
“हन यी पुष्कर होइनन् ?” आँगनमा खरेटो लगाउँदा-लगाउँदै, टक्क रोकिएर गीताले बाटोतिर हेर्दै सोधी । आँगन र बाटोको स्पष्ट साँध थिएन । आँगनमा खरेटो लगाउँदै, गीता बाटो सम्म नै पुगेकी थिई ।
“हो नि हौ !” भन्दै पुष्कर बाटो छाडेर आँगनतिर मोडियो ।
“अनि कहिले आयौ ? हिजो बेलुका बाटोमा बोल्दै गरेको जस्तो त लागेको थियो । ल बस !” एउटा हातले मुढा दिंदै गीताले भनी ।
“दुई-चार दिन भयो । दशैं मान्ने गरी आएको ।” पुष्करले बस्दै भन्यो ।
“धन्न चाडबाड आउँछ र तिमीहरू गाउँको बाटो बिराउँछौ । नत्र त के आउँदो हो, हाम्रो सम्झना ।” गीताले खरेटोको फेद ढुङ्गामा ठोक्दै गुनासो पोखी ।
“सम्झेरै त आइयो नि । आउँदा सकेसम्म सबैसँग भेट होस् भनेर दशैं पारेको यस पाला । परार माघमा आएको थिएँ, कुनै दौंतरीसँग भेट भएन । तिमीसँग त पोहोर पनि त भाको हो भेट, होइन ! खरेल काकाकोमा संक्रान्तीको खसीभाग लिंदा । यी यस पालि घरमै आएँ भेट्न ।” पुष्करले सविस्तार प्रमाण पेश गर्यो ।
“म गाउँ रुँगेर बसेको छु, मसँग त जहिले आए पनि भेट हुन्छ ।” गीताले सुपारीको पट्याँसमा कसिङ्गर उठाउँदै सुस्केरा हाली । “पख है ! म यति कसिङ्गर मिल्क्याएर आउँछु ।” पछाडि घिरौंलाको झाङको फेदमा कसिङ्गर मिल्काएर खरेटो थन्क्याउँदै गीताले सोधी, “अनि अब त बाजा बजाउने होला नि होइन । तिम्रा सबै दौंतरीका छोराछोरी स्कूल जाने भइसके । के कुरेका हौ । सीङ–जुरो पलाउँदैन क्यारे ! उमेरमै गरेको पो राम्रो ।”
यो सबैले सोध्ने साझा प्रश्न थियो । आफ्नो-आफ्नो शैलीमा । साथीहरूले जन्ते बाख्रो ख्वाउने होइन भन्थे, काका–बुवाहरूले ल नाकी लगाउन परो भन्थे, काकी–आमाहरूले बुहारी ल्याउन पर्यो भन्थे । पुष्कर प्रत्येकलाई भिन्नाभिन्नै उत्तर दिएर पन्छिन्थ्यो ।
“अनि तिम्रो चाहिं कहिले हो नि ?” पुष्करले प्रश्नमै उत्तर टार्यो । गीता पुष्कर भन्दा केही जेठी थिई, पुष्करकै दिदी (सुनिता)को उमेरकी । पुष्करको दिदी, सुनिताको विवाह भै, छोराछोरी पनि भै सकेका थियो । ल बस्दै गर है म चिया बनाउँछु भन्दै गीता भान्सामा छिरी । प्रसङ्गै नै पन्छियो ।
पुष्कर चिया कुर्दै आफ्नो बाल्यकालको नोस्टाल्जियामा हरायो ।
= = = =
