ज्ञानेश्वर गौचर जाने बाटोमा प्रमोदप्रसादको दुईतले झिंगटीको छाना भएको घर थियो । त्यसको वरिपरि चार रोपनी जग्गा थियो । त्यसमा प्रमोदप्रसादको स्त्री सानीबज्यैले राम्ररी कुलो काटीकाटी बारी बनाएकी थिइन् । प्रमोद पचपन्न वर्षसम्ममा पाको भइसकेका पण्डित र दार्शनिक थिए- उनी संसारको चारैतिर टाढा-टाढासम्म हेरेर नपुगी प्राकाशको भित्रभित्र पनि आँखा गाड्दथे; तर सानीबज्यै उनीभन्दा एघार वर्ष कान्छी हुनाले मात्र होइन, स्वभावैले घरबारीलाई नै संसार ठान्दथिन् – चारभञ्ज्याङभित्र पानी परेको उनी आफ्नै सागपातलाई हुर्काउनलाई भनिठान्दथिन् । जगतमा घाम लागेको श्राफ्नो गुन्द्रीमा फिँजाएर राखेको खुर्सानीलाई सुकाउन लागेको भन्ने सम्झन्थिन् । ती दम्पतीका संसार दुई नापोका थिए, तर संसारको सार दुवैले एउटै कुरालाई देखेका थिए एउटी छोरी – चौध वर्षकी रानु अरू सन्तान थिएनन् ।

रानुलाई खडेरी परेको बेलामा कोपिलाएको गुलाफभन्दा गाठोसित हुर्काउनुपरेको थियो- ऊ दुईतीन वर्षमा एकचोटि सिकिस्त बिरामी हुँदै भाएकी थिई । अतिसार, विषमज्वर, बिफर, कमलपित्त, श्राँखा दुख्ने, कान दुख्नेदेखि अनेक अनौठा नजानिएका, पत्ता नपाइएका रोग जस्तो भित्र कता-कता दुखेर मूर्छा हुने, झुम्म भइरहने, जे जे खायो नभडेर उल्टी हुने, निद्रा नपर्ने, त्यसै झस्केर रुने, घाउ खटिरा आउने इत्यादि । खट्का काढेर प्राज ऊ चौध वर्ष पुगेर पन्ध्र लागेकी थिई । ऊ श्रोछ्यान नपरेको दुई वर्ष भएको थियो । त्यतिभित्रमा लेखपढतिर उसले अचम्मसित उन्नति गरेकी थिई ।

आफूले जत्ति पढ्ने अवसर पाएकी भए रानु अर्की गार्गी हुँदी हो भन्ने प्रमोदलाई थियो । ऊ पढ्नलाई जन्मेकी थिई । संसारका विषालु काँढाहरू मुटु, कलेजा, फोक्सो र कञ्चटमा गड्दाको विभिन्न अनुभव संग्रह गर्नलाई नै ऊ जन्मेकी थिई । त्यसैले सयजना स्वास्नीमान्छेलाई मार्न सक्ने सुइराहरूलाई छालामा झुण्डाएर ऊ बलात्कारको हाँसोले घरका कोठाहरूलाई गुञ्जाउँथी ।

आज उसको जन्मदिवस भएकोले श्रामाबाबुबाट उसले नयाँ लुगा र श्रृङ्गारका सामान पाएकी थिई । त्यही लुगा लगाएर डील-डीलमा घुम्दै थिई । साउनका बादल डल्ला डल्ला परेर नाकाशमा हिंडदै थिए । बादलबाट सूर्य फुत्त निस्के झैं विमलनाथ त्यहाँ भाइपुगे । रानु लाज मानी दगुरेर रूखको प्राडमा लुक्न पुगी । विमल त्यहीं अडे । रानुले पातका जालीको सबभन्दा सानो प्वालबाट विमललाई चियाई – ऊ चिरपरिचित सत्र बर्षको असाध्य राम्रो युवक थियो । रानुको भनाइमा उसले जतिचोटि विमललाई देखी, उतिचोटि उसमा सौन्दर्य थपिंदै गएको थियो । आज त झन् तेर्सोबाट घाम पर्नाले ऊ सूर्यको टुक्राजस्तै देखिएको थियो ।

“बा खोइ ?”

