पौषको बेला थियो । काठमाडौंबाट कार आफैं हाँकेर झापा (धुलाबारी) पुग्नुथियो । बिहानको ४:४५ बजे नै कोटेश्वर घरबाट निस्किएँ । गत आश्विन महिनामा आएको चार दिने वर्षा र बाढीपहिरोले धुलिखेल-सिन्धुली (भिमान) चतरा सडकखण्डको सडक धेरै ठाउँमा क्षति पुर्‍याएको थियो । सडकको दुरावस्थाका कारण यात्रा कठिन थियो । तर काठमाडौं-झापा सडक यात्राका लागि छोटो बाटो त्यही हुन्थ्यो ।

गाडी निकालें । घरको ढोका लगाई चालकको सिटमा बसें । सिटबेल्ट लगाई सबैतिरका ऐनाहरू चेक गरें । गाडी स्टार्ट गरें । त्यसै बेला बायाँपट्टि पछाडिको ढोका घड्याक्क गरेर खुल्यो । फेरि आफैं बन्द भयो । मलाई कोही पछिल्लो सिटमा बसेको जस्तो लाग्यो । म अचम्ममा परें । गाडीबाट झरेर सबै ढोका बाहिरबाट खोल्दै बन्द गर्दै गरें । गाडीको डिकी पनि खोलेर हेरें । अगाडि पछाडि सबै सीटमा हातले छामेर जाँच गरेँ । कतै केही खराबी पाइनँ । आफैंलाई भ्रम परेछ भन्ने सोच्दै गाडी अगाडि बढाएँ ।

गाडीमा सेन्ट्रल लकसिस्टम थियो । सबै ढोका र सीसाहरू लक गरेँ । फेरि, मेरो पछाडि कसैले लामो सास फेरेको जस्तो लाग्यो । गाडीभित्रको पछाडि हेर्ने ऐनाबाट सबैतिर हेरें । तर केही देखिएन । मनमा चिसो पसे पनि अगाडि बढेँ ।

* * *

भक्तपुर, सूर्यविनायकदेखि धुलिखेलसम्म अरनिको राजमार्ग स्तरोन्नति र विस्तारकार्य भइरहेको थियो । मलाई कोटेश्वरदेखि धुलिखेलसम्म पुग्न एक घण्टाभन्दा बढी समय लाग्यो । धुलिखेल चोकमा दुई बोतल पानी, सुन्तला र चकलेट किनेर गाडीमा राखेँ । धुलिखेलबाट बिपी राजमार्गतर्फ लाग्दा राम्रोसँग उज्यालो भइसकेको थिएन, अलिअलि हुस्सु लागिरहेको थियो । गाडीको हेडलाइट बालेको थिएँ ।

* * *

धुलिखेलको हस्पिटल चोकमा एक जोडी महिला पुरुषले गाडीमा लिफ्ट माग्नुभयो । मैले गाडी बाटोछेउ लगाएर रोकें । श्रीमान-श्रीमती जस्ता देखिने अन्दाजी पचास-पचपन्न उमेरका उहाँहरू आउनुभयो । साइडको ऐनाबाट हेर्दा सेतो लुगा लगाएका उहाँहरू थकित देखिनुहुन्थ्यो । मैले बायाँपट्टि अगाडिको ढोकाको सीसा तल झारें ।

‘नमस्कार हजुर ! कहाँसम्म जानुहुन्छ, हामीलाई पनि नार्चेबजारसम्म लगिदिनुहुन्छ कि ?’ पुरुष बोल्नुभयो ।

‘नमस्कार, म झापासम्म जान्छु । धेरै ठाउँमा बाटो बिग्रिएको छ भन्छन् । नार्चेबजार कहाँ पर्छ ?’

‘भकुण्डेबेसी भन्दा केही अगाडि रोशी किनाराको सानो बजार हो हजुर ! हामीसँग भाडा तिर्ने पैसा छैन । अरू कुनै गाडीले हामीलाई चढाउन मानेनन् हजुर! हजुरको जय हुन्छ !’

