त्यो पुरानो कोट त्यहीं झुन्डिरहेको छ जसलाई मैले पूरा आफ्नो पनि भन्न सकेकी छैन, न त त्यो कोट अर्काकै हो । त्यही काँटीको बाङ्गो कीलामा त्यो एकनास छ । त्यसको आकाशको जस्तो नीलो रङ क्रमशः उड्दै गइरहेछ । जुन मेरो मन परेको रङ हो । त्यहाँ एउटा चिठी हुनुपर्छ वर्षदिनअगि एउटा केटाले पठाएको । छ महिनाअगि मात्र त्यस चिठीलाई जतनसाथ मैले खोलें र माथिका पाँच-सात हरफहरू पढें । त्यसपछि मनमा कताकता डर लाग्यो- एउटा अपरिचित जस्तो केटाको हस्ताक्षर म हेरिरहिछु, एउटा तन्देरी मान्छेको प्रेमपत्र म पढिरहिछु, बाँकी हरफहरू नपढी खाममा राखेँ र पहिलेको खामझैं बन्द गरिदिएँ । फेरि त्यस चिठीलाई खोलेर हेर्ने साहस आफूमा मैले बटुल्न सकिनँ । यो कमजोरी मेरो हो । मलाई राम्ररी थाहा छ यो दोष मेरो हो । तर म केही गर्न सक्तिनँ ।
एकपल्ट आधी रातमा ब्यूँझेछु । अनायास आँखाहरू त्यस कोटमा पुगेछन् । त्यहाँ चिठी लेख्ने तन्देरी मान्छे ठिङ्ग उभिएको थियो । कल्पनासम्म हो भनौं, त्यस मान्छेको पूरा अनुहार मैले हेर्न पाएकी छैन । त्यस मान्छेले चूपचाप मेरो बिछ्यौनामा आउने चेष्टा गर्यो । मैले हाँसेर भनिदिएँ- तिम्रो सारा चिठी नै मैले पढिसकेकी छैन । फेरि एक वर्ष हुन लाग्यो त्यसको जबाफसमेत दिने आवश्यकता मैले देखेकी छैन । त यस्तो अनर्थ चेष्टा गर्नु… ।
“यो चेष्टा होइन । तिम्रै कोट हुँ । त्यहाँको प्रेमपत्र होइन र म आफ्नो शरीर चाहन्छु । सधैं जाडोमा एक्लै कठाङ्ग्रिएर बसिरहन कसलाई मनलाग्दो हो । म आउँछु बिस्तारै हुन्न ?” यो शायद कोटको आवाज थियो ।
रात गहन र मोहक थियो र म त्यसमा डुब्न चाहन्थें । त्यो कुरा कोटलाई शायद थाहा भयो । रातभरि त्यो मसँगै टाँसिएर सुत्यो । त्यो नरम थियो । त्यो मासुको नरम थुप्रो थियो । मैले ती मासुहरूलाई छामें । त्यसको न्यानोपनलाई मुसारें र म्वाइँ खाएँ ।
त्यसले बिस्तारै भन्यो- अगि नआउनु भनेको होइन तर मैले चेष्टासम्म गरको थिएँ । केही रातसम्म त्यो चेष्टा मलाई मन परिरह्यो तर खराबी यो थियो कि मैले सधैं नुहाउन पर्ने भयो । धारा टाढा थियो । म जान बाध्य भएँ ।
अब त्यो चेष्टा यसरी बद्लियो । मलाई परिवर्तन मन पर्दैन । मलाई बद्लिनु मन पर्दैन । तर त्यो भयो । एक बिहान धारामा नुहाउँदा एउटा लोग्नेमान्छेको औंठी पाएँ । ऊ पनि नुहाउन आएको थियो । पहाडमा नुहाउने धारा एउटै हुन्छ । त्यस औंठीलाई दिनभरि कोठामा एक्लै खेलाइरहें । त्यसलाई सबैले सुन भने । तर होइन- त्यहाँ त्यस लोग्नेमान्छेको मासुको मीठो गन्ध थियो । त्यसलाई मैले धरैबेर सुँघें कोठामा एक्लै बसेर । त्यो गन्ध गुलाफको फूलमा थिएन । त्यो गन्ध चमेलीको फूलमा थिएन । त्यो मेरा लागि अनौठा तर प्रिय गन्ध थियो । त्यसलाई बाकसमा लुकाइराखें । दिउँसो अरूले देख्ने डर थियो । राति भने त्यो औंठीलाई सिरानीमा राखेर सुत्न लागेँ । त्यसको मीठो गन्धले म रातभरि बिउँझिनँ । राति यस्तो मीठो निद्रा पर्न लाग्यो कि एउटा बलवान् मान्छेले दुवै हातले अँगालेर राखेजस्तो । उसका राता ओठले च्यापेर राखेजस्तो । अर्को बिहान त्यस लोग्नेमान्छेसँग धारामा भेट भयो । ऊ अलिकति हाँस्यो र मसँग बोल्न खोज्यो । मलाई उसले हाँसेको अलिकति पनि मन परेन । मैले अलि हकारे जस्तो गरें, “म नुहाउन आउने समय मिलाएर तिमीलाई आउन कसले भन्यो ?”
