
दुई बालख छोरालाई लिएर बिमला सीता दिदीको घर आइन् । दुब्लो जीउमा चिप्लो सारी लाएकी, बान्की परेको अनुहार भएकी बिमला परबाट झट्ट देख्दा राम्री राम्री देखिए पनि नजिकैबाट हेर्दा भने कालो डीलमा गडेका आँखा, फुस्रा हात, फुटेका औंला र बिग्रिएका नङले गर्दा दीन-दुःखी देखिन्थिन् ।
गहभरी आँसु पारेर बिमलाले भनिन्, “सीता दिदी, म त अहिले यता न उताकी भकी छु । आफ्नै दिदी भएर पनि के गर्नु, कमलाले मलाई निस्केर जा भनी । यी काखका छोरालाई ओत लाग्ने छानो पनि छैन । तपाईंकैमा बस्न दिनु दिदी दुई चार दिन, नभए यी बाला मर्छन् !”
“मेरामा त ठाउँ भए पो बस्छ्यौ ! अहिले कहाँ बस्दै छ्यौ त ?”
“हिजो रातिसम्म त कमलाकैमा थिएँ, तर अस्तिदेखि निस्केर जा भन्न थाली ! आफ्नै दिदी हो ता नि, तर के गर्नु, उसको पनि आफ्नो व्यवहार छ ! हिजो त, अब भोलि निस्केर गइनस् भने तेरा लुगाफाटो सडकमा फ्याँकिदिन्छु पो भनी ! लुगा मात्रै फ्याँकिदिए त हुन्थ्यो नि, यी छोरालाई म कहाँ फ्याँकौं, दिदी ? असोजमा आउँछु भनेर चिठी पठाउनु भएको छ उहाँले । त्यसपछि त म गैहाल्छु ।”
“हेर बिमला, तिमीले आफ्नो लोग्ने छोडेर त्यो बिष्टसँग भाग्नै नहुने ! ठूलो गल्ती गर्यौ ! हेर त, अहिले बिष्टले पनि तिमीलाई यता न उताको बनायो !”
“होइन नि दिदी, माया त मायै गरेर राख्नु भाको थियो । यो काखको छोरो जन्मिएपछि एक्कासि ककस्को लहैलहैमा लागेर डिल्ली जान्छु भन्न थाल्नु भो ! अब आउने असोजमा आउँछु भनेर चिठी पठाउनु भाको छ । त्यसपछि त म गैहाल्छु । एकै महिनाको कुरा हो दिदी । यै घरका खाँबा घेरेर भुस राखेको तलको कोठोमा बस्न दिनु न ! म भुस एकातिर पन्छाएर अर्कोतिर बिछ्यौना लाउँछु ।”
“अनि बिछ्यौना चाहिं के लाउँछ्यौ नि ?
“कमलाकोमा छ नि मेरो एकदुई लत्ता कपडा, त्यै ल्याउँछु ।”
सीता दिदीको मन पग्लियो ।
सीता दिदीले आफ्ना लोग्नेलाई कुरा सुनाइन् । शुरूमा त मणि दाइले निकै झर्को माने, तर पछि आफैंले गएर पल्लो टोलका माने राईलाई बोलाएर ल्याए र भुस त्यहाँबाट निकाल्न लाए । सानो कोठा सिनिक्क भएपछि माने राईलाई आफ्नो पुरानो सुइटर र पाँच रुपियाँ दिएर बिदा गरे ।
त्यस दिनदेखि बिमला दुई छोरा लिएर सीता दिदीको घरमा बस्न थालिन् ।
जेठो छोरा, विकास छ वर्षको थियो । कान्छो मनोज तीन वर्षको । विकास पहिलेको बुढोबाट जन्मेको, मनोज बिष्टबाट । विकासको जीउमा छालाभित्र करङ मात्रै देखिन्थ्यो । जीउभन्दा टाउको ठूलो ! आँखा फुत्त बाहिर निस्केलान् जस्ता ! कसैले ‘विकास !’ भनेर बोलाउँदा ‘हजु’ भन्ने बाहेक अरू कुनै वाक्य ऊ बोल्दैन थ्यो । बोल्न नजानेर हो कि भनेर कसैले भन्यो भने, “किन नजान्नु, सप्पै बोल्न जान्दछ, तर कप्टी छ, बोल्दैन” भन्थिन् उसकी आमा । मनोज चाहिं अनुहारको पनि राम्रो, जीउ पनि हृष्टपुस्ट र ट्याउँट्याउँ बोल्ने खालको थियो । वेलावेला आमाको दूध चुस्न उसले अझै छाडेको थिएन ।
