फेरि आयो – नयाँ वर्ष, यो हरेक पल्ट आउँछ, लाखौंले बढो तामझामले मनाउँछन्; तर यो वर्ष मणिकाको लागि केवल उदासी मात्र लिएर आएको छ । उसका दुवै नयन रसिएका छन् । वार्ड्स लेकको वरिपरि सयौं जम्मा भएका छन् आज । युवा युवतीहरू  तालको किनार किनार उफ्रिंदै फोटो लिन मस्त छन् ।

मणिका यी सबै दृश्य हेरिरहेकी छे तर त्यो भीडमा उसले आफ्नो प्रेमीलाई देख्न सकिन । आँखाहरू त्यो लेकको कुनाकुनामा पुग्छन्  तर पनि ऊ कतै छैन, कहीं छैन । बोलेको पनि सुनिंदैन । हेर्दाहेर्दै उनको मानसपटलमा पुराना यादहरू  चलचित्र झैं आउन थाल्छन् ।

० ० ० ०

त्यो दिन पनि  नयाँ वर्षको पहिलो दिन थियो अर्थात् ‘फर्स्ट जनवरी !’

वार्ड्स लेकको बिचोबीच रहेको सेतो पुलमा उभिएर मुन्तिर पानीमा सयौंको संख्यामा यताउता कुदिरहेका राता माछाहरूलाई बदाम छोडाएर खुवाउँदै आनन्द लिइरहेकी मणिकाको दुवै आँखा पछाडिबाट आएर कसैले छोपिदियो । ऊ तर्सी, झन्डै उसको पर्स पानीमा खसेको ।

‘को हो आँखा छोप्ने ?’ मीठो आभास त भयो उसलाई तर पनि कृत्रिम क्रोध प्रकट गर्दै झर्केर अंग्रेजीमा बोली, “हू इज दिस् स्टुपिड अनसिभिलाइज्ड ?”

“गेस् मी,” केटाको उत्तर थियो ।

कड्किई मणिका, “कस्तो मान्छे तिमी, झन्डै मेरो पर्स तल पानीमा खसेको । हटाऊ त हात ।”
“ऊँ हूँ, तिमी आफै हटाऊ  न ।”

उसले रिसाएर भनी,  “हेर डम्बर, म रिसाउँछु अनि चाख्ने छौ ।”

डम्बरले भन्यो, “रिसाएर त हेर ? यहीँबाट बोकेर लान्छु अनि ।”

अनि दुवैजना मरीमरी हाँस्छन् । कति सुन्दर मौसम थियो, घाम लागे पनि चिसो धेरै थियो । त्यसै पनि शिलाङ्ग, मेघालयको राजधानी, दार्जीलिङ नै भने हुन्छ । दिन खुलेपछि सयौं देशी र विदेशी पर्यटकहरू झुम्ने ठाउँ वार्डलेक नै थियो । गर्मीको वेला धेरै भीडभाड हुन्छ यहाँ, तर आज पनि मानिसहरू  कम छैनन् ।

“जाऔं पर क्याफेमा, कफी खान ।”

अनि दुवैजना अङ्कमाल गर्दै लागे ताल किनारको सानो कटेज क्याफेमा । कफी अर्डर गरेर दुवै एकअर्काको नयनमा आफूलाई हराउन थाले ।

यो वर्ष डम्बरको बी.एस.सी. को अन्तिम वर्ष हो, यस पालि ऊ घर फर्केन । अब एकै पल्ट जून-जुलाइमा फाइनल परीक्षा सकेर मात्र जाने रे । तीन वर्षअघि शिलाङ्गको प्रतिष्ठित सेन्ट एन्थोनी कलेजमा ऊ भर्ना हुँदा पहिलोचोटि मणिकाले डम्बरलाई क्लासमा देखेकी थिई । डम्बर भूटानबाट आएको विद्यार्थी थियो । पहिलो दिनको परिचय आदानप्रदान कार्यक्रममा उसले आफू  कालिम्पोङको सेण्ट अगस्टीन स्कूलबाट आई.एस.सी. सकेर आएको भनेको थियो । भूटानबाट अरू पनि आएका थिए तर साइन्स क्लासमा आउने केवल डम्बर मात्र थियो ।