रानुले उत्तर नदिएकोले विमल हाँस्यो । उसले संसार हाँसेको देखी । सधैं ऊ बोल्दथी- आज बोल्न सकिन ।

“बा त बाहिर जानुभयो कि क्या होइन ? आमा खोइ त हैं ?”

रानु दगुर्दै घरभित्र पसी । विमल प्रमोदको घरमा बराबर आउँथ्यो, पढ्ने पुस्तकमा राम्रो नबुझेको ठाउँमा सोध्ने गर्दथ्यो, प्रमोद दर्शनको जोडले विमललाई दर्शाइदिन्थे । रानुसित पनि विमलको राम्रो हिमचिम थियो, उसको मुखबाट उसले प्रेमका कथाहरू सुनेकी थिई । रानुलाई सन्चो नभएको बेलामा विमलले माया गरेर सोधेको पनि थियो । उसले एउटा गीतको पुस्तक ल्याएर रानुलाई चिनो समेत दिएको थियो । त्यही आडमा आज सानीबज्यैले उसलाई डाक्न पठाएकी थिइन् । अहिले बोटको वरिपरिबाट सानो कुटोले मसिना ढुङ्गाहरू पन्छाउन लागेकी सानीबज्यैले बिमललाई देखेर डाकिन् । विमल उतै गयो ।

रानु दगुर्दै माथिल्लो झ्याल कराइ पारेर त्यताबाट चियाउन लागी- आमा र विमलको बीचमा के घट्छ ! अघिल्लो दिन उसले बल गरेर सुनेकी थिई – बाबुआमा उसको विवाह विमलसित गर्न पाए हुँदो हो भन्ने कुरा गरिरहेका थिए । आज उही मानिसलाई आमाले डाकेर कुरा गर्न लागेकी छन् । रानुको मुटु डराएर काँपिरहेको थियो । उसको निधारबाट पसिना चुह्यो; पर देखिएको सुनको गजुरतिर फर्केर हात जोडी उसले मनमनै प्रार्थना गरी – “प्रभु, म त्यस मानिसको चरणामृत एकचोटि चाख्न पाऊँ, अनि मेरा हृदयमा कुनै किसिमको पापचिन्तनलाई छिर्न दिने छैन । सधैं पूण्य गरेर मर्नेछु, पुण्यको सट्टा म केही अरू थोक माग्ने छैन, खाली त्यस मानिसलाई पाएकोमा पूर्णसन्तोष मान्नेछु ।”

थोरैबेर कुरा भएपछि विमल झ्यालमुन्तिरबाटै बाहिर निस्क्यो । उसको मुख अलि रातो थियो । कतै नहेरेर छिटो-छिटो हिंडी गएको अर्थ रानुलाई स्पष्ट भएन । ऊ सरासर आमाकहाँ पुगी ।

सानीबज्यै फेरि कुटो चलाउँदै लुकाएर आँसु पुछिरहेकी थिइन् । अब रानुलाई अर्थ खुल्यो । ऊ फेरि दगुरेर आफ्नो सुत्ने कोठामा गई । कोठाको ढोका बन्द गरेर गजबार हाली झुण्ड्याएको ऐना लिएर गई ओछ्यानमा बसेर आफ्नो अनुहार हेर्न लागी : पहिले आफै काली अनि नीली, कोप्ची फेरि चिम्सी, छ्याकटी, छ्वाँकी, डेरी, नेप्टी, खुँडी, गालाकञ्चट गडेकी, च्युँठो बाङ्गो भएकी, ओठ डल्ला परेकी, रौं थोरै भएकी, निधार माथिसम्म खुइलेकी, आँखीभौं परेला झरेकी – नराम्री ख्याक; प्रत्येक रोगले उसलाई मार्न नसके पनि प्रहार गरेको शास्त्राघातले समय नपुग्दै उसका निधार, गाला र ओठवरिपरि दाग लगाएर चाउरी पारेका थिए ।

