
रामऔतार सबेरै उठ्यो । पुष महीनाको लगभग अन्तिम दिन ! जाडो आफ्नो यौवनको उत्कर्षमा थियो । उज्यालोको आभाले धर्ती उज्यालिन पाएकै थिएन । बिहान जमीन खस्न लागेको भुकभके उज्यालो कुहिरोको कम्बलले लपेटेर राखेको थियो ।
बिहानै गोरुलाई घाँसपानी गरिरहेथ्यो रामऔतार ।
‘काका हौ, काका !’ भन्दै आत्तिंदै बोलाइरहेको बिसेसरको स्वर सुनेपछि ऊ गुहालीबाट निमेषभरमै बाहिर निस्कियो ।
“हैन के भयो हँ बिसेसर ?” रामऔतारले एकै सासमा सोध्यो । ”रामकिसुनवाको फोन छ ।” उसले सानो टिकटिके फोन रामऔतारको कानमा टाँसिदियो । आँगनको चारपाईमा बस्दै बाँसको दतिवनले दाँत मोल्न थाल्यो ।
“हेलो… हँ… हँ… अच्छा…….” उत्साहित रामऔतार गफको नहरमा बाँकटे हान्न थाल्यो तर गफ गर्दागर्दै केही क्षणमै मलिनताको धामन साँपले उसको आवाजलाई बेर्दै लान थालेको महसूस गर्यो बिसेसरले ।
केही क्षणमा गफ सिद्ध्याएर फोन बिसेसरलाई दियो रामऔतारले । अघि फोन पक्रिंदा कसिलो उसको हात फोन दिइरहँदा कमजोर र शिथिल देखियो ।
“के भन्छ कका रामकिसुनवा ?”
“खै के भन्नू !” उसले दीर्घ निश्वास लियो । “काममा लागेको कम्पनी टुट्यो भन्छ । बर्बाद भैगयो !!” थकित आवाजमा रामऔतारले भन्यो ।
“हो….र….? बर्बाद त मेरो पो भयो त काका । अब मेरो पैसा कैले तिर्छ त किसुन्बाले ?” बिसेसरले पिच्च आँगनामा थुक्दै आफ्नो भागको चिन्ता प्रकट गर्यो । चिन्ता त के भन्नु आफ्नो लगानीको सुनिश्चितता खोज्यो । तर अलि खस्रो र अस्वाभाविक लवजमा ।
रामऔतार अचानक शून्यताको खाडल पर्यो । मन धाँजा फाटेको खेत जस्तै भयो । के भन्ने के नभन्नेको दोसाँधमा उभिइरह्यो ऊ ।
लगत्तै रामऔतारको जवाफ नपर्खीकन मोबाइल बोकेर बिसेसर घरतिर लाग्यो ।
रामऔतारको दिमागमा साइकलको फिरबिल घुमे जस्तो भयो । आँखामा चिन्ताको माकुराले जालो बुन्न थाल्यो । मेला बजारमा चक्का घुमाउँदै हलुवाईले रुइया मिठाई बनाउँछ नि हो त्यस्तै । ऊ आँगनको चारपाईमा थचक्कै बस्यो । आँगनछेउमा नीमको गाछी थियो । ऊ त्यही नीमको टुप्पातिर एकोहरो हेर्न थाल्यो ।
रामऔतारको छोरो रामकिसुन कतार उडेको भर्खर दुई महीना मात्र भएको थियो । ऊ कतार जाँदा लागेको खर्च आँगन जोडिएको छिमेकी बिसेसरले ऋण दिएको थियो ६ महीनामा तिर्ने शर्तमा । अर्को महीना तनखा आएपछि थपथाप गरेर अलिकति पैसा पठाउँछु भनेको थियो १५ दिनअघि फोनमा किसुनवाले ।
अब कसरी पैसा तिर्ने होला ? रामऔतारको दिमागमा चिन्ताको लोहोरोले चटनी पिस्न लाग्यो ।
