
रातको करीब १ बजिरहेको छ । मनभित्रको कुरा सुनिने गरी सन्नाटा व्याप्त छ । म वल्लोपल्लो कोठाका सबै सुतिसकेको अनुमान लगाउँछु र कुनाको गरिमाको कोठाभित्र लुसुक्कै छिर्छु । उसैको बिस्तरामा हामी एकर्काका आलिङ्गनमा बेरिन्छौं । पुसको यो चिसो रातमा, एकर्काका देह तापले हाम्रो सबै सामाजिक मर्यादाको साँध सीमालाई पगाल्दै लान्छ ।
त्यो घटेको आज एक महीना पुग्छ तर सहज तवरले बित्दैनन् यी दिनहरू । गरिमाको श्रीमान् भीषण आठ महीना अगाडि नै साउदीमा पसिना चुहाएर आफ्नो घर गृहस्थी गुलजार बनाउन गएको थियो । कुन्नि कसरी उसले हाम्रो बारेमा थाहा पाउँछ, पत्तो छैन ।
त्यस रात, मेरै कोठा छेउकी शान्ति दिदी, म गरिमाको ढोकानिर पुग्न लाग्दा एक्कासि आफ्नो कोठाबाट बाहिर निस्केकी थिई । हाम्रा आँखाहरू ठोक्किन पुगेका थिए । मैले रन्थनिएर हतारहतार छेउनिरकै टोइलेट छिरे जस्तो त गरेँ । शायद दिदीले त्यति वेलासम्म कुरोको चुरो बुझिसकेकी थिई । त्यही दिदीले भीषणलाई कतै पोल लाइदिइन् कि ? आखिर दुवै जना फेसबुकमा साथी छन् नै । फेरि गरिमा र मलाई सँगै देखेर हाम्रो पछाडि मनमौजी कुरा काट्नेहरू घरभित्र मात्र होइन टोलभरि नै प्रशस्त छन् ।
जे जसरी भए पनि भीषणले हाम्रो बारेमा थाहा पाउन पुग्छ । ऊ झन्डै छ फुटे भएकोले अजङको देखिन्थ्यो तर मान्छे शारीरिक बान्की अनुरूप मानसिक रूपमा पनि उस्तै हुन आवश्यक नहुँदो रहेछ । विदेशमै रोडमा हुइँकिंदै आइरहेको गाडीअगाडि हाम फालेर उसले आफ्नो इहलीला समाप्त गरेछ ।
यता गरिमा पनि उसको खबर थाहा पाएपछि, हंस उडेको खोक्रो शरीर झैं भएकी थिई । आज तीन दिन भयो उसको कोठामा बडेमाको ताल्चा झुन्डिएको । बाहिरको झ्यालबाट चियाउँदा भित्र सामान भने सबै यथावत् नै छन् । शायद यो सब सहन नसकेर ऊ माइततिर पो गई कि ?
भीषणले मेरो मनमा पनि कहिले हलुङ्गो नहुने पापको बोझ बोकाएर गएको छ । बोलचाल ठीकठाक हुन्थ्यो हाम्रो, ऊ नेपालमै हुँदाखेरि । घनिष्ठ सम्बन्ध नभए पनि ऊ मान्छे सरल र सोझो लाग्थ्यो । ओठमा फराकिलो मुस्कान र अनुहारमा मीठो सहजता सधैं सुहाउँथ्यो उसलाई ।
पुस २७ गते, राष्ट्रिय एकता दिवसको दिन थियो त्यो । गरिमाको स्कुटी लिएर भीषण र म न्युरोड गएका थियौं । उसको लागि उपन्यास र मलाई जुत्ता किन्न । साहित्य रसिक थियो ऊ । उसले त्यो दिन दुई तीन वटा उपन्यास किनेको थियो जसको नामहरू मेरो स्मृतिमा धमिलो भइसकेको छ । फर्किने वेला हामी एउटा चिया पसलमा छिर्यौं र चिया अर्डर गर्यौं । एकछिन पछि ऊ मन्द मुस्कुराउँदै अघि किनेको किताबहरूमा त्यो दिनको मिति लेख्न थाल्यो । आ–आफ्नो बानी होला । घाम मत्थर भएर चिसो बतासले गालामा चपेटा लाउन थालिसकेको थियो । बल्ल तात्तातो दूध चिया आइपुग्यो । सीसाको गिलासमाथि उडिरहेको चियाको बाफ हेरेरै हाम्रो तनमन न्यानो भएको थियो ।
