
काठमाडौंका डेरामा अनेक थरीका केटा बस्छन् । हरेक कोठाबाट कुनै न कुनै स्वरूपको धुवाँको गन्ध बाहिर आइराख्थ्यो । कुनै कोठाबाट गाँजाको वासना आउँथ्यो भने कुनै कोठाबाट बास्नादार अगरबत्तीको । कोही केटाहरू बन्द कोठामै संसारभरिकै निःशब्दतालाई खन्याएर, दिनभरि लोकसेवाको किताबमै झुलेर बस्थे भने कुनै केटाहरूको कोठाबाट कौडा हानेकोदेखि लिएर तास फिटेकोलसम्मको होहल्ला सुनिन्थ्यो । हरेक कोठाको आआफ्नो कथा थियो, आआफ्नो ब्यथा थियो । साँझमा कुनै कोठामा भातसँगै कुखुराको मासुको हररर मीठो बास्ना आउँथ्यो भने कुनै कोठाबाट कुनै गन्ध आउँथ्यो । कुनै पनि परिकारको बास्ना नआएको कोठालाई हेरी, यो सहजै अनुमान गर्न सकिन्थ्यो कि आज त्यो कोठाको जारमा पानीको उचाइ दुई चार गिलासको कदमा घट्यो होला ।
म अभ्यस्त थिएँ, हरेक कोठासित । कारण, छ महिनाअघि पोखराको डेराबाट काठमाडौंको यो डेरामा विशाल लक्ष्य समातेर आउँदा, पहिलो पटक मैले यही गल्लीको यही इमारतमा सानो कोठा भेटाएकी थिएँ । अझ म युवती भएर हो कि मसित बोल्नका लागि केटाहरू दिलोज्यान दिएर आउँथे । मेरो रूम पार्टनर थिई, मेरो काकाकी छोरी, सबिता । जसको यही मंसीरमा विवाहको कुरा छिनिएकोले ऊ अचेल केटाहरूको छायासँग पनि तर्किएर हिँडिरहेकी थिई । पहिला, पहिला त केटाहरूसित सवालजवाफमा म दुई गियरमा थिएँ भने ऊ पाँच गियरमा थिई । साँच्चै भन्ने हो भने यो डेराले भरिएको घरले पुरै नेपालको प्रतिनिधित्व गर्थ्यो । एक रैथाने नेवारको काठमाडौंको छातीमा खोपिएर, आकाशमा हाँगा फैलाएको यो विशालकाय इमारतमा ६० कोठा थियो । जसमा सातै प्रदेशका मानिसहरू बसेका छन् ।
सबिता नजिकिँदो आफ्नो विवाहको कारण महिना महिनामा आफ्नो घर जान थालेकी थिई । उनको रिक्ततामा, अनेक कोठाका अनेक केटाहरू अनेक बहाना गरी मेरो कोठामा आउने क्रम शुरू भएको थियो । कुनै विशेष काम लिएर मेरो कोठामा आए पनि उनीहरू सबैको नजर मेरो छातीमा झुन्डिएर बस्थ्यो । म आफूलाई असहज महसूस गर्थें र आफ्नो कुर्तालाई छातीमाथि तान्न खोज्थें ।
शुरू, शुरूमा ‘आज खरिदारको परीक्षा खुल्यो नि’, ‘नासुको खुल्यो नि’, कोरियाको जाँच दिने होइन, अब यस पालि तिमीले अधिकृत भर्नुपर्छ है जस्ता अनेकन् कुरा गर्न आउँथे । हो र, नभर्ने यो पटक, कोरियाको कहिलेसम्म छ फर्म मिति, अधिकृत भर्न त बिबिएस पनि पास हुनुपर्यो नि जस्ता जवाफ दिन्थेँ म ।
त्यसको भोलिपल्ट आउँदा तिनै केटाहरू पार्टनरसिपमा पढ्ने हो हामी, तिम्रो कोठा त शान्त छ त, तिमी कतै बाहिर जाँदा मलाई भाडामा दिएर जाऊ है जस्ता अनेकन् ठट्टा गर्थे । मलाई केटाहरूको बानी राम्ररी थाहा थियो किनभने म यो कोठामा आउनुअघि नै दुई पटक केटाहरूको प्रेम चक्करमा परेर ब्रेकअप खाइसकेकी थिएँ । पहिलो डेटमै च्याप्प समातेर सेक्स गर्न खोज्ने अहिलेका केटाहरू ‘टाइमपास’ सिवाय केही होइन भनी बुझेकी थिएँ । मलाई विगतमा प्रेमजालमा पारेर, धोका दिएका ती दुई केटा हेर्दा सोझा खालका थिए ।
