के गर्छौ तिमी, म पनि तिमी जस्तै अर्कैको अंगालोमा बेरिएँ भने ? मैले पनि तिमीले जस्तै भीडमा अर्कैको हात समाएँ भने, बाध्यताको नाम दिएर आफ्नो भोग मेटाएँ भने, विवाहको पिँजडा तोडी आफ्नो शरीर र प्रेम अरूलाई नै कब्जा गर्न दिएँ भने, सोचिबस्छु मेरो खुशी जस्तै तिम्रो पनि खुशी मलामी गयो भने, के गर्छौ तिमी ? के चाहिँ गर्छौ ?

शिशिर ऋतुको कठ्याँग्रिने तुसारो, बिहानीको बाक्लो हुस्सुलाई छिचोल्दै गाडीले आफ्नो रफ्तार बढाइरहेको थियो । छेउको सीटमा बसेकी थिइन् । वेला वेला हेरिरहेको थिएँ उसले थाहा नपाउनेगरी । ऊ अर्धबैंसे नारी,  म विवाहित पुरुष । धरानबाट शुरू भएको यात्रा मुग्लिन आइसकेको थियो, हाम्रो मौनताका बीच ।

केही नसोची उनलाई भनिदिएँ, ‘तिमी मेरो घर जान्छौ ?’

उनले प्रतिक्रिया दिइनन् । मलाई जिस्किन मन लाग्यो । हुन त यो राम्रो हैन तर उनको आकृतिले मलाई ठट्टा गर्न बाध्य बनाइरहेको थियो ।

प्रश्न फेरि दोहोर्‍याएँ, ‘तिमी मसँग जान्छौ ?’

यस पटक भने उनको भावभङ्गीमा परिवर्तन आयो ।

शान्त स्वभावकी जस्ती देखिने उनले रुखो स्वरमा भनिन्, ‘तिमी तिम्री स्वास्नीलाई डिर्भोस दिन्छौ ? तिम्रा छोराछोरीलाई यही तिम्री आमा हो भन्न सक्छौ ? तिम्रो समाजमा मलाई श्रीमती हो भन्न सक्छौ ? कति न आइमाईको गन्ध आउनै नहुने गिद्धहरू ! घर जाऊँ भनी सोध्छ ।’

उनको तर्कको गहिराइ कति थियो मैले नाप्न उचित ठानिनँ । हल्कामा लिँदै फेरि भनेँ, ‘हिँड न मेरो घर जाऔं ।’

‘तिमी जस्ता गिद्धहरूको विश्वास गरेर जीवनलाई नर्क बनाइदिएँ । के सोच्छौ आइमाईलाई तिमी पुरुष ? तिमरको उपभोग्य वस्तु वा साधन ? हाओ ! कुन आँटले भन्न सक्यौ मेरो घर जान्छौ भनेर ? तिमरू लोग्ने मान्छे सबै पागल !’

उनको लवजमा पुर्वेली भाका आउँथे । उनको आँखामा लुकेको अदृश्य पीडा एकाएक बाहिर आउन खोजे झैं आभास हुन्थ्यो, देख्ने जो कोहीलाई । उनलाई शान्त पार्ने कोशिश गर्दै मैले भनेँ, ‘मेरा आफन्ती कोही नि छैनन् । श्रीमती म विदेश गएको वेला अर्कैसँग गई, छोराछोरी छैनन् ।’ मैले आफ्नै कल्पनाको कुरा गरिदिएँ तर यी सब झूट किन बोलिरहेछु । उनलाई फकाउन खोज्ने षड्यन्त्र मात्र हो शायद ।

उनी फेरि मौन भइन् । त्रिसुलीको बगरै बगर अनेकन् घुम्ती पार गर्दै गाडीले आफ्नो यात्रा पूरा गर्न लागिसकेको थियो । धादिङको नौबिसेमा म झर्नु थियो । मेरो कोशिश उनको फोन नम्बर लिनु मात्र होइन दुई चार दिन यसैगरी यात्रा गर्नु थियो । तर सकिनँ । उनको शालीन आकृतिलाई मनमा राखेर उत्रिएँ ।

* * * *

समयले नेटो काट्दै गयो । छोराछोरी र श्रीमतीका माग पूरा गर्दागर्दै मेरो दिन बित्थ्यो । कति रात उनलाई सम्झिएर बिताउने गर्थें । यात्रामा धेरै सहयात्री भेटिए तर ती सबैसँगको सम्बन्ध एक रातमा सकियो । उनलाई त त्यहाँसम्म नि पुर्‍याउन नसकी म सम्झनामा रोएको थिएँ । के खोजिरहेको आफैलाई थाहा हुँदैन थियो । किन उनलाई त्यति धेरै सम्झन्थे ? थाहा थिएन ! गोरो वर्ण, गोलो अनुहार, ठूलाठूला अलिअलि गडेका आँखा, कर्ली कपाल, केही होचो कद, हेर्दा ३५–३६ वर्षकी देखिने त्यो आकृतिले मलाई झस्काइ रहन्थ्यो । एकान्तमा खोजिरहन्थ्यो ।

