केही समयपछि त्यस युवतीले समीरलाई निकै मीठो कफी ल्याइदिन्छ । अनि त्यस युवती पनि समीर बसेको सोफाकै छेउमा घुस्रिन पुग्छे । कफी भन्दा पनि त्यस युवतीको उपस्थितिले समीरलाई  निकै तातो बनाइरहेको हुन्छ ।

००००

 

समीर केही दिनदेखि खुशीको मुद्रामा देखिन्छ । आज अचानक उसलाई त्यस युवतीले फोन गरी । कलकत्ताको त्यस्तो भीडभाड वातावरणमा पनि उसले सहजै फोनको घण्टी सुन्नसक्यो । उसले हतारसाथ मोबाइल कानमा टँसाउँछ । बसको छेउ सीटमा एक महिला नै बसिरहेकी थिई ।

‘हैलो..’

‘यस् मिस्टर समीर. हाउ आर यू ?’ युवतीको तिखो स्वर फोनबाट बाहिरिन्छ ।

‘भन्नुहोस्,’  समीरले खुशीका मिजासमा जवाफ फर्काउँछ

निकै लामो समयपछि समीर र त्यस युवतीको यो गफ हुँदैछ । समीर निकै जीवन्त भएर त्यस युवतीको जवाफ दिन मग्न हुन्छ । छेउछाउमा को को बसिरहेका छन्, कतिको बसको हल्ला हुँदैछ । उसलाई केही पत्तो नै हुँदैन ।

‘अनि मेरो काम गरिदिनु भो ?’ त्यस युवतीले उसलाई निकै मायालु ढङ्गमा नरम स्वरमा आग्रह गर्छे ।

‘ओ के.. । गरेको छुइन । तर तिम्रो डकुमेन्ट मलाई देऊ त सही । कि म घरमा आऊँ !’ समीरले त्यस युवतीलाई अनुमति माग्छ ।

‘आउनुहोस् । तर म त घरमा एक्लै छु ।’

यो सुन्ने बित्तिकै समीरको मनमा लड्डु फुट्छ । उसले मनमनै के के कल्पना गरिहाल्छ । सल्टलेकतिर जान लागेको बसबाट ऊ बीचैमा उत्रिन्छ । अनि त्यस युवतीको घरतिर लाग्न उसले बाटो फेरी अर्को गाडी पक्रिन्छ ।

कलकत्ताको यो होहल्लामय शहरमा, मानिसहरूको भीडभाड आज उसले एकदमै शून्य शून्य लागिरहेको छ । कतिबेला त्यस युवतीको घरमा पुगिने हो, यस इन्तजारमा नै ऊ टेक्सीमा छटपटाइरहेको हुन्छ ।

‘क्रिङ.. क्रिङ’ फेरि समीरको फोनको घण्टी बज्छ ।

‘हेलो !’ समीरले आफ्नी पत्नीको फोन समाउँछ ।

‘खाना खानबेलासम्म आइपुग्नुहुन्छ ?’ मोबाइलमा पत्नीको स्वर सुनिन्छ ।

तर समीर भने पूर्व जानुको बद्ली पश्चिमतर्फ गइरहेको हुन्छ । केही क्षण अरकच्च पर्छ अनि उसले हतारसाथ आफ्नी पत्नीलाई जवाफ दिन्छ, ‘मलाई अफिसमा निकै समय लाग्ने भयो । तिमीहरू खाना खाऊ है । म केही ढिलो आउँछु ।’

समीर अझै हल्का हुन्छ । कलकत्ताको यो पोल्ने हावाले पनि यतिबेला उसलाई निकै चिसो पार्छ ।

‘निक्को पार्क !’ टेक्सी ड्राइभरले कराइपठाउँछ । समीर अहिले झसङ्ग भएर ओर्लिन्छ । अनि ऊ सरासर त्यस युवतीको घरतर्फ हानिन्छ ।