मान्छे देवताको घर पुगिसकेपछि मात्र ऊ देवतातुल्य लाग्दो रहेछ । ती भाव क्षणभङ्गुर भए तापनि । जे होस् भीषणलाई यो बीभत्स कदम चाल्न उक्साउने दोषी मै हुँ । उसको सुखपूर्ण संसारमा प्रलय ल्याउने पनि मै हुँ । गरिमासँग क्षणिक दैहिक सुखको जालोमा म यसरी जेलिए कि त्यस जालोबाट उम्कन अब मलाई घोर मानसिक सकस भइरहेको छ ।
जीवन त पहिले नै तार चुँडिएको सारङ्गी जस्तै थियो । कुनै ध्वनि, झङ्कार र मिठासरहित । सोचे, चिताए जस्तो केही नभएकोले भविष्यका दिनहरू सोच्दै हतासिन्थें म । गीत गाउने, संगीतकार बन्ने, बिस्तारै यश र पैसा पनि कमाउने सपना देखेको थिएँ । पाँच वर्षदेखि यो चिसो खाल्टोभित्र चिसा मान्छेहरूको भीडबीच संघर्ष गर्दैछु । तर यो सफलता भन्ने जिनिस पनि यही शहरको कुनै लम्बेतान जाममा अड्किए जस्तो छ । यो सब छाडेर गाउँ फर्केर जाऊँ पनि कसका लागि ? परार साल बा, आमा र भाइ राति सुतिरहेकै वेला घरसहित पहिरोको रौद्र आलिङ्गनमा विलुप्त भए । जसोतसो खोलाबाट बगरमा उछिट्टिएको माछा जस्तै भए पनि बाँची नै रहेको थिएँ । केवल त्यो रात मैले आफूलाई आफ्नो इन्द्रियहरूको साङ्लोमा जकडिनु नदिएको भए, आज मेरो आत्मा यसरी हीनताबोधको कैदी हुने थिएन । मेरो कारण एक निर्दोष मान्छेले अकालमै संसार छाड्नुपर्ने थिएन । एउटा सानो परिवार बर्बाद हुने थिएन ।
हरे.. सम्झिँदा त फोक्सोभित्र सास तानिराख्नु पनि अपराध झैं लाग्छ । वरिपरिको संसार हेर्नु जघन्य लाग्छ । आफू बाँच्नुको अब कुनै अभिप्राय देख्दिनँ म । भोलिको सूर्य सबैको लागि उदाउला । सबैको जीवन उजिल्याउला तर मेरो संसार उजिल्याउने सूर्यमा त अटल खग्रास ग्रहण लागिसकेको छ । त्यसैले आफ्नो जीवनलाई अब मैले अस्ताउने निर्णय गरेको छु । जगतले कायर, हुतीहारा त भन्ला तर मरेपछि डुमै राजा ।
माथि घामलाई पालो दिन जून लागिसकेको छ । त्यही जूनलाई आफ्नो कोठाको झ्यालबाट एकोहोरो हेर्दै म खाटमा पल्टिरहेको छु । कोठामा मुर्दा शान्ति ठसाठस छ । धन्न वल्लोपल्लो कोठाबाट आएको हल्लाले वातावरणलाई मसानघाट प्रतीत हुने अवसर दिएको छैन । टाउकामा अझै घन बज्रिए झैं भइरहेको छ । सबै सुख, चैन निचोरिएर मन कक्रक्क भएको छ । निधारबाट फुटेको पसिनाको मूल बग्दै छातीसम्म झरेको छ, जहाँ मेरो सानो मुटु हाडमासु नै फुटाएर पड्किने गरी जोडले धड्किरहेको छ । मलाई असह्य हुन्छ । म ढोका ड्याम्म बन्द गरेर चुकुल लगाउँछु । पर्दाले झ्याललाई वल्लोदेखि पल्लो कुना पूरै ढाक्छु । ह्यांगरमा झुन्डिरहेको लामो गलबन्दी निकाल्छु । छेउको टूल तानेर त्यसमाथि चढ्छु र माथि पंखा झुन्ड्याउने हूकमा गलबन्दी कस्न थाल्छु ।
तत्क्षण परको सानो टेबलनिर खन्द्रङ्ग आवाज हुन्छ । टेबलमाथि धूलो जम्न थालेको हार्मोनियममा मेरो दृष्टि जान्छ । मेरा हात र मन सँगसँगै स्थिर हुन्छन् । एकाएक चामलको बोराछेउ राखेको मुसा थाप्ने ग्लु ट्रैपमा मेरो नजर जान्छ । म टूलबाट झर्छु र त्यसलाई बाहिर फोहोर राख्ने बोरामा कोचेर आउँछु । एक्कासि पेट दुख्न थाल्छ । फेरि हडबडाएर ट्वाइलेटतिर दगुर्छु ।