रानुको मुटु भयानकसित उछिट्टिन लाग्यो । उसको श्वास बढ्दै गयो, शिर हान्यो, हातबाट ऐना खस्न खोजेको थियो, उसले बलसित अड्याई फेरि सुख्खा राता आँखाले ऐना हेरी सासले त्यसलाई धमिल्यायो । ऐनालाई छातीमाथि राखेर ऊ आँखा चिम्ली ओछ्यानमा पल्टी, त्यस अत्यन्त नराम्री बालिकासित तकियाले गाला जोड्यो ।

* * * *

( २ )

विमलले सानीबज्यैसित पढेर उत्तीर्ण नहोउन्जेल विवाह गर्दिनँ भनेको थियो, तर दुई महीना नबित्तै आज उसको विवाह भएको खबर रानुले सुनी । जति धक्का मान्नुपर्दथ्यो उति मानिन भन्ने उसलाई लाग्यो- तीन दिनसम्म अलि अलि ज्वर आयो त्यत्तिमै बाहिरी बेग टर्यो । छातीभित्र भने दनदनी आगो बलिरहेजस्तो उसलाई भान पर्दथ्यो । चार-पाँच घण्टा निद्रा पर्दाबाहेक उसको मनले जम्ने अवसर पाउँदैनथ्यो । सुनजस्तै सुन्तला रङ्गको भएर पग्लिरहँदै खारिनुपर्दथ्यो । एक मात्र विमलको कसर नहुँदो हो त रानुको मन बुद्धको जस्तै पवित्र भइसकेको थियो । त्यसको प्रमाण – एकदिन भर्याङको तल्लो सिंढीबाट दुनमुनिंदै लोटी, उसको मुखबाट रगत आयो, भूइँमा थुकी – रातोभन्दा पहेँलोतिर ढल्केको सुनौला- टल्कने । उसले त्यो कसैलाई भनिन ।

प्रमोद र अझ सानोबज्यैलाई रानुको बिजोग असह्य भइसकेको थियो । प्रमोदले आठ-दश ठाउँमा बिहाको कुरा चलाइसकेका थिए- सर्वस्वसित रानुलाई जुत्तामुन्तिर राखिदिए पनि दिगमिग नमानेर कुल्चने कुनै भेटिएन, कुनै बूढा भेटिएन; एक दुई दर्जन भेटिएका थिए प्रमोद र सानीबज्यैले पुत्रीको बलिदान गर्न चाहेनन् । बल्लबल्ल एउटा परदेशी मानिस भेटियो, त्यो कालो भयङ्कर, शरीरको अग्लो, लामा-लामा जुँघा भएको थियो । उसको कुरा, स्फूर्ति र व्यवहार देखेर आमाबाबु दुवैले उसैलाई छोरी दिने विचार गरे । त्यो विचार दश महीनासम्म गरे त्यसको विपरीत केही जन्मेन । विवाह भयो ।

सानीबज्यैको हर्षको सीमा रहेन । निमन्त्रित व्यक्तिहरूमा विमल र उसकी दुलही पनि आएका थिए । रानुले दुलहीलाई निहारेर हेरी – आँखा नराम्रो भए पनि उसको दृष्टि पारखी थियो । दुलही विमललाई खुल्ने रहिनछ, तर उसको भाग्य भने इन्द्रेनीको भन्दा पनि उज्यालो रहेछ ! विमल अलि दुब्लाएको, उसको सोहोरिएको गालासित सोहोरिएर रानुका आँखा विमलका फोहरी खुट्टामा परे । ऊ झस्की, उसको मस्तिष्कबाट सानो काँढा झिकिएजस्तो भयो । अकस्मात् विमलको मुखमा हेरी – ऊ हाँसिरहेको रहेछ । दाँत असाध्य मैला र पहेंला थिए । निर्विघ्नपूर्वक विवाह सिद्धियो ।

छ महीनापछि रानु फेरि माइत श्राइपुगी । प्रमोदले सोधे, “अकस्मात् कताबाट आइपुग्यौ रानु ? नेपाल कहिले उर्ल्यौ ? कति दुब्लाएकी ? जुवाईं खोइ ? गहना खोइ ? किन झुत्रो लुगा…”

उत्तर यही थियो, झन् कालै गह्रुँगो झोलिएको बादल भएर रानु फर्केकी थिई, वर्षा शुरू भयो । आमाबाबु धूमधामसित रोए, तर छोरीचाहिं पटक्कै रोइन ।

“डाकू रहेछ !”