हुन त मलाई खाँचो थिएन कुनै स्त्रीको । घरमा रानी जस्तै सजिएर बसेकी श्रीमती थिइन् । छोराछोरी कलेज पढ्न थालिसकेका थिए । सबैको आवश्यकता पूरा गर्दागर्दै शरीर बूढो भइसकेको थियो । ५० औं वसन्तको हाराहारीमा पुगेको मभित्र वेलावेला शून्यताको आभास हुन्थ्यो । मेरा अव्यक्त पीडा उनलाई सुनाउन मन थियो । म पनि यो सामाजिक गोल चक्करबाट बाहिर निस्किएर रमाउन, हराउन चाहन्थें । तर उनी को थिइन् ? त्यो सम्म थाहा थिएन । म परिवारको यन्त्रचलित मेशिन भइसकेको थिएँ । दोस्रो प्रेम गर्ने मन पनि कहाँ खाली थियो र ! सबै भरिपूर्ण । शायद मान्छेको सबैभन्दा ठूलो शत्रु यादहरू नै हुन् । जसले बिना ठाउँ दिलको भित्ता खोतलेर आफैं ठाउँ बनाउँछ, दुखाउँछ, तड्पाउँछ र सधैँलाई रुवाएर जान्छ ।

बिहान, दिउँसो, साँझ र रात गर्दै समयले आफ्नो चक्र पूरा गरिरह्यो । म फेरि अफिसको कामका लागि तेह्रथुम जाँदै थिएँ । बिहानी पख पूर्वबाट सूर्यले आफ्नो किरण फिँजाउँदै थियो । माथिमाथि जङ्गलमा फुलेका रङ्गीचङ्गी गुराँसले एकर्कामा प्रेमिल स्पर्श गर्दै रमाउँदै, हराउँदै, माथिपट्टिको लमतन्न परेको कञ्चनजङ्घालाई स्पर्श गरेको दृष्यमा रमाइरहेको थिएँ ।

लसुनेबाट त्यो आकृति पुनः गाडी चढ्यो जुन मैले दिनानुदिन सम्झिरहेको थिएँ । उनको दुई आँखाका बीच नाकमा रहेको चोटले मैले उनलाई चिनिसकेको थिएँ । कति धेरै बोल्न मन थियो । अँगालोमा बोरेर धेरै बेर रुन मन थियो । म घरैमा छु, परिवारसँगै छु तर एक्लो छु, मेरो अव्यक्त प्रेम बुझिदेऊ, मेरो दुःख पोख्ने साथी बनिदेऊ भन्न मन थियो । मानौं उनी मेरी बाल्यकालकै प्रेमिका थिइन् । मैले आफ्ना अव्यक्त पीडा पोखिरहेको आभास भइरहेको थियो ।

यतिकैमा उनले भनिन्, ‘भाइ झ्यालतिर सर ।’

के खोज्छस् साथी, आँखा भनेझैँ म केही नबोली पर सरिदिएँ । मौनताका बीच मैले उनलाई मनमनै कति पटक श्रीमती बनाएँ गन्न नै सकिनँ । गाडी म्याङ्लुङ पुगिसकेको थियो ।

उनी पिप्पले जाने बाटो तिर मोडिइन् । म होटल ब्लु हेवन  । अझ उनको बारेमा बुझ्न मन भो । उमेरले काँचुली फेरिसकेको म, १६ वर्षे बैँसालु प्रेमीमा रूपान्तरण हुँदै  रात बिताएँ । घरबाट बारम्बार फोन आइरह्यो उठाउनसम्म जाँगर चलेन ।

जुन कार्यक्रमका लागि म त्यहाँ पुगेको थिएँ त्यही कार्यक्रमको सञ्चालिका उनी थिइन् । नाम राधा ! उनी साँच्चै मेरी राधा थिइन्,  भगवान् कृष्णकी जस्तै मेरी राधा ।  म उनलाई अँगाल्न  चाहन्थे तर सामाजिक प्रतिष्ठामा आँच पुग्ने डरले परै बसें । उनले कार्यक्रममा कार्यपत्र पेश गर्दै एक वर्षमा आफन्तबाट बलात्कृत भएका चार वर्षमुनिका बालिकाको संख्या ३०, १६ वर्ष मुनिका ४२, १६ वर्ष माथिका १०५, श्रीमानबाटै बलात्कृत हुने …. एवंरितले उनले तथ्याङ्क  सार्वजनिक गर्दै गइन् ।

