
लाखौं मान्छेको भीड, अस्त व्यस्त सडक, छेउछाउमा असरल्ल छरिएका बेवारिसे बिजुलीका तार ! झिलिमिली बत्तीको चहकिलो उज्यालोभित्र ऊ अर्कै उज्यालोको खोजीमा छे । साँझ पर्नासाथ लुकीलुकी पर सडकमा खचाखच भरिएर तँछाडमछाड गर्दै क्षितिजलाई छुने गतिमा दौडिएका गाडी, कहिले सडक किनारामा हिंडेका सयौं मान्छेको भीडमा कसैलाई खोजिरहन्छे घरी मोबाइलमा, घरी बाटोतिर नजर पुर्याएर । मानौं, ऊ कसैको व्यग्र प्रतीक्षामा छे ।
यत्तिकैमा परबाट आवाज आयो, “सानु ! ए सानु ?… कलाकार र गेष्ट पनि आइसक्नु भयो । टेबल नम्बर १२ को गोष्टले तिमीलाई बोलाउनुभएको छ जाऊ ।”
आदेश सुन्नासाथ ऊ निरीह पशु जस्तै लाचार भएर गई ।
झट्ट हेर्दा चन्द्रमाको चमकभन्दा कहाँ कम कहाँ थिई र सानु ! उमेरमा त्यस्तै २७–२८ वर्षकी हुँदी हो । मेरी सानु !
अनि म ! आफ्नो बाध्यतालाई पोको पारेर मुगलान छिर्ने लाखौंको भीड भित्रकै एक म । आफ्नो घर परिवार बिर्सिएर सानुको पछि रोधीघर छिर्न थालेको थिएँ । टुप्पोमा हुनेलाई न हो डर हुने, झर्छु कि भनेर ! म आखिर भुइँको न परें ।
चर्को स्वरमा मञ्चमा दोहोरी बजिरह्यो । रातको १० बजेतिर खचाखच पाहुना – कोही खाइरहेका, कोही पिइरहेका, कोही उत्ताउलो दोहोरीमा रमाइरहेका, त्यो भीडबाट हराइसकिछे ‘सानु’ । कता गई । मेरो मनले खोजे पनि बाहिर आँट गर्न सकिनँ । न सोध्न सकें । न खोज्न नै ।
० ० ० ०
कसैसँग प्रेम गर्न ऊ सधैं आफूसँग हुनुपर्छ भन्ने छैन । एक पलमा कोही यति प्यारो भैदिन्छ नि, त्यो न त शब्दले बयान गर्न सकिन्छ न त विस्मृतिमा लुकाउन नै । उसको आभास मात्र पनि जिउने आधार बनिदिन्छ । माया गर्नु, मन पर्नु, राम्रो लाग्नु कहाँ एउटै हो र ? फेरि माया गरे जति सबैसँग सँगै हुन सकिंदैन यो त विज्ञानको श्वासत नियम हो ।
मेरो अनगिन्ती सपनालाई साकार पार्ने लक्ष्यका साथ खाडी मुलुक उड्ने दिन नजीकै आइसकेको थियो । किनमेलका लागि निस्केको थिएँ महाबौद्धतिर । साँझ सानु भेटिई ।
मैले अबेर नगरी भनें, “सानु ! तिमी यहाँ ?” म पनि तिनै थेत्तरो पुरुषको भीडमा पुगेर उनलाई तिमी भनेर बोलाएँ डराई डराई ।
ऊ बोल्न मानिन । फेरि बोलाएँ, ‘बोल न, म खाँदिन तिमीलाई ।’
‘किन र राज मामा ? अब मलाई नखेदाउने ?’ उसले एकै सासमा जवाफ दिई ।
उसको यो प्रतिप्रश्नले मलाई नमीठोसँग घोच्यो । आखिर उनले मलाई कसरी चिनिन् ? किन यसो भनिन् ?
