
डाक्टरको क्लिनिकबाट कोठामा फर्केपछि प्रतापमान पछिल्लो दुई घण्टादेखि लगातार निराश भइरहेको थियो र निराश हुनुको कुनै हद नहुने कुरा ऊ अहिले महसूस गरिरहेको थियो ।
श्रीमती बच्चाबच्ची सहित हिजो माइती गएकी थिई र एक्लो भएको हुँदा घरमा निराश हुने वातावरण प्रतापमानको लागि अत्यन्त अनुकूल थियो ।
प्रतापमानले आज साँझ डाक्टरलाई भेट्दाको घटना सम्झ्यो ।
“भन्नोस्..! कस्तो छ ?”
प्रतापमानलाई देख्नेबित्तिकै डाक्टर मुस्कुराएको थियो ।
“रोग त ठीक छ, तर…”
प्रतापमान कुरा खुलस्त गर्न हिच्किचायो । उसले अप्ठेरो मानेको देखेर डाक्टर पुनः मुस्कुराएको थियो र त्यतिखेर डाक्टरको अनुहारमा मैले भनेकै थिए नि भन्ने भाव स्पष्ट देखिन्थ्यो ।
“ठिक छ भने राम्रो भो । अरू कुनै समस्या ?”
डाक्टरले उसको ‘तर’ बुझ्यो शायद ।
“अरू समस्या छैनन् र सबै ठीक छ, तर…”
उसले कुरा खोल्न सकेन । फेरि तर मै ल्याएर बिसायो ।
“भन्नोस्, खुलेरै भन्नोस्…।”
डाक्टरमा धैर्य त थियो तर त्यो धैर्य अब धेरै बेर नटिक्ने भने उसको बोलीबाट प्रष्ट बुझिन्थ्यो ।
“मेरो नाक पहिले जस्तो बनाउन सकिन्न होला ? रोग ठीक भएर त समस्या पो भयो झन् ।“
आखिर प्रतापमानले कुरा खोल्यो ।
डाक्टरको अनुहारलाई साँच्चिकै परम आश्चर्यको भावले छपक्क छोप्यो ।
“होसमा त हुनुहुन्छ ?”
डाक्टर प्रतापमानको अनुहार राम्रोसँग नियाल्दै थियो । रोग ठीक गराउन चाहने धेरै बिरामी भेटेको भए पनि ठीक भइसकेको रोगलाई फर्काउन खोज्ने बिरामी डाक्टरले निश्चय नै जीवनमा पहिलो पटक भेटेको थियो । डाक्टरले प्रतापमानलाई गजेडी वा जँड्याहा ठानिरहेको थियो ।
“होसमै छु र धेरै सोचेर मात्रै हजुरकहाँ आएको छु । पहिले जस्तै बनाउन सकिने भए…”
प्रतापमान लगभग बिन्तीको स्तरमा झर्यो ।
“रोग फर्काउने काम मेरो होइन नि र त्यस्तो कुनै उपाय पनि छैन ।“
डाक्टरको रिसको पारा चढ्न थालेको स्पष्ट देखिन्थ्यो । डाक्टरले घण्टी थिचेर अर्को बिरामी बोलाएपछि त्यहाँ बस्नु बेकार ठानेर प्रतापमान बाहिरिएको थियो र सञ्चो भइसकेको आफ्नो रोग पुनः नफर्किने थाहा पाएर निराश भएको प्रतापमान डाक्टरको क्लिनिकबाट फर्केर कोठामा आएपछि झनझन् निराश भइरहेको थियो ।
० ० ० ०
लगभग उन्नाइस–बीस वर्षको उमेरमा दुई हजार छत्तीस सालताका प्रतापमानलाई रुघा लागेको थियो र अघिपछि जस्तो एक–डेढ हप्तामा नछोडेर त्यो रुघाले उसलाई गाँजेको गाँज्यै पारिरह्यो । तर नाक बग्ने, कपाल दुख्ने र पन्ध्र–बीस दिनमा ज्वरो आउने जस्ता स–साना समस्या बाहेक रोगले खासै ठूलो फरक नपारेको र दुर्गम ठाउँको बसाइँ भएकोले प्रतापमानले उपचार गराउनेतिर प्रयास गरेन, बरु रोगलाई पालिरह्यो ।