अब सीता दिदीको घरमा बिमलाको पातलो स्वरले वेलावेला ‘मनोSSज्’ भनेर मायालु बोलीले बोलाएको सुनिन थाल्यो । अनि वेलावेला उनैले अलि चर्को स्वरले कराएको पनि सुनिन्थ्यो, “तँ बिकासे डाका, अझै माटो कोट्याएर खान्छस् ? अब माटो खाको देखें भने तेरो थुतुनो पुन्यूले डामिदिन्छु !” हप्काए पछि विकास ‘याँSSS’ गरेर रुन्थ्यो, तर रोएको आवाज यति मसिनो हुन्थ्यो कि एकदमै नजिकैकाले मात्र सुन्न सक्थे । एकछिन रोएपछि ऊ खोक्न थाल्दथ्यो र हुरुक्क नहुन्जेल खोकिरहन्थ्यो ।
कोठोको कुनामा एउटा सिलिबरे भाँडोमा एक मुठी जाउलो बिहान बेलुका उम्लिन्थ्यो । सीता दिदीको बारीबाट कहिले एउटा झिङनी त कहिले दुईचार मटर कोसा चुँडेर जाउलोमा मिसाउन पाइन् भने बिमलाको भान्सामा खोलेफाँडोको छेलोखेलो हुन्थ्यो । एकातिर मनोजलाई त्यही खोलेफाँडो भतेर बराबर हुन्थ्यो भने अर्कोतिर विकास चाहिं कोच्याउँदा पनि एक गाँस निल्दैनथ्यो ।
एकदिन मणिदाइ आजित भएछन् । विकासेले खोक्दै गर्दा उनी तल ओर्लिएर, र भर्याङको फेदमा उभिएर बेस्मारी कराउन थाले, “केटोले खोकेर दुनियाँ हैरान परिसक्यो । आमा चाहिंलाई वास्तै छैन ! न तातो पानी खुवाउनु छ, न अदुवा, बोजो खुवाउनु छ ! डाक्टरलाई देखाउनु ओर्नु छैन !”
सीता दिदी भर्याङमाथिबाट लोग्नेलाई “भयो भयो, माथि आउनु, माथि आउनु” भन्न थालिन् । लोग्नेको अनुहारमा रीस साम्य भएको नदेखेर उनी झरिन् र लोग्नेको पाखुरा समाएर तानिन् । मणिदाइले एकचोटि फेरि रन्किएर भने, “सौताका छोरालाई त हेला गरेको सुनिएको थियो, आफ्नै कोखको छोरोलाई त यस्तो हेला गरेको सुनेको सम्म थिइनँ मैले !” यति भनेर उनी भर्याङ उक्लिए ।
उनी गैसकेपछि सीता दिदीले बिमलाको नजिकै उभिएर भनिन्, “बिमला, हिंड, आज यसलाई लैजाऔं अस्पताल ।”
बिमलाले अँध्यारो अनुहारले हेर्दै भनिन्, “दिदी मसँग त पैसै छैन । दाइले किन नलगेको अस्पताल भन्नुभयो ! म कसरी लगूँ यसलाई अस्पताल, भन्नु त दिदी !”
“होइन, तिमीले हार-गुहार पनि गरिनौ नि ! छोरोको मायै गर्दिन रैछे भनेर अस्तिदेखि दाइ रिसाउँदै हुनुहुन्थ्यो । तिमीलाई मैले नभनेकी मात्रै हुँ । आमा भएपछि तिम्रो पो कर्तव्य हो ! तर खोइ तिमीले त झर्को-फर्को मात्रै गरेको सुनिन्छ त !”