झुक्क्याएर, फुल्याएर होटेलभित्र पुर्याइँदा पो चाल पाएँ, बाहिरी संसारमा भगवान् बुद्धको जस्तो सौम्य अनुहार लिएका केटाले पनि भित्र एक दर्जन भन्दा बढी राच्छेस पाल्दा रहेछन् । भावनामा बगाऊँ, उनीहरू मर्छन्, भावनामा बग आफू मर्नुपर्छ, फेरि कोही कोही त मर्ने होइन, मार्ने खालका हुन्छन् भनी मैले राम्ररी बुझेकी थिएँ । शायद उति बेला मैले आफूलाई नसम्हालेको भए, मेरो यो अस्तित्व यो डेरामा हुन्थेन । दुई पटक पासो लगाएर पनि पासोबाट जिउँदै खसेपछि म आज यहाँ छु । शायद मेरो सपनाले डोरीको गाँठो खुकुलो बनायो या मेरी आमाको आँसुले मेरो डोरी चुँडाल्यो । जे होस्, म बाँच्न चाहिं बाँचे ।
आमाले त्यो बेला भन्नु भएको ‘आत्महत्या चाहिं नगेरेस् है कान्छी’को शक्तिले मलाई बचायो । अनि पोखरामा देखेका सारा सपना बिसाएर, सपनालाई यो ठूलो खाल्टोमा सारें । यसकारण केटाहरूलाई मेरो कोठामा प्रवेश भए पनि प्रेम निषेध थियो । वर्जित प्रेमको नियमलाई उल्लङ्घन गर्ने केटाहरूलाई एउटै जवाफ दिन्थें, ‘नाइँ, मलाई यो चक्कर मन पर्दैन ।’ उनीहरूलाई मेरो व्यवहार रुखो हुन्थ्यो । घरकी कान्छी छोरी भएर हो कि, मेरो व्यवहार रुखो नै ल थियो । म मन पर्ने मान्छेलाई औधी प्रेम गर्ने र मन नपर्ने मान्छेलाई छेउ नै पर्न नदिने स्वभावकी थिएँ । आफूलाई कुनै कुरामा चित्त दुख्यो भने म सराप दिने गर्दथें । यसैले घरमा सराप पाउने डरले सबैले मलाई सधैं खुशी नै बनाउने कोशिश गर्दथे । मेरो छुच्याइँ मेरो हतियार थियो ।
एक्लै बस्ने भएर हो कि धेरै केटाहरूलाई चिढ्याएर हो त्यो डेराघरमा मेरो बारेमा नराम्रो हल्ला चलाएको रहेछ । डेराभित्र अनेक केटा भोगिन्छ । त्यही समयमा एउटा अचम्मको केटा भोगें ।
उसको नाम विनय हो । ममाथि चलाएको अफवाह सुनेर हो कि आगमनको पहिलो दिनदेखि नै मेरो छातीमा सिवाय उसको नजर अन्त थिएन । हुन पनि मेरो छाती अरू युवतीको छातीको तुलनामा अस्वाभाविक रूपमा उचालिएको छ । वास्तवमा भन्ने हो भने, छातीमै अपलक हेर्ने भएकोले, उस्को हेराइ मलाई पटक्कै मन पर्दैनथ्यो । छातीमा नजर खोपेर मात्र नपुगी, के के बहानामा बोल्न आउन थाल्यो । एकदिन आफू काठमाडौंकै एक ठूलो पुस्तकालयको कर्मचारी भएकोले तिम्रो लागि पुस्तक ल्याइदिन सक्छु भनी धाक लगायो । एकदिन तिमीलाई उपन्यास उपहार दियो । पुस्तक उपहार त ठीकै थियो । पढ्नको लागि खोल्दा किताबबाट एउटी नायिकाको नाङ्गो तस्वीर भुइँमा खस्यो । तस्वीरमा ठूलो ठूलो अक्षरले लेखिएको थियो – आइ लभ यु ।