बिसेसरको सालो मेनपावरको लोकल ऐजेन्ट थियो । पुरानो राजदूत मोटरसाइकल चढेर बेलाबेला भिनाजुको घर आइरहन्थ्यो । ऊ गाउँ आएको सबैले थाहा पाउँथे । गाउँ डुलिरहन्थ्यो । घरघर पसेर दु:खबिराम सोधिहिंड्थ्यो । गाउँका दुईचार जनालाई विदेश पठाइसकेको पनि थियो उसले । गाउँमा उसलाई अर्जेन्ट साहेब भन्थे ।
घरगाउँले उसलाई सर्बत पानी सोध्थे । एजेन्ट कटुवा पिस्तोल बोकेर हिंड्छ भन्थे गाउँले । तर देखेको भने कसैले थिएन । बिसेसरको सल्लाहमा त्यही एजेन्टले पठाएको थियो रामकिसुनलाई पनि कतार ।
रामऔतारलाई अचानक बिसेसरदेखि रीस उठ्यो ।
“उसकै सालोले कस्तो कम्पनीमा पठाइदियो छोरोलाई । जानै नपाई कम्पनी टुट्यो । उफ् त्यै बिसेसरले जानोस् पैसाको हिसाब किताब ।” उसलाई चक्कर लाग्न खोज्यो । चारपाई मा ढल्किएर आँखा चिम्लियो ।
“के भयो किसुनबाके पप्पा ?” चिरपरिचित खस्रा तर न्यानो हात महसूस गर्यो उसले ।
उसले बिस्तारै आँखा खोल्यो । उसकी श्रीमती एक हातमा हुक्का समातेर अर्को हातले उसको निधार सुमसुम्याइरहेकी थिई ।
“हैन तँलाई कत्ति भनूँ, हँ ! यो हुक्का बन्द गर भनेर । दम्माले गला घोट्दा थाहा पाउलिस् ।” कहिल्यै चर्को नबोल्ने रामऔतारको शरीरमा एकाएक कालीमाता चढेको देखेर किसुन्बाकी आमाको ओठ पीपलको पातजस्तै काँप्न लाग्यो र हतारहतार सम्हालिंदै भान्सातिर छिरी ।
रामकिसुन कतार उडेपछि रामकिसुनले गर्ने सम्पूर्ण कामको जिम्मेवारी फेरि रामऔतारको काँधमा सरेको थियो । उसको बूढ्यौलो काँध परिस्थितिले गर्दा पुनः तन्नेरी हुनुपरेको थियो ।
जानुभन्दा अघि किसुन्बाले घुर्यानको दुई कट्ठामा पछ्ता भन्टा रोपेको थियो । अग्ता कोबि बेचिसकेको थियो बरमथान र पथलैया बजारमा । हलो जोत्ने देखि, तरकारी रोप्ने, गोड्ने, उखु बेच्ने सबै कामले थिच्न थालेको थियो उसलाई । श्रीमतीलाई दमले हिंड्न दिंदैनथ्यो । चारपाइला हिंडेपछि स्वाँ-स्वाँ गर्थी । तर रामऔतार घर नभएको बेलामा हुक्का गुड्गुडाइरहन्थी । कहिलेकाहीं बुहारी तरकारी बेच्नसम्म सघाउँथी । तर पहिलेको जस्तो जमाना कहाँ रह्यो र ? ऊ सोच्थ्यो । अचेलका बुहारी तरकारी बेच्न बजार जान पनि शरम मान्थे । उसकी बुहारी पनि के अलग हुन्थी र अरूभन्दा । कहिलेकाहीं बुहारी बाहेक किसुन्वाकी आमाले पनि थोरबहुत तरकारी बेच्न सघाउँथी ।
आँगनपारि बिसेसरले घुर सल्कायो । घुर सल्किनुभन्दा धुवाँ पुत्ताउन थाल्यो । घाँसपराल शायद शीतले भिजेका थिए । धुवाँको मुस्लोको चक्का घुरमाथि उठेर रामऔतारको आँगन परिक्रमा गर्न थाल्यो । चारपाई मा बसिरहेको रामऔतारको आँखामा धुवाँले सुर्जेमुखी खुर्सानी झोसिदियो । बरर आँसुका दाना खसे । फोक्सोमा धुवाँ भरियो । खोकीले सास अड्केला जस्तो भयो । चिन्ताले मनतातो भैरहेको दिमागमा अचानक रीस र सन्तापको उग्र ज्वरो चढ्यो । रामऔतार चारपाईबाट जुरुक्क उठ्यो ।