पुष्करको बाल्यकालमा म्याउँचीको दह्रो उपस्थिति थियो । स्कूल र सुत्ने बाहेको समय पुष्कर म्याउँचीसँगै हुन्थ्यो । म्याउँचीको घर पुष्करको घर पूर्व, बाटो पारि थियो । पुष्करलाई थप के थाहा थियो भने म्याउँचीको घर भएको जमीन पुष्करहरूकै हो रे । पुष्करको हजुरबुवाले म्याउँचीका हजुरबुवालाई मधेश झारेका रे । पुष्करका हजुरबुवा र म्याउँचीका हजुरबुवाले मधेश झरेर सँगै जङ्गल फाँडेका रे । किन थियो कुन्नि, पुष्करका हजुरबुवाले मात्रै जग्गा जोडे । म्याउँचीहरू भने अझै अर्कैको जमीनमा बस्थे । जमीन नभए पनि म्याउँचीको हजुरबुवाको आरन थियो । त्यही आरन जहाँ जङ्गल फाँड्ने बन्चरो–खुर्पा बनेका थिए र पुष्करका हजुरबुवा जग्गा धनी भएका थिए । पुष्करले थाहा पाउँदा, म्याउँचीका बुवा त्यही आरन चलाउँथे । म्याउँचीका हजुरबुवा भने बितिसकेका थिए । धेरै रक्सी खाएर बितेका रे, म्याउँची जन्मेकै साल ।
म्याउँची पुष्करको सम्झनामा जताततै फैलिएकी थिई । बल्छीमा गँड्यौला उन्न सिकाउने, हिले माछो र चेपागाँडा छुट्याउन सिकाउने, पौडन सिकाउने, रूख चढ्न सिकाउने, गुलेली हान्न सिकाउने । अनेक जानेकी थिई म्याउँचीले । म्याउँची पुष्करभन्दा एकाद वर्ष जेठी थिई । पुष्करले ठान्थ्यो – दिदीलाई भन्दा म्याउँचीलाई धेरै कुरा आउँथ्यो । त्यसैले पुष्कर सधैं म्याउँचीकै पछि हुन्थ्यो । निकै अबेरसम्म म्याउँचीकै घर-आरन वरपर हुन्थ्यो । धेरै अबेर हुँदा दिदी आइपुग्थी र कन्सेरीमा समातेर हकार्दै लान्थी ।
पुष्करको घर-आँगनमा भने म्याउँचीलाई धेरै बन्देजहरू थिए । घरको पिँढी भन्दा माथि उक्लिन हुन्थेन । म्याउँचीको घरमा भने पुष्करलाई त्यस्तो केही बन्देज थिएन । कोठा–भान्सा सबैतिर बेरोकटोक छिर्थ्यो । खानेवेला भएपछि भने म्याउँचीकी आमा कराउँथिन्, “ल खेल्न छोड तिमीहरू ! अँध्यारो भइसक्यो, घर जाऊ बाबु मुसुरीको भात खान ।” म्याउँचीकी आमा पुष्करलाई धपाउँथिन् । म्याउँचीकी आमा किन लोभी भएकी होलिन् ठान्थ्यो, पुष्कर ।
म्याउँचीकी आमाले, ल तिमीहरू दुवै खान आओ भनेर कहिल्यै भनिनन्, न त म्याउँचीलाई उसको घरमा झैं भान्सा बाहिर राखेर खाऊ भनिन् । म्याउँची भने आफ्नो भागको कोदाको रोटी पोको पारेर सुटुक्क बाहिर निस्कन्थी । उति मीठो हुन्थेन तर चोरेर–लुकेर खानुको अर्कै मिठास थियो । कोदाको रोटीसँगै, सक्खर पनि लुकाएकी हुन्थी । सक्खर भने पुष्करलाई औधी मीठो लाग्थ्यो । उनीहरूको चोरी, कहिलेकाहीं रङ्गेहात पक्राउ पर्थ्यो ।