मणिका स्थानीय शिलाङ्ग शहरकै बासिन्दा थिई । उनका माता पिताको स्यानो होटेल थियो जसमा उसले छुट्टीको वेला सघाउने गर्दथी । लाइतुम्ख्राह (जसलाई लाइमोख्रा पनि भन्दथे) पोष्टअफिस नजीक उसको वासस्थान थियो । आमा खसियानी र बाबा नेपाली छेत्री । जमानामा नेपालबाट आएर मेघालयमा घरजम गर्ने नेपालीहरू  धेरैले स्थानीय खसियानी (खासी) केटीहरू  विवाह गरेर बसेका थिए । मणिका सुन्दर थिई, खासी आमा जस्ती गोरी, मंगोलियन अनुहार भएकी ।

छुट्टीको दिन थियो, कलेजको पहिलो ब्रेक, गूड फ्राइडे हलिडे । मणिका होटेलको काउन्टरमा बसिरहेकी थिई । त्यतिकै वेला संयोगले तल ओरालो बाटोमा डम्बरको भूटानी समूह आएको देखी उसले । अनायास हात हल्लाउँदै आवाज दिई – “हाय डम्बर, मी हियर मणिका ।“

डम्बर झसङ्ग भयो, उनीहरू  सोझै उकालो उसको होटेलमा आए । उनीहरू  खाना खानु हिंडेका थिए राम्रो रेस्टुरेन्ट खोज्दै ।  सबैजना भित्र टेबलमा बसे । केही हाइ, हल्लो चल्यो र उसले भनी यो पुरानो रेस्टुरेन्ट हो । चाइनिज खाना खानु मन लागे आए हुन्छ । मोमो, थुक्पा र चाउचाउ बाहेक मासुभात सबै पाइने ।  खाना अर्डर भयो, र भूटानी केटाहरू  थिम्पुको होटेल नै सम्झेर भटाभट खान थाले । बियरका बोतलहरूले टेबल पनि सजिए ।

वेला वेलामा मणिकाले काउन्टरबाट डम्बरलाई हेर्थी । ऊ एकदम फरक थियो, शालीन, बलिष्ठ भुजा भएको, उच्च कोटिको व्यक्तित्व भएको, गोरो, जुँगादारी नउम्रेको वा सफाचट काटेको, सुन्दर । तर उसको पारिवारिक पृष्ठभूमि उसलाई थाहा थिएन । नाम चाहिं सुनी, डम्बर घले । कताकता उसलाई डम्बर मन परेको जस्तो भान भैरहेको थियो त्यो दिन ।

दिनहरू  बित्दै गए, कलेजमा डम्बर र मणिकाको मित्रता झ्याङ्गिंदै गयो तर खुलेर उनीहरू  “आइ लभ यू” भन्न सकिरहेका थिएनन् । कलेजमा त्यस्ता कैयौं जोडीहरू  थिए जो खुलेआम प्रेमी र प्रेमिका भएको दर्शाउँथे । कलेज प्रशासन आधुनिक थियो, अनुशासन कडा थियो, क्रिश्चियन कलेज थियो, नियमहरू पालन गर्नैपर्ने; तर पनि कलेज बाहिरको सम्बन्धमा कलेजले चासो लिंदैन थियो । त्यसैले पश्चिमी मुलुकमा जस्तो केटाकेटीहरू  स्वतन्त्र थिए, आधुनिक विचारधाराका थिए ।

डम्बरहरू  कलेजको होस्टेलमा बस्दथे, होस्टेल नभनौं  तर कलेजले नै व्यवस्था गरिदिएको निजी हाउसहरू  थिए । वार्ड्स लेक माथिको डाँडामा पारि  वृत्ताकार ससाना कटेजहरू  थिए जसलाई भूटान हाउस, नेपाल हाउस, नागा हाउस, कलकत्ता हाउस, इत्यादि नामकरण गरिएको थियो, र त्यहाँका विद्यार्थीहरूलाई एकैसाथ राखिन्थ्यो । डम्बरको समूह भूटान हाउसमा बस्दथ्यो ।

