अब उनीसँग आमाका असह्य पीडादायी यादहरू छैनन् । पत्नी वियोगको कहिले निको नहुने घाउ छैन । वर्षौंदेखि घर नफर्केको परदेशी छोरोको मर्माहत पार्ने चिन्ता छैन । उनीसँग त अब केही छैन । तर, यहाँ मसँग छ । 

00000

वैशाखको उखरमाउलो गर्मी छ । टिनको छाना तातेर घरभित्र बस्नै नसकिने स्थिति छ । घाम अलिकता ओरालो लागेपछि जङ्गवीर टिंकरी बाहिर निस्केर महाकाली नदीको किनारातिर जान्छन् । किनारामा एउटा सिमलको बूढो रुख छ । त्यसैको छहारीमा बस्छन् । काँधको तौलियाले पसिना पुछ्छन् । खल्तीबाट बिँडी निकालेर सल्काउँछन् । एउटा लामो सर्को लिन्छन्, खोक्दै धुवाँको मुस्लो फ्याँक्छन् ।

महाकाली नदी आफ्नै लयमा बगिरहेकी छन् । छालहरू जोडजोडले मडारिंदै छन् । उर्लेर ती कहिले किनारासम्म पुग्छन्, कहिले बीचमै हराउँछन् । नदीका ती उत्ताल छालहरू जस्तै उनका स्मृति तरङ्गहरू पनि उर्लिंदै जान्छन् । सुदूर अतीतमा पुग्छन् । जीवनबाट बगेर गएका वर्षहरूमा पोखिन्छन् । गरीबीले निचोरेको बालापन सम्झिन्छन् । भारतमा दिग्भ्रमित भएर बरालिंदै बितेको किशोरवयलाई स्पर्श गर्दछन् । दोधारा-चाँदनी आएपछिका आफ्ना विद्रूप कथाहरूमा हराउँछन् । कहिले जीवनको किनाराबाट नदीलाई हेर्छन्, कहिले नदीको किनाराबाट जीवनलाई ।

नदी, उनका लागि फगत एउटा नदी मात्रै होइन, आफ्नै जीवनको दर्पणछाया हो । त्यही दर्पणमा उनी जिन्दगीको अन्तिम किनाराबाट मृत्युलाई नियाल्दै बस्छन् । र, अक्सर आफैंलाई प्रश्न गर्दछन्, ‘के उमेरको लहरोमा अनुभूतिहरूलाई उन्दै जानु मात्रै हो त जीवन ?’ स्मृति अझै गाढा हुँदै जान्छ । सम्झिँदै जान्छन्- साढे सात दशकअघिको समय ।

दार्चुलाको अपि हिमालको शितोला गाउँको जन्म । आमा ढिकी, जाँतो र मेलापात गर्थिन् । उनकै कमाइले घरको चुह्लो जल्थ्यो । पेटभरि खान पुग्दैनथ्यो । आमाले खाने बेला ताप्के रित्तिइसकेको हुन्थ्यो । उनी त्यही ताप्के कोरकार पार्थिन् । पाप्रापाप्री खाएर सुत्थिन् । भोलिपल्ट साहुको भारी बोक्न जानुपर्थ्यो । बाटाघाटा राम्रा थिएनन् । बाँदर लड्ने भीरहरू मात्र थिए । हरेक दिन उनी ज्यान हत्केलामा राखेर हिंड्थिन् । उनको जीवनको मूल्यमा बा र उनी पालिन्थे ।

हुन त बा पनि व्यापार गर्दथे । कहिले ताक्लाकोट हुँदै तिब्बतसम्म जान्थे । कहिले बझाङको बुङ्गल हुँदै डोटी र डडेल्धुरासम्म पुग्थे । शिलाजित, जिम्मु, गनानो, डोलु जस्ता जडीबुटी बेच्थे । तर, कमाएको पैसा उनलाई रक्सी खानै पुग्दैनथ्यो । घरमा आएर आमासँग झगडा गर्थे । पैसा नदिए दखलै पर्ने गरी कुट्थे । सानो छँदा त उनलाई यस्ता कुराको मतलब हुन्थेन । बुझ्ने हुँदै गएपछि निकै पीडा हुन थाल्यो । एकातिर जँड्याहा बाबुको गैरजिम्मेवारपन र अर्कोतिर आमाको झीरमा उनिएको माछा जस्तो जीवन । उनलाई सीमातीत पीडा हुन्थ्यो । रातभरि निदाउन सक्दैनथे ।

