“आमा भोलि हाउडी होइन ? म हाउडीमा जान पाउँछु नि ?” भात खाँदै डुकेले शङ्कालु आँखाले आमालाई हेर्दै सोध्यो ।

“जालास् ! अहिले चैं छिटो खा न !” भन्दै रणमायाले बटुकामा रहेको मही तन्न तानी । अनि भातको अन्तिम गाँस मुखमा हाल्दै गरेका छोरालाई एक पल्ट बल्ल देख्न पाए जसरी हेरी !

पुसको रात ! बढ्दो जाडोले कठ्याङ्ग्राइँदै थियो । ओच्छ्यान तानतुन मिलाउँदै रणमायाले छोरालाई बोलाई, “बाबु लु सुत्न आइज । भोलि छिटो उठ्नुपर्छ ।”

“आमा भोलि त मलाइ साँच्चै हाउडीमा लैजान्छौ नि ?” चित्त नबुझेर फेरि डुकेले आमालाई सोध्छ !

“लैजाउँला ! तँ पनि हिंडिस् भने घर चैं कसले हेर्छ अब ?” रणमायाले भनिनसक्दै डुकेले जवाफ फर्कायो, “नाइँ म त हाउडीमा जान्छु जान्छु ! गएको पालि पनि जान पाइनँ ! तिमी धान काट्नु म सिला खोज्छु !” डुकेले आफ्नो रहर र जिद एकै चोटि पोखेर धुस्साले मुख छोप्दै सुत्न खोज्यो ।

“आमा हाउडीमा त अघाउँजी खान दिन्छन् नि ?” डुकेले धुसाबाट मुख बाहिर निकाल्दै सोध्यो ।

“अँ अँ दिन्छन् ! खुरुक्क सुत् अब ।” भन्दै रणमायाले बत्ती निभाई । आमाको मुखबाट यत्ति सुनेपछि ऊ फुरुक्क भयो ! ढुक्क पर्‍यो । ओच्छ्यानमा गुटमुटियो ।… रात निकै बितेपछि ऊ झसङ्ग ब्यूँझियो । डाँडा घरतिर कुकुर भुक्दै गरेको उसले सुन्यो । उसलाई डर लाग्यो । आमा निद्रामै भएको ठहर गर्‍यो । गबडु दोभानतिर एक हूल स्याल एकसाथ कराए ! रात निकै छिपे जस्तो लाग्यो उसलाई । डराए जसरी च्यापेर ख्याक्क एक पल्ट खोक्यो ! आमापट्टि फर्केर सुत्न खोज्यो । कहिले उज्यालो हुन्छ र हाउडीमा जान पाइन्छ भन्ने कुरा मात्र अटाएको छ उसको मनमा अहिले ।

“बाबा त अझ निदाएको छैनस् क्यो ? सुत भोलि छिटो उठ्नुपर्छ ।”

“हुन्छ,”आमालाई यति नै भनेर ऊ निदाउन बल गर्‍यो ।

फेरि मनमनै सोच्न थाल्यो – आहा ! भोलि हाउडीमा आमासँग जाने, थपीथपी खाना खाने, दिनभरि खेतमा खेल्ने, सिला खोज्ने, कति फुर्ती हुन्छ !

यस्तै कल्पनाका टुक्राटुक्रा सपना आँखा अघिल्तिर लुकामारी खेल्दा खेल्दै डुके भुसुक्क निदायो!