कलेज आएको वर्षको पहिलो नोभेम्बरमा डम्बरले शिलाङ्गको सुन्दरताको भरपूर स्वाद लियो । नोभेम्बरको दोश्रो हप्ता ‘इन्टरन्याशनल चेरी ब्लसम फेस्टिभल’ हुन्छ शिलाङ्गमा । चेरी फुलेर सारा सडकहरू  गुलाबी रङले रङ्गिएका देखिन्छन् । देश विदेशबाट आउने पर्यटकहरू  “वाउ, लाइक रियल जापान” भन्दै प्रशंसा गर्दछन् । फेस्टिबलको प्रत्येक दिन मणिका र डम्बर सँगै रहे, सँगै डुले, सँगै खाए । अब आइ लभ यू भन्नुपर्ने जरूरी पनि रहेन, दुवै प्रेमको गहिराइमा डुबिसकेका थिए ।

त्यस पछिका महीना र वर्षहरूमा उनीहरू  एक ज्यान दुई  शरीर भएर प्रेममय जीवनमा डुबेका थिए । डम्बरले वाचा गरेको थियो, “मणिका, फाइनल सकेपछि हामी थिम्पु जाने है !”

मणिकालाई डर थियो, “के तिम्रो प्यारेन्ट्सले मलाई स्वीकार गर्लान्, आइ एम ए गर्ल फ्रम भेरी पुअर फेमिली । “

डम्बरले भनेको थियो, “डर मलाई बाउसित मात्र लाग्छ । उहाँ भूटानको रोयल काउन्सिलर हुनुहुन्छ, व्यवहारमा झ्वाँकी, तर पनि आमाको कुरा मान्नुहुन्छ । तिम्रो फोटो मैले गत वर्ष आमालाई देखाइसकेको छु । उहाँले तिमीलाई मन पराउनु भैसकेको छ ।“

मणिकाको मनभित्र केही खुशीका लहरहरू  कुदेर गए । उसले भूटान जाने कल्पना गर्न थाली । डम्बरले आश्वासन दिएको थियो, “त्यहाँ पुगेर तिमी भूटानी बन्ने छौ, तिम्रो राम्रो क्यारियर बन्छ, हाम्रो बाबाको इन्फ़्लुएन्स चल्छ भूटानमा, तिमी बेकारी भएर घरको काम गर्ने होइन त्यहाँ । तिमी ठूलो सरकारी अफिसर बन्नेछौ वा हामी बिजनेस पनि गर्न सक्नेछौं ।“

तर त्यति सजिलो कहाँ थियो र । ऊ एकमात्र छोरी, दाजुभाइ पनि नभएको । माता पितालाई  छोडेर त्यति टाढा थिम्पु गएर आफ्नो बाँकी जीवन त्यतै विलीन गराउनु ? धेरै असमञ्जसता थियो उसलाई । यता आमाबाबालाई कसले हेर्छ ?

केही दुर्बल हिम्मत जुटाएर उसले डम्बरलाई भनेकी थिई, “तिमी नै एतै आएर बसे हुँदैन डम्बर ? तिमी धनी छौ, कुनै न कुनै बिजनेस गर एतै, हाम्रो प्रेम यहीं चेरीसितै फुलेको हो, हाम्रो जीवन पनि चेरीसितै झरोस् यहींको माटोमा ।“

डम्बर पनि बढो असमञ्जसमा परेको थियो । उसले पनि मणिकाको सुन्दर शहर छोड्न मन गरेको थिएन । माया बस्यो मणिकासित, माया बस्यो शिलाङ्गसित, माया बस्यो मणिकाको सानो परिवारसित ।

दिनभरी खल्तीमा पेस्तोल बोकेर हिंड्ने उसको बाबालाई यो पक्कै सहन हुने थिएन ।

उसले मणिकालाई आश्वासन दियो, “तिम्रो प्रस्ताव मलाई मन परेको छ मणिका, तर बाबालाई फकाउन समय लाग्छ । आमाको त के चल्छ र, मलाई शिलाङ्गमा स्थापित गराउन केवल बाबाले मात्र सक्नुहुन्छ । पहिला मलाई फर्किनु देऊ अनि म बिस्तारै मिलाउँदै जान्छु ।“

मणिकालाई फेरि शंकाले घेर्‍यो, “मिलाउँदै जान्छौ कि बिलाउँदै जान्छौ उता पुगेर ?”

