वना दिए ।
माझिलामा उक्लिए पश्चात् थकाइ मार्दै लस्कर छरिएर सुस्तायो । हस्को केही मत्थर भयो । पसिना चिस्सिएर खुशीमनको नश्वर देह हल्का चिस्सियो ।
प्रायः तेर्पाइँ लागे । कहिले उकालो र कहिले भिरालो तेर्सो हिंडेर करीब चौवालीस सय छयालीस मिटर उचाइमा पुगे ।
“यार्सा पाउनुभयो कि क्या हो फुपाजु !” सविनाले मुस्काउँदै भनी ।
“होइन, समुद्री सतहदेखिको उचाइ जान्न खोजेको ।” खुशीमनले जवाफ दिए ।
“यहीँबाट खोज्दै जाऊँ !” धनेश्वरले भने ।
लडाइँमा गएका सिपाही जस्तै घस्रिंदै यार्सा खोज्नेहरू हेर्न लायकका देखिन्थे ।
मौसम सफा थियो । युवतीहरू डाँडो मुन्तिर लागे । खुशीमन यार्सा खोज्दै डोल्पासँगको सिमाना स्यार्लुङतिर हानियो ।
स्यार्लुङबाट सुन्दर डोल्पाका केही झलक भए पनि हेर्न पाइन्थ्यो । गुम्बा गाउँ निकै सुन्दर देखिन्थ्यो ।
“डोल्पा प्राकृतिक रूपमा सुन्दर छ ।” धनेश्वरले डोल्पा चिहाउँदै बोले ।
डोल्पाका युवती यार्सा खोज्ने क्रममा स्यार्लुङमा भेटिए । खुशीमन लगायतले डोल्पाली युवतीका सुन्दरतामा मक्ख पर्दै केही थान चाइनिज बिस्कुट किने ।
कुहिरोले रुकुम पूर्वका युवक र डोल्पाका युवतीलाई खर्लप्प ढाक्यो । शिरशिरे हावा निकै चल्यो । हिमाली हावा निकै तेज थियो । सबै आ-आफ्नै गन्तव्य स्थल लागे ।
“मान्छेले खनेको पनि देखिएन । यी थुम्काहरूमा यार्सा खुबै पाइन्थ्यो ।” धनेश्वरले भने ।
“जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा पनि परेको छ त्यसैको परिणाम हो यो ।” यार्सा नपाइनुको पीडामा खुशीमन बोल्यो ।
दिन घर्किन लाग्यो । यार्सा खोजी गर्नेहरूको छिटफुट भीड मिसिन्थ्यो । छुटिन्थ्यो ।
हिउँमा स्थानीय गुन्युचोली र पटुकीमा सजिएका एक थान युवतीको बगालतिर खुशीमनको सानो झुन्ड मिसियो ।
गहुँगोरी एक युवतीसँग खुशीमानका आँखा चार भए । लगभग अट्ठाइस उनन्तीस भन्दा कम्तीकी होइनन् जस्ती ।
करीब आधा घण्टा पश्चात् बल्ल उनीहरू एकआपसमा खुलेर कुरा गरे ।
खुशीमनले आफ्नै पहिचान झल्कने पहिरनमा सजिएका युवतीसँग सामूहिक तस्वीर खिच्यो । गफगाफ हुँदै गर्दा युवतीको बगालले कति कति यार्सागुम्बा पाए भनेर युवकका झोला खोल्ने बेला चाइनिज बिस्कुट देखे । भएभरका बिस्कुट देखेर युवतीहरू रमाए । खुशीमनको समूहले अन्ततोगत्वा चाइनिज बिस्कुट फुटाएर सबैलाई बाँडे ।
केही समयपछि खुशीमन घरतिर झरे । उनले खिचेका सामूहिक तस्वीर हेर्दै मनको तलतल कवितामा पोखे । यसोउसो गर्दा फेसबूकमा टाँस्ने जोश चढ्यो । हिउँमा खिचिएका सामूहिक तस्वीर राख्दै केही साथीलाई ट्याग गर्दै कविता यसरी पोष्ट गर्यो—
हाम्रै संस्कृति सभ्यभव्य छ नि हौ ! कसको सिको गर्नु को ?
