
: २ :
शशी भित्रभित्रै फ्यात्त भएर ११-१० को धूपीको पार्टिशनको डेरामा पुग्छे । बाबुचाहिं काममा गइसकेका रहेछन् भाइ-बैनी पनि स्कूल गइसकेका रहेछन् । शशीलाई घरभित्र पस्न दिगमिग लागेर आयो, आफूभित्र औंसा परेको जस्तो लागेर आयो । ख्याउटे भाइ मैलो ओछ्यानमाथि सुतिरहेको रहेछ । सानो काखको नानीचाहिं फोहोर थाङ्नामा अलपत्र रमाइलो बनेर हातखुट्टा चलाइरहेको । शशीलाई दूधमुखे बैनी देखेर टीस उठेर आयो । भोलिका डरलाग्दा पागल कुकुर मानिसहरूले त्यसलाई पनि टोकेर विक्षिप्त बनाइदिनेछन्, त्यसका रगतसरीका मासुहरू टोकिदिनेछन्, लुछिदिनेछन्, विकृत र उजाड बनाइदिनेछन् । उफ् ! मेरी फूल जस्ती अबोध बहिनी, पागल कुकुरहरूले तँलाई जहाँसुकै ढुकिरहेका छन्, सडकभरि, शहरभरि, गल्लीभरि, ठूल्ठूला पसल र होटलभरि । बरु तँ यसरी नै आमाको स्याप्टो दूध चुस्दै देश र कालको उपहास गरेर कचल्टिएर बस् ! शशी रातो सुइटर फुकाल्दै मनभित्र भनिरहेकी हुन्छे ।
रातो सुइटर सस्तो काठको पलङको शिरानमास्तिरको मक्किसकेको काठमा ठोकिएको तीन इञ्चे काँटीमा झुड्याउँछे अनि पालैपालो गरेर सारी, ब्लाउज पनि खोलेर पट्याएर धोबीको लुगा सुकाउने डोरी जस्तो गरी बनाएको सनपाटको डोरीमा हिफाजतसँग राखिदिन्छे । त्यो डोरी लुगाको भारले यति झोलिइसकेको थियो कि अहिले चुँडिन्छ, अहिले चुडिन्छ । शशीलाई राम्रो चाँपको वानिश लाएको दराजको ख्याल आउँछ । त्यस्तै चाँपको वार्निश लाएको दराजभरि सारी, ब्लाउज खातका खात लुगा भइदिनु नि भनेर सम्झिरहेको वेला आमाचाहिं मरी-मरी मायालु हाँस्दै भनिरहेकी हुन्छिन् ।
“क्या हो ठूली, सायाको पछिल्तिर भ्वाङपाटा भइसकेछ । हेरन कस्तो ह्वांगै देखिसक्यो । छिः छिः पहिले हामीलाई पाँसुला देखाउन पनि कस्तो शरम लाग्थ्यो !”
शशीले स्वाभाविक ढङ्गमा भनी ।
“पेटिकोट नै थिएन, यी आज एउटा किनेर ल्याएको छु । तिमीसित केको लाज आमा ? यि हेरन, सानुमा पिलो निक्लेको दाग, झन् कालो कालो भएर जाँदैछ !” भन्दै शशीले आमापट्टि फर्केर पूरै पेटिकोट माथि कमरसम्म सुर्काएर घाउको टाटा देखाइदिई ।
“छिः छिः भो भो ! हो, हत्तपत्त दाग जाँदैन, भेडाको घ्यू लाउनुपर्छ । त्यहाँ नलगाए पनि भो, कल्ले देख्छ ! त्यहाँ किन त्यस्तरी काटेकी, बुरुरु भइहाल्छ फेरि !”
शशी खितखत हाँसिदिई मात्रै । भ्वाङपाटे पेटिकोट भुइँमा झारेर नयाँ पेटिकोट लगाई अनि काती परेको ब्रेसियरलाई खोलेर नयाँ लाउँदै आमालाई भनी ।
“पछिल्तिरको हूक अडकाइदेऊ न आमा ?” भन्दै पुरानो ब्रेसियरलाई पलङमुनि फ्याँकिदिई ।
“छिः कति अग्लो चुच्चो भएको” भन्दै हूक लगाइदिइन् ।
“त्यो साया धोएर राख्, नानीलाई थाङ्ना हुन्छ । छिः कति फोहोर त्यस्तो ! ए, खोइ त्यो बिहान भनेकी ? कहाँबाट पाइस् किन्ने पैसा ? ठूलो, दुनियाँको छेउमा हाम्रो गिल्ला नहोस् है ! खोइ, ले पैसा ?”
शशीले ब्यागबाट पैसा निकालेर आमाचाहिँको हातमा एउटा नोट पारिदिई । आमाचाहिँले एकपल्ट छोरीलाई मायालु हेरेर भनिन्,
“आफ्नू जीउको पनि ख्याल गर् है, ठूली ! त्यो डेक्चोमा दाल-भात छ, खा । एउटा अण्डा ल्याएर फ्राई गरिदिऊँ ?”
