जरैसुद्ध उखेलिएका विषालु घाँसहरू क्रमशः थुपारिँदै छन्, एक-दुई हातले होइन, हजारौँहजार, लाखौँलाख हातहरूले । अब त घाँस थुपार्ने काम पनि झन्डै झन्डै सिद्धिसकेको छ । त्यसलाई आगो लगाएर खरानी पार्ने काम मात्र बाँकी छ । सम्भवतः ती घाँसहरूको अन्त्य यस किसिमले होला भन्ने कुरामा गैँडाछाप अनुहारलाई विश्वास थिएन क्यारे ! ऊ विभ्रान्त छ, चकित छ । साँच्चो कुरा भन्ने हो भने त्यस सम्बन्धलाई लिएर उसको बुद्धिसम्मत चेतनामा कुनै कुरो उब्जिन नै सकेको छैन । त्यसैले यस विषयमा उसको कण्ठस्वरबाट कुनै किसिमको शब्द फुट्नै सकेको छैन आज ।

तर यतिखेर मलाई उसको बोलीको होइन पेट्रोल वा मट्टीतेलको खाँचो छ, साह्रै खाँचो छ । सलाई त मसँग पनि छ र मेरा साथीहरूसँग पनि छ तर मट्टीतेल र पेट्रोल भने छैन । थुपारिएका ती विषालु घाँसहरू यति हरिया छन् कि हामी सबैको खल्तीको सलाईले पनि त्यसलाई हुरहुरी दन्काउन सक्तैन । मट्टीतेल र पेट्रोल त त्यही गैंडाछाप अनुहारसँगै छ ।

गैंडाछाप अनुहारलाई त्यस विषालु घाँसप्रति मोह थियो, साह्रै मोह थियो । त्यसप्रति मोह छैन भनेर जतिसुकै अभिनय गरे पनि उसको आँखाको कुण्डलबाट भने मोहको रङ्ग किमार्थ पनि मेटिन सकेको थिएन । तर ऊ भन्ने गर्छ– “मै त हजूर । हजूरहरूको सेवक । यो घाँस उखाल्नुपर्छ । यसले मलाई पनि घाटा पार्यो । तर हजूर । यो घाँस साह्रै विषालु छ, उखाल्ने मान्छेको हातखुट्टा गलाइदिन्छ, शरीर सडाइदिन्छ ।” उसको कुराले न त मलाई नै छाप पार्न सकेको छ न मेरा साथीहरूलाई नै । वास्तवमा !

उसको भनाइमा ध्यान दिएकै छैनौं हामी सबैले । बरु उसको त्यस तर्साउने किसिमको बोलीलाई ठट्टाठट्टैमा उडाइदिने पो गरेका छौं हामीले । आजै पनि कुराकुरैमा भन्यो- “यस्तो मुश्किलको समयमा मैले पनि कम सेवा गरेको छैन नि हजूरहरूको । चिनी खुवायो, नून-तेल खुवायो, मिट्टीको तेल लायो । मेरो तारिफ हुनुपर्नेमा उल्टो मेरो खिल्ली उडाउँछ हजूरहरूले !’ पेट्रोल र मट्टीतेलको सम्झनाले म गैंडाछाप अनुहारतिर हेर्छु मसँगसँगै मेरा साथीहरूका आँखा पनि उसलाई खोज्न थाल्छन् । तर ऊ त्यहाँ थिएन ।

ऊ त पारितिर जाने डुङ्गातिर सोझिँदै पो रहेछ । तर डुङ्गा चढ्ने आँट भने गर्न सकेको रहेनछ । मान्छे बाहिरबाट मोटोघाटो देखिए तापनि भित्रबाट त कायर न हो ऊ । खोलापारि बसेको त्यो अजङको माकुराले आफ्नो मुखबाट फुरुरु… फुरुरु… उडाएको धागो, अनि त्यो धागोले बुनेको जालमा फसेको डुङ्गालाई अझै बिर्सिएको थिएन उसले । जालोमा बेरिएको डुङ्गालाई त्यो अजङको माकुराले जसै निल्न शुरू गरेको थियो हामीसँगसँगै त्यो गैंडाछाप अनुहार पनि झ्याप्ल्याङ्ङ पानीमा हाम्फालेको थियो । मैले र डुङ्गामा बसेका मेरा साथीहरूले उसलाई सहारा नदिएको भए ऊ त्यति बेला नै मुर्दा हुने थियो । जाती भयो ऊ बाँच्यो । किनारा लागेपछि “बचाऊ बचाऊ” भन्दै त्यसै-त्यसै कहालिँदै कुलेलम ठोकेको थियो त्यहाँबाट । दगुर्दादगुर्दै एक्कासि तीन बल्ड्याङ खान पुगेको थियो ऊ । घर पुगेर आफ्नो गोदामका सारा सरसामान र नगद-नारायणलाई लुकाएपछि बल्ल होश आएको थियो उसको ।