“बेस भो, ज्यान त फिर्ता ल्यायौ ।”

“त्यस्ता त्यस्ता रोगहरूले लिन नसकेको ज्यान त सितिमिति किन जान्थ्यो । तपाईंहरूलाई रुवाउन पुगेको छ र ! म गएपछि बाआमा दुवै फेरिनुभएको रहेछ – अब रगत चुस्न आइपुगिहाले नि ।”

“तिमी आयौ, हामीलाई सन्तोक भयो, चिरञ्जीवी रहु, हामीलाई त्यति भए पुग्यो, जो जहाँसुकै मरून् ।”

“आमा, मलाई नराम्रो व्यथा लागेको छ, सरुवा !”

सानीबज्यै रानुलाई अङ्कमाल गरेर कोकोहोलो शब्द झिकी रुन लागिन् ।

* * * *

(३)

रानु आफ्नै कोठामा पहिले सुत्ने गरेकै ठाउँमा सुती । ज्वर भोलिपल्टदेखि बढ्दैगयो । त्यहाँपछिको त्यस घरको करुण कहानीमा कुनै रस छैन, कुनै कला छैन, भनूँ भने अलि-अलि गरेर त्यहाँ धेरै मानिस रानुको वरिपरि घण्टौंसम्म बस्ने गर्नलागे । छिनैपिच्छे माउरीका बथानको जस्तै त्यस घरमा लोग्नेमान्छे र स्वास्नीमान्छेहरूको भुनभुनाहरु गुँज्न थाल्यो । कति जना त्यहाँ हातमा फूल र फलफूल लिएर मात्रै आउँथे । रानुको खुट्टानेर बस्नेहरूमा मुख्य विमल पनि थियो ।

ट्याउँट्याउँ बोलिरहने रानुलाई अब ज्वरले पनि छोडिसकेको थियो, तर दिन-प्रतिदिन उसको रगतको थोपा-थोपा गरेर सुक्त गएको थियो । मासु पग्लेर त्यहीं रगतमा मिल्दै थियो । छाला हाडमा टाँसिंदै गएको थियो । विमल एकचोटि उसको गति देखेर कोठाबाहिर निस्की मटानको झ्यालमा बसेर बगलीरुमालमा रुन लागिरहेको रहेछ । सानीबज्यैले देखिन्, अनि उसको लहरीबाट उछिट्टिएका कपाल मुसारेर तरङ्गमा मिठाइदिइन् । केही कुरा भएन ।

आज वैद्यले महिना दिनको अवधि दिएको दिन थियो । सबैजना गइसकेपछि सानीबज्यैले रानुलाई भनिन्-

“नानीलाई विमल कति माया गर्दोरहेछ ।”

“होइन आमा, मेरो दख्खिनकालीको जस्तो औतार देखेर ऊ आफ्नै मायाले डराएको मात्रै हो, को कसको माया गर्छ !”

“साँच्ची भन त, विमल रोजिन्दै भने- जस्तो आउँछ, नानीलाई

दया लाग्दैन ?”

” दया प्रकृतिमा हुँदो हो त तपाईं दया पाउनुहुन्थ्यो बा, पाउनु- हुन्थ्यो; म पनि त पाउँदी हुँ ।”

“विमललाई देख्ता तिमीलाई के लाग्छ त ?”