आफ्नै सुन्दर भेष गाउँघरको लुङ्गी र चोली न हो
यी पोते पटुकी चुरा छङछङी टीका सुहाए अति
हाँसो वैभव हो रहेछ मनको हे ! शैलकी सुन्दरी ॥
क्या राम्री नवयौवना सुरसिली उन्मत्त यो शैशव
क्या ! दामी अझ मन्दमन्द वयमा मुस्काउँदी वैभव
साँच्चै सौम्य प्रसून लाग्छ तनमा माया खिले झैं गरी
राम्रो होस् सब सोँच नम्र मनमा हे शैलकी सुन्दरी ॥
हाँसो मुक्त मीठो सदैव रसिलो बोली मीठो साथमा
सारा कल्मष भाग्छ हेर मनको माया भए पासमा
हामीभित्र लुकेर बस्छ समता प्रारम्भ माया छरी
न्यानो साथ सदैव हुन्छ जगमा हे शैलकी सुन्दरी ॥
हाँसौं स्वस्थ बनौं अझै प्रकृतिमा हाँस्दै बिताऔं जुनी
के लानू छ र हौ मरेर सँगमा पीडा फुकाऔं अनि
हाँसोमा सब शत्रु मित्रजनमा ती फेरिए झैं गरी
हाँसोमा अझ खुल्छ व्याप्त मन यो हे शैलकी सुन्दरी ॥
बोल्नेको त पिठो बिकेर सकियो गम्केर हाँस्दै बस्यो
जो बोल्दैन कुहेर चामल जसै थन्केर बस्ने भयो
यस्तै हो प्रिय प्रीतिमा हृदयको भाका बुझे आखिरी
मौका आउँछ एकपल्ट सबको हे शैलकी सुन्दरी ॥
चिनेका साथीहरूले वाहवाही गरे । एक अपरिचित युवतीको रिक्वेस्ट आयो । फेसबूक नाम अंग्रेजी अक्षरको एमके थियो । एमके नामक अक्षरसँग खुशीमन निकट थियो । स्वीकार्नु नकार्नुको दोसाँधमा रिक्वेस्ट उसले एक्सेप्ट गर्यो ।
“मेरो रिक्वेस्ट स्वीकार्नु भएकोमा धन्यवाद !” इन्बक्समा एमकेले लेखिन् ।
“हाम्रो तस्वीरमा त्यति मीठो कविता लेख्नुभएको रहेछ । मनै लुट्नु भयो ।” उताबाट टेक्स्ट आयो ।
निकै समय बातचित भए पश्चात् एमकेको पूरा नाम मनखुशी रहेछ । एमके नामसँग खुशीमनको अतीत सहकार्य नसकिएको गजबको संयोग भयो ।
समय आफ्नै लयमा बग्दै रह्यो । खुशीमनको जीवनको पृष्ठभूमिमा एमके नामको सनातनी आतङ्क अद्यावधि कायमै रह्यो । परन्तु आँखा अगाडि जीवनको केही छनक, केही लय भेटिएको सुखद युग थियो । कष्टकर जीवनको दारुण दशामा खुम्चिएर बिताएका पट्यारलाग्दा वर्षबाट तङ्ग्रिन केही उधारो आशा किस्ताबन्दीमा बौरियो ।
महीना दिनको बातचितले पेल्मामा भेट्ने सहमति भयो खुशीमन र मनखुशीको । खुशीमन हजार कुरा खेलाउँदै पेल्मा गयो ।
दुवैजना पेल्माको सिरिखूँ स्याउबारीमा भेटिए । सिरिखूँका अथाह स्याउ देखेर खुशीमनको मन काबुमा रहेन ।
बादलका टुक्राहरू पहाडका कन्दरामा लुकामारी खेल्दै हुन्थे । हरियाली चारैतिर छाएको थियो । सिमसिम पानीसँग कहिलेकाहीं इन्द्रेणी छचल्काउँदै श्रीसूर्य व्योममा मुस्कुराई झुल्किन्थे । खुशीमन मनखुशीसँग आनन्दले पुलकित हुन्थे । यतिखेर उसका पीडाहरू गायब भइसकेका थिए ।
मनमा चैनको पर्दा उघारिएको थियो । यतिको उन्मुक्ति पाउन पनि खुशीमनले थुप्रै समय खर्चेको थियो । केही थान आयु सकेको थियो ।
वर्तमानकी एमके उर्फ मनखुशी केही आशा भएर उदाए पनि विगतकी एमके उर्फ मनकुमारीको सनातनी भूत वर्तमानमा वेलावेला पराकम्पन भई आउनु अस्वाभाविक थिएन । विगतको पराकम्पन आइरह्यो । हमेशा कुटिल यन्त्रणा मात्र जीवनको ठेक्का होइन होला । यही सम्झेर बाँकी जीवनको सुखद परिकल्पना गर्नु उचित ठान्यो ।
मनखुशीको घरमा कोही थिएनन् । खुशीमन त्यहीं बस्यो । खाना पछि स्याउको जुस पियो । छिप्पिएको जुस निगार जस्तै लाग्यो खुशीमनलाई । दुवैजनाले तथानाम पिए । बिस्तारै मात लाग्न थाल्यो । उसलाई फेरि आफ्नो जवानी बौरिए जस्तो लाग्यो । भित्ताको ऐनामा आफूलाई निकै लक्का देख्यो । भोलि गाउँमा हल्ला चल्यो – “खुशीमनले बुदेश कालमा राम्रै बुढी पाएछ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