“मलाई रातभरि निद्रा पर्दैन । मेरी स्वास्नी मरेकी छ महिना मात्र भयो । बिहान ननुहाई म सक्तिनँ ।“ उसले जबाफ दियो ।
“ए त्यसो पो…”
एकछिनपछि उसले औंठी हराएको कुरा गर्यो । मैले हाँसेर टारिदिएँ । त्यसपछि त्यो लोग्नेमान्छेले मेरो पिछा गर्न लाग्यो । जहिले पनि पछिपछि । म बसमा चढ्न खोज्छु । ऊ त्यही बसमा अगि चढिसकेको छ । म डाँडाहरूमा पुग्न खोज्छु । ऊ त्यस डाँडामा अगि पुगिसकेको छ । म पुल तर्न खोज्छु। ऊ त्यो पुल तरिसकेको छ । म खोलाका जँघारहरू तर्न खोज्छु । ऊ त्यो जँघार तरिसकेको छ । उसका आँखाहरूले मलाई पछ्याइरहे । मैले निदाउन खोज्दा तिनीहरूले आएर मलाई ठुङ्गिरहे । म उठ्न खोज्दा तिनीहरूले बाटो छेकिरहे । तर तिनीहरूलाई मैले मन पराइनँ । तिनीहरूलाई मैले घृणा गरें । तिनीहरूलाई मैले अस्वीकार गरें ।
एकपल्ट मलाई ऐना हेर्ने रहर जाग्यो । धेरै भएको थियो- ऐना नहेरेको तर ऐना हेर्दै जाँदा मलाई भ्रम भयो कि मेरो अनुहार साटिएको छ । मेरो अनुहारभरि कसैले कालो पोतिदिएको छ । मलाई भित्र डाह भएर आयो । भित्र पोलेर आयो । मैले रुन खोजें । तर रुने शक्ति पनि अहिले ममा थिएन । मैले आकाश थर्काउने गरी चिच्च्याउन खोजें । तर त्यसो गर्न सक्ने शक्ति पनि ममा हराइसकेको थियो । म यत्ति कमजोर, कुरूप र अर्थहीन भइसकेकी थिएँ ? आश्चर्यको ठूलो प्रश्नचिन्हसिवाय मसँग केही थिएन ।
त्यो औंठी कसैले चोरिसकेको थियो र अब त्यसको गन्धको भ्रम अथवा तुस मात्र मसँग थियो । मैले त्यस लोग्नेमान्छेको गन्धलाई खोजें । तर त्यो थिएन । त्यो कोठाभरि थिएन । बाकसभरि थिएन । म छटपटाएँ । म बौलाउन खोजें । कसैले भने जस्तो लाग्यो, “यसको बिहे नहुने भयो ।” मैले त्यस मान्छेले भनेको बुझें र त्यसलाई ‘हो’ भनिदिएँ । किनकि मैले कहिल्यै बिहे गर्न चाहेकी थिइनँ । त्यसलाई म बन्धन ठान्थें र हरेक लोग्नेमान्छेको छाया मेरा लागि राक्षसी थियो, दानवी थियो । बाटोमा पछि लाग्ने त्यस लोग्नेमान्छेसित भेट हुन्थ्यो । ऊ गम्भीर थियो र उसले हाँसेको मैले थाहा पाइनँ । ऊ चिन्तित थियो र अहिले उसका आँखामा त्यस्तो कुनै ठुङ्नेपन वा धार थिएन । मैले सन्तोष अनुभव गरें । त्यो बूढो भएको थियो- छ केटाकेटीको बाबु ।
