ढोकामा उभिएर उसले भित्र हेर्‍यो । भित्र उज्यालो थियो । मानौं एउटा नाटकको दृश्य हो यो । पात्रहरू मौन छन् । संवाद बोल्न निर्देशकको आदेश हुन बाँकी छ । आगो बलेकै छ । चिया, रक्सी र छ्याङ्ग, कारुल, कचौरा र जगमा भरी नै देखिन्छ । दुई जना पचास नाघेका पुरुष छन् । अर्को एक जना अन्दाजी तीस वर्षको पुरुष छ । एउटी ५५-६० की महिला अर्की २५-३० की । सोलारको उज्यालोमा सबै स्पष्ट देखिएको छ ।

बाहिर भदौरे झरी परेको छ । बाटोमा गज्याकगुजुक हिलो कुल्चेर ऊ ढोकामा उभिएको छ । बोलावट आएपछि आउनुको कर्तव्य निभाउन हाजिर भएको  ऊ केही बेर भित्रको सिन-ए-फ्याम्ली हेरेर रोकिएको छ । मानौं ऊ नेपथ्यमा छ । ढोका खुल्ला छ । अँध्यारो छ बाहिर । ढोकाबाट भित्र छिर्दा बीचमा अग्लो मुदुस छ । मुदुसको छायाले ढोकातिर छाया परेको छ ।

लोग्नेमानिस सबै अलि अग्लो स्थानमा गलैंचामाथि छन् । महिलाजन अँगेनाको नजीक अलि तल होचो ठाउँमा पिर्कामाथि बसेका छन् । अग्लो लामो पिर्कालाई टेबुलको रूपमा राखिएको छ । टेबलभरी छन्  तातो-चिसो पेयका गिलास अनि कचौरा र फुरुहरू ।

ढोकामा उभिएर धेरै बेर हेर्न उसलाई अस्वाभाविक लाग्यो । उसो त दिउँसो बोलाउँदा नै उसलाई कस्तोकस्तो लागेको हो । घरको कुरामा किन साक्षी हुन जानु भन्ने लागेकै हो ।

‘अँ ह …’ खोके झैँ सङ्केत गर्दै जुत्ता खोलेर   भित्र पस्यो ऊ ।

हात जोडेर नमस्कार गर्‍यो ।

“ओहो, आउनुभयो ल बस्नुस् !” छेउका पुरुष अर्को छेउ सरेर बीचमा बस्ने आग्रह गरे, बस्यो ।  मौनता कायमै छ ।

उमेरमा कान्छो देखिने पुरुष छेउ सरेको थियो, बोल्यो, “अब के भन्नु तपाईंलाई थाहै छ । यो (आफ्नो श्रीमतीलाई देखाउँदै) त्यसै शंका गरेर झगडा गर्छे ।”

उसले थाहै छ भनेको एउटा हल्ला यस्तो थियो ।

दुई वर्षअघि हो च्याङ्ग (चाइना) जानुअघि कोन्जोकले गाउँकै छेउमा सबै सामु अब रक्सी खान्न भनेर सगुनको रक्सी घुट्क्याएको  । छेउमा पछ्याउँदै आएको सात वर्षको लाक्पा र आमाको काखमा रहेको मिङ्मालाई सँगै दुई हातले छोएरै कसम खाएर बिदा भएको थियो कोन्जोक ।

तिब्बतबाट सबै फर्के उही फर्कन सकेन । उसका याक दाजुभाइ र गाउँलेहरूले ल्याए । उसले तिब्बतबाट फर्की आउँदा बाटोमा रक्सी खाएर लेकमा नै ज्यान गुमायो भन्ने खबर मात्र आयो । भर्खर पच्चीस वर्ष नाघेकी ल्हामुले लोग्ने गुमाई । साना दुई छोरा टुहुरा भए । गाउँमा हुने खाने भनेर चिनिएको परिवारमा दुःखको पहिरो नराम्ररी आयो । सबैको सहानुभूति पायो तीन जनाको परिवारले ।