शिष्टतापूर्ण बोली र विनम्र अनुरोधले गर्दा मैले ‘नाइँ’ भन्न सकिनँ । फेरि सबेरै देखिको अदृश्य आवाज र भ्रमहरूले म डराइरहेको थिएँ । मलाई केही बेरको लागि भए पनि साथी पाएँ भन्ने लाग्यो । गाडीबाट ओर्ली पछाडि सिटमा भएको मेरो सानो ब्याग, सुन्तलाको झोला र पानीका बोतलहरूलाई किनारातिर सारेँ । र दुवैजनालाई बस्न भनेँ ।

‘धन्यवाद हजुर,’ भन्दै दुवै जना बस्नुभयो । ढोका बन्द गरिदिएँ । त्यति नै बेला दायाँपट्टि पछाडिको ढोका आफैं खुल्यो । मलाई कोही मानिस सीटबाट ओर्लिएको जस्तो लाग्यो । आफै ढोका ढ्याम्म बन्द भयो । ढोका खुलेको र बन्द भएको मैले आफ्नै आँखाले देखें । कोही ओर्लिएको झैं आवाज मात्रै सुनेँ । डराएर मलाई दृष्टि, श्रवण या चेतभ्रम भएको होला भनी सम्झें । लामो दूरीको यात्रा सम्झँदै गाडी अगाडि बढाएँ ।

मैले सोधें, ‘नार्चेबजार कहाँनिर हो यहाँहरूलाई थाह होला नि !’

‘ठाउँ त थाह छ हजुर ! हामी त्यहींका हौँ । तर अस्ति असोजमा बाढीपहिरो पछिको अवस्था केही थाहा छैन हजुर !’ वहाँहरूको बोलीमा अनिश्चयता र पीडाबोध झल्किन्थ्यो । ‘अब केही बेरमा भकुण्डेबेसी कटेपछि आफैंले देख्नुहुनेछ रोशीले मच्चाएको वितण्डा र हामीले भोगेको दुःख!’ वहाँहरूले भन्नुभयो ।

त्यति बेला गाडी धुलिखेल बाहिर बेजिङ प्लेनको गहिरो ठाउँको मोडमा पुगिसकेको थियो । त्यसैबेला मैले पुरुष आवाजमा, ‘मामा-माइज्यू! म पनि हजुरहरूसँगै जाने, मलाई पनि लैजान भनिदिनुहोस् न अंकललाई !’, भनेको सुनें । गाडीको गति घटाएँ । तर यताउता कोही पनि देखिनँ । हामीलाई भनेको होइन होला सोच्दै गाडी अघि बढाइरहेँ ।

सीटमा बस्नु भएकी महिलाले पछाडि हेर्दै, ‘प्रदीप भान्जा पनि दौडँदै पछिपछि आउँदै हुनुहुन्छ, के गर्ने ?’, भन्दै ती पुरुषलाई कोट्याएर भनेको मैले ऐनाबाट देखें । मैले आफैंले गाडीका ऐनाहरूबाट पछाडिबाट कोही आउँदैछ कि भनेर नियालेँ । तर त्यस्तो केही देखिनँ ।

‘के भयो ? केही भन्नुभएको हो र ?’, सोधें ।

ती पुरुषले अलिक नरम स्वरमा भन्नुभयो, ‘हाम्रो प्रदीप भान्जा पनि हामीसँगै जान पछि लाग्नु भएको छ । आफैं त हजुरसँग अनुरोध गरेर गाडीमा जान पाएका छौँ । अब फेरि थप बोझ हजुरलाई कसरी दिऊँ ?’

म एकैछिन अलमलमा परें । छेउछाउमा कोही मानिस देखिन्नन् । उहाँहरू नाम नै लिएर भान्जाको कुरा गर्नुहुन्छ । पछिपछि दौडँदै आएको भन्नुहुन्छ । मेरो मनमा कताकता चिसो पस्यो । छाती ढक्क फुलेर आयो । मुटुको धड्कन बढ्नथाल्यो । ओठमुख सुकेर आयो । आज म पक्कै पनि ठूलो आपतमा फसेछु भन्ने लाग्यो । पछाडिको सीटमा बसिरहनुभएका दुवैलाई ऐनाबाट थाहा नपाए जस्तो गरी हेरेँ । के के नमिलेको रूपरंग भएका उहाँहरूलाई सामान्य मानिसहरूभन्दा फरक जस्तो पो देखें । मेरो डर झन् बढेर आयो । केही बोल्ने साहस भएन ।

