शहरको सडकमा रातको ११ बजेको थियो । अग्लो पुलमुनि, भुइँमा अलिकति टेकेर, बाँकी शरीर भित्तामा अड्याएर बसेको थियो—रञ्जन । खल्तीमा सस्तो रक्सीको बोतल, फोनमा चलिरहेको कुनै पुरानो गीत—”तिमी बिना अधूरो छ जिन्दगी मेरो…..”
रञ्जनलाई थाहा थियो, अब यो गीत उसले मात्र सुन्ने हो । सुन्दासुन्दै निदाउने र भोलिपल्ट ब्युँझने । त्यही गीत फेरि बजाउने अनि सुन्ने किनभने यो गीतले अब अरूलाई कुनै फरक पार्दैन ।
आजभन्दा केही महिनाअघि मात्र उसले यही गीत एउटीलाई सुनाएको थियो । ती एउटी थिइन् – शिल्पा ।
शिल्पाले भनेकी थिई, “तिमी बिना जिन्दगी अधूरो छ , रञ्जन ।”
तर उसमा कुनै अधूरोपन देखिएन ।
अधूरो त रञ्जन मात्र थियो ।
त्यसैले ऊ अहिले पुलमुनि बसेको छ । रक्सी र संगीतको बीचमा आफैंलाई धिक्कारिरहेको छ ।
शिल्पाले बोलाई । ऊ गएन ।
शिल्पाले फेरि फोन गरी । रञ्जनले फोन उठाएन ।
त्यसपछि शिल्पा सिधै उसको घर पुगी । ढोका ढकढक्याई । भित्रबाट रक्सीको गन्ध मज्जैले आइरहेको थियो ।
“रञ्जन ! ढोका खोल !”
केही बेरपछि ढोका खुल्यो । रञ्जन उभिएको थियो, आँखा रातो, अनुहार निथ्रुक्क भिजेको ।
“के भएको तिमीलाई ?”
रञ्जन मुस्कुरायो, तर त्यो मुस्कान हाँसो थिएन, हार थियो ।
“तिमी जान चाहन्छौ, होइन ?”
शिल्पा केही बोलिन ।
“उत्तर देऊ, शिल्पा । किन आयौ फेरि ?”
शिल्पाले लामो सास फेरी । “रञ्जन, खै के भनूँ ।”
रञ्जन टोलायो ।
“हिजो साँझ आमा-बुबासँग बसेर चिया खाइरहेकी थिएँ । अचानक बुबाले शिल्पा के तिमी उसको लागि मर्न सक्छौ भनेर सोध्नुभयो । म झसङ्ग भएँ र को भनी बुबालाई सोधें । बुवाले शंका र डर दबाएर त्यो केटो भन्ने उत्तर दिनुभयो । म निःशब्द भएँ । रञ्जन, मलाई थाहा थियो, उत्तर ‘हो’ हुनुपर्थ्यो तर… मैले ‘हो’ भन्न सकिनँ ।”
रञ्जन शून्य आँखाले शिल्पालाई हेर्दै थियो ।
“म तिमीलाई माया गर्छु रञ्जन । तर… मैले धेरै सोचें – यदि जिन्दगीभर मेरो नामसँग तिम्रो नाम जोडिएर आयो भने म साँच्चै खुशी हुन सक्दिनँ । तिमीलाई प्रेम गर्नु एउटा कुरा हो तर तिमीसँग बाँकी जिन्दगी बिताउनु अर्को कुरा । र मैले महसूस गरें – म तिमीलाई प्रेम गर्छु तर म तिमीलाई रोज्न सक्दिनँ ।”
रञ्जन थकित जस्तो भयो । “शिल्पा, म तिमीबिना बाँच्न सक्दिनँ ।”
शिल्पाले आँखा चिम्ली । “त्यही नै त समस्या हो, रञ्जन । म चाहन्न कि मेरो प्रेम कसैको मृत्युको कारण बनोस् ।”
रञ्जन मौन रह्यो ।
शिल्पा पछाडि हट्दै गई । र ढोका बन्द भयो ।
त्यो रात, रञ्जन शहरको सबैभन्दा अग्लो पुलमुनि पुगेको थियो र जोकर जन्मेको थियो ।
रञ्जन शिल्पालाई एकदमै माया गर्थ्यो । उसले प्रेमलाई कहिल्यै सजिलै लिएन । कुनै चलायमान खेल मानेन । हरेक रात म्यासेन्जरमा प्रेम वर्षा गराउँथ्यो, हरेक बिहान शिल्पालाई फोनमा गुडमर्निङ सुनाउँदै निद्राबाट उठ्थ्यो ।
तर गल्ती के थियो ?
गल्ती थियो, ऊ शिल्पालाई माया गर्थ्यो ।
गहिरो माया, अझ भनौं जोकरहरूको माया ।
एकदिन शिल्पाले भनेकै थिई, “रञ्जन, मलाई अब अलि फरक जिन्दगी चाहिएको छ । यस्तो गम्भीर भएर म प्रेम गर्न सक्दिनँ ।”
रञ्जनले बुझेन र सोधेको पनि थियो, “के भनेकी ? प्रेम गम्भीर हुँदैन ?”
शिल्पाले हाँस्दै भनेकी थिई, “गम्भीर हुनेहरू केवल हाँसोको पात्र बन्छन् ।”
त्यसपछि ऊ गई ।
रञ्जन जोकर बन्यो ।
शुरूमा त ऊ शिल्पा टाढिनुलाई ठट्टा सम्झन्थ्यो र भन्थ्यो, “के गर्नु, मर्नु ? म त जिन्दगीलाई सजिलै लिन्छु !”
तर बिस्तारै ऊ मजाकको पात्र बन्न थाल्यो ।
साथीहरू भन्न थाले, “ओहो, प्रेमी महाशय, अब अर्को जोडी खोज्नुपर्छ !”
शहरका गल्लीहरूमा हिंड्दा ऊ आफूलाई हेर्ने नजर बदलिएको पाउँथ्यो ।
ऊ अब प्रेम गुमाएको मान्छे मात्र थिएन । ऊ प्रेम गुमाएर आफैंलाई गुमाउन लागेको जोकर थियो ।
वैशाख महिनाको पहिलो बुधवार थियो । रातको ११ बजिसकेको थियो । गीत उही थियो, चकमन्न अँध्यारोमा नाके स्वरमा अधूरो जिन्दगी…
शहर निदाइसकेको थियो तर पुलमुनि त्यही गीतसँगै दुई आत्मा जाग्राममा थिए– एउटा हराइसकेको, अर्को हराउन आँटेको ।
रञ्जनले फोनको स्क्रीनमा शिल्पाको तस्वीर हेर्दै सोच्यो, “केही सपना साँच्चै अधूरै सुहाउँछन् है ?”
उसको आँखा रसाएन, मात्र मनबाट बगिरह्यो– शब्दहीन वेदना, वेगहीन आँसु ।
“जोकर मर्छ,” उसले बिस्तारै भन्यो ।
छेउको अपरिचितले मुस्कुराउँदै सोध्यो, “के फेरि जन्मिन्छ ?”
रञ्जनले पुलमाथिको आकाश हेर्यो । कालो आकाशभित्र केही टल्किरहेको थियो—बिहानीको संकेत, एक झिल्को आशा ।
“मान्छे जन्मिन्छ,” उसले भित्रैदेखि महसूस गर्दै भन्यो ।
त्यस रात पुलमुनि दुई जोकर थिए ।
तर बिहान, दुई जिन्दगी उभिएका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