तर उसको सन्त्रासले लखेटिएको आवाजले दिएको सन्देश भने एक कान दुई कान मैदान भएको थियो । सडक- सडकबाट, पसल पसलबाट, विद्यालय-विद्यालयबाट खेतको आली आलीमा फैलिएको त्यो सन्देशले त्यो अजङको माकुराको खाका खिचिदिएको थियो । हेर्दाहेर्दै चर्कन थालेको थियो महँगाइ । एकातिर त्यो महँगाइले पिल्सिएका र थिचिएका किसान मजदूरहरूलाई पोलो परेको थियो भने अर्कोतिर जागिरदार र उनका घरका माऊहरूलाई पनि कम पोलो परेको थिएन । पोलो त मलाई र प्रोफेसर साथीलाई पनि परेको थियो ।

केही दिनपछि प्रोफेसर साथीलाई लिएर म फेरि खोला-धारमा पुगेको थिएँ । हामीसँगसँगै गैंडाछाप अनुहार पनि थियो । त्यस दिन त उसले ‘डुङ्गा चढ्दिन’ भनेर कानै समातेको थियो किनभने त्यस दिन पनि वारि र पारि गर्न लागेका डुङ्गाहरूलाई त्यो अजङको माकुराले आफ्नो जालमा अल्झाएर सुलुत्त-सुलुत्त निल्दै थियो । गैंडाछाप अनुहारले नै भोगिसकेको दृश्य भए पनि प्रोफेसर साथीको निम्ति भने उधुम आश्चर्यको विषय बन्न गएको थियो । वारि किनारामा पलेंटी कसेर बसेको एक जना कर्मकाण्डीले उसलाई देवता ठानेर धूपबत्ती बाल्न पनि शुरू गर्दिएका थिए । तर त्यति बेला गैंडाछाप अनुहारको आँखा भने हामीतिर थिएन । साँच्चै भन्ने हो भने दुई-चार जना ग्रामीण अनुहारलाई लिएर चोरबाटो पत्ता लगाउन ऊ हिँडिसकेको थियो । चोरबाटो पत्ता लगाएपछि उसको नोटको पत्र पनि बढ्दै थियो र उसको भुँडीको पत्र पनि बढ्दै थियो ।

यतिखेर गुप्त बाटोबाट पनि जाने विचारले ऊ निकै अगाडि पुगिसकेको छ। उसको पछि-पछि दगुरेर साध्य छैन । डुङ्गाबाटै गएर उसलाई समाउने सुर छ मेरो ।

आज पनि मन लुगलुगाउने किसिमको कुनै घटना घटेको छैन । हिजो, अस्ति र अस्तिको अस्ति पनि त्यस किसिमको घटना घटेको थिएन । हाम्रो डुङ्गा कुनै बिघ्नबाधा नपरीकन नै पारि पुगेको थियो । खास कुरा त के भने त्यो अजङको माकुरालाई हेरेर फर्किएको दिनदेखि प्रोफेसर साथीले त्यसको बारेमा सोच्न शुरू गर्दिएका थिए । “साँच्ची त्यो माकुरो त्यस्तो अजङको कसरी भयो ?” त्यही प्रश्नलाई लिएर खुलदुली थियो उनलाई ।