दाजुको सतगत समेत गरेर आएको भाइले भाउजू र साना छोराछोरीलाई रेखदेख गर्नु एउटा मानवीय कर्तव्य थियो जो निभाएको थियो उसले । गएका एक वर्ष उसैले च्याङ्गबाट सामान ल्याइदियो याकमा । यार्सा र फलेक पनि उता पुर्‍याएर बेचिदियो । यो वर्ष भने भाउजू पनि साथै गएकी थिई च्याङ्ग । ऊसँग गाउँका दुई तीन अरू महिला पनि गएका थिए ।

अघिल्लो हप्ता मात्र हो सबै फर्केका च्याङ्गबाट । सामान थन्काई मन्काई गरेको भोलिपल्ट हो दुई महिलाको झगडाले अलि ठूलो रूप लिएर सबैले थाहा पाएको – आफ्नो लोग्नेलाई नजीक बनाएको देउरानीको आरोप थियो ।   आफू निर्दोष हुँदाहुँदै पनि दोष लगाएको आरोप  विधवा जेठानीको थियो ।

आज बिहान त यही निहुँमा हात हालाहाल, तल्लो उपल्लो घरमा ढुङ्गा समेत हानाहान भएको थियो रे ।

थाहा  भएर पनि त्यति ठूलो महत्त्वका साथ सुनेको थिएन उसले । जब आजै दिउँसो फुर्वाले भेटेर आज बेलुकी हाम्रो घरमा आइदिनु पर्‍यो भनेपछि मात्र ऊ आएको थियो ।

उसले बसिसके पछि यताउता कुनाकानीतिर हेर्‍यो । “खोइ त  भाउजू ?”

“उनी नआई  कुरा कसरी अघि बढाउनु, कुरा त दुवैको सुन्नुपर्‍यो त ।”

अर्को छेउमा बसेको सबैभन्दा बुढा मान्छेले भने, “सल्लाह भै सकेको छ, एउटा मिलापत्र लेख्दिनु पर्‍यो । अबदेखि यो फुर्वा भाउजूकोमा नजाने, नबोल्ने कुरामा सहमति भएको छ ।”

कुरा हुँदै थियो । ढोकातिर झिलिक्क उज्यालो देखियो । जेठा छोरा अघिअघि, कान्छालाई हातमा च्यापेर लाक्पाको आमा आइपुगी । उसलाई बस्न पिर्का दिइयो  मुदुसमुनि बाट तानेर । ऊ सानोलाई काखैमा लिएर बसी अँगेनाको एक छेउ । आफ्नी श्रीमतीको  तीखो र आक्रामक आँखालाई आँखैले दबाइदियो फुर्वाले । भाउजूको घरमा आउनु, जानु, बस्नु, खानुलाई ठूलो रूपमा नलिनु भन्ने नै उसको आग्रह थियो ।

“भाउजूका माइती टाढा थिए । उनलाई सहयोगको आवश्यकता थियो । आफूले सहयोग गर्दा किन काँडा बिझ्नु पर्ने उसलाई ?” फुर्वाले वेलावेला यही कुरा उठाउँथ्यो ।

“सहयोग गर्नु एउटा कुरा, बस्नु-खानु एउटा कुरा, रातै बिताउनु पर्छ त । कति रात भयो तिमी घरमा नसुतेको, थाहा छ ?” कुराको थैली खोल्न थालिन् रिन्जिनले । उनलाई असैह्य भएको कुरा उनको भक्कानिएको बोलीबाट बुझिन्थ्यो, “लोग्ने मान्छे एउटी आइमाईकोमा रातभरि बस्नेलाई के भन्ने ?”