* * * *

मंसीर एघार गते भइसकेछ । छोटा दिन ! न वेला ढलेको थाहा हुन्छ न कामको मेलो पाइन्छ । घाम पनि सुइँसुइँती कतै नहेरी एकोहोरो बाटो छोट्याउन कुदे जस्तो लाग्छ । यता फेरि ठिही अझ बलियो बन्दै पुसको ढोका उघार्ने ताउरमाउरमा कतै पछि परेको देखिंदैन थियो ! हिजोआज गाउँमा भिन्दै रौनक छाएको छ । खेती कमनीको वेला, कसैलाई फुर्सद छैन । कसरी वर्ष दिनको फसल घर ल्याउने हो ? हुनेलाई त्यसैको फिटफिटी छ । हो पनि वर्ष दिनको कमाइ । खेतीको धान खलोमा आई नपुगुन्जेल सबैलाई चिन्ता हुनु स्वाभाविक हो । खेतमा पाकेको सुनौलो लहलह धानका बाला काटेदेखि ढुकुटीमा थान्को नलगाएसम्म खेती किसानी गर्नेको मनमस्तिष्कले कहाँ शान्ति पाउँछ ?

यतिखेर जता हेर्‍यो खेतमा धान काट्ने धमाधम छ । बिहान हातमा हँसिया लिएर निस्केका खेताला बेलुका घर फर्कंदा कोही जाडोले च्यादरभित्र हात गुटमुटाएर फर्कंदै हुन्छन् । कोही फेरि घाँसको भारी टाउकोमा बोकेर फर्केका हुन्छन् । यसरी मानिसको कर्म व्यस्तताको दृश्यले गाउँको परिवेशलाई थप रमाइलो पारेको हुन्छ । बाटाघाटामा जताततै कुकुर ब्याएर टाटे पांग्रे, काला, सेता, सुनौला माया लाग्दा छाउराहरू आपसमा जिस्किंदै माउको पछिपछि भ्याई नभ्याई परे झैं यताउता कुदेको दृश्यले भिन्नै रमाइलो थपेको देखिन्छ ! धानका मूठा सकेसम्म बोझाएर घरखेत ओहोरदोहोर गर्ने गोरु गाडाको ताँतो हेर्दा यस्तो भान हुन्छ गाउँमा धान ओसार्ने प्रतियोगिता चल्दै छ ! झन् साने महाजनको त आँखाले भ्याएसम्म देखिएको बाम दह सबै उनकै खेत हो भने हुन्छ ! खेती गरेअनुसार वेलामा थान्को लाउन महाजनलाई भ्याई नभ्याई परेको हुन्छ । उनको धान ओसार्न गोरु गाडाले मात्र नभ्याएर राँगा गाडा पनि बराबर जुटेका हुन्छन् । यसै सुनबारी गाउँलाई धान खेतीका निम्ति उर्वरभूमि भनी यो अञ्चलले मानेको छ ।

हो पनि, जस्तै प्रतिकूल मौसम नहोस् किन यहाँ कमबेस भए पनि खेती भएकै हुन्छ । यहाँ स्याले डाँडा बाम खाबडखुबड सबैतिर केही न केही खेती उब्जनी भएकै देखिन्छ । मान्छेको भनाइ छ – कथङ्गकाल सुनबारीमा धान खेती भएन भने अन्त कतै हुँदैन ! यहाँका मानिस यो कुरा बडा विश्वास र गर्वले भन्ने गर्छन् । शायद राख्नेले यस्तै कुरा सोचविचार गरेर यो गाउँको नाम सुनबारी राखेको हुनुपर्छ !

खेती नहुनेलाई पनि सुनबारी गाउँमा चल्न उति कठिन छैन । तर गरीबगुरुवा नभएका होइनन् ! हुनेखाने अथवा महाजन भनिने दुई एक गरीब प्रति संवेदनशील थिए भने कतिपय गरीबमारा काम गरेर चित्त बुझाउने पनि नभ्याएका होइनन् ! गाउँमा गरीबको गन्ती हुँदा, ‍नहुने तन्नम सम्झिन मन लाग्दा, पहिलो पङ्क्तिमा पर्ने मध्ये एक रणमायाको घर थियो । सम्पत्तिका नाममा दुई-तीन वोटा अधियाँका बाख्रापाठा । रणमायाको लोग्ने बर्मे साइँलो धर्मलाल महाजनको गोठमा काम गर्थ्यो । तीन वर्षअघि भएको ढकाल टापुको नाउँ दुर्घटनामा मृत्यु हुन्छ ।