बिमलाले अँध्यारो अनुहारले भुइँतिर हेरिरहिन् । केही बोलिनन् ।
कोशी अञ्चल अस्पताल लगेर जँचाएर एक्सरे र छालाको टेस्ट गरेपछि डाक्टरले विकासलाई टिबीको औषधि लेखिदिए । खुट्टामा चप्पल-जुत्ता किन नलाइदेको भनेर डाक्टरले हपारे पनि बिमलालाई ।
अस्पताल र औषधिको सबै पैसा सीता दिदीले तिरिदिइन् । ‘एकदिन नछुटाई औषधि खुवाउनु, नत्र फेरि वर्षदिन दोहोर्याएर खुवाउनु पर्छ’ भनेर डाक्टरले भनेको कुरालाई बाटोमा सीता दिदीले तीन पटक सम्झाइन् बिमलालाई ।
फर्केर आउँदा बजारमा विकास र मनोज दुवैलाई एक-एक जोर चप्पल र ललिपप पनि किनिदिइन् सीता दिदीले । त्यो पाएर विकास यसरी खुशी भयो, आजसम्म नदेखिएको उज्यालो उसको मुखमा देखियो ।
“विकास !” भनेर सीता दिदीले बोलाइन् ।
“हजु” भन्यो उसले सधैं जस्तै ।
“के खाको तैंले ल भन् त !”
सँधै झैं केही जवाफ दिएन उसले । प्रसन्न आँखाले ललिपप हेर्दै चुस्तै गरिरह्यो ।
“कप्टी बानी त के जान्थ्यो यसको !” भन्दै सीता दिदीको अनुहारमा हेरेर किचिक्क हाँसिन् बिमला ।
असोज लाग्यो तर बिष्ट आएन । बिमलाका आँखा हरेक दिन बाटोतिर सोझिएर बिष्टलाई खोज्दथे । बार्दलीमा बसेका वेला, आँगनमा हिंडेका वेला, कलमा पानी थाप्दै गरेका वेला पुलुक्क पुलुक्क ऊ बाटोतिर हेर्ने गर्थी । असोज सकियो, बिष्ट आएन । कार्तिक सकियो, बिष्ट आएन ।
“के मति आइलाग्यो र तिमीले लोग्ने छोड्यौ ?” एकदिन दिउँसो पात गाँस्न बसेको वेला सीता दिदीले बिमलालाई सोधिन् । छेउमा झ्यालको डण्डी समाएर विकास टोलाइरहेको थियो । मनोजलाई चाहिं भित्र सुताएर आएकी थिइन् बिमला ।
त्यही वेला बाटोमा एउटा बुढो मान्छेले बाँसको लौरोमा बेलुनहरु बोकेर हिंड्दै गरेको देखियो । रंगीचंगी बेलुनहरू देखेर विकास “ऊ SSS” भनेर करायो । सीता दिदी उठिन् र बाटोतिर बढिन् । विकास उनको पछिपछि लाग्यो । बाटोसम्म पुग्दा बुढो मान्छे अलि पर पुगिसकेको थियो । “एSS बेलुन बुढा” भनेर कराइन् सीता दिदीले र एउटा बेलुन किनिदिइन् विकासलाई ।
त्यसपछि बेलुन हातमा बोकेर आँगनको एक छेउदेखि अर्को छेउ एकोहोरो “एSS बेलुन बुला, एSS बेलुन बुला” भन्दै विकास ओहोर दोहोर गर्न थाल्यो । उसको अनुहारमा ललिपप र चप्पल पाएको दिनको जत्तिकै खुशी छाएको देखेर सीता दिदीको मन पनि उज्यालो भयो ।
फेरि पात र सिन्का हातमा लिएर सीता दिदीले सोधिन्, “टिकाराम मान्छे त ठिकै थियो जस्तो लाग्थ्यो मलाई ! त्यै अलिअलि रक्सी खाने बानी चाहिं राम्रो थिएन ! भन त, किन छोड्यौ उसलाई ?”
“भन्नुहुन्छ नि दिदी ! कहाँ अलिअलि हो र ? भिल्लु भएर सधैं साँझ परेपछि कुट्थ्यो, दिदी ! ढाडमा नीलडाम अझै होलान्, हेर्नुहुन्छ भने !”