उतिबेला गाउँमा पैसाको कारोबार हुँदैनथ्यो । भारापर्म गरेर जीवन निर्वाह हुन्थ्यो । कोहीकोही मानिस रोजगारीका लागि भारततिर पनि जान्थे । कोही सेनामा भर्ती हुन्थे । कोही ज्याला मजदूरी गर्दथे । उता जे काम गरे पनि फर्किंदा रेडियो घन्काउँदै आउँथे । गाउँमा उनीहरूकै ठूलो रबाफ हुन्थ्यो । गरीबीले टाक्सिएको उनको किशोर मस्तिष्कमा त्यसको गहिरो प्रभाव पर्दै गयो । बिस्तारै उनी पनि लाहुरे बन्ने सपना देख्न थाले । आमालाई सुखले पाल्ने कल्पना गर्न थाले । उमेर बढ्दै गयो । उनको त्यो सपना पनि झाङ्गिँदै गयो ।

दिनहरू बित्दै थिए । एक दिन बा रक्सीले बेस्सरी मातेर घर आउँदै थिए । गुल्जर नजिकै आइपुगेपछि ढले । त्यहीं रगत बान्ता गरे । त्यहीं उनको प्राण गयो । लाश त जङ्गलका काठले जलाइयो । तर, काजकिरिया गर्ने पैसा भएन । असीम वेदनाको त्यस घडीमा आमाले व्याकुल भएर भनेकी थिइन्, “संस्कारले त जीवन सहज पो बनाइदिनु पर्छ, बाँच्नै नदिने पनि संस्कार हुन्छ ?”

जङ्गवीर भर्खर १३ पुगेर १४ लागेका थिए । आमालाई न सहयोग गर्न सक्थे, न त आडभरोस दिन । गाउँको धनीमानी कुलदेव भट्ट भन्ने बाहुन थियो । आमा उसकै शरणमा गइन् । पहिला त उसले सहानुभूति पनि देखाएन । आमाले निकै बिलौना गरिन् । त्यसपछि बल्ल  एउटा पहाडे कागज झिक्यो । खाली कागजमा आमालाई ल्याप्चे थिचायो ।

अनि, झोलाबाट एक पसर जति सिक्काहरू झिक्यो र आमालाई दिँदै निर्दयतापूर्वक भन्यो, “बुहारी, एक वर्षभित्र तिरिनौ भने तिम्रो घरबारी सबै मेरो हुन्छ नि ।”

आमाको वक फुटेन । आँसु पुछ्दै पोल्टो थापिन् । त्यही पैसाले काजकिरिया हुँदै गयो । दुःखद घडीको त्यो चरम अपहेलना, विभेद र आफ्नो दरिद्रता मुटुमा खिलझैं गाडियो । कतिखेर यो संवेदनाहीन समाज छोडेर जाऊँ जस्तो भयो । कोरामा हुँदै उनले कालापहाड (भारत) जाने निर्णय गरिसकेका थिए  । चोखिएको दिन मध्यरातमा उठे । झ्यालबाट हेरे । बाहिर निष्पट्ट अँध्यारो थियो । आकाशलाई बादलले डम्म ढाकेको थियो । झ्याउँकीरीहरू कानै बन्द हुने गरी कराउँदै थिए । महाकाली नदी डरलाग्दो गरी गडगडाउँदै थियो । वातावरण अत्यासलाग्दो थियो र पनि उनी अविचलित थिए ।