निर्धारित समयपछि म आफ्नै घर फर्किएँ उनको मीठो र नयाँ सम्झना बोकेर । बाटोमा मन भारी भइरह्यो ।

बरमझिया पुगेपछि अर्को सीटमा बसिरहेको अर्धबैंसे (हामी बीच आउजाउ बाटो थियो) ले भन्यो, ‘साला यो ४० कटेपछिको लब पनि खप्न नहुने रहेछ ? म ५५ वर्ष पुगेँ उनी त्यस्तै ४०को हाराहारीमा होलिन् । फोनमा खूब रमाइलो कुरा हुन्छ । हेर्नुस् न मेरी गर्लफ्रेन्ड कति राम्री छे भर्खर नारायणघाट तीन दिन घुमेर आएको फेरि पोखरा लैजाऊ भन्दै छे ।’

यति भनिसक्दा नसक्दै ऊ आफ्नै पारामा उत्ताउलो हाँसोको फोहोरा छुटाउँदै त्यै उसकी प्रेमिकासँग कुरा गर्न थाल्यो । मैले खासै वास्ता गरिनँ । देखाएको फोटो पनि हेरिनँ । मनमनमा कस्तो उत्ताउलो बूढो रहेछ भन्दै सम्झिएँ । तर आफ्नै हालतले मलाई चिमोटिरह्यो ।

बिहानी घामको मिरमिरेलाई पृथ्वीले स्वागत गर्ने तयारी गर्दै थियो । क्षितिजमा उषाका लालीले पखेटा फिँजाइसकेको थियो । हामी काभ्रेको भकुण्डेवेसी आइसकेका थियौं । ऊ अझै कलमा थियो । अहिले भने मेरो ध्यान उसको कलमा गयो । बुढाले भिडियो कलमा कुरा गरिरहेको रहेछ । आफ्नो तर्फको भिडियो भने म्युट गरेको थियो । तर केटीको निर्वस्त्र शरीरका हरेक अङ्ग सीट छेउछाउमा बसेकालाई सार्वजनिक गरिरहेको थियो ।

भन्दै थियो, ‘मेरो सुनको अण्डा दिने मुर्गी । भाइसाप हेर्नुस् त कति राम्री छे । उसको जवानी अहिले पनि १६ वर्षेभन्दा कम छैन । खूब रमाइली छे ।’

चासो राखेजस्तो गरेको मेरो व्यवहार बुझेर मलाई पनि प्रेमिकाको निर्वस्त्र भिडियो देखायो । उसकी प्रेमिकालाई हेर्नासाथ मलाई पृथ्वीले किचे झैं आभास भयो । वाक्क भएँ । केही भन्न नै सकिनँ । आफ्नै सीटमा कतै बिलाइदिऊँ जस्तो लाग्यो ।  मेरो रुद्रघण्टी नै अवरुद्ध भएर आयो । विवाहको २१ औं वर्षसम्म कहिल्यै कुनै उपहार मागिनन् । कहिल्यै कुनै गुनासो गरिनन् । मसँग ठूलो स्वरले सम्म बोलिनन् । आऊ भन्दा आइन् । जाऊ भन्दा गइन् । मानौं उनको नियन्त्रक नै म थिएँ । मेरो घर परिवारलाई सम्हालेर बसिन् । मेरो धोतीटोपीदेखि हर खुशी सम्हालेर मलाई म बन्न प्रेरणा दिइन् तर आज एक पुरुषका अगाडि कसरी नाङ्गिइन् ? कोही पुरुष छेउमा आएर बस्दा समेत गाली गर्ने उनले यो परपुरुषको कसरी बनिन् ? किन उनले सोचिनन् म उनकै खुशीको लागि दिनरात नभनी मेहनत गरिरहेको छु ? उनले मेरो संघर्षलाई बुझिनन् । अनेकन् सवालले मलाई गाँजेर ल्यायो ।

एकैछिन अगाडिसम्म राधाको प्रेमिल सपना देखिरहेको मेरो मानसपटलबाट एकाएक राधा, कमला, गीता सबैको नाम धमिलो भएर गयो । मैले सोची मात्र रहें उनको दिलको कुन कुनामा परपुरुषले ठाउँ बनाउन सफल भयो, कसरी सफल भयो ? के बाध्यताले मैले समय दिन नसक्दाको मेरो अभावमा उनले जिन्दगीको घुम्ती अन्तै मोडिन् ?