“यो प्युसीले अबगाल लगाउने भै, बल्लबल्ल बस्न देका छन् अब मेरो नाति बिगार्ने भई भनेर बाजेले निकाल्ने भए,” म्याउँचीकी आमा झन्झटिंदै झर्पाथिन् । कहिले म्याउँचीलाई थप जगल्ट्याउँथिन् र पुष्करलाई ‘खाएको’ कसैलाई नभन्न कडा निदेर्शन दिंदै धपेड्थिन् । पुष्कर घरमा कसैलाई पनि भन्दैन थियो ।
पुष्करलाई उसकी दिदी वेला कुवेला ‘म्याउँचीको पोइ’ भन्दै जिस्क्याउँथी । कहिले त अति नै गर्थी । मुर्मुरिन्थ्यो रीसले तर दिदी छाड्दिन थिई । घरको पूर्व बरन्डामा बसेर बाटोतिर हेर्दै हुन्थ्यो, दिदी थालिहाल्थी, “ल ! म्याउँचीलाई हेरेको ?” । पुष्करलाई के गरूँ कसो गरूँ हुन्थ्यो । एउटा डरलाज मिश्रित अनुभूति । ऊ फन्फनिंदै आधा भर्याङ ओर्लेर खुड्किलोमा बस्थ्यो । यसो गर्दा उसले पश्चिम फर्कन पर्थ्यो । तर दिदी छाड्दिन थिई । “ल ! बुनीलाई हेर्न थाल्यो है अब ।” खरेल काकाकी छोरी बुनी उसैसँग बजारको बोडिङमा पढ्थी । म्याउँची पनि पढ्थी तर गाउँकै सरकारी स्कूलमा । म्याउँची सम्झनाका धेरै स्वाद ओगटेर बसेकी थिई तर बुनी विना स्वाद बिलाएकी थिई, पुष्करको बाल्यकालबाट ।
पुष्करले त्यो दिन म्याउँचीकोमा खाएर आएको थियो । घरमा पेट दुखेको छ भनेर टार्यो । हजुरबुवाले, “ल यसलाई नाश लागेछ, खाना मन गर्न छाड्यो” भनेर खै कुन बुटोको टर्रो झोल खान लगाए । यस्तो वेला, ल भात खाएन नातिले भनेर दूधमा मह मिसाएर खान दिनु हुन्थ्यो, हजुरआमाले । पुष्करले आधा जति दिदीलाई दिन्थ्यो नखानुको चुरो कारण दिदीले गोप्य राखिदिएकाले । टार्रो झोलमा भने पुष्कर एक्लै पर्थ्यो, दिदीले खुच्चिङ मात्र सहयोग गर्थी । म्याउँचीकोमा खाएको ऊ आफै बाहेक दिदी सुनितालाई मात्र थाह छ र दिदीले घरमा अरू कसैलाई भन्दिन भनेर पुष्कर ढुक्क मन बुझाउँथ्यो ।
बिहानै, पुष्कर बोडिङ जाने हतारमा थियो । हजुरबुवा पाइखानाभित्र थिए । पुष्करले दिसा बस्न घर पछाडिको खेतमा जानु पर्ने भयो । खेतको आलिमा टुक्रुक्क बसेर उसले आफ्नो नित्य कर्म सिध्यायो । पुछेर तल हेर्दा उसलाई थोरै अनौठो लाग्यो । उसको दिसाको रङ कालो–कालो थियो । पुष्करलाई उस्सै दिसाको रङ त यस्तो हुन नपर्ने हो जस्तो लाग्यो । पुष्करको मनमा फोकटको डर छिर्यो । तर कोसँग सल्लाह लिने । यस्ता कुरामा सल्लाह दिन सक्ने कि दिदी हुन्थी कि म्याउँची । म्याउँचीको सम्म जाने समय थिएन । पुष्कर कुद्दै दिदी छेउ पुग्यो र सोध्यो, “दिदी, तेरो गुको रङ कस्तो हुन्छ ?”