शशी जवाफशून्य भएर बसी । कुन्नि के सोचेर अलि बेर पछि भनी,
“भात खान्नँ, एउटा अण्डा फ्राई गरिदेऊ, त्यो ब्यागभित्र पच्चीस पैसा छ ! साँच्ची आमा, आज म एक ठाउँमा जाँदैछु, पर्सि मात्र आउँछु । बाबालाई तिमीले एउटी साथीसित खरसाङ गई भनिदेऊ । म पर्सि मात्र आउँछु, नगई नहुने छ !”
“शशी, बाबा रिसाउँछन् । अस्तिको ठेकदार पनि बेलुकी आउँछु भनेका छन् । त्यो अस्तिको तँसित आउने को मान्छे पनि अगि आइपुगेको थयो, जरूरी काम छ रे !”
“बाबा रिसाएर केही हुँदैन, आमा । त्यस्ता बूढा ठेकदार यहाँ किन आउँछन् घरिघरि । त्यो ठिटो त्यस्सै चिनेको हो । काम छैन, त्यस्तै यताउतिको काम गरिहिंड्छ कमीशनमा । शहरभरि त्यस्ता मानिस छन् । मलाई त्यसले एउटा होटलमा जाऊँ भनेको धेरै दिन भइसक्यो । मलाई थर्ड क्लास होटलमा जान मन पर्दैन । यहाँ जति मानिस आउँछन्, कसैसित पैसा हुँदैन । मलाई पैसा नहुने मान्छे मन पर्दैन । त्यो ठेकदार तिमारलाई रक्सी-अण्डा ख्वाएर मसित सुत्न भन्छ । मलाई बूढो मान्छे जत्तिकै धनी भए पनि मन पर्दैन । फेरि कस्तो दिक्दार तुल्याउँछ भने ओहो विरक्त नै बनाइदिन्छ । म पर्सि मात्रै आउँछु, भाइलाई ताकतको दबाई र तिमीलाई एउटा फेरफारे सारी ल्याइदिन्छु । सबैलाई खरसाङ गएकी भनिदेऊ तिमीले । खोइ आमलेट ?”
“जा, म उसलाई त्यसै भनिदिन्छु । त्यो ठेकदार आउँछ, आओस् । बाबालाई रक्सी पिउने एउटा बहाना छ । केटाकेटीले मिठाई पनि पाउँछन् । म त्यसलाई कतै गएको छैन भनेर ढाँटिदिन्छु, त्यो सधैं त्यसरी नै आइरहोस् । त्यो मान्छे को शशी ?”
“को हो को हो ! म मान्छेको सोधीखोजी गर्दिनँ । राम्रो छ, पैसा पनि खल्तीभरी छ । टुरिस्ट हो कि, कमानको म्यानेजर हो कि वा बिजिनेसम्यान हो । राम्रो छ । आमा, हामी अर्कै डेरा खोजेर बस्नुपर्छ । कमसेकम दुई कोठा भएको । राती
सबै जना एकै ठाउँमा पोको परेर सुत्न मन पर्दैन, अप्ठ्यारो लाग्छ । म तिमारको सधैँ सप्पै सुन्छु । झन् बाबाले रक्सी ज्यादा पिएको वेला ता सहिसक्नु नै हुँदैन ! तिमीले अपरेशन गर्नुपर्छ । अपरेशन गर्ने डाक्टरसित मेरो चिनाजानो छ । साँच्ची, एक कुरा भनूँ, आमा ?” शशी छाडा पारेर खितखित हाँसिदिई ।
“के, भन् ?”
“होस्, ए खोइ अझै, होस् अब । चार बजिसक्यो । एक घण्टा तयार हुनै लाग्छ । यि यसरी सानो पेट चसक्क चसक्क दुख्छ ?”
“त्यसैले मैले भनेकी जीउको होश राख !”
“मान्छेलाई जति जीउ दियो उति शरीरलाई रोग हुन्छ । के गर्छेस्, तेरो बाबै त्यस्तै भइदियो, एक नम्बर लुइतामे ! उसका साथीहरू गाडीका मालिक भइसके, घर बनाइसके । खोइ के भन्नू !”
“मान्छेको पहिले अवस्था सुध्रनुपर्छ आमा, ढाँचा आफसेआफ उक्लिन्छ । यहाँ ता ठीक उल्टो छ । हात्तीका दाह्रा र दाँत जस्तो जिन्दगी ! उ… नानी पनि उठ्यो । कान्छा ता आज निकै लामो सुत्यो …”
शशीले खातै खात झुण्डिएका लुगाहरूबाट एउटा सारी खोतलेर निकाली अनि सिल्भरको मगले बाल्टीको पानी उभाएर मुख भिजाई अनि एउटा काती परेको झाडनले हल्का हल्का पुछ्दै धमिलो ऐनामा अनुहार हेर्दै हल्का हल्का गीत गुनगुनाउन थाली ।
शशीलाई आज राम्री हुनुपर्छ भनेर भित्री लागिसकेको थियो । त्यो युवक जसको सम्झना यतिन्जेलसम्म आएन अहिले रूमलिएर ह्वात्त भयो । आज उसको रात पचास रुपियाँमा बिक्री भइसक्यो भन्ने भावनाले पनि अहिले उसलाई फ्यात्त कुहिएको जस्तो लागेन । एउटा डरलाग्दो नाङ्गोपन छरिएका ठाउँमा उसको छातीमा जहिले पनि विरोध भरिइन्छ, परम्परा र सामाजिक मान्यता टुक्रिंदै जान्छन् । मान्छे जिन्दगीभरि चिसोमा कति दिन बाँच्न सक्तछ ! मान्छे जिन्दगीभर एउटै अवस्थामा कति खपेर बस्न सक्छ ! मान्छेको प्रत्येक क्षणले कोल्टो फेर्छ !