“हुन्छ अहिलेसम्म नीलडाम् ! बिष्टसँग सल्कियौ अनि !” सीता दिदीले हप्काउँदै भनिन्, “अनि यो बिष्टले चाहिं कसरी फकायो नि तिमीलाई ?”
“आमै ! मोहनी लाएछन् नि !”
“लाउँछ मोहनी !” सीता दिदीले उस्तै गरी हप्काइन्, “नचाहिंदो कुरा गर्छ्यौ !”
“अबुई, साँच्चै हो नि दिदी ! तपाईं पत्याउनुहुन्न !”
“अनि के गरी लायो त हौ मोहनी ?” सीता दिदीले अविश्वासले हाँस्दै सोधिन् ।
“चिउरा खान्छेस् ? भन्दै ल्याएर दिन्थे । मोहनी मन्त्र फुकेर ल्याका हुँदा रछन् ! म मोरीलाई के थाहा ! खुरुखुरु खाएँ । तीन दिनसम्म ल्याएर दिए । त्यसपछि त भन्नुहुन्छ दिदी, कस्तो हुँदो रहेछ भने बिहानै त्यै बिष्टको अनुहार देख्छु, बेलुकै त्यै बिष्टको अनुहार देख्छु । जता हेर्यो, बिष्टै उभिएजस्तो लाग्छ ! ‘चिउरा खान्छेस, चिउरा खान्छेस् ?’ भनेजस्तो लाग्छ, मरिजाऊँ !”
सीता दिदीले घोर आविश्वासले निधार खुम्च्याएर बिमलाको अनुहारमा हेरिन् र भनिन्, “हुन्छ ! कहीं नभाको मोहनी !”
“मान्छेले पत्याउँदैनन्, त्यै भएर म पनि सितिमिति भन्दिनँ । आज दिदीले सोध्नु भएर मात्रै भनेको !”
“अनि कहाँबाट जानेछन् त नि मन्त्र ?”
“खोइ, एउटा जोगीले सिकाइदेको अरे !”
“हेर बिमला,” सीता दिदीले सम्झाउने पाराले भनिन्, “त्यो मोहनी सोहनी भनेर तिमीलाई बुध्दू बनाएको मात्रै हो ! चिउरा ल्याएर दियो, तिमी त्यसैमा लट्ठियौ ! एकातिर तिम्रो लोग्नेले हेला गरेको, अर्कोतिर अर्कोले लुसुलुसु चिउरा ख्वाईख्वाई फकाएछ !”
“होइन नि दिदी, यो मोरो मन त कति एकोहोरो हुँदो रहेछ भन्ने त मैले भोगेकी छु !”
“अनि योसँग भाग्न चाहिं कसरी भाग्यौ त ? कसरी हिंड भन्यो बिष्टले ?”
“अबुई, दिदी, कहाँ हिंड भन्थ्यो नि ! मेरो मनमा मोहनी छाडेर आफ्नै सुरले हिंड्नु भाको थियो । वेला वेला पुलुक्क देख्थें । दुई शब्द बोलचाल हुँदा स्वर्गै पुगेजस्तो हुन्थ्यो !”
“भनेपछि, त्यै वेला भारी जीउ भैछ्यौ ! हरे शिव !” सीता दिदीले उदेक र वैराग मान्दै भनिन् ।
“होइन नि दिदी ! पहिला मलाई भगाऊ, नत्र त म झुण्डिएर मर्छु भनें । तीन दिन त्यसो भनेपछि बल्ल ल हिंड त भने !”
“ए, अनि विकासेलाई पनि लान राजी भए त ?”
“विकासेलाई त लानै मानेका थिएनन् नि ! मैले नै जबर्जस्ती ल्याएकी हुँ ।”
“अनि पछि विकासेका बाउले थाहा पाएपछि छोरो लान्छु भनेनन् ?”
“अबुई दिदी, रक्स्याहाले के को छोरो लगेर पाल्थ्यो ! कमलालाई भन्यो अरे- त्यो पनि मैले बिष्टकै भुँडी बोकेर पाएकी भनेर ! नभाको हल्ला पो फिंजाएछ ! पापी मुर्दा !”
