
‘उ त्यहाँ चर्दैछ ।’
‘बिस्तारै, बिस्तारै है साथीहरू । मानिसको छाया मात्र देखे पनि भाग्छ । यसको वेग वायुपंखी घोडाको जस्तै हुन्छ है ।’
‘ए कहाँ जालास् मछली, मेरै ढडिया ! यसको त एक औंस विनाकै एक लाख नाघ्छ ।’
‘ल ल बिस्तारै वोल । ’ काने खुसी गर्दै ‘फेरी फरेष्टरले थाहा पायो भने त बाउकै बिहे देखिन्छ नि ।’
‘बाउको हैन छोराकै बिहे खालास् । फरेष्टरलाई कसरी मिलाउनु पर्छ त्यो त मैले जान्या छु । यो हातमा जादु छ, जादु ।’
‘ल जादुगर देखा न त तेरो जादु ।’
‘निशाना नचुकोस् है यार, नत्र त चोक्टा खान गएकी बुढी झोलमा प¥या जस्तो होला ।’
‘जाडोमा खाने नै झोल त हो नि । झोल पदार्थ अर्थात् सोमरस !’
‘ड्याम ! ड्याम….! ’
‘ल मर्यो, मर्यो ।’
बिस्तारै अघि बढ्छन्…….
(यसरी एउटा निर्दोष कस्तुरी मारिन्छ)
८ ८ ८ ८
‘ए बाजे कता जान लाग्नुभयो ?’ चुरोट तान्दै सेतेले सोध्यो ।
‘ति दवी मन्दिरमा जान हिंडेको ।’ रामनाथले भने ।
‘बोको पनि डोर्यानु भएको छ त ?’
‘हो नि सेते, भाकल थियो । भाकल पूरा भयो ।’
‘कस्तो भाकल थियो बाजे ?’
‘नातिको छोरा होस भनेर मन्दिरमा गई प्रार्थना गरेका थियौं । त्यो अस्ति पूरा भयो । यसैले बोकाको बली दिन जान लाग्या ।’
‘ल, ल बाजे पनाति भएकोमा बधाई छ ।’
‘दिउँसो तँ पनि आइज न सेते । खाजा, साजा हाम्रैमा खालास् ।’
‘हुन्छ नि बाजे ।’
‘ल हिंड मोरो, अल्छी गर्दो रैछ ।’ बोकालाई घिस्साउँदै बाजेले हतारो व्यक्त गरे ।
‘ल नाति पछाडिबाट धपा । काल आएर हो कि के हो । यो बोकाले हिँड्न अल्छी ग¥यो ।’
मन्दिरमा लगेर बली दिन्छन् । रगत मूर्तिमा चढाएर उनी नातिसँगै टाउको र गिँड बोकेर फर्कन्छन् ।
ईश्वरप्रति आस्था र विश्वास हुनु स्वाभाविक हो । मन्दिरमा पूजा प्रार्थना गर्नु आवश्यक पनि छ । तर मेडिकल साइन्सका अनुसार मानिसका छोरा वा छोरी जन्मने कुरा ‘क्रोमोजम’ ले निर्धारण गर्छ । पुरुषको शरीरमा एक्स र वाई र क्रोमोजम हुन्छ । महिलाको शरीरमा एक्स मात्र क्रोमोजम हुन्छ । पुरुषको शरीरको वाई अथवा एक्स क्रोमोजन जुन बढी सक्रिय हुन्छ, सोही अनुसार नै छोरा अथवा छोरीको जन्म हुन्छ । तर विडम्बना कसैको खुशी अथवा सुखका लागि निर्दोष पशुको बली चढ्छ ।
८ ८ ८ ८
चार, पाँच जना मानिसहरू झाडीमा लुकिराखेका देखिन्छन् । यस्तो लाग्छ, उनीहरू कुनै निशाना साँध्दैछन् । अर्कोतर्फ गैंडा आइरहेको देखिन्छ ।
एउटाले भन्यो, ‘लु हेर, यतै आउँदैछ ।’
दोस्रो, ‘बारीमा हामीले नाङ्गो तार छोडेका छौं, नजीकै कलकलाउँदा हरियो घाँस पनि छ । कसो पासोमा नपार्ला ।’
तेस्रो, ‘करेन्ट प्रवाहित गर्दिनु पर्छ । अनि यसले पाइन देख्छ ।’
चौथो, ‘ऊ तारतिरै गइराखेको छ । यसको खाग लिएर बुर्कुसी मार्नुपर्छ ।’
पहिलो, सुटुक्क ‘ल ल घाँस भएतिरै जाँदैछ । आज यसको राम नाम सत्य हुने भयो ।’
गैंडा घाँस खान भनेर जान्छ । यसबीच नाङ्गो तारमा करेन्टको झट्का लागेर त्यो काम्दै ढल्छ । मरेको गैंडा देखेपछि गाउँलेहरूले प्रहरीलाई खबर गर्छन् । तस्करहरू खाग लिएर कुलेलम ठोकिसकेका हुन्छन् ।
प्रहरीले प्रारम्भिक अनुमानमा गैंडालाई करेन्ट लाएर मारेको निष्कर्ष निकाल्छन् । लगत्तै खाग निकालेको पाएपछि यो पक्कै तस्करहरूको काम हो भन्ने थाहा हुन्छ । प्रहरीले खोजीकार्य गर्छन् । अन्ततः तस्करहरू प्रहरीको नियन्त्रणमा पर्छन् ।
८ ८ ८ ८
‘उ त्यहाँ गुँड, उ ढुकुर…’
साना साना बचेरा छाडेर माउ भुर्र उड्छ । उसलाई डर छ मान्छे भन्ने प्राणीले आफूलाई मार्छ कि भन्ने । चिन्ता पनि त्यतिकै छ आफ्ना लालावालाहरूलाई कसैले छिन्छ कि भन्ने । डर, चिन्ता भन्दा ठूलो हुँदो रहेछ । यसैले त उ उडेको छ । उसलाई एउटा मान्छेरूपी व्याधाले गुलेली हिर्काउँछ । उ पुर्लुक्क ढल्छ ।
धिक्कार छ मानव ! आधा पाउ मासुको लोभमा तिमीले एउटा निर्दोष पन्छीको हत्या गर्यौ । अब यिनका लालावाला अनाथ र टुहुरा भएका छन् । कस्ले दिन्छ यिनलाई आहारा ? तिमीले पाप माथि पाप खप्टिएका छौं । एक त तिमीले अनाहकमा एउटा प्राणीलाई मार्यौ किनभने त्यसले तिमीलाई कुनै हानी नोक्सानी पुर्याएको थिएन । अर्कोतर्फ ती बचेरा अनाथ र टुहुरा बनेका छन् । अब यी पनि भोक भोकै मर्नेछन् । वंश विनाशको पाप पनि तिमीले नै व्यहोर्ने छौ ।
आज मानिसका कारण लाखौं, करोडौं पशुपन्छी मारिएका छन् । तिनका गोठ उजाड छ । बालबच्चाको बिचल्ली छ । यसरी निर्दोष हत्या गरिएका विश्वका सम्पूर्ण प्राणीमा श्रद्धा सुमन !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