शशीले ओठमा होशियार भएर लिप्स्टिक पोत्न थाली, आँखाका परेला चिटिक्क पारी, तल्लो भागमा गाजल लगाई अनि कमलो गाला गुलाफी फूल बनाएर मिहिनेत सितले बनाएको अग्लो केशराशिलाई हल्का सुमसुम्याएर सन्तोषको सास फेरी ।
स्कूलबाट भाइ-बैनी आइसकेर १२-१० को कोठाभार गज्याङगुज्युङ भइसकेका थिए । नराम्रा लुगाहरूमा फल जस्ता भाइ-बैनी कति नरमाइला वस्तु बनिदिएका छन्, वाकवाक् लाग्ने, हेरिरहँदा अमन लागेर आउने । अनुहार पनि कस्तो तँवालो लागेको आकाश जस्तो छ सबैको ! यतिका पहेंला सिमी उसको आमाले कसरी फलिदिन सकिन् ? कुन आशा, कुन भरोसाले ! कुन जिम्मेवारीले उसका बाबा यतिका बच्चा जन्माइदिन सक्छन् ! उसको हैसियत के छ, उपलब्धि के छ, अधिकार के छ ? मान्छेमा पनि थाङ्रा लाग्नुपर्छ, नत्र त्यो बेआधार हुन्छ ! शशीलाई आफ्ना बा एउटा हत्यारा जस्तो लागेर आउँछ । यतिका मान्छेहरूको जिम्मेवारी बोकेर कति मरन्च्याँस भई बाँचिदिएका छन् उसका बा ! छाती, मुटु र गिदीविना केवल लाम्टा, हड्डी र गुहे आन्ध्रा भुँडीमा ! कति मक्किएको छ उनको जिन्दगी ! छियाछिया र जर्जर भइदिएर रोगी समाजभित्र कुन हकमा बाँचिदिएका छन् ? शशीको छातीभित्र क्रान्ति मच्चिन्छ, मुटुमा जोश आउँछ, मस्तिष्कमा प्रश्नहरू !
शशीलाई आफ्नो बेपत्तिएको दाज्यूको ख्याल भएर आउँछ, एउटा थाङ्रा नभेटेको सिमी, एउटा गैरजिम्मेवारीको सबूत, एउटा रोगी समाजको देन; त्यो लछेप्रै कहाँ कचल्टिएर पहेंलिएकी होला ! त्यल्ले घर छोडेको दुई वर्ष भइसक्यो, त्योभन्दा अघि म्यूनिसिपल एरियाभित्रको कुकुरको जिन्दगी बिताएर त्यो कहाँ गयो कहाँ, खोजखबर पनि भएन । त्यो अहिलेसम्म बाँच्नको निम्ति गुण्डो भइसक्यो होला, पाकेटमार भइसक्यो होला, अथवा कहीं एउटा उद्भ्रान्त गनाउने फोहोर जिन्दगी बिताइरहेको होला । शशीलाई दाज्यूको कहिलेकाहीं माया लागेर आउँछ, उसकी आमालाई पनि माया लागेर आउँछ । कहिलेकाहीं शशीलाई यस्तो लागेर आउँछ, कुनै दिन उसको दाज्यू लायकको तन्नेरी भएर राम्रो राम्रो लुगा लाएर हातमा छालाको सूटकेस झुण्डाएर आउँछ, बेडिङ र ट्रङ्क कुल्लीलाई बोकाएर आउँछ ।
शशीलाई लायकको तन्नेरी मन पर्छ । उसको दाज्यूको चेहरा खूप मिलेको राम्रो थियो । तर चिसो अवस्थाले कक्रिएर त्यो अनुहार जहिल्यै पनि बदली परेको दिन जस्तो मात्र भयो । एक दुई दिन मोटर स्ट्याण्डमा फोहोर केटाहरूसित मिसी प्यासेन्जर खोज्ने काम पनि गर्यो । त्यो शायद कतै दरबान काम गरिरहेको होला अथवा भर्ती भएर देशको सुरक्षामा कुनै सीमान्तमा बंकरभित्र बसेर एउटा आँटिलो खस्रो जिन्दगी बिताइरहेको होला । मान्छे जहाँ पनि कुनै न कुनै, चाहे निर्माणको होस् चाहे विध्वंशको कामका लागिरहेकै हुनुपर्छ, लागिरहेकै हुनुपर्छ ! मान्छेले रित्तो जिन्दगी बिताउन सक्तैन । देश र देशबासीको निमित्त शहीद भइदिनु पनि एउटा अस्तित्वको कुरो !