त्यो खसाइसँगै त्यो केटो पनि मेरो नजरबाट सधैंको लागि खस्यो । भोलिपल्ट त्यो केटोले मेरो कोठामा प्रवेश गरी मसित सिधै यौन प्रस्ताव राख्यो । शायद जीवनमा पहिलोपटक होला, संसारभरिको शक्ति थुपारेर हत्केलामा, उसको गालामा थप्पड जडेकी थिएँ । त्यो केटोको गाला पूरै रातो भएको थियो । ‘तिमीले सोचेको जस्तो केटी म होइन, आइन्दा यस्तो प्रस्ताव गरिस् भने कानूनी उपचार खोज्छु’ भन्दा त्यो केटो हच्क्यो । त्यसपछि त्यो केटो मेरो कोठाको छेउ पनि परेन । त्यो घटनालाई मैले पनि गोप्य नै राखेँ । त्यसको केही दिनपछि त्यो केटोको कोठामा एउटी युवतीको आउजाउ हुने गरेको देखेँ । युवती देख्दा मलाई असाध्यै माया लाग्थ्यो, किनकि त्यो केटाले युवतीलाई कतिसम्मको उपयोग गरेर फाल्नेछ भनी अनुमान लगाइसकेको थिएँ । त्यो केटाको कोठामा आउँदा एउटा बान्कीको कपाल, जाँदा अर्कै बान्कीमा जाने भएकीले त्यो केटीलाई बजारिया केटीको नजरले हेर्दथेँ । अरूको नग्नतामा आफ्नो प्रेम पोख्नेहरूले नग्न प्रेमसिवाय अरू कस्तो प्रदर्शित गर्ला !
मेरो रुखो बोलीले गर्दा प्रस्ताव गरेका आधा जति केटाहरू, ‘यो केटीबाट केही चाटिन्न है भन्ने’ खालको चेतना विकासले मेरो कोठामा आउनै छोडिसकेका थिए । उनीहरूले मेरो हरेक क्रियाकलापलाई वास्तै गर्न छोडिसकेका थिए । म बार्दलीको गमलामा छाती झुकाएर पानी दिँदा पनि उनीहरूले आँखा तर्ने गर्दथे । अझ मलाई चिढ्याउने हेतु, बाहिरबाट अनेक थरीका केटीहरू ल्याएर म झ्यालमा उभिरहेको बेला आफ्नो झ्यालको पर्दा खोल्थे र चुरोट साझेदारी गर्दै जिस्किरहन्थे । भाडामा ल्याएका हुन् कि आफ्नै प्रेमिका हुन् मलाई पनि कुनै मतलब थिएन, ती बजारिया केटीहरूसित । म प्रतिक्रियाहीन भएर आफ्नो झ्यालको पर्दा तान्थें । त्यसपछि कोठाहरूबाट केटाकेटीको अपार सन्तुष्टिको हाँसोमय कोलाहल सुनिन्थे ।
केटाहरूको उस्ताउस्तै देखिने बानीब्यहोरा हेर्दै आएकी भए पनि त्यो घरभरि एउटा केटाको व्यवहार भने अनौठो थियो । यत्रो भैसक्यो म यो घरको कोठामा बसेकी । उसले मसित बोल्नु त के, यसो आँखा जुध्ने गरी हेरेको पनि याद थिएन । बरु म उसलाई हेर्ने कोशिश गर्थें, तर उसलाई मेरो हेराइको कुनै मतलब थिएन । अचम्मित थिएँ, कस्तो खालको केटा हो यो । बस्थ्यो एक्लै, खान्थ्यो एक्लै, हिंड्थ्यो एक्लै । अरू सबै केटाको बारेमा मलाई राम्ररी थाहा थियो, उसको बारेमा मलाई केही अत्तोपत्तो थिएन । शायद यही रहस्यले हो कि मलाई उसको रहस्य खोतल्न औधी मन लाग्थ्यो । काकताली, कहिलेकाहीं भेट हुँदा मेरो ओठ सवाललाई छुँलाछुँला जस्तो गरी कम्पित हुन्थ्यो । ऊ एक क्षणमा अलप भैहाल्थ्यो । शायद ऊ नै संसारको पहिलो व्यक्ति होला, जसको नजर मेरो उचालिएको छातीमा टेकेन । उसकी नाम नै मैले ‘सोझो केटो’राखेकी थिएँ ।
एकदिन भारत र पाकिस्तानको क्रिकेट खेल भैरहेको हुनाले डेराभरिका केटाकेटीहरू आआफ्नै कोठामा झुमिरहेका थिए । संयोगवश, त्यो सोझो केटोसित मेरो भेट पानी आउने धारामा भयो । संयोगले त्यो दिन पानी भर्ने हामी दुई जनासिवाय कोही थिएन ।
नसोधूँ भन्दा पनि मेरो मुखबाट प्रश्न चिप्लिहाल्यो, “तिम्रो नाम के हो ?”
