रोमन वैज्ञानिकहरूले यो घोषणा गरे, “स्वर्ण र नर्क अस्तित्वमा छैन ।”

तर वरिष्ठ प्रहरी निरीक्षक चतुरमान यस धारणासँग सहमत भएनन् । उनले भने, “वैज्ञानिकहरू सत्य लुकाउँछन् ।” “मैले यसको रहस्य र चमत्कार देखाएरै छाड्नेछु,” उनले उद्घोष गरे ।

प्रहरी फोर्सभित्र चतुरमान बौद्धिक शैली र तार्किक क्षमताका लागि प्रख्यात थिए । उनले विज्ञानलाई हरेक मुद्दामा चुनौती दिन्थे । अपराध अनुसन्धानमा उनी आफ्नो अनौठो शैलीका लागि परिचित थिए ।

“प्रमाण होस् या नहोस्, कसैलाई सजाय दिनु न्यायिक व्यवस्थाको आधार हो,” उनी गर्वसाथ भन्थे ।

एक समयको कुरा हो, कुटीमा तपस्या गरिरहेका ऋषि बाबाको हत्या भयो । कारण- उनी धेरै कामुक थिए । बाबाको कुटीमा विभिन्न ठाउँबाट नरनारीहरू ज्ञान लिन जान्थे । प्रायजसो महिलाहरू बाबासँग धेरै मोहित हुन्थे । ऋषि बाबाको कुटीबाट फर्केपछि धेरैजसोको घर-परिवारमा अशान्ति र झाइँझगडा शुरू हुन्थ्यो । यो खालको वातावरणले धेरै गाउँलेहरूलाई सशङ्कित बनाएको थियो । एकदिन गाउँलेहरूले सल्लाह गरे कि, त्यो समस्याबाट सदाको लागि कसरी मुक्त हुने ।

= = = =

शनिवारको दिन थियो, गाउँ नजीकैको मन्दिर छेउमा जात्रा लागेको थियो । जात्रा हेर्न ठाउँठाउँबाट मानिस आए । जात्राको रौनक र मनोरञ्जनमा कोही नाचगान गर्दै थिए भने रूखको छहारीमा युवा युवतीका युगल जोडीहरू कोही चुम्बन गर्दै थिए त कोही अँगालोमा बेरिएका थिए भने कोही काखमा बसेर आनन्द लिइरहेका थिए । बूढापाकाहरू जात्रा स्थलको छेउकै पीपल चौतारीमा बसेर आ-आफ्ना संघर्ष र वेदनाका कथा साटिरहेका थिए ।

बाबाबाट पीडित बनेपाहरूको समूह जङ्गलको गोप्य ठाउँमा बसेर सरसल्लाह र योजना बुन्दै थिए । उनीहरूले गुप्त रूपमा एउटा टाक्सफोर्स बनाउने निर्णय गरे । जुन टाक्सफोर्सले सल्लाह अनुसारको योजना कार्यान्वयन गर्न गोपनीयता र अनुशासन सम्बन्धी शपथ लिए । एक हप्ता समय पाएको टाक्सफोर्सले चौथो दिनमै आफूलाई सुम्पेको मिशन पूरा गर्‍यो ।

बस्ती अत्यन्तै रमणीय थियो । बस्ती भन्दा माथि मन्दिर, मन्दिर भन्दा माथि बाबाको कुटी वरिपरि जङ्गल, पूर्वपट्टि समथर भूगोल, दक्षिणतिर भिरालो पाखो थियो ।

एकाबिहानै गाउँभरी सनसनीपूर्ण समाचार फैलियो ।

कारण थियो – जङ्गलको बीचमा भएको कुटीमा तपस्यारत ऋषि बाबाको मृत्यु ! जङ्गलमा गोठालो गएका केटीकेटीले भीरबाट लडेको अवस्थामा बाबाको शव देखे । उनीहरूले उक्त कुरा गाउँको चौतारीमा बसिरहेका गाउँलेका बीच वर्णन गरे । गाउँका मुखियाले आश्चर्यचकित हुँदै प्रहरीलाई खबर गरे ।