सुनिता स्कूल जाने तयारीमा कपाल बाट्दै थिई, प्रश्न सुनेर मुख बिर्गादै भनी, “छिँ ! बेकामे कुरो सोध्छस्, पख म बुवालाई पोल लगाइदिन्छु ।”
उसले दिदीलाई सानो स्वरमा सबै बेलीबिस्तार लगायो । हिजो उसले म्याउँचीकोमा खाएको कोदाको रोटी, आजको दिसाको रङ र उसको खुलदुली । पुष्करलाई माथिदेखी तलसम्म हेरेर हल्का हाँस्दै सुनिताले उत्तर दिई, “हेर केटा ! म्याउँचीकोमा नखा भन्दा सुनिनस्, शुरूमा गुको रङ बिग्रन्छ र बिग्रिंदै गएर तँ उनीहरू जस्तै हुन्छस् ।” दिदीले अझ थपी, “म त लुकाइदिउँला तर तँ अब फसिस् । सबैले थाह पाउने भए ।”
दिदी सुनिताका कुराले पुष्करको डर अग्लियो । अब घरका सबैले थाहा पाउने भए । पुष्करको डरको मुख्य श्रोत त्यही थियो । एन मौका पुष्करलाई ढाडे बिरालोको सम्झना आयो । कोदालो लिएर खेततिर गयो । फर्कंदा उसको डर केही बिसेक थियो किनकि उसले प्रमाण पुरेर आएको थियो । तत्कालको लागि समस्या टारेको थियो ।
साँझ बोडिङबाट आएको पुष्कर, पिंढीमा फ्यात्त झोला फालेर सिधै म्याउँचीकोमा गयो र आफ्नो निर्णय सुनायो । “म अबदेखि तैले देको खान्न बुझिस् ।” म्याउँची छक्क परी । पुष्करले आफ्नो बुझाइ र दिदीको सल्लाहको सप्रसङ्ग व्याख्या गर्यो । कुरो नसकिंदै म्याउँचीले च्याट्ठिंदै भनी, “नखाने भए नखान, किन कुदेर सुनाउन आएको । जा, तँसँग कट्टी बुझिस् ।”
बेलुका पुष्करले फर्सी र मोइसँग मीठो मानेर भात खायो । नातिलाई ठीक भएछ भनेर हजुरबुवा हजुरआमा खुशी भए ।
झगडा परेकाले म्याउँचीकोमा जान हडताल थियो । पुष्करको मन केही खिन्न थियो तर त्यसो धेरै बेर रहेन । बिहानै खरेल दाइ कट्टी लिएर आए ।
आज माघे संक्रान्ति परेकाले घरमा खसी काट्ने योजना थियो । पुष्कर पानी तताउने फुर्तीफार्तीमा अलमलियो । बिस्तारै खसीको भाग लिन छिमेकीहरू आए । म्याउँचीकी आमा पनि आइन् । खसी काटेपछि भुँडी धुन भने समस्या पर्यो । सधैं यो काम पुष्करकी आमाले गर्थिन् । आज उनी पर सरेकाले नगर्ने भइन् । पुष्करकी दिदी सुनिताले त्यो काम गर्नुपर्ने भयो । म जान्दिनँ भनेर पन्सिन खोज्दा पनि धर पाइन ।
म्याउँचीकी आमा अघि सर्दै भनिन्, “ल हिंड, पुष्करले पानी हाल्दिन्छन्, म अलग्गै सिकाइदिउँला ।” अरू काम त सुनिताले खुरुखुरु गरी । सातपत्रे धुन भने मेसो जानिन । सिकाउँदा सिकाउँदै, मूलतः म्याउँचीकी आमाले आफै धोइदिइन् । पुष्करले धोएको आन्द्राभुँडी ल्यायो र केराका हरिया पात ओछ्याई तयार पारिएको स्थानमा खन्यायो । काटकुट भाग मिलाउँदै गरेका खरेल काकाले हेर्दै भने, “गजब धोइछिन् है सुनिताले, ल तिमी पास ।” बोल्लिन कि भनेर छेके झैं पुष्करले म्याउँचीकी आमातिर हेर्दै भन्यो, “काकीले अलग्गै सिकाएर हो । मैले पनि भने झैं पानी हालें ।”