सोचेँ – अब धेरै डराएर भन्दा पनि अक्कलले काम गर्नुपर्छ । मैले उहाँहरूका कुरा नबुझेको जस्तो गरी गाडीको गति बढाएँ । केहीपर चौकोटमा गाडी रोकेर त्यहाँको नेवारी खाजाघरमा चियानास्ता गर्ने बहानामा दुई जनालाई गाडीबाट ओर्लन लगाउने र आफू गाडी लिएर हुइँकिने सोच आयो ।

‘चियानास्ता गरौँ, एकछिन गाडी बिसाऊँ है,’ भन्दै गाडी रोकेर पहिला म आफैं ओर्लिएँ । उहाँहरू दुवै जना केही नखाने भनेर गाडीबाट ओर्लन मान्नुभएन । मेरो योजना सफल भएन ।

* * *

त्यसैबेला, केहीबेर पहिले हामीले पछाडि छोडेर आएको आवाजले, ‘ए हजुरहरू यहीं हुनुहुँदो रहेछ । गाडीमा ठाउँ छ भने मलाई पनि नार्चेबजारसम्म लगिदिनुस् न!”, भनेको मैले स्पष्ट सुनें ।

मन झसङ्ग भयो । तैपनि आफू नडराएको जस्तो स्वरमा मैले भनें, ‘तपाईं को हो ? तपाईंलाई मैले देखेको छैन । किन यसरी पिछा गर्नुहुन्छ ?’

‘हजुरको गाडीमा बस्ने मेरो मामा-माइज्यू हुनुहुन्छ । हामी एकै ठाउँ जाने हो । हजुरले मलाई देख्नुहुँदैन । तर म हजुरलाई राम्ररी देख्छु । हजुरलाई के ढाँट्नु, हामी अर्कै संसारका मानिस हौं । हाम्रो कथा लामो छ । साथै यात्रा गर्न पाए म छोटकरीमा हजुरलाई भन्नसक्छु ।’ त्यो अदृश्य आवाज बोल्यो ।

यति सुनेपछि आज अदृश्य शक्तिको चंगूलमा परेछु भन्ने पक्का भयो । मेरो छाती फुट्ला जस्तो भयो । हातखुट्टाहरू लुला भए । पैताला मुनिको जमीन भासिए जस्तो भान भयो । हल्लाखल्ला गर्दा कसैले सहयोग गर्नसक्छ कि भन्ने सोचेर वरिपरि हेरें । खाजाघरमा दुई जना मानिस उभिएरै चिया पिउँदै थिए । पसलका साहू-साहूनी भित्र-बाहिरको धन्दामा व्यस्त थिए । फेरि यस्ता अदृश्य र अपत्यारिला कुरा कसले पो पत्याउँला र ? उल्टै पिछा लागेका अदृश्य शक्तिले थप दुःख दिए भने के गर्ने भन्ने त्रास पनि थियो । बरु उनीहरूले भनेको मान्दा नै आफ्नो भलो हुने सोच मनमा आयो ।

‘के सोच्न थाल्नुभयो हजुर ! हजुर डराउनु पर्दैन । हामीले खराब सोचले हजुरलाई पछ्याएका होइनौं । हाम्रो एकजना भाइ हजुरसँग गाडीमा बसेर काठमाडौंबाट सँगै आउँदा केही खराबी गर्‍यो त ! बरु बाटोमा ठूला ट्रिपरहरूले जाम गर्दा समेत हजुरको गाडी कतै जाम परेन, होइन र ?’ त्यो अदृश्य आवाज बोल्यो ।

हुन पनि म सबेरै कोटेश्वरदेखि धुलिखेलसम्म आउँदा कहींकतै जाममा परेको थिइनँ । अझ अचम्मको कुरा ठूला ट्रिपरहरूले त झन् परै छेउ लागेर बाटो दिए जस्तो भएको थियो ।