प्रहरीचौकी टाढा भएकाले उनीहरू दुई बजे मात्रै घटनास्थल पुगेर निरीक्षण गरे । कुटीको दक्षिण मोहडा भिरालो ठाउँबाट करीब दुई सय मिटर तल ऋषिको लाश रूखमा अड्केको अवस्थामा थियो । त्यसको पचास मिटर माथि रक्सीको ग्यालीन ढलेको देखिन्थ्यो । करीब बीस मिटर माथि गाँजा, भाङको पोको र गाँजा तान्ने ककट छरपष्ट भएको थियो । प्रहरीले गाउँले भेला गर्‍यो र मुचुल्का उठायो । उसले प्रारम्भिक अनुसन्धानमा दुर्घटना भएको ठहर गर्‍यो ।

प्रहरीले शव पोष्टमर्टमका लागि सरकारी अस्पताल पठायो । पोष्टमर्टम रिपोर्टले दुर्घटनाको कारण नभई कर्तव्य ज्यान भएको पुष्टि गर्‍यो । उक्त घटनाको छानबिनका लागि सरकारले वरिष्ठ प्रहरी निरीक्षक चतुरमानको नेतृत्वमा कार्यदल गठन गर्‍यो । चतुरमानले तीन महिनासम्म घटनालाई विभिन्न तरिकाले अनुसन्धान अघि बढाए तर कुनै अभियुक्त पत्ता लगेन ।

उनले उच्चस्तरीय छानबिनको कामलाई प्रभावकारी बनाउन स्वर्गमै गएर ऋषिबाबासँगै बयान नलिई घटनाको सत्यतथ्य पत्तो नलाग्ने सोचे ।

“यो रहस्य सुल्झाउन स्वर्गमै जानुपर्नेछ,” उनले सरकारलाई भने । सरकार चकित भयो, तर अन्ततः उनलाई स्वर्ग जाने अनुमति दिइयो ।

चतुरमानले ड्रोन मार्फत स्वर्ग जाने तयारी गरे । यात्राको बन्दोबस्त गर्न अनुसन्धान विभागका वरिष्ठ इन्जिनियर सुवर्णलाई जिम्मेवारी तोके । सुवर्ण प्राविधिक दक्ष मात्रै थिएन, ऊ अरू प्रहरी जवानभन्दा अग्लो, मोटो र हेर्दै खाइलाग्दो ज्यान थियो । जोकोही उसको ज्यान देखेरै थुरथुर काम्ने गर्थे ।

= = = =

चतुरमानको स्वर्गको यात्रामा शुरू भयो । ड्रोन अघि बढ्दै थियो, जति माथि पुग्थ्यो ऊ खुशी हुन्थ्यो । उडान प्रक्रियामा ड्रोन केही बाङ्गोटिङ्गो हुँदै अघि बढ्दै थ्यो, चतुरमानभित्र अत्यासलाग्दो डर उत्पन्न हुन्थ्यो । त्यसै क्रममा आफ्नै अनौठो शैलीमा उसले चालकलाई सोध्यो, “तिमीले ड्राइभिङ लाइसेन्स लिएको छौ, होइन ?”

