-छोरालाई जरो झन् बढेको जस्तो छ, ओखती लिन पटाऊँ भने हातमा एक पैसा छैन । हजूर पनि बिहानै फरवेजगञ्ज सवारी भइसे’छ । यहाँसँग दश रुपियाँ सापटी पाइन्थ्यो कि ?” आमाको कोठामा घरानियाँ कण्ठ स्वर सुनेर म आफ्नो ओछ्यानबाट उठें ।

लगत्तै आमाको जवाफ सुनियो, “फेरि जरो बढ्यो ? त्यस्तो बालखलाई कति पीर ! अहिले आफूसँग पनि यी दुई रुपियाँ मात्र छन्, छोरो घरमा छैन ।”

म हल न चल भएर त्यहीं उभिइरहें, आमाले किन म छैन भन्नु भा’को होला। फेरि पहिलेको मसिनो कण्ठ स्वर सुनियो, “दुई रुपियाँ भए पनि बक्सियोस् हजूर ! थपथाप गर्नु पर्ला । पुरानो चामल भए एक माना लानु पर्यो, छोरालाई जाउलो खुवाउने छु ।”

त्यसपछि भण्डारको ढोका खोलेको र खत्र्याक खुत्रुक गरेको सुनियो शायद आमाले चामल दिनुभयो क्यारे । फेरि भण्डारको ढोका लाएको र गुनगुन गरेको सुनें । गुनगुन सकिएपछि म बाहिर निस्कन लागेको त आमा आफै स्वाट्ट कोठामा पस्नुभयो र मैले हाँस्दै भने, “एकाबिहानै ढाँट्नु भयो, म बाहिर आएको भए नि त ?”

आमा खुइय गरेर मेरो ओछ्यानको छेउमा बस्दै भन्नुभयो, “नढाँटी पनि त भएन बाबु, सधैँ माग्न आउँछन् ! नदिऊँ भने यिनीहरूको बिजोग देख्दा माया लाग्छ, दिऊँ भने सधैँ माग्छन्, कसरी सक्नु ?”

मैले सोधें, “अघि अघि त यिनीहरू यहाँ आए जस्तो लाग्दैन, को हुन् ?”

छेउको खरको घरलाई औंल्याउँदै आमाले भन्नुभयो, “उ त्यो झुपडीमा बस्छन्, घरको बाबु रोगी रहेछन् तैपनि दिनैपिच्छे फरवेजगञ्ज धाउँछन् ।”

मैले सोधें, “किन ?”

आमाले भन्नुभयो, “यिनीहरूको घर-खेत एउटा मान्छेले किनेको रहेछ तर अझसम्म पैसा तिरेको छैन अरे, त्यो मान्छे फरवेजगञ्ज बस्छ अरे र त्यसैलाई ताकिता गर्न दिनाैं उनी फरवेजगञ्ज धाउँछन् । दिन लागेपछि त्यस्तै हो सबैतिर भत्कन्छ । अघिका खान्दानी रहेछन्, साह्रै दुःख पाएर बिराटनगर आएर बसेको भन्छन् । पैसा पाएपछि फेरि काठमाडौं नै फर्कने अरे ।”

झ्यालबाट मैले त्यो खरको घरपट्टि हेरें, घर अधि रगरगती केटाकेटीहरू खेलिरहेका ! आमासित सोधें, “यतिका केटाकेटी कसका नि ?”

आमाले जवाफ दिनु भयो, “उनैका । तीन वटी स्वास्नी छन्, अघि सापटी माग्न आउने कान्छी हुन् ।”

किन हो यो कुरा सुनेर मलाई दिक्क लाग्यो तर आमालाई केही भनिनँ ।

तीन वटी आइमाई र यिनीहरूका स्याउँस्याउँत छोराछोरोहरूका विषयमा म विचार गर्न लागें । रोगी लोग्ने, असहाय स्वास्नीहरू र यतिका दालबच्चा कसरी निर्वाह होला ! यिनीहरूको केही सेवा गर्न सके कत्रो पुण्य हुन्थ्यो, पुण्य नभए पनि कति आत्मसन्तोष हुन्थ्यो । म यिनीहरूको निम्ति केही गरी छाड्छु भन्ने संकल्प गरेर मुखहात धुन गएँ ।

बिहानको चिया खाएर म फेरि आफ्नो सुत्ने कोठामा गएँ। केही गम्दै झ्यालबाट त्यो खरको झुपडीपट्टि हेरेको त त्यहाँको चालामाला देखेर म तीन दङ्ग परें । एउटो पातली आकर्षक आइ- माई सारीको एक छेउ समातेर उभिएकी, अर्को छेउ चाहिँ उनी भन्दा केही जेठी जस्ती स्वास्नीमान्छेले समातेकी थिइन् । त्यसरी त्यहाँ सारीको पर्दाले घाम छेक्ने काम गरेको थियो । पर्दाभित्र एकजना खपटे, घामले डढेको, अनुहारमा झुस्स दाह्री, आँखाले मधिसे जस्तो मान्छे ईंटमाथि नाङ्गै बसेको थियो । एउट दुब्ली आइमाईले साबुन घसेर त्यसलाई नुहाई दिँदै थिइन् । नुहाउने काम सकिएपछि ती स्वास्नी मान्छेले मैलो थाङ्‌ना जस्तो लुगाले त्यसको जीउ पुछिदिइन् ।