“ए बिसेसर्बा.. के गर्छस् यस्तो.. मार्ने विचार छ कि क्याहो तेरो….रामकिसुनलाई त मारिस् मारिस् अब हामीलाई पनि मार्छस् ? मारिदे…हामीलाई पनि मारिदे ….” ऊ दीपावलीमा पट्का पड्के जस्तो पड्कियो पटट । बिसेरस हेरेको हेर्यै भयो ।
‘काका सठियाय कि क्याहो ।’ उसले सोच्यो । तर केही बोलेन । बाउ मरेर गए पनि उसको बाउको लँगौटिया यार जो थिए रामऔतार काका । उसले चूपचाप सुन्यो । मनमा वचनको बिच्छीले डंका मारे पनि खासै जवाफ फर्काएन ।
“केभो हौ काका तपाईंलाई ? किन यस्तो कुरा गर्नुहुन्छ ! मेरो रहरले गा´को हो त रामकिसुन्वा कतार ?” भन्नबाहेक केही भनेन । उसलाई थाहा थियो काका धुवाँको पिरोले भन्दा छोराको अनिश्चित वैदेशिक रोजगारीको पीरले पिरोलिएको थियो । उसको रिसको ज्वरोको मूलजरो बिसेसरले पत्ता लगाइसकेको थियो ।
बिसेसर एक्लै घुर ताप्यो त्यो बिहान । सधैं रामऔतार काका र ऊ घुर ताप्दै व्यावहारिक उल्झनका कुरा गर्थे । समाधानका उपाय पहिल्याउँथे । खेतीकिसानीका गणित छिचोल्थे ।
रामऔतार बिहानभरी चारपाईमा झोक्राएर बसिरह्यो । सधैं बिहानै निमको डाँठले दतिवन गर्दै इनार पुग्ने, इनारबाट एक भार पानी ल्याउने उसले राम्ररी मुख धुनसम्म जाँगर देखाएन । खाना पनि राम्रोसँग खाएन । मुख जुठो मात्र गरेर उठ्यो ।
भातभान्सा सकेर बुहारी कचिया बोकेर बाहिर निस्केको देखेपछि रामऔतार उपदेशात्मक आदेश दिंदै भन्यो, “बुझिस् भँगाहाबाली त्यो बिजलपुराबाली (बिसेसरको स्वास्नी)सँग पगार काट्न नजानू । तिनीहरूको संगत नगर्नू । बर्दाद पार्लान् फेरि । “
घरपरिवार सबैले घट्नाको बारेमा थाहा पाइसकेका थिए । बुहारी केही नबोली निस्किई ।
जाडोले भोलिपल्ट झनै उग्र रूप देखायो । फुसफुस शीत खसिरह्यो दिनभर । घाम कता हो कता बेपत्ता थियो । शीतलहर शुरू भएको थियो तराईमा । खेतबारीको काम तत्काल थिएन । खुट्टी उखु बरमथानको राटनमा लगेर बुझाइसकेको थियो । मुढन काट्न जे. टि. ए.ले चलान बाँडिसकेको थिएन । रामऔतार ओसराको चारपाई मा बसेर सुर्तीको बोरा उधार्दै खाप्सियोले सिउँदै गर्दै थियो गोरुलाई ओढाउनको निम्ति । उसले ओढेको कम्बलको कुनाबाट चिसो स्याँठ घरीघरी छातीसम्म पुग्थ्यो र हतार हतार कम्बलको छेउकुना मिलाउँथ्यो ।
रातभरिमा उसले ऋण तिर्ने उपायको धमिलो ठेगाना भेट्टाएको थियो । श्रीमतीले भौरी गरेर जोडेको जग्गा बेच्न मन देखाइन । कथंकदाचित छोरो फर्किइहाल्यो भने पनि सौरागोरुको हल र टायर गाडा बेचिदिने र अलिअलि भए पनि ऋणपान तिर्ने । बाँकी ऋण उखु र तरकारी खेतीबाट उकास्ने ।