“आकास !”
“मैले त तिम्रो नाम मनमनै के राखेको थिएँ, थाहा छ ?”
“के ?” उसले प्रश्न गर्यो ।
“सोझो केटो !”
अब भने ऊ हाँस्यो मरीमरी ।
ऊ दिल खोलेर हाँसेको पहिलो पटक देखेकी थिएँ । ऊ हाँस्दा गालामा सृजित भएका डिम्पलहरूमा मेरो दिल खस्यो । त्यो बेलाको अपार आकर्षणको प्रभावले, “मेरो नाम अनिता है,” भन्दै उसलाई कहिलेकाहीं मेरो कोठामा आउन निम्तो गरें । उसको हाँसोमै आकर्षित भएँ ।
त्यसको भोलिपल्टबाट ऊ मेरो कोठामा कुनै न कुनै बहानामा आउन थाल्यो । बहाना लिएर आए पनि, नलिए आए पनि उसको आगमनले मेरो कोठा सुगन्धित हुन्थ्यो । उसको सामीप्यलाई अर्न्तमनबाट रुचाउन थालेकी थिएँ । हुँदाहुँदा हामी दुवै निकै खुलिसकेका थियौं । प्रेम प्रस्ताव नगरीकनै हामी एकअर्काको प्रेममा परिसकेका थियौं । सपना तन्किएर, सपना रङ्गिएर, सिन्दूरसम्म पुगिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा सुत्न जान्थें भने ऊ मेरो कोठामा सुत्न आउँथ्यो । सँगै सुत्दा शरीरमा मिसावट हुनु स्वाभाविक हो । एक रातमै हाम्रो शरीर पटक पटक मिसिन्थ्यो । जीवन उसैलाई सुम्पने र उसले पनि जीवनलाई स्वीकार्ने कुरा गरेकोले उसको शरीरसँग रातभरि बिताउँदा पनि खुशी नै थिएँ । हामी राती सँगै सुत्ने गरेको हल्ला डेराघरभरि चल्यो । मेरो यही कमजोरीलाई लिएर, उति बेला मैले भाउ नदिएर पन्छाएका केटाहरूले मेरो चरित्रहत्या गर्न थाले । एकदिन घरबेटी बालाई मैले स्पष्टीकरण नै दिनुपर्ने अवस्था आयो, “हाम्रो नाजायज सम्बन्ध होइन, बा । हाम्रो सम्बन्ध पतिपत्नीकै हो । हामीले विवाह नै गरिसकेका छौं । अब चाँडै तपाईंको एउटा कोठा हामी तपाईंलाई सुम्पिदैछौं ।”
घरबेटी बाले भन्नुभयो, “उसो भए सिन्दूर लगाएर बस न ।”
भनें, “चाँडै लगाउँछु बा !”
