
साहित्यकार हुतराज शर्माको नामअगाडि कवि, कथाकार, नाटककार, उपन्यासकार, निबन्धकार र कोशकार जोडिन थालेको त धेरै भैसकेको थियो । अब भने ती उपाधिका अगाडि वरिष्ठ शब्द समेत थपिन थालेको थियो ।
उनले सके कुलपति नसके पनि उपकुलपतिसम्म त हुन्छु भन्ने नै सोचेका थिए तापनि उमेरले ६५ वर्षको लामो तगारो नाघिसक्दा समेत त्यो पद प्राप्त गर्नबाट उनी पूर्ण रूपमा वञ्चित भैरहेका थिए । यो उमेरसम्म उनको सपना पूरा हुन नसकेकाले उनी अचेल बेचैनीको लौरो टेकेर यताउता घुम्न थालेका थिए । उनको हृदयमा पीडाका काँडाले बेस्सरी घोचिरहन्थे । त्यसैले अब उनको लेखाइको प्रवाह पनि दिनानुदिन घटिरहेको थियो ।
उनको मनको चुरेबाट निःसृत दुःखको खहरे घट्नुका सट्टा झन्झन् बढिरहेको थियो । उनको यो अवस्था उनका परिवारजन, छरछिमेकबाट छिपेको थिएन ।
अलिअलि राजनीति, अलिअलि ठेक्कापट्टा गर्ने उनका भतिज गोकर्ण शर्मा आएर नजीकै बसी उनको अनुहारमा सलबलाइरहेको वेदनाको लहर अवलोकन गर्दै भने, “हैन काका, के भयो अचेल तपाईंलाई ? तपाईंको अनुहारभरि उदासीको छाया मात्रै देख्छु !”
उनले पिर्लिक्क आँखा पल्टाएर भतिजको अनुहारमा हेरे अनि मलिन स्वरमा भने, “यो सरकारले पनि मलाई प्राज्ञ नबनाउने भयो । कुलपति, उपकुलपति त दिएनन् दिएनन् । जाबो प्राज्ञसम्म पनि नदिने भए । यही हो मेरो दुःखको कारण ।’’
हुतराजको कुरा सुनेर मुसुक्क हाँसे भतिज शर्मा ! उनले काकालाई नियाल्दै भने, “ए, उसो भए लेखेर मात्रै, विद्वान भएर मात्रै प्राज्ञ पाइन्छ भन्ने ठान्नुभएको तपाईंले ? त्यस्तो लेख्ने, विद्वान, पढेलेखेका मान्छे त कति छन् कति नेपालमा ? तपाईं त इमानदारीता र नैतिकताको पो कुरा गर्नुहुन्छ त ! तपाईं कति पुरातनवादी ? अहिले त जुनसुकै क्षेत्रमा जानलाई पनि नैतिकता, विद्वता र इमानदारीताले मात्रै पुग्दैन, कुनै न कुनै पार्टीको झण्डा बोक्नै पर्छ, पार्टीलाई चन्दा दिनैपर्छ । बुझ्नु भो त काका ? तपैंको यस्तै चालले पाउनु भो प्राज्ञ ? बरु बेलैमा बुद्धि पुर्याउनुस् है ! यो सरकार ढल्दैछ छिट्टै !”
भतिजले काका हुतराजको अनुहार नियाले र पुनः भन्न थाले, “अर्को पार्टीको नेतृत्वमा सरकार बन्ला जस्तो छ ! साँच्चै, तपाईंको कुरा चलाऊँ त काका ? सके कुलपति, नभए नि उपकुलपति त पक्का !”
भतिजका कुराले उनको अनुहार उज्यालो भयो । उनले आशामुखी नजरले भतिजलाई हेर्दै भने, “कसरी हुन्छ त यो काम भतिज ?’’
भतिजले उपाय सुझाए, “त्यसको लागि तपाईंले त्यो पार्टीको सदस्यता लिनुपर्छ अनि पार्टीलाई अलिअलि चन्दा दिनुपर्छ । चलाऊँ त कुरा ?”
उनको हृदयको तापक्रम बढ्न थाल्यो, अनुहारबाट चिटचिट पसिना निस्कन थाल्यो ! एकछिन पछि उनी बिस्तारै समालिए ।
“नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाबुको अनुहार भनेको यही हो । भतिजको सल्लाह अनुसार कुलपतिको पद हत्याऊँ भने पनि आफ्नै स्वाभिमान र आत्मसम्मानको घाँटी निमोठिने, नखाऊँ भने जिन्दगीभरिको सपना अधुरै रहने !” उनको मनमा यस्तै यस्तै तर्कनाहरू आइरहे । गइरहे । उनले केही पनि निर्णय गर्न सकेनन् ।
मनभरि विभिन्न कुरा खेलाएर छटपटीको ओछ्यानमा अनिदो भै पूरै रात बिताए ! प्राज्ञको कुर्सीले उनलाई कयौं रात निदाउन दिएन !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