नाक बग्न कहिल्यै छोडेन र एउटा रुमाल खल्तीमा र अर्को रुमाल तकियामुनि घुसारेर प्रतापमान ठाउँ-कुठाँउ ‘‘सि…” गर्दै, ‘‘ आक्छी…” गर्दै जिन्दगीलाई धकेल्दै गयो । प्रतापमानले नोकरी गर्यो, बिहे गर्यो र छोराछोरी जन्माउने जस्ता गर्नुपर्ने सबै काम गर्यो तर, रुघाले गर्दा उसको नाक भने गन्ध, बास्ना थाहा नपाउने भयो ।
गन्ध, बास्ना थाहा नपाउने भएपछि शुरूशुरूमा प्रतापमानलाई अप्ठेरो नलागेको होइन, प्रशस्त अप्ठेरो अनुभव भयो । तर, बिस्तारै त्यसको आदत पनि पर्यो । चार दिन पहिले मरेको कुकुरको छेउमा ऊ चार घण्टा बिताउन सक्थ्यो र अति प्रदूषित सडकको बीचमा निर्धक्कले हिंड्न पनि सक्थ्यो । एक प्रकारले सुँघ्ने शक्ति गुम्नुलाई प्रतापमानले राम्रै मान्यो किनभने सुँघ्न सक्ने हुँदा भन्दा सुँघ्न नसक्ने भएपछि उसको जीवन सजिलो भएको थियो र बास्ना भन्दा गन्धको बीचमा बाँच्नु पर्ने निम्नमध्यम वर्गको नेपाली भएर पनि ऊ आनन्दले बाँचेको थियो ।
सुँघ्ने शक्ति गुमेकोमा प्रतापमानलाई पहिलो पटक बिहे गरेपछि पछुतो लाग्यो । वरपरका सबै बस्तु र व्यक्तिको बास्ना वा गन्ध परिचित र पुरानै भए पनि स्वास्नी उसको लागि नयाँ थिई र स्वास्नीको शरीरबाट गन्ध आउँछ वा बास्ना ? थाहा नपाउने भएकोमा उसले खिन्नता अनुभव गरेको थियो ।
नयाँ हुँदा प्रतापमानलाई केही भन्न नसके पनि अलि पुरानी भएपछि भने उसको नाक र विशेष गरी नाकबाट बाउन्न हप्ता, बाह्र महिना र तीन सय पैँसट्ठी दिननै लगातार बग्ने सिँगानप्रति स्वास्नीले विरोध जनाउन थाली । स्वास्नीको विरोध सिँगानले कटकटिएका प्रतापमानका रुमाल धुनुप्रति हुन्थ्यो भने कहिलेकाहीं त्यो विरोध लोग्ने स्वास्नीका नितान्त निजी क्षणमा समेत प्रतापमानलाई आउने एकनासको छिउँ र नाक सफा गराइले आफ्नो आनन्दमा पुग्ने खललप्रति पनि हुन्थ्यो ।
पछिल्ला केही महिनादेखि स्वास्नीको विरोध उग्र हुँदै आएको थियो र डाक्टरकहाँ जाने दबाब धेरै परेपछि सधैं जस्तो कुनै वहाना वा खर्च हुने हजार-पन्ध्र सयको लोभ देखाएर समेत स्वास्नीलाई थाम्न नसक्ने भएर प्रतापमान इ.एन्.टी. विशेषज्ञ कहाँ पुगेको थियो ।
० ० ० ०
“एलर्जिक राइनाइटिस् ।“
डाक्टर अनुभवी हुनुपर्छ । उसको नाक फट्टाएर हेरेपछि र प्रतापमानसँग स–सानो अन्तर्वार्ता लिएपछि छिट्टै रोगको निदान गर्यो ।
“त्यसो भए ठीक हुन्न त ?”
एलर्जी औषधीले ठीक नहुने आफूले सुनेको ज्ञानको भरमा प्रतापमानले चिन्ता पोख्यो ।
“हुनु त पर्ने, हेरौं…!”
डाक्टरले औषधी लेख्यो । फिस ठटायो र के खाने-के नखाने, के लगाउने-के नलगाउने देखि के गर्ने-के नगर्ने आदि बारे स–सानो लेक्चर समेत दियो ।
रोग ठीक हुनेमा प्रतापमानलाई चार आना जति पनि विश्वास थिएन तर, स्वास्नीको डरले औषधी खाइरह्यो र एक विहान चर्पीमा पसेको बेला गन्धको हल्का अनुभव गर्यो भने दाह्री सफा गरेपछि अफ्टर शेभ लगाउँदा बास्नाको पनि अनुभव गर्यो ।
“यो त गजब भयो ! यस्तो गन्ध आउने चर्पीमा कसरी निर्वाह गर्यौ तिमीहरूले यतिञ्जेल ?”