घरबेटी बाले नै स्वीकारेपछि डेराभरिका केटाकेटीहरू चूप लागे । आखिर त्यो घरको डेरामा बस्ने सबै केटी सिन्दूर बिनाकी दुलही न हुन् ।
समय बित्दै गयो । सोझो केटोसितको मेरो प्रेम बढ्दै गयो । केही समयमा नै अब एउटा कोठा घरबेटी बालाई नै सुम्पेर, एउटै कोठा साझेदारी गर्ने निर्णय गर्यौं । त्यो सुम्पिनुअघि अग्निलाई साक्षी राखेर एकाकार हुने पनि निर्णय गर्यौं ।
त्यो निर्णयपश्चात् ऊ मेरो कोठामा आउन कम हुन थाल्यो । व्यवहारमा परिवर्तन आएको हो जस्तो लाग्यो । दिनमा एक पटक मात्र मेरो कोठामा आउँथ्यो र विबिएसको परीक्षा भैराखेकोले मलाई एक महिना जति डिस्टर्व नगर है भनेर जान्थ्यो ।
उसको परीक्षा होला भनेर मैले पनि खासै डिस्टर्ब गरिनँ । शायद एक महिना जति हामी एउटै डेराघरमा बसेर पनि टाढिएका थियौं । दश, बाह्र दिनको अवधिमा कहिलेकाहीं मेरो कोठामा सुत्न चाहिं आउँथ्यो । सोझो मान्छे भएर होला, ऊ प्रति कुनै शंका–उपशंका राखेकी थिइनँ ।
एक साँझको कुरा हो, कोठामा ढकढकको आवाज आयो । त्यही सोझो केटो होला भनेर ढोका खोलें । एक नवजोडी बिदाइ लिन आएको रहेछ । म छक्क परें, त्यो नवजोडीमा दुलहा विनय थियो भने दुलहीमा त्यही युवती, जो उसको कोठामा बारम्बार आउँथी, जुन केटीलाई म चुरोटमा मात्र देख्थें । तर, आज आफैले गिराएकी युवतीलाई चुरोटको ठुटामा होइन कि, लामो सिन्दूरको धर्कोमा देखें ।
विनयले भन्यो, “हामी विवाह गरेर आज गाउँ फर्किंदैछौं सदाका लागि । पर्सि हामी विदेश जान लाग्या, मलाई डिभी परिरा थियो । आज गाउँ जाने र पर्सी अमेरिकाको लागि उड्ने साइत जुर्यो ।” विनयलाई देख्ने बित्तिकै नायिकाको नाङ्गो फोटोको याद आए पनि, कता कता आज आएर “नाङ्गिनेलाई नङ्ग्याए पनि प्रेमलाई ढाक्न जानेको रैछ यो केटो”ले जस्तो लाग्यो ।
त्यो साँझ आकास मेरो कोठामा आएन र म पनि थाकेर भुसुक्क निदाएँ । भोलि बिहान उठ्दा पनि आकास मेरो कोठामा आएन । ऊ आउलाको आशमा बसिरहेको दश दिन जति भयो ।
आकासको अनुपस्थितिमा मैले उसको कोठासँगै जोडिएको कोठाको नयाँ भाइलाई सोधें, “भाइ त्यो आकास कहाँ गयो ? दिनभरि पर्दा नै खुलेन उसको कोठाको ।”
“को आकास ?”
“त्यही क्या, तपाईंको कोठासित जोडिएको कोठामा बस्ने ।”
“ए, त्यो, ल दिदीलाई थाहा छैन र, त्यो केटा त कोरियामा नाम निकालेर आज बिहान आठ बजे नै निस्क्यो नि । आज ४ बजे फ्लाइट छ भन्दै थियो ।”
शंका र उपशंकाले पसिना खलखली भएँ ।
मोबाइल निकालेर मेसेन्जरमा हेरें, ब्लक गरिसकेको थियो । फेसबूकमा कतै भेटिएन । अब मलाई लाग्यो, सामाजिक सञ्जालको कुनै पनि कुनामा त्यो डेरामा बस्ने केटो भेटिंदैन । आफ्नो जवानी चुस्नुसम्म चुसेर त्यो पापी भँवरा परदेश उडिसकेको रहेछ ।