त्यति नै वेला महाजनले एउटा चार बेते गाई, दुई मोन धान, एक सय रुपियाँ रणमायाको हातमा थमाउँदै भनेका थिए, “हेर रणमाया जन्म, मृत्यु र विवाहको कुरा कसैले भन्न सक्दैन ! तेरो भाग्य नै यस्तै रहेछ । मैले सक्ने दिएँ । त्यो गाईको दूध तैं खानू । गाई मैले तँलाई दिएँ । तर बाछाबाछी चैं मलाई दिनुपर्छ । बुझिस्, दिनस् भने फेरि मसँग हात नपसार्नू ।”

यति भनेर धर्मलाल महाजन बाटो लागेका थिए । रणमाया बोलिन ! टुलुटुलु आफ्ना दुइटा बालखा छोराछोरीको मुखमा हेरिरही । यति नै स्याहारसुसार गरेर उसको आज दुई जनाको जहान चलेको छ । चलाउनु परेको छ । छ न त छोरी एउटी पनि थिई । ६ वर्ष पुगेकी छोरी टुकी गत वर्ष जेठमा अचानक एकै दिनको उँधोउँभोले आकस्मिक मृत्युलाई अँगाली । दैवको निष्ठुर आँखा परे कसले टार्न सक्छ ! टुकीको मृत्युको निमित्त यति नै भयो ! साथीहरूसँग काँचो आँप उसले बेसरी साँदेर खाएकी थिई रे ! गाउँकाले बस् त्यसैले हो भन्ने अड्कल लगाए ! अहिले सन्तानको नाममा एक मात्र छोरो ! डुकनाथ दाहाल । गाउँकाले डुके भनेर चिन्छन्, बोलाउने गर्छन् ।

भोलि त हो हाउडीको दिन ! साने महाजनको धान काट्ने । कति दिनदेखि यो खबरले गाउँ हल्लाएको छ । कतिले यो दिन औंला भाँचेर पर्खेका छन् – भन्छन् ! गए वर्ष हाउडीमा भाग लिने दुई कोरी खेताला भएका थिए । यस पालि अझ बढी हुने गाउँमा हल्ला छ । महाजनको खेत साह्रै रमिता लाग्दो हुन्छ । हो यही हाउडीको कुरा रणमायाको घरमा पनि हुँदै छ । गत वर्ष हाउडीकै दिन प्राथमिक स्कूलको द्वितीय कक्षाको हस्तनिर्मित सामग्री दिने दिन पर्दियो । डुके हाउडीमा होइन, स्कूल जानु पर्‍यो । खुरुन्दार गरेर पनि आमासँग हाउडीमा जान पाएन ! नौ-दश वर्षको केटाकेटी मन ! किन मान्थ्यो ! तर आमाले अलिकति चिउरा र गुँड मिठाई उसलाई पोको पारेर ल्याइदिएको सम्झना छ । तर जान नपाएको दुःख उसको मनमा अझ गाडिएकै छ । बिर्सिन सकेन !

यस पालि स्कूल बिदाको दिन पर्‍यो । यसैले आमासँग हाउडीमा जाने निधो उसको पहिल्यै पक्का भइसकको छ । ढुक्कमा छ । कति खेर रात पर्छ, कतिखेर उज्यालो हुन्छ, डुकेको ध्यान, चित्त त्यही गुटुमुटु परेको छ । वेलावेला फुर्तीले उसको आङ जिरिङ्ग हुन्छ ! पुलकित हुन्छ ! अनि आमालाई  सोध्छ, “हामी कति खेर जाने, कति मान्छे हुन्छन्, खान के के पाइन्छ ?” यस्तै कुराले अलमलिन्छ ऊ !