आमा अगेनाको छेउमा सुतेकी थिइन् ।  उनको नजिकै गए । भावुक नजरले हरे । भोक र शोकले गर्दा उनको हड्डी मात्रै बाँकी थियो । त्यो दयालाग्दो अनुहार हेर्दाहेर्दै भक्कानो फुट्यो । सोचे- अझै यिनको हड्डी घोटेर खाँदै बसूँ कि कमाएर ल्याउन कालापहाड जाऊँ ? जाऊँ भने, दुःखको भवसागरमा एक्लै कसरी छोडेर कसरी जाऊँ ? आफ्नै मनको विरोधाभासमा फसे । निकै सोचे । अरू कुनै बाटो देखा परेन । अन्त्यमा, आमालाई शुर्मादेवीमाताको भरोसामा छोडे । र, भावविह्वल भएर घरबाट निस्किए ।

“ए टिंकरी बाजे ! के सोचेर बसेको ? बिँडीले हात पोल्न लागिसक्यो !”

दलवीरेकी छोरीको आवाज थियो त्यो । तर्कना टुट्यो । बिँडीको ठुटो फाले । फेरि सम्झनाको लहरीमा डुब्दै गए । नौमतीलाई सम्झे । प्रिय जीवनसङ्गिनी नौमती । बञ्जर भइसकेको जीवनलाई उसैले हराभरा बनाइदिएकी थिई । ऊसँग बिछ्ट्टै स्वप्निल तर छोटो दाम्पत्यको सहयात्रा भयो । उसले त छिट्टै संसार छोडी । तर बाँचुन्जेल उसका यादहरूले उनलाई पीडा दिन छोडेनन् ।

नौमती अन्तिम संस्कार त्यहीँ बगरमा भएको थियो । हरेक साँझ उनी त्यहाँ आउँथे । घण्टौंसम्म बस्थे । जति रात चकमन्न हुँदै जान्थ्यो, मनको भ्रान्ति उति बढ्दै जान्थ्यो । नौमती छेवैमा आएर बसे जस्तो लाग्थ्यो । उनी वेदनाहरू पोख्दै जान्थे । सुन्नेहरू बूढो बौलायो भन्थे । तर, उनी कसैको पनि पर्वाह गर्दैनथे ।

फेरि अर्को बिँडी सल्काए । लामो सर्को लिए । स्मृतिको प्रवाह रोकिएन । सम्झिँदै गए ।

भारतमा बरालिँदा बरालिँदै वर्षौं बितिसकेको थियो  । एक दिन झल्याँस्स भए । एकाएक आमालाई सम्झे । उनका दुःख यातना र बेसहारापनको कल्पना गरे । रक्सीको कुलतमा बितेर गएका आफ्ना भ्रमित खुशीका वर्षहरू पनि सम्झे । उद्देश्यविमुख भएर भड्किएका ती पदचापहरूले असैह्य पीडा दिए । उत्तिन्खेरै नेपाल फर्किने निर्णय गरे । पन्जाबबाट बस चढेर हिंडे । यात्राभरि मनमा आमा मात्र आइरहिन् । उनी बाँचेकी छन् कि मरिसकिन् ? बाँचेकी भए पनि कस्तो हालतमा बसेकी होलिन् ? मेरो बारेमा के सोच्दि होलिन् ? यस्तै तर्कनाले सताइरह्यो । घर छोड्दाका आफ्ना कलकलाउँदा सपनाहरू सम्झे । धेरैपटक भक्कानो छुट्यो । धेरै पटक सम्हालिए । भोलिपल्ट गलेको तनमन लिएर दोधारा-चाँदनीमा ओर्लिए ।

दोधारा-चाँदनीबाट पनि उनको घर पुग्न तीन दिन हिंड्नुपर्थ्यो । सञ्चारको कुनै माध्यम थिएन । निकै दोधारमा थिए । पहाडतिरबाट त्यहाँ महाकाली तर्न डुङ्गा चढ्नआउने मानिसको भीड देखे । आफ्नो गाउँतिरका पनि कोही भेटिन्छन् कि भन्ने लाग्यो । आमाको खबर यही पाइएला कि भन्ने आशा पलायो । त्यही मेसोमा केही दिन यतैतिर भुले । साथमा भएको पैसा निख्रिसकेको थियो । बाँच्नका लागि डुङ्गा चलाउन सिके । डुङ्गा चलाउँदा चलाउँदै मन बदलियो । फेरि सोचे- यतिका वर्षपछि घर जाँदा आमालाई दुईचार हजार पनि दिन नसक्ने गरी त के जानु ? दिनहरू बित्दै गए । तर, जति मरिमेटे पनि भ्यागुताको धार्नी कहिल्यै पुगेन । उनी यतै अल्झिए ।

