समय छैन, यस्तो लागिरहन्छ सुरेन्द्रलाई । मतलब कथाकार सुरेन्द्रलाई । त्यसैले त एउटा कथा मागेको ठाउँमा दुईदुई वटा कथा दिइपठायो ।

आज पनि उसले प्रातःभ्रमणमा त्यो साथी मुकुललाई भेट्नु छ जसले उसलाई उसको कथा फिर्ता मगाएर हातैमा दिन्छु भनेको छ । मानिस भेट हुने हो कि होइन । भेट हुने रहेछ भने टाढैबाट उसले मुकुललाई देखिसक्नेछ । कारण यो थियो, मुकुल अरूभन्दा अलि अग्लो कदको छ । भीडको बीचमा उसको टाउको मात्रै भए पनि सरिरेहको देखिन्छ । मुश्किलको कुरा यो छ, उसलाई भेट्यो कि ‘लौ चिया एकेक कप खान जाऔं न त’ भन्छ र छेउको चियापसलतिर लाग्छ । सुरेन्द्र चियाको लोभी छैन । बिहानै चियानास्ता गरिवरि ऊ घरबाट मर्निङ वाकका लागि निस्केको हुन्छ । उसलाई नौ बजेतिर घरभित्र पसिसक्नु पर्ने घरको उर्दी छ जुन उसले पालन गर्दै आएको छ ।

त्यस दिन सधैं झैं मुकुल भेटिएको हो । एक हातमा तरकारीले टन्न भरिएको झोला थियो । सुरेन्द्र अचम्म मान्थ्यो— ‘हैन यो मान्छेले कति जनाका लागि यत्रो तरकारी किनेर लैजाँदै छ ? निश्चय पनि यो एकै दिन खाइसकिने तरकारी त होइन ।’ झोलामा बाहिरबाटै देखिइरहेको थिए— भान्टा, लौका, मूला र एउटा ठूलो मुठो रायोको साग ।

पहिले केही दिन सुरेन्द्रले मुकुललाई टाढैबाट हात हल्लाएर ‘हाइहेलो’ गर्थ्यो । एक दिन मर्निङ वाकमै मुकुलले उसको अगाडि उभिएर भन्यो, ‘मित्र, तपाईंको एउटा कथा पूर्व झापातिरको एक जना पत्रिका चलाउनेसँग रहेछ । ऊ तपाईंलाई कथा फिर्ता गर्न खोजिरहेछ,’ अनि थपमा भन्यो, ‘तपाईंले उसको छोटो डिमान्डमै एउटा कथाको ठाउँमा दुई वटा कथा दिनुभएको रहेछ । एउटा छापिएछ अर्को छाप्न तह परेन भन्दै छ । के गरौं ?’

कुरो सम्झन अप्ठेरो यस मानेमा थियो, उसले धेरैलाई आग्रहमा कथाहरू दिने गरेको छ । तर यो पत्रिका चलाउनेसँग कसरी दुई वटा कथा दिइएछ ? उसले कसकसलाई कथा छाप्न दिएको छु भन्ने डायरी त राख्ने गरेको छैन, सम्झिन अप्ठेरो त्यस कारण पनि पर्ने गरेको छ ।

सुरेन्द्रले मुकुललाई तानेर पेटीको छेउमा लग्यो । तरकारी बजारछेउको पेटी थियो जसमा मानिसको बाक्लो ओहोरदोहोर थियो । उनीहरूबाट तर्केर हिँडिरहेका थिए मानिसहरू । त्यसले गर्दा उनीहरूबीच राम्ररी कुराकानी हुन पाइरहेको थिएन । मुकुलको बारेमा त सुरेन्द्रलाई थाहा छैन तर ऊ यस्तो गाइँगुइँमा कुरा राम्ररी बुझ्न र सुन्न सक्दैन । त्यसैले उसले बारम्बार मुकुलका कुरा हत्केलाले छेकेर कान थाप्दै ‘हँ–हँ’ गरिरहनुपर्ने हुन्छ । मानिसहरू ऊ कम कान सुन्छ कि भन्ठान्छन् । ‘कानलाई हत्केलाले छेक्नुको सट्टा इयर डिभाइस लगाएको भए हुने’ भन्ने दृष्टिले हेर्दै ‘श्रवणशक्ति कम हुनु पनि, एउटा समस्या नै मानेर’ गन्तव्यतिर लाग्दै थिए ।