सबै मासु भाग लिएर आफ्ना-आफ्ना तिर लागे । पिंढीमा मुढामाथि बसेर खैनी पड्काउँदै खरेल दाइले भने, “ल रक्ती चैं छिटो भुट है, अब खाएरै जाऊँ होला ।” पुष्करका बुवा पनि सँगै गफ गर्न थाले । म्याउँचीकी आमाले आँगनमा ओछ्याइएका केराका पात मलखादमा लगेर मिल्काइन् र आँगन साफसुग्घर, बढारकुडार गरिन् । सकेर म्याउँचीकी आमा पिंढीको गफमा मिसिइन् । पुष्कर भान्सा भित्र-बाहिर गर्दै र आँगनमा झ्याम्मिएका कुकुर (भालु- म्याउँचीको घरको कुकुर) लघेर्न व्यस्त भयो ।
सुनिता भान्साको उस्तो मेसो पाउँदिनथी, निकै ढिलो गरी । सुनितालाई अरन खटन गर्न पुष्करकी आमा भान्सामा थिइन् । म्याउँचीकी आमा पिंढीको गफमा मिसिएकी थिइन् । म्याउँची कुद्दै आई र भनी “बा हतार गर्दैछन् । झट्टै जानु रे ।” म्याउँचीकी आमाले पुष्करतिर हेरर भनिन्, “पुष्कर जाऊ त, आमालाई म जान लागे भन्द्यौ-भन्द्यौ ।”
पुष्कर आज्ञाकारी भएर खबर पुर्याउन भान्सा छिर्यो । आमाले साउती स्वरमा भनिन्, “यो म्याउँचीकी आमा साह्रै आशे छ, त्यसले रक्तीको लोभ गरेकी हो ।”
पुष्करले भन्यो, “आन्द्रा-भुँडी धोइन् नि त ।”
अहिले भने सुनिताले छेक्दै भनी, “अँ अलक्कै सिकाइन् र त राम्रोसँग धुन जाने ।” पुष्कर केही नबोली बाहिर गयो र भन्यो, “रक्ती पाक्नै लाग्यो, खाएर जानु रे ।”
सुनिताले भुटेको रक्ती, चिउरा र मूलाको अचार हालेका स्टीलका दुई वटा थाल लिएर आई । पछिपछि आमा पनि सँगै आइन् र भनिन्, “ल एउटा खरेल काकालाई दे, एउटा बुवालाई ।” उनको हातमा भने रक्ती हालेको बोटुको थियो । यीनलाई हतार छ, “लाउ”, भन्दै रक्ती हालेको बोटुको म्याउँचीकी आमातिर तेर्स्याइन् । म्याउँची छेउमै देखेर उनले भनिन्, “ए यो पनि पो आइछ । सुनिता ! सानो बटुकामा थोरै ल्याइदे त म्याउँचीलाई ।”
सुनिता भित्र छिरी । म्याउँची ‘खान्न म रक्तीसक्ती’ भनेर बाउँठिंदै आमा छाडेर आफ्नो घरतिर कुदी । सुनिता बटुको बोकेर ठिङ्ग उभिएकी थिई । सुनिता तिर फर्केर आमाले भनिन्, “जा भित्र लगेर भाँडोमा खन्या, खान्न रे ! किन त्यसै चढेकी हो यो म्याउँची ।”
जाने वेलामा म्याउँचीकी आमाले भनिन्, “बाउले ढिलो भयो भनेर हतार लगाएकाले आएकी रहिछ । त्यसैले नखाई कुदेकी होली । त्यसको भागको दिनु न, घर लग्दिन पर्यो, भरे भोलि बटुको आफै ल्याइदिउँला ।” बटुकोमा रक्ती र आफ्नो भागको मासुको पोको बोकेर म्याउँचीकी आमा निस्किन् । आँगन कटेपछि पुष्करकी आमाले सबैलाई सुनाउँदै भनिन्, “यो म्याउँचीकी आमा सारै लोभी छ । लगेरै छाडी ।” को लोभी ? उसकी आमा वा म्याउँचीकी आमा ! पुष्कर गम्दै आफ्नो भागको रक्ती मीठो मानेर खाँदै थियो ।
म्याउँचीकी आमा चुलोछेउ बसेर चुलेसीले मासु टुक्रा पार्दै थिइन् । म्याउँची बाहिर सिलौटामा पिनेको खोर्सानी, अधुवा र मसला बोकेर भित्र छिरी । एकदुई टुक्रा खाएपछि मायाले म्याउँची अघि ल्याएको रक्तीको बोटुको छेउ सार्दै भनिन्, “ल खा ! मीठो छ के । के भाको हो यो केटीलाई, खान्न भनेर किन उसै बाउँठिन परेको हो यसलाई ।”
म्याउँचीले च्याट्ठिंदै भनी, “खान्न म तिनले छोए-पकाएको । तिमी पनि नाथे रक्तीमा के र्याल चुहाएकी हौ ?”