परन्तु उसको दाज्यू मारेर पनि बाँच्छ, मरेर पनि बाँच्छ प्याटन ट्यांक र सुपरसनिक नेटलाई गोली छोडेर भस्मीभूत तुल्याइदिन्छ, अग्रिम क्षेत्रका चौकीहरू कब्जा गरेर वीरबहादुर बनिदिन्छ, चक्र थाप्छ तक्मा पाउँछ अनि केसुअल्टी भएर पेन्सन थापेर एउटा हाड-मासु र एउटा काठको खुट्टा झुण्डाएर एउटा काम नलाग्ने चीज बनिदिन्छ ।
दाज्यूप्रति एउटा श्रद्धाको भावनाले मुटु छोइदिन्छ । आज उसले उन्नाईसमा टेकी । एउटी बहिनी निमोनियाले नमरिदिएकी भए अहिले सत्रमा लागेकी हुन्थी परन्तु त्यो मरिदिई र त्यसले यो नाङ्गो उज्यालोमा चिसो भई बाँचिदिनुपरेन ! एउटा भाइ पन्ध्र वर्षको छ, त्यो टालेको हाफप्यान्ट लाएर स्कूल जान्छ । तेह्र वर्षकी बहिनी छातीमा ससाना फूल फुलाएर मेला फूल भाको जामा लाएर प्राइमरी स्कूल जान्छे ! त्यो पनि नयाँ डिजाइनको छोटो तिघ्रा देखिने जामा, हाइहोलको स्यान्डल खोज्ने भइसकी ! कहिलेकाहीँ छाडा स्कूले ठिटाहरूको कुरा गरेर इन्द्रेणी भइदिन्छे । अस्ति कहिले त्यसको मास्टरले माया गरेर सुमसुम्याई बस्यो रे ! मान्छे बिच्छी जस्ता विषालु भइसके । नरम-कमलो चीज भेटे कि ता डंक लगाइहाल्छन् ! विकृत पारिदिन्छन् । शशी आफ्नो तेह्र वर्षको बहिनीसित राती सुत्छे । त्यो लोग्ने मान्छे जस्तै शशालाई छाडा अँठ्याएर सुतिदिन्छे ।
शशीले एकरात आफ्नो बहिनीको तिघ्राको मास खेलाइदिंदा त्यो कति उत्ताउलो भएर स्याँ स्याँ भइदिएकी थिई । आइमाईको शरीर कति चाँडो विकसित भइदिएर लथालिङ्ग भइदिन्छ । शशीलाई बहिनीप्रति एउटा सहज सहानुभूति तनक्क तन्किएर आए जस्तो लाग्छ ।
“नीलू !”
“हुँ !” मानौं आपने अवस्थामा त्यो पनि द्रवित भइउठेकी छे ! मानौं आफ्नो नाङ्गो अवस्थाले त्यो भित्र पनि विरोध जन्मिसकेको छ ! मानौं दिदीको फुक्का जिन्दगीले कैलो भावना फक्रो उठेको छ !
“तिमोलाई मास्टरले माया गर्छ हगि ?”
“गर्छ, धेरै धेरै गर्छ, सबैलाई भन्दा ज्यादा गर्छ ! मलाई ट्यूशन पढाउँछु भनेको छ !”
“तर तिमी जान पाउँदिनौ । त्यो मास्टरलाई म बेस गरी चिन्दछु । त्यो राती सधैं मातेर बसेको हुन्छ । जाँड-रक्सो दुवै खान्छ, केटीहरू खूप मन पराउँछ, त्यल्ले मलाई देख्दा सधैं सुसेली पार्छ ! नैतिक पतन भइसकेको मान्छेसित डराउनुपर्छ, तँ सानै छेस्, नीलू !”
नीलू थम्म परेर कालो बादल बनिदिन्छे । जमानासित विरोध गर्न त्यो समर्थ भइसकेकी छैन, त्यसको छाती अझै सानो छ, तिघ्रामा मासु लागेकै छैन । शशीलाई पनि जाने हतारले छोइसकेको हुन्छ, आमालाई फेरि त्यही कुरा दोहोऱ्याएर १०-१२ को कोठाबाट फुत्त निस्कन्छे मानौं त्यो कोठा फोहोर भएर ज्यादै गनाउने भइसकेको छ !