मुकुल पनि यसमा सशङ्कित छ – सुरेन्द्र पनि श्रवणशक्ति कम हुनतिर अग्रसर छ । धेरै एकाग्र भएर पढ्ने र लेख्नेहरूको कालान्तरमा यस्तै परिणति हुन्छ भन्ने सोच उसको थियो ।

‘कुन कथा रहेछ ?’ सुरेन्द्रले भन्यो । मुकुलले उसलाई लक्ष्य गरेर प्रश्न गरिएको हो भन्ठानेर अलि कडा स्वरमा भन्यो, ‘मलाई के थाहा ? ममार्फत कथा दिइएको होइन । तैपनि आज दुई वर्षजति भयो भन्थ्यो । उसले तपाईंको एउटा कथा छापिएपछि अर्को छाप्न पाएन, पत्रिकै बन्द भयो ।’

सुरेन्द्रले बीचैमा कुरा काट्दै भन्यो, ‘मेरा कथा छापिएकोले त होइन होला ?’

मुकुलले उसको कुरातिर ध्यान दिएन, भनिरह्यो, ‘धन्न तपाईंको अर्को कथा उसले फाइलमा च्यापेर राखेको रहेछ र फेला पर्यो । भएन, कथाकारको कथा कथाकारलाई नै फिर्ता गर्छु भनेर उसले मसँग सम्पर्क गरेको रहेछ ।’

अन्त्यमा कुरा यररी मिल्यो, पन्ध्रबीस दिनपछि यहीँ भेट गर्ने । कारण, मुकुलले त्यो कथा उताबाट मगाएर आफूसँग राख्ने अनि ठ्याक्कै् पन्ध्र वा बीस दिनका दिन यसै ठाउँ भेटेर कथा सुरेन्द्रको हातमा राखिदिने । यसमा नाइँनास्तिको कुरो थिएन । सुरेन्द्रले छुट्टिने बेलामा थ्याङक्यु भन्यो । मुकुलले भन्यो, ‘भो चाहिन्न थ्याङ्क्यु–स्याङ्क्यु । मित्रहरूलाई सहयोग गर्नु मेरो कर्तव्य हो ।’

कर्तव्य त अर्को पनि थियो जुन उसले बिर्सियो अथवा हातमा तरकारीले टन्न भरिएको पोलिथिनको झोला हुनाले भन्न भ्याएन, ‘मित्र जाऊँ नजिकैको रेस्टोराँमा एकेक कप चियाका लागि ।’

सुरेन्द्रलाई यस्तो लाग्यो — मुकुल जहिले पनि चियाका लागि अतिरिक्त बजेट पकेटमा राखेर हिँड्छ । के सोख होला उसको, जति बेला भेट भयो भनिहाल्छ— ‘एकेक कप चिया ।’

० ० ० ०

दिन बित्दै गए । यस्तो भन्नलाई कुनै एउटा पूरै संवत् पर्खिनुपर्ने त थिएन । बीचमा संजोगले क्रिसमस र न्यू इयर परिदियो । एउटा साल बितेपछि मात्र भेट हुने भो मुकुलसँग भनेर सुरेन्द्रले आफूलाई आफैंले हँसायो । हाँस्नु पर्ने कुरा र हँसाउनु पर्ने कुरा त त्यसमा किमार्थ थिएन, मात्र कति भने विश्वका घटनामा आधारित रहेर बितेको वर्षको गम्भीर समीक्षा टिभी र प्रिन्ट मिडियमा आइरहेको थियो । उसका लागि कुन कुरा मात्र गम्भीर भइदियो भने उसले पूर्व झापातिर कुन कथा दिइपठाएको रहेछ ? अहिले कत्ति गर्दा पनि उसले सम्झिन सकिरहेको छैन । भ्रम भइरहेथ्यो उसलाई, ‘कथा दिएको थिएँ पनि कि थिइनँ ?’ उसकै कथा हुनाले त पत्रिका चलाउनेले कथा फिर्ता गर्ने प्रयत्न गर्दैछ । सज्जन रहेछ । कसो कथा आफ्नै नाममा छपाएनछ । फेरि पत्रिका निकाल्नेतिर सुरसार गरेनछ । उसकै कथा छापिएपछि पत्रिका नै बन्द भएछ । यो एउटा आक्षेप जस्तो लागेको थियो – उसकै कथा छापिएको अङ्कपछि पत्रिका फेरि निस्केन भन्ने ।

