अब भने गम्भीर, भव्य र गरिमामय हाकिमसाहेब जुरुक्क उठेर त्यस कर्मचारीनेर आए र एक झापट गालामा ठोकेर भन्न थाले, “देख्यौ, एउटा हातले ताली कसरी बज्दो रहेछ !”

—–

एउटा हातले बज्ने ताली

 

एकादेशमा होइन, हाम्रै देशमा र एकासमयमा होइन, आजभोलि नै एक जना हाकिम साहेब थिए । निकै सोर्सफोर्स भएका, लामो लहरो लिएका, भव्य र गरिमामय ।

तर, उनका मातहत कर्मचारीहरू भने साह्रै दुःखी थिए । अफिसमा भएको जति पसिनाको कमाइ उनी एक्लै पचाइदिन्थे । कानूनको नजरमा भ्रष्टाचारी बन्नुपर्थ्यो, तल्ला कर्मचारीहरूले । जनताको बीचमा पनि उनीहरू नै बदनाम । सबै भन्थे, फलानो अफिसका कर्मचारीहरू साह्रै घुस्याहा छन् । यस्तो प्रचारले त केही नाप्ने थिएन । तर, यो अन्याय, चोर अन्याय कसरी सहनु ? एक-दुइटा चाकडीबाजले नै केही सुँघ्न पाउँथ्यो, त्यै पनि पूरा बैठके र हुक्के बनेपछि मात्र ।

एकदिन सबै कर्मचारीको सल्लाह भयो र बिरालाको घाँटीमा घण्टी बाँध्न तीन जनाको प्रतिनिधिमण्डल पठाइने ठहर गरियो । तीनै जना हाकिमसाहेबको चेम्बरनेर पुग्दा उनीहरूले थाहा पाए, श्रीमान् व्यस्त हुनुहुन्छ ।

अलिकति ढोका खोलेर हेर्दा श्रीमान् साँच्ची नै व्यस्त देखिनुभयो अर्थात् टाइपिस्ट केटीलाई आफ्नो घरेलु चिठी डिक्टेट गराउँदै हुनुहुँदो रहेछ । यो उहाँको आफ्नै विशेषता हो ।

“…तिमीलाई त सधैं नर्बस ब्रेकडाउन भइराख्छ, औषधि समयसमयमा खाने गर्नु । लेख्यौ ? अँ, अगाडि लेख, मेरो बाइस जोर सुटमध्ये गेवरडिनको दुइटा सुट हरि आउँदा पठाइदिनू । तिम्रो छैठौं हार मैले बनाउन दिइसकेको छु.. औंठीका लागि असल खालको हीरा भेट्टाइराखेको छैन । अहिलेलाई पाँच जोर सारी पठाएको छु । अरू सबै बेस छ ।”

टाइपिस्ट मक्ख परेकी थिई र लेख्तालेख्तै आफूमै हराउन थालेकी थिई । एक दिन एउटा खरदारले यही टाइपिस्टसँग ठट्टा गर्न थालेको देखेर झन्डै हाकिमसाहेबको झापट खाएको । यस विषयमा पनि हाकिम साहेब अत्यन्त कठोर र सदाचारी थिए ।

टाइपिस्ट बाहिर निस्केपछि उनीहरू भित्र पसे ।

“नमस्कार हजुर !”

“नमस्कार !”

अनि दुखेसो, गुनासो पोखिन थालियो । राणाकालदेखि अहिलेसम्म भ्रष्टाचारको परम्परामा के-कति उत्थान-पतन भयो, के-कस्ता रूलनियमहरू बने र अहिले पनि ‘पसिनाको कमाइ’को बाँडफाँड कसरी भइराख्या छ इत्यादि सबै कुरा यथातथ्य र सत्यसत्य हाकिमसाहेबलाई बोध गराइयो । तर, हाकिमसाहेब गम्भीर नै रहे ।

यो मौनले टाइपिस्ट केटीकै टोलमा बस्ने प्रतिनिधिमण्डलको एउटा व्यक्तिलाई झोक चल्यो र चेतावनी साथ भन्यो, “श्रीमान्, एउटा हातले ताली बज्दैन । बज्दै बज्दैन । बजाएरै हेर्नुहोस् !”