यसो घडी हेरें, चार बजेर पन्ध्र मिनेट गएको रहेछ । मन नै चकराएर आयो । आफूलाई उभिन पनि कसैको सहारा चाहिए जस्तो भयो । महिनावारी रोकिएको थियो । भित्रैदेखि डर लागेर आयो । आकासमा हुनुनु हवाई जहाजको आवाज आयो । पर्दा तानेर यसो हेरें । शायद त्यो विमान उसलाई नै बोकेर उडिरहेको हुनुपर्थ्यो र जहाज कुनै डाँडातिर बतासिएर गइरहेको थियो । मनभित्र एउटा आवाज गुञ्जायमान भयो, त्यो विमान त्यही डाँडामा ठोकियोस् र चकनाचुर होस् । आफैप्रति धिक्कार लाग्यो, लामो सुस्केरा फेर्दै सोचें, कैयन ‘प्लेबोय’हरूलाई मैले जीवनमा छलें, आज त्यो ‘सोझो केटो’ले मलाई छल्यो ।
मनमा नानाभाँतीका कुरा खेलिरहेको थियो । त्यस हल्लालाई चिर्दै बाहिर अर्को हल्ला फैलिन थाल्यो । हामी बस्ने घरका प्रत्येक झ्यालहरू खुलेर पल्लो घरमा हेर्न थाले, जहाँ मान्छेहरू भेला भएका थिए । त्यो भीडलाई चिरेर हेर्ने हो भने एउटा ठूलै दुर्घटना पत्ता लाग्ने कुरामा सहजै अनुमान गरेँ । सँगै कोठामा बस्ने भाइ घटनालाई बुझेर आइरहेको रहेछ । मलाई नि कौतुहलता भयो । मैले सोधिहालें, “भाइ, त्यो पल्लो घरमा के भएको रहेछ ?”
उसले जवाफ दियो, “लौ, तपाईलाई थाहा छैन र, त्यो घरमा डेरामा बस्ने एउटी केटी झुन्डिएर मरेकी रैछ ।“
“किन ?”
“बिचरी, प्रेममा धोका पाएको रैछे ।“
“कसले दियो र धोका ?”
“त्यही घरमा डेरामा बस्ने केटाले । हेर्दा सोझो छ त्यो केटो, धोका देला भनेर मैले सोचेको पनि थिइनँ । केटीको भावनासँग त मजाले खेलेर गएको रहेछ ।“ पल्लो कोठाको भाइ गयो ।
म अवाक् भएँ ।
मैले आफ्नो मन दह्रो बनाएँ, “म झुन्डिन्न, म झुन्डिन्न, म झुन्डिन्न ।” त्यति नै बेला घरबाट आमाको फोन आयो । आमाको फोन उठाएँ । हेलो भन्नेबित्तिकै उताबाट आमाले बोल्नुभयो, “ल तेरो विवाहको कुरा छिन्न लागेका छौं । केटो सोझो छ, तँ के भन्छेस् ?”
मैले जवाफ दिएँ, “आमा, म सोझो केटोसित विवाह गर्दिनँ ।”
“किन र ?” आमाले प्रश्न गर्नुभयो
“केटाहरू कोही सोझा हुन्नन् आमा । सबै त्यस्तै हुन् । सोझा ठान्नु त हाम्रो भ्रम हो । सलाईका काँटी जस्ता हेर्दा सुन्दर, आगोको रूपमा हेर्नुपर्छ, जङ्गल नै बालिदिन सक्छ ।”
आमाले भन्नुभयो, “फेरि धोका पाइस् है !”
यति मात्र बोलें, “अँ, यो पटक त महिनावारी पनि रोकिएको छ ।“
“केटो कहाँ छ त धोका दिएर जाने ?”
“कोरिया !”
“आत्महत्या चाहिं नगरेस् है कान्छी । केही हुन्न । म अहिले आउँदै छु त्यहाँ । बच्चा त तुहाउन मिलिहाल्छ नि ।“
आमाले सान्त्वनाका लागि यति बोल्नु भएको थियो । त्यसपछि आमाको हिक्कहिक्क आवाज मात्र सुनिरहें । काठमाडौं शहरको एक अनकण्टार डेराभित्र बसेर अहिले म आमाको हिक्कहिक्कमा आफ्नो हिक्कहिक्क पनि मिसाउँदै छु । मनले बाटो देखायो, मर्ने । आमाले बाटो देखाउनुभयो, मार्ने । मैले यो समयमा निर्णय नै गर्न सकिरहेकी छैन, फूल झार्ने कि कोपिला ? आमा, काठमाडौंको यो गल्लीसम्म आइपुग्न अझै २४ घण्टा बाँकी छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