बोल्दाबोल्दै उसका आँखाहरू  भरिएर आए । मोती जस्ता आँसुका थोपाहरूले वेग थाम्न सकेनन् । डम्बर पनि तरल बन्यो, आखिर उसको पनि त मुटु रुन्छ, उसले मणिकाको सम्मान गर्छ, उनीहरू  धेरै शिक्षित जोडी हुन्, ऊ चाहन्छ आजीवन मणिकाको खुशीलाई अँगालेर बाँच्न ।

समय बित्यो, फाइनल परीक्षा सकियो । अन्तिमपल्ट उनीहरू  केही पर रहेको वार्डलेक फेरि पुगे । त्यो सुन्दर तालको बीचमा रहेको काठे पुलको मध्यभागमा पुगेर हात समातेर टोलाइरहे । यो पुलमा उनीहरू  कैयौंपल्ट आएर पिरतीका कसमहरू  खाएका छन् । अङ्कमालमा क्षणहरू  बिताएका छन् ।  छुट्टिनु यस पालि  गाह्रो भएको छ, विशेषगरी मणिकालाई । पोहोर सालको जस्तो होइन यस पालि । कलेजको पढाइ सकिसकेको छ, डम्बर शिलाङ्ग छोडेर थिम्पु फर्किंदैछ ।  यस पालि गएपछि डम्बर नआउनु पनि सक्छ, आउनु पनि सक्छ । उसले त आउँछु अवश्य भनेको छ । समय जति लागे पनि पर्ख, म आउँछु आउँछु भनेको छ ।

भोलिपल्ट बिहानै गुवाहाटी जाने बसमा पस्ने वेलामा मणिकाले सुकेका चेरीका फूलहरू  हत्केलाभरी ल्याएर डम्बरलाई दिई, “यो राख है, सम्झना आउने छ मेरो । “

स्ट्यान्डबाट छुटेको बसगाडी  पारि घुम्ती नकाटेसम्म उसले डम्बरलाई हात हल्लाइरही । डम्बरले देख्यो वा देखेन तर उसको मनले भन्थ्यो उसले देख्यो । तर डम्बरले सबै देखिरहेको थियो । उसको प्रेमिकाको हल्लिएको हात देख्यो, बिछोडको पीडाले लल्याकलुलुक परेको हात देख्यो, तर ऊ पनि विवश थियो, जानु त पर्ने नै थियो आफ्नो घर, आफ्नो शहर, आफ्नो देश ।

समय बितेर गयो । केही महीनापछि कलेजको रिजल्ट निस्क्यो, दुवैजना पास भएछन् । उसले सोची, ‘अब एकदिन हाम्रो दीक्षान्त समारोह हुन्छ, डम्बर डिग्री थाप्नु आउँछ । शायद आमाबाबा पनि साथमा लिएर आउनेछ या  उसले पक्कै राम्रो समाचार लिएर आउँछ । म पर्खिन्छु उसलाई ।‘

तर डम्बर गएपछि महीनाहरू बितेर गए, डम्बरको न चिठी आयो, न फोन, न समाचार नै । कस्तो विवशता, मणिका आफै थिम्पु पुगेर डम्बरलाई खोज्न पनि सक्दिन । कहाँ हो कहाँ थिम्पु, फेरि  त्यहाँ पुग्नु इन्डिया, नेपाल गए जस्तो हो र । सजिलै कहाँ भूटानको राजधानी पुग्न सकिन्छ र । रूट परमिट कति कति लिनुपर्ने, चेकिङ गराउँदै हिंड्नु पर्ने, कति  झन्झट । फेरि डम्बर नै सम्पर्कमा नभएपछि रूट परमिट कसले बनाइदिन्छ ?