अब भने गम्भीर, भव्य र गरिमामय हाकिमसाहेब जुरुक्क उठेर त्यस कर्मचारीनेर आए र एक झापट गालामा ठोकेर भन्न थाले, “देख्यौ, एउटा हातले ताली कसरी बज्दो रहेछ !”

प्रतिनिधिमण्डल किंकर्तव्यविमूढ भयो ।

* * * *

२०४० सालको प्रेमालाप

 

बालाजु अथवा जु । एउटा फूलको झाङ । स्त्री र पुरुष । सन्ध्या ।

“तिम्रो श्रीमानलाई सक्तो मद्दत गरेको छु, डार्लिङ !”

“हजुरले केही गरे पनि, नगरे पनि मलाई त हजुरको असाध्यै माया लाग्छ ।”

 

“हो र ?”

“साँच्ची, नपत्याए यो छाती खोलेर देखाइदिऊँ ?”

“भो परेन, यहाँ म जस्ता अरू पनि डुल्दै छन् ।”

“आबुई, कति ठट्टा आएको !”

“तिमी कति राम्री छ्यौ डियर !”

“हो र ?”

“नपत्याए मेरो आँखामा हेर न !”

“हजुरको आँखाको अप्रेशन गराएको हो रे ?”

“हो, मेरो आँखामा हेर न !”

“हजुरकी श्रीमतीलाई देखेकी थिएँ, कति राम्री हुनुहुँदो रहेछ !”

“उसको पर-पुरूष पनि राम्रो छ !”

“हजुरभन्दा राम्रो छैन होला ।”

“छ, हेड-अफ द डिपार्टमेन्ट छ ऊ ।”

“म भोलिदेखि पाँच गतेसम्म अफिस आउँदिनँ ।”

“नआउनू तर मसित भेट्तिनौ ?”

“हजुरलाई कहाँ बिर्सन सक्थें र !”

“मेरो एउटा साथी छ.. !”

“होला, हजुर जस्तो छैन होला । अँ, मेरो एउटा भाइ छ, सानो, दरखास्त दिएको छ ।”

“होला तर बिहे भएको छैन होला ?”

“मलाई.. ल्याइदिन्छु भनेको ख्वै ?”

“तिम्रो कपाल कति राम्रो छ, रेशम जस्तो ।”

“मेरो भाइ… !”

“तिम्रो ओठ कति कलात्मक छ, गोलकाँक्री जस्तो गोला र राताराता ।”

“मेरो भाइ… !”

“मैले ढाल ल्याउन बिर्सेछु, तिमीले त गुलाफ सिउरेकी हौली ?”

“अलि बिस्तारो बोल्नुहोस् न, कसैले सुन्ला । याँ अरू पनि छन् ।”

“कसैले सुनेर के भो त ? हामी आफ्नो वीरता र सौन्दर्यप्रियताको चर्चा गर्दै छौं ।”

एकपटक ऊ ढाल बोक्ताबोक्तै पनि रणक्षेत्रमा नराम्रोसित धराशयी भएको थियो । हजारौं उच्चकोटीका नामीदामी तरबार भाँचेर बसेकी अप्सरा मैयाँसित उसका बाबुको पनि के लाग्थ्यो र ? आज त झन् ऊ निश्शस्त्र छ । ऊ खल्लो हुन्छ र प्रतिशोधपूर्ण व्यंग्यमा सोध्छ, “मेरी पर-स्त्री त तिमी नै हौ । मबाहेक त तिम्रो अर्को कोही पर-पुरूष छैन ?”

विशुद्ध इर्ष्या !

“…”

“अर्को कोही पर-पुरूष त छैन ?”

परपुरूषको अहम्‌को पौरष बोल्छ ।

“…”

पर-स्त्रीको गोपनियताको स्त्रीत्व मौन रहन्छ ।

“अब कहिले भेट्ने ?”

“मेरो भाइ… !”

“गोली मार साले भाइलाई… हिंड जाऊँ ।”

अब त्यहाँ गुलाफको फूलको झाङ एक्लै छ । दुवै दुईतिर एक्लाएक्लै छन् । अपरिचयको घुइँचो छ ।