महीनाभरिको पतिपत्नीले भ्रष्टाचार गरेर कमाएको पैसाको चाङ पति घनश्याम गन्दै थिए । यसै क्रममा राधा मधुर स्वरलेले बोलिन्, “ए हजुर सुन्नुहोस् त ?”

“के मैयाँ ?” घनश्याम लाखको गड्डी गन्दै बोले ।

राधा लाखको गड्डीले हाते पङ्खा हल्लाएझैँ मुखको वरिपरि हल्लाउँदै बोलिन्, “ए मेरो हजुर यता हेरिसियो न ?”

घनश्याम गन्दै गरेको पैसालाई रोके, उदाउँदै गरेको सुन्दर चन्द्र झैँ श्रीमतीको सुन्दर अनुहारतिर पुलुक्क हेरे । मन्द मुस्कुराउँदै बोले, “के हो भन न त प्राण प्यारू ?”

राधा आफ्नो अगाडि दशौं लाखका गड्डी हातमा लिँदै बोलिन्, “आजको मितिदेखि हजुरले बक्सिस पाएको उपहार ठूलो छोराको खाता खोलेर राखिस्यो । मैले बक्सिस पाएको पैसा सानो छोराको खाता खोलेर राखिदिन्छु, हुन्छ हजुर ?”

“किन ?” घनश्याम प्रेमले लट्ठिएका आँखाले श्रीमतीतिर हेर्दै बोले ।

राधाले हल्का आँखा झुकाउँदै बोलिन्, “छोराहरू पैसाको महत्त्व बुझ्ने भइसकेपछि उनीहरूलाई surprise दिनु परेन ?”

श्रीमतीको प्रस्ताव घनश्यामलाई उत्तम लाग्यो । उनले सहर्ष रूपमा स्वीकार गरे ।

घनश्याम र राधा दुवै उच्च तहका सरकारी कर्मचारी थिए । उनीहरू दुवैको राष्ट्रपति, प्रधानमन्त्री, प्रशासक प्रमुख लगायतका अति उच्च  व्यक्तिहरूसँग घनिष्ठ सम्बन्ध थियो । देशमा जुनसुकै सरकार आओस् उनीहरूलाई केही फरक पर्दैनथ्यो । उनीहरूकै डिजाइनमा नेतादेखि राष्ट्रपतिसम्म चलिरहे । निरन्तर भ्रष्टाचार गरिरहे ।

उनीहरूका दुई भाइ छोरा थिए । दुवै छोरालाई केन्द्रको उच्च संस्थागत विद्यालयमा शिक्षा दिए । जेठो छोरो आठमा पढ्थ्यो । कान्छो छोरो चारमा पढ्थ्यो ।

उनीहरूले काठमाडौंमा घडेरी जोडे । विशाल दरबार बनाए । गाउँमा प्रशस्त सम्पत्ति जोडे । राधाले कुनै दिन सम्पत्ति विवरण  बुझाउन पर्ला भनेर भ्रष्टाचार गरेको आधा पैसा त माइतीमा पठाइदिइन् ।

महीनाभरि भ्रष्टाचार गरी कमाएको पैसाको हिसाब किताब उनीहरूले महीनाको अन्तिम दिन गर्थे ।

त्यस दिनदेखि आफूहरूले  परिश्रम गरेर कमाएको पैसाले घरव्यवहार चलाउन थाले । भ्रष्टाचार गरेर कमाएको पैसा छोराहरूको खातामा जान थाल्यो ।

उनीहरूलाई त्यो पैसाको कहिले जरूरत परेन । प्रति महीना लाखौं लाख जम्मा गर्थे । कहिले पनि कति जम्मा भयो भनेर बैंकमा सोध्न गएनन् ।