उनले म्याउँचीका कुरालाई कुनै भाउ नदिंदै भनिन्, “उस्, उस् ! खाने भए खा नत्र म खान्छु भरे ।“ बटुको अझ म्याउँचीतिर ठेल्दै गन्गनाइन्, “तेरा बाउ, सर्दाम लिन चोकतिर गा छन्, मासु ढिलो पाको भने आएर रिसाउँछन् ।” म्याउँचीकी आमा मासु पकाउन व्यस्त भइन् ।
घरैमा आइपुगेको भुटेको रक्ती पनि म्याउँचीले खाइन । बटुको हेरेर धेरै बेर टोलाएर बसी । उसको मुखमा भने पानी आइरहेको थियो । के जङ्ग चल्यो कुन्नि बोटुको बोकेर आँगनमा निस्की र “च्यो भालु ! च्यो !” भन्दै कुकुर बोलाउन थाली । पुष्करको घर तिर फर्केर निकै बेर कराएपछि, कुकुर पुच्छर हल्लाउँदै आइपुग्यो । कुकुरको कान तान्दै म्याउँचीले भनी, “त भतुवा खसी काटे भनेर ढुकुवा बस्न गइस् है । चुसेको हड्डी मात्र भेट्थिस् । ल खा !” म्याउँचीले रक्ती भएको बटुको नै कुकुर अगाडी सारिदिई ।
कुकुर बोटुको चाट्दै थियो, आमा त्यही वेला दाउरा लिन आँगनमा निस्किन् । कुकुरले रक्तीको बटुकोमा मुख हालेको देखेर रीसले रन्थनिंदै कराइन्, “यो अलक्ष्छिनी के भाकी हो आज, अहिले तेरा बाउ आउन दे न । आज तँलाई अर्जाप्न नलगाई कहाँ छाड्छु र । नखाने भए म खान्थें ।” कुकुरलाई धपेड्दै थपिन्, “हरे ! बटुको बिटुल्यादिछ पड्केले । अर्काको बटुको । देखे भने मार्छन् ।” बटुको खोसेर रहलपहल भुइँमा घोप्ट्याइन् र आँगन छेउ धुम्धुम्ती बसेर सबै हेर्दै गरेकी म्याउँचीतिर रीसले झट्याइन् । म्याउँची आँगन छाडेर चोकतिर कुलेलम भई । आमाले पोल लगाइदिन भन्दा अगाडि बाउ भेटेर सँगै घर आउँदा जोगिउँला भन्ने म्याउँचीको हिसाब थियो ।
म्याउँची भागेपछि रीस कुकुरमा पोखियो । बिनाकारण दाउराको चिर्पट भेटेको कुकुर, तर्सिएर कुइँकुइँ गर्दै आँगन छाड्यो । म्याउँचीकी आमा बटुको उठाएर भान्सामा छिरिन् र चुलोमा दाउरा थपिन् । आगो दन्किएर बल्यो ।
बेलुका म्याउँचीका बुवा हल्ला गर्न थाले । उसले मनमनै गम्यो बुढाले आज खोया बिर्के खाए होलान् । मासु पाकेको दिन । पुष्करका हजुरबुवा गनगनाउँदै थिए, “मैले घरै अगाडि नराख भन्दा मानेन, जहिले रातविरात हल्ला गर्छ, मनपरी बोल्छ, नाता–कुटुम्ब आउँदा लाज मर्नुहुन्छ । बावु त्यही झोलले गयो अब यसले पनि त्यही बिडो थाम्ने भो ।” यस्तो वेला पुष्करका बुवा भने सुनेको नसुनै गरेर बस्थे । अलि धेरै भयो भने रेडियोको भोल्युम बढाउँथे, दुवैको आवाज छोप्न । न हजुरबुवालाई कुनै जवाफ दिन्थे न त म्याउँचीका बुवाको कुनै टिप्पणी गर्थे ।