० ० ०
: ३ :
घण्टाघरको घडीले ठीक पाँच बजाउँदा शशी ठिक्क चौरस्ता पुगेकी हुन्छे । मान्छेहरू स्याउँ स्याउँ औंसा जस्ता झुत्ता खेलिरहेका हुन्छन् – एउटा विकृत सभ्यताको गुहे दह जहाँ मानिसहरू छातीभित्र खटिरा बोकेर डुबुल्की मार्छन्, एउटा क्षयग्रस्त जिन्दगी बोकेर ! मान्छे आफ्नो कमजोरी केही देखाउन चाहन्नन्, भित्रभित्र कचचच कुहेर पनि समाजको अधि शिष्ट र सभ्य भएर परम्परापूर्वक बाँचिदिन चाहन्छन् । अहंकार र क्रोधले सुनिएका मान्छे यहाँ कसैले कसैलाई टेर्दैनन्, एउटाले अर्कोलाई हियाएर, हेपेर हेर्न खोज्छन् । मान्छेभित्रको इगो यहाँ आएर हरियो बरको रूख हुन्छ । शशीलाई यस्तो बोध लागेर आइरहेको हुन्छ कि मान्छेको ढाँचा मात्र बढेर चुलिइसक्यो परन्तु अवस्था लिलिपुट अवस्थामै छ, क्याक्टस जस्तो काँढालु बालुवामा उम्रने ! उसको सामाजिक घडेरी केही छैन, जतासुकै टुक्रिसकेको, भत्किसकेको एउटा रोगी समाज, रोगी संस्कृतिबीच हुर्किरहेको यो मान्छे ।
शशीलाई यो ठाउँमा आइपुग्दा सधैं यस्तै न यस्तै हुन्छ । मान्छेको सामाजिक हैसियत खुट्याउन नसकिने यो ठाउँसित शशीको हृदयमा हरदम विरोध आगो लाग्छ । शशीलाई एक हूल फुङ्ग उडेका युवकहरूले हेरेर हाँसिदिन्छन् । शशीलाई ती बिटल्स युवकहरूको हाँसो संसारप्रति उपहास र मानव समाजप्रति मोसो जस्तो लागेर श्राउँछ । शशीलाई यी रोगी- युवकहरूको आर्थिक र सामाजिक, नैतिक र बौद्धिक एकएक कुरोको थाह छ ! टिपटापे अंग्रेजी बोलेर, झ्याप्लुङ केशमा साङुरो लुगा लाएर यी खोका युवकहरू अमेरिका र लण्डनका बिटनिक र बिटल्स भइटोपल्छन् !
एउटा चाहिँको बाबु मेन लाइनको ट्रक चलाउँछ, एउटा सिनेमा हलको गेटकीपर छ, आर्को चाहिँको एउटो बन्धकीमा परेको थोत्रो घर र ब्रोंकाइटिजले भेटेको खुइलिएको ट्रक छ ! शशीलाई सबै कुरा थाह छ, कसैले ढाँट्न, कसैले छल्न सकेन ! सामाजिक मान-मर्यादाको मुखुण्डो लाएर हिँड्ने भलादमी र तिनका छोरा-छोरीहरू, कति उत्पात मचाएर युविलप्टस भइदिएका छन् । प्रायः धेरैजसो युवतीहरूको पनि उही धन्धा छ, त्यही पेशा; राती राती होटल जान्छन्, ड्रिंक गर्छन्, नाच्छन् ! शशीलाई यसै कारण फेशनग्रस्त युवक- युवती आफ्नो अवस्था र क्याँटको लाग्दछ ।
यहाँ को लखपति छ, को करोडपति छ ? कसको कलकारखाना छ ? कसको चिया कमान छ ? कसको इन्ड्रस्टी छ ? कसको आकाश छुने बिल्डिङ छ ? सबै एउटै अवस्थामा छन् ! आठ घण्टा नोकरी गर्ने वेतनभोगी जिन्दगीहरू छन् अनि सीमित आयले यस्तो ठण्डी र महँगोमा किरायाका घरहरूमा बसेर कहाँ पुग्छ यसरी हिँड्न ।
फेरि हाम्रो भित्री संस्कार पनि ता आदिम अवस्थामै छ ! एउटै घरमा विचारहरूको पृथक्ता छ; एउटा बीसौं शताब्दीको बोक्रेपनमा, एउटा चाहिँ सत्रौं शताब्दीको ठेटपनमा ! शशीलाई जीउभरि आगो लागेको जस्तो भएर आउँछ; एउटा उकुसमुकुस, एउटा छटपटी, एउटा बेचैनीले ग्रस्त भएकी शशी फुइँफुइँ ओह्रालो लाग्छे ।
पार्क रेस्टुराँको त्यो मंगोलियन टाइपको युवक काउन्टरमा बसेर सडकतिर हेरिरहेको हुन्छ । शशीलाई मंगोलियन बान्कीमा एउटा भोदूपन, एउटा रिसाहापन, एउटा बहादुरपन र एउटा नूनको सोझो इमानदारपन झल्किएको लाग्छ । तर त्यो युवकको अनुहारमा चाहिँ शशीले एउटा घिनलाग्दो क्रूरपन पाई ! शशीलाई देख्दा त्यसका चिम्से आँखा चकिन्छन् । युवकले इशाराले बोलाउँछ, शशीले टाउको हल्लाइदिन्छे ।
शशीले एक रात यो मंगोलियन युवकसित पनि बिताएकी छ । त्यो युवकको तातोपनले शशीलाई एक दिनभरि नै चटपट गर्न भएन ! त्यो युवक कम्यूनिस्ट जस्तै निर्मम र खूँखार भइदिएको थियो ! त्यसको क्रूरपन त्यसको अनुहारमा मात्र होइन छातीमा पनि ल्याप्प पोतिएको थियो । पैसा तिर्ने मान्छेसित उ कति चिसो भइदिनुपर्छ, मानौं विरोध गर्ने ठावैँ छैन ! बलि चढाउन लगेको बोको जस्तो पानी पर्सिने अधिकार पनि उसलाई हुँदैन ! कति विवश परिस्थितिसित आँखाको नानीमा रात लुकाएर ऊ आफू दिन जस्तो उज्यालो नाङ्गो भइदिनुपर्छ !
