
डायरीको पहिलो पाना
आज फेरि पूजाको प्रोफाइलमा स्ट्याटस आएको छ – “कहिलेकाहीं केही नचाहँदा पनि आँखा रसाउँछ, मन पोल्छ ।”
कुरै केही थिएन तर मन आकाश झैं भारी भयो । स्ट्याटस पढ्नासाथ म थचक्क थचक्क चिप्लिएँ बिस्तारामा । हातले फोन समाइरहेछ तर मन पूजाको १४ वर्षे अनुहारको वरिपरि चक्कर काटिरहेछ– त्यही बेला जब उसको घरमा मेरो नाम उच्चारण भएको थियो, ऊ आफू अनभिज्ञ थिई ।
म, रिदम– त्यो केटो, जो पूजाको जीवनसँग कहिल्यै नजोडिएको पनि तर मनमा सधैं गाँसिएको ।
डायरीको दोस्रो पाना
बिहे त भयो– दुवैको । पूजाले माया गरेर बिहे गरी, म चाहिं बाध्य भएर । मेरो भिनाजुले प्रस्ताव राखेका थिए । हाम्रो अर्थात् पूजा र मेरो बिहेको ।
भिनाजु भन्दा बढ्ता बाबुजस्तै लाग्थे पूजाको बुबा । भिनाजु र उनको जागीर एउटै कम्पनीमा थियो । मिल्थे दुवै बिछट्टै । र त राखेथे हामी जोडिने सम्बन्धको प्रस्ताव । जो सदैव अधुरो रह्यो ।
तर त्यो सम्बन्धले भित्रभित्रै मलाई टाँसिदिएको रहेछ पूजासँग । ऊ बुझिनँ, म बुझ्न सकिनँ ।
बिहे भयो उसको । प्रोफाइल हेरिरहें म । तस्वीर देखें, मुस्कान देखें – तर त्यो अनुहारको छाया मेरो स्मृतिमा उही बच्चा पूजा जस्तै टाँसिएको थियो ।
डायरीको तेस्रो पाना
चुनावको प्रचार थियो । गाउँका गल्ली चहार्दा अचानक एउटी महिला देखें – झल्किई पूजा । हो, उही पूजा थिई । हातमा माइक, आवाजमा जोश, आँखामा जुनून । मनभित्र केही चिरियो । आफूलाई थाम्न गाह्रो भयो ।
भोलिपल्ट फेसबूक खोलें । फ्रेन्ड रिक्वेस्ट पठाएँ उनलाई ।
तीन दिनपछि एक्सेप्ट गरिन् ।
सन्देश पठाएँ, “पूजा, म रिदम हुँ…, कहिल्यै तिम्रो नभएको तर एकपल्ट विचारिएको तिम्रो जीवनको प्रस्ताव ।”
तीन घण्टा मौनता, अनि उत्तर आयो – “के भन्न चाहनुभएको हो ?”
डायरीको चौथो पाना
मैले पूजालाई सबै सुनाएँ – भिनाजु, बुबाहरूको योजना, त्यो अधुरो सन्दर्भ । ऊ चूपचाप पढिरही ।
केही बेरपछि लेखी – “दङ्ग छु रिदम । मलाई थाहा थिएन… बाबासँग सोध्छु है ।”
त्यसपछि उसले लेखेकी थिई – “हामी त भाग्यले छुटाइएका मान्छे हौं है…!”
त्यही लाइन पढेपछि किबोर्डमा औंला राखेर स्थिर भएँ । गहभरि आँसु आइरहे तर त्यो आँसु पूजाको स्क्रीनसम्म पुगेन कहिल्यै ।
डायरीको पाँचौं पाना
एक्कासि भिनाजु बितेथे मेरा । पूजाको बाबालाई भेट्न चाहन्थें म । उनलाई भेट्दा भिनाजु सम्झिन्थें । पूजाको घरमा पुग्न सकिनँ । टाढैबाट हेरेर फर्कन्थें – उनी र उनको तरकारी पसल ।
भेट्न डर लाग्यो । खै किन डराउँछ मेरो यो मन । कुन परिभाषाले रोक्छ मलाई, अलमलमै छु ।
पूजासँग प्रत्यक्ष भेट ? बिलकुलै भएन उही फेसबूकमा कहिलेकाहीँ देखिन्थिन् । फेसबूकमै सीमित भएँ म ।
“सन्चै ?”
“ठीक छु ।”
“आज स्ट्याटस अलिक उदास छ, ठीकै त छौ ?”
यस्तै हुन्थे वार्तालापहरू ।
पलपल उसलाई पढ्ने बानी परिसकेको छ । हरेक शब्दमा आफूलाई खोज्छु, उसका दुःखमा प्रश्न गर्छु ।
“म यस्तै छु, लेखिहाल्छु अनि गाली खान्छु,” जवाफमा यस्तै लेख्छे ऊ ।
डायरीको छैठौं पाना
आज भेटें उसलाई वर्षौंपछि ।
चूपचाप, आकस्मिक, छोटो समयका लागि ।
ऊ पहिले जस्तै सरल थिई । त्यो बोल्ने शैली, त्यो आँखा…।
बोल्न सकिनँ म । “कस्तो छौ ?” मुश्किलले सोधेथें ।
हाँस्दै औपचारिक भनिथी ऊ, “राम्रो छु ।”
उत्तरभन्दा ज्यादा गहिरो प्रश्नले मभित्र खलबली मच्चायो, “हामी साँच्चिकै ठीक छौं त ? ”
उसको अघिल्तिर उभिँदा आँखा रसाए तर मुख खोल्न सकिनँ म ।
फर्की ऊ । उही ठाउँमा रहिरहें म ।
डायरीको सातौं पाना
ऊ बिरामी रहिछ ।
साँझ–साँझ स्ट्याटस आउँथे, “सास चाँडो चलिरहेछ, छाती पोलिरहेको छ ।”
उठाएँ फोन, म्यासेज टाइप गरें, “पूजा, के भएको हो ?”