तर यी सबै कुराभन्दा भिन्नमा उसको चिन्ता यो थियो, कुन कथा हो उसले पठाएको ? पत्रिका चलाउने मानिसले नै ऊसँग भेट गरेपछि कथा मागेर लगेको हो कि ? भन्यो होला— ‘तपाईंको एउटा कथा छाप्न पाए हुन्थ्यो ।’ ऊ तयारै भइहाल्यो होला सहजै । कुनै मोलभाउ नगरी । मोलभाउको माने यो, कथाका लागि पारिश्रमिक छ कि छैन ? उसले भन्यो होला, ‘मोफसलको पत्रिका हो । चलाउनै गारो छ । लेखकहरूको सहयोगमा टिकेको छ । प्रेस खर्च र कागजकै तिर्न सकिएको छैन ।’ अनि अलि रोकिएर थप्यो होला, ‘पछि कहीँबाट निस्केछ भने म खबर गरुँला ।’ के खबर गर्ने । पारिश्रमिक कति देला ? पाँच सय वा हजार ? के उसको बैंकको खाता नम्बर मागेर त्यसमा हालिदिने हो त पछि खबर गर्न ? खबर गर्छु भनेको के ?

मोफसलकाहरू कराइरहन्छन् ‘राजधानीका पत्रिकामा हाम्रा रचना छापिएनन्’ भनेर । ‘लौ त एउटा उदारता यो देखाइदिऊँ, राजधानीमा अल्पज्ञात भएर बसेको एक कथाकारले आफ्नो कथा पूर्व झापाजस्तो मोफसलको पत्रिकामा छाप्न दिएछ भन्ने । यो खुशीको कुरा हुन सक्छ मोफसलकाहरूलाई । उत्तरतिर फर्केर खोलो बगेछ भनेर । सुरेन्द्रले बीचमा एउटा अर्को व्यंग्य निकाल्यो – यो पूर्व झापा, पूर्व झापा के भनिरहेका छस् ? के झापा पूर्वमा भन्दा अर्को कुनै ठाउँमा पनि छ ? झापा मात्र भने त पुगिहाल्यो नि ।

तर उसले बढी उदार भएर एउटा कथा दिने ठाउँमा दुइटा कथा दिएर पठाइदियो । ‘बाई वान गेट वान फ्री’ भनेझैं । किन दिएर पठाएछ दुइटा कथा ? भन्न सक्थ्यो, ‘यो एउटा कथा पहिले छाप्नोस् । अर्को कथा चाहियो भने म पठाइदिउँला । पठाइ के दिउँला मेल गरिदिउँला । झापामा नेट त चल्छ नि ?’ तर कुन कथा हो ? त्यो छापिएको कथा पनि कुन हो ? न पत्रिका हात पर्यो न अर्को कथा चाहियो भन्ने डिमान्ड नै आयो । अर्को कथा त उसले बाइ वानसँगै अर्को फ्रीमा दिएरै पठाइसकेको थियो । तर ती दुवै कथा कस्ता थिए र के शीर्षकका थिए त्यो पत्तो लाउन सकिएन ।

बीस दिनपछि त थाहा हुन सक्छ । बीस दिन धेरै लामो अवधि पनि होइन, एउटा शताब्दीसम्म पर्खिरहनु पर्ने । सुरेन्द्रलाई भित्रभित्रै छटपटी लागिरहेको थियो । पारिश्रमिक पनि पाइएन र कथा छापिएको पत्रिका पनि । घाटा छ । तै एउटा कथा सुरक्षित रहेछ । यसका लागि कृतज्ञ हुन सकिन्छ । तर कथा हात परोस् अनि कृतज्ञता प्रकट गर्नु उचित हुनेछ । झापाका ती मानिससँग भेटे हुन सक्ने त होइन । मुकुलले भनेको थियो, ‘त्यो मानिस अहिले पत्रिकाको कारोबार छाडेर फेन्सी मालसामानको व्यापारमा लागेको छ । थाई र चाइना गइरहन्छु भन्थ्यो । के थाहा हो होइन ? अलि गफाष्टक जस्तो पनि छ ।’