‘लौ यो बाजे त यहीं पो रहेछ ! आधा रात भइसक्यो । घर जानु पर्दैन ?’

जङ्गवीरले कुनै जवाफ दिएनन् । दलवीरेले पनि अरू सोधपुछ गरेन । टोकरीबाट माछा निकालेर उनलाई दिंदै भन्यो, “अचेल महाकालीमा माछा छैनन् ! यत्रो बेर जाल खेल्यो, एक किलो पनि हुँदैन ! लाऊ, यी चारवटा लिएर जाऊ, बुहारीलाई झोल हालेर पकाइदेऊ भन ।”

उनले चूपचाप गम्सामा माछा थापे । घर गए । छोरो मलेसियामा थियो । बुहारी भिडियोमा कुरा गर्दै थिई । निकैबेर हातमा माछा लिएर कुरिरहे । तर, उनीहरूको कुरा टुङ्गिएन । त्यसपछि आफैं अगेनामा गए । ढुङग्रो फुकेर आगो जगाए । र, माछा त्यही अगेनामा हाले । अधकल्चो बनाएर खाए । नौमती बाँचुन्जेल घरमै रक्सी बनाइदिन्थी । सुत्ने बेलामा एक गिलास पिउँथे । भुसुक्क निदाउँथे । अचेल निद्रा पर्दैन । त्यो रात पनि निद्रा लागेन । मनका कुरा खेलिरह्यो ।

उठेर झ्यालमा बसे । बाहिर निष्पट्ट अँध्यारो थियो । त्यही अँध्यारोमा जिन्दगीको अर्को एउटा कालो दिन सम्झे । जुन दिन उनले बालसखा नरिभान महतारालाई भेटेका थिए । एक जुगपछिको भेट थियो । पहिला त चिनजान हुनै गाह्रो भयो । चिनेपछि दुवै जना खूब खुशी भए । बाल्यकालका सँगै गोठालो गएका, रनवन डुल्दाका रमाइला दिनहरू सम्झे । चमोलिया खोलामा पौडी खेलेका यादहरूले भिजे । निश्छल बालापनका कैयौं निष्कपट बिज्याइँहरूमा नोस्टाल्जिक भए । तर, उनीहरूको त्यो उल्लास धेरैबेर टिक्न पाएन । उनले नरिभानसँग आमाको हालचाल सोधे । नरिभानको अनुहार एकाएक मधुरो भयो । केही बेर ऊ मौन रह्यो ।

र, दुःखद भावमा भन्दै गयो, “आमा भारी बोकेर खान्थिन् । गाउँमा सबैले पागल्नी भन्थे । उनी भन्थिन्- कुनै दिन मेरो छोरो मलाई खोज्दै आउँछ, मैले दैलो उघारो राखेर बस्नुपर्छ । बिचरीको भाग्यमा छोरो देख्न लेखेकै रहेनछ ! बोकेको भारीसहित एक दिन उनी महाकाली नदीमा खसिन् । आजसम्म फेला परेकी छैनन् ।“