मैले केही बोल्न नभ्याई फेरि त्यो आवाज बोल्यो, ‘मामा-माइज्यू चढेको ठाउँमा हाम्रो भाइ हजुरको गाडीबाट ओर्लिएपछि हजुरसँग अनुमति मागेर म पनि सँगै आउने विचार थियो । तर भाइसँग केही सामानहरू लिनुदिनु पर्ने भएर म पछि परें । म आफै अदृश्य रूपमा हजुरको गाडीमा चढेर बस्न सक्थें । तर मेरो संस्कारले गर्दा अनुमतिबेगर बस्न सकिनँ । र पछिपछि दौडेर आएको हुँ । मामा-माइज्यूलाई पनि केही छिनको लागि हजुरले देख्न मिल्ने स्वरूपमा बाटोमा गाडी कुर्न राखेको थिएँ । हेर्नुहोस् त, अब उहाँहरू पनि अदृश्य भइसक्नुभयो’ ।

मैले गाडीभित्र चिहाएँ । उहाँहरू दुवैजनालाई सीटमा देखिनँ । अब झन् मेरो उम्कने उपाय केही होला जस्तो लागेन । मैले अलिक दबेको स्वरमा भनें, ‘हुन्छ, म लगिदिन्छु । तपाईं अगाडिको सीटमा बस्नुस् ।’

म चालकको सीटमा बसें । बायाँ पट्टिको अगाडिको ढोका आफै खुल्यो । सीटमा कोही बसेको भान भयो । र ढोका आफैं बन्द भयो ।

‘सीटबेल्ट लगाउँछु है हजुर । हाम्रोतिर त अनिवार्य छ सीटबेल्ट ! यता लगाए पनि नलगाए पनि केही मतलब छैन रहेछ,’ आवाज बोल्यो ।

‘हुन्छ, पहाडको घुमाउरो बाटोमा सजिलो हुन्छ,’ भनें । यति भनेर गाडी अघि बढाएँ ।

गजबको यात्रा हुने भयो । गाडीभित्र म आफूबाहेक तीनजना अरू यात्रु छन् । तर सबै अदृश्य – अनौठा यात्री ! मेरो करीब अठार वर्षदेखि गाडी चलाएको अनुभवमा पहिलो पटक यस्तो भएको थियो । आफू सोचमग्न हुँदै चूपचाप गाडी दौडाइरहेँ ।

* * *

अघिल्लो सीटमा बस्नेले बोले, ‘मेरो नाम प्रदीप हो । हाम्रोतिर थरजात केही हुन्न । हजुरले मलाई देख्नुहुन्न । म हजुरभन्दा उमेरमा धेरै कान्छो छु । त्यसैले हजुरलाई म अंकल भन्छु है ! हजुरले मलाई प्रदीप भनी बोलाउँदा हुन्छ ।’

केही नसोची ‘हुन्छ’ भनिदिएँ ।

प्रदीपको कुरा र बोलीको लवज पढालेखा र संसार राम्रोसँग बुझेको व्यक्तिको जस्तो लाग्यो । भेट भएको त्यति छोटो समयमा नै उहाँको फरासिलोपनाले मलाई प्रभावित पारेको थियो । बिस्तारै डरभन्दा पनि अदृश्य शक्ति बारेमा कुराकानी गर्न पाइने लालसाले मलाई तान्न थालेको थियो ।

* * *

ठकुरी छापभन्दा अगाडि बढेपछि मैले प्रदीपलाई सोधें, ‘यो बाटोमा यति धेरै गाडीहरू चल्छन् । यहाँहरूले मलाई नै किन र कसरी रोज्नुभयो ?’

प्रदीपको जवाफ थियो, ‘हामीलाई तीन जनाको लागि सीट भएको गाडी, त्यो पनि सित्तैमा नार्चेबजारसम्म लगिदिने चाहिएको थियो ।’ उनी भन्दै गए, ‘मेरो म्याप्टिच्यूड सफ्टवेयरले हजुर कोटेश्वरबाट आज एक्लै झापा जाने कुरा पत्ता लगाएको थियो । हजुर र हजुरको श्रीमती बीच बेलुका ९ बजेतिर मोबाइलमा भएको कुराकानी हाम्रो सफ्टवेयरले समातेको थियो ।’