साने महाजनको हाउडी मेला नै हुन्छ । प्रत्येक वर्ष हुन्छ । गए वर्ष दही चिउरा गुड मिठाई, जसले जति खान्छ, खुवाए ! सबैले खाए । महाजनको आफ्नै भैंसी गोठको दही, कर्दले काट्ने जस्तो बाक्लो ! मज्जाले जमेर चक्की परेको ! भने जसरी पेटभरि खान पाइने ! सबैलाई थाह छ । सधैं उनको मेलामा मान्छेको ताँतो हुन्छ ।….  मानिस एक लाइन भएर धान काटेको दृश्य परबाट झलक्क आँखामा पर्दा हाँसको बथान चरे जस्तो लाग्दो थियो । धान हँसियाले एक साथ काटेको र धानका गाज मूठीले समाउँदा हावामा धानका बालाले मृदु झङ्कार सृष्टि गर्दा परिवेश नै सङ्गीतमय बनाउँछ । यस पालि त झन् साने महाजनले थपमा सेलरोटी खुवाउन भनेर पीठो कुटेको देख्ने, खबर फैलाउने गाउँमा कम्ता थिएनन् ! धान काट्ने, मज्जा खाने, जमन गर्ने यी कुरामा लगभग सबैको सोच मिल्दोजुल्दो थियो । शायद यसैले होला गोठाला तथा सबै जना साने महाजनको हाउडीमा खनिन्थे !

साँझ झमक्क पर्‍यो । रणमायाले भोलिको घरको काम अग्रिम मिलाई । महाजनको हाउडीमा जानुपर्छ । वैलैमा बाख्रापाठा खोरमा थुनी । घाँस पानीको परिबन्ध मिलाई । भोलि त हो हाउडी ! दिउँसोको रहलपहल भात खतेवडनी आमैको घरबाट ल्याएको महीसँग डुकेलाई जसोतसो खुवाई । डुकेले हाउडीमा जाने खुशीमा खाएर अघाएको भोकाएको केही थाह पाएन ! आफू पनि त्यही महीसँग भुटेको मकै खाएर रणमायाले रातको भोक टार्ने काम गरी ।

खत्र्याङ्ग थाल झरे जस्तो डुकेले सुन्यो । आँखा उघार्यो । अझ राम्रो उज्यालो नभएको देख्यो । तर आमाले ठसठस कन्दै गरे जस्तो सुन्यो । ख्वाकख्वाक खोक्दै आमाले “अय्या आमा ! मरें,” भनेको सुन्यो ।

डुके आतेसले जुरुक्क ओच्छानबाट उठ्दै सोध्यो, “के भयो आमा ? सन्च भएन ?”

“खै के भो हातखुट्टा कटकट खाँदै छ । जीउ पनि तातो छ ! यसो तातो पानी तताएर खाऊँ भनेको !”

डुकेले आमाको निधार छाम्दै भन्यो, “तातो छ त आमा ! ज्वरो आएछ !”

उसले आमाको हातको दिउरे समाएर आगो फुक्दै पानी तताउन थाल्यो ! छेउमा रणमाया खास्टो ओढेर पिरामा टुसुक्क बसेकी छ । ऊ लगलग काम्दै थिई । “अय्या मरें आमा ! जिब्रो पनि सुकेछ ! छिटो गर्न बाबा !” भन्दै मुन्टो उछालेर छोरापट्टि हेरी । बोटुकामा दिउरेको तातो पानी खनाउँदै डुकेले आमालाई पुलुक्क हेर्‍यो । कौतूहल नथामिएर यत्ति चैं उसका मुखबाट निस्कियो, “आमा ! हामी हाउडीमा जाने नि ?”

(हाउडी – पारिश्रमिक नलिकन काम गरेको ।)

खड्ग बहादुर कौशिक। तेजपुर, असम भारत