पेट हल्का भयो तर मनको अवस्था त पूर्ववत् नै छ । फेरि घबराहट र बेचैनीले छोप्दै लान्छ । कर्म गुनाको फल होला ? अकस्मात् झुन्डिए पछि आफ्नो आँखा र जिब्रो बाहिर निस्किरहेको भयावह झल्कोले मुटु सिरिङ्ग बनाउँछ ।
एकछिन सोचेर आफ्नो पर्सबाट सधैं बोकिरहने ब्लेड निकाल्छु र खाटमा बस्छु । पुसको ठिहिर्याइमा पनि पसिनाले ढाड चिसिन थालेको छ । आफ्नो ढुकढुकी सुन्नलाई अहिले मलाई कुनै स्टेथोस्कोपको दरकार छैन । तुरुन्तै मलाई बाटोमा दगुर्न निस्किऊँ झैं भइरहेको छ । आखिर म जोडले आँखा चिम्म गरेर मनमनै समस्त देवीदेवताहरू सम्झिन्छु । हातको ब्लेडलाई बुढी र चोरी औंलाले नाडीनिर पुर्याउनै लाग्दा..
ठक् ठक् ठक् ।
ठक् ठक् ठक् ।
बाहिर कसैले ढोका ढकढक्याउँछ । आत्तिएर म ब्लेड हत्तपत्त ज्याकेटको गोजीतिर हुल्छु र ढोका खोल्छु । डरको चुली किञ्चित पग्लिन्छ । छेउ कोठाकी शान्ति दिदी हातमा कचौरा र ओठमा मुस्कान लिएर उभिरहेकी छिन् ।
“अर्जुन भाइ, खाना खानुभो ?”
“अब एकछिनमा खाने दिदी ।” मनको पीँधबाट मुश्किलले मुस्कान ल्याउँदै म भन्छु ।
“यो सुँगुरको मासु खानु है..”, उनी तरकारीको कचौरा मतिर बढाउँछिन् ।
दिदीले मेरो कोठाभित्र चियाउँछिन् । र्याकमाथिको चुलो खाली छ । बाटामा जुठो कराई, कुकर र भुइँतिर थाल बटुको असरल्ल छन् । मुस्कानको तीव्रता अलि कम गरेर दिदी फेरि भन्छिन्, “साँच्ची एउटा काम थियो भाइ.. हाम्रो कोठाको ट्युबलाइट फेर्दिनु न । नयाँ लिएर आएको अघि ।”
मसँग अरू विकल्प हुँदैन । अन्तिम घडीमा कसैको सानै भए पनि सहयोग गरूँ भन्ने लाग्छ । तरकारीको कचौरा आफ्नो र्याकमाथि राख्छु । सिरानी छेउबाट टोपी तानेर लाउँछु र शान्ति दिदीको कोठा छिर्छु ।
भर्खर बनाएको सुँगुरको मासुको बास्ना कोठाभरि रङमङिएको छ । जसमाथि दिदीले लाउने लेयर सेन्टको बास्ना हाबी हुँदैछ । ट्युबलाइटको ट्युब शट भएकोले कोठामा एउटा सानो चिम मात्र बलिरहेको छ । म प्लास्टिकको कुर्सीमाथि चढ्छु । पुरानो ट्युब निकालेर नयाँ ट्युब लगाउँछु । छ्याङ्गै बलेको ट्युबलाइटले चिमको मधुरो प्रकाशलाई गिज्याउँछ । दिदी पनि कोठासरह नै उज्यालिन्छिन् । मेरो आँखा एकछिन तिरमिराउँछ । म भुइँमा झर्छु ।
कोठाबाट निक्लिनै लाग्दा सहसा दिदीको सानो र्याकमाथि, अझ र्याकमाथिको किताबमाथि मेरो आँखा जान्छ । म त्यहाँ ‘मसान’ नाटकको किताब देख्छु । किताब देखेर म अनायास भीषणसँग न्यु रोड गएको त्यही दिन सम्झिन पुग्छु । हातहरूले थाहै नपाई त्यो किताब सुमसुम्याउन थाल्छन् । ए हो त.. उसले पनि त्यहाँ किनेका किताबहरू मध्ये एक ‘मसान’ पनि त थियो ।
“पढेछौ यो नाटक ?” शान्ति दिदीले झसङ्गै बनाउँछिन् ।
“हँ.. छैन । यसै हेरेको..”