पुष्कर बरन्डाबाट घाँटी तन्काएर म्याउँचीको आँगनको दृष्य चियाउने कोशिशमा लाग्यो । उसका आरने काका आँगनमा यताउता गर्दै, के के फलाक्दै थिए । घर अगाडिको, घिरौंलोको झाङले गरेर पूरै प्रष्ट देखिन्न थियो । एक छिनमा त पुष्करको घरै तिर फर्केर पो कराउन थाले । पुष्करको मनमा भने डरको चिसो पस्यो । “बुढाले बित्यास पार्ने भए अब । म्याउँचीले झगडा परेको झोकमा कुरा लगाइदिई जस्तो छ । अब मेरो पोल खोलिदिने भए ।” पुष्करलाई थाह थियो, म्याउँचीलाई उसका बुवाले साह्रै माया गर्थे । म्याउँचीलाई ‘तिमी’ भनेर सम्बोधन गर्थे । “मेरो कुराले चित्त दुखाएर म्याउँचीले रुँदै बुवालाई सुनाए जस्तो छ ।” पुष्कर आफैंसँग रिसायो, “मैले नि आजैको दिन भन्नु परेको ।” उसका बुवाले रेडियोको भोल्युम अझै ठूलो पारे हुने । आज उसलाई त्यो काइदाले बचाउँला कि ? म्याउँचीका बुवा कराइन्जेल पुष्कर कोठा-बरेन्डा गरेर बस्यो । केही पछि म्याउँचीका बुवा सेलाए । शायद सुते क्यारे ।
शनिवारको दिन खेल्ने साथी कोही नपाएर पुष्करलाई के गर्ने कसो गर्ने भइराखेको थियो । म्याउँचीसँगको कट्टी कायमै थियो । शुक्रवारको साँझ पुष्कर गोजीमा मिसिरी बोकेर म्याउँचीका छेउ–छाउ भन्किन पुगेको थियो । तर म्याउँचीले कुनै भाउ नै दिइन । “आफै जस्तो गुलियोमा भुल्छ भनेर मिसिरी बोकेर आएको होलास् । तँसँग कट्टी छ मेरो । बोल्दिन भाग् !” पुष्कर निराश फर्किएको थियो त्यसैले आज जाने आँट गरेन । घर पछाडि एक्लै पानकीरा समात्न कुद्दै थियो । आमाले भान्साबाट कराइन् “ओइ, पुष्कर ! म्याउँचीकोमा जा त । तिनले अस्ति लगेको बटुको ल्याइदेकै छैनन् । पचाउने भए तिनले ।” पुष्करकी आमा अझै केही भन्दै थिइन् । पुष्करले निहुँ पाएको थियो । म्याउँचीको घरतिर बत्तियो । म्याउँचीका परिवार चुलोछेउ बसेर कोदाको रोटी र सक्खर खाँदै थिए । पुष्करले आफू आउनुको कारण बतायो ।
म्याउँचीकी आमाले केही खुम्चिएर भनिन्, “ज्याँ ! म पनि कस्तो हुस्सु । यो भान्सा सकेर आफै ल्याइदिन्छु ।” पुष्करका आँखा सक्खरको डल्लोमा अड्केको थियो । म्याउँचीकी आमाले भनिन्, ‘खान्छौ ?’