दिनहरू बित्दै गए । १२ पासपछि घरपरिवार, आमाबुवा, धनसम्पत्ति केही नभनी जेठो छोरो आयाम अमेरिका हानियो । केही वर्षपछि कान्छो छोरो आभास अस्ट्रेलिया भासियो । दुवै छोराले उतै विवाह गरे । उतै छोराछोरी जन्माए । सदाको लागि उतै बस्न थाले । पैसाले मानिसलाई कहिले पुग्दैन भनेझैँ छोराहरू विदेश गए पनि भ्रष्टाचार गरिरहे ।

माघे संक्रान्ति घरघरमा आइसकेको थियो । विशेषगरी थारू बस्तीमा खुशीको रौनक छाइसकेको थियो ।

उनीहरूको अफिस भने तीन दिनको लागि बिदा भयो । पुस मसान्तको दिन थियो । राधा भान्सामा तल्लीन थिइन् । घनश्याम टिभी खोलेर विश्व समाचार हेरिरहेका थिए ।

राधा लोग्नेको हातको रिमोट आफ्नो हातमा लिँदै बोलिन्, “ए हजुर भोलि हामी पोखरा घुम्न जाम् न ?”

लोग्नेले राधाको प्रस्ताव सहज रूपमा लिए । उति खेरै मोबाइलबाट प्लेनको टिकट लिए ।

माघे संक्रान्तिको दिन उनीहरू पोखरा जानको लागि चढेको  यति एयरलाइन्सको प्लेन दुर्घटना भयो । दुवै जनाको एउटै चिहान भयो । कल्पना नगरेको दुखद घटना घट्यो ।

जेठो छोरो अमेरिकाबाट सपरिवारसहित आमाबुवा मरेको नौ दिनमा नेपाल आइपुग्यो । कान्छोको परिवार ११ दिनसम्ममा आइपुग्यो । उनको घरमा श्रद्धाञ्जली दिने मानिसहरूको जुलूसै उर्लेर आयो । १३ दिनसम्म निकै चहलपहल भयो घर ।

त्यसपछि घरमा माखो पनि घुमेन ।

आमाबुवाले उपभोग गर्दै आएको पुर्खौली सम्पत्ति आधा मूल्यमा बेचेर  एक महीना भित्रमा दुवै छोरा आआफ्नो देशतिर लागे ।

राधा र घनश्याम बितेको १० वर्षपछिको कुरा हो । एक दिन एक्कासि जेठो छोराको मोबाइलमा नेपालबाट फोन आयो  । कान्छो छोरोकोमा पनि आयो ।  त्यो फोन नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आएको थियो । बैंकको हाकिमले फोनमा जेठो छोराको नाम करोडौँ रुपैयाँ भएको बताए ।

कान्छो छोराको नाममा पनि करोडौँ रुपैयाँ भएको बताए । उसै दिन दुवै छोराहरू नेपाल हानिए  । बिना योजना दुवैको एक्कासि बैंकमा भेट भयो । दुवै अचम्ममा परे ।

खातामा हेर्दा कान्छाको भन्दा जेठोको खातामा डबल पैसा रहेछ । कान्छोले सबै पैसा बराबरी बाँड्ने कुरा गर्‍यो तर जेठोले जसको  खातामा जति छ, त्यसले त्यति मात्रै पाउनुपर्छ भन्ने आशय बतायो । बाबुआमाले जम्मा गरिदिएको हुनाले आफूले भाइको आश पनि नगर्ने र आफ्नो पनि नदिने निर्णयमा पुग्यो ।

दिनभरि दुई भाइको खूब विवाद चल्यो । पुसमाघका छोटा दिन थिए ।  साँझको ६ :०० नबज्दै झमक्क रात पर्‍यो । दुवै भाइ बास बस्न एउटै होटलमा छिरे । राती  सुतेको वेला भाइले दाइको घाँटी अँठ्याएर मार्‍यो । ऊ बिहानै कुलेलम ठोक्दै थियो । पुलिसले समातिहाल्यो । लामो अनुसन्धानपछि भाइलाई अदालतले आजीवन कारागारको सजाय तोकियो ।