त्यस कोटको चिठीले मलाई सधैंजसो उमेरका लामा गोरेटाहरूमा जबरजस्ती तानेर लैजान्छ । खाडलहरूमा जबरजस्ती घचेटेर लैजान्छ । एकपल्ट एउटा पोखरीमा नुहाउने इच्छा भयो- त्यहाँ नुहाएपछि पाप पखालिन्छ भन्ने विश्वासले । त्यस्तो पखाल्नुपर्ने पाप त मैले केही गरेकी थिइनँ । तर रहर हो- पूरा गरें । एक डेढ घण्टासम्म पानीमा डुबें, पखालिएँ र बाहिर निस्केँ । अहो ! मेरो छातीमा स्तनहरू थिएनन्, जसलाई धेरैपल्ट सुमसुम्याएर जतनसाथ मैले राखेकी थिएँ जसलाई कुनै पनि लोग्नेमान्छेका कठोर हातहरूले छुन पाएका थिएनन् । म आत्तिएँ । म झसङ्ग भएँ । छातीमा गोली लागेजस्ता घाउका दोटा ठूला टाटाहरू मात्र थिए । मैले पिसाब फेर्न खोजें । ओह ! यो पनि अब ‘योनि’ कहाँ थियो ? यो त लामो र बाङ्गो लिङ्गमा परिवर्तन भइसकेको थियो । त्यहाँ योनिको चिह्नसमेत थिएन, जसलाई मैले आफ्नो सर्वस्व ठानेर, कुमारीत्व ठानेर सुरक्षित राखेकी थिएँ । मलाई लाज, क्षोभ र ग्लानि भएर आयो । एउटा सिङ्गो आकाशबाट खसेजस्तो भएँ । पोखरीबाट दौडेर घर आएँ । कोठामा पसें र ढोका लाएँ । पहिले त्यही लोग्नेमान्छेको पुरानो चिठी हेर्ने इच्छा भयो । त्यो चिठी थियो, तर अक्षरहरू नभएको, मेटिइसकेको । त्यो कत्ति पुरानो भइसकेको थियो । म रोएँ । म आफैँभित्र कराएँ । म छटपटिएँ । म लुटिएँ ।
भोलिपल्ट बिहानै ढोकामा उभिएर आमा गुनगुनाइरहनुभएको थियो- नानी बूढी भएँ नभन ! हामीले तेरो बिहेको कुरा हिजो मात्र छिन्यौं । तँलाई केटो मन पर्ने होला, जसले धेरै वर्षअगाडि तँलाई चिठी पनि लेखेको थियो रे, जसको तैंले जबाफ दिइनस् !
म आमालाई कसरी भनूँ – म लोग्नेमान्छे भएँ भनेर ! स्त्रीत्व हरायो भनेर ! म पोखरीमा डुबें र बदलिएँ भनेर ! म कसरी भनूँ- ममाथिको उसका सबै चेष्टाहरू व्यर्थ हुन्छन् भनेर ! म कसरी नाङ्गिऊँ ? म कसरी प्रदर्शित होऊँ ? म कसरी आफूलाई देखाऊँ ? कसरी ?
“तैंले बिहे गर्नैपर्छ” आमाका स्वरहरू मभित्र अलमलिरहेछ… घुमिरहेछ घुमिरहेछ… ।
परशु प्रधानका ‘प्रतिनिधि कथाहरू’बाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