केही वर्षअघि गएको त्यस युवतीको घर पुग्न उसलाई निकै हम्मे पर्यो । यो गल्ली, त त्यो गल्ली हुँदै ऊ अन्तमा त्यस युवतीको घरमा पुग्छ । त्यस युवतीको पनि शायद समीरलाई नै पर्खिरहेकी थिई होलिन् ।

‘ट्रिङ…ट्रिङ…’ समीरले डोर बेल बजाउँछ ।

केही क्षणपछि सोही युवती नै साक्षात् हुन्छे । युवतीको मुस्कराहट देखेर समीर अझै आह्लादित हुन्छ । ऊ ठिङ्ग उभिन्छ । अनि युवती सँगसँगै घरभित्र पस्छ ।

समीरले घरभित्रको वातावरण नियाल्छ – एक्लो, खाली खाली सबै, सिटिङ् रूम पनि सुनसान, कतै केहीको आवाज छैन, कोही बोलेको आवाज छैन । अघि घर पस्दै नै मेन डोर त त्यस युवतीले बन्द गरिसकेकी हो- समीरले लख काटिसकेको छ ।

बस् यति हो कि उसको यो प्रेयसी भनौं या त जानपहिचान भएको गाउँले भनौं समीरलाई स्वागत गर्छ कि गर्दैन, समीरले अवलोकन गरिरहेको छ ।

‘कफी ल्याइदिऊँ ?’ त्यस युवतीले समीरलाई सोध्छे ।

‘अफ् कोर्स,’ समीरले मुस्कुराउँदै त्यस युवतीलाई भन्छ ।

केही समयपछि त्यस युवतीले समीरलाई निकै मीठो कफी ल्याइदिन्छ । अनि त्यस युवती पनि समीर बसेको सोफाकै छेउमा घुस्रिन पुग्छे । कफी भन्दा पनि त्यस युवतीको उपस्थितिले समीरलाई  निकै तातो बनाइरहेको थियो । उसको श्वासप्रश्वास निकै बढिरहेको थियो । चिटचिटती उसलाई पसिना आउँदैथियो । तैपनि संयमतासहित समीरले कफी पिउन शुरू गर्छ ।

आफ्नो छेउमा नै टाँसिरहेको त्यस युवतीसित उसले अनेक बात गर्न चाहे पनि सकिरहेको हुँदैन । केवल उसले त्यस युवतीको वक्षमा नै आँखा गाडिरहेको हुन्छ ।

गहुँगोरी, साँवल वर्णको, २४-१५ वर्ष पुगेकी त्यस तरुणी पेशाले शिक्षिका थिइन् । तर ऊ अविवाहित थिइन् । फर्साइली स्वभावकी त्यस युवतीसित अझै टाँसिनपुग्छ समीर । समीरले एक पाइला अझै अघि सार्छ । त्यस युवती पनि समीरको यो प्रयासबाट अलिकता पनि विचलित हुँदैन । त्यस युवतीको न्यानो वक्ष छेउमा नै उसको हात पुग्छ । अनि समीरले घरीघरी त्यस युवतीलाई सुमसुम्याइरहेको हुन्छ ।

अविचलित त्यस युवती आफ्नै कुराहरू समीरको अघि राखिरहेको हुन्छ । समीरले एकापछि अर्को गर्दै त्यस युवतीको कागजातहरूको समस्याको हल बताइरहेको हुन्छ । निकै बेरको बातचितमा समीरको एउटै सोचाइ हुन्छ कि त्यस युवती के साँच्चै मलाई चाहन्छ ।

तर एक भलाद्मी भएको हैसियतमा । आफू पनि एक शिक्षक भएको हैसियतमा । त्यति मात्र होइन, आफू एक आदर्शवान् पति, पिता भएको कारणले उसले यो हरकत गर्न सुहाउँदैन भनेर अर्को मनले भने समीरलाई बारम्बार दुत्कारिरहेको हुन्छ ।

अर्कोतिर, यौनको उत्कट अभिलाषालाई मेटाउन समीरले यो आदर्शलाई गंगामा डुबाएर अघि लाग्न भरमग्दुर प्रयास गरिरहेको हुन्छ ।