शरद ऋतु फर्किएर आयो ।  अनि शिशिर लाग्यो, नयाँ वर्षको पोहोर साल झैं यस पालि पनि शिलाङ्गमा चेरी ब्लसम बेस्सरी फुल्यो, शहर गुलाबी बन्यो, शहर सिन्दूर रङले रङ्गियो । अरू रङका चेरीहरू  पनि फुलेर शोभा बढाइदिए । घरमा बस्दाबस्दा विरक्त भएर ऊ बारम्बार वार्डलेक पुग्दै चेरी ब्लसमले रङ्गिएका बाटाहरू हेर्न पुग्थी र डम्बरसित बिताएका पलहरू सम्झँदै पाइलाहरू सुस्तसुस्त चाल्थी । तर डम्बरको कुनै खबर आएन ।

० ० ० ०

एकाएक झल्याँस्स भएर ऊ वर्तमानमा फर्की । उसका खुट्टा गलिसकेको थिए पुलमा उभिंदा उभिंदा । कुनै पर्यटकले भीडबाट अनजानमा उसलाई हल्का धक्का दिएर झसङ्ग बनाइदिएछ ।

ऊ फर्की, सुस्तरी हिंडेर त्यही पुरानो क्याफे पुगी । डम्बरसित सधैं बस्ने टेबलमा बसी अनि कफी मगाई । फेरि आँखाहरू रसाएर आए डम्बरलाई सम्झेर । अचानक यहींनिर भूटानको  नयाँ ब्याचको स्टुडेन्ट छिरिङलाई भेटी । ऊ पनि थिम्पुबाट आएकी थिई सरकारी छात्रवृत्तिमा, एन्थोनी कलेजमै पढ्न । परिचय भयो । कति राम्रो नेपाली बोलेकी छिरिङले ।  दुई बीच एकैछिनमा मित्रता बस्यो ।  छिरिङ भर्खरै आएकी रहिछे जबकि मणिकाको तीन वर्षे कोर्स सकिएर अब दीक्षान्त हुन मात्र बाँकी थियो ।

उत्सुकतावश मणिकाले छिरिङलाई सोधी, “बहिनी, डम्बर घलेलाई चिन्नुहुन्छ ? तपाईं पनि थिम्पुको, ऊ पनि त्यहीं को रे ।“

छिरिङले बज्रपात गरी, “ऊ को हो दिदी ? काउन्सिलर डाशो घलेको छोरा हो ? ऊ त मर्‍यो नि, दिदी । बाइक एक्सिडेन्ट भयो नि दिदी ।“

मणिका स्तब्ध बनी, झन्डै बेहोश भई ।  उसको कानले विश्वास गर्न सकेन छिरिङले के भनिरहेकी थिई ।  छिरिङ पनि अवाक् बनेकी थिई मणिकाको परिवर्तित अवस्था देखेर ।

बल्लतल्ल आफूलाई सम्हालेर सोधी, “छिरिङ, प्लीज भन न मलाई कसरी भयो त्यो सब, कहिले भयो त्यस्तो, ऊ मेरो क्लासमेट थियो, आइ कान्ट बिलिभ । ऊ त रिजल्ट लिनु पनि आएन रे ।  कन्भोकेशन सेरेमनीमा त आउँछ भनेर ढुक्क थिएँ म । कस्तो हाम्रो कलेजलाई उसको प्यारेन्ट्सले भनेको छैन अझै ?”

छिरिङले भनी, “उसको बाउसँग केही कारणले प्रतिदिन झगडा हुनु थालेको थियो रे । फेरि रक्सी पनि पिउनु थालेछ ।   केही काम छ भनेर बाइक लिएर फुन्छोलिंग जाँदै थियो रे, गेदुनिरको पुतली भीरबाट बाइकसितै तल खसेर मरेछ नि, दिदी । पाँच महीना हुनु आँट्यो त दिदी ।“

त्यसपछि मणिकाले अरू  सुन्न सकिन । हतार हतार कफीको पैसा तिरेर हुत्तिएर बाहिर निस्की, त्यही बाटोतिर लागी जुन बाटोभरि चेरी ब्लसम फूलहरू  एक महीना अगाडीसम्म ढकमक्क फुलेर शहरलाई दुलही बनाइदिएका थिए । सोचेकी थिई शहरसँगै अर्को नभेम्बरमा ऊ पनि यसरी नै डम्बरकी दुलही बन्न सक्छे ।