मुकुलको यो बानी थियो, मानिसको विषयमा तुरुन्त एउटा नकारात्मक टिप्पणी गरिहाल्ने । भनिहाल्यो, ‘मानिस गफाष्टक जस्तो छ ।’

रे भाइ, थाइ चाइना गइरहने हुनाले त उताको गफ झिक्यो होला । व्यापारी हो, सामान ल्याउन गयो होला । थोक व्यापारी होला । पत्रिका चलाएर गुजारा भएन भने विकल्प त खोज्नै पर्यो । म जस्तो एउटा कथा मागेकोमा अर्को एउटा फ्री दिएर पठाउने अदूरदर्शी होइन होला । यस्तो भनेमा मुकुल हाँसेर टार्न भन्छ, ‘हैन हो, कस्तो कुरा नबुझ्या । मजाक पो गरेको !’ ऊ पनि हाँसिदिन सक्छ । भन्न सक्छ, ‘अचेल मानिसमा मजाक सहने क्षमता घट्दै गएको छ । रीस बढेर आएको छ । प्रेसर धेरै छ हो ।’ अनि जवाफमा के भन्न सकिन्छ ?

० ० ० ०

बीस दिन बिते । यति चाँडै बिते भन्ने सुरेन्द्रलाई लागिरह्यो । समयको यो एउटा स्वभाव उसलाई अत्यन्त मन पर्छ । त्यो के भने समय कसैलाई नपर्खी बितिरहन्छ । समय नबित्ने हो भने के हुने थियो ? शताब्दी उही, सन्–संवत् उही, महीना उही, गते–तारिख उही । ऋतुहरू स्थिर हुने थिए । घडीहरू टक्क एक ठाउँ रोकिने थिए । मिनेटको सुई एक ठाउँ, सेकेण्डको सुई अर्को ठाउँ र घण्टाको सानो सुई अर्को ठाउँ । जति बजे रोकिएका हुने थिए त्यति नै समय अनन्त कालसम्म बजाइरहने थिए । समय थाहा पाउनुपर्ने झमेलै हुने थिएन, जति खेर पनि एउटै समय । कारण यही हुने थियो – समय रोकिएको छ ।

बीसौं दिनका दिन ऊ तयार भयो । तयार हुनु के थियो, सधैं जस्तै मर्निङ वाकमा निस्किने त हो । पहिलो कुरा त उसले घरमा मौखिक सूचना दियो, ‘आज फर्कन अबेर हुन सक्छ । अबेरै गर्छु भनेको होइन है । अबेर हुन सक्छ मात्र भनेको ।’

घरबाट जवाफ आएन । सबै आआफ्ना काममा व्यस्त लाग्थे । तर सबैका कानमा त्यो मौखिक सूचना परेको हुन सक्छ । अनि उसले बिहान हिंड्दा लगाउने जुत्ताको फित्ता कस्यो । बाटोमा फित्ता खुस्किने गरिरहन्छ । फित्ता कुल्चेर लड्ने पनि गरिन्छ । घरकाले चेताएका छन् । तर त्यस्तो भएको छैन । अलि अग्लो ठाउँ जस्तै पसलको पेटी छानेर उसले फित्ता खुस्केको खुट्टा माथि राखेर कस्ने गरेको छ ।

बाटामा तिनै दृश्य छन् । कुनै यात्रासंस्मरण जस्तो भइरहेको थिएन । सबै त पहिलेदेखि देख्दै आएका दृश्य छन् । होटेलहरू, बीचमा राँगाको मासु बेच्ने पसल, छेउमा कुखुराको मासु, अचानोहरू, चुपीहरू र एक ठाउँ दुबी लागेर सेतै भएकी साहुनीले चिया फिट्दै गरेको, चिया खाइरहेका एकदुई जना, सडकमा ट्याक्सीहरू, फलफूल पसल, औषधि पसल ।