त्यो हिंस्रक युवकलाई देख्दा शशीलाई घृणा लागेर आउँछ । शशीलाई डर लागेर आयो, उसले सम्झन्छे अब उसो पैसा मात्र होइन तर मान्छेको चेहरा पनि अध्ययन गर्छे ।
शशीलाई लोग्नेमान्छे विषयमा यति कुरा याद छ कि यो नशामा यस्तो रगत बहन्छ, अनि यहाँ यस्तो हड्डी छ ! परन्तु मंगोलियन युवकको सम्बन्धमा भने शशी राम्रै मूर्ख बनिदिएकी थिई ।
देब्रे-दाहिने, उकालो-ओह्रालो मान्छे हिँडिरहेका हुन्छन् । ग्लोनरिजको सामु पुग्दा नपुग्दै खसिया युवकहरूले बजाएका अर्चेष्ट्राको समूह आवाजले शशी रमझम भइदिन्छे । छिर्ने ढोकामा युवक दोधारो भावनामा उसलाई पर्खिरहेको रहेछ ! शशीलाई देख्नासाथ युवक कराउँछ, “हे कल्पना…!”
शशी जम्मै रातो रंगमा डुबेर राम्री राती भइदिन्छे अनि युवकले उसलाई हल्का अँगालेर भित्र लैजान्छ । एउटा झ्यालनेरको टेबलमा बसेर भन्छ, “यु आर लुकिङ भेरी प्रीट्टी, कल्पना !”
कल्पना शिष्ट र सभ्य भएर हाँसिदिन्छे मात्रै ।
युवकले सिग्रेट आफर गर्छ । कल्पना “नेभर स्मोक” भनिदिन्छे । युवकले “ह्वाट एबाउट ड्रिंक ?” भनेर सोद्धा, “ओके- जनली” भनेर विषालु हाँसिदिन्छे । अर्चेष्ट्राको रमझममा शशी पनि त्यस्तै रमाइलो रमाइलो बन्दै गइरहेकी हुन्छे, अन्तरमा मीठा-मीठा भावना, मस्तिष्कमा सुन्दर विचारहरू आइसकेका हुन्छन्; शशीको छातीको खटिरा, निमोनिया पनि फूमन्तर भासकेको हुन्छ !
दुइटा छोटा पेग ल्याएर बेराले टेबलमा राखिदिन्छ, अनि ता व्याण्डीको झमझम ! शशीलाई सबै कुरा सुन्दर लागेर आउँछ; शशी र युवक व्यर्थैमा व्यर्थैका कुराहरू गरिरहन्छन् । एउटा सोध्छ, अर्कोले जवाफ दिन्छ; फेरि एउटा बोल्छ, अर्को हाँसिदिन्छ । शिष्टाचारका यी क्षणहरूले शशीलाई फेरि उकुसमुकुस लाग्दै आउँछ, ऊ पेगमाथि पेग थप्दै जान्छे । शशीलाई सबै कुराहरू घुम्दै गइरहेको जस्तो लाग्छ, सिलिङ पनि घुम्नथाल्यो.. फननन … अनि ता शशीलाई होश हराउँदै जान्छ, ख्याल हराउँदै जान्छ ।
० ० ०
: ४ :
पर्सिपल्ट शिथिल भएर शशी घर फर्कन्छे, उसका सारा जीउका नशाहरू शुष्क र कमजोर भएका थिए । मांसपेशीहरू पनि बोधो भइदिएकाले जीउ नियास्रो भइरहेको थियो । वास्तवमा सेक्स प्लेजर पनि एउटा काइदाको चीज हो, त्यो सधैंभरि भात खाइरहेको जस्तो होइन । शशीले दुई रात फुक्का भइदिएर एउटा होटलको डबल बेडको चिसो कमरामा शौखिनता- पूर्वक बिताई, अभाव, गरीबी र पीर मर्काबाट टाढा एउटा तातो जिन्दगी ! युवक एउटा काइदाको मान्छे जसले शशीको मासु मात्र होइन उसको छाती पनि बुझिदिएको थियो, एउटा बिजिनेसम्यान रहेछ । त्यो युवकले शशीको साथी कल्पना जसले चार-पाँच वर्षअघि कालिम्पोङको किरण लान्ड्रीमा काम गरेकी थिई, चिन्दो रहेछ राम्रै ! शशीलाई कल्पनाको याद आयो, कल्पना कसरी भताभुंग भएर गई !