उसले सोची, शायद उसकै दोष होला डम्बरको अकाल मृत्युमा । शायद उसकै प्रस्तावमा बाबुसित खटपट भयो होला र ऊ मानसिक रूपमा विचलित बनेको थियो होला । किन मैले यो दुःखद समाचार पहिला सुन्न पाइनँ । किन डम्बरले ती वाचाहरू  बिर्सेर मलाई छोडेर गयो ।  किन तीन वर्ष पनि नपुगेको हाम्रो प्रेममा बिछोड भयो ।

पछाडीबाट आएका पाइलाहरूको आहट सुनेर ऊ टक्क अडिई । छिरिङ आएकी रहिछ पछ्याउँदै । वार्ड्स लेकको पानीबाट आएको सिरेटोबाट जोगिन उसले मजेत्रो टाउकोमा कसी ।

“बाइ द वे, दिदी , आइ केम टू नो योर अफेयर विथ डम्बर दाजु । सो स्याड । एनी वे, लाइफ इज लाइक दिस, दिदी । कस्तो ट्रेजेडी भयो नि हजुरको लाइफमा । आज त फस्ट जनवरी हो, – आइ विश यू ह्यापी न्यू इयर, दिदी” ।

छिरिङका पाइलाहरू  फर्किगए, मणिकाका पाइलाहरू  सुस्तरी अघि बढे, सडक किनारमा खडेरीले नाङ्गिएका चेरी ब्लसमका बोटहरूमा अब केही निखार थिएन, त्यहाँ बर्षेनी आउने झलमल्ल बहार थिएन ।  उसले अनुभव गरी अब उसको जीवनमा पनि कुनै निखार बाँकी रहेन । कति छिटो प्रेमीसित बिदा हुनुपर्‍यो ।

नयाँ वर्षको आगमन सँगै यो मेघालयको राजधानी हेर्न आउने सयौं पर्यटकहरू  मौसम राम्रो रहेकोले वार्ड्स लेकमा झुम्मिएका थिए ।  आफै खुट्टाले पेडल चलाउने सानासाना डुङ्गाहरूमा हनिमून मनाउने जोडीहरू  पुल मुनिबाट छिरेर अर्कोतिर बगिरहेका थिए । यत्रतत्र सेता र काला हाँसका जोडीहरू  तैरिरहेका थिए ।   तालको वरिपरि किनार किनारमा ढुङ्गा ओच्छ्याएर बनाइएको सुन्दर र लामो फुटपाथमा मानिसहरू  रमाउँदै, ठट्टा गर्दै, फोटो खिच्दै हिंडिरहेका थिए ।  मौसम खुलेको भए पनि हुस्सु परबाट आउँदै थियो ।  चिसो धेरै बढ्दै गएको थियो ।
पोहोर साल पनि पहिलो जनवरीको दिन यहीँ  बाटोमा हिंड्दा डम्बरले भनेका शब्दहरू  सम्झनामा आइरहे, “ह्यापी न्यू इयर माइ लभ ।”  अनि उसले बेस्सरी अङ्कमाल गरेको थियो मणिकालाई ।

आँखाभरी आँसु लिएर वार्ड्स लेक पछाडि धेरै टाढा अलिक हाइटमा रहेको ‘भूटान हाउस’ तिर नजर गयो मणिकाको । कतिपय साँझहरूमा लेक घुमिसकेपछि डम्बरलाई छोड्न त्यो घरसम्म पुगेकी थिई ऊ ।  अब त केवल डम्बरको सम्झना मात्र रह्यो ।

जबर्जस्ती रोकेर राखेको आँसुको बाँध फुटिसकेको थियो ।  अविरल बग्न थालेका थिए डम्बरसितका यादहरू,  बगेर गइरहेका थिए पहिलो प्रेमका गाथा, कथा र प्रेमिल वाचाहरू ।

सलको फेरोले नयन पुछ्दै यति मात्र फुसफुसाउन सकी मणिकाले, ‘ह्यापी न्यू इयर माइ लभ, रेस्ट इन पीस’ ।