गन्ध—बास्ना थाहा पाउने भएको खबर प्रतापमानले खुशी भएर सबभन्दा पहिले स्वास्नीलाई सुनायो भने स्वास्नीले अर्कोलाई र अर्कोले अर्कोलाई सुनाउँदै जाँदा नातागोता र परिचितहरू बीच प्रतापमान पुनः सुँघ्न सक्ने खबर कुनै राष्ट्रिय महत्त्वको विषय जत्तिकै चर्चित बनेर छिट्टै फैलियो ।
० ० ० ०
सुँघ्ने शक्ति फर्केपछि निकै रमाइलो भयो । उसले स्वास्नीको शरीरको गन्ध पहिलो पटक थाहा पायो भने कतिपय नयाँ बस्तुको बास्ना समेत थाहा पायो । तर, औषधी खाँदै जाँदा र सुँघ्ने शक्ति क्रमशः फर्किंदै गर्दा नयाँ–नयाँ समस्या पनि थपिन थाले ।
समस्याको शुरूवात उसले काम गर्ने अफिसबाटै भयो जहाँ लेखा अधिकृतको सहायक भएर उसले काम गर्थ्यो ।
“यो पेमेन्ट गर्न त मिल्दैन कि सर ?” लेखा अधिकृतले चेक तयार पार्न अह्राएर दिएको बिलबाट गडबडीको गन्ध आएपछि ऊ बिल लिएर हाकिम समक्ष गयो र बिलबाट अनियमितताको गन्ध आएको उजुरी गर्यो । यता केही दिनदेखि पेश्की फर्छ्योट, बिल भुक्तानी आदि निवेदन र बिलमा उसले अनेक थरी गन्ध सुँघिरहेको थियो ।
“हुन्छ, म हेरुँला ।“
हाकिमले प्रत्यक्षता त केही भनेन तर भोलि पल्टनै उसको काम गर्ने फाँट अर्को भयो, जहाँ मेहनत बढी गर्नुपर्थ्यो भने जस पाउने सम्भावना कम थियो ।
“तोरीको तेल ठीक भएन अबदेखि भटमासको तेल ल्याउनू ।“
तोरीको तेलमा पाम आयलको गन्ध सुँघेपछि उसले तेल त बदल्यो तर तेलबाट आउने गन्ध भने छुटेन बरु भटमास, तोरी, सूर्यमुखी, मूम्फली, नरिवल सबै तेलबाट एक वा अर्को प्रकारको मिसावटको गन्ध आएर ऊ तेल खानै नसक्ने भयो ।
“ठिकै छ घिउ खाऊँ त्यसो भए ।“
उसकी स्वास्नीले भान्छामा तेलको साटो घिउ प्रयोग गर्न थाली । तर, घिउमा पनि उसले बोसो, चिउरी र अनेक थरी गन्ध महसूस गर्न थाल्यो र स्वास्नी चिन्तित हुने गरी उसको आहारा घट्यो ।
“तपाईंलाई हिजोआज रुच्नै छोड्यो । डाक्टर पो देखाउनु पर्छ कि ?”
स्वास्नी उसलाई माया गर्थी, चिन्तित भई ।
चिन्ता त प्रतापमानलाई पनि कम थिएन, किनभने ऊ संसारलाई हिजो जस्तो देख्थ्यो आज लगभग त्यसको उल्टो देखिरहेको थियो र यो उमेरमा आएर संसारलाई उल्टो तरीकाले बुझ्न थाल्नु चिन्ता मात्रै नभएर पीडाको समेत विषय थियो ।
सत्ता पक्षका नेताको भाषणमा विकासको फल खाने दाउ र विरोधीको नारामा सत्ता प्राप्त गर्न नसकेको चित्कार बाहेक प्रतापमानले सकारात्मक कुरा भेट्टाउन छाड्यो र यत्रो वर्षसम्म जुन विश्वासलाई जतनले बचायो आफू वरपर सबै यसको विपरीत देख्न थाल्यो । हुँदाहुँदा साथीहरूको मुस्कानमा षड्यन्त्र, श्रृङ्गारयुक्त युवतीको शरीरमा पेशा र हावामा सधैं प्रदूषणको गन्ध महसूस गर्न थालेपछि प्रतापमानलाई जीवन बाँच्नु ज्यादै कठिन र निरस लाग्न थाल्यो । स्थिति कति चरम भयो भने सात वर्षकी छोरी खेल्दै काखमा बस्न आउँदा समेत ऊ त्यहाँ स्वार्थ बास्ना आएको महसूस गर्न थाल्यो । फलतः प्रतापमानको मानसिक सन्तुलन सही भएकोमा आफन्तहरू शङ्का गर्न थाले र हिजोका जो साथी, परिचित र नातेदार थिए सबैले उसलाई शंकास्पदको लिस्टमा राख्ने र ऊबाट टाढिने गर्न लागे ।
० ० ० ०
अनेक थरी गन्धहरूबाट आक्रान्त प्रतापमान एक राति स्वास्नीको शरीरबाट आएको नयाँ गन्धले नराम्रोसँग रन्थनियो ।
“हैन, तिम्रो जिउको गन्ध आज बेग्लै छ नि ?”