मुटु फुट्ला जस्तो भयो । नियतिले चुसेको आमाको लाचार अनुहार सम्झे । एक दिन आमालाई भेट्ने, रुँदै उनको ममतामयी काखमा मुन्टो राखेर माफी माग्ने तीव्र अभिलाषा थियो । वर्षौंदेखि मनमा गढेर बसेको त्यो सपनाको अकस्मात अवसान भयो । उनी मर्माहत भए । सम्झे- भाग्यले पहिला कुलतमा पारेर सडकछाप बनायो । पछि आमालाई भेट्ने वर्षौंदेखिको एक मात्र रहर पनि लुटेर लग्यो । पाइलाहरू अघि बढ्न खोज्दै  थिए, त्यस दिन देखिबाटै मेटियो । त्यसपछि न दोधारा-चाँदनीमा बसिरहनुको अर्थ रह्यो, न त दार्चुला जाने बहाना बाँकी रह्यो । जिन्दगी फेरि चौबाटोमा आयो । तर, पुग्ने ठाउँ कतै भएन । यस्तै पीडादायी सम्झनामा रात बित्यो ।

भोलिपल्ट खाना खाए । गोठमा गए । गाई फुकाए । महाकाली किनारामा लगेर छोडिदिए । आफू उही सिमल चौतारीमा बसे । फेरि तर्कनामै डुब्दै गए ।

आमाको दुखद अवसानका बारेमा थाहा पाएपछि अब कहाँ जाने ? के गर्ने भन्ने गम्भीर प्रश्न बोकेर दोधारा-चाँदनीमा रङ्मगिँदै थिए, त्यही बेला नौमती चौधरीलाई भेटे । उसको बोलीचाली मन पर्दै गयो । ऊ पनि नजिक आउन थाली । मनको घाउ पनि मसाङ्ग्रिँदै गयो । दुवै जनाले विवाह गरे । यतै घरजम भयो । जीवनले फेरि दिशा पहिल्यायो । उनी डुङ्गा चलाउँथे । माछा मार्थे । खटिमा (भारत) बजारमा लगेर बेच्दथे । नौमती मेलापात गर्थिन् । दुवै मिलेर सानो घर बनाए । दाम्पत्य जीवन सुखमय हुँदै गयो । केही वर्षपछि नौमतीले सुन्दर छोरालाई जन्म दिई । दिनहरू झन् पल्लवित हुँदै गए ।

समय उल्लासमय भएर बित्दै थियो । अचानक उनको खुशीमा फेरि दैव लाग्यो ! वर्षातमा महाकालीमा ठूलो बाढी आउँथ्यो । काठका मुढाहरू बगाएर ल्याउँथ्यो । मानिसहरू बाढीमै मुढाहरू बटुल्थे । त्यसबाट केही समयका लागि दाउराको खाँचो टर्थ्यो । एक दिन नौमती पनि त्यही लोभले गई । तर, दुर्भाग्य ! उसले मुढा तान्न सकिन । मुढाले नै तानेर लडायो । ऊ महाकालीको बाढीमा अलप भई । भाग्यले उनलाई फेरि अर्को पटक जिल्लायो । उनको संसारै अँध्यारो भयो । फुल्न खोज्दै गरेका सपनाहरू झरे । बाँच्ने लालसा नै मेटियो ।

नौमतीले अनुपम उपहारका रूपमा छोरोलाई छोडेर गएकी थिई । ऊ तोते बोल्ने मात्रै भएको थियो । कलिला पाइला धर्मराउँदै आउँथ्यो । कहिले रुन्थ्यो, कहिले खित्का छोडेर हाँस्थ्यो, कहिले लाडे पल्टिन्थ्यो । त्यो निर्दोष हाँसोमा उनी नौमतीको झल्को पाउँथे । यसरी छोराको माया, आफ्नो कर्तव्यबोध, नौमतीको झझल्कोले उनलाई फेरि अल्झायो । जिन्दगी उमङ्गहीन भइसकेको थियो । तर नबाँची सुख थिएन । आखिर एउटै सन्तापमा जिन्दगीभरि अल्झिरहन पनि त कहाँ पाउँदो रहेछ र मान्छेले !