मेरो अन्योलतालाई चिर्दै उसले भनी, “मामा म तपाईंलाई राम्ररी चिन्छु । तपाईं डाडाँघरे बाको कान्छा छोरा होइन ! म त्यही अछामे माइलीकी छोरी हुँ हउ जसलाई तपाईं र तपाईंको समाजले कलंक मानेर १२ वर्ष अगाडी फ्याँकेको थियो । त्यसपछि म यसरी नै बाँचेकी छु ।” उनले भन्दै गइन्, “मामा मेरो केही गल्ती थिएन । त्यत्तिकै तपाईंको समाजिक मूल्य मान्यताको गणितको शिकार बनें । बाँकी के छ र भन्नलाई ! रित्तो जिन्दगी ! गोरेटोमा भेटिएका अनगिन्ती यात्रीको एकछिनको सहयात्री बनेर पटकपटक बीचैबाट बाटो मोडेकी छु । मामा ! छोरी मान्छेको जीवनको चौतारीमा आएको यात्री ससम्मान बसिदियो भने त्यहीँ स्वर्ग हुँदो रहेछ । बिना गणित थकाइ मार्न आएका यात्रीले आफैं चौबाटोमा गुणन गरेर भ्रूण, दल, जरा, बोट, कोपिला, फूल जताजता भेटिए जतिका समाजरूपी बगैंचामा दुर्गन्धित बनाई छाड्दा रहेछन् । उसले फेरेको काँचुलीमा नारीको भविष्य कोरिंदो रहेछ ।”
म समाजशास्त्रमा स्नातकोत्तर गरेर काम नपाएर विदेश हिंडेको मान्छे । ऊ ९ कक्षा पढ्दापढ्दा समाजको बहिष्कारमा परेकी । आज उसको तर्क गराई सुन्दा अचम्म परें । कति उसका कुरा बुझ्न सम्म नि सकिनँ । मेरो द्विविधा चिर्दै उत्साहित हुँदै भनी, “अबुई ! साँच्चै मामा हामी सानो छँदा भुइँसी चराउने गरेको विष्मुरेमा अहिले बुकी फुल्छ कि फुल्दैन होला ! तीनजुरेमा अब त तालीगुराँस नि फुल्यो होला ! पाँचऔंले, सुगन्धा, चुथ्रो सबै फुल्यो होला तर मेरो जीवन कोपिलामा नै ओइल्यायो हउ मामा ।” यति भनेर ऊ एउटा कार्ड हातमा थमाएर सरासर गई ।
दर्जनौं प्रश्नको श्रृंखलामा यसै छाडेर ऊ गई । मलाई उसको भोगाइको विज्ञान बुझ्न मन थियो । तर सकिनँ । भोलि राती त यो शहर छाडेर जानुछ । भारी मन बास स्थानतर्फ फर्किएँ । घरमा अनु, छोरो र आमासँग कुरा गरेँ । मन शान्त भएन । अझ आन्दोलित भयो । सानुले दिएको कार्ड हेरें त्यसको पछाडिपट्टि एउटा किरिङमिरिङ अक्षरमा लेखिएको ९८…. मा कल गरें ।
उसले ‘को’, ‘कहाँ’ नसोधी भनिदिई, “एक रातको तीन हजार । कहाँ जाने भन ।”
मैले भनें, “सिनामंगल ।”
एकैछिनमा ऊ आई । शुरूमै उसले मागेको पैसा हातमा थमाइदिएँ ।
अनि सोधें, “भन सानु, त्यतिवेला के भएको थियो ?”
उसले सहजै नकार्दै भनी, “तपाईं आफ्नो मूल्यको हिसाब उठाउनू ।”
मैले जिद्धि गरेपछि उसले भनी, “तपाईं अब बुझेर के गर्नुहुन्छ ?”
“तिम्रो घाउमा मलम लगाउँछु ।”
उसले ठाडो अस्वीकृति जनाउँदै भनी, “मेरो घाउमा मलम लगाउन तपाईं र तपाईं पुरुषको बसमा छैन, बसमा भै दिएको भए निर्मला, सुनिताहरूले पहिल्यै न्याय पाइसक्थे । म निर्मला भइन । तर पीडा उस्तै भोगें । उनीहरूलाई मारिदिए तर म ज्युँदै छु । मर्न सकिनँ किनकि मसँग बलात्कार बीज हुर्की सकेको थियो । उसैका लागि जिउँदो छु ।’
उसको कुरा सुनेर म छाँगाबाट झरें । कसरी यस्तो भयो सोध्न मन थियो तर म भित्रको मानवताले उसको घाउ आलो बनाएर फेरि घाइते बनाउन उचित ठानेन र कुरा मोडिदिएँ । प्रसङ्ग बदल्दै सोधें, “आजभोलि दिनचर्या कसरी बिताउँदै छौ त ?”