माथि पुगेपछि तीनकुने बाटोमा एउटी महिला सधैं झैं सडकछेउ तरकारी सजाएर बेच्न बसेकी । एक दिन उसले त्यहाँबाट जाँते पिँडालु किनेको हो । महँगो लिई । व्यावपारमा इमान छैन भन्ने उसलाई लाग्यो । पिँडालु पच्चिस रुपियाँको थियो, उसको विचारमा त्यो दश वा बढी पन्ध्रको हुनुपर्ने । पिँडालु खाने ठूलै रहरले किनिहाल्यो । महँगो लिई साहुनीले । काँठतिरकी हो कि ? भन्न नजानेर मुखमा आएजति भनेकी हो कि ? फेरि उसले आफैंलाई हप्काएर भन्यो, ‘पच्चिस रुपियाँ तिर्दैमा के तेरो हातमा केही आएन ? तीन छाक पुग्ने पिँडालु दिएकी छ । त्यति थोरै पैसामा तैंले मानिसको इमान तौलने ?’

त्यस्तै दृश्यहरू र सोचका बीच उसले यात्रा जारी राख्यो । यात्रा कठिन थिएन, कारण कुनै एड्भेन्चरमा निस्केको त थिएन ऊ । सहजै पूरा गर्थ्यो ऊ मर्निङ वाक । कहिले छोट्याउँथ्यो बढी थकित भएको दिन वा अलि लम्ब्याउँथ्यो जाँगर चलेको दिन । चरैवेति चरैवेति । हिंड्नु नियमित थियो । हिंडिराखेपछि गन्तव्य पनि पछि सर्दैनथ्यो । आज उसको गन्तव्य नयाँ थिएन तर उसले मुकुललाई भेट्नु थियो ।

आजै पो आउने हो कि होइन ? कहिलेकाहीं ठूलै अन्तरालसम्म भेटिंदैन । कहिलेकाहीं उसैले हिंडाइको स्पीड ब्रेक नगर्न नदेखेझैं तर्केर हिंड्ने गर्छ । मुकुल स्पीड ब्रेकर भइदिन्छ । रोकेर भन्न सक्छ, ‘एकेक कप चिया !’ भलाकुसारी पनि साथै हुन्छ । हिंडाइको आफ्नै चाल र ताल हुन्छ । ऊ हिंडाइको मध्यविन्दुमा हुन्छ जुन ठाउँ कसैले नरोकिदिए हिंडाइको वेग एकनासको रहन सक्छ भन्ने ऊ भन्ठान्थ्यो । हिंडाइको वेग नरोकिएपछि मात्र हिंड्नुको सार्थकता वा प्रतिफल लिन सकिन्छ भन्ने उसको बुझाइ थियो । मुकुललाई यी सब बुझाइसुझाइको मतलब थिएन, मात्र ऊ मित्रहरूप्रति सद्भाव र आत्मीयता व्यक्त गर्न एकनासले यही भन्न चाहन्थ्यो, ‘एकेक कप चिया !’

टाढैबाट मुकुलको टाउको देखियो – भीड छिचोलेर सर्दै आएको । उसलाई देखेपछि मुकुलले दोबारेको एउटा कागज हल्लायो । उसको कथा त्यही थियो । मनमा खुशी लाग्यो, उसको कथा भेटियो र फिर्ता आएछ । ऊ उफ्रन मात्र सकेन । त्यतिविधि खुशीले हर्षातिरेक हुनुपर्ने घटना पनि थिएन । एउटा कुरा यो थियो, आजभोलि एउटा कथा पनि उसको हातमा थिएन । हात रित्तै थियो । कसैले मागिहाले दिनलाई तयार कथा थिएन । तर अचेल कसैले कसैसित रचना कमै माग्छन् । आआफ्ना टिम आआफ्ना गुट लिएर गथठबन्धन गरेर बसेका हुन्छन् । सरकार पनि गठबन्धनकै चलिरहेछ । अब यो कथा घर लगेर पढ्छु र यसैलाई संशोधन गरेर छाप्न दिन्छु भन्ने थियो सुरेन्द्रको विचार ।

त्यो भीडका बीच सरिरहेको टाउकोवाल मुकुल उसको अगाडि उभिन आयो । ऊ गम्भीर थियो । उसलाई देखेपछि हाँस्यो र भन्यो, ‘त्यो मान्छे आज बिहान मात्र आइपुगेको रहेछ झापाबाट । बिहानको फ्लाइटबाट ।’