उसले स्वास्नीलाई कोट्यायो । स्वास्नीको टाढाको भाइ नाता पर्ने एउटा जवान केटो काम खोज्ने उद्देश्यले आएर एक हप्तादेखि प्रतापमानको घरमा पाहुना भई बसेको थियो र त्यो रात स्वास्नीको शरीरमा त्यो केटाको गन्ध प्रतापमानले प्रष्ट सुँघिरहेको थियो ।
“तिम्रो जीउबाट त तिम्रो त्यो भाइको गन्ध पो आइरहेछ ।“
प्रतापमानले कुरा लुकाउन सकेन, प्रष्टै खोल्यो ।
“के रे !”
स्वास्नी पहिले त कुरा नबुझेर अल्मलिई त्यसपछि डाँको छोडेर रुन थाली ।
“अब म तिमीसँग बस्न सक्दिनँ । तिम्रो दिमाग साँच्चै खुस्किसक्यो ।“
स्वास्नी झन जोडजोडले रुन थाली र रातभर रोएर बिहानै छोराछोरी लिएर माइतीतिर हिंडी ।
प्रतापमानलाई त्यो दिनभर पछुतो लाग्यो । यत्रो वर्ष साथ दिने स्वास्नीलाई त्यसो नभन्नु पर्ने भन्ने सोच र शरीरबाट आएको गन्ध प्रष्टै थाहा पाएपछि के गर्ने त ? भन्ने तर्कबीच दिनभर कुस्ताकुस्ती चलिरह्यो र आखिर प्रतापमान सम्पूर्ण समस्याको जड दश-बाह्र वर्षपछि फर्किएको सुँघ्नसक्ने क्षमता नै भएको टुङ्गोमा पुग्यो ।
“यसरी त संसार चल्दैन ।
दिनभर पटक-पटक सोचेपछि अफिसबाट प्रतापमान सिधै डाक्टरको क्लिनिकमा गएको थियो र डाक्टरले रोग फर्काउन नसक्ने जवाफ दिएपछि कोठामा आएर लगातार निराश भइरहेको थियो ।
० ० ० ०
सुँघ्ने शक्ति फर्किएपछि घटना भन्दा दुर्घटना बढी भएका, भएको नोकरी पनि छुट्ने सम्भावना बढेको, जीवन बाँच्न मुश्किल परेको र हुँदाहुँदा स्वास्नीले समेत छोडेर जान लागेकोले बाध्य भएर ऊ पुरानै स्थितिमा फर्किने निर्णयमा पुगेको थियो । तर, डाक्टरले त्यो सम्भव नभएको भनेपछि अहिले ऊ उपाय विहीन भएको थियो ।
“गर्न के सकिन्छ ?”
प्रतापमान सोचमग्न भयो । प्रतापमान जसरी अरू नेपाली बाँचेका छन् त्यसरी नै बाँच्न चाहन्थ्यो र सकेसम्म राम्रो जिन्दगी बाँच्ने प्रयासमा थियो तर, प्रतापमानले बाँच्न चाहेको जिन्दगी अहिले जे छ त्यो भने पक्कै थिएन ।
“केरा, अण्डा, माछा र आइसक्रिम नखानु होला । यी एलर्जी बढी हुने कुरा हुन र सकेसम्म धुलोबाट बच्नुहोला ।
सुँघ्ने क्षमता गुमेको समस्या लिएर पहिलो पटक क्लिनिकमा जाँदा डाक्टरले दिएको सल्लाह प्रतापमानले सम्झ्यो र अलि खुशी भयो । हुनसक्छ औषधीद्वारा नफर्किने उसको रोग ती खानाबाट फर्कियोस् । अब सकेसम्म माछा, केरा, अण्डा र आइसक्रिम खानेछ र सकेसम्म धुलोमा हिंड्ने छ । प्रतापमानको मनमा आशाको बिरुवा टुसायो र उसको निराशा अलि कम भयो ।
ऊ भोलि देखिनै रोग फर्काउने प्रयासमा लाग्नेछ — प्रतापमानले आफू धेरै हलुका भएको महसूस गर्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