उनी दिनहुँ भनेजसो त्यो माकुराको वरपर पुग्ने गर्थे, नाना किसिमका कुराहरूको जाँच गरेर फर्किने गर्थे । वास्तवमा संसारको कुनै भागमा पनि त्यस जातिको माकुरो देखिएको थिएन । कुनै पनि ‘इन्साइक्लोपेडिया’ मा त्यस किसिमको माकुराको वर्णन थिएन । त्यस सम्बन्धमा पत्ता लगाइहाल्छु भन्ने अठोट थियो उनको । त्यस सम्बन्धमा खोजी गर्दागर्दा बल्लतल्ल ती विषालु घाँसको स्पर्शले त्यो माकुरोमा प्राण-सञ्चार हुँदो रहेछ भन्ने यकीन गर्न पुगेका थिए उनी ।

त्यो कुरो थाहा पाएको भोलिपल्टैदेखि त्यो घाँस उखेल्छु भन्ने निर्णय लिएको थिएँ मैले उनीसँगसँगै । चोरबाटोबाट धनाढ्य हुन पुगेको गैंडाछाप अनुहारलाई पनि सुनाइटोपलेको थिएँ मैले आफ्नो अठोट । मेरो अठोट सुनेर खुशी हुनुपर्नेमा ऊ त झन् साह्रो ममाथि व्यङ्ग्य खन्याउँदै त्यसै-त्यसै खितखिताइदिएको थियो बरु । तर उसको खितखिताइले पुरिएको थिइनँ म । मेरो हौसला र जाँगरमा झन् झन् पाइन लाग्दै थियो उसको व्यङ्ग्यवाणको रोपाइले । फेरि अरूहरूसँग पनि घाँस उखेल्नेबारेमा सघाउ माग्न पुगेको थिएँ । तर कसैले पनि मेरो कुरा सुनेनन् । फेरि त प्रोफेसर साथीलाई लिएर घाँस उखेल्न शुरू गर्दिएको थिएँ, दुई जना मात्रै भए पनि । केही साता घाँस उखेलेपछि एक दिन ज्यान हत्केलामा राखी पौडिएर खोलापारि पुगेको थिएँ म ।

सधैं झैं त्यो अजङको माकुरो त्यस दिन पनि त्यहीँ थियो । माकुरोको आकारप्रकारमा कुनै किसिमको परिवर्तन आएको थिएन । जस्ताको तस्तै थियो ऊ । डुङ्गा निल्दा अघाएर हो कि अर्थोकै कुनै कारणले हो, त्यस दिन भने उसले आफ्नो मुखबाट धागो ओकलेर मलाई छोप्ने जाँगर देखाएको थिएन । त्यहाँबाट फर्किएपछि मैले त्यो कुरा शहर-शहरमा प्रचार गरेको थिएँ, गाउँ-गाउँमा प्रचार गरेको थिएँ । मैले त्यो विषालु घाँस उखेल्ने गरेकोले नै त्यो अजङको माकुराको धागो ओकल्ने शक्ति क्षीण भएको हो भन्ने अडकल काटेकाले केही विद्यार्थी र किसान, मजदूरहरू उखेल्ने काममा मलाई सघाउ पुऱ्याउन आएका थिए ।

निकै घाँस उखेलेपछि फेरि एक दिन हामी सबै जना डराउँदै-डराउँदै डुङ्गा चढेर पारि पुगेका थियौँ । त्यस दिन पनि गैंडाछाप अनुहार हामीहरूसँगसँगै थियो । त्यस दिन पनि त्यो अजङको माकुराले हाम्रो डुङ्गामा जाल हान्ने चेष्टा गरिटोपलेको थियो । चेष्टा त निकै निकै नै गरेको थियो उसले । तर उसको मुखबाट निस्किएको धागो खोलाको बीचसम्म पुग्ने त के कुरा स्वयम् ऊ बसेको किनारासम्म पनि पुग्न सकेको थिएन, बीचैमा टुक्रिएको थियो । त्यो दृश्यले त साह्रै बढेको थियो हाम्रो हौसला । त्यस दिन पनि कुनै किसिमको दुर्घटना नघटेपछि हाम्रा घाँस उखेल्ने हातहरू हजारौँहजार थपिएका थिए, लाखौंलाख थपिएका थिए ।