सीता दिदीको अनुहारमा घोर नैराश्यता र तिरस्कारको भाव छायो ।
बिमलाले केही नबोली अँध्यारो अनुहारले भुइँतिर हेरिरहिन् ।
त्यस दिन विकासले हावामा बेलुन हल्लाएर एकोहोरो “एSS बेलुन बुला, एSS बेलुन बुला” भन्दै एकनास आँगनमा एक छेउदेखि अर्को छेउ निरन्तर ओहोर-दोहोर गरेको गर्यै घण्टौं बितायो ।
त्यसै दिन साँझ मणिदाइले श्रीमतीलाई खुसुक्क भने, “होइन यो बाइफाले आइमाई कहिले निस्केर जान्छे हँ ? यसको चाला निको छैन ! अघि माने राई के कामले आएको हो हाम्रो घर ?”
“किन के भयो र ? माने राई आइरहन्छ त ! कुन ठूलो कुरा हो ?” सीता दिदीले अचम्म मान्दै सोधिन् ।
“के कामले आको त्यो चाहिं भन न !” मणिदाइले अलि झर्किएर सोधे ।
“बारी खन्देउ भनेकी थिएँ मैले । त्यै हेर्न आएको थियो ।” सीता दिदीले प्रष्ट पारिन् ।
“म बाहिरबाट घर आउँदा माने कलमा हातमुख धुँदै थियो । त्यै वेला आँगनका बीचमा मुढामा बसेर, कलतिरै फर्केर बच्चोलाई दूध चुसाउँदै थिई । त्यसको लाम्टो पनि छोपेकी थिइन । अब यै चाला हो भने मानेलाई फसाउँछे जस्तो छ यसले !”
सीता दिदीले अनुहार बिगार्दै भनिन्, “हत्तेरिका ! यो आइमाईको चाला बुझेर बुझिनसक्नु भयो ! छोरो चार वर्षको हुन लागिसक्यो ! कस्तो नछुटाएकी हो !”
“केको नि ! त्यसको हतियारै त्यै हो त !” मणिदाइले आक्रोशित हुँदै भने ।
“छ्या ! जे पायो त्यै नबोल्नु त !” सीता दिदीले पनि उत्तिकै रिसाएको हाउभाउमा भनिन्, “तपाईं चूप लाग्नु ! म सम्झाउँछु त्यसलाई भोलि !”
भोलिपल्ट बिहानै सीता दिदीले बिमलाको कोठोमा पसेर भनिन्, “अब त्यो बिष्ट आउला जस्तो छैन । हेर बिमला, म तिमीलाई सधैं यसरी राख्न सक्तिनँ । अब तिमी के व्यवस्था गर्छ्यौ, गर ।”
बिमलाले आँखाभरी आँसु पार्दै भनिन्, “होइन दिदी, यत्तिका दिनसम्म शरण दिनुभएको छ । अब एकदुई महिना अझै दया गर्नु दिदी । उहाँ अब चाँडै आउनुहुन्छ भन्ने मलाई विश्वास छ । यी निमुखा बालख लिएर म कहाँ जाऊँ ?”