“मखमल र साटनको खोल हालेको कङ्कालजस्तो लाग्छ । मलाई जससित बिहा गरेर पठाउनुभएको थियो त्यो चाहिं भाङ्ग्राको खोल हालेको अस्थिपञ्जर थियो । फरक त्यत्ति हो ।”

रानु एकैछिन झकाई फेरि बिउँझी ।

“म मरेको आज हो ! कति भइसक्यो, बरु मरेकी छोरीले कुरा गरेकी सम्झेर हर्ष मान्नोस् न । मर्नु र बाँच्नुमा के फरक छ – बोल्नु र चूप लाग्नु, हिंड्नु र थकाइ मार्नु, सुत्नु र बिउँझनु । सुत्छु आमा !”

सानीबज्यैलाई बिहान नहोस् भन्ने लागेको थियो, तर कुन बेला निदाइछन्, आँखा खोल्दा त उज्यालो भइसकेको, एक निमेषमा रात दिन भइसकेको, हिजो कोठाभरी झुण्ड्याइएका माला र फूलहरू वैलाइसकेका, रानु झन् ओछ्यानमा गाडिसकेकी ।

घाम झुल्केदेखि हेर्न आउने मानिस वैरिन लागे । पाँच-सातजना स्वास्नीमानिस पनि त्यहाँ आएका थिए, तिनमा विमलकी दुलही पनि थिई । विमलको हातबाट लिएर रानुलाई माला लगाइदिई । रानुको भावमा केही परिवर्तन देखिएन । वैद्यले रानुको नाडी छामे । बूढा पण्डितले सोधे, “आज कस्तो छ ? ”

रानुले उत्तर दिई, “बन्धन झन् खुकुलो भएको छ । तपाईंहरूको अनुहार झन् धमिलो, उडेको फुङ्ग भए जस्तो छ । बादलमा कहिलेकहिले हुन्छ नि सहस्र गाँठो परे जस्तै । फेरि एकैछिनमा ती सबै गाँठाहरू फुकेर बादलसमेत बिलाएजस्तै । अनि अस्मानी रङ्गको शून्य देखिएजस्तै । ”

कुरै कुरामा त्यहाँ धर्म र ईश्वरको कुरा चल्यो । रानुले भनिन्, “हो, स्वभावैले मानिस धार्मिक प्रकृतिको हुन्छ, किनभने स्वभावैले डरछेरुवा हुन्छ । डराएर बाघ भालुसित बच्न कालो गुफाभित्र पस्ता आधार पाएको बानी मानिसले अझ छोड्न सकेको छैन । ईश्वर त्यही अन्धकार गुफाको प्रतीक हो । भयानक घटना घट्लान् भनेर तर्सीतर्सी मानिस डराउँछ, तर ती घटना घट्छन्- जब बाघले चपाउँदा पनि नमरी बाँचेको अवस्थामा मानिस पुग्छ, अनि डरले छोड्छ । मेरो त्यही अवस्था छ – मलाई अब केही होला भन्ने न आश छ, न वास छ,  न मलाई प्रेमको आश छ, न ईश्वरको वास । अपेक्षाले मानिसलाई सुख पनि हुन्छ, दुःख पनि । जब निरपेक्ष होइन्छ, अनि त्यो फूल र माटो बराबर देखिन्छ । आँसु र पानी समान हुन्छ । न केही राम्रो देखिन्छ, न केही नराम्रो जीवन एक कोल्टो जस्तो लाग्दछ; मृत्यु अर्को कोल्टो ।”

एकजना अर्का पण्डितले सोधे, “यहाँलाई के कुरामा विश्वास लाग्छ त ?”

रानुले भनी, “जे जहाँ जुन छ त्यो त्यसैमा साँचो छ, नत्र सत्य सापेक्ष छ – को के कुरामा विश्वास गर्न सक्छ ? तत्त्वविभाजनको साँधी छैन, जे विभक्त हुन्छ त्यसको अर्कोसित सम्बन्ध छैन- कुनै सम्बन्धको अस्तित्व छैन ।”

पण्डितले भने- “उसो भए बुद्धकै कुरा ठीक छ त सबै शून्य छ ?”

रानुले टाउको हल्लाएर भनी, “होइन, शून्यको पनि अस्तित्व छैन ।”

“के छ त ?

“छ, आफैंमा मात्र छ ।”

“प्रेम अमर छ भन्दछन् नि ?”