बिसेसरले भोलिपल्ट पनि घुर सल्कायो । थरथर कामिरहेको हात घुरको आगोमा सेक्न थाल्यो । पेट, ढाड, पैताला सबै सेकायो । रामऔतारलाई पनि आफैं घुर बालौं जस्तो नलागेको हैन तर किनकिन मन मानेन । बिरक्तिएको मन लामो झिरमा उनिएर कतै अप्ठ्यारोमा झुन्डिरहेझैं भयो । उसले घुर ताप्ने रहरलाई संयमताको किलोमा बाँधिदियो र सान्त्वनाको घाँस हालिदियो । अरू दिन भए बिसेसर आफैंले रामऔतारलाई बोलाउँथ्यो । खैनी आदानप्रदान गर्थ्यो । तर मनमा लागेको नाकाबन्दी घरको आँगनसम्म पुग्यो । तर उक्त दिनको घटनापछि बिसेसरले पनि मुख फोरेर रामऔतारलाई बोलाएन न त रामऔतारले नै बिसेसरलाई बोलायो ।
बिसेसर घुर तापिरहँदा गाउँका अरू दुईचार जना पनि घुर ताप्न आए । खेतीकिसान र घर व्यवहारको कुरा चल्यो । कोही तरकारी खेतीको कुरा गर्दैथे भने कोही वैदेशिक रोजगारीको । रामऔतारको हात खाप्सियोमा अल्झिए पनि मन चाहिं त्यही गफको मियोमा घुमिरहेको थियो ।
घुर ताप्न आउने मध्येको रामधनिकले ए रामऔतार दाजु घुर ताप्न आउनुस् भनी आग्रह गर्दा अहिले फुर्सद छैन भनेर टार्यो । रामधिकले छोराले भर्खरै विदेशबाट पठाएको भनेर मोबाइल फोन देखायो । त्यहाँ उपस्थित सबैले ओल्टाइपल्टाइ गरेर हेरे । फोनको कभरमा लामो स्प्रीङ जस्तो डोरी अल्झाएर कन्दनीको धागोमा बाँधेको थियो उसले ।
“यसो गरेन भने त हराइहाल्छ नि यस्तो किम्ती फोन,” रामधनिक हल्का मुस्कुरायो ।
“यसले त फोटो पनि खिच्न मिल्छ अनि अब चाँडै बर्दिबास गएर सिम किन्छु र घरमा सुतीसुती छोरासँग फोन गर्छु ।” कैलो जुँघामा ताउ दिंदै थप्यो रामधनिकले ।
सबै सतर्क पोजिसानामा उभिएर एउटा फोटो खिचे र तँछाडमँछाड गरेर आ-आफ्नो अनुहार हेरे ।
“बाफ रे के जमाना आयो । मोबाइलबाटै फोटो ।”
सबै दङ्गदास परे । मोबाइल फोन भर्खरै मात्र सर्वसाधारणको पहुँचमा आएको थियो । गाउँभरिमा बिसेसर बाहेक मोबाइल बोक्ने रामधनिक दोस्रो व्यक्ति थियो । १ हजार २ सय मोडेलको पुरानो श्यामश्वेत नोकिया फोन बोक्ने बिसेसर खिस्रिक्क पर्यो । हावा भरिएको बेलुनको हावा अचानक फुस्के जस्तो । त्यो पनि उसलाई उसको एजेन्ट सालोले दिएको थियो केही महीनाअघि ।
रामऔतारलाई पनि मोबाइल हेर्ने चाहनाले दिमाग चिलाउन थाल्यो । एक मनले त जाऊँ जस्तो पनि लाग्यो उसलाई तर मनको संयमताको जरो बलियो रहेछ उसको यस पालि पनि उखेलिन मानेन ।