सीता दिदीको मन पग्लियो । त्यै पनि अलि कडा भएको अभिनय गर्दै उनले भनिन्, “एकदुई महिना त होइन, जम्मा एक महिनाको टाइम दिन्छु । त्यसपछि म जान्दिनँ । मैले जति दया गर्नु गरिसकें । दाइ रिसाउनु भयो भने आँखा देख्नुहुन्न । लुगाफाटो आँगनमा फ्याँकिदिनुभयो भने म उहाँलाई रोक्न सक्तिनँ । कुरा बुझ र चाँडै आफ्नो व्यवस्था गर ।”
त्यसको एक सातापछि एकदिन बिहान अचानक बिष्ट आइपुग्यो । मणिदाइले छरछिमेकका चारजना भेला पारे । बार्दलीमा बसेर छलफल भयो । सबैले बिष्टका नाकमा औंलो ठड्याएर उसलाई थर्काए ।
“दिल्लीमा आरा मिलमा काम गर्थें हजुर । असोजमा आउने पक्का थियो तर आराले झन्डै बुढी औंला छिनायो,” भन्दै उसले आफ्नो दाहिने हात देखायो । नभन्दै बुढी र चोर औंलाको बीचबाट झन्डै नाडीसम्मै पुग्ने गरी टाँका लगाएको दाग प्रष्टै देखिन्थ्यो । बुढी औंलो पनि तल तन्किएर बाङ्गो बाङ्गो, छोटो छोटो जस्तो भएको रहेछ । “भर्खर हिजो साँझ आइपुगें हजुर । बिमली यहाँ छे भनेर पत्ता लाउनै सकिनँ । आज बिहान त खोज्दै आइपुगिहालें । तर बस्ने ठाउँको चाँजो मिलाउन मलाई दुई दिन मात्रै दिनुस् हजुर । दुई दिनमा म यसलाई लागिहाल्छु ।”
सबैको मन पग्लियो ।
त्यसदिन दिउँसोसम्म बिष्ट र बिष्टकी स्वास्नी गुनुगुनु गर्दै बारीका पुछारमा बसे । त्यसपछि हिंडेको बिष्ट दुई दिनपछि पनि देखा परेन । “खोइ, बिष्ट कहाँ गयो” भनेर सीता दिदी र उनका लोग्नेले बिमलालाई तारन्तार बिहान बेलुकै सोधे ।
“बस्ने ठाउँ मिलाएर आउँछु भनेर हिंड्नुभाको, आउनु नै भएको छैन !” भयभीत अनुहारले गहभरी आँसु पार्दै जवाफ दिनु सिवाय बिमलाको अरू उपाय थिएन । पर्खिंदा पर्खिंदै एक हप्ता बित्यो ।
बिष्टलाई खोज्न भनेर बिमला छोराहरूलाई आँगनमा छोडेर दिउँसो दिउँसो घण्टौं बेपत्ता हुन थालिन् । एकदिन साँझ सीता दिदीलाई बिमलाले भनिन्, “दिदी, उहाँलाई त कसले सलाई फ्याक्टरीतिर देखेको थियो अरे ।”
अर्को दिन आएर भनिन्, “सीता दिदी, उहाँलाई टंकी सिनवारीतिर मान्छेले देखेका भन्ने सुनें ।” यी दुई खबर बाहेक बिष्टबारे अरू खबर पाइनन् बिमलाले । गएर खोज्दा भेटिएन । हेर्दाहेर्दै दुई हप्ता बित्यो ।
“अब के व्यवस्था गर्छ्यौ बिमला, गर । अब एक हप्ता दिन्छु । त्यसपछि म तिमीलाई राख्न सक्तिनँ ।” एकदिन बिहानै सीता दिदीले आफ्नो निर्णय सुनाइन् ।
त्यसको भोलिपल्ट बिहान घरमा बिमलाको चालचोल थिएन । न उनका छोराहरुको नै कुनै चाइँचुईं थियो । सीता दिदी बिमलाको कोठामा पसेर हेर्दा कोठा रित्तो थियो । बिमलाले थाहै नदिई छाडेर गइन् भन्ने हल्ला छरछिमेकमा फैलियो ।
त्यसको केहीबेरमा पल्लो टोलका माने राई पनि घरमा छैनन् भन्ने सुनियो । मानेले बिमलालाई भगाएछ भन्ने निर्क्यौलमा पुगे गाउँलेहरू । माने पनि एक्लो मान्छे, राम्रै भयो भन्ने कुरा गरे सबैले ।
माने राईले बिमलालाई कहाँ लगे, उनीहरू कहाँ बस्छन् भन्ने कुराको कुनै सुइँको लामो समयसम्म कसैले पाएनन् ।
हेर्दाहेर्दै वर्ष दिन, दुई वर्ष, तीन वर्ष बित्यो । पूर्वतिर गएका छन् अरे भन्ने फाट्टफुट्ट खबर नसुनेको त हैन तर प्रष्ट समाचार भन्ने कोही निस्केनन् । बिमलाको कुरा पुरानो भयो । मान्छेले बिर्सिए ।
* * * *
एक दिन आँगनमा बिमला टुप्लुक्क देखा परिन् । सीता दिदीले ‘बिमला SS’ भन्दै बडो प्रेमले स्वागत गर्दै सोधिन्, “कहाँ गयौ तिमी ? छोराहरू कस्ता छन् ? विकासको टिबी निको भयो ? औषधि खुवाउन त बिराइनौ नि ?” हस्याङ-फस्याङ गर्दै एकै सासमा सबै कुरा सोधेर सक्न खोजिन् सीता दिदीले ।
“एउटा गिलास दिनुस् दिदी, म पानी खान्छु पहिले !” बिमलाले सुकेको स्वरले भनिन् ।
सीताले एक गिलास पानी ल्याएर दिंदै भनिन्, “बस न, म तिमीलाई एकछिनमा चिया पनि खुवाउँछु । पहिला मलाई भन त विकास कस्तो छ अहिले ?”