फ्लाइटबाट आयो भन्नुको मतलब त्यो मान्छे फ्लाइटभन्दा सस्तो भाडा पर्ने बसबाट आएन, प्लेनबाट सफर गर्न सक्ने हेसियतवाल थियो । मुकुल यो जनाउन चाहन्थ्यो साथै यो पनि भन्न चाहन्थ्यो होला – उसको सम्पर्कमा पैसावाल र समर्थहरू पनि छन् । यसमा सुरेन्द्रको रुचि थिएन । उसले मुकुलको हातबाट कथा लियो । मुकुलले कथा दिन हात बढाइरहेको थियो, सुस्त तानेर लिंदा फरक पर्ने भएन । मतलब अशिष्टता देखिएन भएन ।

‘फ्लाइट क्यान्सिल भएको रहेनछ ?’ सुरेन्द्रले मुकुललाई जिस्क्याउन भन्यो र साथै भन्यो, ‘कथा हेरौँ है त यसो छेउ लागेर ।’ घरै गएर हेर्न भनेको पर्खिन सकेन । उसले मुकुललाई तानेर सडकछेउको फलामे बारसम्म लग्यो र दोबारेका कागजको कथा खोलेर हेर्यो । कथा उति बैलै कम्प्युटर टाइप गरेर दिइएको रहेछ । मेल पनि गरिएको हुन सक्छ । हार्ड कपी दिएपछि मेलबाट पठाएको कथा र यो कपी भिडाएर सच्च्याउन सकिन्थ्यो । त्यति मेहनत अचेल कोही गर्दैन । गलतसलत छापिएका धेरै पाइन्छन् । कथाकारका नाताले सुरेन्द्र यो अनुभव गर्थ्यो र कहिलेकाहीँ सम्पादकलाई चिठी लेखेर गुनासो प्रकट गर्ने विचार पनि गर्थ्यो । पछि फेरि सोच्थ्यो, एउटैले मात्र गल्ती छाप्ने भए पो ! ठूलो मान्छे भएर के चिठी लेख्नु ? चल्छ ।

‘यार, चमत्कार भयो, यो कथा त त्यही कथा रहेछ । मैले धेरै दिन अगिदेखि केके न होला भनेको त ?’

मुकुल ‘एकेक कप चिया’ भन्ने तर्खरमा थियो तर सुरेन्द्रको कथनले ऊ रोकियो । कुन कथा हो त्यही कथा भनेको ? उसलाई कसरी थाहा हुने ? यसका कुरा कहिलेकाहीं सिङ न पुच्छरका हुन्छन् !

‘के भनेको यार ? कुन कथा ? कस्तो कथा ? मलाई के थाहा ?’

सुरेन्द्र एकछिन घोइरियो । मानिसहरू ओहोरदोहोर गरिरहेका थिए । सबैका हातमा किनमेल गरिएको सदा झैं एक न एक थोक थियो- गोलभेँडा, काउली, बन्दा, तोरियाँ, घिरौंला, आलु…। उसले ती सबतिर हेरिरहेका आँखा तर्काएर मुकुलको अनुहारमा गाड्यो । क्या सोचिएछ – आजको तरकारी भाउ भनेझैं तरकारीको फेहरिस्त पो याद गर्नतिर लागिएछ ।

मुकुललाई चित्त बुझिरहेको थिएन । एक कप चिया खान जाऊँ भनेको भन्नै पाइएन सुरेन्द्रले स्वीकृति दिने हो वा होइन । अनि सोध्यो, ‘कथा पढेपछि के भयो त यो ? एकेक….’

‘सुन्नु नि, म यो भन्न चाहन्थें, मैले यही कथा सोचिरहेको थिएँ । यति समयपछि पनि यही कथाको प्लट दिमागमा आउनु भनेको आश्चर्यको विषय होइन,  हँ मुकुल ?’

उसले दोस्रो पटक भन्यो, ‘चमत्कार भयो ।’ के चमत्कार ? कुनै चिट्ठा परेको त थिएन ।

‘कुन कथाको प्लट ?’

‘यही के – एउटा कथाको कथा ! त्यही लेख्ने विचारमा थिएँ । लेख्नै परेन यार, हात परिहाल्यो । थ्याङ्क्यु । हिंड, जाऊँ न एकेक कप चियाका लागि कतै !’