रामऔतारलाई त्यो रात निद्रा परेन । मनको घोडा बिनालगाम दौडिरह्यो । जति कोल्टे फेर्दा पनि घोडा रोकिएन । सबैजना मस्त निदाएका थिए । रात इनारजस्तै गहिरिंदै थियो तर उसको निद्रा गहिराइ देखेर बिच्किएको बालक जस्तै आँखाको छेउ पर्नै मानिरहेको थिएन । उसको पनि रामधनिक जस्तै पक्की घर बनाउने रहर थियो । मोबाइल कुर्थाको गोजीमा हालेर हिंड्ने सपना थियो । उफ् सबै मेवाको गाछी ढले जस्तै ढल्यो । फतक्कै कुहिएको फर्सी लत्तीबाट फ्यात्त खसे जस्तै खस्यो । लामो सुस्केरा हालेर बेस्सरी आँखा चिम्लियो । तर आँखा चिम्लेर मात्र निद्रा के पर्थ्यो र ! निद्रा त पहिले मनमा लाग्नुपर्छ अनि पो आँखातिर सर्छ त । ठ्याक्कै त्यही भयो रामऔतारलाई पनि ।
टाढा कतै खिरखिरे खिरखाऊँ…..खाऊँ…..खाऊँ गरिरहेथ्यो । स्यालहरू हुइयाँ मच्याइरहेका सुनिन्थे । जाडोमा खिरखेको पुच्छर जीउभन्दा मोटो हुन्छ चिसोले र प्वालभित्र छिर्नखोज्दा जीउ छिरे पनि पुच्छर छिर्न नसकेपछि रातभर कराएर बस्छ भन्ने उसले बच्चैमा सुनेको थियो आमाको मुखबाट । शायद त्यस्तै पो थियो कि ! मुढो ढले जस्तो निद्रा पर्ने रामऔतारलाई बाहिर चमेरो उडेको, लाटोकेसेरो उलुउलु गरेको र अरू निशाचरहरूको चाल स्पष्ट सुन्यो । सन्तावन्न वर्षको उमेरमा यस्तो उसलाई कहिल्यै भएको थिएन । निद्राको विषले लट्ठ हुनुपर्ने आँखा पानी परेर खुलेको असारको आकाश जस्तो थियो । उज्यालो, बिलकुल चङ्गा !
ऊ उठेर टुक्रुक्क बस्यो । खैनीको पुरिया निकालेर मोल्न थाल्यो । खैनी ओठमा च्याप्यो अनि कम्बल जीउमा लपेटेर बाहिर निस्कियो ।
घरपछाडि पिसाब फेर्न टुक्रुक्क बस्यो रामऔतार ! पिसाब फेर्दाफेर्दै पर गाउँको पुछारमा भएको बरमथानमा बत्ती झल्याकझुलुक बलेको देख्यो उसले । बरमथान बर, पिपल र पाकडको गाछीले घेरिएको थियो । मान्छेहरू त्यो पिपलको गाछीमुनी डायनहरू दुर्गापूजा नौरथाको रातभरी झाँक्रो फिंजाउँदै नाच्छन् भन्ने सुनेको थियो सानैदेखि । तर सुनेको कुराको के विश्वास गर्नू । देखेको थिएन । तर आज उसलाई कतै त्यस्तै पो हो कि भन्ने लाग्यो कताकता । जीउमा फिक्का डरका मसिना काँढा उम्रिए ।
पिसाब फेरेर फर्किंदा बिसेसरले साँझ बालेको घुरमा धुँवा आइरहेको देख्यो । आगो अझै छ कि क्या हो ? हातखुट्टा चिसोले लाटा भएका थिए । आगोको लोभ पलायो । एकछिन सेकेर जानुपर्ला भरेर घुर ताप्त टुक्रुक्क बस्यो रामऔतार । सानो लकडीले खरानी कोट्यायो । भुतभुते खरानीमुनि आगोको रातो फिलुङ्गा देखिए । हात पसारेर ताप्न थाल्यो ऊ । घुर हेर्दा केही अघिसम्म घुरमा कोही तापिरहेको अनुमान गर्यो उसले । को हुन सक्थ्यो र ? उही बिसेसर बा त होला नि । अब त के थाहा पाउला र मैले घुर तापेको । घुरको तातोले उसका हातपैर न्याना भए ।