“छ्याङ्ग खाएपछि राती उठेर कता जानु लोटेर मर्ला भनेर लाक्पासँग सुत्न भनेकी थिएँ । तेरो पोइलाई मैले खोस्न खोजेको होइन । काममा सहयोग गर्नेलाई ख्वाउनु, पियाउनु रिति नै हो गाउँको, के अपराध भयो ।” ल्हामुको जवाफ सरल थियो । निकै बिचार गरेर बिस्तारै जवाफ दिएकी थिई उसले ।

“यिनीहरूको कुरा यस्तै हो  डाक्टर साप ! जति सुने पनि कुरा एउटै, अबदेखि फुर्वा रातीमा ल्हामुको घरमा जाँदैन । जान नपाउने गरी एउटा मिलापत्र लेख्दिनुहोला ।” निर्णयको शैलीमा पौढ व्यक्ति  बोले । छेउमा रहेको बुद्धको मुर्तीछेउमा रहेको कापी झिकेर दिए, “ल यसैमा लेखिदिनू । तीनै जनाले ल्याप्चे लाउँछन् ।”

लामो मौनतापछि लेख्न थाले अहेवले । घरमा दुईचार कक्षा फुर्वा र फुर्वाका बुबाले पढेका थिए । डाक्टरले लेखिसकेर कागज बुढातिर दिन खोज्दै थिए फुर्वाले समातेर हेर्‍यो ।

“ओहो ! भाउजूकोमा कहिल्यै पो नजानु ? म नगएर कसले सहयोग गर्छ ? याक कसले खेरिदिन्छ ? सु खेर्चै च्या छा ?” हतारमा बोल्दा मातृभाषा आइहल्यो फुर्वाको । उसलाई कागजको ब्यहोरा मन परेन ।

ऊ हाँसेको हो कि रिसाएको दुई अर्थ लाग्ने भावको अनुहार देखियो । लेखेको पाना च्यातेर निकाल्यो । र हातको पाना टुक्राटुक्रा पारिदियो । सबैजना मुखामुख भए ।

“भै गयो त, जसरी चलेको छ चलोस्, सबैले आफूलाई सम्हालेर चल्नु न घरभित्र के को कागज चाहियो र ।” अहेवले  यसो भन्दा भन्दै  “क्यु पिजा” भन्दै ल्हामु बाहिरिई । डाक्टर पनि निस्किन खोजे । खल्तीमा छामछुम गर्दै लाइट खोजे, “ओहो लाइट ल्याउन भुलेछु त फुर्वा !”

“म पुर्‍याइदिउँला सर हिंड्नु ।”

फुर्वा सहित अहेव पनि निस्किए । बाटो चिप्लो थियो । भर्‍याङको खुट्किलो साँघुरो थियो । माथिबाट उज्यालो देखाएर झरेपछि फुर्वा र अहेवसँगै हेल्थपोस्ट सम्म जाने भए ।

“लेखिसकेको कागज किन च्यातेको त फुर्वा ? ”

“दाजु नभएपछि भाउजूकोमा म नगएर अरू को जान्छ सर ? मलाई कागजले रोक्ने त होइन तर उसलाई अर्को अर्को पटक झगडा गर्ने निहुँ हुन्छ नि त्यो कागज । उसलाई पनि त  मैले अर्काको एउटा छोरा सहित ल्याएको थिएँ । उसले भुलेर अहिले निहुँ खोज्न सुहाउँछ र ? सरलाई थाहा छ त ।”

अहेवलाई सबै कुरा थाहा भएर पनि थाहा नभए झैँ लाग्दै थियो । समाज जसरी चलेको छ चल्न दिनुपर्छ । ऊ त एउटा स्वास्थ्य कार्यकर्ता न हो ।  उसले सोच्दैमा यहाँनेर फेरबदल हुने होइन । ऊ सोचमग्न भएरै हिँडिरह्यो ।

कोठासम्म पुर्‍याएर फुर्वा फर्कियो ।

“अब आज घर जान्छौ कि भाउजूकोमा त फुर्वा ? ”

“सर पनि हँ..सा..उ..नु .. हुन्छ ….!” फुर्वाको आवाज टाढा भै सकेको थियो ।

– विष्णु पादुका

कागकोट ,डोल्पा ।