“विकास छैन दिदी,” आँखाभरी आँसु पार्दै बिमलाले उत्तर दिइन् ।
“हँ ?” सीता दिदीलाई पत्याउन मुश्किल पर्यो ।
बिमला अँध्यारो अनुहारले पर्तिरको भुइँ हेरेर टोलाइन् ।
“के भयो ? सीता दिदीले कराएर सोधिन् ।
बिमला बोलिनन् । उसै गरी भुइँ हेरेर टोलाइरहिन् । सीता दिदी पनि एकछिन केही बोल्न सकिनन् । सारीको सप्कोले आँखा पुछ्दै उनले सोधिन्, “औषधि राम्ररी खुवाइनौ कि क्या हो ?”
“खुवाएँ दिदी, एक दिन नछोडी खुवाएँ, तर त्यसको लेखान्तै त्यस्तै रहेछ !” मलिन स्वरले बोलिन् बिमला ।
“कहिले बित्यो ?” सीता दिदीले सोधिन् ।
“म यहाँबाट हिंडेको दुई महिनामै !” घुँक्क गर्दै जवाफ दिइन् बिमलाले ।
“अनि मनोज खोइ त ? मनोजलाई ल्याकी छैनौ त ?”
“कमलाकोमा छ । म त्यतै गकी थिएँ पैला । त्यैं छोड्देकी छु एकछिन ।”
“हत्तेरिका, ल्याउनु पर्थ्यो नि ! कस्तो भएछ म पनि देख्थें ।”
“मनोजे त पहिल्यैदेखि बलियै थियो, अहिले पनि बलियै छ, दिदी । त्यै विकासेले मात्रै कति छोटो आयु लिएर आएको रहेछ ! सम्झिंदा पनि मुटु छेड्छ !” दुइटै हात छातीमा राखेर व्याकुल आँखाले सीता दिदीको मुखमा हेर्दै बिमलाले भनिन् ।
त्यसपछि एकछिनसम्म कोही बोलेन । दुवै जना अलि बेरसम्म सारीको सप्कोले आँखा पुछ्दै बसे । त्यसपछि सीता दिदीले सोधिन्, “अनि कहाँ लग्यो त माने राईले तिमीलाई भगाएर ? तिमीले हामीलाई भनेरै गएको भए भैहाल्थ्यो नि !”
“दमक गयौं दिदी । त्यहाँ उहाँका आफन्त रहेछन् ।”
“ए अनि त्यसपछि तिम्रो बिष्टसँग चाहिं भेट भयो कि भएन ?”
“बिष्टसँग म गैकन त भेट भएको छैन, तर त्यै वेला ठूलो छोरो छोडेर हिंड्छेस भने तँलाई लैजान्छु, नत्र छोरो लाने भए लैजान्न भन्यो नि त, त्यै भएर…”
“अबुई, तेसो पो भनेको थियो ? छोरो छाडेर जानु अरे ? कस्तो जिमराज रछ ! हामीलाई भन्नु पर्थ्यो नि त्यै वेला ! त्यस डाँकाका पाता फर्काउने थियौं हामी !”