छोरालाई असीम लाडप्यारमा हुर्काउँदै गए । ऊ दिनदिनै पुलपुलिँदै गयो । पढ्न मन गरेन । क्रिकेट खेल्न लाग्यो । खेल्नकै लागि भारतको खटिमा, हल्दानी, बरेलीसम्म पुग्न थाल्यो । खेल्दाखेल्दै उतैबाट एउटी नेपाली मूलकी केटी भगाएर ल्यायो । बढ्दो आवश्यकताहरूले उसलाई ङ्याक्न थाले । त्यसपछि  खेलेर मात्र जीवन नचल्ने कुरा बुझ्यो । जागीरको खोजीमा भौँतारिदै गयो । तर , कतै पनि पाउन सकेन ।

हरेक साँझ छोरो निराश भएर आउँथ्यो । आशातीत नजरले उनलाई हेर्थ्यो । टुहुरो छोरो, माया लाग्थ्यो । उनी पीडाको भुङ्ग्रोमा पर्थे ।

गाउँमा उनी पाको-पुरानो र सम्मानित वर्गमा पर्दथे । चुनावताका नेताहरू घरमै आएर भेट्थे । छराको लागि उनले सबैलाई भेटे । सबैतिर बिन्ती बिसाए । तर, एउटा मामुली जागीर मिलाउन सकेनन् । त्यही चिन्ताले उनी भुटभुटिन थाले ।

एक दिनको कुरा, रात छिप्पिसकेको थियो । उनी गम खाँदै अगेनामा आगो तापिरहेका थिए । छोरो टुप्लुक्क आइपुग्यो । त्यस दिन ऊ फरक मुद्रामा थियो । अनुहारमा चमक थिएन । चिन्ता र आक्रोश थियो । त्यही भावमा उसले भन्योः

“के गर्नु बा ? पार्टीका लागि मर्न पनि पछि परिएन । तर, आज भोकै मर्ने भइयो भन्दा पनि कसैले हेर्दैन । काम पाउन त यहाँ कि पैसा दिन सक्नु पर्दोरहेछ कि मान्छे चाहिँदो रहेछ ! मेरो त मनै मरेर आयो ! अब म मलेसिया जान्छु, सक्छौ भने एजेन्टलाई बुझाउने पैसा खोजिदेऊ ।“

नौमती भन्ने गर्थी, ‘यो छोरा मेरो जीवनको एकमात्र  सपना हो ।’ नौमतीको सपना मुर्झाएको त उनी कसरी हेर्न सक्थे र ! तर, आफैं बुढेसकाल कसको सहारामा कसरी बाँच्ने भन्ने प्रश्न पनि कम जटिल थिएन । उनले छोरो विदेश गएपछिको आफ्नो एक्लो जीवनको कल्पना गरे । अज्ञात भयले मन भारी भयो । गह भिजेको पत्तो पाएनन् । आफ्नो परदेशकै सपनाको दुःखद परिणाम सम्झे । मनमा तर्कनाको आँधी चल्यो । अन्त्यमा निर्णय गरे – आफ्नो सहाराको लोभमा हुर्केका पक्षीको पखेटा काट्न पाइँदैन । उड्न दिनुपर्छ । रातभरि मनमा यस्तै कुरा खेलिरहे ।

भोलिपल्टै गाउँको सहकारीमा गए । अरू जायजेथा थिएन । त्यही घर बन्धकी राखे । एक लाख रुपैयाँ छोरालाई दिए । त्यसको एक-दुई दिनमा ऊ मलेसिया हिँड्यो ।

ऊ जाने दिन बिहानैदेखि डम्म बादल लागेको थियो । धरतीको चेहरा पनि व्यथित थियो । छोरो आँगनबाटै अटो चढेर गयो । उनले आफ्ना आँसुले भिजेका आँखाले अटोलाई हेरिरहे । एकैछिनमा अटो ओझेल पर्‍यो । त्यसपछि आशाका धेरै दिन, महिना, जर्षहरू बितेर गए । तर, छोरो फर्केर आएन । अर्को बर्ष बुहारी पनि छोराले पठाएको पैसा लिएर आउँछु भनेर गई । त्यतैबाट हराई । उनी मक्किसकेको बूढो रूख ! झन् मक्किँदै गए । चेतना पनि पातलो हुँदै गयो । राम्रोसँग होश पाउन छोडे । जे मनमा आयो, त्यही गर्न थाले ।