चालकले जवाफ दियो, “यहाँको ड्राइभिङ लाइसेन्स अन्यत्र मान्यता हुँदैन सर ।”

“ड्राइभिङ लाइसेन्स नहुनु ठूलो कुरा होइन, तर अनुशासनको कमीले सुरक्षा खतरामा पार्छ ।” चतुरमानले हप्कायो ।

स्वर्गमा ड्रोन अवतरण हुँदैथ्यो, चतुर्मानले त्यहाँका प्रहरीहरूलाई नजीकबाट निरीक्षण गरे । प्रहरीहरूमा अनुशासन थिएन र ड्युटीमा लापरवाही देखे, अनि उनले भने, “तिमीहरूको चौकीमा देवी देवताको मन्दिर छैन । हाम्रोमा, सबै चौकी र ब्यारेकहरूमा मन्दिरले हुन्छ, त्यसले हामी प्रहरीलाई प्रेरणा दिइरहेको हुन्छ ।”

स्वर्गको प्रहरी प्रमुखले भने, “देवता  को हुन् ?” हामीले चिनेका छैनौं ।

चतुरमानले उत्तर दिए, “सुरक्षा क्षेत्रमा हनुमान र सुग्रीव, एउटा वीर अर्को जासुसी हुन्, उनीहरू विशेष शाखाका सदस्य । अपराध अनुसन्धानका पहिलो ज्ञाता । तिनीहरूको मूर्ति स्थापना गर ।”

पृथ्वीबाट आएको प्रहरीको रवाफ देखेर स्वर्गमा हलचल पैदा भयो । स्वर्गको भन्दा विज्ञ प्रहरी आएको हल्ला सरकार समक्ष पुग्यो । सरकारले स्वर्गको प्रहरी प्रमुखसँग परामर्श गरी उसलाई केही समय स्वर्गमै प्रहरी विभागको तालिम शाखामा नियुक्ति गर्ने निर्णय गर्‍यो ।

चतुरमान शपथग्रहणसँगै निरीक्षणको क्रममा तालिम शाखाका प्रहरीको अयोग्यताको कारण खोज्न थाल्यो । उसले कार्य सम्पादन मूल्याङ्कन, ड्युटी तालिका र तलब रजिष्टर अध्ययन गरेपछि सरकारसँग आफ्नो राय सहित तलब घटुवा प्रस्ताव पेस गर्‍यो । उसले पेस गरेको प्रस्तावमा लेखिएको थियो, “प्रहरीहरूलाई धेरै तलब दिइएको कारण उनीहरूमा आलस्य आएको छ, काममा कुनै जोश, जाँगर सक्रियता र चनाखोपन छैन । एकपटक तलब घटाऊ, अनि हेर्नु प्रहरी कति सक्रिय हुन्छन् ।”

स्वर्गको सरकारले उसको प्रतिवेदन अध्ययन गरी उक्त योजना लागू गर्‍यो । छोटो समयमा अपराध नियन्त्रणमा केही सुधार आयो ।

“कम तलबले प्रहरीलाई थप सतर्क बनाउँछ,” चतुरमानले घोषणा गर्‍यो । स्वर्गका प्रहरीहरू आफ्नो तलब कटौती भएकोमा केही प्रतिवाद गर्न सकेनन् ।

= = = =

स्वर्गमा एक दिन ठूलो विवाद भयो, अफ्रिकी र युरोपेली बीचको विवाद बढ्दै जाँदा एक जनाको हत्या भयो । चतुर्मानले भने, “यो मुद्दा म नमूनाको रूपमा अनुसन्धान गर्नेछु ।”

अपराध स्थलमा उनले रगतका दाग भेटे । त्यही प्रमाणको आधारमा नजीकका व्यक्तिलाई पक्रन आदेश दिए ।

“तर उनी निर्दोष हुन्,” स्वर्गका प्रहरीले जीकिर गरे ।

“कसैलाई सजाय दिनैपर्छ । समाज अनुशासनमा राख्न सत्य-असत्यभन्दा शक्ति र डर महत्त्वपूर्ण हुन्छ,” चतुरमानले अड्डी कसे । उनले निर्दोष व्यक्तिमाथि मुद्दा चलाए ।

चतुरमानले आदेश दिए, “प्रत्यक्षदर्शीहरू खोज । अपराध देखेका व्यक्ति नभए पनि बोकाउन कसैलाई तयार गर । साम, दाम, दण्ड  भेद चार वटै सिद्धान्त प्रयोग गर ।

अपराध नियन्त्रणमा निर्दोषलाई सजाय दिनु अन्याय हुनसक्छ, तर समाजलाई आफ्नो नियन्त्रणमा राख्न कहिलेकाहीँ यो आवश्यक हुन सक्छ ।”

प्रहरीले केही मानिसलाई ल्यायो । चतुरमानले भने, “तिमीले अपराध भएको देख्यौ, हैन ?”