तर दुर्भाग्य ! गैंडाछाप अनुहारको अनुहार भने निन्याउरो भएको थियो । त्यस दिनदेखि बेलामौकामा गैंडाछाप अनुहार कहिले त्यो विषालु घाँसको विषले ‘हेर है हात कुहिएला’ भन्ने वाक्य हामीहरूलाई ताकेर उडाइदिने गर्थ्यो त कहिले फेरि ‘हर है, शरीर फतफती कुहिएर झर्ला है’ भन्ने वाक्यले हामीलाई तर्साउने गर्थ्यो। कहिले फेरि भयले लखेटिएको स्वाङ गर्दै ‘लौ हेर है, त्यो विषालु माकुरो बुई चढ्न आइपुग्यो’ भन्दै दगुर्ने गर्थ्यो त कहिले फेरि घाँस उखेल्न थालेकाहरूको अगाडि थच्चिएर “फलाना-फलाना ठाउँमा त्यो माकुराले यति जना श्रमिकलाई सर्लक्कै निलिदियो” भन्ने गर्थ्यो । कहिले यति जना छात्रछात्रालाई मरमरी चपाइदियो भन्ने गर्थ्यो त कहिले यति जना किसानलाई माटोमुनि नै धसाइदियो भन्ने गर्थ्यो । हो, उसको कुराले वातावरण भयानक भइरहेको थियो तापनि हरेश खाएका थिएनौं हामीहरूले । हाम्रो हौसलाले स्वाभाविक किसिमको नै तुल्याइरहेको थियो गैंडाछाप अनुहारले हामीहरूलाई ताकेर हामीहरूतिर उडाइदिने गरेको अस्वाभाविक छनकलाई ।

यस्तैमा एक दिन फेरि सयौं-सयौँ डुङ्गा लिएर हामी पारि पुगेका थियौँ । त्यस दिन त त्यो अजङको माकुरो चाउरिएको थियो । साँच्ची- साँच्ची, साह्रै नराम्रोसँग चाउरिएको थियो ऊ । उसका हातखुट्टा झिनिएका थिए, पेट थ्याप्चिएको थियो । जालो बनाउने कुरा त परै जाओस्, मुखसम्म पनि बाउन सकेको थिएन उसले । हाँस्दै फर्किएका थियौं हामी फेरि उही विषालु घाँस उखेल्ने ठाउँमा

डुङ्गा पारि किनारामा पुग्दानपुग्दै यतिखेर गैंडाछाप अनुहार फेरि त्यहीँ भेटिन्छ । ऊ चोरबाटोबाट मट्टीतेल र पेट्रोल लिएर सुटुक्क लुस्किने विचारमा रहेछ । तर बाटो छेकिहाल्छु म । मसँगसँगै उसको बाटो छेकिहाल्छन् मसँग आएका श्रमिक साथीहरूले पनि । अब त्यहाँबाट उम्कन सक्ने शक्ति हुँदैन उसमा ।

मेरा साथीहरूमध्ये कति त पेट्रोल र मट्टीतेलको ड्रम डुङ्गामा राख्न थाल्छन् । केही साथी त्यो अजङको माकुरालाई अन्तिमपल्ट हेर्ने विचारले पारितिर लाग्छन् । तर गैंडाछाप अनुहार भने रुन्चे भइरहेको छ । डुङ्गामा नै ह्वाँ ह्वाँ रोइदिन बेर छैन । लौ, खुट्टा नै समातेर रुन थाल्यो भने परेन फसाद ! तर उसको रुवाइ सुन्ने प्रतीक्षामा छैन म किनभने विषालु घाँसमा हुरहुरी आगो लगाइदिनु छ मलाई । छिटो-छिटो डुङ्गा खियाएर किनारामा पुग्छु म । मट्टीतेल र पेट्रोलको ड्रम त्यो विषालु घाँसमाथि रित्त्याउन थाल्छन् । म सलाई कोर्छु । त्यही बेला त्यो अजङको माकुरो हेर्न गएका साथीहरू हर्षले त्यसै-त्यसै कराउँदै आइपुग्छन्- “लौ त्यो माकुरो त मर्यो, लौ त्यो माकुरो त मर्यो !”

(दौलतविक्रम विष्टको कथासंग्रह ‘आँसु त्यसै त्यसै छचल्किन्छ’बाट)