महाकाली बगिरह्यो । उनी एकतमासले एकोहोरिइरहे । तर, उनी किन टोलाएर बस्थे ? महाकाली बगरमा बसेर कसलाई पर्खिन्थे ? कसैले बुझेन । कति रात उनी बगरमै बिताउँथे । कसैलाई हेक्का भएन । उनको चेतना निकै कमजोर भइसकेको  थियो । तर, शायद अवचेतनमा अझै पनि दिवंगत पत्नी नौमतीलाई भेट्ने अभीप्सा बाँकी थियो । छोराको काखमा जीवनको अन्तिम सास लिने अभिलासा मरेको थिएन । त्यसैले उनी वर्षौंदेखि नौमतीको बाटो हेर्थे  । परदेशमा हराएको छोरा आउला कि भनेर उसको बाटो  कुर्थे  ।

एक दिन दलवीरे जाल खेल्दै आउँदै थियो । उसले बुढालाई त्यही बगरमा देख्यो । उनी भावुक मुद्रामा एकोहोरिएर बसेका थिए । ऊ बुढाको छिमेकी मात्रै थिएन । छोराले जस्तै उनलाई  माया गर्दथ्यो ।

बुढाको नजिकै गयो । करुणामय  नजरले हेर्‍यो । अनि आश्चर्यचकित भएर सोध्यो, “बाजे ! खर्लप्पै दुब्लाएछौ त ! बिरामी पर्‍यौ कि क्या हो ? …बुहारी घरमा छैनन् ?”

बुढाले आँखाको चस्मा मिलाए । एकछिन दालवीरेलाई भावहीन नजरले हेरे । तर, कुनै जवाफ दिएनन् । दलवीरेको मन खिन्न भयो । बुढाको नाडी समात्यो । उनको घरमा लिएर गयो । घर चकमन्न थियो । कुखुराको खोरमा कुखुराहरू थिएनन् । गोठमा गोरु थिएनन् । हाँडाभाँडा जथाभावी असरल्ल थिए । मझेरी मुसाले खनेर बगर जस्तै बनाएको थियो । उसले छरछिमेकमा बुहारीको बारेमा बुझ्यो । उनी घर नफर्केको दुई हप्ता भई सकेको रहेछ । दलवीरे आहत भयो । र, आक्रोशित भावले भगवानसँग गुनासो गर्दै भन्यो, “हे भगवान् ! यो उमेरको वृद्धले के पाप गरे र यति कठोर सजाय दिँदैछौ तिमी ?”

उसले त्यही दिनदेखि बुढालाई आफनै घरमा लगेर राख्यो । छोरालाई मलेसिया फोन गर्‍यो । मध्य वर्षातको समय थियो । बिहानैदेखि मुसलधारे पानी परिरहेको थियो । मानिसहरू भल छोप्न र आलीकान्ला गर्न व्यस्त भए । दलवीरे पनि रोपाइँको तयारी गर्न थाल्यो । त्यही दिन साँझपख उसले बुढाको छोरा काठमाडौँ आइपुगेको खबर पायो । बुढालाई खुसीको कुरा सुनाउन दौडियो । तर, बुढा घरमा थिएनन् !

दलवीरेको मनमा चिसो पस्यो । गाउँटोल सबैतिर खोजी गर्‍यो । बुढा बस्ने गरेको सिमलको रूख भएको ठाउँमा पनि गयो । तर, बुढा फेला परेनन् । भोलिपल्ट निकै पर महाकालीको बगरमा उनको लास फेला पर्‍यो । मानिस जम्मा भए । अनेकअडकलबाजी गरे । बुढाको शारीरिक, मानसिक र पारिवारिक अवस्थाको बारेमा टिकाटिप्पणी भए । अन्त्यमा, उनी आफैं नदीमा हाम फालेको निष्कर्ष निकालियो । बुढालाई थप एक दिन जोगाउन नसकेको र  छोराको जिम्मा लगाउन नपाएकोमा दलवीरेलाई गहिरो पश्चात्ताप भयो ।

भोलिपल्ट साँझ बुढाको छोरो घटनास्थलमा पुग्यो । मृत बाबुको देह ढाकेको कपडा हटाएर उनको अनुहार हेर्‍यो । एकछिन भक्कानियो । र, आँखाको आँसु पुछ्दै दलवीरेतिर फर्किंदै भन्यो, “यो देशमा धनीले एउटा कुकुरका लागि जति खर्च गर्छ, त्यति पैसा कमाउनु पनि हामी गरीबका लागि ठूलो सपना भइदिन्छ ! भाग्यले सधैं गरीबमाथि मात्रै किन यस्तो अन्याय गर्छ, दाजु ?”