“प्रेम अमर भए पो त्यसो भन्नु !”

“सत्य, शिव, सुन्दर- भन्दछन् ।”

“असत्य, अशिव र असुन्दरजस्ता जति काल्पनिक शब्द हुन्, उस्तै उत्तिकै यी तीन काल्पनिक शब्द हुन्- बादलको तस्वीर जस्तो कुन आकृति लिएर बादल कहाँ पुगिसक्यो । चित्र एउटा झाँकी समातिराख्छ- जहाँसम्म आफैँ उड्दैन ।”

रानुको स्वर केही बसेको झिनु थियो । बीच-बीचमा निर्बल खोकी पनि आउँथ्यो । धेरै परिश्रम नदिऊँ भन्ने लाग्छ, तर मन लाग्दैन भन्ने कुरा पण्डितहरूले गरे । एक चश्मा लाएका बूढा अंग्रेजी अध्यापकले रानुको कुरासित तुलना गर्दै पाश्चात्य दार्शनिकहरूका विचार सुनाए । एउटा छोटो कथा पनि हाले ।

रानुले त्यसै बीचमा प्रमोदले दिएको फलफूलको रस पिई, झिलिक्क एकचोटि बाबुको मुखमा हेरी – प्रमोद त्यहाँ बसेनन् । फेरि रानुले केहीबेर दार्शनिकहरूको विषयमा कुरा गरी अति बुद्धिमानहरू झन् मूर्ख हुन्छन् भन्ने विषयमा र दार्शनिकहरू कुन आँखाले हेर्छन्, धर्म, जातिपाति, राजनीति, स्थानीय वातावरण र स्वार्थले ठूला-ठूला दार्शनिकको आँखा धमिलिएको विषयमा पनि कुरा गरी ।

दिउँसो रानुलाई एकैछिन निद्रा पर्यो । बेलुकी फेरि पण्डितहरूले उसलाई घेरे । जाने बेलामा एक सज्जनले सोधे, “अब हामीले के सम्झने, के गर्ने त ?”

रानुले भनी, “मनुष्यकल्याण नै विश्वको कल्याण होइन । विश्वमा कल्याण-अकल्याणको प्रश्न छैन । विश्व यथावत् छ । कल्याण मानवनिर्मित, मानवकल्पित शब्द हो । ‘हामीले’ भन्नुभएकोले तपाईंले पनि त्यस्तै सम्झनुभएको होला । मनुष्यका सम्झाइका दुई खण्ड छन्- स्वार्थ र परार्थ । परपीडनको स्वार्थ पटाउन खोज्नु अधर्म हो । स्वार्थद्वारा परार्थ पटाउनु मध्यम, परार्थद्वारा स्वार्थ पटाउनु उत्तम । कोही निःस्वार्थताको कल्पना गर्छन् । आत्मसन्तोष पनि नलिने निःस्वार्थी बौलाहा मात्र हुन सक्तछ, अनि उसले गरेको परोपकार अनभिज्ञताबाट भएको मात्र हुन सक्तछ । उच्चकामना वा सापेक्षिक पवित्र वा शुद्ध कामना हुन सक्तछ । निष्कामताबाट पवित्र कार्य हुन्छ भनिठान्नु अन्धकारमा झटारो हान्दा चरा मर्न सक्तछ भन्ने सम्झनु जस्तै हो ।”

अन्त्यमा रानुले भनी, “त्यो सम्झनू जुन यथार्थ छ, त्यो गर्नू जुन आदर्श छ ।”

भोलिपल्ट बिहान झिसमिसेमा रानु बारीमा मरिन् । बूढा पण्डितले भने, “रानु कोइलाखानी जस्तै नराम्री थिइन्, त्यसैले उनीभित हीराभन्दा उज्वल सौन्दर्यको प्रकाश थियो, त्यो आजको प्रभातमा तल्लीन भयो ।”

प्रमोद र सानीबज्यै मरेजस्ता भए । बारी हरियो थियो ।

(बालकृष्ण समको कथासंग्रह ‘तलतल’बाट)