“केही होइन, मौसम खराब छ हैन ?” सधैझैं लेख्थी ऊ ।
त्यो मौसम उसको मनभित्रको हुन्थ्यो, म त केवल आँधीको आवाज सुन्दै बस्ने मान्छे बनेको थिएँ ।
डायरीको आठौं पाना
आज मलाई लाग्यो, म उसका लागि साँच्चिकै ‘कुनै’ व्यक्ति हुँ । उसले म्यासेन्जरमा लेखेकी थिई : “रिदम, तिमी कहिल्यै मेरो जीवनमा स्थायी भएनौ तर स्थायी सम्झनामा चाहिं सधैं रहनेछौं ।”
त्यो लाइन पढेर आँखा रसाए तर मनमा एउटा छुट्टै सन्तोष पलायो । कहिलेकाहीं हामी जसलाई चाहन्छौं, उसले हामीलाई सम्झिरहेको हो भन्ने थाहा पाउनु नै ठूलो कुरा हुन्छ ।
हो, उसका लागि अधुरो प्रस्ताव थिएँ म, मेरा लागि अधुरो भविष्य ऊ । हामी एउटै संयोग थियौं, जुन सम्पूर्ण हुन पाएन तर अमिट रह्यो ।
म आज पनि सोध्छु, “सन्चै छ ?”
“म यस्तै छु…,” सदाझैं लेख्छे ऊ ।
डायरीको नवौं पाना
आज अफिस उद्घाटन रहेछ पूजाको । उसले मलाई निमन्त्रणा गरी । मलाई नसोचेको खुशी मिल्यो । फोनको स्क्रीन हेरिरहें धेरैबेर । मनभित्रको हर्षलाई थाम्न सकिनँ । दौडिएँ अफिसतिर, पुरानो कोट लगाएर, चिउँडोमा सानो मुस्कान टाँसेर ।
अफिस सानो छ तर पूजाको आँखामा ठूलो सपना देखिन्थ्यो । म पुगेको देखेपछि ऊ मुस्काई । रवि, उसका श्रीमान् पनि त्यहाँ थिए । उसैले चिनाई ।
“ममी, यहाँ मेरो साथी हुनुहुन्छ – रिदम ।” आमाले शान्त दृष्टिले हेर्नुभयो । टोलाएँ म ।
केही बोल्न खोजें तर स्वर त आफूभन्दा अघि गएछ । सन्चो–बिसन्चो सोधियो । पूजाको श्रीमानको हात समाएर बधाइ दिएँ, मनभित्र भने आफू टुक्रिंदै गएको महसूस गरें । धेरै प्रश्न मनभित्रै कैद थिए तर चूपचाप हात झुकाएर बिदा लिएँ ।
डायरीको दशौं पाना
आज पूजासँग म्यासेन्जरमा लामो कुराकानी भयो । ऊ भर्खरै बहिनी र छोराहरूका साथ कतै घुमेर फर्केकी रहिछ । टिकटक भिडियो पोस्ट गरेकी थिई, जहाँ ऊ नाचिरहेकी थिई । भिडियो हेरेपछि सोधें, “घुम्न गएकी थियौ ?”
त्यसैबाट शुरू भयो गफको यात्रा । खाना खाएको सोधी ?
“डायटिङमा छु, दुब्लिन खोजिरहेको छु,” जवाफमा बोलेथेँ म ।
मैले पुरानो फोटो पठाएँ, १७ वर्षअघिको ।
“बरु अहिले नै ठीक छ, यति नदुब्लिनुहोस् । ८० केजी भन्दा तल नजाओस्, हस् !” हाँस्दै भनिथी ऊ ।
आज फेरि रसाए मेरा आँखा । ल्यापटपको किबोर्डमा औंला गडाइरहें ।
“हात दुखेर औषधि खाइरहेकी छु,” उसले लेखी ।
हतारमा पढें मैले । अनि सोधें, “पेट दुखेको ?”
“पेट दुखाइरहेछ भने राम्ररी डक्टर देखाउनु है, यस्तो रोगले सताउँछ,” उसको मौनता चिर्दै थप कुरा गरेथें मैले ।
“कहाँ पेट हो र हात दुखेको के, राम्ररी पढ्नु पर्यो नि रिदमजी !”
लजाएँ म, माफी मागें अनि रात गहिरिंदै गएको महसूस गर्दै लेखें, “अब विश्राम गर है, आराम पाओस् तिम्रो हृदयले पनि ।”
भन्न मन थियो, “तिम्रो हृदयमा अझै कतै बाँकी छु म ।”
डायरीको अन्तिम पाना
कहिल्यै नपुगेको घर जस्तो रह्यो त्यो सम्बन्ध ।
खुल्न नसकेको किताब, बज्न नसकेको गीत, भेट्न नसकेको आँखा—सबै थियौं हामी ।
भाग्यले छुटाएका दुई अक्षर ‘प’ र ‘र’ अर्थात् “पूजा र रिदम” – एकअर्कासँग जोडिएका, तर कहिल्यै गाँसिन नसकेका ।
उसको प्रोफाइल पढ्छु आज पनि म ।
“मन तड्पन्छ…!”त्यही गीत फेरि रेडियोमा बज्दै छ ।
आँखा चिम्म गरेर भाग्यलाई फेरि एकपल्ट सराप्छु म । फेरि, त्यही पुरानै लाइन टाइप गर्छु, “सन्चै छौ ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