पुष्करले नसुने झैं गर्यो । म्याउँचीले पुष्करको उपस्थितिको कुनै प्रतिक्रिया दिइन । “बटुको नल्याएको भनेर आमा रिसाएकी छन् । झट्टै ल्याइदिनु है,” उही कुरो दोहर्याएर पुष्कर घर फर्कियो ।
फेरि पानकीराका पछि कुद्दै थियो पुष्कर, अचानक म्याउँची उसका अगाडि ठिङ्ग उभिएकी पायो । उसले म्याउँचीलाई लुतेकुकुरले झैं माया लाग्दो भएर हेर्यो । म्याउँचीको अनुहार अठोटपूर्ण देखिन्थ्यो । म्याउँचीको हातमा बटुको थियो । ‘ल हिंड्,’ म्याउँची अगि लागी । पुष्कर चूपचाप पछ्याउन थाल्यो । पुष्करको घरको दक्षिणपट्टि बाँस झाङ थियो । झाङभित्र छिरे, पुष्करको घर छेलिन्थ्यो । झाङमा छेलिएर म्याउँचीले हातको बटुको पुस्करतिर तेर्स्याई । बटुकोभित्र सक्खरको डल्लो थियो । म्याउँचीले आदेशको शैलीमा भनी, “ल एक छिन यही बस् र खा, अघि थुक निल्दै थिस् क्यारे ।” पुष्करले स्वचालित रूपमा बटुकोबाट सक्खर झिक्यो ।
“अस्ति किन बहुलाएको ?” म्याउँचीले च्याँट्ठिंदै भनी, “तेरै दिदीको पनि त्यस्तै आउँछ”, म्याउँचीले थपी, “जस्तो खायो तेस्तै त आउने हो ।”
पुष्कर बक्क पर्यो । हो, म्याउँचीलाई सबै थोक आउँछ । पुष्कर आज्ञाकारी बालक झैं सक्खर खान व्यस्त थियो । म्याउँची जामाको फेरोले बटुको पुसपास पारेर पुष्करको घरतिर सोझिई । म्याउँची बटुको दिंदै थिई, भर्खर देखे झैं गरेर पुष्कर ढल्पलिंदै आयो र आमाछेउ गयो ।
पुष्करकी आमाले म्याउँचीलाई झपारिन्, “तेरी आमा आफै ल्याइदिन्छु भन्थिन्, खै त ।” पुष्कर बीचमा बोल्यो, “अनि म्याउँचीले हो त, उसैकी आमालाई कराउनु नि ।”
“तँ धेरै बाठो न हो, जा इनारमा पखालेर-चोख्याएर ले,” आमाले म्याउँचीको हातबाट बटुको खोस्दै पुष्करको हतमा थमाइदिइन् ।
नेपाल टेलिभिजनबाट ‘छुवाछुत दण्डनीय अपराध हो’ भन्ने सन्देशमूलक विज्ञापन कैयौं पटक पुष्करले म्याउँचीसँगै हेरेको थियो । पुष्कर भित्र ओछ्यानमा हुन्थ्यो । म्याउँची ढोकाको आडमा बाहिर पट्टि बरेन्डामा । पिँढीबाट सरेर बरेन्डा सम्मको निषेधाज्ञा हटेको थियो । तर भित्र छिर्नलाई म्याउँचीलाई अझै अनुमति थिएन ।
बास झाङमा लुकेर म्याउँचीले दिएको खान पुष्करले आफैले आफैलाई अनुमति दिएको थियो । उसो त लुकेरै भए पनि म्याउँची उसको कोठाभित्र छिर्न सक्थी तर त्यस्तो विचार पुष्करको मनमा कहिल्यै आएन । अरू त अरू, उसका (पुष्करका) घर परिवारले दिएको खान म्याउँचीले छाडेको भेउ पनि उसले पाएन । किन न कहिले अर्थ बुझ्यो, न बुझ्नु पर्छ भन्ने नै बुझ्यो । म्याउँचीले धेरै पटक नकारे पछि, शायद सबैले सोध्न छाडे होलान् । त्यसैले हो कि उसको नोटिसमा रहेन ।
= = = =
“के सोचमा हराइरहेको छौ ?” गीता उसको अगाडि स्टीलको गिलास लिएर उभिएकी थिई, हात बढाउँदै भनी, “कालो चिया, गुलियो चैं पुग्दो हाल्देको छु, यही खान्छौ कि बासघारीमा पुर्याइदिनु पर्छ ।”
पुष्करले लिंदै भन्यो, “होइन, ठीकै छ ।” तातो चिया समातेको पुष्कर बल्ल त्यो पुरानो घटनामा म्याउँचीले उसका घरकाले देको खान छाड्ने मौलिक विद्रोहको अर्थ खोज्ने कोशिश गर्दै थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