उनीहरू डराउँदै सहमतिको टाउको हल्लाए ।

उनको वाणी थियो, “प्रहरीको मुख्य जिम्मेवारी सत्य पत्ता लगाउने होइन, समाजलाई डर, त्रास र अनुशासनमा राख्नु हो ।”

मुद्दाको तयारी अघि बढ्यो । “यस मुद्दामा प्रमाण र तर्कसँगै, दोषी देखाउन पर्याप्त उपहारसमेत प्रयोग गरिन्छ,” चतुरमानले प्रहरीलाई सिकाए ।

स्वर्गको प्रहरी प्रमुखले भने, “यस तरीकाले निर्दोषलाई सजाय दिनु गलत होइन ?”

चतुर्मानले जवाफ दिए, “सबै मानिसमा ईश्वरको अंश छ । सजाय अपराधीलाई दिइयो या निर्दोषलाई, यो ठूलो कुरा होइन, यसले व्यक्तिगत रूपमा कसैलाई न्याय अन्याय हुन सक्छ तर समाजलाई अनुशासनमा राख्छ ।”

स्वर्गका प्रहरीले थपे, “तपाईंको सफलता समाजलाई डर र अनुशासनमा राख्न सक्नुसँग मापन गरिन्छ, तर सत्य निरूपण गर्नमा होइन ।”

मुद्दाको विरोधमा स्वर्गमा हङ्गामा फैलियो । चारैतिरबाट विरोध जुलुसले चौकी घेरियो । मानिसहरूले निर्दोष व्यक्तिलाई बचाउन माग गरे ।

चतुरमानले भने, “सबैलाई भन्नुहोस्, यो निर्णय ‘माथिको आदेशबाट भइरहेको छ’ । त्यसपछि कसैले प्रश्न गर्ने आँट र हिम्मत गर्दैनन् ।”

प्रहरीले यो वाक्यांश प्रयोग गरेर विरोधलाई दबायो ।

= = = =

चतुरमानको निर्देशनमा स्वर्गको प्रहरी प्रणालीमा ठूलो सुधार भयो । अपराध नियन्त्रण गर्न कठोर नियमहरू लागू गरिए ।

उनले भने, “प्रहरीको मुख्य काम समाजलाई डर र अनुशासनमा राख्नु हो । जबसम्म प्रहरीसँग कोही डराउदैन तबसम्म समाजमा अपराध रोकथाम गर्न सकिंदैन ।” उसले थप्यो, “समाजलाई अनुशासनमा राख्न सत्य-असत्यभन्दा शक्ति र डर महत्त्वपूर्ण हुन्छ ।”

चतुरमान स्वर्गको सफल प्रहरी सुधारक बने । उनले स्वर्गका प्रहरीहरूलाई नयाँ प्रणाली सिकाए र फर्कने समय आयो । बिदाइमा उनले भने, “मेरो पद्धति जहाँ गए पनि सफल हुन्छ । पृथ्वीमा हामीले स्थापना गरेको देवताको मार्गदर्शन युगौंसम्म कायम रहनेछ ।”

स्वर्गको प्रहरी विभागले उनलाई प्रशंसापत्र र धन्यवाद दिए । पृथ्वीमा फर्केपछि, चतुरमानले आफ्नो कामलाई ‘न्यायिक परम्पराको क्रान्त’ भने । तर उनले ऋषिबाबाको हत्यारा भने पत्ता लगाउन सकेनन् ।