उनी भन्दै गए, ‘हामी धुलिखेलबाट चढ्नुपर्ने थियो । हामीलाई केही सुपरचिप्सहरू एक जना भाइले काठमाडौंबाट ल्याइदिनुथ्यो । हाम्रो सुप्रा-जिपिएसको मद्दतले हजुरको ठेगाना र विवरण भाइलाई दिएको थिएँ । बिहान हजुरले गाडी निकाल्दा उनी ठिक्क लोकेशनमा पुगेका थिए । गाडी चल्नै लाग्दा उनी हतारमा अनुमति नमागी चढ्नुपरेछ । अदृश्य रहेर उनले अनुमति माग्न थालेको भए हजुर डराएर झापा जाने योजना नै रद्द गर्नसक्ने सम्भावना थियो । धुलिखेलमा भाइले मसँग छुट्ने बेला हजुरलाई सरी भनिदिनु भनेका छन् ।’

म केही नबोली प्रदीपका कुरा सुनेर मनमनै सोच्दै थिएँ । आफूलाई अर्कै संसारका हौँ भन्छन्, यिनीहरूसँग अर्को संसारको बारेमा सोधीखोजी गर्नुपर्‍यो । गफको सुरमा बाटो पनि कट्ने ! मैले १४-१५ वर्षअघि एक जना ब्रिटिश-अमेरिकन लेखक नील गैमनको पुस्तक द ग्रेभयार्ड  पढेको थिएँ । उक्त पुस्तकका मुख्य पात्र बोड ओवेन्स् भूतप्रेतहरूका साथ यौटा चिहान घारीमा हुर्किएका थिए । उनको अनुभवलाई गैमनले पुस्तकमा उतारेका छन् । म चाहिं प्रदीपबाट अर्को लोकका बारेमा प्रत्यक्ष सुन्न पाएँ । मेरो डर हराइसकेको थियो । उल्टै अर्को लोकका प्रसङ्गहरूले रोमाञ्चित हुँदै थिएँ ।

प्रदीपले मेरो मनको कुरा बुझे जस्तो गरी आफैं प्रष्ट पार्न लागे ।

‘हेर्नुस् अंकल, हजुरहरू अर्को संसारमा भएका हामीलाई भगवान्, देवता-देवी, देवदूत, ऋषि, पितृ, भूत-प्रेत, बोक्सी, डाइनी जस्ता धेरै रूपमा कल्पना गर्नुहुन्छ । तर कहिल्यै हामीमध्ये कसैलाई प्रत्यक्ष देख्नुभएको छ ?’

त्यस प्रश्नले मलाई अलमलमा पारिदियो, आफ्नो विचार के राखूँ भन्ने सोच्न नभ्याउँदै प्रदीपले आफ्नो कुरालाई अगाडि बढाए, ‘छैन भने कहिल्यै नभेटेको र नदेखेको कसैलाई चैं राम्रो कसैलाई चैं नराम्रो रूपमा कसरी कल्पना गर्नुहुन्छ ? कहिले सोच्नु भएको छ ?’

भनेँ, ‘छैन ।’

तर उनको भनाइको अर्थ गहिरो थियो । अर्को लोक बारे हाम्रो बुझाइ पौराणिक ग्रन्थहरूमा भएका वर्णन र समाजमा चलेका कतिपय किस्सा किंवदन्तीहरूले गर्दा दिग्भ्रमित भएको जस्तो मलाई पनि लाग्छ । तर, मैले यसबारे प्रदीपलाई केही भनिनँ ।

* * *

हामी त्यति बेला सम्ममा काभ्रे भञ्ज्याङ पुग्न लागेकाथियौं । प्रदीपले मलाई सोधे, ‘अंकल, यहाँदेखि नार्चेबजारसम्म म गाडी चलाऊँ ? हजुर आनन्दले बस्नुहोस् ।’

मलाई के भनूँ जस्तो भयो । गाडी जस्तो कुरा ! जो सुकैको हातमा कसरी दिनु ?

‘भैगो, म आफैं चलाइहाल्छु नि,’ मैले भनेँ ।

‘मलाई विश्वास गर्नुस् अंकल । हजुरको गाडी नयाँ मोडलको रहेछ । म हजुरलाई यसमा भएका केही नयाँ फिचरहरू प्रयोग गरेर देखाउँछु । गाडी र हामी सबैको सुरक्षा जिम्मा मेरो,’ प्रदीपले दोहोर्‍याए ।

मैले पनि नयाँ कुरा देख्न पाइने भएपछि हुन्छ भनेँ । गाडी रोकें । प्रदीप र मैले सीट साट्यौं ।