उसले भनिरही, “मलाई त्यहाँबाट छिः छिः र दुरदुर गर्दै खेदाएपछि काठमाडौं आएँ । अनेक हण्डर र ठक्करका बाबजूद छोरालाई जन्म दिएको छु । अहिले होस्टलमा बस्छ । सँगै राख्ने मन त छ नि तर कहाँ त्यस्तो सम्भव हुँदो रहेछ र ! यो आफ्नालाई मात्र अवसर दिने मुलुकमा तपाईं पढे-लेखेको मान्छे त अब केही गर्न सक्दिन भनेर विदेशिंदै हुनुहुन्छ । म त झन पढेकी नि छैन । आफ्ना भन्ने यो संसारमा नै कोही छैन । केही व्यवसाय गरेर जीवन चलाउन त भन्दा सबैतिर तिमी पुरुषहरूको कानूनले संरक्षक अनिवार्य खोज्ने बनाएको छ । आफूसँग भएको भनेको यही बैंस थियो त्यसैलाई बेचेर गुजारा चलाइरहेको छु । छोराको बाउ यही छ । त्यसलाई तपाईंले नि चिन्नुहुन्छ हऊ मामा । तर म उसलाई तेरो छोरा हो भनेर चिनाउन चाहँदिन । उसले आफ्नो घरमा केही नभएको जस्तो गरेर जबरजस्ती मेरो खुशीको चौतारीमा बैंस पोख्यो पटक पटक । कहिले घरमा, कहिले स्कूलमा, पाए जति सबै ठाउँमा । भरिएपछि तिरस्कार गरेर फ्याँकिदियो । तिमी पुरुषहरूले निर्माण गरेको यो समाजमा म आफूलाई देखाएर फेरि आफैंलाई किन दुखाउनु । यो भन्दा त गुमनाम नै बेस । अचेल त त्यै गुमनाम बस्नु नै उचित लाग्न थालेको छ । बच्चालाई भविष्य दिऊँ भनेर यो दलदलमा फसें । अब त केही अनौठो लाग्दैन ।
उनलाई सोध्नु थियो, तिम्रो बच्चाको बाउ को हो ? तर मेरो न्यायालयमा उनलाई उभ्याउन चाहिनँ । उनी त गइन् अनेक सवाल उठाएर मलाई नै तिखो व्यंग्य गर्दै ।
म विवाहित तर मेरी अर्की प्रेमिका पनि छिन् । उनको श्रीमान् विदेशमा छ । उनको जवाफले मलाई पनि झापड हाने जस्तै गरेर दुख्यो । मनमुटु हल्लियो । मेरो कारण मेरी प्रेमिकाको अस्तित्वमा पनि सानुको जस्तै प्रश्न चिह्न उठ्यो भने ? म झस्कन पुगें । घोत्लिएर सोच्न थालें, हामीले सिकेको लोकतान्त्रिक समाज यही हो ? कसैलाई बिना कारण कोठीमा पुर्याउने । कसैलाई अपराधबाट उन्मुक्ति दिंदै चिल्लो गाडी चढाउने ? हामी कता गइरहेका छौं वा समाजलाई हामी कतातिर लाँदै छौं । के परापूर्व कालमा पनि विवाहित जोडीका फरक–फरक प्रेमीप्रेमिका हुन्थे ? कि अतिआवश्यकताका कारण जिम्मेवारीले सामाजिक मूल्यमान्यतामा नै विनिर्माणवादको उदय गरायो । कि हाम्रो पूर्वीय संस्कृति, सभ्यतामा पनि विनिर्माणवाद हाबी भै सकेको हो ? घोत्लिएर बसिरहें ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