भोलीदेखि आफ्नै आँगनमा घुर ताप्ने योजनाको डोरी बाट्न थाल्यो ऊ ।
“काका आगो !” एक्कासि आएको चट्याङ जस्तो आवाजले रामऔतारको तन्द्रा भङ्ग भयो ।
“हँ के भयो ?” बिजुली गतिमा ऊ जुरुक्क उठ्यो । कल्पनै नगरेको आवाजको तीव्र झट्काले मुटु बेस्सरी हल्लियो ।
उसले ओढेको कम्बलको एक फेर आगोले टिपिसकेको रहेछ । उसले थाहै पाएको थिएन । घुरको न्यानोले तन्द्रावस्थाबाट निद्रालोकमा पुर्याउनुअघि नै उसका आँखा छ्याङ्ग भए ।
बिसेसर रहेछ । उसैले कम्बलको आगो निभाइदियो ।
“बाफ रे बाफ ! आगो ! ए…ए. बिसेसर..पो… उङ लागिहालेछ घुरमा बस्दाबस्दै…आज अलि निद परेन ।” डरले बोलीको लगाम कस्यो र भकभकाउँदै बोल्यो रामऔतार । रामऔतारको मुटुमा त्रासको पराकम्प गइरह्यो । खुट्टा थररर काँपे । लामो श्वास फेर्यो । बल्ल उफ्रिएको मुटु अलि शान्त हुन थाल्यो ।
के भन्ने र के गर्नेको दुविधामा अल्झिरहेको देखेपछि बिसेसरले आँखा मिच्दै भन्यो, “हेर्नू त काका ! मैले नदेखेको भए के हुन्थ्यो ? किन यति राती घुर तापेर बसेको एक्लै ?” रामऔतारको अनुहारमा असहजताको पर्दा तन्कियो तर राती हुनाले बिसेसरले भने देख्न भ्याएन ।
दुवैजना सहज हुन कोशिश गरे । घुरछेउ टुक्रुक्क बसे । खरानी कोट्याउँदै घुर तापे । तर खासै खुल्न भने चाहेनन् । तर केही क्षण पश्चात बिसेसरले आफू पिसाब फेर्न उठ्दा घुरमा जुम्लुङ्ग कालो छाया देखेर भूत ठानेको बतायो । रामऔतारको सेतो जुँघामुनि सहजताको मुस्कान दौडियो । कताकता डर पनि लाग्यो । यदि बिसेसरले नदेखेको भए..के हुन्थ्यो होला कल्पना गर्न खोज्यो तर सकेन । बिसेसरले घडी हेर्यो । रातको २ बजेको रहेछ । दुवैजनाले लामो हाइ काढे र सुत्न जौं भन्दै आ-आफ्नो घरतिर लागे ।
रामऔतारलाई सबेरै निद्राले छाड्थ्यो तर भोलीपल्ट बिहान भैसक्दा पनि ऊ उठेको थिएन । बाहिर आँगनमा बिसेरस बोलेको सुन्यो उसले ।
“खै काका उठ्नुभाको छैन काकी ?”
आज बिहानै रामकिसुनले फोन गरेको थियो । अर्कै कम्पनीमा काम मिल्यो भन्दैथ्यो ।
“आज राति चोर आको रहेछ नि थाहा पाउनु भो ? सिन खन्ने चोर । राति दुई बजेतिर । सिन खन्दाखन्दै भागेछ मान्छे बोलेको सुनेर । धनेसर काका राति पिसाब फेर्न उठ्दा भाग्दै गरेको देखे रे ।”
रामऔतारका कान ठाडा भए । छ्याङ्ग आँखा खुले । आँखा खोल्दा आँखा गह्रुँगा थिएनन् । चङ्गा थिए । मनमा गहिरो शान्ति थियो । बाहिर चिसो भए पनि ऊ भित्र न्यानो महसूस गर्यो उसले । सोच्यो, ओहो उठ्न त निक्कै अबेर पो भैसकेछ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