प्रदीप चालक सीटमा बसे । गाडीको स्टेयरिङमा भएका दुईतीनवटा बटन यताउता चलेको देखियो । ब्रेक, गियर र हेडलाइट चेक गरेको जस्तो खत्र्याकखुत्रुक आवाज सुनियो । गाडीको ड्यासबोर्डको डिस्प्ले स्क्रीनमा ग्लोवलम्याप र नेभिगेसन देखियो ।

‘अब भयो, ल है जाऊँ अब’, प्रदीप बोले ।

अचम्मको कुरा, हाम्रो गाडीको ३-४ मिटर जति अगाडि र पछाडि बाटोको बाँयालेन खाली देखिन थाल्यो । गाडी ५० किमी प्रति घण्टाको गतिमा एकनासले गुड्न थाल्यो । मलाई त आफ्नो गाडी मात्र सडकमा दौडिंदै गरेको जस्तो भान भयो । कुनैकुनै गाडीहरू पास हुँदा हाम्रो गाडीमा एक खालको साइरन जस्तो आवाज आउँथ्यो । साँघुरो बाटोमा गाडीहरू धेरै नजिकबाट पास हुँदाको संकेत रहेछ । चालक नभएको गाडी पहाडको बाटोमा सरर दौडियो । मलाई डरसँगै रमाइलो पनि लाग्यो ।

‘यस्तो कसरी सम्भव भयो ?’ नसोधी रहन नसकेकोले प्रश्न तेर्स्याएँ प्रदीपलाई ।

‘यो सबै प्रविधिले गर्दा सम्भव भएको हो । नयाँ मोडेलका गाडीहरूमा सेल्फ नेभिगेशनका लागि सुपर-इन्टरनेट र सफ्टवेयरहरू जडान गरिएको हुन्छ । हजुरको गाडीमा भएको सिस्टम मैले सुपरचिप्सको प्रयोग गरेर सक्रिय बनाएको छु,’ प्रदीप भन्दै गए, ‘अर्को लोकमा पुग्ने सबैले त्यहाँको ग्लोबल रजिष्ट्रेशन सिस्टममा दर्ता भएर व्यक्तिगत परिचय नम्बर लिनुपर्दछ । प्रत्येक व्यक्तिको दिमागमा स्मरण शक्ति जोगाइराख्न र त्यहाँका प्रविधिहरू प्रयोग गर्न सक्षम बनाउन यौटा सुपरचिप्स राखिन्छ । ती सुपरचिप्सहरूको क्षमता हामी सामान्य मानिसको दिमागभन्दा लाखौं गुणा बढी हुन्छ ।’

मैले कल्पना गरेँ, ‘कस्तो गजबको संसार होला त्यो !’

* * *

भकुण्डेबेसी कटिसकेपछि मैले प्रदीपका मामा-माइज्यूका बारेमा सोधें । पुरुष आवाजमा जवाफ आयो, ‘हामी अर्को लोकका लागि नयाँ छौं । हाम्रो कथा-व्यथा अर्कै छ हजुर ! फेरि कुनै बेला भेट भयो भने भनौंला ।’

प्रदीपको भनाइअनुसार, मामा-माइज्यूको मृत्यु गत असोजमा बाढीपहिरोमा नार्चेबजारमा घरसहित रोशी नदीले बगाएर भएको रहेछ । उहाँहरूको शवहरू नेपालथोक नजिक कुशेश्वर महादेव मन्दिरको पूर्वपट्टि सुनकोशी बगरमा भेटिएका रहेछन् । पहिचान खुल्न नसक्दा शवहरूको सुरक्षाका लागि उद्धारकर्ताहरूले धुलिखेल हस्पिटल पठाएका रहेछन् । त्यहाँ दुई महिना बेवारिसे रहेपछि नियमअनुसार विद्युतीय शव दाहगृहमा जलाइएको रहेछ । राम्रोसँग मृत्युसंस्कार नभएको हुँदा मामा-माइज्यूहरूको आत्मा यताउता भौंतारिइरहेको रहेछ । यो थाहा पाएर प्रदीप पोर्चुगलबाट आएका रहेछन् । मामा-माइज्यूहरूको घरगाउँमा आवश्यक संस्कार गरी अर्को लोकका लागि बाटो खोल्नुपर्ने रहेछ ।