अब त्यो मान्छे उभियो र आफ्नो खुट्टा ईंटमाथि राखिदियो, आइमाईले चाहिँ पालेसित दुवै खुट्टा धोएर पुछिदिइन् । दुई वटी आइमाई चाहिं यतिञ्ज्याल सारी समातेर उभिई रहेकै थिए । पुछी सकेपछि त्यो मान्छे ठाँटसित उभियो, तन्कियो र झुपडीभित्र पस्यो, एउटी आइमाई उसको पछि-पछि गइन् । अरू दुई वटी पानीको टिन, भिजेका थाङ्ना बटुल्न थाले । म एक्लै खित्का छोडेर हाँसेछु । आजको युगमा पनि कोही मान्छे कथाको राजा जस्तो आइमाईसित नुहाई माग्छ । त्यसको सोख, त्यहाँको कंगाली वातावरण, सडकको छेउमा पुरानो सारीको पर्दाभित्र बसेर आइमाईहरूसँग नुहाई मागेको दृश्य टीठलाग्दो भए पनि हाँस उठ्दो पनि थियो ।

म हाँसेछु । भान्सा कोठामा गएर आमालाई भनेको त उहाँले उल्टो उही मान्छेको पक्ष लिएर पो भन्नुभयो, “वरा, सौखिन मान्छे ! आफै केही गर्न जान्दैनन् के गरून् त !”

मेले झोक्किँदै जवाफ दिएँ, “तीनवटी फुकीढल आइमाईले ऐंचोपैंचो गरेर त्यसलाई पाल्छन्, त्यसका त्यतिका केटाकेटी जन्माउँछन्, त्यसको सेवा टहल गर्छन् के उसले चाहिं आफ्नो जीउसम्म नुहाउन सक्दैन ? सारोले त्यसलाई घाम छेक्न पर्छ ! मर्नु नि त्यस्ताले ।”

आमाले जिभ्रो निकाल्दै भन्नुभयो, “राम, राम, अरूलाई दिन लागेको बेलामा त्यसो भन्नुहुन्छ ?”

धन्य आइमाईको मन कस्ता कस्तालाई माया गर्न सकेको ! मैले ड्याम्म झ्याल थुनें ।

अब मेरो हृदयका जम्मै समवेदना हराएर त्यसप्रति मलाई रीस उठ्न थाल्यो । यस्तो अल्छे स्वाँठले दुःख नपाए अरू कसले पाउँछ ? बढ खान्दानी भएर आइमाईलाई दल्न पल्केको, पृथ्वीलाई भारी बोकाउन जन्मेको ! यी आइमाईहरू पनि कस्ता सुधा ! नेता जस्तै म भाषण दिन थालेछु, श्रोता पनि आफै वक्ता पनि आफै । तर यो सोझा आइमाईहरूको के गति होला ? यतिका बच्चाबच्चीको बिजोग हेर्न पनि भएन । खेत-घरको पैसा पाएपछि यो मान्छे त अर्की आइमाई लिएर पनि अल्पिन सक्छ । मैले यी अबलाहरूको रक्षा गर्नै पर्छ भन्ने सम्झेर म पनि त्यो मान्छे घरबाट निस्केको केही बेरपछि जोगबनी स्टेशन गएँ ।

स्टेशनमा त्यो मान्छे थिएन ता पनि म फरवेजगञ्ज जाने रेलमा चढेँ । फरवेजगञ्जमा रेलबाट ओर्लेर म पहिले ब्याङ्कमा गएँ त्यहाँ त्यसलाई देखिन, त्यसपछि चिया पसल चाहारें त्यहाँ पनि त्यो मान्छे थिएन । केही किनमेल गर्न पो गएको छ कि भनेर म बजारको गल्लीतिर लागें, त्यहाँ त मेरो कन्सिरी तातेर आयो । फरवेजगञ्जको साँगुरो गल्लीको एक छेउमा उभिएर त्यो मान्छे भीख मागिरहेको थियो, साँच्चै हात पसारेर माग्दै थियो । उसको खपटे अनुहार, झुस्स दाह्री उस्तै थियो, भिन्नता के थियो भने तीन वटी आइमाईको माझमा धृष्टतासँग नुहाई माग्ने त्यसको सिकुटे शिर फरवेजगञ्जको गल्लीमा ओहोरदोहोर गर्ने मानिसहरूको अघि केही निहुरेको थियो । लाज, शरम र धिक्कारले मेरा आँखा आफै निहुरिए । सारा फरवेजगञ्जले औंलो ठड्याएर मलाई खिसी गरे जस्तो लाग्यो ।

(देवकुमारी थापाको कथासंग्रह ‘भोक तृप्ति’बाट)