उसले पीडामिश्रित आक्रोश भावले भन्दै गयोः

“बुढाकी आमा महाकालीमा खसेर मरिन् । महाकालीकै बाढीमा बगेर श्रीमतीले अकालमा ज्यान गुमाइन् । भएको एउटा छोरा म, मै परदेशिएँ । बुहारी आफ्नो बाटो लागी । नियतिका अनगन्ती चोट सहेका ती वृद्ध आफ्नो जीवन अन्तिम कालखण्डमा नितान्त एक्लो भए । बेसहारा भए । न भोकतिर्खा भन्न पाए, न त आफ्नो मनका पीडा कसैसँग पोख्न पाए । कोही न कोही त हुनुपर्थ्यो नि, मन बिसाउनको लागि !  उनका लागि कोही भएनन् । न आफ्नाहरू भए  ।  न यो समाज भयो, न सरकार, न त देश ।

आफ्ना कष्टकर जीवन यात्राका असीम वेदनाहरूमा एक्लै छटपटिंदै आखिर कहाँसम्म घिसार्न सक्थे र उनले आफ्नो बुढेसकालको एक्लो, निरीह र लाचार जिन्दगीलाई ? हार खाए । उपाय भएन । महाकालीमा हाम फालेर मरे । सदाका लागि शान्त भए । अब उनीसँग आमाका असैह्य पीडादायी यादहरू छैनन् । पत्नी वियोगको कहिले निको नहुने घाउ छैन । वर्षौंदेखि घर नफर्केको परदेशी छोरोको मर्माहत पार्ने चिन्ता छैन । उनीसँग त अब केही छैन । तर, यहाँ मसँग छ । उनी बिनाको  विराट शून्यता छ । अपुरणीय रिक्तता छ । बाचिन्जेल दुखिरहेने मुटुमा लागेको घाउ छ ।”

एकछिन अडिएर फेरि भन्यो,

“बुहारीले छोडेर गई । तर उसलाई मात्रै के दोष दिनु ? बीस वर्षको उमेरमा बिहे भयो । लोग्नेसँग दुई महिना पनि सँगै बस्न पाइन । भोकको रन्को बोकेर लोग्ने परदेश गयो । वर्षौं वर्षसम्म फर्केर आएन । केको आशले ऊ बुढा ससुरा स्याहारेर बसिरहोस्  ? कहिलेसम्म लोग्नेको बाटो कुरेर आफनो जिन्दगी खेर फालोस्…”

उसले आफना दुवै हाते आँसु पुछ्यो । र, बोल्दै गयो, “किन एउटा गरीबले आफ्नो मामुली सपनाको पनि यति चर्को मूल्य चुकाउनु पर्छ ? किन देशमै गच्छे अनुसारको काम गरेर पेट पाल्न पाउ भन्ने निमुखाहरूका याचना अरण्य रोदन मात्र भइदिन्छन् ? किन फुल्न पाउँदैनन्  जीवनका कोपिलाहरूका सपनाहरू, किन निमोठिन्छन् असहाय वृद्धका जीजिविषाहरू, किन पूरा हुँदैनन् गरीबका फगत जीवन धान्ने कामनाहरू । र, किन यस्तै नियतिको आँसुले  लतपतिन्छन्  महाकाली किनाराका हाम्रा सपनाहरू !”

तमासा हेर्न भेला मानिसहरू स्तब्ध भए । सन्नाटा छायो । तर, महाकाली बगिरह्यो, उस्तै निरपेक्ष भावमा ।