सूचना प्रविधि विज्ञ प्रदीप आफ्नो मृत्युअघि पोर्चुगलमा बस्दारहेछन् । ५ वर्षअघि सडक दुर्घटनामा परेर अर्को लोक पुगेका रहेछन् । अर्को लोकमा पनि प्रविधि विभागको कामको जिम्मा पाएका रहेछन् । उनी हाम्रो संसारमा अहिले चलिरहेका भन्दा उत्कृष्ट उपकरण र सूचना प्रविधिहरू चलाउन जान्ने रहेछन् । उनका अनुसार, अर्को लोक अहिले हामी बाँचिरहेको संसारभन्दा ४०-५० वर्ष अगाडि जस्तो लाग्छ रे । नयाँ प्रविधिहरू र तिनको प्रयोगले त्यो उन्नति सम्भव भएको हो रे ।

* * *

नार्चेबजार पुग्नुभन्दा केहीवर प्रदीपले गाडी सडककिनारमा रोके । ‘हाम्रो ठाउँ आइपुग्यो, अंकल ! हामी यतै ओर्लन्छौं । हजुरसँग भेटेर खुशी लाग्यो, सहयोगका लागि आभारी छौं ।’ प्रदीपले एकसासमा भने । मामा-माईज्यूले पनि धन्यवाद भन्दै बिदा माग्नुभयो । गाडीका सबै ढोका आफैं खुले र बन्द भए ।

‘बिहान शुरूमा डर लागे पनि यात्राका क्रममा खुशी लाग्यो, धेरै रमाइला कुराकानी भए,’ भन्दै मैले पनि बिदा मागें । मैले पछिल्लो सीटमा रहेको सुन्तलाको झोला र केही चकलेटहरू उहाँहरूलाई दिन चाहेको कुरा भनें । प्रदीप खुशी हुँदै, “मलाई यता दिनुहोस्,” भने । सामान प्रदीपको आवाजतिर अघि बढाएँ । उनले प्लास्टिकको झोला समातेको आवाज आउनासाथ झोलासहित सबैकुरा अदृश्य भयो । प्रदीपले, ‘धन्यवाद, अंकल’ भने ।

फेरि प्रदीप बोले, ‘मैले गाडीमा भिमान (सिन्धुली) हुँदै चतराको सप्तकोशीको पुलसम्मको रूटमा स्वचालित चालक र सडक म्यापिङ गरेको छु । गाडी आफ्नै सुरमा दौडिन्छ । हजुर आनन्दले निदाए हुन्छ । सप्तकोशीपुल तर्ने बित्तिकै हजुरको गाडी फेरि म्यानुअल मोडमा आउनेछ । त्यसपछि चैं हजुर आफैंले चलाउनुपर्नेछ ।’ सानो स्वरमा प्रदीपको हाँसो सुनियो ।

मैले पनि, “हस्, म निदाउन चैं निदाउँदिनँ । बरु यो नयाँ अनुभवलाई नजिकबाट नियाल्दै जाउँला,’ भन्दै चालक सीटमा बसें ।

गाडी आफैं स्टार्ट भयो र किनारबाट सडकतर्फ मोडिंदै अघि बढ्नथाल्यो । प्रदीपले भने जस्तै मैले चालकको रूपमा कतै केही गर्न नपर्ने रहेछ । मलाई बानी हुन केही बेर लाग्यो । घुम्तीमा आफैं हर्न बज्थ्यो । उकालो ओह्रालोमा गाडीको गति आफैं नियन्त्रण हुन्थ्यो । सडकलेन अनुसार आफैं चल्दथ्यो । पत्याउनै गाह्रो, तर मेरो आँखाअगाडि यो सबै भइरहेको थियो । केही समयपछि मलाई पनि सबै कुरा स्वाभाविक जस्तो लाग्न थाल्यो । अपराह्न ३:४५ बजेतिर चतराको सप्तकोशीपुल पुगें । पुल तर्ने बित्तिकै गाडीमा खत्र्याकखुत्रुक आवाज आयो र गाडी बन्द भयो ।

मैले फेरि गाडीस्टार्ट गरें । त्यसपछि म्यानुअल गियरमा चलाउँदै करीब ६ बजे बेलुका धुलाबारी घरमा पुगें ।