“त्यै भएर, दिदी । बेक्कारमा कुटाइ खान्छ भनेर माया लाग्यो । कसैलाई भनिनँ ।”
“ए, अनि मानेसँग चाहिं कसरी सल्लाहा मिल्यो त हौ तिम्रो ? कसरी सल्किन पुग्यौ ऊसँग ? हाम्लाई त सुइँको नै भएन त !”
“होइन नि दिदी, बिष्टलाई खोज्दैखोज्दै एकफेर म फेरि टंकी पुगें । त्यस दिन भेटियो बिष्ट ! तर फेरि पनि तेरो छोरो त मरे लान्न भन्यो । अनि म फर्किएर आउँदा बाटामा ‘बा माने राईले पो सम्झाइदिन्छन् कि’ भन्ने लागेर मानेलाई भेट्न गएँ । गएर, माने दाइ लौ न बिष्टलाई सम्झाइ-बुझाइ गरिदेऊ भनेर हात जोडेको त, के त्यस्ता सँग जान्छ्यौ, बरु मसँग जाने भए हिंड, अहिल्यै लैजान्छु भन्नुभयो ।”
सीता दिदीले अविश्वासको आश्चर्यले बिमलाको अनुहारमा एकछिन एक टकले हेरिन् र सोधिन्, “अनि ?”
“त्यो अघिल्लो दिनको कुरो भयो । त्यै वेला सल्लाह गरेर, भोलिपल्ट हिंड्ने टुङ्गो भयो । बिहानका राती उहाँ बस स्टेशनबाट चढेर आउनुभयो । म दुई छोरा लिएर मुनालपथबाट चढें ।
“ये SS, के हौ यस्तो केटाकेटीले पुतली खेलेजस्तो ! यता कुरा मिल्यो फुत्त हामफाल्यो, उता कुरा मिल्यो फुत्त हामफाल्यो !” सीता दिदीले दिक्दार हुँदै भनिन् ।
“के गर्नु दिदी, दुखियाको जिन्दगी पुतली खेले जस्तै हुँदो रहेछ । सहारा खोज्दै, बाध्य भएर यता र उता हामफाल्नु पर्दो रहेछ ! अब त हामफाल्नु परेछ भने पनि झिना-मसिनामा हामफाल्दिनँ । सप्तकोशीमै हामफाल्छु भनेर सोचिसकेकी छु !”
“भयो, नचाहिंदो कुरा नगर,” सीता दिदीले हप्काउँदै भनिन्, “सधैं एकनास हुन्छ र ? यसो आफैंले पनि केही गर्नु नि ! एउटा नाङ्ग्लोमा सिग्रेट र सलाई बेचेर पनि दुई छाक खाएका छन् मान्छेले । गर्न खोज्नेले कपडा सिएर र सुइटर बुनेर पनि दुई पैसा कमाएका छन् । लोग्नेले ख्वाए बाँच्ने, नख्वाए प्याक-प्याक मर्ने त साह्रै भएन हौ !”
“हो नि दिदी, तर खोइ, के गर्ने, कताबाट गर्ने ! भनेजस्तो हुँदैन रहेछ !” बिमलाले अत्यन्त झिनो स्वरले बिलौना गरेजस्तो आवाजमा भनिन् ।
उनको बिलौनालाई बीचमा रोक्दै सीता दिदीले थपिन्, “तर, हुन त, अहिले त सुखैले बाँचेकी होलिउ नि ! के गर्छन् त माने हिजोआज काम चाहिं ?”
“यसो उसो गरेर दुई छाक खान त पुगेकै थियो । विकास बित्यो, म पनि निक्कै बिरामी परें । त्यै वेला फेरि कसले उक्साइदिएछ र पंजाब जानु भाको छ कमाउन ।“
“लौ खा ! मानेले पनि छोडेर हिंड्यो ?” सीता दिदीले अचम्म मान्दै कराएर सोधिन् ।
“होइन दिदी, छाड्नु भएको होइन, बैसाखमा आउँछु भनेर चिठी पठाउनु भाको छ !” भुइँतिर हेरेर टोलाउँदै बिमलाले जवाफ दिइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