“पढ, पढ्ने भए.. एकदम राम्रो छ । लोग्ने मान्छेको दोहोरो चरित्र र स्वार्थी प्रेमबारे हो यो नाटक ।”
दिदीको कुरामा विशेष ध्यान नदिई म किताबको आवरण पल्टाउँछु । पहिलो पृष्ठमा म जे देख्छु, त्यसले मेरो आँखा शूलझैँ तीखो हुन पुग्छ । कान टुङङग.. गरेर बजेझैं हुन्छ । त्यहाँ २०८०–९–२७ को मिति लेखिएको छ । ठ्याक्कै भीषणले न्युरोडमा किताब किनेकै मिति । मलाई भाउन्न हुन खोज्छ ।
“यो किताब त भीषण दाइको होइन र ?” दिदीलाई ठाडै सोध्न पुग्छु ।
हेर्दाहेर्दै दिदीको अनुहार कालो भइजान्छ । बोल्नलाई शब्द तलास्दै उनी दायाँबायाँ नयन गेडीहरू नचाउन थाल्छिन् ।
“कहाँ हुनु.. मेरै हो ।” कराइमा पन्यु चलाउँदै, अकमकिंदै दिदीको बक फुट्छ ।
उनको मुखको बोली र अनुहारको भावमा जस्तै लठेप्रोले पनि पृथकता पाउन सक्छ । म अनायास भीषण र शान्ति दिदीले फेसबूकमा एकर्काका फोटोमाथि गरेको लभ रियाक्ट, थुप्रै पटक गरिमा नहुँदा दुवैले एकर्काका कोठामा ढिलासम्म गर्ने गफगाफ र हँसीमजाक सम्झिन पुग्छु । यस्ता थुप्रै त्यतिवेला स्वाभाविक जस्ता लाग्ने चीजहरू अहिले पूरापूर अस्वाभाविक लाग्दै जान्छन् ।
म अब त्यो कोठामा एकछिन अडिन सक्दिनँ । त्यो किताब त्यही र्याकमाथि राखेर दिदीलाई केही नभनी म वायु वेगमा कोठाबाट निस्किन्छु । आँगनमा आएर जुत्ता लाउँछु । शान्ति दिदी आत्तिँदै बाहिर आउँछिन् र अनुहार खुम्च्याउँदै मलाई हेर्न थाल्छिन् ।
म मूल ढोकाबाट बाहिर निस्केर छिटछिटो लम्किन थाल्छु । १० मिनेटपछि हिँड्दै म बागमती खोलानिर आइपुग्छु । रातिको चिसो पवनले दिमाग ठन्डा र मन शीतल हुन्छ । मनको निस्पट्ट अँध्यारोमा जुनकिरीहरू उड्न थालेझैँ हुन्छ । जाडोले हातका औंलाहरू ठिहिर्याउन थाल्छन् र ज्याकेटको गोजीभित्र हात हाल्छु । अघि गोजीमा राखेको ब्लेडले झन्डै औंला भेट्छ । म ब्लेड निकाल्छु । त्यसलाई हेर्दै एकछिन घोत्लिन्छु । लामो सास तान्छु अनि फेरि कहिले नभेटिने गरी त्यो ब्लेडलाई सुसेल्दै बगिरहेको बागमतीमा हुर्याउँछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