बम्बईको एउटा एंग्लो इन्डियन, गान्तोकको एकजना सर्विस ड्राइभर र त्यहींको एउटा कवि जसले कहिल्यै बौद्धिक उन्नति गर्न सकेन, खालि युवतीहरूका निमित्त जून-ताराका कविता कोर्यो, सस्तो उपन्यासमा समर्पणका गुलाफी शब्दहरू लेख्यो अनि सस्तो समालोचना कोरेर धेरैलाई फुर्क्यायो, अहिले फ्रस्टेशनको जिन्दगी बोकेर एउटा साधारण जीवन बिताइरहेछ । शशी युवकको एम्ब्यासेडरमा चढेर कालिम्पोङ गई ।
सीमाप्रान्तको यो सानो शहर शशीलाई सारै मनपर्छ । दूरपीन र होम्सका पाखाभित्ताहरू चहारी, तृप्तिमा खाई अनि बेलुकी लखतरान भएर फर्केकी थिई । शशीलाई युवकले ट्विस्ट पनि गराएको थियो । ट्विस्टमा ऊ कति एक्स्पर्ट छ भने युवक पक्क परेको थियो ।
शशीलाई ट्विस्ट र किसका मेथड सिकाउने टीचर राजु हो, परन्तु राजु भने प्रकृति विरुद्ध छ, अक्सिजन बिनाको बिरान जून जस्तो, खालि मान्छेको मिलेको शेप मात्रै ! युवकले दिएको पचास रुपियाँ र रेशमको सारी, आमाको निम्ति एउटा प्रिन्टेड सत्र-अठारको कटन सारी, भाइको निम्ति फोस्फोमिन, ग्लुकोजको जाइन्ट डब्बा, क्रीम केकर्स, चकलेट र बहिनीको निम्ति फ्रकको प्रिन्टेड कटन काखीमा च्यापेर शशी १२-१० को कोठामा पुगी ।
केटाकेटी कसिंगर जस्ता छरिएका रहेछन् । आमा दूध चुसाउँदै बासित कुरा गरिरहेको रहेछन् । शशी पुग्नासाथ आँखाहरू हिप्नोटाइज भइदिए । ब्राउन पेपरमा रद्यापिङ गरिएको बण्डललाई भाइबैनीले झर्याप्प कुकुर झम्टाइ गरे । आमा एउटा अर्थपूर्ण नजरले छोरीलाई हेरिरहेकी थिइन् । बाबुचाहिँको चेहरामा सधैँको मरन्च्यासेपन हुँदाहुँदै पनि आँखामा झट्ट परिवर्तनको एउटा चम्काहट थियो । शशीले पोका खोलेर आफ्नो सारी एकापट्टी राख्दै आमालाई उसको चाहिँ सारी देखाउँदै कस्तो लाग्यो भनेर सोधी, ख्याउटै भाइलाई फोस्फोमिन, ग्लुकोज र क्रेकर्स दिई, बहिनीलाई प्रिन्टेड कटन दिइसकेर ठोंगीका चकलेट सबैलाई दुईदुईवटा बाँडिदिई ।
सबैका अनुहार आँधीबेरीपछि घाम लागेको थियो । शशीलाई पारिवारिक आत्मीयताले च्याप्प अँगालेको थियो, यस्तो तातो वातावरण यो सानो चिसो कोठामा उसले कहिल्यै महसूस गरेकी थिइन, सधैं तुषारो, तुँवालो व्याप्त भइरहन्थ्यो । शशीले मरन्च्याँसे भएर टुक्रुक्क बसिरहेका आफ्ना बालाई हेरेर भनी, “किन त्यस्तरी झोक्रिएर बसेको, बाबा ?”
भित्री आघात भएर मान्छे जति स्वाभाविक बन्न खोज्छ उति विकृति अनुहारमा पोतिन्छ । विकृत चेहरामा नराम्रो भई बसेका मरन्च्याँसे उसका बा, जसले आफ्नो सोलोडोलोपन र छातीभित्रका जम्मै ठोसपन हराइसकेका छन् मर्माहत भएर बोले, “ठूली, यी सब राम्रा कुरा होइनन् । गाउँमा मान्छे नराम्रो चर्चा गरिरहेका छन् । ठेकदार हिजो पनि आए, अस्ति पनि आएका थिए, मलाई र्याकर्याक पैसा माग्दैछन् । त्यो को ठिटो सधैँ आएर सोध्छ । यो, जे होस्, राम्रो होइन ठूली !”
शशीको अनुहार निक्खुर रातो भएर आयो । उसले आफ्ना नामर्द बालाई हेरेर कठोर भएर भनिदिई, “यी सब कुराको मलाई खाँचो छैन, बाबा ! बाँच्नका निम्ति यी सब भइरहेछन् । मान्छेले परिस्थितिबाट फाइदा उठाउँछ, यो एउटा तीतो कुरो र सत्य कुरो; तिमीले कमजोर भएर त्यो बूढो ठेकदारबाट किन पैसा लियौ, किन खान्छौ रक्सी सधैं कि घरमा एउटी तरुणी छोरी छ भनेर जान्दाजान्दै ! म जवाफमा यही भन्छु बाबा, त्यो रोगी भाइलाई हेर जो चाँडै मर्नेछ, बेपत्तिएको दाज्यूलाई सम्झ, त्यो भाइलाई हेर अझै फाटेको हाफप्यान्ट लाएर स्कूल जान्छ, त्यो बहिनीलाई हेर, घरलाई हेर, आमालाई हेर, त्यो सानो नानीलाई हेर अनि आमाको पेटलाई हेर अनि मलाई तिमीले त्यसो भन । यो पचास रुपियाँ लेऊ र गएर ठेकदारलाई देऊ ! त्यो बूढो ठेकदार यहाँ अब आइरहनु पर्दैन । त्यसका छोराछोरी सबलाई चिन्दछु, जो टीनएजर्स डान्स गर्न जीमखाना पुग्छन्, होटल चहार्छन् । यो गाउँका जम्मै मान्छेहरूलाई म एक-एक चिन्दछु, सबै मुखुण्डे जिन्दगी बिताइरहेका छन् । यहाँ सबै एकै छन् । बाबा, यो ठाउँलाई छोडेर हामी कतै जाइहाल्नुपर्छ !”
शशीले देखी उसका बा रोइरहेका थिए । एउटा बाफिएको वातावरणले फेरि त्यो सानो कोठा ग्रस्त भएर आयो । शशीले बाका हातमा पचास रुपियाँ कोचरेर बाहिर निस्की र फ्याङफ्याङ उकालो उकालो लागी ।
माचाहिँ ठूली-ठूली भनेर कराइरहेकी शशीलाई च्वास्स च्वास्स मुटुमा बिझिरहेको थियो । यो कस्तो जिन्दगी छ जहाँ कहिल्यै घाम लाग्दैन, सधैं पानी परिरहन्छ !
शशी उथलपुथल अवस्थामा राजुको घरमा पुगी, राजु प्याटवूनको गीत गाउँदै चेहरामा क्रीम पोल्दै रहेछ ।
शशीले बाहिरबाटै कराई, “राजू !”
“शशीदी … ” राजु पनि करायो
राजु शशीलाई देख्दा सधैं यस्तै खुशी हुन्छ ।
शशी भित्र पसेर ग्वाम्म राजुलाई अँगालेर छातीमा मुख दलेर घुँक्कघुँक्क रोई । सधैं नै रमाइली भइरहने उसकी शशीदी आज किन यसरी रोइरहिछ, राजुलाई बिस्मातको जरो आयो । शशीको नितम्बमा बिस्तारै हात मुसार्दै राजुले भन्यो, “यस्तो के भयो आज शशीदी ?”
शशीले जवाफमा केही बोल्नै सकिनँ । शशी त्यो नपुंसक युवकको छातीमा एउटा दरिलो आत्मीयताको तातो थाहा पाइरहेकी थिई, राजुले शशीको मुखमा हल्का म्वाइँ खाएर भन्यो, “जिन्दगी यस्तै हो शशीदी, मान्छे एकनास, एउटै परिस्थिति र अवस्थामा कहिल्यै बाँच्न सक्तैन । यहाँ कसैको कोही आफ्नो छैन । यहाँ सबै एकला छन्, विवश र लाचार छन् । मान्छे आफैमा आफैले बाँचिदिनुपर्छ । यहाँ कसैको भर पनि छैन, विश्वास पनि छैन । मान्छे सबै स्वार्थी छन्, मान्छे आफै दरिलो भइदिनुपर्छ, शशीदी !”
शशी राजुको तातो छाती, मायालु म्वाइँ र दरिलो कुराले मौलिएर हरियो भएर आई । हाहाकारको समय शशीलाई यही नपुंसक युवक काम लागिदियो, जसलाई उसले सधैं एउटा चिसो, बेकार ठान्दै आएकी छ । शशीलाई आज ऐना भो, मान्छेलाई बाँच्नको निम्ति आत्मीयता चाहिँदो रहेछ अनि त्यही आत्मीयता उसले यो नपुंसक युवकमा फेला पारी ।
शशीलाई मर्माहत ठानेर राजुले उसलाई आफ्नै बिछ्यौनामा ल्याएर सुतायो, राजुलाई थाहा थियो मान्छेले आफूभित्रको मर्म भुलिदिनलाई केही क्षण भए पनि आफूमा रहनुहुँदैन । शशी राजुको बिस्तरामा सुत्दा आफूलाई सुरक्षित सम्झेर आइरहेकी थिई । मान्छेले आफूलाई सुरक्षित नसम्झेसम्म बाँच्न ऊ हमेशा सक्दैन । राजुले शशीको छातीमा हल्का-हल्का छोएर मीठो नीदमा शशीलाई पारिदियो अनि झ्याल-ढोका ठ्यामठुम थुनेर ऊ पनि ओच्छ्यान पस्यो !
(हरीश बमजनको कथासंग्रह ‘शो-केसभित्रको जिन्दगी’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

